भक्तपुर: माध्यमिक शिक्षा परीक्षा अर्थात एसइई आजदेखि सुरु भएको छ । देशभरका दुई हजार ७९ परीक्षा केन्द्रबाट बिहान ८ बजेदेखि एकैसाथ सुरु भएको राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । परीक्षा नियन्त्रण कार्यालय, कक्षा–१० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले रासससँग भन्नुभयो, “देशभरका केन्द्रमा शान्तिपूर्णरुपमा परीक्षा सञ्चालन भइरहेको छ, हालसम्म कुनै पनि केन्द्रमा समस्या आएको जानकारी छैन ।” यसवर्षको एसइईमा पाँच लाख १४ हजार ७१ परीक्षार्थी सहभागी छन् । कार्यालयका अनुसार गत वर्षको तुलनामा यस वर्षको परीक्षामा ४९ हजार २८६ जना बढी परीक्षार्थी सहभागी छन् । गतवर्षको एसइईमा चार लाख ६४ हजार ७८५ परीक्षार्थी सहभागी थिए । नियन्त्रक पौडेलले प्रत्येक परीक्षा केन्द्रमा सुरक्षा व्यवस्थालाई मजबुद बनाएको उल्लेख गर्नुभयो । परीक्षाका लागि प्रत्येक केन्द्रमा एक जना केन्द्राध्यक्ष, १५० जनासम्म परीक्षार्थी भएको केन्द्रमा एक जना सहायक केन्द्राध्यक्ष, २० जना विद्यार्थी बराबर एक जना निरीक्षक खटिएका छन् । परीक्षामा ७५ जनाभन्दा कम परीक्षार्थी भएको केन्द्रमा सहायक केन्द्राध्यक्ष राखिएको छैन । एसइईअन्तर्गत जापानको एक परीक्षा केन्द्रमा २९ जना विद्यार्थी सहभागी छन् । जापानमा परीक्षा सुरु हुनुभन्दा केही समय अगाडि इमेलमार्फत प्रश्नपत्र पठाइएको उहाँले जानकारी दिनुभयो । काठमाडौँको केन्द्रीय कारागार र दैलेखका दुई कारागार तथा भक्तपुरको बाल सुधार गृहबाट पनि विद्यार्थीलाई परीक्षा दिएका छन् । यसवर्षको एसइईमा कीर्तिपुस्थित सफलता एचआईभी शिक्षा सदनबाट पनि विद्यार्थी सहभागी भएका छन् । यसवर्ष सबैभन्दा बढी काठमाडौँमा ३९ हजार ६०० र सबैभन्दा कम मनाङमा ४३ जनाले परीक्षा दिँदैछन् । परीक्षा यही चैत १९ गते सञ्चालन हुनेछ । तालिकानुसार पहिलो दिन आज अनिवार्य अङ्ग्रेजी, संस्कृत वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत र मदरसातर्फ अनिवार्य अरबी भाषाको परीक्षा हुँदैछ । चैत ८ गते अनिवार्य नेपाली विषय, गैरनेपाली विद्यार्थीका लागि अङ्ग्रेजी (इलेक्टिभ इङलिस)को परीक्षा हुनेछ । चैत १० गते अनिवार्य गणित र चैत १२ गते अनिवार्य विज्ञान तथा प्रविधि एवं संस्कृततर्फ शुक्लयजुर्वेद‚ सामवेद, अथर्ववेद, नीतिशास्त्रलगायत विषयको परीक्षा हुनेछ । चैत १३ गते अनिवार्य सामाजिक, १४ गते ऐच्छिक प्रथम, १५ गते ऐच्छिक द्वितीयको परीक्षा सञ्चालन हुनेछ । बोर्डले यसवर्ष आगामी असार ७ गतेभित्र परीक्षाको नतिजा सार्वजनिक गर्ने जनाएको छ । साथै न्यूनतम ३५ अङ्कभन्दा कम ल्याउने परीक्षार्थी अनुतीर्ण हुने समेत बोर्डको भनाइ छ । लेटर ग्रेडिङ प्रणालीमै यसवर्ष पनि परीक्षाको नतिजा सार्वजनिक गर्न तयारी गरिएको छ । परीक्षाको नतिजामा उत्तीर्णदरमा ७० प्रतिशत पु¥याउने लक्ष्य छ । विसं २०८० को एसइईमा ४८ प्रतिशत मात्रै विद्यार्थी उत्तीर्ण भएका थिए ।
