काठमाडौं: आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि देशव्यापी मदाता नामावली संकलन जारी छ। निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार पछिल्लो समयमा नागरिकको उत्साहजनक रुपमा मतदाता नामावली संकलन अगाडि...

सुर्खेत :     राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले आन्तरिक उत्पादनलाई बढाउनुका साटो विदेशी वस्तुको आयातलाई प्रोत्साहन दिँदा परनिर्भरता बढेको बताउनुभएको छ । वीरेन्द्रनगरमा आज पार्टीको प्रदेशस्तरीय प्रशिक्षण एवं बृहत् अन्तक्र्रिया कार्यक्रममा उहाँले आयातलाई प्रोत्साहन दिँदा मुलुकमा गरिबी बढ्दै गएको बताउनुभयो ।      अध्यक्ष थापाले ससाना दैनिक उपभोग्य वस्तुको स्वदेशमा उत्पादन हुन छाड्नु चिन्ताको विषय भएको टिप्पणी गर्नुभयो । “४० लाखभन्दा बढी युवाले विदेशमा पसिना बगाएर कमाएको पैसाबाट प्राप्त विप्रेषणले  देशको अर्थतन्त्र धानिएको छ”, उहाँले भन्नुभयो, “स्वदेशी उत्पादन र रोजगारीले कुनै प्राथमिकता पाउन सकेको छैन, आयातमै ठूलो धनराशि विदेशिने गरेको छ ।” गरिबीका कारण नेपालमा सनातन हिन्दू धर्मप्रति आक्रमण बढ्दै गएको उहाँको भनाइ थियो ।       लोकतन्त्रको आडमा केही सीमित राजनीतिक दलका नेताहरुले रजगज गरेको बताउँदै अध्यक्ष थापाले भन्नुभयो, “मुलुकमा सामाजिक, आर्थिक परिवर्तनको प्रतीक्षामा बसेका आम नागरिकमा चरम निराशा छाएको छ, उनीहरुका दुःखका दिन अझै सकिएका छैनन् ।” समाजका विभिन्न वर्ग, क्षेत्र र समुदायसँग मुलुकको समसामयिक परिस्थिति र मुख्य चुनौतीका बारेमा अन्तक्र्रियासँगै प्रदेशस्तरीय प्रशिक्षण आयोजना गरिएको उक्त पार्टीका केन्द्रीय सदस्य ईश्वर श्रेष्ठले जानकारी दिनुभयो ।

कैलाली :       कैलालीको धनगढी उपमहानगरपालिमा–३ बोराडाँडी चोकमा अटो पल्टिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुर्घटनामा दार्चुला लेकम गाउँपालिका–३ घर भई हाल धनगढी–४ उत्तरबेहडी बस्दै आएका ५० वर्षीय लक्ष्मणसिंह बोहरा रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।   अटो अचानक अनियन्त्रित भई पल्टिँदा अटोचालक छाती, पेट र हातमा चोट लागी घाइते भएका उनको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा ज्यान गएको प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताउनुभयो ।

काठमाण्डौँ :     धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले बढेको छ । लगातार ओरालो लागेको नेप्से परिसूचक पछिल्ला केही दिनदेखि भने उकालोको यात्राका लागि तम्तयार भएजस्तो देखिएको छ ।   नेपाल स्टक एक्सचेञ्जका अनुसार बिहीबार नेप्से परिसूचक ७४.९३ अङ्कले उकालो लागेर दुई हजार ३७.६४ मा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १२.६३ अङ्कले उकालो लागेर ३९१.७८ मा पुगेको छ ।   