तनहुँ: तनहुँमा शैक्षिक सत्र अगावै पाठ्यपुस्तक आइपुगेको छ । शैक्षिक सत्र २०८२ सुरु हुनुपूर्व नै जिल्लामा सबै पाठ्यपुस्तक आएको हो । सामुदायिक विद्यालयका एक सय प्रतिशत र निजी विद्यालयका ९५ प्रतिशत पुस्तक जिल्लामा आइसकेको पुस्तक व्यवसायी महासङ्घका केन्द्रीय कोषाध्यक्ष ताराराम श्रेष्ठले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “निजी विद्यालयका केही पुस्तक मात्रै आउन बाँकी छन् । अरु सबै आइसक्यो ।” जनक शिक्षा सामग्रीमार्फत् सबै पुस्तक जिल्लामा आइपुगेको उहाँले जानकारी दिनुभयो । विगतका वर्ष जस्तै यस वर्ष पनि शैक्षिक सत्र अगावै जिल्लामा पाठ्यपुस्तक आएको उहाँको भनाइ छ । जिल्लाभर ६० पुस्तक व्यवसायी छन् । सबै व्यवसायीले केही दिनमै पाठ्यपुस्तक बिक्री वितरण थाल्ने उहाँले बताउनुभयो । जिल्लामा समयमै पाठ्यपुस्तक आएकाले विगतका वर्षमा जस्तो समस्या नहुने शिक्षा विकास तथा समन्वय इकाइ तनहुँका प्रमुख उद्धवराज कट्टेलको भनाइ छ । इकाइका अनुसार तनहुँमा पाँच सय ५१ सामुदायिक र एक सय १९ निजी विद्यालय छन् । आँबुखैरेनी गाउँपालिका–४ भाँगेस्थित छिम्केश्वरी माध्यमिक विद्यालयका प्रधानाध्यापक राजेन्द्र न्यौपानेले आज विद्यालयमै पाठ्यपुस्तक आइपुग्ने जानकारी दिनुभयो । भर्ना अभियानसँगै विद्यार्थीलाई पाठ्यपुस्तक वितरण गरिने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “वैशाख २ गतेदेखि कक्षा सञ्चालन हुँदैछ । भोलिदेखि नै विद्यार्थीलाई पाठ्यपुस्तक वितरण गरिनेछ ।” आँबुखैरेनी गाउँपालिका–६ छिम्केश्वरीस्थित कन्यादेवी माध्यमिक विद्यालयका प्रधानाध्यापक सूर्यमानसिंह गुरुङले समयमै पाठ्यपुस्तक आएकाले सहज भएको बताउनुभयो ।
म्याग्दीमा नयाँ शैक्षिक सत्र सुरु नहुँदै पुस्तक वितरण गर्न थालिएको छ । नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासङ्घले जनक शिक्षा सामग्री लिमिटेडको पोखरा बिक्री केन्द्रबाट पुस्तक ल्याएर विद्यालयलाई वितरण गर्न थालेको हो । महासङ्घका जिल्ला अध्यक्ष नारायण शर्माले बेनीमा बिक्री कक्ष स्थापना गरेर बिहीबारदेखि विद्यालयमा पुस्तक पठाउन थालेको जानकारी दिनुभयो । “म्याग्दीका सामुदायिक विद्यालयलाई आवश्यक पर्ने १५ हजार सेट पुस्तक ल्याएर दुर्गमका विद्यालयलाई प्राथमिकता दिएर वितरण गर्न थालेका छौँ,” उहाँले भन्नुभयो, “नयाँ शैक्षिक सत्रमा भर्नासँगै विद्यार्थीको हात–हातमा पुस्तक पुग्ने व्यवस्था मिलाइएको छ ।” म्याग्दीका २८ जना पुस्तक व्यवसायीले बेनीमा संयुक्त रुपमा पुस्तक बिक्री कक्ष स्थापना गरेका छन् । यस वर्ष म्याग्दीमा रु एक करोड मूल्य बराबरको पुस्तक भित्रिएको महासङ्घका सचिव धु्रवराज सुवेदीले बताउनुभयो । उहाँका अनुसार शिक्षा विकास तथा समन्वय एकाइ र स्थानीय तहका शिक्षा शाखाको तथ्याङ्कका आधारमा प्रतिकक्षा रु एक हजार २०० सेटका दरले पुस्तक आयात गरिएको छ । शैक्षिक सत्र सकिँदासम्म पनि विद्यार्थीले पुस्तक नपाउने समस्या पछिल्लो दुई वर्षयता हटेको छ । बेनी नगरपालिकाका शिक्षा अधिकृत कमल ढकालले समयमै पुस्तक खरिद र वितरणको व्यवस्था मिलाउन विद्यालयको खातामा फागुन महिनामै पुस्तकको रकम निकासा गरिएको बताउनुभयो । “विद्यार्थीसँग पुस्तक भयो भने स्वअध्ययन गर्न पाउँछन्,” उहाँले भन्नुभयो, “शिक्षकले पढाएको सहजै बुझ्न र सम्झन सजिलो हुन्छ ।”
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आन्दोलरत शिक्षकलाई वार्ताका लागि बोलाएको छ । मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले बिहीबार विज्ञप्ति जारी गर्दै आन्दोलन छाडेर वार्ताबाट समस्या सामाधान खोज्न नेपाल शिक्षक महासंघलाई आग्रह गरेका छन् । 'शिक्षक समुदायसँग विगतझैँ फेरि पनि सान्दर्भिक छलफल गर्न र साझा धारणा निर्माण गर्न नेपाल सरकार तयार रहेकाले शिक्षा तथा कर्मचारीका प्रतिनिधिलाई मन्त्रालयमा हार्दिक स्वागत गर्दछौँ,' उनले भनेका छन् । विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० प्रतिनिधिसभामा पेस भई छलफलको प्रक्रियामा रहेकामा त्यसलाई यथाशीघ्र पारित गरियोस् भन्ने माग राख्दै सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीबाट केही समयदेखि ध्यानाकर्षण गराउँदै आएको विषयप्रति मन्त्रालयको ध्यानाकर्षण भएको जनाइएको छ । प्रवक्ता सापकोटाले विद्यालय शिक्षा विधेयक स्वीकृतिको पर्खाइमा रहेकाले यसका लागि सामूहिक सन्देश प्रवाह गर्न मन्त्रालय सदैव सकारात्मक रहेको उल्लेख गरे ।
पाेखरा: उच्च अदालत पोखराले गण्डकी विश्वविद्यालयमा करारमा रहेका शिक्षक तथा कर्मचारीकाे स्थायी नियुक्ति प्रक्रिया अगाडि नबढाउन अन्तरिम आदेश दिएकाे छ । बुधबार न्यायाधीश दीपेन्द्र अधिकारी र मेरिना श्रेष्ठको इजलाशले बबुधबार अन्तरिम आदेश जारी गरेको हो । ठूलो संख्यामा शैक्षिक र प्रशासनिक कर्मचारीहरु माग गरिँदा अरुलाई प्रतिष्पर्धाको अवसर नदिइएको भन्दै अधिवक्ता मनोज घर्तीमगरले गत शुक्रबार उच्च अदालतमा रिट दायर गरेका थिए । आइतबार न्यायाधीश दीपेन्द्र अधिकारीको इजलाशले अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो । ‘निवेदकले उठाएका विषयवस्तु गण्डकी विश्वविद्यालय ऐन, २०७६, गण्डकी विश्वविद्यालय शिक्षक, कर्मचारीको सेवा, शर्त, नियुक्ति तथा बढुवाको लागि सिफारिस गर्ने मापदण्ड र पदस्थापनसम्बन्धी नियमावली, २०८१ समेतको रोहमा अन्तिम आदेश हुँदाको बखत विवेचना भई निरुपण हुने देखिँदा हाललाई यस अदालतबाट मिति २०८१।१२।१७ मा जारी भएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता प्रदान गरिएको छ,’ आदेशमा भनिएको छ । गण्डकी विश्वविद्यालयमा करारमा रहेका ७८ जना शिक्षक तथा विभिन्न तहका कर्मचारी रहेका छन् ।