काठमाडौं: माध्यमिक शिक्षा परीक्षा (एसइई) आजदेखि सुरु भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयका अनुसार देशभरका दुई हजार ७९ परीक्षा केन्द्रबाट आज बिहान ८ बजेदेखि एसइई सञ्चालन हुनेछ । परीक्षा तालिकाअनुसार पहिलो दिन अनिवार्य अङ्ग्रेजी तथा संस्कृत वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत रचना र मदरसातर्फ अनिवार्य अरेबिक भाषा विषयको परीक्षा सञ्चालन हुनेछ । यस वर्षको माध्यमिक शिक्षा परीक्षामा पाँच लाख १४ हजार ७१ जना विद्यार्थी सहभागी हुने पनि बोर्डले जनाएको छ । गत वर्ष २०८० को एसइई परीक्षामा चार लाख ६४ हजार ७८५ जना विद्यार्थी सहभागी भएका थिए । यस वर्षको परीक्षामा विद्यार्थीको सङ्ख्या ४९ हजार २८६ जना बढेको छ । परीक्षामा १५० जनासम्म परीक्षार्थी भएको केन्द्रमा एकजना सहायक केन्द्राध्यक्ष र २० जना विद्यार्थी बराबर एकजना निरीक्षक खटाउने प्रबन्ध गरिएको छ । परीक्षामा ७५ जनाभन्दा कम परीक्षार्थी भएको केन्द्रमा सहायक केन्द्राध्यक्ष नराखिएको कार्यालयले जनाएको छ । यस वर्षको एसइई आजदेखि सुरु भएर यही चैत १९ गतेसम्म सञ्चालन हुनेछ । परीक्षा बिहान ८ देखि ११ बजेसम्म सञ्चालन हुनेछ
मनाङ: यही चैत ७ गतेदेखि सुरु हुन लागेको यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)मा मनाङबाट ४६ जना सहभागी हुनेभएका छन् । परीक्षा केन्द्र सदरमुकाम चामेस्थित लोकप्रिय माविमा तोकिएको छ । परीक्षामा नियमिततर्फ ४१ र ग्रेडवृद्धितर्फ पाँच परीक्षार्थी सहभागी हुन लागेको शिक्षा समन्वय एकाइ मनाङका प्रमुख धु्रवप्रसाद कोइरालाले जानकारी दिनुभयो । चारवटा स्थानीय तह रहेको मनाङमा नार्पाभूमि गाउँपालिकाबाट कुनै पनि परीक्षार्थी छैनन् । उहाँका अनुसार नासोँ गाउँपालिकाको प्रकाशज्योति माविबाट २१, ङिस्याङ गाउँपालिकामा रहेको अन्नपूर्ण माविबाट चार, चामे गाउँपालिकामा रहेको लोकप्रिय माविबाट १६ जना परीक्षामा सहभागी हुँदैछन् । प्रकाशज्योति माविबाट दुई र लोकप्रिय माविबाट तीन जनाले ग्रेडवृद्धि परीक्षा दिन लागेका छन् ।
भक्तपुर: राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को सम्पूर्ण तयारी पूरा गरेको छ । परीक्षा नियन्त्रण कार्यालय, कक्षा–१० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले यही चैत ७ गतेदेखि देशभर एकैसाथ सुरु हुने एसइई परीक्षाको सबै तयारी पूरा भएको जानकारी दिनुभयो । बोर्डले परीक्षाका लागि प्रश्नपत्र, सिम्बोल नम्बर, उत्तरपुस्तिका र अन्य सामग्री प्रत्येक जिल्लामा पुगिसकेको जनाएको छ । परीक्षा नियन्त्रक पौडेलले भन्नुभयो, “गतवर्ष २०८० को एसइई परीक्षामा चार लाख ६४ हजार सात सय ८५ परीक्षार्थी सहभागी थिए । यसवर्षको परीक्षामा विद्यार्थीहरुको सङ्ख्या ४९ हजार दुई सय ८६ जना बढेर पाँच लाख १४ हजार ७१ जना छन् ।” कार्यालयले यसवर्षको एसइई परीक्षाका लागि देशभर दुई हजार ७९ परीक्षा केन्द्र निर्धारण गरेको छ । परीक्षामा एक सय ५० जनासम्म परीक्षार्थी भएको केन्द्रमा एक जना सहायक केन्द्राध्यक्ष हुने छन् भने २० जना विद्यार्थी बराबर एक जना निरीक्षक खटिने भएका छन् । परीक्षामा ७५ जनाभन्दा कम परीक्षार्थी भएको केन्द्रमा सहायक केन्द्राध्यक्ष नराखिने जनाइएको छ । यस पटकको एसइईमा बाल सुधार केन्द्र र कारागार गरी तीनवटा विद्यालय बाहिरका केन्द्र निर्धारण गरेको छ । परीक्षा नियन्त्रक पौडेलले काठमाडौँ र दैलेखका दुई कारागार तथा भक्तपुरको बाल सुधार गृहबाट विद्यार्थीलाई परीक्षा दिने व्यवस्था गरिएको जानकारी दिनुभयो । यस वर्षको एसइईमा कीर्तिपुस्थित सफलता एचआईभी शिक्षा सदनबाट पनि विद्यार्थी सहभागी हुने भएका छन् भने यहाँबाट चार जना एचआइभी सङ्क्रमित विद्यार्थीले एसइई परीक्षा दिने भएका छन् । यस वर्षको एसइई चैत ७ गतेदेखि सुरु भएर १९ गते सम्पन्न हुने भएको छ । परीक्षा बिहान ८ बजेदेखि बिहान ११ बजेसम्म सञ्चालन हुनेछ । परीक्षा तालिकानुसार पहिलो दिन चैत ७ गते अनिवार्य अंग्रेजी विषय, सोही दिन संस्कृत वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत र मदरसातर्फ अनिवार्य अरबी भाषाको परीक्षा हुनेछ । चैत ८ गते अनिवार्य नेपाली विषय, गैरनेपाली विद्यार्थीहरूका लागि अंग्रेजी (इलेक्टिभ इङलिस) को परीक्षा हुनेछ । चैत १० गते अनिवार्य गणित र चैत १२ गते अनिवार्य विज्ञान तथा प्रविधि एवं संस्कृततर्फ शुक्लयजुर्वेद‚ सामवेद, अथर्ववेद, नीतिशास्त्रलगायत विषयको परीक्षा हुनेछ । १३ गते अनिवार्य सामाजिक, १४ गते ऐच्छिक प्रथम, १५ गते ऐच्छिक द्धितियको परीक्षा सञ्चालन हुनेछ । लेटर ग्रेडिङ प्रणालीमै यसवर्ष पनि परीक्षाको नतिजा सार्वजनिक गर्न तयारी गरिएको छभने चैत १९ सम्म सञ्चालन परीक्षाको नतिजामा उत्तीर्ण दरमा ७० प्रतिशत पु¥याउने लक्ष्य राखेको छ । २०८० सालको एसइईमा ४८ प्रतिशत मात्रै विद्यार्थी पास भएका थिए ।
ढोरपाटन: बागलुङको निसीखोला गाउँपालिकाले ‘मगर खाम भाषा’को स्थानीय पाठ्यपुस्तक पठनपाठन गराउन थालेको छ । गाउँपालिकाले यस वर्षदेखि गेमी (हाम्रो) निसीखोला नाम पाठ्यपुस्तक तयार गरेर पठनपाठन गराउन थालेको हो । सात वडा रहेको निसीखोलामा वडा नं ५ र ६ मा मात्र खाम भाषा बोल्ने गरिन्छ । अन्य वडामा भने नेपाली भाषामै पाठ्यपुस्तक तयार गरेर लागू गरेको निसीखोला गाउँपालिकाका शिक्षा शाखा प्रमुख विष्णुप्रसाद न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार अन्य वडाका विद्यालयमा पढाइ हुने विषयवस्तु एउटै भए पनि दुई वटा वडाका १६ विद्यालयमा ‘मगर खाम भाषा’ पाठ्यपुस्तक पढाइ हुने गरेको छ । पालिकाभर ४५ विद्यालय भए पनि २९ विद्यालयमा नेपाली भाषमा पढाइ हुने उहाँले बताउनुभयो । अहिले कक्षा १ मा स्थानीय पाठ्यपुस्तक लागू गरेको भन्दै शैक्षिकसत्र २०८२ मा कक्षा २ र ३ मा पनि पठनपाठन गराउने शाखा प्रमुख न्यौपाने बताउनुहुन्छ । सोहीअनुसार पाठ्यपुस्त छपाइको काम भइरहेको उहाँले जानकारी दिनुभयो । न्यौपानेले भन्नुभयो, “निसीखोलामा विभिन्न जातजातिका बसाइ छ, यहाँ खासगरी वडा नं ५ र ६ मा मगर खाम भाषा बोल्ने गर्नुहुन्छ, अन्य वडामा त्यो भाषा बोल्नुहुन्छ, अहिले हामीले लागू गरेको पाठ्यपुस्तकको विषयवस्तु सबै एउटै हो, वडा नं १, २, ३, ४ र ५ का बालबालिकाले नेपालीमै पढ्छन् भने दुईवटा वडाका विद्यार्थीले मगर खाम भाषामा पढ्छन् ।” न्यौपानेले कक्षा १ देखि ८ सम्म पाठ्यक्रम तयार भएको भन्दै पाठ्यपुस्तक प्रत्येक वर्ष छपाइ गर्ने र लागू गर्दै जाने बताउनुभयो । खाम भाषाको पुस्तक तयार गर्न मगर प्रतिष्ठानबाट चार जना र स्थानीय सात जना विज्ञ परिचालन गरेको उहाँको भनाइ छ । पाठ्यपुस्तक तयार गर्न केही अप्ठ्यारो परेको न्यौपानेले सुनाउनुभयो । पाठ्यपुस्तकमा निसीखोलाको जनजीवन, पर्यटन, परम्परा, संस्कृति, कृषि, पशुपालनलगायत विषयवस्तु समावेश गरिएको छ । निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीमगरले खाम भाषा सङ्कटमा पर्न थालेपछि संरक्षणका लागि पाठ्यपुस्तक बनाएर विद्यालयमा पढाउन थालेको बताउनुभयो । पछिल्लो समय बालबालिकालाई सहरबजार लगेर पढाउने प्रचलन बढेपछि खाम भाषा लोप हुने अवस्थामा पुगेको उहाँको भनाइ छ । गाउँपालिकाले भाषा संरक्षणका लागि विज्ञसमेत खटाएर पाठ्यक्रम र पाठ्यपुस्तक बनाउन थालेको अध्यक्ष घर्तीमगरले बताउनुभयो ।
