काठमाण्डौँ : सर्वोच्च अदालतले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा समानुपातिकतर्फ कैदीबन्दीको मतदाता नामावाली सङ्कलन तथा अध्यावधिक गर्न अन्तरिम आदेश गरेको छ । न्यायाधीश सपना मल्ल प्रधानको एकल इजलासले शुक्रबार सरकारको नाममा उक्त अन्तरिम आदेश गरेको हो । आदेशमा भनिएको छ, “हाल मिति २०७९र३र१ देखि निर्वाचन आयोगले मतदाता नामावली सङ्कलन तथा अध्यावधिक कार्य सञ्चालन अवस्थामा रहेको हुँदा हाललाई आगामी हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा समानुपातिकतर्फको निर्वाचन प्रयोजनका लागि कैदीबन्दीको मतदाता नामावली सङ्कलन तथा अध्यावधिक गर्नु गराउनु ।” विसं २०६४ र २०७० पहिलो र दोस्रो संविधानसभा सदस्य निर्वाचनमा सरकारी सरकारी कार्यालय, स्थानीय निकाय वा नेपाल सरकारको स्वामित्व वा नियन्त्रणमा रहेको संस्थामा कार्यरत कर्मचारी, सैनिक वा प्रहरी ब्यारेकमा रहेका व्यक्ति वा तत्कालीन अवस्थामा अस्थायी शिविरमा रहेका माओवादी सेनाका लडाकु, कारागारमा रहेका कैदी वा थुनुवाको नाम अस्थायी मतदाता नामावलीमा समावेश गरिएको र मतदान अधिकार दिएको आदेशमा जानकारी गराइएको छ । नेपालको संविधानको प्रस्तावनामा बालिग मताधिकारप्रति प्रतिबद्ध रही राष्ट्रको निर्माण गर्ने तथा संविधानमा व्यवस्था गरिएको विचार र अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चितता गरेको साथै कैद सजाय भइ कारागारमा बस्दैमा सबै मौलिक हकहरू स्वतः स्थगन वा निलम्बिन हुन्छ भन्ने नभएको आदेशमा छ ।
काठमाण्डौँ : सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले देशभरका सामुदायिक विद्यालय र अस्पतालमा इन्टरनेट सेवा विस्तार गरिने बताउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक माथिका जिज्ञासाको जवाफ दिँदै उहाँले आगामी आवदेखि सामुदायिक विद्यालय र अस्पतालमा इन्टरनेट सेवा विस्तारका लागि न्यूनतम ५० प्रतिशत अनुदान दिइने बताउनुभयो । उहाँका अनुसार गुणस्तरीय स्वास्थ्य सेवा विस्तार गर्न टेलिमेडिसन सेवा विस्तार गरिने सरकारको योजना छ । सातै प्रदेशका सामुदायिक विद्यालयमा एकै प्रकारको शिक्षा दिइने लक्ष्यअनुसार आगामी आवमा कम्तीमा १०० विद्यालयमा दूरशिक्षा कार्यक्रम लागू गरिने मन्त्री कार्कीले बताउनुभयो । डिजिटल साक्षरतालाई अभियानका रूपमा अघि बढाइने जानकारी दिँदै उहाँले सूचनाको सुरक्षित प्रयोग गरी सबै नागरिकको दैनिक क्रियाकलापमा सघाउ पु¥याउन साइबर सुरक्षासम्बन्धी कार्यक्रम अघि बढाइएको बताउनुभयो । साइबर सुरक्षाका सम्बन्धमा जनचेतना बढाउने सामग्री तयार गरिएको र साइबर सुरक्षासम्बन्धी नीतिको मस्यौंदा तयार भइरहेको मन्त्री काकीले बताउनुभयो । उहाँले सूचना र प्रविधिको क्षेत्र विश्वमा नै महत्वपूर्ण क्षेत्र भएको र सरकारले देशभर सूचना प्रविधिको गुणस्तर वृद्धि गरी सबैमा पहुँच