इँटा बनाउँदै गोमाले ल्याइन् ४ जिपिए, भन्छिन् ‘डाक्टर बन्ने चाहना छ’
भक्तपुर | असार १६, २०८२

भक्तपुर: माध्यामिक शिक्षा परीक्षा (एसइई) २०८१ को नतिजा गत शुक्रबार सार्वजनिक हुँदा भक्तपुरको चाँगुनारायण नगरपालिका–८ सुडालस्थित एक इँटाभट्टाको जस्ताको टहरामा बस्दै आएकी गोमा श्रेष्ठ स्थानीय किसानको धान रोपाइँको मेला गएर भर्खर फर्किएकी थिइन् ।
चाँगुनारायण–८ सुडालको महेन्द्रग्राम माध्यमिक विद्यालयबाट एसइई दिनुभएकी उनीलाई एसइईको नतिजा सार्वजनिक भयो भन्ने खबरले आफ्नो नतिजाबारे उत्सुक हुनु स्वाभाविकै हो । हतारहतार अनलाइनमार्फत आफ्नो नतिजा खोज्न थाल्नुभयो । नतिजा आउँदा खुसीको सीमा रहेन । उहाँ सर्वोत्कृष्ट अङ्क ४ जिपिएसहित उत्तीर्ण हुनुभयो ।
सामुदायिक विद्यालयमा अध्ययन गरेर पनि ४ जिपिए हासिल गरेकी उहाँ भक्तपुरका ३० सर्वोत्कृष्ट विद्यार्थीमध्ये एक बन्न सफल हुनुभयो, भने चाँगुनारायण नगरपालिकाकै सर्वोत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थी बन्नुभयो ।
गोमाको थातथलो रामेछापको खनियाँपानी हो । उहाँ चार वर्षको उमेरमा अभिभावकसँग खनियापानीबाट भक्तपुर आउनुभएको हो । परिवारको आर्थिक कमजोर अवस्था र छोरी गोमाको पढाइप्रतिको रुचिका कारण खनियापानी छाडेर भक्तपुरको सुडाल आएको गोमाको बुबा मीनबहादुर श्रेष्ठले बताउनुभयो ।
“एकातर्फ कमजोर आर्थिक अवस्था अर्कोतर्फ छोरी गोमाले सानै बेलादेखि पढाइप्रति रुचि राख्ने भएकाले आफ्नो थातथलो छोडेर भक्तपुर आएँ, कामको खोजी गर्दै । त्यो बेला गोमा चार वर्षकी थिइन्,” मीनबहादुरले भन्नुभयो, “रामेछापको खनियाँपानीबाट भक्तपुर झर्नुको खास कारण छोरीको पढाइकै कारणले हो ।”
भक्तपुर आएर इँटाभट्टामा काम सुरु गरेका मीनबहादुरले गोमालाई नजिकैको महेन्द्रग्राम माध्यमिक विद्यालयमा भर्ना गरिदिनुभयो ।
“खनियाँपानीको लेकबाट बेँसीसम्मको विद्यालय पुग्न एक घन्टा ओरालो लाग्नुपथ्र्यो । यसैले ज्याला मजदुरी गरेर, इँटा पारेर, भारी बोकेर भए पनि पढाउँला भनी भक्तपुर सरेका हौँ । भक्तपुरमा कामको सिलसिलामा इँटाभट्टामा काम गरेँ, इँटा पारे, छोरीलाई इँटा भट्टासँगैको विद्यालयमा भर्ना गरिदिएँ ।”
दिउँसो विद्यालय जाने गोमा साँझ बिहान भने इँटाभट्टको खलामा खेल्दै हुर्कन थालिन् । उमेरसँगै गोमाले बुबाआमाको काममा सघाउन थाल्नुभयो । दिउँसो विद्यालय जाने, साँझ बिहान खलाको इँटा सुकाउन ओल्टाइपल्टाई गर्ने उहाँको दैनिकी बन्दै गयो । त्यसरी नै दैनिकी अघि बढेको गोमाले कक्षा ९ सम्म लगभग यही रुटिनमा दैनिकी बिताइन् ।
कक्षा १० पुगेपछि भने गोमाले आफ्नो दैनिकीलाई केही परिवर्तन गर्नुभयो । “बुबाआमाले पनि अबको एक वर्ष पढाइ ध्यान दिन भन्नुभयो । एसइई दिनुपर्ने भएकाले विद्यालयले पनि पढाईमा जोड दिन सुझाव दिनुभयो । त्यसैले मैले आफ्नो दैनिकीलाई केही परिमार्जन गरेर पढाइमा ध्यान दिन थालेंँ । यसैको परिणाम आज मैले एसइईमा राम्रो नतिजा पाएँ,” उहाँले भन्नुभयो ।
गोमाले भविष्यको लक्ष्य डाक्टर बन्ने रहेको बताउनुभयो । तर त्यसको लागि कडा मेहनतका साथ पढेर छात्रवृत्तिमा नाम निकाल्नुको विकल्प नभएको उहाँले बताउनुभयो ।
“विज्ञान सङ्कायमा प्लस टु गरी नेपालको कुनै पनि मेडिकल कलेजमा छात्रवृत्तिमा नाम निकालेर एमबिबिएस पढ्ने लक्ष्य छ । एक असल डाक्टर बनेर मेरो जन्मदाता, देश र जनताको निःस्वार्थ रुपमा सेवा गर्नु नै मेरो मुख्य लक्ष्य हो । यसका लागि कडा मेहनत चाहिन्छ भन्ने ज्ञान छ । सोही अनुसार तयारी गर्छु,” उहाँले भन्नुभयो ।
पोखरा: इन्टरसिटी एडभेन्चर ट्राभल्स एण्ड टूर प्रालिले पोखराको छोरेपाटनबाट काठमाडौंसम्म अत्याधुनिक लग्जरी बस सेवा सुरु गरेको छ। पृथ्वी राजमार्ग बस व्यवसाय समितिका अध्यक्ष योगेन्द्र केसीले रिबन काटेर ...
कञ्चनपुर: गएराति देखिको अविरल वर्षाले डुबानमा पार्दा कृष्णपुर नगरपालिका–५ पवित्राबस्तीका आरती विकको चार जनाको परिवारलाई प्रहरीले सुरक्षित स्थानमा सारेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्...
कैलाली: गए रातिदेखिको अविरल वर्षा कारण धनगढी बजारलगायत आसपासका विभिन्न क्षेत्र आज जलमग्न भएका छन् । मुख्यगरी धनगढीको विशालनगर, मिलनचोक, शिवनगर, हसनपुर, क्याम्पस रोड, मालिका टोल, कृष्णनगर, प...