बलेवा: ठूलो पक्की भवनको घेराले विद्यालय प्राङ्गण छेकिएको छ । साँघुरो जग्गामा दाताको भरमा बनेका भवन उत्तरतर्फ विद्यालय प्राङ्गण र दक्षिणतर्फ सार्वजनिक सडकसँग जोडिएका छन् । झट्ट हेर्दा लाग्छ यहाँ सटरको भाडाले मात्रै विद्यालयले मनग्ये आम्दानी गरिरहेको छ । विद्यार्थीका लागि आवश्यक सबै पूर्वाधार बनिबनाउ छन्, विद्यालयमा अभाव केहीकुरामा नहोला, तर २३ जिल्लाका विद्यार्थीले अध्ययन गर्ने यही विद्यालयमा न खेलमैदान छ न पर्याप्त शौचालय र अन्य पूवार्धर नै । बागलुङ जिल्लाको पुरानोमध्येको एक सामुदायिक विद्यालय हो विद्यामन्दिर । विद्यार्थी अभावले सामुदायिक विद्यालय रित्तिदै गइरहेका बेला बागलुङ नगरपालिका–३ स्थित विद्यामन्दिर माध्यमिक विद्यालय भने पछिल्लो समय उत्कृष्ट शैक्षिक गन्तव्यका रूपमा परिचित छ । तेइस जिल्लाका एक हजार तीन सय ९६ विद्यार्थीले पठनपाठन गरिरहेका यो विद्यालयमा भने खेलमैदान र शौचालयको अभाव छ । दक्षिणतर्फको भव्य भवनमा पाँचवटा सटर सार्वजनिक सूचना गरेर भाडामा लगाउन सकिने अवस्थामा छन् । विद्यालयले एउटामात्रै सटर भाडामा दिएको छ । जसको मासिक भाडा रु दश हजार आउने विद्यालय प्रशासनले जनाएको छ । “भाडाको रकम जे जति उठ्छ त्यो सबै भवन बनाइदिएका दाताका नाममा वार्षिकोत्सवमा विद्यार्थीलाई छात्रवृत्ति दिने गरिएको छ”, विद्यालयका प्रधानाध्यापक छविरमण रेग्मीले भन्नुभयो, “विद्यालयका अन्य आर्थिक स्रोतहरूबाट निजी स्रोतका शिक्षकको तलबभत्तालगायत खर्च हुन्छन् ।” उहाँका अनुसार विद्यालयमा पर्वत, म्याग्दी, मुस्ताङ, कास्की, स्याङ्जा, रुकुम, रोल्पा, जाजरकोट, मुगु, सुर्खेत, लमजुङ, गोरखा, रामेछाप, दोलखा, सर्लाही, रौतहत, पूर्वनवलपरासी, सिन्धुली, धादिङ, खोटाङ, बागलुङ, नुवाकोट र बारा जिल्लाका विद्यार्थीले अध्यापन गर्दै आएका छन् । “विसं १९९७ मा स्थापना भएको विद्यालय २०७२ सालको भूकम्पमा पठनपाठन गराउँनै नसकिने गरी ठाउँठाउँमा चर्कियो । जसोतसो दाताको सहयोगमा विद्यालय अहिले सुविधासम्पन्न पक्की भवनमा ठडिएको छ”, प्रअ रेग्मीले भन्नुभयो । उहाँका अनुसार विसं २०७३ मा लगाइएको महायज्ञबाट सङ्कलित रु छ करोड २८ लाखबाट २८ कोठे पक्की भवन बनाइएको हो । ब्रिटिस वेलफेयरले रु एक करोड ३९ लाख खर्चेर आठ कोठे भवन समेत निर्माण गरिदिएको छ । यस्तै, स्थानीय समाजसेवी श्रीजय श्रेष्ठ, मनोविज्ञान श्रेष्ठ, कृष्णशङ्कर श्रेष्ठ, गणेशशङ्कर श्रेष्ठ र प्रवीणशङ्कर श्रेष्ठले रु २८ लाख खर्चेर तीनकाठे भवन निर्माण गरिदिनुभएको छ । भौतिक पूर्वाधारले सम्पन्न विद्यालयमा विद्यार्थी सङ्ख्याको अनुपातमा पर्याप्य खेलमैदान र शौचालयको भने अभाव छ । करिब १४ सय विद्यार्थी र ९० जना शिक्षक तथा कर्मचारीले प्रयोग गर्ने शौचालय १३ वटा छन् । यति धेरै विद्यार्थीले प्रयोग गर्ने शौचालय थोरै हुँदा सास्ती खेप्नुपरेको विद्यालयका प्रधानाध्यापक रेग्मीले दुखेसो पोख्नुभयो । देख्दा स्रोत सम्पन्न देखिने विद्यालयभित्र दर्दनाक समस्याहरू झेल्नुपरेको उहाँको गुनासो छ । खाजा खाने समयमा एकैपटक धेरै विद्यार्थीले शौचालय प्रयोग गर्न लामो समय लाइनमा बस्नुपर्दा पढाइ नै प्रभावित हुने गरेको प्रअको भनाइ छ । जग्गा अभावका कारण विद्यालय भवनको छतमा शौचालय बनाउन सकिने प्राविधिकले सुझाए पनि आर्थिक अभाव हुँदा तत्काल शौचालय बनाउन नसकिएको रेग्मीले बताउनुभयो । “खेलमैदान