काठमाडौं: विद्यालय छनोटमा ढिलाइ भएका कारण शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यस वर्षको ‘राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम’ स्थगन गर्ने निर्णय गरेको छ । चालु आर्थिक वर्षमा उक्त कार्यक्रमका लागि रु एक अर्ब विनियोजन भएको थियो । कार्यक्रमअन्तर्गत विद्यालय छनोटमा ढिलाइ भएको र स्रोतको वितरण तथा उपयोगमा विभिन्न गुनासा आएका सन्दर्भमा शिक्षामन्त्री सुमना श्रेष्ठको उपस्थितिमा भएको बैठकले उक्त कार्यक्रम स्थगन गरी त्यसबारे अर्थ मन्त्रालयलाई जानकारी दिने निर्णय गरेको हो । जाजरकोट भूकम्पबाट क्षतिग्रस्त विद्यालय भवन पुनःनिर्माणका लागि आवश्यक बजेट व्यवस्थापन हुन नसकेको तथा मुसहर, चेपाङलगायत सीमान्तकृत समुदाय रहेको स्थानमा नमुना सामुदायिक विद्यालय सञ्चालन गर्न रकम नभएको अवस्थामा अन्यत्रका विद्यालयलाई पूर्वाधार विकासका निम्ति बजेटको व्यवस्था गर्न सान्दर्भिक नहुने अभिमत प्रकट हुँदै आएको थियो । मन्त्रालयले आगामी आर्थिक वर्षमा ती क्षेत्रको शैक्षिक विकासमा ध्यान दिने शिक्षामन्त्री श्रेष्ठको निजी सचिवालयले जनाएको छ ।
भक्तपुर: राष्ट्रिय परीक्षा बोर्डले यही चैत्र १५ गतेदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) को सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । यसवर्षको एसईई परीक्षाका लागि देशभर दुई हजार ५७ परीक्षा केन्द्र निर्धारण गरिएको छ । चैत १५ गतेदेखि सुरु भई २७ गतेसम्पन्न हुने परीक्षाका लागि बोर्डले उक्त सङ्ख्यामा परीक्षा केन्द्र निर्धारण गरेको बोर्डका अध्यक्ष डा महाश्रम शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार यसवर्ष देशभरबाट करिब पाँच लाख विद्यार्थी एसईई परीक्षामा सहभागी हुनेछन् । यसवर्ष पनि जापानमा एउटा परीक्षा केन्द्र निर्धारण गरिएको उहाँले जानकारी दिनुभयो । परीक्षाका लागि बोर्डले पाँच लाख प्रश्नपत्र छापिसकेको परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिनुभयो । पाँच लाख चार हजार ४१४ जनाले परीक्षाको फाराम भरे पनि परीक्षामा केही विद्यार्थीको सङ्ख्या घट्न सक्ने उहाँले बताउनुभयो । पौडेलले परीक्षाका लागि आवश्यक पर्ने प्रश्नपत्र बोर्डले देशभरका ७६ जिल्लाका प्रहरी कार्यालयमा पठाइसकेको बताउँदै काठमाडौँ जिल्लामा परीक्षाको अघिल्लो दिन मात्रै पठाइने जानकारी दिनुभयो । “प्रत्येक विषयको परीक्षाका दिन परीक्षा सुरु हुनु केही समय अगाडि मात्रै प्रहरी सुरक्षाका साथ सम्बन्धित परीक्षा केन्द्रमा प्रश्न पत्र पठाइनेछ”, उहाँले भन्नुभयो । परीक्षाका लागि आवश्यक पर्ने उत्तरपुस्तिका एवं अन्य सामग्री कार्यालयले सातै प्रदेशमा पठाएको जानकारी दिँदै परीक्षा नियन्त्रक पौडेलले प्रदेश र जिल्लाले गर्ने तयारी पनि भइरहेको बताउनुभयो । उहाँका अनुसार आवश्यक बजेट सातवटै प्रदेश सरकारअन्तर्गत सामाजिक सुरक्षा मन्त्रालयले व्यवस्थापन गर्नेछ । नेपाल