मोरङ: मोरङको सुन्दरहरैँचा नगरपालिका–१० स्थित सुकुना माध्यमिक विद्यालयका आठ जना जुम्ल्याहा विद्यार्थीले एसइई परीक्षा दिइरहेका छन् । यो विद्यालयबाट कोशी प्रदेशमै सबैभन्दा बढी विद्यार्थीले एसइई परीक्षा दिइरहेका र जसमध्ये आठजना जुम्ल्याहा विद्यार्थीले एकैपटक परीक्षा दिइरहेका सहायक प्रधानाध्यापक राजेन्द्र गिरीले जानकारी दिनुभयो । विद्यालयबाट चारवटा परीक्षा केन्द्रमार्फत ६२६ विद्यार्थी परीक्षामा सहभागी छन्, जुन सङ्ख्या एकै प्रदेशमै बढी रहेको विद्यालयको दाबी छ । विसं २०२९ मा स्थापना भएको यस विद्यालयमा २०३९ सालबाट ‘एसएलसी’ परीक्षा दिन सुरु गरिएको थियो । प्रदेशकै नमूना विद्यालयअन्तर्गत गर्ने यस विद्यालयमा ं२ सहित हाल चार हजार ५०० विद्यार्थी अध्ययनरत रहेका विद्यालयका प्रधानाध्यापक हिक्मतबहादुर बस्नेतले जानकारी दिनुभयो । कोशी प्रदेशमा ८० हजारभन्दा बढी विद्यार्थीले परीक्षा दिइरहेका छन् ।
भक्तपुर: माध्यमिक शिक्षा परीक्षा अर्थात एसइई आजदेखि सुरु भएको छ । देशभरका दुई हजार ७९ परीक्षा केन्द्रबाट बिहान ८ बजेदेखि एकैसाथ सुरु भएको राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । परीक्षा नियन्त्रण कार्यालय, कक्षा–१० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले रासससँग भन्नुभयो, “देशभरका केन्द्रमा शान्तिपूर्णरुपमा परीक्षा सञ्चालन भइरहेको छ, हालसम्म कुनै पनि केन्द्रमा समस्या आएको जानकारी छैन ।” यसवर्षको एसइईमा पाँच लाख १४ हजार ७१ परीक्षार्थी सहभागी छन् । कार्यालयका अनुसार गत वर्षको तुलनामा यस वर्षको परीक्षामा ४९ हजार २८६ जना बढी परीक्षार्थी सहभागी छन् । गतवर्षको एसइईमा चार लाख ६४ हजार ७८५ परीक्षार्थी सहभागी थिए । नियन्त्रक पौडेलले प्रत्येक परीक्षा केन्द्रमा सुरक्षा व्यवस्थालाई मजबुद बनाएको उल्लेख गर्नुभयो । परीक्षाका लागि प्रत्येक केन्द्रमा एक जना केन्द्राध्यक्ष, १५० जनासम्म परीक्षार्थी भएको केन्द्रमा एक जना सहायक केन्द्राध्यक्ष, २० जना विद्यार्थी बराबर एक जना निरीक्षक खटिएका छन् । परीक्षामा ७५ जनाभन्दा कम परीक्षार्थी भएको केन्द्रमा सहायक केन्द्राध्यक्ष राखिएको छैन । एसइईअन्तर्गत जापानको एक परीक्षा केन्द्रमा २९ जना विद्यार्थी सहभागी छन् । जापानमा परीक्षा सुरु हुनुभन्दा केही समय अगाडि इमेलमार्फत प्रश्नपत्र पठाइएको उहाँले जानकारी दिनुभयो । काठमाडौँको केन्द्रीय कारागार र दैलेखका दुई कारागार तथा भक्तपुरको बाल सुधार गृहबाट पनि विद्यार्थीलाई परीक्षा दिएका छन् । यसवर्षको एसइईमा कीर्तिपुस्थित सफलता एचआईभी शिक्षा सदनबाट पनि विद्यार्थी सहभागी भएका छन् । यसवर्ष सबैभन्दा बढी काठमाडौँमा ३९ हजार ६०० र सबैभन्दा कम मनाङमा ४३ जनाले परीक्षा दिँदैछन् । परीक्षा यही चैत १९ गते सञ्चालन हुनेछ । तालिकानुसार पहिलो दिन आज अनिवार्य अङ्ग्रेजी, संस्कृत वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत र मदरसातर्फ अनिवार्य अरबी भाषाको