काठमाण्डौँ : नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली चलचित्र जगतका महानायक राजेश हमालबीच भेटवार्ता भएको छ । अध्यक्ष दाहालको निवास खुमलटारमा आज भएको भेटमा नेपालको कला तथा चलचित्र क्षेत्रको विषयमा कुराकानी भएको थियो । भेटमा सहभागी सङ्गीतकार चेतन सापकोटाकाका अनुसार उहाँहरूबीच नेपालको चलचित्र उद्योग, कला क्षेत्र, राज्यको लगानी र उत्प्रेरणालगायत विषयमा छलफल भएको थियो । अध्यक्ष दाहालले नेपालको चलचित्र उद्योगलाई अन्तर्राष्ट्रियस्तरमा पुर्याउनका लागि राज्यका तर्फबाट जे–जति भूमिका निर्वाह हुनुपर्ने हो, त्यसो हुन नसकेकाले मिलेर काम गर्नुपर्ने बताउनुभएको थियो । नेपाली चलचित्र क्षेत्रलाई लामो समयसम्म डोर्याएर समृद्ध बनाउन नायक हमालले निर्वाह गर्नुभएको भूमिकाको समेत अध्यक्ष दाहालले प्रशंसा गर्नुभएको थियो ।कलाकारहरू खुलेर राजनीतिमा आउने परिपाटीको विकास अध्यक्ष दाहालको पालामा नै भएको बताउँदै नायक हमालले कलाकारलाई राम्रो व्यवहार गर्ने परिपाटीको सुरुआत भएकामा प्रशन्नता व्यक्त गर्नुभएको थियो । उहाँले मुलुकमा सबैभन्दा पहिले राजनीतिक स्थिरता हुनुपर्ने र त्यसपछि मात्रै अन्य कुरा विस्तारै राम्रो हुँदै जाने बताउनुभएको थियो । भेटमा मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा समेत सामान्य चर्र्चा भएको बताइएको थियो ।
काठमाण्डौँ : सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार २०० तोकिएकोे छ । अघिल्लो दिन प्रतितोला रु ९७ हजार ५०० मा कारोबार भएका पहेँलो धातु आज प्रतितोला रु ३०० ले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९६ हजार ७०० छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९७ हजार थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु २५ ले घटेर रु एक हजार २१० तोकिएको महासङ्घले जनाएको छ । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका तुलनामा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।
रौतहट : राष्ट्रिय सूचना आयोगले सूचना नदिने एक नगरपालिकाका कार्यालय प्रमुखलाई जरिवाना गरेको छ । आयोगले रौतहटको राजपुर नगरपालिकाको कार्यालय प्रमुख बैंजु ठाकुरलाई रु १० हजार जरिवाना गरेको हो । राजपुर नगरपालिका–१ का एकामुल हकले गरेको पुनरावेदनमा सूचना आयोगले उक्त फैसला गरेको हो । हकले राजपुर नगरपालिकासँग कोरोना महामारीको समयमा नगरपालिकाको क्वारेन्टिनमा रहेका नागरिकको सङ्ख्या, प्रतिव्यक्ति कति खर्च भयो ? क्वारेन्टिनमा बस्ने व्यक्तिले ओढ्नका लागि खरिद गरेको कम्बलको मूल्यबारे प्रमाणित प्रतिलिपी माग गर्नुभएको थियो । सूचनाको हकसम्बन्धी ऐन २०६४, अनुसार उक्त नगरपालिकासँग माग गरेको सूचना नपाएपछि सूचना मागकर्ता हकले कानुनअनुसार राष्ट्रिय सूचना आयोगमा सूचना नदिने प्रमुख र सूचना अधिकारीलाई विपक्षी बनाई पुनरावेदन दर्ता गर्नुभएको थियो । पुनरावेदन दर्ता पछि नगरपालिका प्रमुखलाई सूचना उपलब्ध गराउनु भन्दै आयोगबाट