धरान : धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङको अगुवाइमा धरान २० स्थित पकुवाखोलामा खानेपानीका लागि सयौँ स्थानीयवासीले श्रमदान गरेका छन् । पूर्वनिर्धारित योजनाअनुसार हरेक शनिबार एक दिन सो खोलामा पुगेर खानेपानीको मुहानमा ढुङ्गा बोक्ने र ‘इन्टेक ’बनाउने काममा उनीहरु खटिएका हुन् । शनिबार सोही क्षेत्रमा वृक्षरोपण पनि गरिएको छ । पकुवाखोला क्षेत्रमा करिब २५० विभिन्न जातका फलफूल र बाँसलगायतका बिरुवा रोपिएको छ । पछिल्लो समय धरानमा खानेपानीको समस्या हुँदै आएको छ । खानेपानी अभाव टार्न नगरप्रमुख साम्पाङले खानेपानीको स्रोत खोजी गर्न उच्च प्राथमिकता दिनुभएको छ । पकुवाखोलाको पानी उपयोग गर्न यसको सङ्कलनका लागि ‘इन्टेक’ बनाउने काम भइरहेको उहाँले जानकारी दिनुभयो । विशेष गरी खानेपानीको मुद्दा उठान गरी स्वातन्त्रबाट नगरप्रमुखमा निर्वाचित भएपछि उहाँले खानेपानी व्यवस्थापनका लागि ध्यान दिइरहनु भएको छ ।
पोखरा : नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी प्रदेशले आयोजना गरेको ‘छैटौँ स्पोर्टस् अवार्ड २०७८’ अन्र्तगत उत्कृष्ट वर्ष खेलाडी ( महिला ) अवार्ड नेपाल महिला भलिबलका क्याप्टेन अरुणा शाहीले प्राप्त गरेका छन् । शनिबार पोखरा सभागृहमा मञ्चले आयोजना गरेको ‘छैटौँ स्पोर्टस् अवार्ड २०७८’ मा उत्कृष्ट वर्ष खेलाडी ( महिला ) मनोनयनमा परेका दुई खेलाडीलाई पछि पार्दै नेपाल महिला भलिबलका क्या. अरुणा शाहीले अवार्ड प्राप्त गरिन् । उनले वर्ष खेलाडी महिलाको अवार्डसँगै इलेक्ट्रिक स्कुटर समेत प्राप्त गरिन् । उनीसँगै मनोनयनमा परेका क्रिकेटका मनिषा उपाध्याय र करातेका सरगम कुमालले ट्रफी प्राप्त गरे ।
पोखरा : खेलकुद पत्रकार मञ्च गण्डकी प्रदेशले आयोजना गरेको ‘छैटौँ स्पोर्टस् अवार्ड २०७८’ अन्र्तगत उत्कृष्ट खेलकुद पत्रकार अवार्ड दिपक परियारले प्राप्त गरेका छन् । शनिबार पोखरा सभागृहमा मञ्चले आयोजना गरेको ‘छैटौँ स्पोर्टस् अवार्ड २०७८’मा उत्कृष्ट खेलकुद पत्रकारको अवार्ड बिमल परियारले प्राप्त गरे ।
पोखरा : नेपाल खेलकुद पत्रकार मञ्च, गण्डकीले अग्रज खेलाडी गणेशबहादुर भट्टराईलाई ‘लाईफ टाईम अचिभमेन्ट अवार्ड’बाट सम्मान गरेको छ । शनिबार पोखरा सभागृह हलमा मञ्चले आयोजना गर्ने छैटौं पोखरा स्पोटर्स अवार्ड २०७८ को अवसरमा भट्टराईलाई उक्त अवार्ड प्रदान गरिएको हो । भट्टराईलाई लाइफटाइम अचिभमेन्ट अवार्डका साथमा चाँदीको करुवा, ट्रफी, ताम्रपत्र र दोसल्लाले सम्मान गरिएको हो । पूर्व अन्तर्राष्ट्रिय बक्सिङ खेलाडी भट्टराई सन् १९९० मा पाकिस्तानमा भएको चौथो दक्षिण एशियाली खेलकुदमा सिल्भर मेडलिस्ट हुन् । उनलाई पराजित गरेका पाकिस्तानी बक्सर पछिल्लो वर्ष एसियन