नेप्सेको बृद्धिसँगै कारोबार रकममा समेत सामान्य सुधार देखिएको छ । कूल २२७ कम्पनीको ७२ लाख ५४ हजार ७० कित्ता शेयर रु दुई अर्ब ४५ करोड ८६ लाख १९ हजार ४९५ मूल्यमा खरिद बिक्री भए ।   नेप्सेका अनुसार कारोबार भएका १३ उपसमूहको शेयर मूल्यमा नै वृद्धि भएको छ । बैंकिङ २९.६८, व्यापार १२६.७, होटल तथा पर्यटन १२७.७, विकास बैंक २०४.४४, जलविद्युत् १०२८, वित्त १००.२८, निर्जीवन बीमा ३७८.२, उत्पादन २५०.४२, अन्य ८६.०२, लघुवित्त २०४.४२, जीवन बीमा २९६.०५, सामूहिक लगानी कोष ०.३८ र लगानी २.२ अङ्कले उकालो लागेको छ ।   बिहीबारको कारोबारपछि बजार पूँजीकरण रु २९ खर्ब पाँच अर्ब १५ करोड ९६ लाख १६ हजार ४६५ बराबर पुगेको छ ।    नेप्सेका अनुसार कारोबारका आधारमा शिवम् सिमेन्ट शीर्षस्थानमा छ । सो कम्पनीको रु नौ करोड ९५ लाख २० हजार ६३० बराबरको कारोबार भयो । यस्तै हिमालयन डिस्टिलरी रु सात करोड ९७ लाख ६८ हजार १७१, एशियन लाइफ इन्स्योरेन्स रु पाँच करोड ९९ लाख ३० हजार ९९९, अरुण काबेली पावर रु पाँच करोड ८३ लाख ८९ हजार ६२२, र लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल रु पाँच करोड ६९ लाख ३९ हजार ७७८ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।    पन्ध्र कम्पनीको शेयर मूल्य नौ प्रतिशत बढीले वृद्धि   नेप्सेका अनुसार विभिन्न छ कम्पनीको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो भने १५ कम्पनीको शेयर मूल्य नौ प्रतिशत बढीले वृद्धि भयो । नेपाल फाइनान्स, मैलुङ खोला जलविद्युत् कम्पनी, नयादी हाइड्रोपावर, आँधीखोला लघुवित्त, सिवाइसीएल लघुवित्त, सूर्योदय बोमी लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो ।    त्यस्तै ग्लोबल आइएमई बैंकको ऋणपत्र ३.८९, बरुण हाइड्रोपावर २.६५, गुराँस लघुवित्त २.४४, बैंक अफ काठमाडौँको ऋणपत्र २ र सिटिजन म्युचुअल फण्ड दोस्रोका लगानीकर्ताले ०.८९ प्रतिशतले गुमाए ।      

पोखरा :      नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा हुने छैटौं संस्करणको पोखरा स्पोर्टस् अवार्ड २०७८ को तयारी पुरा भएको छ । आयोजक नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले बिहिबार पोखरामा पत्रकार सम्मेलन गरेर अवार्डको तयारी पुरा भएको जनाएको हो ।    पत्रकार सम्मेलन मार्फत अवार्ड कार्यक्रममा वितरण गरिने ट्रफी समेत सार्वजनिक गरिएको छ । मञ्चका अध्यक्ष दीननाथ बराल, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य सरिता तिम्सिना पंगेनी, मञ्चका पूर्व अध्यक्ष विनोद लामिछाने, निवर्तमान अध्यक्ष एकराज गिरी,  नेपाल पत्रकार महासंघ गण्डकीका सचिव यदुनाथ बञ्जरा लगायतले ट्रफी सार्वजनिक गरेका थिए ।   