अपर्याप्त र साँघुरो छ, विद्यार्थी सङ्ख्या धेरै छ, बालकक्षादेखि १२ कक्षासम्मका विद्यार्थी त्यही मैदानमा भर पर्दा बालबालिकालाई चोटपटक लाग्ने गरेका धेरै घटना छन्”, उहाँले भन्नुभयो, “बागलुङ बजारको जग्गा किन्न सक्ने अवस्था नहुँदा अतिरिक्त क्रियाकलाप आलोपालो गरेर सञ्चालन गर्नुपर्ने अवस्थामा छौँ ।” नजिकमा रहेका जग्गा भाडा लिएर पर्याप्त खेलमैदान बनाउन सके विद्यार्थी खुल्ला वातावरणमा स्वतन्त्र रूपमा खेल पाउने रेग्मीको भनाइ छ । हिउँदमा धुलैधुलोले नजिकै रहेको चमेनागृहमा खाजा खादा हातले प्लेट छोपेर खानुपर्ने उहाँले बाध्यता सुनाउनुभयो । “वर्षामा मैदान हिलाम्य हुँदा बिहानको सभा समेत राम्रोसँग गर्न सकिएको छैन”, उहाँले भन्नुभयो । खेलमैदानको समस्या लिएर गण्डकी प्रदेशको अर्थ, पूर्वाधार, सामाजिक विकास मन्त्रालय धाए पनि कहीँकतैबाट सुनुवाइ नभएको गुनासो गर्दै प्रअ रेग्मीले भन्नुभयो, “विद्यालयको आन्तरिक स्रोतबाट मैदान व्यवस्थापन गर्ने बजेट छैन, प्रदेशदेखि सङ्घीय मन्त्रालय धाउँदा आश्वासन मात्रै पाइयो, बजेट कतैबाट पाइएको छैन ।” उहाँका अनुसार विद्यालयले आफ्नो सेवा क्षेत्रभन्दा टाढाका विद्यार्थीलाई आवास र आवातजावतको व्यवस्था गर्न सकिरहेको छैन । गरिब तथा विपन्न विद्यार्थीका लागि सहयोग र छात्रवृत्तिको अभाव हुँदा विद्यालय छाड्ने समस्या पनि उत्तिकै रहेको उहाँको भनाइ छ । विद्यालयमा घेराबार नहुँदा गत वर्ष सुरक्षाका लागि जडान गरिएको सिसीक्यामेरा चोरी भएको थियो । घेराबार नहुँदा विद्यार्थी भागेर जाने अवस्था र अर्कोतिर अनावश्यक व्यक्तिहरु प्रवेश गर्दा विद्यालय असुरक्षित बनेको रेग्मीले बताउनुभयो । “तारबार नहुँदा विद्यालयका कतिपय महत्वपूर्ण सामग्री जोगाउन हामीलाई हम्मेहम्मे परेको छ”, उहाँले भन्नुभयो । शौचालयपछि विद्यालयले झेल्दै आएको अर्को समस्या भनेको खानेपानीको हो । गर्मीयाम लागेसँगै विद्यार्थीलाई खानेपानीको कसरी जोहो गर्ने भन्ने विषयले विद्यालय प्रशासनलाई सधैँ सताउने गरेको छ । युरोगार्डमार्फत खानेपानीको व्यवस्था गरे पनि त्यो पर्याप्त नभएपछि ३ नं वडा कार्यालयको पहलमा रात्माटाबाट मूलको पानी आपूर्ति गर्ने तयारी गरिएको प्रअ रेग्मीले जानकारी दिनुभयो । उहाँका अनुसार हिउँदयाममा कम हुने मूलको पानीलाई ट्याङ्की निर्माण गरी सङ्कलन गर्नेलगायत व्यवस्थापकीय काम गर्न भने बाँकी छ । माध्यमिक शिक्षा परीक्षा (एसइई)मा हरेक वर्ष सतप्रतिशत नतिजा दिँदै आएको विद्यालयले गत वर्षको १२ कक्षाको बोर्ड परीक्षामा विज्ञान सङ्कायतर्फ साविक धौलागिरि अञ्चलमा प्रथम स्थान हासिल गर्न सफल भएको थियो । विसं २०८३ सम्म दुई हजार विद्यार्थी सङ्ख्या पु¥याउने लक्ष्य लिएको विद्यालयले अङ्ग्रेजी माध्यममा अध्यापन गराउने आन्तरिक स्रोतका शिक्षकको व्यवस्थापनमा आर्थिक समस्या झेल्दै आएको छ । विद्यालयमा कक्षा १० सम्म अध्यापन गराउने राहत, करार र आन्तरिक स्रोतका शिक्षकको सङ्ख्या २० रहेको छ ।
