गलकोट: बागलुङ सदरमुकाम नजिकैको सिगानामा छ ठूलो दलित गाउँ । मिलेको सुन्दर गाउँभित्रका अनेक पीडा भने बाहिर आउन सकेका छैनन् । शिक्षा क्षेत्रमा पछि नै रहेको उक्त गाउँमा खानेपानीको समेत पहुँच छैन । २०० परिवारले दुई धाराको खानेपानी प्रयोग गर्दै आएका छन् । बागलुङ नगरपालिका–८ सिगानास्थित लामिचौरको दलित बस्तीमा २०० घरपरिवार बस्दै आएका छन् । शैक्षिक क्षेत्रमा पछि परेको गाउँबाट २२ वर्षका विशाल परियार पहिलो शिक्षक बन्नुभएको छ । यहाँको शैक्षिक गुणस्तर बढाउँदै पढाइप्रति जागरुक बनाउनका लागि आफूले शिक्षक पेसा रोजेको परियारको भनाइ छ । परियारले २०७८ मा खुलेको शिक्षक सेवामा प्रावि र निमाविमा एकैपटक लिखित परीक्षा पास गर्नुभएको थियो । अन्तर्वार्तामार्फत प्राविमा नाम निकाल्न सफल परियार अहिले गाउँमै रहेको सिगाना मावि लामिचौरमा अध्यापन गराइराख्नुभएको छ । उहाँले आफ्नो सपना नै शिक्षक बन्ने रहेको सुनाउनुभयो । “घर नजिकै माध्यमिक विद्यालय छ, त्यहाँ अधिकांश दलित समुदायकै विद्यार्थी छन्, तर बीचमै पढाइ छाड्ने र रोजगारीका लागि विदेश जाने परम्परा व्याप्त छ, लोकसेवा आयोग, शिक्षक सेवा आयोगमा परीक्षा दिने चलनै छैन”, परियारले भन्नुभयो, “यहाँको पढाइ छाड्ने परम्परा तोड्न र आफूले गाउँमै बसेर सेवा गर्न इच्छा आयो, त्यसैले शिक्षक सेवाको परीक्षा दिए, पहिलो वर्षमै नाम निस्क्यो, अहिले आफ्नै गाउँका विद्यार्थी पढाउन पाउँदा खुसी छु ।” पहिलोपटक दिइएको शिक्षक सेवा आयोगको परीक्षामा लिखिततर्फ प्रावि र निमावि दुवैमा नाम निकाल्न सफल भएको बताउँदै परियारले अन्तर्वार्तामा गएर प्राविमा सफल भएको जानकारी दिनुभयो । मैले यही सिगाना मावि लामिचौरमै पढेर शिक्षक भएर आए भने अन्य भाइबहिनीहरुले समेत सक्नुहुन्छ भन्ने हेतुले हौसला दिइराखेको परियारको भनाइ छ । उहाँले अधिकांश दलित विद्यार्थीलाई पढाउन शिक्षक बाहिरबाट आउने गरेको जनाउँदै यहाँबाट शिक्षक उत्पादन नहुँनु दुःखद रहेको बताउनुभयो । अङ्ग्रेजी विषयमा स्नातक अध्ययन गरिसक्नुभएका परियारले आफू गाउँकै पहिलो शिक्षक भएको बताउनुभयो । गाउँबाट पहिलो शिक्षक भएपछि समाजले हेर्ने दृष्टिकोणसमेत परिवर्तन भइसकेको बताउँदै परियारले गाउँलाई शैक्षिक क्षेत्रमा उकास्न आफूले शिक्षक पेसा रोजेको सुनाउनुभयो । “आयोग पास गर्ने, नेपालकै जागिर खाने चलन दलित बस्तीमा थिएन, भर्ती हुन नसके विदेश जाने चलनलाई चिर्न आवश्यक छ, कम्तीमा उच्च शिक्षा हासिल गर्दा गाउँकै विकासमा सहयोग पुग्छ भन्ने लाग्छ”, उहाँले भन्नुभयो, “दुई सय घरपरिवार भएको दलित गाउँबाट पहिलो शिक्षकका रुपमा आफ्नै गाउँमा सेवा गर्ने मौका पाएको छु, आगमी दिनमा