विस्तार गर्न दूरसञ्चार पूर्वाधार विस्तारलाई जोड दिएको बताउनुभयो । मन्त्री कार्कीका अनुसार देशका ७५३ स्थानीय तहमध्ये ७३५ स्थानीय तहमा ‘फोर जि’ विस्तार सेवा पुगेको छ । चालु आवमा मात्र एक हजार ५९४ किलोमिटर अप्टिकल फाइबर विस्तार भएको र ६४३ मोबाइल टावर निर्माण भएका उहाँले बताउनुभयो । मोबाइल सेवाको गुणस्तरमापन गर्ने क्रममा गरिएको अध्ययनको प्रारम्भिक प्रतिवेदन प्राप्त भएको जानकारी दिँदै सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री कार्कीले भन्नुभयो, “यसमा दिइएका सुझावको कार्यान्वयन गरी मोबाइल सेवाको गुणस्तर कायम राख्ने निरन्तरता दिइनेछ ।” सूचना र प्रविधिले मानवको हरेक क्षेत्रमा प्रभाव पारेको र विशेषगरी आर्थिक तथा शैक्षिक सामाजिक क्षेत्रमा इन्टरनेट सेवाको पहुँच र प्रयोग बढेसँगै सूचना प्रविधि मानव सभ्यताको बहुआयामिक विषयको एक अभिन्न अङ्ग बनेको मन्त्री कार्कीले बताउनुभयो । सरकारले सूचना प्रविधिको सुरक्षित प्रयोग गरी आर्थिक, सामाजिकलगायत क्षेत्रका क्रियाकलापलाई सूचना प्रविधिमैत्री बनाउने कार्यक्रम अघि बढाएको उहाँको भनाइ छ । डिजिटल नेपालको अवधारणा कार्यान्वयन गर्न डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयनमा जोड दिइएको बताउँदै उहाँले भन्नुभयो, “यसमा तीव्रता दिन छुट्टै आयोजनाको विकास गरी कार्यान्वयनमा लगिएको छ । सरकारी सेवालाई क्रमशः सूचना प्रविधिमार्फत उपलब्ध गराउन सुरु गरिएको छ । कागजरहित सरकारको कार्यान्वयन गर्न केन्द्रीयस्तरको निकायमा एकीकृत कार्यालय व्यवस्थापन प्रणाली लागू गरिएको छ ।” दूरसञ्चार विस्तार गर्दा तानिएको अनावश्यक केबल र तारको व्यवस्थित उपयोग गर्न सुरु गरिने मन्त्री कार्कीले बताउनुभयो । आमसञ्चारको विकास र विस्तारमा जोड दिँदै आमसञ्चार माध्यममा कार्यरत सञ्चारकर्मीलाई प्रशिक्षण दिन कृष्णप्रसाद भट्टराई आमसञ्चार प्रशिक्षण प्रतिष्ठान स्थापना र सञ्चालनको काम अघि बढाइएको उहाँले बताउनुभयो । मन्त्री कार्कीले सञ्चार मध्यमलाई सहज रुपमा लोकल्याणकारी विज्ञापन उपलब्ध गराइने जानकारी दिनुभयो । सञ्चार माधयलाई मर्यादित र व्यवस्थित बनाउन नियमनको व्यवस्था गरिएको मन्त्री कार्कीले बताउँदै उहाँले भन्नुभयो, “लामो समयदेखि रोकिएका पत्रिका विज्ञापन वर्गीकरण अन्तिम चरणमा पुगेको र अनलाइन माध्यमबाट पत्रकारलाई परिचयपत्र दिन थालिएको छ । प्रेस पास लिन काठमाडौँ आउनुपर्नै बाध्यता अन्त्य गरिएको र आगामी दिनमा घुम्ती सेवा सञ्चालन गरिनेछ ।” देशभित्र र बाहिर कम लागतमा नेपाल टेलिभिजनको पहुँच विस्तार गर्न स्याटलाइट सेवा प्राप्त गर्ने प्रक्रिया अघि बढेको मन्त्री कार्कीले बताउनुभयो । उहाँका अनुसार हुलाक सेवालाई समयानुकूल बनाउन कार्यक्षेत्र विस्तार गर्न र पुनःसंरचना गर्न अध्ययन सुरु गरिएको छ । देशभित्रै सुरक्षण मुद्रा गर्न कानुनी र भौतिक पूर्वाधार तयार गर्न जोड दिइएको र आगामी वर्षबाट सुरक्षण छपाइ सुरु गरिने उहाँको भनाइ छ ।