स्याङ्जा: बिरुवा गाउँपालिका–४ स्थित जनप्रिय पिपलभञ्ज्याङ आधारभूत विद्यालयमा मगर भाषा पठनपाठन हुन थालेको छ । मगर भाषा, कला, संस्कार, संस्कृतिको संरक्षण गर्ने उद्देश्यले विद्यालयमा नै मगर भाषा पठनपाठन थालिएको हो । हाल कक्षा १–३ सम्मका बालबालिकालाई मगर भाषा अध्यापनको व्यवस्था मिलाइएको विद्यालयका प्रधानाध्यापक वीरेन्द्र कुमालले राससलाई बताउनुभयो । बाल सिकाइ कक्षादेखि ५ कक्षासम्म सञ्चालनमा रहेको विद्यालयमा कक्षा एकदेखि तीनसम्मका बालबालिकालाई मगर भाषा अध्यापयन थालिएको हो । मगर समुदायको बाहुल्य भएकाले नयाँ पुस्तालाई यो भाषा लेख्न र बोल्न सिकाउने अभियान आफूहरुले थालेको मगर भाषा शिक्षक लेखबहादुर आलेले बताउनुभयो ।सरकारले प्रकाशन गरेको मातृभाषाको पाठ्यपुस्तकका आधारमा पठनपाठन हुने गरेको छ । मगर भाषा अध्यापनका लागि बिरुवा गाउँपालिकाले शिक्षकको व्यवस्था गरेको हो । पालिकाले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा आदिवासी जनजातिको बाहुल्य भएका गाउँपालिकामा उनीहरुका भाषा तथा संस्कृति संरक्षणमा सघाउने विषय समावेश गरेको छ ।
म्याग्दी: म्याग्दीको बेनी नगरपालिका–६ मा रहेको जामुनाखर्क माविमा कार्यान्वयन भएको नमुना विद्यालय विकास कार्यक्रम प्रभावकारी बनेको छ । शिक्षा मन्त्रालयको सहयोगमा आर्थिक वर्ष २०७८/०७९ देखि शुरु भएको कार्यक्रमले विद्यार्थीको सिकाई उपलब्धि वृद्धि, व्यवस्थापनमा सुधार र भौतिक पूर्वाधार विस्तार भएको हो । कक्षा १२ सम्मको पठनपाठन हुने विद्यालयमा शैक्षिकसत्र २०७८ को औसत सिकाई उपलब्धी दुई दशमलब ८४ जिपिए रहेकोमा २०८० मा तीन दशमलब शून्य एक जिपिए पुगेको प्रअ सोमनाथ ढुङ्गानाले बताउनुभयो । “पाँच वर्षे गुरुयोजना अनुसार कमजोर विद्यार्थीलाई लक्षित गरेर अतिरिक्त कक्षा, १–३ मा कक्षा शिक्षण, पठनपाठनमा प्रविधिको प्रयोग, विद्यार्थीलाई मौलिक सिप हस्तान्तरण र उत्पे्ररणमुलक क्रियाकलाप गरिएको छ,” उहाँले भन्नुभयो “शिक्षकहरुको क्षमता विकाससँगै विद्यार्थीको क्षमता पहिचान गरेर पठन क्रियाकलाप सञ्चालन गरेपछि सिकाई उपलब्धी वृद्धि हुन थालेको छ ।” कक्षा १ देखि ३ सम्म एउटा कक्षामा एक जना शिक्षकले सबै विषय पठनपाठन गराउने अभ्यास थालिएको छ । यसबाट विद्यार्थीको आनीबानी र क्षमता पहिचान गरेर सिकाई क्रियाकलाप सञ्चालन गर्न सहज भएको शिक्षक नवराज शर्माले बताउनुभयो । कक्षा ८ सम्मका सबै विद्यार्थीलाई अनिवार्य, नौ र १० मा कम्प्युटर विषयको ऐच्छिक कक्षा सञ्चालन गरेको जामुनाखर्कले विज्ञान प्रयोगशाला र पुस्तकालय स्थापना गरेको छ । गणित, सामाजिक प्रयोगशाला (स्टिम ब्याग) पनि छ । कक्षा ११ र १२ मा पूर्ण रुपमा निशूल्क पठनपाठनको ब्यवस्था मिलाएको छ । सबै कक्षाकोठामा ‘स्मार्टबोर्ड’ राखिएको छ । सबै शिक्षकहरुको साथमा ल्यापटप छ । शिक्षकले ल्यापटपमा इन्टरनेटको सहयोगमा सिकाई सामग्री खोज्ने र पढाउने गर्छन् । प्राथनाको समयमा शिक्षक र विद्यार्थीहरुले विबिध विषयमा प्रश्नउत्तर गर्छन् । गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयले कक्षा ९ र १० का विद्यार्थी टिकाउ र २०८० को एसईई परीक्षाको उत्तीर्णर्णदरका आधारमा गरेको मूल्याङ्कनमा जामुनाखर्क म्याग्दी जिल्लामा पहिलो भएको थियो । विषयगत विभाग गठन गरेर शिक्षकहरुको कार्यविभाजन, शैक्षिक प्रर्दशनी र महोत्सव आयोजना गरेको छ । विद्यार्थीहरुलाई सिर्जनशिल र अध्ययनशिल बनाउन अतिरिक्त क्रियाकलाप, व्यवसायिक, व्यवहारिक सिप सिकाउन गुन्द्रि बुन्ने, पाक शिक्षा, वायरिङ र पलम्बीङ तालिम सञ्चालन गरेको छ । कक्षा १० का विद्यार्थीका लागि छात्रावास सञ्चालन गरेको विद्यालयले अभिभावकसँग नियमित अन्तरक्रिया र योग प्रशिक्षण चलाएको छ । शिक्षकहरुलाई सूचना प्रविधि, मूल्याङकन् र कक्षा व्यवस्थापन तालिम दिएको छ । शिक्षा मन्त्रालयले