भाइबहिनीहरुलाई समेत ऊर्जा र प्रेरणा मिल्नेछ ।” सिगानाभरमा धेरै शिक्षक उत्पादन भए पनि दलित बस्तीबाट विशाल पहिलोपटक शिक्षकका रुपमा विद्यालयमा अध्यापनरत रहेको सिगाना माविका शिक्षक अभिभावक सङ्घका अध्यक्ष गोविन्दप्रसाद गौतमले जानकारी दिनुभयो । गौतमले पढाइमा अब्बल परियारले अन्य क्षेत्रसमेत रोज्नसक्ने भन्दै शिक्षक बनेर गाउँकै विद्यालयमा पढाउने उद्देश्य राख्नुले समग्र गाउँकै प्रेरणा बनेको बताउनुभयो ।
काठमाडौं: नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान)को आयोजनामा यही असोज १३ गते काठमाडौँको एभरेष्ट होटलमा एकदिने ‘१५औँ इक्यान मल्टि डेस्टिनेसन एजुकेशनल फेयर, २०२४’ आयोजना हुने भएको छ । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा इक्यानका अध्यक्ष शेषराज भट्टराईले कोरोना महामारीपछि पहिलो पटक भौतिक रूपमा मेला आयोजना गर्न लागिएको जानकारी दिनुभयो । “नेपाली विद्यार्थीहरूलाई स्वदेशी एवम् विदेशी शिक्षा प्रणाली, प्राप्त योग्यताको भावी सम्भावना र असरबारे पर्याप्त सूचना प्रवाह, शैक्षिक संस्थामा प्राप्त हुनसक्ने छात्रवृत्ति, सुविधा तथा जानकारी एवम् परामर्श सेवा प्रदान गर्ने उद्देश्यले मेला आयोजना गर्न लागिएको हो”, उहाँले भन्नुभयो । अध्यक्ष भट्टराईले विद्यार्थीको उच्च शिक्षाको सपना साकार गर्न शैक्षिक मेला महत्वपूर्ण माध्यम हुने विश्वास व्यक्त गर्नुभयो । मेलामा विद्यार्थीले विशेष गरी विश्वका विभिन्न शिक्षण संस्था, तिनका शैक्षिक प्रणाली, पाठ्यक्रम, भर्ना प्रक्रियालगायतका विषयमा जानकारी प्राप्त गर्नेछन् । साथै विभिन्न देशका प्रतिनिधिहरूसँग पनि साक्षात्कार गर्न पाइने इक्यानले जनाएको छ । विद्यार्थी, अभिभावक तथा सरोकार भएकाहरू गरी १५ हजारभन्दा बढीले मेला अवलोकन गर्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ । “मेला अन्तर्राष्ट्रिय मापदण्डअनुरूप तयार पारिएका शिक्षण सामग्री र परामर्श प्रदान गरेर नेपाली विद्यार्थीको ज्ञान, सीप र बौद्धिक क्षमतामा उल्लेखनीय वृद्धि गर्ने अवसर बन्नेछ”, अध्यक्ष भट्टराईले भन्नुभयो । इक्यान उपाध्यक्ष तथा मेला संयोजक गीता सिवाकोटीले कोरोना महामारीपछि पहिलो पटक भौतिक रूपमा आयोजना हुन लागेको मेलाले विद्यार्थी र अभिभावकमा सकारात्मक सन्देश प्रवाह हुने विश्वास लिइएको बताउनुभयो ।