पटक–पटक आदेश भएको, कारबाहीको बारेमा सजग गराएको साथै चेतावनी दिँदासमेत प्रमुखले सूचना नदिएको आयोगद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । निज कार्यालय प्रमुखले सूचना उपलब्ध नगराई संविधान प्रदत्त नागरिक अधिकार र कानुनले व्यवस्था गरेको सूचनाको हकको ठाडो उल्लङ्घन गरेको भन्दै आयोगले जरिवानाको फैसला गरेको हो । सूचना आयोगले कार्यालय प्रमुखलाई सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ३२ को उपदफा (१) बमोजिम रु १० हजार जरिवाना हुने र सूचना उपलब्ध गराउनुपर्ने फैसला गरेको राष्ट्रिय सूचना आयोगका आयुक्त रत्नप्रसाद मैनालीले जानकारी दिनुभयो ।
महोत्तरी : महोत्तरीको जलेश्वर नगरपालिका–१२ सीमा क्षेत्रमा नेपाल–भारत आउजाउ गर्नेहरुसँग अख्तियारको प्रहरी निरीक्षक हुँ भन्दै पैसा असुल्ने तीन जनालाई प्रहरीले पक्राऊ गरेको छ । पक्राउ पर्नेमा जलेश्वर–१२ का ३० वर्षीय रवि ठाकुर, लोहारपट्टी नगरपालिकाका २९ वर्षीय प्रभास झा र २१ वर्षीय हमिद राईन रहेका छन् । प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार तीनै जनालाई बिहीबार साँझ जलेश्वर–१२ नैन्ही गाउँस्थित सीमानाकाबाट पैसा असुली गरिरहेको अवस्थामा प्रहरीचौकी नैन्ही र सशस्त्र प्रहरी बल नेपाल बीओपी जलेश्वरको टोलीले पक्राउ गरेको हो । प्रहरीले उनीहरुको साथबाट पाँच हजार ८०० भारु बरामद गरेको छ । तीनैजनालाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।
काठमाण्डौँ : राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)ले ६५ वर्षे यात्रा सुरु गरेको छ । सन् १९५८ जुलाई १ मा स्थापना भएको निगमले २८ सिट क्षमतायुक्त डोग्लस डिसी ३ डाकोटाबाट सेवा प्रारम्भ गरी ६४ वर्षे दौरानमा पछिल्लो पटक वाइडबडी ए ३३०–२०० सिरिजको विमान भित्र्याएर सेवा दिइरहेको छ । निगमले हाल अन्तराष्ट्रियतर्फ भारतको नयाँदिल्ली, बेङ्लोर र मुम्बई तथा हङकङ, मलेसिया, थाइल्याण्ड, जापानको नारिता, कतारको दोहा, युनाइटेड अरब इमिरेटस्को दुबई र साउदी अरबको रियादमा उडान भर्दै आएको छ । निगमले दुई थान वाइड बडी ए ३३० र दुई थान न्यारोबडी ए३२० सिरिजका विमानमार्फत अन्तर्राष्ट्रिय उडान गरिरहेको छ । आन्तरिकतर्फ दुर्गम भेगका विमानस्थलमा निगमले सेवा दिइरहेको छ । निगमले विगत वर्षमा औपचारिक समारोह आयोजना गरेर वार्षिकोत्सव मनाउँदै आएकामा यस पटक सामान्य कार्यक्रम मात्र गर्न लागेको निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिनुभयो । स्थापनाको ६४ वर्षको इतिहास बोकेको निगमले आफ्नो बजार हिस्सा गुमाउँदै जाँदा चिन्ता बढेको छ । निगमको ऋण दायित्व करिब रु ४७ अर्ब पुगेको बताइन्छ । वाइडबडी विमान खरिद गर्न कर्मचारी सञ्चयकोष र नागरिक लगानी कोषबाट निगमले ऋण लिएको थियो । भएका विमान पनि राम्ररी सञ्चालन नहुनु, बजेट एयरलाइन्ससँगको प्रतिस्पर्धालगायत कारणले खस्केको निगमको साख अहिले उत्कृष्ट ग्राउण्ड ह्याण्डलिङ सेवा, अन्तर्राष्ट्रिय गन्तव्यमा व्यापार प्रवद्र्धनले उकासिएको बताइन्छ ।