बाहिर जापानमा बसेका नेपाली विद्यार्थीले यसवर्ष पनि जापानबाटै परीक्षा दिन पाउने भएका छन् । बोर्डले यसवर्षको परीक्षाका लागि एक परीक्षा केन्द्र निर्धारण गरेको छ । जापानबाट २३ जना विद्यार्थीले एसईई दिने परीक्षा नियन्त्रक पौडेलले जानकारी दिनुभयो । प्रत्येक परीक्षा केन्द्रमा केन्द्राध्यक्ष र सहायक केन्द्राध्यक्ष एक÷एक, तीन सय विद्यार्थी रहेको केन्द्रमा दुई सहायक केन्द्राध्यक्ष, दुई विद्यार्थी बराबर एक निरीक्षक, एक सय ५० देखि दुई सयसम्म परीक्षार्थी भएकोमा एक सहयोगी र त्योभन्दा बढी परीक्षार्थी रहेको केन्द्रमा दुई सहयोगी खटाइने उहाँको भनाइ छ । परीक्षा केन्द्रको आवश्यकताअनुसार सुरक्षाकर्मी परिचालन गरिने र सुरक्षाकर्मीदेखि कर्मचारी परिचालनका लागि प्रत्येक जिल्लाको प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्ला परीक्षा समन्वय समितिले गर्ने व्यवस्था गरिएको परीक्षा बोर्डले जनाएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मन्त्रीस्तरीय निर्णयबाट विसं २०७८ पुस ७ गते ‘लेटर ग्रेडिङ निर्देशिका, २०७८’ जारी गरेको थियो । यसवर्षको परीक्षामा बोर्डले ‘लेटर ग्रेडिङ निर्देशिका, २०७८’ लागू गरेको जनाएको छ । विगतमा सैद्धान्तिक र प्रयोगात्मक दुवै जोडेर ३५ प्रतिशत ल्याउनुपर्ने व्यवस्था रहेकामा यसवर्ष निर्देशिका कार्यान्वयनमा आएपछि पहिलो पटक बोर्डले एसईई परीक्षाको नतिजामा विद्यार्थीले सैद्धान्तिकमा ३५ र प्रयोगात्मकमा ४० अङ्क ल्याउनुपर्ने व्यवस्था गरेको परीक्षा नियन्त्रक पौडेलले जानकारी दिनुभयो । परीक्षार्थी कम्तीमा सैद्धान्तिक विषयमा ३५ र प्रयोगात्मकमा ४० अङ्क ल्याउनुपर्ने भन्दै एक सय पूर्णाङ्क रहेको विषयमा ३५ अङ्क र ७५ पूर्णाङ्क रहेको विषयमा २७ अङ्क ल्याउनुपर्ने उहाँले बताउनुभयो । परीक्षा नियन्त्रक पौडेलका अनुसार ३५ प्रतिशतभन्दा कम अङ्क ल्याएमा कक्षा ११ मा भर्ना हुन नपाउने र पुनःमौका परीक्षामा सहभागी हुनु पर्नेछ । ३५ अङ्क ल्याउन नसक्ने विद्यार्थीले पहिलो वर्ष दुई विषयको मौका परीक्षा दिन पाउने व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार विद्यार्थीले तीन पटकसम्म दुई विषयमा ग्रेड वृद्धि परीक्षामा सहभागी हुन पाउने छन् ।
काठमाडौं: शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सामुदायिक विद्यालयका शिक्षकको सरुवासम्बन्धी मापदण्ड निर्धारण तथा र शिक्षक सेवा आयोगको परीक्षा समाप्त नभएसम्म शिक्षकहरूको अन्तरजिल्ला सरुवा रोक्का गरेको छ । हालैको मन्त्रीस्तरीय निर्णयबाट शिक्षक सरुवालाई व्यवस्थित, प्रभावकारी र वैज्ञानिक बनाउन मापदण्ड तयार गरी र आयोगका हाल जारी परीक्षा सम्पन्न भएपछि मात्रै अन्तरजिल्ला सरुवा फुकुवा गर्ने निर्णय भएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलका प्रवक्ता शिवकुमार सापकोटाले जानकारी राससलाई बताउनुभयो ।