अवार्ड समारोह यहीं असार १८ गते दिउँसो ठिक ३ बजेदेखि पोखरा सभागृह हलमा हुँदैछ । स्पोर्टस् अवार्डमा कुल ७ वटा अवार्ड वितरण गरिने मञ्चका महासचिव राजाराम पौडेलले जानकारी दिए । यसरी वितरण गरिने अवार्डको विधामा लाइफ टाइम अचिभमेन्ट अवार्ड, वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, उदियमान खेलाडी, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट खेल संघ र  वर्ष उत्कृष्ट खेल पत्रकार विधा रहेको पौडेलको भनाई छ ।   वर्ष खेलाडी पुरुष विधामा ब्याडमिन्टनका विधान अधिकारी, करातेका बुद्ध लामा र टेनिसका प्रदिप खड्का, वर्ष खेलाडी महिलामा भलिवलकी अरुणा शाही, क्रिकेटकी मनिषा उपाध्याय र करातेकी सरगम कुमाल, उदियमान खेलाडी विधामा टेनिसका दर्शिल श्रेष्ठ, क्रिकेटका श्रृष्टि जैशी र बक्सिङका शाहिल लिम्बु, उत्कृष्ट प्रशिक्षक विधामा क्रिकेटका रिजन प्रजु, तेक्वान्दोकी रेकमाया गुरुङ र टेनिसका निरज थापा मनोनयन सूचिमा परेका छन् । तीमध्ये छनोट समितिले गरेको निर्णयको आधारमा उत्कृष्ट १ जनालाई अवार्ड वितरण हुनेछ ।   लाइफ टाइम अचिभमेन्ट अवार्ड अग्रज खेलाडी गणेश बहादुर भट्टराईलाई प्रदान गरिनेछ । उत्कृष्ट खेल संघ र  वर्ष उत्कृष्ट खेल पत्रकार विधाको भने घोषणा हुन बाँकी रहेको मञ्चले जनाएको छ ।   पोखरा स्पोर्टस् अर्वाड अन्र्तगत वर्ष खेलाडी पुरुष र महिलाले टेल जी ब्राण्डको टाइगर मोडलको इलेक्ट्रिक स्कुटर र ट्रफी पुरस्कार स्वरुप प्राप्त गर्नेछन् ।  वर्ष उत्कृष्ट उदियमान खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उत्कृष्ट खेलकुद संघ, उत्कृष्ट खेल पत्रकारलाई नगद पैतिस हजार रुँपैयाको साथमा ट्रफी प्रदान गरिने मञ्च अध्यक्ष दीननाथ बरालले बताए । यसैगरी लाइफटाइम अचिभमेन्ट अवार्ड प्राप्त गर्ने व्यक्तिलाई चाँदीको करुवा, ट्रफी, ताम्रपत्र र दोसल्लाले सम्मान गरिनेछ ।  उत्कृष्ट ३ को मनोनयन सूचीमा परेकाहरुलाई मनोनयन ट्रफी प्रमाणपत्र प्रदान गरिनेछ ।   अवार्ड कार्यक्रममा गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका,  एम ए कस्ट्रक्सन प्रालि, सहारा क्लब पोखरा, नेपाल भूतपुर्व खेलाडी मञ्च, तमु धिं युके, आभ्या क्लब, युनाइटेड नेसनको वातावरण पार्टनर टेल जी ब्राण्डको टाइगर मोडलको इलेक्ट्रिक स्कुटर, होटल पौवा लेकसाइड, जु जु वेर्यस, सिटीवान टेलिभिजन, पोखरेली मञ्च युके, परिचय एड्भर्टाइजिङ,  चिल्लिबार एण्ड रेष्टुरेन्ट, टाइगर गुप्र अफ पोखरा, साइमन पार्टी प्यालेस, वल्डलिंक, फिस्टेल हस्पिटल, युनाइटेड क्लब, अमेरिकाबाट सरिता गुरुङ, जापानबाट पूर्व अध्यक्ष मोहन घले, पूर्व अध्यक्ष प्रेमनारायण न्यौपाने, मनकामना पेट्रोलपम्प, शितलज्योती युवा क्लब, लाइफकेयर डाईग्नोस्टिक्स एण्ड रिर्सच सेन्टर, सुनगाभा न्युज, स्टेशन गैह्रापाटन, सिटीजन फर्निचर, जिल्ला खेलकुद विकास समिति कास्की लगायत सहयोगीको रुपमा जोडिएको  मञ्चले जनाएको छ ।  