काठमाडौं: आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि देशव्यापी मदाता नामावली संकलन जारी छ। निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार पछिल्लो समयमा नागरिकको उत्साहजनक रुपमा मतदाता नामावली संकलन अगाडि...

काठमाडौं :    कृषीप्रधान देश नेपालले चालु आर्थिक वर्ष २०७८र७९ को पहिलो ११ महिनामा विभिन्न देशबाट ३४ अर्ब १५ करोड ४० लाख १९ हजार रुपैयाँको तरकारीजन्य वस्तु आयात गरेको छ ।भन्सार विभागका अनुसार २०७८ साउनदेखि २०७९ जेठ मसान्तसम्मको अवधिमा उक्त मूल्य बराबरको तरकारीजन्य वस्तु नेपाल भित्रिएको हो । सो अवधिमा नेपालले आलु मात्र ७ अर्ब ६३ करोड ५२ लाख ४ हजार रुपैयाँको आयात गरेको छ । उक्त मूल्यमा ३० करोड ५६ लाख ४७ हजार ३९६ केजी आलु नेपाल भित्रिएको छ ।   पछिल्लो ११ महिनामा ६१ करोड १५ लाख ९ हजार रुपैयाँको ४ करोड ५८ लाख १३ हजार ९३५ केजी गोलभेडा नेपालले आयात गरेको विभागको तथ्याङ्कले देखाउँछ । सोही अवधिमा ५ अर्ब ६३ करोड ९० लाख २१ हजार रुपैयाँको १५ करोड ३८ लाख ५५ हजार ४१६ केजी प्याज नेपाल भित्रिएको छ ।   बितेको ११ महिनामा ९९ करोड ९३ लाख ९७ हजार रुपैयाँको ८६ लाख ८६ हजार ३६६ केजी लसुन नेपालले आयात गरेको छ ।   विभागका अनुसार उक्त अवधिमा २० करोड ७० लाख १५ हजार रुपैयाँको च्याउ, २८ करोड ५० लाख ८४ हजार रुपैयाँको फ्रोजन आलु, १७ करोड २९ लाख ७३ हजार रुपैयाँको अदुवा, ३ अर्ब ७३ करोड ४४ लाख ४४ हजार रुपैयाँको केराउ र ३ अर्ब ३० करोड ५७ लाख ६२ हजार रुपैयाँको चना नेपाल भित्रिएको छ । सोही समयमा नेपालले ४ अर्ब १५ करोड १५ लाख १२ हजार रुपैयाँको दाल आयात गरेको विभागले जनाएको छ ।