म्याग्दी: कक्षा १२ उत्तीर्ण गरेपछि अधिकांश महिला लाखौँ खर्च गरेर जापान, युरोप र अमेरिकालगायत देश जान थालेपछि सामाजिक विकास कार्यालय म्याग्दीले लोकसेवाका लागि निःशुल्क तयारी कक्षा सुरु गरेको छ । उच्च शिक्षा र रोजगारीका लागि विदेशिनेक्रम बढेपछि जिल्लाको शैक्षिक संस्था, सार्वजनिक सेवा र निजी क्षेत्रका लागि दक्ष जनशक्तिको अभाव समस्याका रुपमा देखिन थालेपछि कार्यालयले कक्षा सुरु गरेको हो । क्याम्पसमा स्नातक र स्नाकोत्तर तह अध्ययन गर्ने विद्यार्थीको सङ्ख्या घट्दै गएको छ । कार्यालयका प्रमुख रमेश थापाले महिलालाई निजामती सेवाप्रति आकर्षित गर्न २० दिनका लागि तयारी कक्षा सञ्चालन गरिएको जानकारी दिनुभयो । “म्याग्दीमा १२ कक्षा उत्तीर्ण गरेपछि युरोप, अमेरिका र खाडीमुलुक जाने चलन बढी देखिन्छ”, उहाँले भन्नुभयो, “उच्च मावि र क्याम्पस तहमा अध्ययन गरिरहेका महिलालाई लक्षितगरी निःशुल्क तयारी कक्षा सञ्चालन गरिएको हो ।” म्याग्दी बहुमुखी क्याम्पसमा प्रत्येक दिन दुई घण्टाका दरले सञ्चालन गरिएको तयारी कक्षामा हाल जिल्लाका छवटै स्थानीय तहका ३३ जना महिला सहभागी भएका छन् । क्याम्पस र उच्च माध्यमिक तहमा अध्ययन गरिरहेका महिला तयारी कक्षामा सहभागी भएका हुन् । अप्राविधिकतर्फको प्रशासन सहायक (पाँचौँ) र खरिदार (चौथो) तहको परीक्षाका लागि तयारी कक्षा सञ्चालन गरिएको कार्यालयले जनाएको छ । कार्यालयले गत वर्ष पनि लोकसेवा आयोगको तयारी कक्षा सञ्चालन गरेको थियो । तयारी कक्षामा सहभागी प्रमिला पौडेलले तयारी कक्षाले निकै फाइदा गरेको बताउनुभयो । उहाँले उत्तर लेख्ने शैलीबारे राम्रो ज्ञान पाएको बताउनुभयो ।
धरान: यहाँको बराहक्षेत्र नगरपालिका– ६ चक्रघट्टीस्थित महेन्द्र माध्यमिक सामुदायिक विद्यालयमा अङ्ग्रेजी माध्यममा पढाइ सुरु गरेपछि विद्यार्थीको सङ्ख्या वृद्धि भएको छ । अभिभावकको मागसँगै विद्यालयले अङ्ग्रेजी माध्यमबाट पढाइ सुरु गरेपछि विद्यार्थी सङ्ख्या वृद्धि भएको विद्यालयका प्रधानाध्यापक चण्डीराज पोख्रेलले बताउनुभयो । उहाँले गत वर्षदेखि नगरपालिकामै पहिलो पटक आधारभूत तह शिशु कक्षादेखि कक्षा १२ सम्म अङ्ग्रेजी माध्यमबाट पढाइ सुरु गरिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अभिभावकको सहयोग र सल्लाहमा विद्यालयमा अङ्गे्रजी माध्यमको पढाइ सुरु गरिएको हो । अङ्ग्रेजी पढाइ सुरु भएसँगै विद्यालयमा विद्यार्थीको सङ्ख्या वृद्धि भएको छ ।” विद्यार्थीको सङ्ख्या धेरै भएपछि कक्षाकोठा व्यवस्थापनका लागि पुरानो भवन मर्मत थालिएको उहाँले बताउनुभया । पानी परेको बेला चुहिएर पढाईमा समस्या हुने भएकाले आवश्यक सहयोगका लागि उहाँले सरोकारवालासँग आग्रह गर्नुभएको छ । प्रधानाध्यापक पोख्रेलका अनुसार विद्यालयमा हाल आठ सय ५० विद्यार्थी अध्ययनरत छन् । एक वर्षमै दुई सय भन्दा बढी विद्यार्थी सङ्ख्या थपिएको विद्यालयले जनाएको छ । विद्यार्थीको चाप बढेपछि आठ शिक्षक थप गरी ३० शिक्षकबाट पठनपाठन सञ्चालन गरिरहेको प्रधानाध्यापक