काठमाडौं : हामी जापानको राजधानी टोकियोको मध्यसहरमा अवस्थित एभरेष्ट इन्टरनेशनल विद्यालयमा पुग्दा प्राङ्गणमा सूर्यचन्द्र अङ्कित नेपाली झण्डा फहराइरहेको थियो । विद्यार्थीहरु ‘माथिमाथि शैलुङ्गेमा चौंरी डुलाउनेलाई बोलको नेपाली मौलिक गीतमा नृत्यको अभ्यास गर्दै थिए । नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सञ्जाल ९इन्जा०का अध्यक्षसहितको राससको टोली विद्यालय परिसर पुग्दा दैनिक कक्षा प्रारम्भसँगै भइसकेको छ । विद्यालयमा नेपालीसहित जापानी र अन्य देशका विद्यार्थीहरु नेपाली राष्ट्रिय गान ‘सयौँ थुँगा फूलका हामी एउटै माला नेपाली’ सम्मानपूर्वक उच्चारण गरिरहेका थिए । नेपालको राष्ट्रिय गान र मौलिक गीतले गुञ्जायमान सो वातावरणले टोकियोको व्यस्त सहरमा सानो नेपाल महसुस गर्न सकिन्थ्यो । एभरेष्ट इन्टरनेशनल स्कुल नेपालबाहिर नेपाली पाठ्यक्रम र परीक्षा प्रणालीका आधारमा सञ्चालन हुने एक मात्र विद्यालय हो । स्थापनाकालमा १६ जना विद्यार्थीबाट शुरु भएको यस विद्यालयमा हाल नर्सरीदेखि कक्षा १२ सम्म चार ५० विद्यार्थी अध्ययनरत छन् । सो विद्यालयले शिक्षामार्फत नेपालीपन, नेपाली मन, भूगोल, संस्कार र संस्कृति तथा भेषभूषा, रहनसहन, गीतरसङ्गीत जापानलगायत अन्तर्राष्ट्रिय समुदायमा पुर्याउने काम गर्दै आएको छ । जापानमा रहेका नेपाली समुदायको पहलमा सन् २०१३ मा शुरु भएको विद्यालयले हालसम्म तीन पटक माध्यमिक शिक्षा परीक्षा (एसईईं) तथा एकपटक कक्षा १२ को परीक्षामा सामेल भइसकेको छ । ती सबै परीक्षामा विद्यालयको नतिजा अब्बल छ । तर पछिल्लो समय विद्यालयको भविष्यलाई लिएर सरोकारवालाहरुले चिन्ता व्यक्त गर्नुभएको छ । अहिले नेपालमा प्रस्तावित विद्यालय शिक्षा विधेयकले विदेशमा सञ्चालित नेपाली विद्यालयलाई समेट्न नसकेको विद्यालयका प्राचार्य विष्णुप्रसाद भट्टले गुनासो गर्नुभयो । विद्यालय र यहाँका नेपाली विद्यार्थीहरुका लागि भए पनि विधेयकमा यसप्रकारका विद्यालयबारे उल्लेख गर्नुपर्ने उहाँको भनाइ छ । “विधेयकले विदेशमा नेपाली पठ्यक्रमअनुरुप चल्ने विद्यालय कुन मातहत रहने भन्ने ठूलो प्रश्न खडा गरेको छ । विदेशमा रहेका विद्यालय कुन मातहत भन्ने स्पष्ट छैन”, उहाँले भन्नुभयो । उक्त विधेयक बनाउने सन्दर्भमा सामाजिक शिक्षा अङ्ग्रेजी भाषामा पढाइका लागि स्वीकृति, स्थानीय भाषामा एक विषयको पढाइ र विदेशी विद्यार्थी भर्ना रजिष्ट्रेशनमा सहजीकरणलगायतका विषय उठान गरेको छ । विधेयकमा विदेशमा रहने त्यस्ता विद्यालयका लागि विशेष व्यवस्था मिलाउने तथा समन्वय र सहजीकरण गर्ने निकायको आवश्यकता रहेको उहाँको तर्क छ । मुलुकको एकतिहाइ अर्थात् झण्डै ८० लाखभन्दा बढी सङ्ख्यामा जनता देशबाहिर रहेको अवस्थामा नयाँ ऐन निर्माण भइरहँदा सो विषयमा पनि ध्यान दिनुपर्ने उहाँको सुझाव छ । उहाँले नेपाल सरकारसमक्ष विदेशमा सञ्चालनमा रहेका विद्यालयलाई परेको नीतिगत समस्या सुल्झाउन आग्रह गर्नुभयो । देशबाहिर रहेका नेपालीलाई शिक्षाको माध्यमबाट