   काठमाण्डौँ :      कर्णाली प्रदेश जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले ठूला आयोजना लगानी सुरु गरेको छ । साना आयोजनाभन्दा पनि प्रतिफल राम्रो देखिने ठाउँमा लगानी गर्नुपर्ने उद्देश्यका साथ बजेट ठूला आयोजनातिर केन्द्रीत गरेको जलस्रोत तथा ऊर्जा विकासमन्त्री गणेशप्रसाद सिंहले बताउनुभयो ।   केन्द्रीय विद्युत् नपुगेका हिमाली जिल्लामा सौर्य मिनिग्रेटमा लगानी गरी त्यहाँ विद्युतीकरण गर्ने अभियान सुरु भएको उहाँले बताउनुभयो  । मुगु, हुम्ला र डोल्पामा सौर्य मिनिग्रेट स्थापना कार्य सुरु भएको छ ।    त्यस्तै अन्य जिल्लाका विद्युत् नपुगेका ठाउँमा सौर्य मिनिग्रेट स्थापना गरी गाउँमा विद्युतीकरण गर्ने काम सुरु भएको उहाँले जानकारी दिनुभयो । ग्रामीण विद्युतीकरणअन्तर्गत विद्युत् प्रशारण लाइन पुगेका सात जिल्लाका ग्रामीण क्षेत्रमा विद्युत् पु¥याइ जनताले महसुस गर्ने गरी काम गर्नका लागि समेत बजेट खर्च गरिन लागिएको हो ।    त्यस्तै १० जिल्लामा कर्णाली उज्यालो कार्यक्रबाट थप अन्य ठाउँमा विद्युत् पु¥याइरहेकाले यसलाई थप व्यवस्थित गरी बन्द भएका साना जलविद्युत्लाई सञ्चालन गर्न सक्रियाताका साथ काम सुरु गरिएको मन्त्रालयले जनाएको छ । बीस मेगावाट सम्मका विद्युत् आयोजना पहिचान गरी विस्तृत सम्भाव्यता अध्ययन गर्ने, डिपिआर तयार भएका आयोजनालाई निर्माण कार्यमा लिनका लागिसमेत बजेट विनियोजन गरिएको छ ।  तिला र जोवा नदीमा जलविद्युत् परियोजना अध्ययन तथा निर्माणका लागिसमेत बजेट विनियोजना गरिएको मन्त्री सिंहले बताउनुभयो । एक सय सात मेगावाट उत्पादन क्षमता रहेको जगदुल्ला जलविद्युत् आयोजना डोल्पा, रारा जलविद्युत् आयोजना दैलेख र ताक्सुगाड जलविद्युत् आयोजना जाजरकोटलाई समेत जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले बजेट विनियोजन गरी काम सुरु गर्नका लागि रु ८७ करोड ६० लाख खर्च गर्न लागिएको छ ।    कर्णाली जनता सिंचाइ कार्यक्रम, सिँचाइ संरचना निर्माण तथा टार सिँचाइ कार्यक्रम र सिँचाइ पूर्वाधार आवधिक तथा नियमितलाई रु ५६ करोड लगानी गरी काम सुरु गर्न लागिएको छ  । प्रदेशमा प्रयोगशाला नहुँदा समस्या भइरहेको भन्दै निर्माण सामग्री परीक्षण प्रयोगशाला, प्रदेश स्तरिय पानी परीक्षण प्रयोगशालाको स्थापना तथा सञ्चालनका साथै मोबाइल भ्यान खरिदको काम सुरु भएको मन्त्रालयले जनाएको छ  ।     पानी शुद्ध गर्ने उपकरण भए पनि प्रयोगमा नल्याउँदा समस्या भएको भन्दै यसलाई आर्थिक वर्ष २०७९/८० बाट सुरु गर्ने अभियान सुरु गरिएको छ । प्रदेश राजधानी सुर्खेतमा खानेपानी कार्यक्रमलाई मुख्यरुपमा ध्यान दिइएको छ । सल्यानको शारदा नगरपालिकामा बृहत खानेपानी सञ्चालन ल्याइने भएको छ ।    त्यस्तै खानेपानी गुणस्तर कार्यक्रम र खुल्ला दिसामुक्त क्षेत्र घोषणा क्षेत्रको अवस्था विश्लेषणसमेत गर्न लागिएको छ । खानेपानी पूर्वाधारको आवधिक तथा नियमित मर्मततर्फ पनि बजेट विनियोजन गरिएको छ । नदी नियन्त्रण तथा पहिरो व्यवस्थापन र कर्णाली प्रदेश जनता तटबन्धको कार्यक्रमलाई जोड दिइएको छ ।    ठूला आयोजनाको पूर्व सम्भाव्यता अध्ययन तथा विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तथा गुुरुयोजना तयार गरी आवश्यक काम गर्ने कार्य सुरु गरिएको छ । प्रदेशमा रहेको भारी औद्योगिक, संस्कृतिक तथा पर्यटकीय क्षेत्रको विकासका लागि आवश्यकपर्ने खानेपानी, विद्युत् र अन्य पूर्वाधार निर्माणलाई समेत विशेष प्राथमिकता दिइएको योजना महाशाखाका प्रमुख गोपाल शर्माले बताउनुभयो ।    रु दुई अर्ब २२ करोड बजेट विनियोजन गरेको जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले यस पटक पुराना तथा निर्माण पूरा नभएका अधिकांश योजनामा बजेट विनियोजन गरी अधुरा काम सबै सम्पन्न हुने बताएको छ । असन्तुलित बजेटलाई समावेशी बनाएर काम गर्नका लागि आफूहरु सधैँ गतिशील भएको मन्त्री सिंहले बताउनुभयो । जगदुल्ला, ताक्सुगाड र रारा जस्ता जलविद्युत् कर्णालीका लागि राम्रो परिणाम दिने योजनामा पर्दछन् ।