अवार्ड कार्यक्रमको थप आर्कषणको रुपमा गायक विनोद वाँनिया, हाँस्यकलाकार युवराज भण्डारी, गायक सन्तोष बस्याल, गायिका प्राप्ति तुलाचन, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गण्डकीको लाइभ दोहोरी, गण्डकी प्रज्ञा प्रतिष्ठानको कल्चरल नृत्य, गण्डकी बिव्वाइजको बिबोइङ नृत्य, गजल वाचन र डेमोस्ट्रेशन रहनेछ ।   मञ्चका अध्यक्ष दीननाथ बरालको अध्यक्षतामा पोखरा १७ घारिपाटनमा रहेको आभ्या क्लबमा भएको पत्रकार सम्मेलन तथा ट्रफी सार्वजनिक कार्यक्रममा उपाध्यक्ष सुरज श्रेष्ठले स्वागत र महासचिव राजाराम पौडेलले कार्यक्रम सञ्चालन गरेका थिए ।

काठमाण्डौँ :    बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का नवनियुक्त अध्यक्ष शीतल साहले जनकपुरधामलाई धार्मिक पर्यटकीय आकर्षणको केन्द्र बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । परिषद् अध्यक्षको रूपमा आज पदभार ग्रहण गर्नुहुँदै नवनियुक्त अध्यक्ष साहले सबै पक्षसँग सहकार्य गरेर जनकपुरधामलाई धार्मिक पर्यटकको आकर्षणको केन्द्र बनाउने बताउनुभयो ।   “जनकपुरधाम आफैँमा धार्मिक, सांस्कृतिक र ऐतिहासिक नगर हो”, अध्यक्ष साहले भन्नुभयो, “यहाँका धार्मिक र सांस्कृतिस्थलको संरक्षण संवद्र्धन गर्दै जनकपुरधामलाई धार्मिक पर्यटकीय क्षेत्रका रूपमा विकास गर्नु मेरो मुख्य लक्ष्य हो ।”    यसैबीच नवनियुक्त अध्यक्ष साहले पदभार ग्रहण गरेलगत्तै वर्षौँदेखि  जीर्ण रहेको जनकपुरधामस्थित रामायण भवनलाई जीर्णोद्वार गर्ने पहिलो निर्णय गर्नुभएको छ । धार्मिक र ऐतिहासिक भवन भए पनि उपेक्षाका कारण हालसम्म मर्मतसम्भार हुन नसक्दा जीर्ण बनेकाले यसलाई मर्मतसम्भार गरी जीर्णोद्वार गर्ने आफूले पहिलो निर्णय लिएको अध्यक्ष साहले बताउनुभयो ।   साहलाई नेपाल सरकारले बुधबार परिषद्को अध्यक्षमा नियुक्त गरेको थियो । गत विसं २०४९ मा स्थापना भएको सो परिषद्ले धनुषा र महोत्तरीको धार्मिक र पर्यटकीयस्थलको संरक्षण, संवद्र्धन तथा सौन्दर्यकरणको कार्य गर्दै आएको छ । यसका साथै मिथिला क्षेत्रमा प्रसिद्ध १५ दिने मिथिला मध्यमा परिक्रममालाई व्यवस्थित बनाउने र साथै पर्यटन प्रवद्र्धनसम्बन्धी कार्यसमेत सो परिषद्ले गर्दै आएको जनाएको छ । परिषद्मा धनुषा र महोत्तरी जिल्लाका सांसद, नगरप्रमुख र प्रमुख जिल्ला अधिकारी तथा प्रहरी प्रमुख गरी ३२ सदस्य रहने व्यवस्था छ ।

काठमाण्डौँ :       प्रधानमन्त्री शेरबहादुर देउवाले सङ्घीय संसद् र प्रदेशसभाको निर्वाचन गराउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । सङ्घीय संसद् सचिवालय र पूर्व सांसद मञ्च नेपालले ६४औँ संसद् दिवसका अवसरमा आज आयोजना गरेको कार्यक्रममा उहाँले स्थानीय तहको निर्वाचन गत वैशाख ३० गते सफतापूर्वक सम्पन्न भएको र आगामी निर्वाचन स्वच्छ र भयरहित वातावरणमा सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।      “संविधानसभाबाट संविधान जारी गरेपछि मुलुक सङ्घीय लोकतान्त्रिक व्यवस्थाबाट अघि बढिरहेको छ”, प्रधानमन्त्री देउवाले भन्नुभयो, “स्थानीय तहको निर्वाचन भयरहित, स्वच्छ वातावरणमा सम्पन्न भएको छ, प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सम्पन्न गर्न सरकार प्रतिबद्ध छ ।”       दिगो शान्ति र सुशासन कायम गर्नेतर्फ मुलुक अगाडि बढिरहेको बताउँदै उहाँले देशलाई विकसित बनाउन सबैले मिलेर काम गर्नुपर्नेमा जोड दिनुभयो । प्रधानमन्त्री देउवाले पूर्व सांसद मञ्चले दलीय राजनीति भन्दामाथि उठेर काम गरिरहेको र सरकारलाई समयसमयमा महत्वपूर्ण सल्लाह दिने गरेकोप्रति कृतज्ञता व्यक्त गर्नुभयो । प्रधानमन्त्री देउवाले जनताबाट निर्वाचित जनप्रतिनिधि रहेको संसद्ले संसदीय लोकतान्त्रिक मूल्यमान्यतालाई व्यवस्थित गर्न महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो ।   पूर्व प्रधानमन्त्री झलनाथ खनालले संसद् राष्ट्रको आवाज बोल्ने र देशलाई ठीक ढङ्गले अगुवाइ गर्ने थलोका रुपमा विकास भइरहेको बताउनुभयो । उहाँले सरकार र दलहरूले राम्रोसँग भूमिका निर्वाह गर्न नसकेकाले जनताले निर्दलीय व्यक्तिलाई मत दिएर जिताउने गरेको र देशलाई ठीक ढङ्गले अगुवाइ गर्न नसक्दा फरक परिणाम आउने अवस्था सिर्जना भएको तर्क गर्नुभयो ।       कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले संसद् सोचेअनुरुप क्रियाशील हुन नसक्दा २०७५ सालदेखि ५३ वटा विधेयक र आठवटा अध्यादेश संसद्मा रहेको बताउनुभयो । उहाँले नागरिकताजस्तो राष्ट्रिय महत्वको विषयलाई सहमतिबाटै टुङ्ग्याउनुपर्नेमा जोड दिनुभयो ।        पूर्व सभामुख रामचन्द्र पौडेलले जनताको आवाजलाई मुखरित गर्ने र निरङ्कुशताको विरुद्ध लड्ने संसद् सधैँ क्रियाशील हुनुपर्ने बताउनुभयो । संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले पूर्व सांसद मञ्चले संसद्ले गरेका वार्षिक कामको अध्ययन गरेर थप क्रियाशील बनाउनुपर्ने सुझावसमेत दिनुभयो । मञ्चका अध्यक्ष ओमकारप्रसाद श्रेष्ठले २०१६ साल असार १६ गते तत्कालीन राजा महेन्द्र वीरविक्रम शाहले निर्वाचत संसद्को पहिलो बैठक बसेको र त्यही दिवसका अवसरमा प्रत्येक वर्ष यो दिवस मनाउन लागेको जानकारी दिनुभयो ।  

काठमाण्डौँ :     शुक्लाफाँटा नगरपालिका–१० झलारीका १३ वर्षीय रघुवीर जोशी खोलामा नुहाउने क्रममा बगेर बेपत्ता भएका छन् । स्थानीय टोटी खोलामा नुहाउने क्रममा बालक बुधबार साँझ बेपत्ता भएका हुन् ।   झलारी इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक ज्ञानेन्द्र सिंहका अनुसार खोलाको किनारामा कपडा र चप्पल फेला परेपनि बालकको अवस्था अहिलेसम्म पत्ता लाग्न सकेको छैन ।“खोलाको किनारामा बालकको कपडा र चप्पल फेला परेको छ” उहाँले भन्नुभयो, “गोताखोर टोलीले बाढी आएको खोलामा खोजतलास गरेपनि अझैसम्म बालकलाई भेटाउन सकेको छैन ।” खोजी कार्य आज पनि जारी रहेको प्रहरी निरीक्षक  सिंहले बताउनुभयो ।