पोख्रेलले बताउनुभयो । विद्यालयमा बिहान १० देखि ४ बजेसम्म अङ्ग्रेजी माध्यम र १०:३० देखि ४:३० बजेसम्म नेपाली माध्यमको पढाइलाई दुई भागमा विभाजन गरिएको छ । अङ्ग्रेजी माध्यममा पढाइ सुरु भएसँगै महेन्द्र माविमा कार्यरत शिक्षकहरुलेसमेत आफ्ना छोराछोरीलाई सोही विद्यालयमा भर्ना गरेको शिक्षक प्रवीण खड्काले बताउनुभयो । उहाँले भन्नुभयो, “अभिभावकहरुले अङ्ग्रेजी माध्यममा पढाइ सुरु गर्न आग्रह गरेपछि छुट्टै आठ शिक्षक थप गरी अङ्ग्रेजी माध्यममा पढाइ सुरु गरिएको हो ।” विद्यालयको आयस्रोत कमी भएकाले अङ्ग्रेजी माध्यममा पढाउने शिक्षकका लागि विद्यालयले अभिभावककै राजीखुसीमा प्रति विद्यार्थी मासिक न्यूनतम शुल्क लिने गरेको विद्यालयले जनाएको छ । विसं २०१३ मा स्थापना भएको महेन्द्र माविले २०५७ सालदेखि कक्षा १२ सम्म सञ्चालन गर्दै आएको छ ।
सर्लाही: सर्लाहीको बागमती नगरपालिका–१२, बथनीयाकी ५० वर्षीया कृष्णकुमारी कुशवार केही दिनयता पढ्न जान थाल्नुभएको छ । ६ वर्षीया नातिनी पढ्दै गरेको विद्यालयले नातिनीका लागि तपाईंले पनि पढ्नुपर्छ भनेपछि उहाँ पनि पढ्न जान थाल्नुभएको हो । पढ्ने उमेरमा विभिन्न समस्याका कारण विद्यालय पढ्न नपाएकाले आफूले अक्षरसमेत चिन्ने मौका नपाएको कृष्णकुमारी बताउनुहुन्छ । “आफूले नपढेर दुःख पाएँ”, उहाँले भन्नुभयो, ‘‘छोराछोरी पनि पढ्न मानेनन् । उनीहरु अहिले दुःख पाउँदैछन् । नातिनातिनालाई पढाउँछु भनेको तर आफूले पनि पढ्नैपर्ने रहेछ । नातिनीलाई गृहकार्य सिकाउन जानिन्छ की भनेर पनि पढ्न सुरु गरेकी छुँ”, उहाँले भन्नुभयो । कृष्णकुमारी जस्तै २३ वर्षीया रीता माझी पनि अचेल छोरीसँगै पढ्न जान थाल्नुभएको छ । घरमा पढेलेखेको व्यक्ति नहुँदा छोरीलाई पढाउन समस्या भएकाले आफैले पढ्न थालेको उहाँले बताउनुभयो । उमेर छँदै पढ्न नसकेकामा रीतालाई पछुतो छ । अब छोरीलाई उच्च शिक्षा पढाउने उहाँको रहर छ । नपढेकै कारण छोरीको गृहकार्य गराउन तथा सिकाउन नसकेको रीताको भनाइ छ । थोरै सिकाउने, उनीहरूले के पढिरहेका छन्, भनेर बुझन, उनीहरूले नजानेको कुरा सिकाउन पनि विद्यालय जान थालेको रीताले सुनाउनुभयो । विपन्न सुकुम्बासी परिवारको बसोबास रहेको यस क्षेत्रका नागरिक अधिकांश निरक्षर छन् । कृष्णकुमारी र रीता जस्तै १५ अभिभावकलाई बागमती नगरपालिका–१२, बथनीयास्थित जनजागृति प्राथमिक विद्यालयले पढाउन सुरु गरेको हो । बालबालिकाको शैक्षिक गुणस्तर सुधारका लागि पहिला अभिभावक शिक्षित बनाउनुपर्ने देखिएपछि अभिभावक शिक्षा सुरु गरेको विद्यालयका प्रधानाध्यापक हेरम्भराज सुवेदीले जानकारी दिनुभयो । ‘‘निकै प्रयास गरेपछि पनि साना कक्षाका बालबालिकाको पढाइमा सुधार नभएपछि अभिभावकलाई पढाउन थालेका हौँ”, उहाँले भन्नुभयो, ‘‘अभिभावक निरक्षर हुँदा बालबालिकाले गृहकार्य नै नगर्ने, घरमा नपढ्ने, स्कुल पनि नियमित नपठाउने भएकाले पहिला अभिभावकलाई पढाइको महत्व बुझ्ने र बालबालिकालाई गृहकार्य गराउन सक्ने बनाउन खोजेका हौँ ।’’ बालबालिकाको पठनपाठनमा घरको वातावरण र परिवारमा पनि आमाको भूमिका महत्वपूर्ण हुन्छ । तर, यहाँ अधिकांश आमा अशिक्षित रहेकाले बालबालिकाको पठनपाठन सुधारका लागि आमालाई पढाउन सुरु गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पवित्रा माझीले बताउनुभयो । यसपछि आमाहरुले नानीहरुसँगै बसेर पढ्ने तथा सिकाउन सक्ने अपेक्षा गरेको उहाँको भनाइ छ । विद्यालयको पहलमा सुरु भएको ‘नानीसँगै हामी’ कार्यक्रमका लागि लुम(तान) नामक गैर सरकारी संस्थाले आर्थिक सहयोग गरेको विद्यालयले जनाएको हो । विद्यालयका अनुसार सहभागी आमा(अभिभावक)हरुलाई ५० दिनसम्म अनौपचारिक शिक्षा प्रदान गरिने छ । यसबाट सहभागीले सामान्य लेखपढदेखि बालबालिकाको पालनपोषण, सरसफाइ लगायतको ज्ञान प्राप्त गर्नसक्ने छन् । योसँगै महिला स्वास्थ्य, शिक्षा, अधिकारलगायत विभिन्न विषयमासमेत प्रशिक्षण प्रदान गरिने छ । पहिलो चरणमा १५ अभिभावकलाई समेटे पनि पछि अन्यलाई पनि सहभागी गराउने योजना रहेको विद्यालयले जनाएको हो ।
तनहुँ: तनहुँको आँबुखैरेनी गाउँपालिका–१ सत्रसयस्थित मित्रता माध्यमिक विद्यालयमा विद्यार्थीको स्मार्ट हाजिरी प्रणाली सुरु भएको छ । तनहुँ जिल्लामै पहिलो पटक आँबुखैरेनी गाउँपालिकाको विद्यालयमा स्मार्ट हाजिरीको प्रयोग भएको हो । स्मार्ट हाजिरीको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले उद्घाटन गर्नुभएको छ । एम्बेडेड सोलुसन नेपालले निर्माण गरेको एकेडेमिक म्यानेजमेन्ट सफ्टवयर स्मार्ट उपस्थिति प्रणालीले विद्यालयमा विद्यार्थीको उपस्थितिबारे अभिभावकलाई सूचना प्रदान गर्छ । विद्यार्थी गेटबाटभित्र छिर्ने बित्तिकै अभिभावकको मोबाइलमा आफ्ना बालबालिका विद्यालय पुगेको जानकारी पुग्छ र गेटबाट बाहिर निस्कँदा विद्यालयबाट बाहिरिएको सूचना अभिभावकको मोबाइलमा पुग्ने गरेको विद्यालयका प्रधानाध्यापक सुरेन्द्र बोगटीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “विद्यालय छुट्टीपछि घर आउन लाग्ने समय अभिभावकलाई जानकारी हुन्छ, साथै घरबाट हिँडेपछि आफ्ना छोराछोरी विद्यालय पुगेको कुरासमेत जानकारी हुन्छ ।” मित्रता माविले अहिले यो व्यवस्था आधारभूत तहका विद्यार्थीमा लागू गरेको छ । आगामी वर्षदेखि कक्षा १२ सम्म यो प्रणाली जडान गरिने बोगटीले बताउनुभयो । उहाँले भन्नुभयो, “यस प्रणालीमा विद्यार्थी कक्षा छोडेर