काठमाण्डौँ :      राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनियुक्त चार मन्त्रीले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।       राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा नेकपा (एकीकृत समाजवादी)का तर्फबाट नवनियुक्त मन्त्रीहरुले शपथ लिनुभएको हो ।      नयाँ मन्त्रीहरुमा जीवनराम श्रेष्ठ–संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, मेटमणि चौधरी–सहरी विकास मन्त्रालय, भवानीप्रसाद खापुङ– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र शेरबहादुर कुँवर– श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय हुनुहुन्छ ।       राष्ट्रपति भण्डारीले मौजुदा मन्त्रिपरिषद्मा नेपालको संविधानको धारा ७६ को उपधारा (९) तथा धारा ७८ को उपधारा (१) बमोजिम प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा चार मन्त्री र एक राज्यमन्त्रीको नियुक्ति र कार्य विभाजन तोक्नुभएको थियो ।      मन्त्रीहरुको शपथपछि शीतल निवासमै राष्ट्रपति भण्डारीको उपस्थितिमा प्रधानमन्त्री देउवासमक्ष नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री हीराचन्द्र केसीले पद तथा गोपनीयताको शपथ लिनुभयो ।      समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा, मन्त्रीगण, संवैधानिक निकायका प्रमुख र पदाधिकारीलगायतको उपस्थिति रहेको थियो । 

वीरगञ्ज :    चालु आवको ११ महिनामा वीरगञ्जको नारायणी अस्पतालले एक हजार ५०० गरिब, असहाय तथा विपन्न नागरिकको निःशुल्क उपचार गरेको छ ।     अस्पतालको सामाजिक सेवा एकाइमार्फत लक्षित १२ समूहका नागरिकको निःशुल्क उपचार गरिएको हो । गरिब, असहाय, अपाङ्गता भएका, ज्येष्ठ नागरिक, लैङ्गीक हिंसा र पीडित बालबालिका, लोपोन्मुख आदिवासी जनजाति, कुपोषित बालबालिका तथा सहिद परिवारलाई सबैखाले उपचार सुविधा उपलब्ध गराउँदै आएको अस्पतालका सूचना अधिकारी डा उदयनारायण सिंहले जानकारी दिनुभयो ।       उहाँका अनुसार चालु आवको पहिलो चौमासिकमा ३१६ महिला, २२४ पुरुष गरी ५८० जनालाई सेवा प्रदान गरिएको छ । दोस्रो चौमासिकमा ३०३ महिला र २०४ पुरुष गरी ५०७ लाई सेवा दिइएकोे छ ।       चालु आवको असार १० गतेसम्म ५०० भन्दाबढी बिरामीलाई उपचार प्रदान गरिसकेको डा सिंहले जानकारी दिनुभयो । उहाँले गरिब तथा विपन्न नागरिकको उपचारमा रु १९ लाख भन्दाबढी रकम हालसम्ममा खर्च भइसकेको बताउनुभयो । निःशुल्क उपचार योजनाले धेरै ननगरिकलाई अकालमा मृत्युबाट जोगाएको डा सिंहको भनाइ  छ । 