गेम्सकै गोल्ड मेडलिस्ट हुन् । भट्टराई १९८९, १९९० र १९९१ मा लगातारा बक्सिङमा राष्ट्रिय च्याम्पियन भए । सन् १९८७ मा पहिलो पटक जुनियर राष्ट्रिय प्रतियोगितामा सहभागी भएका भट्टराईले पहिलो सहभागितामै जुनियर च्याम्पियन बने । १९८८ मा पनि जुनियर राष्ट्रिय च्याम्पियनशीपमा गोल्ड मेडल जिते । सोहि वर्ष सिनियरतर्फ चौथो भए । त्यसको एक वर्षपछि राष्ट्रिय च्याम्पियन बने । १९९० मा बैंकक र १९९१ मा पाकिस्तानमा ६–६ महिना प्रशिक्षणका लागि भट्टराई पुगेका थिए । राष्ट्रिय अन्तराष्ट्रिय खेलहरुमा सहभागिता जनाउँदै गर्दा उनको दाहिने हात भाँच्चियो । त्यसपछि खेलाडीको रुपमा उनको करिअरले विश्राम लिएपनि व्यवस्थापकीय पक्ष सम्हाल्न थाले । १९९८ मा नेपालमै भएको सागमा २ स्वर्ण, ५ रजत र २ कास्य पदक देशले जित्दा उनी टीम मेनेजर थिए । फुटबल खेलसँग समेत संलग्न भट्टराई एन्फाको केन्द्रीय सदस्य हुँदै उपमहासचिव बने । भट्टराईले भूतपूर्व खेलाडी मञ्चका उपाध्यक्ष, नेपाल बक्सिङ संघका उपाध्यक्ष, जोय फाउन्डेशनका संस्थापक सदस्य, रेबान पोखराको अध्यक्ष, पोखरा उपमहानगरपालिकाको ८ महिनासम्म उपमेयरको जिम्मेवारीसमेत सम्हालिसकेका छन् । यसअघि, मञ्चले यहाँका अग्रज खेलाडीहरु प्रा.डा। वीरेन्द्रसिंह गुरुङ, कृष्णबहादुर थापा, खड्गबहादुर रानाभाट, चित्र बहादुर गुरुङ र आनन्द रञ्जितलाई लाईफ टाईम अचिभमेन्ट अवार्डबाट सम्मान गरिसकेको छ । मञ्चले २०७२ सालदेखि पोखरामा निरन्तर स्पोट्र्स अवार्ड कार्यक्रम गर्दै आएको छ ।
पोखरा : खेलकुद पत्रकार मञ्च गण्डकी प्रदेशले आयोजना गरेको ‘छैटौँ स्पोर्टस् अवार्ड २०७८’ अन्र्तगत उदीयमान खेलाडी विधामा टेनिसका दर्शिल श्रेष्ठले प्राप्त गरे । शनिबार पोखरा सभागृहमा आयोजना गरेको ‘छैटौँ स्पोर्टस् अवार्ड २०७८’मा उदीयमान खेलाडीको अवार्ड टेनिसका दर्शिल श्रेष्ठले प्राप्त गरेको हुन् । उनले नगद ३५ हजार रुपैयाँको साथमा ट्रफी प्राप्त गरे । उत्कृष्ट तीन मनोनयनमा परेका क्रिकेटका श्रृष्टि जैशी र बक्सिङका शाहिल लिम्बुले ट्रफी प्राप्त गरे ।
काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापाले दुई पटक बढी एउटै व्यक्ति प्रधानमन्त्री हुन नपाउने व्यवस्था गर्न माग गर्नुभएको छ। शनिबार काठमाडौंमा आयोजित उपत्यका स्तरीय संयोजित संगठनको भेलालाई सम्बोधन गर्नुहुँदै थापाले यस्तो बताउनुभएको हो। पार्टीको स्वार्थका लागि ६ ६ महिनामा पार्टी परिवर्तन गर्ने प्रवृत्ति गलत भएको उहाँको भनाइ छ। ‘‘पार्टीको स्वार्थ परिपूर्तिको निमित्त ६र६ महिनामा पार्टी परिवर्तन गर्ने प्रवृत्तिले अस्थिरताको सिर्जना भइरहेको छ। यो विकृतिको अन्त्यका निमित्त राप्रपा नेपालले संसदीय व्यवस्था उपयुक्त हुँदैन भनेर जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुने व्यवस्था हुनुपर्छ भनेको छ’’, थापाले भन्नुभयो, ‘मन्त्री हुन सांसद नै हुनुपर्छ भन्ने हुँदैन। दुई पटक भन्दा बढी एउटै व्यक्ति प्रधानमन्त्री हुन नपाउने व्यवस्था गर्नुपर्छ।’’ अध्यक्ष थापाले मन्त्रीको प्रलोभन दिएर र पैसा खर्च गरेर मन्त्री, प्रधानमन्त्री हुने व्यवस्थाले नेपालको हित गर्न नसकेको बताउनुभयो। उहाँले व्यापारी र विदेशीबाट उठाएको पैसाले चुनाव लड्ने प्रवृतिको अन्त्य हुनुपर्ने बताउनुभयो। अध्यक्ष थापाले प्रदेश सरकारमा पनि व्यापक विकृति र विसंगती हुन थालेको बताउनुभयो।
पर्वत : पर्वतका अधिकांश पानीका मुहानमा दिसामा हुने जीवाणु ‘कोलीफर्म’ को मात्रा उच्च रहेको पाइएको छ । जिल्लाका सात स्थानीय तहमा मुहानको पानी परीक्षण गर्दा अधिकांश मुहानको पानीमा ‘कोलीफर्म’ रहेको पाइएको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख सन्तोष पौडेलले जानकारी दिनुभयो । यो नतिजाले जिल्लाका अधिकांश नागरिकले दूषित पानी खाइरहेको र यसले स्वास्थ्यमा असर गरिरहेको उहाँको भनाइ छ । “कोलिफर्मका कारण झाडापखाला, हैजा, भाइरल ज्वरो, रुघाखोकीलगायत रोगको सङ्क्रमण हुने खतरा बढेको छ । यसले मानवीय स्वास्थ्यमा प्रत्यक्ष असर गरिरहेको छ”, पौडेलले भन्नुभयो, “हिउँदको समयमा भन्दा बर्खायामको समयमा ‘कोलिफर्म’ बढी भेटिन्छ । वर्षाका कारण बगेर आएको पानीले पानीको स्रोतमा जमिनको सतहमा रहेको फोहरसहितको पानी मिसाउँछ । एक ठाउँको फोहर बगेर अर्को ठाउँमा जान्छ ।” ल्याब टेक्निसियन मुना सापकोटाका अनुसार खानेपानीका स्रोतमा दिसामा पाइने उक्त जीवाणु उच्चमात्रामा रहेको पाइएको छ । उहाँका अनुसार कुस्मा नगरपालिकाभित्रका विभिन्न ३१ ठाउँमा रहेका पानीका स्रोतमा गरिएको परीक्षणका क्रममा ८० प्रतिशत, फलेबास नगरपालिकाभित्रका विभिन्न १४ ठाउँमा रहेका पानीका स्रोतको परीक्षण गर्दा तीमध्येका ७८ प्रतिशत, मोदी गाउँपालिकाका १५ ठाउँको पानी परीक्षण गर्दा तीमध्येका ६६ प्रतिशत, महाशिला गाउँपालिकाका १३ मुहानको पानी परीक्षण गर्दा तीमध्येका ६१ प्रतिशत, पैँयु गाउँपालिका १४ मध्ये ५७ प्रतिशत र बिहादी गाउँपालिकाका १२ मध्ये ७५ प्रतिशत मुहानको पानीमा ‘कोलिफर्म’ फेला परेको छ । झाडापखाला, हैजा, भाइरल ज्वरो, रुघाखोकीलगायत रोगको सङ्क्रमणबाट जोगिनका लागि पानीलाई शुद्धीकरण गर्नुपर्ने पर्वत अस्पतालका चिकित्सक डा सुरज नेपालीले बताउनुभयो । “कोलिफर्मयुक्त पानी पिउँदा दिसाजन्य रोगले महामारीको रूप लिनसक्ने हुन्छ । यसबाट जोगिनका लागि उपभोक्ता स्वयंले पानीको शुद्धीकरणमा ध्यान दिनुपर्छ”, उहाँले भन्नुभयो, “यो बर्खाको बेलामा कोलिफर्म मात्र नभई अरू कारणले पनि पानी दूषित बनेको हुन्छ । यो जमिनमा भएको फोहर बाढीले बगाउँदै पिउने पानीमा मिसाएको हुन्छ । जसमा धेरै प्रकारका सङ्क्रमणको जोखिम रहेको हुन्छ । त्यसैले पानी राम्रोसँग उमालेर, फिल्टर गरेर वा अन्य उपाय अपनाएर शुद्ध बनाएर पिउनुपर्छ ।”