आफ्नो देशसँग जोड्न सकिनेछ भने विद्यालयमा पढने विद्यार्थीका नाताले अरु देशका नागरिकलाई नेपाल राष्ट्र, कला र संस्कृतिबारे जानकारी दिलाउन महत्वपूर्ण अवसर मिल्ने उहाँको धारणा छ । एभरेष्ट इन्टरनेशनल विद्यालयका संस्थापक सदस्य भूषण घिमिरे नेपाल र जापानको शिक्षण पद्धतिमा केही फरक देख्नुहुन्छ । उहाँका शब्दमा नेपालका विद्यालयमा पढाउने शैली छ भने जापानमा सिकाउने शैली छ । “नेपालको शिक्षा पद्धतिमा पढाइन्छ मात्रै । एकोहोरो पढाएर सिकाइ प्रभावकारी हुँदैन । जापानको शिक्षा पद्धति भने अलिक फरक छ । यहाँ सिकाइन्छ । वास्तवमा पढाइ र सिकाइबीचको भिन्नता ठूलो छ । हामीले यो अन्तर बुझ्न जरुरी छ । नेपालको शिक्षण पद्धतिमा सिकाइ सुरु गर्नुपर्छ”, उहाँले भन्नुभयो । अध्ययनमा सिकाइ प्रभावकारी भएन भने जीवनमा लागू गर्न गाह्रो हुन्छ । सिकेको कुरा पढेको कुराभन्दा लामो समयसम्म स्मरण भइरहन्छ । जापानमा घर र शिशु कक्षामा सिकाइ भनेको अनुशासन पनि मानिन्छ । सो विद्यालय सञ्चालक समिति सदस्यसमेत रहनुभएका उहाँ भन्नुहुन्छ “सिकाइ नभएको पढाइको अर्थ छैन । जापानमा बच्चालाई घर वा नर्सरी कक्षा होस सिकाउने पहिलो विषय अनुशासन हो । मैले अरुलाई नकारात्मक असर पुर्याउने कुनै काम गर्नु हुन्न भन्ने सिकाइ पहिलो हो ।” नेपालमा भ्रष्टाचार लामो समयदेखि समस्याका रुपमा छ । भ्रष्टाचारले राष्ट्र र समाजलाई हानी पुर्याउँछ त्यसमा संलग्न हुन हुँदैन भन्ने ज्ञान पनि विद्यालय तहमै सिकाइने उहाँले सुनाउनुभयो । त्यति मात्र होइन, तपाईंले कसैलाई झुक्किएर ठक्कर दिए पनि ठक्कर खाने व्यक्तिले कतै मैले नै त गल्ती गरेको होइन भनेर माफी माग्ने संस्कार पनि छ । “नेपालमा अहिले धेरै समयपछि विद्यालय शिक्षासम्बन्धी नयाँ कानुन बन्न लागेको छ । त्यस ऐनमा अनुशासन र कर्तव्यका विषयलाई समेट्नुपर्छ । कसैले अर्कोलाई नराम्रो हुने काम नगरिदिए समाज राम्रो हुन समय लाग्दैन । त्यो खाले शिक्षा बालबालिकालाई सिकाउनुपर्छ”, उहाँले भन्नुभयो । अनुशासनले गल्ती र हारलाई सहजरुपमा स्वीकार्य बनाउने भन्दै उहाँले कानुन र संस्कार छुट्याउन कठिन हुने धारणा राख्नुभयो । त्यसखालको संस्कार हाम्रो देश नेपालमा पनि उत्तिकै आवश्यकता रहेको उहाँले भन्नुभयो । बाह्र वर्षअघि जापानमा नेपाली नागरिक अध्ययनका अतिरिक्त विभिन्न पेशा व्यवसायसँग जोडिएर पुग्ने क्रम देखिएपछि सन्तानको शिक्षाका लागि परिवार छोड्न नपरोस् भनी गैरनाफामूलक संस्थाका रुपमा त्यहाँको नेपाली समाजको अगुवाईमा विद्यालय स्थापना गरिएको थियो । विद्यालयको अध्यक्षमा गैह्रआवासीय नेपाली सङ्घ (एनआरएनए)का पूर्वअध्यक्ष भवन भट्ट हुनुहुन्छ । उक्त विद्यालयलाई जापानको शिक्षा मन्त्रालयले अन्तर्राष्ट्रिय विद्यालयको मान्यता प्रदान गरेको छ । जापानमा विद्यालय सञ्चालन गर्न त्यहाँको सम्पूर्ण नीति नियमको कडाइका साथ पालना गर्नुपर्छ । त्यो सबै पालना गरेकै कारण जापानी समुदायबीचमा पनि