 काठमाडौँ :      चालु आर्थिक वर्ष सकिन अब १६ दिन बाँकी छ । सरकारले चालु आवमा रु तीन खर्ब ७८ अर्ब नौ करोड ७७ लाख बजेट विकास निर्माणमा खर्च गर्ने लक्ष्य राखेको थियो । हरेक महिना १० प्रतिशतका दरले पुँजीगत खर्च गर्ने सरकारको लक्ष्य थियो । तर, अवस्था भने त्यस्तो छैन ।   सरकारको दैनिक हिसाबकिताब राख्ने महालेखा नियन्त्रक कार्यालयका अनुसार असार १५ गते बुधबारसम्म विकास निर्माणको काममा कूल विनियोजित बजेटमध्ये ४० प्रतिशत मात्रै खर्च भएको पाइएको छ । कार्यालयका अनुसार कूल रु एक खर्ब ५१ अर्ब नौ करोड चार लाख मात्रै खर्च भएको छ । यो लक्ष्यको ३९.९६ प्रतिशत बराबर हो ।    सरकारको कूल खर्च भने ६७.९४ प्रतिशत बराबर भएको छ । कूल रु १६ खर्ब ३२ अर्ब ८२ करोड ९२ लाख बराबर खर्च गर्ने लक्ष्य राखिएकामा हालसम्म रु ११ खर्ब नौ अर्ब ३७ करोड ३२ लाख बराबर खर्च भएको छ । कूल विनियोजनको ६७.९४ प्रतिशत हो ।   सरकारको खर्चमध्ये सबैभन्दा बढी खर्च चालुमा देखिएको छ । रु १० खर्ब ६५ अर्ब २९ करोढ ३९ लाख बराबरको चालु खर्च गर्ने लक्ष्य राखेको सरकारले हालसम्म रु आठ खर्ब ६६ अर्ब ९० करोड ६० लाख अर्थात् ८१.३८ प्रतिशत खर्च गरेको छ ।   त्यस्तै, वित्तीय व्यवस्थातर्फ कूल रु एक खर्ब ८९ अर्ब ४३ करोड ७६ लाख बराबरको खर्च गर्ने लक्ष्य राखेकामा हालसम्म रु ९१ अर्ब ३७ करोड ६८ लाख अर्थात् ४८.२४ प्रतिशत खर्च भएको छ । सरकारले नियमित रुपमा गर्नुपर्ने ऋणको साँवा तथा ब्याज भुक्तानीका लागि यस खालको व्यवस्था गरेको हुन्छ । सरकारको पनि नियमित दायित्व हुन्छ, त्यसलाई भुक्तानीका लागि हरेक वर्ष बजेटमा नै वित्तीय व्यवस्था शीर्षकमा रकम विनियोजन गर्ने गरिएको हुन्छ ।  यो त भयो खर्चको कुरा ।    अब सरकारको आम्दानी पनि हेरौँ । कार्यालयका अनुसार असार १५ गतेसम्म कूल रु नौ खर्ब ७० अर्ब ४५ करोड ६९ लाख बराबर राजस्व सङ्कलन गरेको छ । यो कूल लक्ष्यको ८२.२ प्रतिशत हो । सरकारले रु ११ खर्ब ८० अर्ब ६० करोड चार लाख बराबर राजस्व सङ्कलन गर्ने लक्ष्य चालु आवका लागि राखेको थियो ।    त्यसमा कर राजस्वतर्फ रु आठ खर्ब ९९ अर्ब १५ करोड ५७ लाख सङ्कलन भएको छ । यो कूल लक्ष्यको ८४.१९ प्रतिशत हो । चालु आवका कर राजस्वतर्फ रु १० खर्ब ६७ अर्ब ९६ करोड २५ लाख लक्ष्य राखेको थियो । यस्तै, अनुदानतर्फ रु ५९ अर्ब ९१ करोड ९९ लाख प्राप्त गर्ने लक्ष्य राखेकामा हालसम्म रु १३ अर्ब ८८ करोड ३३ लाख अर्थात् २३।१७ प्रतिशत प्राप्त गरेको छ ।    अर्थमन्त्री जनार्दन शर्माले आगामी आवको बजेट प्रस्तुत गर्दा चालु आवमा कूल सरकारी खर्च रु १४ खर्ब ४७ अर्ब ५१ करोड अर्थात ८८.