परीक्षा हुँदैछ । चैत ८ गते अनिवार्य नेपाली विषय, गैरनेपाली विद्यार्थीका लागि अङ्ग्रेजी (इलेक्टिभ इङलिस)को परीक्षा हुनेछ । चैत १० गते अनिवार्य गणित र चैत १२ गते अनिवार्य विज्ञान तथा प्रविधि एवं संस्कृततर्फ शुक्लयजुर्वेद‚ सामवेद, अथर्ववेद, नीतिशास्त्रलगायत विषयको परीक्षा हुनेछ । चैत १३ गते अनिवार्य सामाजिक, १४ गते ऐच्छिक प्रथम, १५ गते ऐच्छिक द्वितीयको परीक्षा सञ्चालन हुनेछ । बोर्डले यसवर्ष आगामी असार ७ गतेभित्र परीक्षाको नतिजा सार्वजनिक गर्ने जनाएको छ । साथै न्यूनतम ३५ अङ्कभन्दा कम ल्याउने परीक्षार्थी अनुतीर्ण हुने समेत बोर्डको भनाइ छ । लेटर ग्रेडिङ प्रणालीमै यसवर्ष पनि परीक्षाको नतिजा सार्वजनिक गर्न तयारी गरिएको छ । परीक्षाको नतिजामा उत्तीर्णदरमा ७० प्रतिशत पु¥याउने लक्ष्य छ । विसं २०८० को एसइईमा ४८ प्रतिशत मात्रै विद्यार्थी उत्तीर्ण भएका थिए ।
काठमाडौं: माध्यमिक शिक्षा परीक्षा (एसइई) आजदेखि सुरु भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयका अनुसार देशभरका दुई हजार ७९ परीक्षा केन्द्रबाट आज बिहान ८ बजेदेखि एसइई सञ्चालन हुनेछ । परीक्षा तालिकाअनुसार पहिलो दिन अनिवार्य अङ्ग्रेजी तथा संस्कृत वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत रचना र मदरसातर्फ अनिवार्य अरेबिक भाषा विषयको परीक्षा सञ्चालन हुनेछ । यस वर्षको माध्यमिक शिक्षा परीक्षामा पाँच लाख १४ हजार ७१ जना विद्यार्थी सहभागी हुने पनि बोर्डले जनाएको छ । गत वर्ष २०८० को एसइई परीक्षामा चार लाख ६४ हजार ७८५ जना विद्यार्थी सहभागी भएका थिए । यस वर्षको परीक्षामा विद्यार्थीको सङ्ख्या ४९ हजार २८६ जना बढेको छ । परीक्षामा १५० जनासम्म परीक्षार्थी भएको केन्द्रमा एकजना सहायक केन्द्राध्यक्ष र २० जना विद्यार्थी बराबर एकजना निरीक्षक खटाउने प्रबन्ध गरिएको छ । परीक्षामा ७५ जनाभन्दा कम परीक्षार्थी भएको केन्द्रमा सहायक केन्द्राध्यक्ष नराखिएको कार्यालयले जनाएको छ । यस वर्षको एसइई आजदेखि सुरु भएर यही चैत १९ गतेसम्म सञ्चालन हुनेछ । परीक्षा बिहान ८ देखि ११ बजेसम्म सञ्चालन हुनेछ
मनाङ: यही चैत ७ गतेदेखि सुरु हुन लागेको यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)मा मनाङबाट ४६ जना सहभागी हुनेभएका छन् । परीक्षा केन्द्र सदरमुकाम चामेस्थित लोकप्रिय माविमा तोकिएको छ । परीक्षामा नियमिततर्फ ४१ र ग्रेडवृद्धितर्फ पाँच परीक्षार्थी सहभागी हुन लागेको शिक्षा समन्वय एकाइ मनाङका प्रमुख धु्रवप्रसाद कोइरालाले जानकारी दिनुभयो । चारवटा स्थानीय तह रहेको मनाङमा नार्पाभूमि गाउँपालिकाबाट कुनै पनि परीक्षार्थी छैनन् । उहाँका अनुसार नासोँ गाउँपालिकाको प्रकाशज्योति माविबाट २१, ङिस्याङ गाउँपालिकामा रहेको अन्नपूर्ण माविबाट चार, चामे गाउँपालिकामा रहेको लोकप्रिय माविबाट १६ जना परीक्षामा सहभागी हुँदैछन् । प्रकाशज्योति माविबाट दुई र लोकप्रिय माविबाट तीन जनाले ग्रेडवृद्धि परीक्षा दिन लागेका छन् ।