काठमाण्डौँ :    राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले १० वर्षे (२०२१–२०३०) एकीकृत व्यावसायिक योजना परिमार्जन गर्ने भएको छ । निगमको संस्थागत संरचनालाई सुदृढ तुल्याई सेवालाई चुस्त र दुरुस्त पार्ने नीतिगत योजना अघि बढाएको निगमले रणनीतिक महत्वको व्यावसायिक योजनाको परिमार्जन गर्ने निर्णय गरेको हो ।   निगमका नवनियुक्त महाप्रबन्धक दीपुराज जुहार्चनले तत्कालको आन्तरिक हवाई बजारलाई मध्यनजर गर्दै निगमले व्यावसायिक योजना समीक्षा गरी आवश्यक परिमार्जन गरिने बताउनुभयो । उहाँका अनुसार निगमले ६४औँ वार्षिकोत्सवका अवसरमा यही असार १७ गते लामो समयदेखि सञ्चालनमा आउन नसकेको निगमको नयाँ वेबसाइट सार्वजनिक गर्ने निर्णय गरेको छ ।   त्यसैगरी हाल सञ्चालनमा नरहेका चिनियाँ विमानको हकमा तत्काल ठोस् व्यवस्थापनको पहल लिँदै सञ्चालक समितिमा प्रस्ताव लैजाने निर्णय गरिएको छ । निगमले तिर्नुपर्ने कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषको ऋणको किस्ताको पुनःतालिकीरण गर्न पहल गर्नेसमेत निगम व्यवस्थापनले निर्णय गरेको छ । यसका लागि अर्थ मन्त्रालय, पर्यटन मन्त्रालय र दुई कोषबीच समन्वय गरिने निगमले उल्लेख गरेको छ ।    निगममा नयाँ नेतृत्व आएसँगै तदारुकताका साथ प्रशासनिक कार्यमा देखिने गरी गतिशीलता तथा नीतिगत कार्यमा ठोस सक्रियतासहित कार्यारम्भ गरिएको पनि निगमले जनाएको छ ।

काठमाण्डौँ :     सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ४०० ले बढेर रु ९७ हजार ७०० पुगेको छ । पहेंलो धातु अघिल्लो दिन प्रतितोला रु ९७ हजार ३०० मा कारोबार भएको थियो ।      नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९७ हजार २०० छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९६ हजार ८०० थियो ।  त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १० ले बढेर रु एक हजार २५५ तोकिएको महासङ्घले जनाएको छ ।

   काठमाडौं :      मनसुन देशभर फैलिएकाले आगामी तीन दिन ठूलो पानी पर्ने मौसमविदहरुले बताएका छन् । आज दिनभर झरी पर्ने छ । भोलि राति र पर्सि आजको दिनभन्दा पनि धेरै पानी पर्ने मौसमविद हिरा भट्टराईले जानकारी दिए ।   ‘आज केहीबेर पानी पर्न रोकिए पनि दिनभर घाम लाग्ने चान्स छैन,’ मौसमविद हिरा भट्टराईले भने, ‘भोलि रातिदेखि पर्सिसम्म आजको भन्दा पनि धेरै पानी पर्ने सम्भावना छ ।’ उनले प्रदेश १, मधेश प्रदेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना रहेको बताए ।   आज अन्य प्रदेशको तुलनामा कर्णाली प्रदेशमा भने कम पानी पर्ने अनुमान गरिएको बताए । पर्सि पनि अन्य प्रदेशको तुलनामा कर्णाली र सुदूरपश्चिम प्रदेशमा कम पानी पर्ने सम्भावना रहेको बताए । मनसुन सक्रिय भएकाले कर्णाली र सुदूरपश्चिममा पनि मध्यम वर्षा भने हुने मौसमविद भट्टराईको भनाइ छ ।   वर्षाका कारण नदी तथा खोलाहरुमा बाढी आउने, पहाडी क्षेत्रमा पहिरो जाने सम्भावना हुने भएकाले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।   गत जेठ १२ गते प्रदेश १ मा प्रवेश गरेको यस वर्षको मनसुन असार १२ गतेमात्र सुदूरपश्चिम प्रदेशमा प्रवेश गरेको छ । मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा जेठ २६ गते तथा लुम्बिनी र कर्णाली प्रदेशमा असार १० गते मनसुनी प्रणाली प्रवेश गरेको थियो ।