म्याग्दी ः म्याग्दी सदरमुकाम बेनीको कालीपुलका व्यापारी सुरेन्द्र गौतम बिहान ५ बजे नै उठेर बेनी बजारको मंका खलःको भवनमा योग गर्न आउनुहुन्छ । गौतमजस्तै ३० भन्दा बढी सर्वसाधारण सोही समयमा योग गर्नका लागि योग कक्षामा हाजिर हुन्छन् । पछिल्लो समय म्याग्दीमा सर्वसाधारणको योगप्रति आकर्षण बढेको छ । स्वस्थ रहन र तनाव व्यवस्थापनका लागि योगाशन अभ्यासमा आकर्षण बढेको हो । नवीन आनन्द योग केन्द्र म्याग्दीले विहीबारदेखि बेनीबजारस्थित मंका खलःको हलमा नियमित योग कक्षा सञ्चालन गरेको छ । योग सिक्न बेनी बजारका साथै ग्रामीण क्षेत्रबाट सर्वसाधारण आउने गरेका नवीन आनन्द योग केन्द्रका संस्थापक तथा योगगुरु नवीन जुग्जालीले बताउनुभयो । व्यस्त जीवनमा साधारण व्यायाम गरेर आफूलाई स्वस्थ राख्न, तनावबाट मुक्त हुन र शारीरिक स्फूर्तिका लागि योगाशन सिक्न योग कक्षामा आएको सर्वसाधारण बताउँछन् । नवीन आनन्द योग केन्द्रले विगत १० वर्षदेखि जिल्लाका विभिन्न गाउँमा योग केन्द्र सञ्चालन गर्दै आएको छ । कोरोना सङ्क्रमणको जोखिमकालमा विभिन्न ठाउँमा योगाशन सञ्चालन गरेको केन्द्रले विगत तीन महिनादेखि सदरमुकाम बेनीमा योग गर्ने स्थानको अभावमा योग कक्षा सञ्चालन गर्न सकेको थिएन । तर अहिले मंका खलः म्याग्दीको नयाँ निर्माण गरिएको भवनमा हल भाडामा लिइ योग कक्षा सञ्चालन गरेको योग प्रशिक्षक जुग्गालीले बताउनुभयो । दिनभर घर व्यवहार र व्यवसायको कामले व्यस्त हुने व्यापारी, कार्यालयमा व्यस्त हुने कर्मचारी र गृहिणी योगप्रति निकै आकर्षित भएका योगगुरु जुग्जालीले बताउनुभयो । “म दिनभरी व्यापारको काममा व्यस्त हुन्छु तर बिहानको डेढ घण्टा म नियमित योग गर्छु”, बेनीको कालीपुलस्थित संगम हाडवर्यरका सञ्चालक सुरेन्द्र गौतमले बताउनुभयो । “योग गर्न थालेपछि रक्तचाप व्यवस्थापन भएको छ । मलाई स्वस्थ, फुर्तिलो बनाउन र सकारात्मक सोचको विकास गर्न योग उपयोगी बनेको महसुस गरेको छु ।” गौतमले विगत आठ वर्षदेखि नियमित योगाभ्यास गर्दै आउनुभएको छ । बजार क्षेत्रका नागरिक, व्यापारी, पेशाकर्मी बिहानको समयमा एकै ठाउँमा भेला भएर सामूहिक योगाभ्यास गर्ने गरेका छन् । बेनी नगरपालिका–७ की रचना पुनले खाना नपच्ने, रुघा लागिरहने र रक्तचाप बढ्ने समस्या नियमित योग गर्न थालेपछि व्यवस्थापन भएको अनुभव सुनाउनुभयो । “योग अभ्याससँगै स्वास्थ्यलाई हानी नगर्ने खानपान अपनाउन थालेपछि स्वास्थ्यमा सुधार आएको छ”, उहाँले भन्नुभयो । नवीन आनन्द