बेनी नगरपालिका मार्फत उपलब्ध गराउने बजेटबाट भौतिक, शैक्षिक र व्यवस्थापनकीय सुधारका गुरुयोजनामा प्रस्तावित कार्यक्रम गरिएको प्रअ ढुङ्गानाले बताउनुभयो । यसअघिका तीन वटा आर्थिक वर्षमा रु। तीन करोड ९० लाख बजेट पाएको विद्यालयमा यस वर्ष प्राप्त भएको रु। एक करोड बजेटबाट प्रशासनिक, प्रयोगशाला भवन र घेराबार निर्माणका लागि ठेक्का आव्हान भएको छ । गत वर्षको बजेटबाट ठेक्का मार्फत चार कोठे भवन निर्माणको अन्तिम चरणमा छ । हालसम्म ब्लक ९ए०मा चार कोठे कक्षाकोठा, ब्लक ९बि०मा १० कोठे छात्रावास भवन र शौचालय निर्माण भएको छ । ब्लक ९ए०मा रहेको खेलमैदानमा पेभर ब्लक बिछ्याई बालमैत्री खेलकुदका सामग्री राखिएको छ । नयाँ भवन निर्माणका लागि ब्लक ९बि० मा विद्यालयले नौ रोपनी १४ आना जग्गा खरिद गरेको छ । हाल दुई सय १५ जना विद्यार्थी रहेको जामुनाखर्कमा नमुना विद्यालय कार्यक्रमबाट विद्यार्थीहरुलाई छात्रवृत्तिको पनि ब्यवस्था मिलाइएको छ । गत वर्ष स्थापना भएको हिराबहादुर बानिया स्मृति छात्रवृत्ति कोषले विद्यार्थीलाई पोशाक, शैक्षिक सामग्री र दिवा खाजामा सघाएको छ । हाल रु। आठ लाख १२ हजारको अक्षयकोषको रकम वृद्धि गरेर पाँच वर्षमा रु। २५ लाख पु¥याउने संरक्षकले घोषणा गरेका छन् । जामुनाखर्कको सेवाक्षेत्रबाट १२ जना विद्यार्थी अन्यत्रको विद्यालयमा अध्ययनका लागि जाँदा सेवा क्षेत्रभन्दा बाहिरबाट आउने विद्यार्थीको संख्या १८ जना छ । कक्षा छ भन्दा माथिल्लो कक्षामा निजी विद्यालय छाडेर पढ्न आएपनि तल्लो कक्षामा भर्ना हुने विद्यार्थी संख्या कम छ । जन्मदर कम हुनु र बसाईसराईका कारण विद्यार्थी सङ्ख्या बढाउने, अहिले भएको शैक्षिक उपलब्धीलाई टिकाउने र वृद्धि गर्ने चुनौति रहेको विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष यादव सुवेदीले बताउनुभयो । तीन किलोमिटर नजिक रहेको बेनीका विद्यालयमा देखिएको विद्यार्थीको चाप घटाउन जामुनाखर्क विकल्प बन्न सक्ने सम्भावना छ । यसका लागि विद्यालय बस र प्राविधिक विषयको पठनपाठन सञ्चालन गर्ने योजना बनाएको अध्यक्ष सुवेदीले बताउनुभयो ।
मुस्ताङ: मुस्ताङका सामुदायिक विद्यालयमा पठनपाठन सुरुआत भएको छ । दुई महिना हिउँदे बिदापछि जिल्लाका बारागुङ, घरपझोङ र थासाङ गाउँपालिकाका विद्यालय पुनः सञ्चालनमा आएका हुन् । हिउँदयामको पुस र माघ महिनामा हिमपात र अत्यधिक चिसोले बालबालिकाको शिक्षण सिकाइ क्रियाकलाप प्रभावित हुने तल्लो मुस्ताङका सामुदायिक विद्यालयले विद्यार्थीलाई लामो हिउँदे बिदा दिने गर्दछन् । हिउँदयाममा स्थानीय तहका विद्यालयलाई दुई महिना लामो हिउँदे जाडो बिदा दिने गरिन्छ । उपल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाअन्तर्गतका सामुदायिक, गुम्बा, आमची र संस्थागत विद्यालय भने हिउँदयाममा साविक स्थान छाडेर बेँसीमा झारिने शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख रामेश्वर लामिछानेले जानकारी दिनुभयो । जिल्लामा ३५ सामुदायिक विद्यालय छन् । गुम्बा, आमची र संस्थागत गरी १२ विद्यालय सञ्चालनमा छन् । जिल्लाका ४७ विद्यालयमध्ये घरपझाङ, थासाङ र बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका २४ विद्यालयले बर्सेनि हिउँदे बिदा दिने गरेका छन् । यसरी दुई महिना लामो हिउँदे जाडो बिदा दिएका विद्यालयले फागुनको पहिलो सातादेखि क्रमशः शिक्षण सिकाइ क्रियाकलापलाई