दाङ : दाङको घोराहीमा भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन् । गए राति घोराही उपमहानगरपालिका–७ बेसाईमा सौडियारबाट सर्रातर्फ आउँदै गरेको रा३प २९२२ नम्बरको मोटरसाइकलले दुई साइकललाई ठक्कर दिएको प्रहरी नायब उपरीक्षक मुुकुन्दप्रसाद रिजालले जानकारी दिनुभयो । उक्त दुर्घटनामा परी मोटरसाइकल चालक घोराही–१५ का ३५ वर्षीय गङ्गाबहादुर कवर र साइकलयात्री घोराही–७ का १६ वर्षीय रितेश केसीको मृत्यु भएको छ । दुवैको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी मोटरसाइकलमा सवार घोराही–७ का ३८ वर्षीय वसन्त चौधरी र साइकलयात्री सोही ठाउँका १५ वर्षीय विनोद भण्डारी घाइते भएका छन् । घाइते दुवैको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको छ । भण्डारीको हात र खुट्टामा चोट लागेको छ । चौधरीको मुख, नाक र टाउकोमा चोट रहेको रिजालले बताउनुुभयो ।
पर्सा : पर्सामा बालिकाको शवसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । बहुदरमाई नगरपालिका–७ ढोङ्गी खोलाको मसानघाटमा एक बालिकाको शव जलाउँदै गरेको अवस्थामा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा स्थानीय १८ वर्षीया किशोरी, ४० वर्षिया आशा देवी र ५० वर्षीया उर्मिला देवी रहेका छन् । बुधबार बहुदरमाई–७ की १४ वर्षीया बालिकाको विष सेवनका कारण मृत्यु भएको थियो । उक्त घटनाबारे प्रहरीलाई जानकारी नदिई गोप्यरुपमा अन्त्यष्टि गर्न लागेको अवस्थामा प्रहरीले तीनैजनालाई मसानघाटबाट शवसहित पक्राउ गरेको हो । मोटरसाइकलमा लगेर शव जलाउन लागेका तीनैजना विरुद्ध कर्तव्य ज्यान सम्बन्धी कसूरमा पर्सा जिल्ला अदालतबाट ५ दिन म्याद लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय पोखरियाको टोली मसानघाटमा पुग्दा शव बेवारिसे छोडेर तीनैजना फरार भएका थिए । प्रहरीले जल्दै गरेको शव बरामद जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।
काठमाडौँ : काठमाडौँ महानगरपालिकाले निजी संस्थासँग सम्झौता भएका सबै सार्वजनिक शौचालयलाई असार महिनाभित्र चिह्न प्रदान गर्ने भएको छ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहको अध्यक्षतामा बसेको पहिलो नगरसभा बैठकले सार्वजनिक शौचालय सञ्चालनका लागि कामपाले ३३ निजी संस्थासँग सम्झौता गरिसकेको छ । सर्वसाधारणलाई सहज होस् भनेर कामपाले सम्झौता भएका सबैमा एकै किसिमको चिह्न लगाउने काम गरिरहेको प्रशासन प्रमुख महेश काफ्लेले जानकारी दिनुभयो । प्रयोगकर्तालाई सार्वजनिक शौचालय पहिचान गर्न सजिलो होस भनेर सबैमा एकै प्रकारको सङ्केत चिह्न राख्न लागिएको हो । चिह्न राखिसकेपछि मात्र सम्झौता भएका संस्थाको शौचालय सर्वसाधारणले प्रयोग गर्न सक्नेछन् । सङ्केत चिह्नमा गोलो घेराभित्र नीलो पृष्ठभूमि, त्यसको माथिल्लो भागमा नेपाली भाषामा सेतो अक्षरले ‘सार्वजनिक शौचालय’ लेखिएको छ । बीच भागमा सेतो रङमै महिला र पुरुषको चिह्न छ । सङ्केत चिह्नको