काठमाण्डौँ : सरकारले औपचारिक रुपमा यस वर्षको १९औँ राष्ट्रिय धान दिवस आगामी असार १५ गते बुधबार खुमलटारस्थित धानबाली अनुसन्धान केन्द्रमा औपचारिक रुपमा मनाइने भएको छ । “धानबालीमा जैविक विविधताको उपयोग, आयात प्रतिस्थापनमा सहयोग” भन्ने मूल नाराका साथ खुमलटारको अलवा देशका विभिन्न स्थानमा सांस्कृतिक कार्यक्रमको आयोजना गर्दै धान दिवस मनाउने कार्यक्रम रहेको कृषि तथा पशुपक्षी विभागले जनाएको छ । विभागद्वारा आज आयोजित पत्रकार सम्मेलनमा कृषि विभागका महानिर्देशक रेवतीरमण पौडेलले कृषि अनुसन्धान परिषद् (नार्क) को खेतमा रोपाइँ गरेर राष्ट्रिय धान दिवस औपचारिक सुरुआत गरिने जानकारी दिनुभयो । सरकारले प्रत्येक वर्ष असार १५ गते धान दिवस मनाउँदै आएको छ । धान दिवसलाई रोपाइँ दिवस पनि भनिन्छ । असार १५ गते नेपालमा दही चिउरा खाने चलनसमेत चलिआएको छ । चिउरा धान कुटेर तयार पारिने खाद्यान्न हो । नेपालीको प्रमुख खाद्यन्न बाली धानको गरिमा र महत्व अर्थतन्त्रसँग जोडिएको छ । धानको उत्पादन बढ्दा कूल गार्हस्थ्य उत्पादन ९जिडिपी० मा बढोत्तरी हुन्छ भने घट्दा जिडिपी घट्ने गरेको पाइन्छ । विश्व खाद्य सुरक्षाको दृष्टिकोणबाट धान महत्वपूर्ण अन्न बाली हो । विश्वका झन्डै चार अर्ब जनसङ्ख्याको आधारभूत खाद्यान्न चामल हो । धानको नेपालमा आर्थिक, सामाजिक तथा सांस्कृतिक रुपमा महत्व छ । नेपालमा १३० जातका धानका बीउ सिफारिस भइसकेका छन् । नेपालमा कूल खेतीयोग्य जमिनमध्ये ४७ प्रतिशत जमिनमा रोपाइँ हुन्छ । जसमध्ये तराई क्षेत्रको हिस्सा ७० प्रतिशतभन्दा माथि छ । नेपालमा कूल खेतीयोग्य जमिन करिब ३१ लाख हेक्टर रहेको छ
काठमाण्डौँ : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकको उकालो यात्रा एक दिन पनि कायम रहन सकेन । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २३.८५ अङ्कले ओरालो लागेर एक हजार ९३३.१३ मा ओर्लेको छ । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ७.०२ अङ्कले ओरालो लागेर ३७५.८२ मा ओर्लेको छ । कूल २२९ कम्पनीको ५६ लाख ४१ हजार ५४० कित्ता शेयर रु दुई अर्ब चार करोड ४८ लाख ३१ हजार ९४८ बराबर मूल्यमा कारोबार भयो । सोमबारको कारोबारपछि बजार पूँजीकरण रु २७ खर्ब ५६ अर्ब १५ करोड ६२ लाख ८० हजार बराबर रहेको छ । नेप्सेका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज दुई उपसमूहको शेयर मूल्य उकालो लागेको छ भने ११ उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ । जीवन बीमा ११३.९६ र लगानी ०.६४ अङ्कले उकालो लागेको छ । बैंकिङ १२.३८, ब्यापार ३४.६१, होटल तथा पर्यटन ७०.७८, विकास बैंक ११७.५५, जलविद्युत् ६०.३३, वित्त ३०.८६, निर्जीवन बीमा ९७.८३, उत्पादन ४१.३२, अन्य ३७.