६ प्रतिशत हुने संशोधित अनुमान प्रस्तुत गर्नुभएको थियो । कूल सरकारी खर्चमध्ये चालु खर्च रु नौ ९ खर्ब ७१ अर्ब ८६ करोड अर्थात् ९१.२ प्रतिशत, पुँजीगत खर्च रु तीन खर्ब ९ करोड अर्थात् ७९.४ प्रतिशत र वित्तीय व्यवस्थातर्फ रु एक खर्ब ७५ अर्ब ५६ करोड अर्थात ९२.७ प्रतिशत खर्च हुने संशोधित अनुमान अर्थमन्त्रीको थियो ।    कोभिड–१९ महामारीको विषम परिस्थितिका बीच हालसम्मको राजस्व सङ्कलनको अवस्था सन्तोषजनक रहेको छ । चालु आर्थिक वर्षमा राजस्व परिचालन लक्ष्यको हाराहारीमा नै रही रु ११ खर्ब ५२ अर्ब ४२ करोड सङ्कलन हुने अनुमान गरिएको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा १८ प्रतिशतले बढी हो ।   चालु आर्थिक वर्ष वैदेशिक सहायतातर्फ अनुदान रु २४ अर्ब ८१ करोड र ऋण रु एक खर्ब ७२ अर्ब ८८ करोड परिचालन हुने संशोधित अनुमान छ । चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म रु  एक खर्ब ३५ अर्ब आन्तरिक ऋण उठाइसकिएको छ । चालु आर्थिक वर्षमा  रु दुई खर्ब ३१ अर्ब ३० करोड आन्तरिक ऋण परिचालन हुने अवस्था रहेको अर्थमन्त्रीको भनाइ छ ।

काठमाण्डौँ :     छ सय ६० जना नयाँ भन्सार एजेन्ट थपिएका छन् । भन्सार विभागले लोकसेवा आयोगमार्फत खुला प्रतिस्पर्धात्मक परीक्षा गरेर आज नयाँ एजेन्ट थपको अन्तिम नामावली सार्वजनिक गरेको छ ।   विभागले बुधबार निर्णय गरेर लिखित प्रतिस्पर्धामा सहभागी ८५७ जनामध्येबाट मौखिक अन्तर्वार्तामा उत्तीर्ण एजेन्टको अन्तिम नामावाली सर्वाजनिक गरेको हो ।   गत वैशाख १७ गते लोकसेवा आयोगमार्फत ८५७ जना लिखित परीक्षामा सहभागी भएका थिए । लिखित परीक्षामा सहभागीमध्येबाट यही असार ५ गतेदेखि १३ गतेसम्म मौखिक अन्तर्वार्ता सञ्चालन भएको थियो ।   लिखित र मौखिक परीक्षामा भाग लिई दुवै परीक्षामा औसतमा उच्च अङ्क प्राप्त गर्ने ६६० जनालाई छनोट गरिएको विभागले जनाएको छ । भन्सार ऐन २०६४, भन्सार नियमावली २०६४, भन्सार एजेन्ट परीक्षा सञ्चालन कार्यविधि २०७७ र भन्सार विभागको निर्णयानुसार परीक्षा सञ्चालन गरिएको विभागले जनाएको छ ।   विभागले २०७७ को चैत १६ गते ठूलो सङ्ख्यामा भन्सार एजेन्टको माग गरेको थियो । बीस वर्षदेखि नयाँ भन्सार एजेन्ट थप हुन नसकेको भन्दै एकैपटक ६६० एजेन्टका लागि इजाजत खुला गरिएको थियो । दुई दशकयता भन्सार एजेन्ट नियुक्त गर्न नसक्दा हाल १७० जना एजेन्टमात्रै रहेका छन् ।   यसअघि भन्सार एजेन्टको अनुमतिपत्र दिने परीक्षा सञ्चालन गर्न खोज्दा सर्वोच्च अदालतमा मुद्दा परेपछि परीक्षा रोकिएको थियो । अदालतले ऐनमा व्यवस्था गरेर मात्र परीक्षा लिनुपर्ने आदेश दिएको थियो । भन्सार विभागले ऐन परिमार्जन गरी परीक्षा लिन लागिएको जनाएको छ । भन्सार एजेन्टले आयात–निर्यातमा व्यापारी र भन्सार कर्मचारीबीच पुलको काम गर्छन् ।