निरन्तरता दिने गर्दछन् । जिल्लामा दुई महिना लामो हिउँदे बिदाका लागि ४५ दिन वार्षिक सरकारी बिदा र १५ दिन सट्टा बिदा गरी ६० दिन विद्यालयको शैक्षिक पठनपाठन स्थगित गरिने जनाइएको छ । जिल्लाका तीन स्थानीय तहका सामुदायिक विद्यालयहरू फागुनदेखि क्रमशः शैक्षिक पठनपाठन सञ्चालनमा आएको शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख लामिछानेले जानकारी दिनुभयो । उहाँका अनुसार विद्यालय खुले पनि जिल्ला बाहिर रहेका विद्यार्थी विद्यालय फर्किन थालेका छन् । घरपझोङ, थासाङ र वारागुङ मुक्तिक्षेत्रका अधिकांश सामुदायिक तथा धार्मिक गुम्बा विद्यालयहरूमा शैक्षिक पठनपाठन सुरु भएको एकाइ प्रमुख लामिछानेको भनाइ छ । उहाँका अनुसार जिल्लाका तीन स्थानीय तहका विद्यालय हिउँदयामको पुस र माघमा विद्यालय पूर्ण रूपमा बन्द हुने भए पनि उपल्लो मुस्ताङका विद्यालयले विद्यार्थीलाई हिउँदे बिदा दिँदैनन् । उपल्लो मुस्ताङका विद्यालयले स्थानीय गाउँपालिकाको सिफारिसमा विद्यार्थीलाई घुम्ती कक्षा चलाउन बेँसी स्थान्तरण गर्ने प्रचलन छ । चिसोले बालबालिकाको स्वास्थ्यमा असर पर्ने विद्यालयको शैक्षिक क्रियाकलाप सञ्चालन गर्नसमेत बाधा पुग्ने भएकाले उपल्लो मुस्ताङका विद्यालयहरूले विद्यार्थीलाई पोखराका विभिन्न स्थानमा लगेर शैक्षिक क्रियाकलाप गर्ने गर्छन् । उपल्लो मुस्ताङका विद्यालय जाडो छल्दै घुम्ती कक्षा चलाउन कात्तिकअगावै बेँसीको न्यानो स्थानमा स्थान्तरण गर्ने प्रचलन रहेको लोमान्थाङ गाउँपालिकाका प्रशासन प्रमुख विकास केशीले जानकारी दिनुभयो । लोमान्थाङ गाउँपालिकाको तीन सामुदायिक विद्यालयको पोखरामा आफ्नै भवनमा घुम्ती कक्षा चलाउने गरेको उहाँले बताउनुभयो । यसैगरी उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकाका आठ सामुदायिक विद्यालयमध्ये सात विद्यालयलाई जाडो छल्न बेँसी झारिएको थियो । गाउँपालिकाको घमी आधारभूत विद्यालय भने जाडो छल्न बेँसी नझरी दुईमहिने हिउँदे बिदा दिएको थियो । घमी आधारभूत विद्यालय हिउँदे बिदापछि सञ्चालनमा आएको र बाँकी सात सामुदायिक विद्यालयले घुम्ती कक्षाका रूपमा बेँसीमै रहेको गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल बिष्टले जानकारी दिनुभयो । लोघेकरका विद्यालय आपसमा अस्थायी मर्ज गरी दुई स्थानमा घुम्ती कक्षा सञ्चालनमा रहेको अध्यक्ष बिष्टले बताउनुभयो । तल्लो मुस्ताङका विद्यालय दुईमहिने लामो बिदापछि खुले पनि उपल्लो मुस्ताङका विद्यालय भने गर्मीयाम लागेपछि वैशाखमा साविककै स्थानमा फर्किएर शिक्षण सिकाइ क्रियाकलापलाई नियमित गर्छन् । सरकारले गत वर्षदेखि देशभर शैक्षिकसत्रमा एकरुपता ल्याएपछि हिमाली जिल्लाको शैक्षिक क्रियाकलापमा अप्ठ्यारो पर्दै आइरहेको छ । यसअघि हिमाली जिल्लामा पुसअगावै चालु शैक्षिकसत्र सकेर फागुनमा नयाँ शैक्षिकसत्रको पठनपाठन सुरु गर्ने गरिन्थ्यो । शैक्षिकसत्र एकरुपताले हिमाली क्षेत्रमा पढ्ने विद्यालयका बालबालिकाको शिक्षण सिकाइ क्रियाकलापमा बाधा पुग्ने गरेको जनहित माध्यमिक बिद्यालयकी व्यवस्थापन समिति सदस्य सम्झना थकालीले बताउनुभयो । उहाँका अनुसार हिउँदे दुईमहिने बिदाले विद्यार्थीले पढेका र सिकेका सिकाइ उपलब्धि बिर्सने भएकाले शैक्षिक नजितामा असर पुग्ने गरेको छ । सरकारले हिमाली क्षेत्रको शैक्षिकसत्र कार्यान्वयमा पुनर्विचार गर्नुपर्ने आवश्यकता रहेको उहाँको भनाइ छ ।