९२, लघुवित्त ६७.२२ र सामूहिक लगानी कोष ०.१९ अङ्कले ओरालो लाग्यो । कारोबारका आधारमा आज नागरिक लगानी कोष शीर्ष स्थानमा छ । सो कम्पनीको रु १५ करोड ६५ लाख ८८ हजार २७४ बराबरको कारोबार भयो । हिमालयन डिस्टिलरी रु नौ करोड सात लाख ४४ हजार २६१, लाइफ इन्स्योरेन्स कर्पोरेशन रु आठ करोड दुई लाख ९६ हजार ३२५, नबिल बैंक रु सात करोड १४ लाख १२ हजार २४२ र एशियन लाइफ इन्स्योरेन्स रु पाँच करोड ८७ लाख १५ हजार ६५१ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए । नेप्सेका अनुसार सिवाइसी नेपाल लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो । न्यादी हाइड्रोपावर ९.९६, लाइफ इन्स्योरेन्स कर्पोरेशन ९.१५, बुद्धभूमि नेपाल हाइड्रोपावर ६.०७ र सिटिजन म्युचुअल फण्ड दोस्रोका लगानीकर्ताले ४.८६ प्रतिशतले कमाएका छन् । उन्नती सहकार्य लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले ओरालो लागेर नकारात्मक सर्किट लाग्यो । प्राइम बैंकको ऋणपत्र ७.९७, तेह्रथुम पावर कम्पनी ७.२२, प्रुडेन्सियल इन्स्योरेन्स ६.२४ र शिव श्री हाइड्रोपावरका लगानीकर्ताले ५.४४ प्रतिशतले गुमाएका छन् ।
धनगढी : डडेल्धुराको आलीताल गाउँपालिकाका कम्युटर अपरेटर लोकेन्द्र भण्डारीलाई कुटपिट गरेर कार लुट्ने समूहका तीन जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई कैलालीको गोदावरी नगरपालिका–१ स्थित भित्री सडकमा पर्ने जंगल क्षेत्रबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीले बताए । उनका अनुसार पक्राउ पर्नेमा भारतको हरियाणा सोनीपथ घर भएका १८ वर्षीय साहिल बादलिसे, २० वर्षीय सन्नी जोट र २१ वर्षीय भगत सिंह रहेका छन् । उनीहरुलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । उनीहरुले भण्डारी सवार प्रदेश–३–०१०२३ च ८७२१ नम्बरको कार पनि नियन्त्रणमा लिएका थिए । उक्त कार गोदावरी नगरपालिका–१ स्थित शान्तिनगर जाने भित्री सडकखण्डमा वेवारिसे अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । सोमबार बिहान कञ्चनपुरको महेन्द्रनगरबाट भण्डारीको सहयोग मागेर खानीडाँडा घुम्ने भन्दै आएका भारतीय नागरिकले भीमदत्त राजमार्ग अन्तर्गत कैलालीको गोदावरी नगरपालिका–४ को सेल्फी डाँडा नजिकैबाट उनलाई कुटपिट गर्दै लुटेर भागेका थिए ।
काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द पौडेलले नेताहरुले कुरा समाजवादको गर्ने तर व्यवहार त्यस अनुसार नगरेको आरोप लगाएका छन् । सोमबार काठमाडौंमा आयोजित नेपालमा समाजवाद चुनौती र सम्भावना शीर्षकको कार्यक्रममा उनले मन्त्री बन्न सबैको पालो पुर्याउनुपर्ने चरित्र समाजवादी नभएको टिप्पणी गरे । ‘रामकुमारी झाँक्रीलाई धरधरी रुवाएर समाजवाज आउँछ ?’ उनले नेकपा एकीकृत समाजवादीतर्फत इंगित गर्दै उनले भने, ‘हामी समाजवादतिर गइरहेका छौं कि कता गइरहेका छौं, हाम्रो चरित्र, आचार र व्यवहारमा समाजवाद छ कि छैन, त्यो महत्वपूर्ण छ ।’ नेकपा एकीकृत समाजवादीले हालै सरकारमा रहेका ४ जनालाई फिर्ता बोलाएर ४ जना नयाँ नेतालाई सरकारमा पठाएको छ । आइतबार शहरी विकास मन्त्रालयको जिम्मेवारीबाट बाहिरिने क्रममा नेता रामकुमारी झाँक्रीले पत्रकार सम्मेलनमा आँसु झारेकी थिइन् । वरिष्ठ नेता पौडेलले एकीकृत समाजवादीले सबै नेताहरुलाई मन्त्री बन्न पालो पुर्याउन खोजेको भन्दै त्यो चरित्र समाजवादी नभएको बताएका हुन् । पौडेलले नारा समाजवादको गर्ने तर व्यवहार घोर प्रतिक्रियावादी समान्तवादीको गर्ने प्रवृत्ति देखिएको बताए । ‘अब हाम्रो संस्कार बदलिनुपर्छ, नेता बदलिनुपर्छ, कार्यकर्ता बदलिनुपर्छ’ उनले भने ।
काठमाण्डौँ : नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले मुलुकको अर्थतन्त्रको बलियो आधारका रुपमा रहेको पर्यटन क्षेत्रलाई प्रवद्र्धन गर्नुपर्नेमा जोड दिनुभएको छ । मन्त्रालयमा आज पदवहालीका क्रममा उहाँले महामारीले धरासायी बनाएको यस क्षेत्रलाई पुनः पहिलेकै अवस्थामा ल्याउन आवश्यक रहेको बताउनुभएको हो । मन्त्रालयका कार्य प्राज्ञिक, धार्मिक र संस्कृतिका साथै वैदेशिक पर्यटनसँग पनि जोडिएको उल्लेख गर्दै मन्त्री श्रेष्ठले भन्नुभयो, “यस मन्त्रालयमा राष्ट्रिय गौरबका विभिन्न योजना छन्, तिनलाई समयमै सम्पन्न गराउनुपर्छ ।” उहाँले आफूसँग छोटो समय रहेको र त्यस अवधिमा मन्त्रालयका कार्यविधि, ऐन तथा नियमको परिधिमा रहेर धेरै काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । यसअघि मन्त्रालयका कर्मचारीले मन्त्री श्रेष्ठको स्वागत गरेका थिए ।
मन्त्रालयमा मेरो दुई सय ६२ दिन उपलब्धिपूर्ण र सफलतापूर्वक सम्पन्न भएको छ : निवर्तमान मन्त्री श्रेष्ठ
काठमाण्डौँ : निवर्तमान श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले आन्तरिक रोजगारी सिर्जना, वैदेशिक रोजगारको व्यवस्थापन र सेवा प्रवाहलाई चुस्त बनाउन आफ्नो आठ महिने कार्यकाल सफल भएको दाबी गर्नुभएको छ । मन्त्री पदबाट हटेपछि आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उहाँले आफ्नो नेतृत्वमा छोटो समयमा चालिएका कतिपय कदम उल्लेखनीय रहेको बताउनुभयो । “जति दिन म मन्त्रीको रुपमा रहेँ । निष्ठापूर्वक आफ्नो काममा प्रतिबद्ध र दृढ रहेँ । जनताले म प्रति देखाएको विश्वास अक्षुण्ण राख्न निरन्तर प्रयास गरिरहेँ । अब आउने नेतृत्वले मैले गरेका सुधारका प्रयासहरुलाई निरन्तरता दिने विश्वास लिएको छु”, उहाँले भन्नुभयो, “मन्त्रालयमा मेरो २६२ दिन उपलब्धिपूर्ण र सफलतापूर्वक सम्पन्न भएको छ ।” वैदेशिक रोजगारीमा जाने श्रमिक सेवा लिन लाइन बस्नुपर्ने बाध्यता रहेकामा छोटो अवधिमै पूर्ण रुपमा अनलाइन सेवाको प्रभावकारी कार्यन्वयन हुनु ऐतिहासिक उपलब्धिका रुपमा रहेको उहाँले बताउनुभयो । वैदेशिक रोजगारी