पुछारमा अङ्ग्रेजी भाषामा ‘पब्लिक टवाइलेट’ लेखिएको छ । चिह्नकै आधारमा सर्वसाधारणले शौचालय प्रयोग गर्नसक्ने कामपाले जनाएको छ । सम्झौताअनुसार करिब २०० शौचालय सञ्चालनमा आउने छन् । जसमा १०० मा चिह्न लगाइसकेको छ भने अन्यमा पनि जारी छ । सार्वजनिक उपयोगमा ल्याउन इच्छा देखाएका व्यावसायिक संस्थासँगको सहकार्यमा कामपाले २५० शौचालय सार्वजनिकरुपमा प्रयोगमा ल्याउन लागेको छ । यसरी उपलब्ध गराइएका शौचालयको मर्मतसम्भार, सरसफाइलगायत गर्ने जिम्मा संस्थाकै हुनेछ । शौचालयको अवस्था अनुगमन गर्न दुवै पक्षबाट एक/एक प्रतिनिधि तोकिएको छ । उनीहरुले हरेक चार महिनामा प्रतिवेदन तयार गरी बुझाउने महानगरले जनाएको छ ।
म्याग्दी : वन्यजन्तुको आक्रमणबाट पशुधनको क्षति बेहोरेका म्याग्दीका कृषकले रु चार लाख ६० हजार राहत पाएका छन् । डिभिजन वन कार्यालयले आर्थिक वर्ष २०७८/७९ मा सो रकम बराबरको राहत वितरण गरेको जनाएको छ । निमित्त डिभिजनल वन अधिकृत मनोज रानाभाटले चितुवाको आक्रमणबाट मरेका ५० पशुका धनीलाई राहत उपलब्ध गराइएको जानकारी दिनुभयो । “प्रदेश सरकारको कार्यविधिअनुसार ३७ खसी, बाख्रा र बोका, सात पाठापाठी र ६ बङ्गुरको राहत वितरण गरेका हौँ”, उहाँले भन्नुभयो, “तीस कृषकले राहत पाउनुभएको छ ।” बाख्रा, खसी र बोकाको रु दश हजार, पाठापाठीको रु तीन हजार र बङ्गुरको रु ६ हजार पाँच सयका दरले राहत वितरण गरिएको हो । चितुवाको आक्रमणबाट सबैभन्दा बढी क्षति बेहोर्ने कृषक मङ्गला गाउँपालिकाका छन् । न्यजन्तु पीडित कृषकलाई राहतका अतिरिक्त मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनका ब्रोसर वितरणका साथै सचेतनामूलक गोष्ठीसमेत आयोजना गरिएको छ । वन्यजन्तुका लागि दश सामुदायिक वनमा पोखरी निर्माण गरिएको सहायक वन अधिकृत नरबहादुर क्षेत्रीले जानकारी दिनुभयो । “वन्यजन्तु पानी र आहराको खोजीमा मानव बस्तीमा नआउन भनेर जङ्गलमै पोखरी बनाइएको हो”, उहाँले भन्नुभयो, “वनमै पानी र आहरा पाएपछि वन्यजन्तु मानव बस्तीमा नआउने र द्वन्द्व व्यवस्थापनमा सहयोग पुग्ने देखिन्छ ।” प्रतिपोखरी रु एक लाखका दरले पोखरी निर्माण गरिएको हो । बेनी नगरपालिका–९ को गलेश्वर ठुलो सल्लेरी र घोर्लास, धौलागिरि–७ को धारापानी, रघुगङ्गा–२ को कृष्ण तालावन्दी, मङ्गला–२ को सल्यान सल्लेरी र भदौरेपाखा, रघुगङ्गा–८ को उत्तिसिने, बेनपा–५ को भेडाखोर, पानी पधेरो देपुर्नेआटी, मङ्गला–३ र ४ को टाड बिसाउना सामुदायिक वनमा पोखरी निर्माण गरिएको छ । बेनी–२ खबराको ठुलोगैरा सामुदायिक वनमा जिल्लामै पहिलोपटक औषधीय गुणयुक्त विजयसाल प्रजातिको वनस्पतिको ४० बिरुवा रोपिएको छ । विजयसाल लोपोन्मुख र संरक्षित वनस्पति हो । समुद्री सतहदेखि एक हजार मिटरको उचाइसम्म हुने विजयसालका लागि म्याग्दीको तल्लो क्षेत्रमा उपयुक्त मौसम र वातावरण भएकाले परीक्षण गरिएको वन डिभिजन कार्यालयले जनाएको छ । विजयसालको भाडोमा राखेको पानी सेवन गर्नाले पेटसम्बन्धी रोग निको हुने विश्वास गरिन्छ ।