विद्यालय आकर्षणको केन्द्र बन्दै आएको छ । हाल उक्त विद्यालयका ६१ मध्ये नौ जना जापानी शिक्षक तथा कर्मचारी छन् भने छ जना जापानी विद्यार्थी अध्ययनरत रहेको विद्यालयका भाइस प्रिन्सिपल राजेन्द्र तामाङले जानकारी दिनुभयो । उहाँका अनुसार विद्यालयमा दुई घण्टा टाढादेखि रेल चढेर आउने विद्यार्थीको सङ्ख्या उल्लेख्य छ । टोकियोमा रहेका अन्य विद्यालयको तुलनामा सुलभ शुल्कमा गुणस्तरीय शिक्षा भएकै कारण विद्यालयमा विद्यार्थी भर्ना चाप चुनौतीपूर्ण रहेको विद्यालय सञ्चालक समितिका उपाध्यक्ष मेघराज नेपाल बताउनुुहुन्छ । विद्यार्थीको चाप र भौतिक पूर्वाधारका कारण नर्सरी कक्षा एक ठाँउमा छ भने १ देखि ३ सम्मका कक्षा बेग्लै ठाउँमा पढाइ हुन्छ । उक्त विद्यालयमा भर्नाका लागि हालको भन्दा दोब्बर विद्यार्थीका लागि माग रहेको उहाँले बताउनुभयो । टोकियोमा धेरै नेपालीहरुको पेशा व्यवसाय भएकाले अनयन्त्र सारिएको खण्डमा उनीहरुलाई मर्का पर्ने सञ्चालकको बुझाइ छ । अध्ययनसहित विभिन्न पेशा व्यवसाय गरी हाल जापानमा एक लाख ६३ हजारभन्दा बढी सङ्ख्यामा नेपाली बस्दै आएका छन् । जापानमा विद्यार्थीलाई होस्टेलमा राख्न नमिल्ने व्यवस्था छ । नेपालमा जस्तो विद्यार्थीको क्षमता र नतिजा हेरेर विद्यार्थी भर्ना गर्ने सुविधा पनि छैन । तोकिएको समयमा जो आयो उसले भर्ना पाउँछ । परीक्षाको अनुगमन र अन्य कानूनी एवं नीतिगतरुपमा विद्यालयलाई परेको समस्या टोकियोस्थित नेपाली दूतावासले सम्बोधन गर्दै आएको छ । जापानको नेपाली समाज तुलनात्मकरुपमा सुसङ्गठित, सुविचारित र समृद्ध हुुँदै गएको जापानका लागि नेपाली राजदूत डा। दुर्गाबहादुर सुवेदी बताउनुहुन्छ । “नेपालीपन र नेपाली मन बचाउने कर्ममा यहाँको नेपाली समाज लागिपरेको उदाहरणका रुपमा एभरेष्ट स्कुल छ । नेपालको परिचय, भाषा, नेपाली कला, संस्कृति, रहनसहन, गीत सङ्गीत भेषभूषा प्रवर्धनमा विद्यालयले योगदान पुर्याएको छ”, राजदूत डा। सुवेदी भन्नहुन्छ । नेपालको पर्यटन प्रवर्द्धनमा प्रचारका माध्यमबाट सहयोग पुगोस् भन्ने हेतुले विश्वको चुचुरो सगरमाथाको उचाइसँग जोडेर बसको नम्बर ८८४८ राखिएको छ । त्यसो त सन् १९०२ मै राणाकालीन समयमै आठ जना नेपाली विद्यार्थीलाई उच्च शिक्षा हासिल गर्न भान्सेसहितको व्यवस्थामा जापान पठाइएको थियो । जापान नेपालको विकासको ठूलो सहयोगी र साझेदार मुलुक हो । पछिल्लो समय जापानी समाजमा नेपाली नागरिकले बनाएको परिचय, पहिचान र प्रतिष्ठा उदाहरणीय र आदरणीय रहेको दूतावासको ठम्याइ छ ।