योग केन्द्रका संस्थापक एवं योगगुरु जुग्जालीका अनुसार बेनी, दरवाङ, तिप्ल्याङ, बिम, बाबियाचौर, सिंगा तातोपानी, बेग, लगायतका स्थानमा योगाभ्यास सञ्चालन गरिएको थियो । छोटो अवधिका लागि आयोजना गरिने सामूहिक योगाभ्यासमा सहभागी भएपछि धेरैजसोले घरमै निरन्तरता दिएका छन् । योगाभ्यासमा सहभागीलाई उत्प्रेरणा साथै योग र ध्यानको महत्व बुझाएर आधारभूत ज्ञान र सीप प्रदान गरिने योग प्रशिक्षक जुग्जालीले बताउनुभयो । “गलत खानपान र जीवनशैलीका कारणले शरीर भद्दा, अस्तव्यस्त र अस्वस्थ भएको छ,” उहाँले भन्नुभयो “आसन, प्राणायम र उचित खानपानको माध्यमबाट स्वस्थ रहन योगले सहयोग गर्छ ।” योगले मानिसको शारीरिक बनावटलगायत मानसिकरूपमा पनि सकारात्मक प्रभाव पार्ने प्रशिक्षक जुग्जालीले बताउनुभयो । जीवनमा स्वस्थ र निरोगी रहन योग विधाको आविष्कार भएको बताइन्छ । व्यस्त जीवनमा हुने तनावबाट मुक्त रहन पछिल्लो समय युवादेखि वृद्धसम्मले यसलाई अपनाएको पाइन्छ । चिकित्सकका अनुसार दैनिक योगले मानिसको प्रतिरक्षा प्रणालीलाई बलियो बनाउँछ । योगप्रति आकर्षण बढे पनि बजार क्षेत्रमा अभ्यास गर्ने ठाउँको अभाव छ । मन्दिर, विभिन्न सङ्घ संस्था, सरकारी कार्यालय र होटलका सभाहल परिवर्तन गरेर योग सिकाउने गरिएको छ । नियमितरूपमा एकै ठाउँमा योगाभ्यास सञ्चालन गर्ने ठाउँको अभाव छ । सामाजिक विकास मन्त्रालय र मालिका गाउँपालिकाले दरवाङमा योग केन्द्रको भवन बनाएका छन् । बेनीको कालीपुलस्थित जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको भवनमा गत वर्ष योग सञ्चालनका लागि सभाहल निर्माण गरिएको छ । योग साधकको सङ्ख्या धेरै भएकाले पूर्वाधारको अभाव भएको नवीन आनन्द योग केन्द्रका सचिव हरिप्रसाद पौडेलले बताउनुभयो ।
पोखरा : पोखरा महानगरपालिका वडा नं १६ अर्मला फेदिका बाढी पहिरो पीडित पाँच परिवारलाई पुर्वेली एकता समाजले सहयोग गरेको छ । स्थानीय राम बहादुर मगर तथा अति बिपन्न पुरे बिकको परिवारलाई खाद्यान्न तथा आधारभूत बन्दोबस्तीका सामान हरु वितरण गरिएको समाजका अध्यक्ष गुणराज बाँस्तोलाले जानकारी दिए । वितरण गरिएका सामानमा सिरक, डसना, पाँच जनाको परिवारलाई चाहिने भाँडाकुँडा लगायत छन् । वडा नं १६ का वडा अध्यक्ष अमृत शर्मा तिमिल्सिना तथा अन्य जनप्रतिनिधिको उपस्थितिमा राहत वितरण गरिएको हो । असार ११ गते बिहानपख परेको अविरल बर्षाको कारण आएको बाढीले मगरको घर पुर्ण रूपमा क्षती भएको हो भने अरु १२ घर आंशिक रूपमा क्षति भएको थियो । राहत हस्तान्तरण कार्यक्रमको संचालन समाजका सचिव मंगल लिम्बुले गरेका थिए। कार्यक्रममा समाजका सदस्य धनबहादुर तामाङले नगद रु एक हजार पाँच सय पाँच रुपैयाँ पीडित मगरलाई हस्तान्तरण गरेका थिए ।