भक्तपुर: राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को सम्पूर्ण तयारी पूरा गरेको छ । परीक्षा नियन्त्रण कार्यालय, कक्षा–१० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले यही चैत ७ गतेदेखि देशभर एकैसाथ सुरु हुने एसइई परीक्षाको सबै तयारी पूरा भएको जानकारी दिनुभयो । बोर्डले परीक्षाका लागि प्रश्नपत्र, सिम्बोल नम्बर, उत्तरपुस्तिका र अन्य सामग्री प्रत्येक जिल्लामा पुगिसकेको जनाएको छ । परीक्षा नियन्त्रक पौडेलले भन्नुभयो, “गतवर्ष २०८० को एसइई परीक्षामा चार लाख ६४ हजार सात सय ८५ परीक्षार्थी सहभागी थिए । यसवर्षको परीक्षामा विद्यार्थीहरुको सङ्ख्या ४९ हजार दुई सय ८६ जना बढेर पाँच लाख १४ हजार ७१ जना छन् ।” कार्यालयले यसवर्षको एसइई परीक्षाका लागि देशभर दुई हजार ७९ परीक्षा केन्द्र निर्धारण गरेको छ । परीक्षामा एक सय ५० जनासम्म परीक्षार्थी भएको केन्द्रमा एक जना सहायक केन्द्राध्यक्ष हुने छन् भने २० जना विद्यार्थी बराबर एक जना निरीक्षक खटिने भएका छन् । परीक्षामा ७५ जनाभन्दा कम परीक्षार्थी भएको केन्द्रमा सहायक केन्द्राध्यक्ष नराखिने जनाइएको छ । यस पटकको एसइईमा बाल सुधार केन्द्र र कारागार गरी तीनवटा विद्यालय बाहिरका केन्द्र निर्धारण गरेको छ । परीक्षा नियन्त्रक पौडेलले काठमाडौँ र दैलेखका दुई कारागार तथा भक्तपुरको बाल सुधार गृहबाट विद्यार्थीलाई परीक्षा दिने व्यवस्था गरिएको जानकारी दिनुभयो । यस वर्षको एसइईमा कीर्तिपुस्थित सफलता एचआईभी शिक्षा सदनबाट पनि विद्यार्थी सहभागी हुने भएका छन् भने यहाँबाट चार जना एचआइभी सङ्क्रमित विद्यार्थीले एसइई परीक्षा दिने भएका छन् । यस वर्षको एसइई चैत ७ गतेदेखि सुरु भएर १९ गते सम्पन्न हुने भएको छ । परीक्षा बिहान ८ बजेदेखि बिहान ११ बजेसम्म सञ्चालन हुनेछ । परीक्षा तालिकानुसार पहिलो दिन चैत ७ गते अनिवार्य अंग्रेजी विषय, सोही दिन संस्कृत वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत र मदरसातर्फ अनिवार्य अरबी भाषाको परीक्षा हुनेछ । चैत ८ गते अनिवार्य नेपाली विषय, गैरनेपाली विद्यार्थीहरूका लागि अंग्रेजी (इलेक्टिभ इङलिस) को परीक्षा हुनेछ । चैत १० गते अनिवार्य गणित र चैत १२ गते अनिवार्य विज्ञान तथा प्रविधि एवं संस्कृततर्फ शुक्लयजुर्वेद‚ सामवेद, अथर्ववेद, नीतिशास्त्रलगायत विषयको परीक्षा हुनेछ । १३ गते अनिवार्य सामाजिक, १४ गते ऐच्छिक प्रथम, १५ गते ऐच्छिक द्धितियको परीक्षा सञ्चालन हुनेछ । लेटर ग्रेडिङ प्रणालीमै यसवर्ष पनि परीक्षाको नतिजा सार्वजनिक गर्न तयारी गरिएको छभने चैत १९ सम्म सञ्चालन परीक्षाको नतिजामा उत्तीर्ण दरमा ७० प्रतिशत पु¥याउने लक्ष्य राखेको छ । २०८० सालको एसइईमा ४८ प्रतिशत मात्रै विद्यार्थी पास भएका थिए ।