सम्बन्धी सेवालाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन सूचना प्रविधिमार्फत सेवा प्रवाह गरिएको उहाँले जनाउनुभयो । वैदेशिक रोजगारीमा श्रमिक पठाउने मुलुकमध्ये महामारीपछि पुरानै लयमा फर्केको देशमा नेपाल अग्रस्थानमा रहेको उल्लेख गर्र्दै उहाँले कोरोना भाइरस महामारीले बिथोलेको वैदेशिक रोजगारी र श्रम बजार पुरानै लयमा फर्काउन सफल भएको बताउनुभयो । प्रधानमन्त्री रोजगार कार्यक्रमलाई प्रभावकारी बनाउन ज्यालादर वृद्धि, दुर्घटना बीमाको व्यवस्था, स्वास्थ्य र शिक्षा क्षेत्र समेट्ने गरी कार्यक्षेत्र थप गरिएको उहाँले बताउनुभयो । आफू मन्त्रीका रुपमा आइसकेपछि श्रम कूटनीतिमार्फत रोजगार गन्तव्य मुलुकको विस्तार गरिएको जनाउँदै निवर्तमान मन्त्री श्रेष्ठले नेपाल–बेलायत श्रम समझदारीको मस्यौदा तयार भइसकेको बताउनुभयो । इजरायलमा दीर्घकालीन सहायक श्रमिकका लागि छनोट भएका श्रमिकलाई निजी क्षेत्र तथा बिचौलीयारहित सरकार–सरकार (जिटुजी) प्रक्रियामार्फत पहिलोपटक इजरायल पठाउन सुरु गरिएको उहाँले बताउनुभयो । श्रमिकहरुको हकहितलाई ध्यानमा राखी नयाँ श्रम गन्तव्य मुलुकको खोजी र श्रम सम्झौताको नवीकरण गर्ने कार्यलाई अगाडि वढाउने क्रममा साउदी अरेविया तथा सेसेल्ससँग नयाँ श्रम सम्झौता एवं संयुक्त अरव इमिरेट्स, मलेसिया र कतारसँग भएका श्रम सम्झौतालाई समसामयिक परिमार्जन गर्ने तथा माल्दिभ्स, सिसेल्स र इजरायलको निर्माण क्षेत्रमा श्रमिक लैजाने सम्बन्धी श्रम सम्झौताको पनि तयारी भइरहेको उहाँको भनाइ छ । गन्तव्य मुलुकहरुको सहयोगमा सातवटै प्रदेशमा सीप विकास तालिम सञ्चालन गर्नका लागि प्रस्ताव अघि बढाइएको उहाँले बताउनुभयो । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय श्रम वजारको माग वमोजिमका तालिमहरु सञ्चालन गर्न आवासीय सुविधा सहितको व्यवसायिक तथा सीप विकास तालिम प्रतिष्ठानको स्थापना गर्न बनेको गठन आदेश स्वीकृतिको चरणमा रहेको उहाँको भनाइ छ । “अधिकारसम्पन्न स्वायत्त तालिम प्रतिष्ठानमार्फत ठुलो संख्यामा श्रमशक्तिलाई सीपयुक्त बनाउने, एकीकृत तथ्याङ्क प्रणाली विकास गर्ने र स्वदेशी तथा विदेशी रोजगारदातासँग समन्वय गरी युवाहरुलाई रोजगारीमा आबद्ध गराउने योजना अघि बढाइएको छ”, उहाँले भन्नुभयो ।
चितवन : चितवन राष्ट्रिय निकुञ्जको कसरामा रहेको घडियाल प्रजनन केन्द्रमा गोहीका ४९६ बच्चा कोरलिएका छन् । नारायणी र राप्ती नदी किनारमा सङ्कलन गरिएका ५६३ अण्डाबाट ती बच्चा कोरलिएका हुन् । गत वैशाख १० देखि १३ गतेसम्म ती दुई नदीबाट अण्डा सङ्कलन गरिएको थियो । निकुञ्जभित्र रहेको गोही प्रजनन केन्द्र हेर्दै आएका सरोजमणि पौडेलका अनुसार राप्तीका १० गुड र नारायणीका छ गुडबाट अण्डा सङ्कलन गरिएको हो । असारको पहिलो साताबाट बच्चा कोरलिन थालेका हुन । सङ्कलन भएका अण्डामध्ये २० वटालाई इन्कुभेटरमा