पोखरा: पर्स्याङ स्थित शान्ति निकेतन माविका कक्षा १० का विद्यार्थीलाई बिदाई गरिएको छ । आगामी चैत १५ गतेदेखि सुरु हुने एसईईमा सहभागी हुने विद्यालयका १४ औं ब्याचका विद्यार्थीलाई कक्षा ९ का विद्यार्थीले विहीबार बिदाई कार्यक्रम आयोजना गरी शुभकामना दिएका हुन् । बिदाई कार्यक्रममा विद्यालयका संस्थापक प्राचार्य डा। महेश्वर पराजुलीले यस वर्षको एसईईमा सहभागी हुने सबै ४० जना विद्यार्थीलाई सफलताको शुभकामना प्रकट गरे । ‘सबै विद्यार्थीहरुले राम्रो तयारी गर्नुहुनेछ । परीक्षामा उत्कृष्ट अंक ल्याउनुहुनेछ र शान्ति निकेतनको नाम चम्काउनुहुनेछ । इतिहास रच्नुहुनेछ ।’ डा। पराजुलीले भने – ‘उच्च शिक्षाको लागि तयार भएका विद्यार्थीको उज्वल भविष्यको कामना गर्दछु । यो वास्तवमा बिदाई होइन, आगामी दिनको लागि शुभयात्रा हो ।’ प्राचार्य डा. पराजुलीले यो कक्षा नौ का भाइबहिनीबाट गरिएको शुभकामना कार्यक्रम भन्दै विद्यालयले छुट्टै फेरि भेटौँला कार्यक्रम आयोजना गर्ने जनाए । विद्यालयका सह–प्राचार्य यदुविलास भुर्त्याल, कक्षा १० संयोजक हेम सुवेदी, कक्षा ९ संयोजक अमर क्षेत्री, अनुशासन विभाग प्रमुख सुरज अधिकारी, अतिरिक्त क्रियाकलाप प्रमुख भुवानीप्रसाद अधिकारी लगायतले परीक्षामा सहभागी हुने सबै विद्यार्थीलाई राम्रो गर्न शुभकामना दिए । कार्यक्रममा कक्षा ९ का विद्यार्थीद्वारा संयुक्त रुपमा कक्षा १० का विद्यार्थीहरुलाई मायाको चिनो प्रदान गरी खादा ओढाएर बिदाई गरेका थिए । कार्यक्रममा अदिति पराजुली, अंकिता कोइराला, स्वीकृति अधिकारी लगायतले बोलेका थिए । कक्षा नौका छात्र सफल शर्माको अध्यक्षतामा भएको कार्यक्रममा छात्रा रस्मिता श्रेष्ठले स्वागत तथा छात्र अनुपम पराजुलीले धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रमको सञ्चालन कक्षा नौ कै छात्रछात्रा रवि गौतम र आरुषी आचार्यले गरेका थिए ।
भक्तपुर: मध्यपुरथिमि नगरपालिका बोडे सिन्टिटार पौवामा विगत चार वर्षदेखि सञ्चालनमा रहेको विद्यालयको नाम हो संस्कार गुरुकुल । करोडौँ लगानी, सुन्दर वातावरण र संस्कारसहितको गुणस्तरीय शिक्षाका नाममा सञ्चालित उक्त विद्यालयमा कक्षा नर्सरीदेखि कक्षा ८ सम्म सञ्चालनमा छ । विद्यालयले यस वर्षदेखि कक्षा ९ सम्म भर्ना लिने जनाएको छ । तर विडम्बना करिब तीन सय विद्यार्थी अध्ययनरत उक्त विद्यालय आजसम्म पनि अवैध छ । दर्ताबिना सञ्चालनमा छ । त्यहाँ अध्ययनरत विद्यार्थीको भविष्य कस्तो हुने हो, पछि आउने समस्याको दोषी को हो ? यसको सवाल विद्यालय सञ्चालक, विद्यालय अनुगमन गर्ने निकाय, विद्यालय दर्ता गर्ने नगरपालिका वा अभिभावक कसैलाई पत्तो छैन । चिन्ता त त्यहाँ अध्ययनरत विद्यार्थीको भविष्यको छ । कक्षा नर्सरीदेखि कक्षा ९ सम्म भर्ना लिइरहेको संस्कार गुरुकुल त एउटा उदाहरण मात्रै हो । मध्यपुरथिमि नगरपालिकामा मात्रै मन्टेश्वरी र प्ले ग्रुपको नाममा यस्ता विना दर्ता सयभन्दा बढी विद्यालय सञ्चालनमा छन् । जिल्लाका चारवटै पालिकामा तीन सयभन्दा बढी यस्ता विद्यालय दर्ता विना सञ्चालनमा छन् तर जिम्मेवार निकाय नगरपालिका भने बेखबर बनिरहेको छ । मध्यपुरथिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले विद्यालय अनुगमन सुरु गरेको बताउनुभयो । विना दर्ता अवैध रूपमा मन्टेश्वरी विद्यालयका नाममा धेरै स्कुल सञ्चालनमा रहेको जानकारी