काठमाण्डौँ :    नेकपा (एकीकृत समाजवादी) का तर्फबाट सरकारमा सहभागी नव नियुक्त मन्त्रीले आज पद तथा गोपनीयताको शपथ लिनुहुने भएको छ ।     राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त चार मन्त्रीलाई आज दिउँसो ११ बजे राष्ट्रपति कार्यालय र प्रधानमन्त्री शेरबहादुर देउवाले एक राज्यमन्त्रीलाई सिंहदरबारस्थित कार्यालयमा शपथ गराउनुहुने कार्यक्रम रहेको जनाइएको छ ।       नयाँ मन्त्रीमा जीवनराम श्रेष्ठ संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, मेटमणि चौधरी सहरी विकास मन्त्रालय, भवानीप्रसाद खापुङ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र शेरबहादुर कुँवर श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी प्राप्त गर्नुभएको छ । त्यसैगरी राज्यमन्त्रीमा हीराचन्द्र केसी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय हुनुहुन्छ ।     राष्ट्रपति  भण्डारीले गत असार २९ गते गठित मौजुदा मन्त्रिपरिषद्य प्रधानमन्त्रीको सिफारिसमा आइतबार हेरफेर गर्नुभएको हो । 

चितवन :     चितवनमा पछिल्लो तीन महिनाको अवधिमा सवारी साधन दुर्घटनाबाट ३४ जनाको मृत्यु भएको छ । बढ्दो सवारी चाप र सवारी चालकको लापर्बाहीका कारण दुर्घटनासमेत बढ्दो क्रममा रहेको छ ।      जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार गत चैत, वैशाख र जेठ महिनामा १४१ दुर्घटना हुँदा ३४ जनाको मृत्यु भएको हो । सबैभन्दा धेरै चैत महिनामा १६ जनाको मृत्यु भएको छ । सो महिनामा ३७ दुर्घटना भएका थिए । ती दुर्घटनामा परेर ११५ जना घाइतेसमेत भएका जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक धर्मबहादुर अधिकारीले बताउनुभयो ।       गत जेठ महिनामा ४१ वटा दुर्घटना हुँदा १० जनाको मृत्यु भएको उहाँको भनाइ छ । ती दुर्घटनामा परेर ९१ घाइते भएका छन् । गत वैशाख महिनामा सबैभन्दा धेरै ५३ दुर्घटना भएका छन् तर यस दुर्घटनामा मृतकको सङ्ख्या घटेर आठ मात्रै रहेको छ । उक्त महिनामा ११५ जना घाइते भएका थिए ।      दुर्घटनाको सङ्ख्या हरेक महिना घटबढ हुँदै आइरहेको भन्दै सवारी चालकले सचेत भएर सवारी साधन चलाए आफँै दुर्घटना न्यूनीकरण हुने उहाँले बताउनुभयो । उहाँले क्षमता भन्दा बढी यात्रु चढाउने सवारी साधनलाई कारबाही गर्दै आइरहेको भन्दै स्वयं चालक सचेत नभएसम्म समस्या बल्झिरहने बताउनुभयो । “तीव्र गति र सिट क्षमताभन्दा धेरै यात्रुका कारण पनि दुर्घटना बढेको देखिन्छ”, प्रहरी निरीक्षक अधिकारीले भन्नुभयो, “न्यूनीकरणका लागि हामीले जनचेतना जगाउने काम पनि गर्दै आइरहेका छौँ ।”       यसैबीच, जिल्ला ट्राफिक प्रहरी कार्यालयले सवारी कारबाहीलाई तीव्रता दिएको छ । कार्यालयका अनुसार पछिल्लो तीन महिनामै आठ हजार २६४ सवारी साधनलाई कारबाही गरिएको प्रहरी निरीक्षक अधिकारीको भनाइ छ । यसअनुसार गत चैतमा दुई हजार ५२६, वैशाखमा दुई हजार ५२८ र जेठ महिनामा तीन हजार २१० सवारी साधनलाई कारबाही गरिएको छ ।      कारबाहीबापत ट्राफिक प्रहरीले राजस्वसमेत उठाउँदै आइरहेको छ । तीन महिनामै कार्यालयले कारबाहीबापत रु ७६ लाख ४९ हजार ५०० राजस्व सङ्कलन गर्न सफल भएको जनाइएको छ । सबैभन्दा धेरै गत जेठमा रु ३० लाख पाँच हजार, वैशाखमा रु २३ लाख ३९ हजार ५०० र चैतमा रु २३ लाख नौ हजार ५०० राजस्व सङ्कलन गरेको प्रहरी निरीक्षक अधिकारीले जानकारी दिनुभयो ।