राखिएकामा १४ बच्चा निस्किएका थिए । बाँकी बालुवामा राखिएको पौडेलले बताउनुभयो । राप्ती नदीमा छ वटा र नारायणीमा पाँच वटा बच्चा छाडिएका थिए । तीमध्ये राप्तीको खोरसोर नजिक दूधौरामा ११० बच्चा देखिएका छन् । नारायणीमा पनि बच्चा देखिएको उहाँले जानकारी दिनुभयो । पौडेलले भन्नुभयो “एकीन तथ्याङ्क त आएको छैन, हाम्रो अनुमानमा २०० भन्दा बढी गोहीका बच्चा प्रकृतिमा रहेका छन् ।” प्रकृतिमा सङ्कलन गरेको गोहीका अण्डाबाट यति धेरै बच्चा कोरलिएको सम्भवतः यो पहिलो भएको पौडेल बताउनुहुन्छ । गतवर्ष प्रकृतिमा सङ्कलन गरिएका ४३६ अण्डाबाट २५८ बच्चा कोरलिएका थिए । प्रजनन केन्द्रमा रहेका गोहीबाट यस वर्ष हालसम्म बच्चा कोरलिएका छैनन् । गएका दुईवर्ष प्रजनन केन्द्रमा माउले अण्डा पारेको भए पनि बच्चा कोरलिएको थिएन । पौडेलको भनाइमा यसवर्ष पनि ७/८ वटा गुड देखिए पनि बच्चा कोरलिएको छैन । यस वर्षसमेत सम्भावना घटेर गएको छ । प्रजनन केन्द्रमा एउटा भाले र ठूला १२ पोथी रहेका छन् । भाले ४३ वर्षको हो भने पोथी ४० वर्ष हाराहारीको हो । प्रजनन हुननसकेका कारण बच्चा नकोरलिएको अनुमान छ । प्रजनन केन्द्रमा तीसहित ५३१ साना गोही रहेका छन् । राप्ती र नारायणी नदीमा पाँच भाले गोही देखिएका छन् । नदीमा भाले गोही नदेखिएपछि केही वर्षअघि बबईबाट एउटा भाले ल्याइएको थियो । राप्ती र नारायणी नदीमा अण्डा सङ्कलन गरी बच्चा कोरलेर हुर्काएर नदीमा छोड्ने गरिएको छ । हालसम्म राप्ती, नारायणी, कोसी र बबई नदीमा एक हजार ६९२ गोही छाडिसकिएको छ । निकुञ्जले विसं २०३५ मा गोही प्रजनन केन्द्र स्थापना गरी प्रजनन केन्द्रमा हुर्काइएका गोहीका बच्चा नदीमा छाड्दै आएको छ । हरेक वर्ष बाढीले बगाएर गोही भारत पु¥याउने गर्दछ । यध्यपि संरक्षण कार्यलाई निकुञ्जले निरन्तरता दिएको छ । राप्ती नदी गोहीका लागि राम्रो मानिएको छ । नदी किनारमा बसोबास गर्नेहरुले माछा मार्ने क्रममा ठूला जाल हान्दा अड्किएर गोही मर्ने गरेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले बताउनुभयो । अनुमतिपत्र लिएकालाई हाते जाल प्रयोग गर्न दिइएको भए पनि ठूला तिहारी जाल प्रयोग गर्दा गोही अड्कीएर मर्ने गरेको उहाँ बताउनुहुन्छ । विगतमा नारायणी नदीको देवघाटसम्म गोही पाइने गर्दथ्यो । नदी प्रदूषित बन्दै गएपछि गोहीको सङ्ख्या घट्दै गएको आचार्यको भनाइ छ । उहाँले भन्नुभयो, “हामी सबैले संरक्षणमा ध्यान दिन सकेमा गोहीको सङ्ख्या बढाउन सकिन्छ ।” नदी प्रदूषण रोक्न, जथाभावी नदीजन्य पदार्थ उत्खनन नगर्न र ठूला जाल प्रयोग नगर्न आचार्यको सुझाव छ । अहिले प्रजनन भएका गोहीका बच्चा केन्द्रमा राखेर पाँच वर्ष कटेपछि नदीमा छाडिने छ । चालू आर्थिक वर्षमा १०७ गोही नारायणी, कोशी र राप्ती नदीमा छाडिएको छ । नारायणी र कोशीमा २०/२० गोही छाडिएको हो भने अरु गोही राप्तीमा छाडिएको हो ।