पाएको भन्दै उहाँले आजदेखि सुरु हुने अनुगमनबाट त्यस्ता विद्यालयलाई आवश्यक कारबाही गरिने बताउनुभयो । कुनै पनि विद्यालय सञ्चालन गर्न दर्ताका लागि नजिकैको दुई विद्यालयको सहमति अनिवार्य लिनुपर्ने शिक्षा ऐनमा व्यवस्था छ । तर संस्कार गुरुकुलले त्यो प्रक्रिया पूरा गर्न नसक्दा दर्ता हुन नसकेको नगरपालिकाको भनाइ छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) भक्तपुरका अध्यक्ष सुरेन्द्र श्रेष्ठले दर्ता गर्ने तथा नियमन गर्ने निकायको कमजोरीले दर्ता विनाका विद्यालय सञ्चालन मौलाएको बताउनुभयो । उहाँले भन्नुभयो, “जिल्लामा मन्टेश्वरीको नाममा कक्षा ५ सम्म विद्यार्थी भर्ना धेरै विद्यालय छन्, दर्ता विना सञ्चालनमा रहेका अवैध विद्यालयलाई प्रक्रिया पुर्याएर कि सञ्चालनको अनुमति दिनुपर्छ कि कारबाही गर्नुपर्छ, स्थानीय तहले टुलुटुलु हेरेर बस्न मिल्दैन, त्यहाँ विद्यार्थीको भविष्य जोडिएको हुन्छ ।” सूर्यविनायक नगरपालिका, चाँगुनारायण नगरपालिकामा पनि यस्ता विना दर्ताका मन्टेश्वरी र प्रिस्कुलका नाममा विद्यालय प्रशस्तै रहेपनि नगरपालिकाले अनुगमन र कारबाही भने गर्न नसकेको उहाँको भनाइ छ । कडा अनुगमनका बिचमा पनि भक्तपुर नगरपालिका क्षेत्रमा पनि मन्टेश्वरीका नाममा धेरै विद्यालय सञ्चालनमा रहेका छन् । अनुगमनमा भेटिएका यस्ता विद्यालयलाई कारबाही नगर्न विभिन्न बहाना बनाएर नगरपालिकाका शिक्षा शाखाकै कर्मचारीले रोक्ने गरेको विद्यालय सञ्चालक नै बताउँछन् । ‘विद्यालय चलाउँदै गर्नुस्, हामी मिलाएर दर्ता गरौँला’ भनी मध्यपुरथिमि नगरपालिकाका शिक्षा शाखाका प्रमुखले नै भन्ने गरेको विद्यालय सञ्चालकले जानकारी गराएका छन् ।
काठमाडौं: त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा.डा केशरजङ्ग बरालले आफ्नो पहिलो प्राथमिकता शैक्षिक क्यालेण्डर निर्माण र त्यसको पूर्ण कार्यान्वयन हुने बताएका छन् । विश्वविद्यालयको उपकुलपति पदमा नियुक्त भएपछि उनले भने, “विश्वविद्यालयमा वार्षिक शैक्षिक क्यालेण्डर निर्माण गरी त्यसको पूर्ण कार्यान्वयन अहिलेको आवश्यकता हो । यो मेरो पहिलो प्राथमिकतामा हुनेछ ।” उनले त्रिभुवन विश्वविद्यालय देशको ठूलो संरचनायुक्त संस्था भएको र यसको सुधारका असङ्ख्य काम भएको भन्दै उनले समयमै परीक्षा सञ्चालन र नतिजा प्रकाशनका लागि पनि आफूले काम गर्नेसमेत उल्लेख गरे । “विश्वविद्यालयले परीक्षा सञ्चालन र नतिजा प्रकाशन समयमै गर्नु निकै आवश्यक छ”, उनले भने, “यसका अलवा विश्वविद्यालयको पाठयक्रम अद्यावधिक पनि मेरो प्राथमिकतामा हुनेछ ।” विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिविको रिक्त उपकुलपति पदमा नियुक्त गरेका थिए । नवनियुक्त उपकुलपति प्रा डा बरालले आज नियुक्तिपत्र बुझिसकेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । उनले आजै कीर्तिपुरस्थित कार्यालय पुगी पदबहाली गर्ने कार्यक्रम छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राई नेतृत्वमा रहेको उपकुलपति छनोट तथा सिफारिस समितिबाट सिफारिस भएका तीनै जना उम्मेदवारहरुको ‘मेरिटोक्रेसी’का विषयमा प्रधानमन्त्री दाहालले अध्ययन गरेका थिए । सिफारिस समितिले विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि प्रधानमन्त्री दाहालसमक्ष बरालसहित चित्रबहादुर बुढाथोकी र टङ्कनाथ धमलालाई सिफारिस गरेको थियो । उनलाई नियुक्ति गर्नुअघि प्रधानमन्त्री दाहालले शिक्षामन्त्री एवं शिक्षा सचिवसँग उनको ‘करिअर’का विषयमा जानकारीसमेत लिएका थिए ।
काठमाडौं: त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा केशरजङ्ग बराल नियुक्त भएका छन् । विश्वविद्यालयका कुलपति एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिविको रिक्त उपकुलपति पदमा आज बराललाई नियुक्त गरेको उनको सचिवालयले जनाएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राई नेतृत्वमा रहेको उपकुलपति छनोट तथा सिफारिस समितिले बरालसहित चित्रबहादुर बुढाथोकी र टङ्कनाथ धमलाको नाम सिफारिस गरेको थियो । उपकुलपति पदका लागि दरखास्त दिएका ४३ मध्ये प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि १४ जना छानिएकामा प्रस्तुतीकरण एवम् अन्तर्वार्तापछि नियुक्तिका लागि तीन जनाको नाम सिफारिस गरिएको थियो । बराललाई शैक्षिक योग्यताको आधार, तालिम, अनुसन्धानमूलक लेख, अन्तर्वार्ता एवम् प्रस्तुतीकरणका आधारमा नियुक्ति गरिएको उल्लेख छ ।
पोखरा: लायन्स क्लब अफ पोखरा चौतारीले माछापुच्छ«े गाउँपालिका–२ मा रहेको वाराही आधारभुत विद्यालयमा न्यानो कपडा तथा स्टेशनरी वितरण गरेको छ । गरिमा बिकास बैँकको मुख्य प्रायोजन रहेको सो कार्यक्रममा बैैँकका प्रमुख कार्यकारी अधिकृत गोविन्द ढकालले विद्यार्थीहरुलाई न्यानो कपडा तथा स्टेशनरी वितरण गरे । कार्यक्रममा प्रमुख अतिथि ढकालले सरकारको लगानीले मात्र कुनै पनि क्षेत्र सुधार नहुने बताउँदै निजि क्षेत्र र सामाजिक संघसंस्थाको भुमिकालाई प्रभावकारी ढंगले लैजानुपर्ने बताए । बैँकले आफ्नो सामाजिक उत्तरदायित्वको बिषयलाई गम्भीरताका साथ लिएको उनको भनाई छ । माछापुच्छ«े गाउँपालिका–२ का वडा अध्यक्ष गणेश आचार्यले संस्थाहरुको सहयोग र स्थानीय तहको प्रयासले विद्यालयमा विद्यार्थीहरुको संख्यामा वृद्धि हुदै गएको बताए । कार्यक्रममा लायन्सका डिष्ट्रिक चिफ एड्भाइजर प्रजापति बास्तोला, मोहानबाबु खड्का, पुरुशोत्तम पराजुली, शिक्षक अभिभावक संघका अध्यक्ष तिर्थबहादुर गुरुङ, कृष्ण आचार्य लगायतले लायन्सले गरेको योगदानको चर्चा गरे । विद्यालयका प्राचार्य रामप्रसाद आचार्यले न्युन आय भएका अभिभावकका बालबालिका पढ्ने यस विद्यालयमा संस्थाको सहयोगले गर्दा विद्यार्थीहरुको आकर्षण बढ्दै गएको बताए । कार्यक्रममा ५२ जना विद्यार्थीहरुलाई प्रजातन्त्र दिवसको अवसर पारी करिब २ लाख बराबरको न्यानो कपडा तथा स्टेशनरी वितरण गरिएको थियो ।