जाने सम्भावना हुँदैन । विद्यार्थीको परिचयपत्रमा चिप्स जडान गरिएको छ । विद्यार्थी गेटमा आइपुग्ने बित्तिकै मेसिनले घण्टी बजाउँछ र तत्कालै उक्त सूचना अभिभावकसम्म पुग्ने गर्छ । बोगटीले अभिभावकलाई उहाँका बालबालिका विद्यालयमा सुरक्षित छन् वा बाहिर छन् भन्ने चिन्ता भइरहने र यो प्रणाली लागू गरेपछि अभिभावकलाई सहज भएको बताउनुभयो । उहाँले भन्नुभयो, “विद्यालय व्यवस्थापन प्रणालीमा नविनता ल्याउन स्मार्ट एटेन्डेन्स सिष्टम महत्वपूर्ण हुने विश्वास छ ।”
तनहुँ: तनहुँको ऋषिङ गाउँपालिकाका जनप्रतिनिधीले बैठक भत्ताबापत एक महिनाको रकम अक्षयकोष स्थापनामा खर्च गर्ने भएका छन् । गाउँपालिकाभित्रका ११ माध्यमिक विद्यालयमा अक्षयकोष स्थापना गर्न उनीहरुले बैठक भत्ताबापतको रकम खर्च गर्न लागेका हुन् । अक्षयकोषबाट प्राप्त ब्याजबाट बर्सेनि गरिब, जेहेन्दार, बिपन्न र अशक्त विद्यार्थीलाई छात्रबृत्ति प्रदान गर्ने उद्देश्य रहेको गाउँपालिकाले जनाएको छ । चालु आर्थिक वर्षको साउनदेखि उक्त प्रक्रिया अघि बढाइसकिएको गाउँपालिकाका प्रवक्ता विजय दरैले जानकारी दिनुभयो । उहाँका अनुसार गाउँपालिकामा कुल ४४ जनप्रतिनिधि छन् । जनप्रतिनिधिले एक महिनामा प्राप्त गर्ने सेवासुविधा सहयोग गर्दा अक्षयकोषमा रु आठ लाख सङ्कलन हुने प्रवक्ता दरैले बताउनुभयो । जनप्रतिनिधिको बाँकी तीनवर्षे कार्यकालसम्म यसलाई निरन्तरता दिनेगरी योजना अघि बढाइएको हो । गाउँपालिकाको १६औँ अधिवेशनमा प्रस्तावित नीति तथा कार्यक्रमबाट उक्त प्रस्ताव पारित गरिएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत चिनबहादुर रानाभाटले जानकारी दिनुभयो । उहाँका अनुसार जनप्रतिनिधिले पाउने वर्षको एक महिनाको सेवासुविधा बापतको रकम तीन वर्षसम्म निरन्तरत दिँदा रु २४ लाख बराबरको अक्षयकोष स्थापना हुनेछ । विद्यालयमा अक्षयकोष स्थापना गर्न कार्यविधि बनाइसकिएको गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार साउन महिनाबाट लागू हुने गरी प्रक्रिया अघि
कञ्चनपुर: मेहनत र साहस गरियो भने हरेक कुरा सम्भव हुन्छ भन्ने प्रमाणित गर्नुभएको छ बेदकोट नगरपालिका–७ मन्दिरपुरका उर्मिला डगौराले । तीन दशकअघि एक कट्ठा जग्गामा तरकारीखेती सुरु गर्नुभएका उहाँले तरकारीखेतीबाटै घर जग्गा जोड्नुका साथै छोरा रविन र छोरी रविनालाई उच्च शिक्षा पढाउन सफल हुनुभएको छ । उहाँले छोरा रविनलाई भारतको चण्ढीगढमा सफ्टवेयर इन्जिनियर पढाइरहनुभएको छ । छोरी रविना चितवन मेडिकल कलेजमा एमबिबिएस अध्ययन गरिरहनुभएको छ । “हामीले तरकारीखेतीबाट आम्दानी गरेरै छोराछोरीको पढाइ खर्च जुटाएका छौँ,” उर्मिलाले भन्नुभयो, “तरकारीखेती गर्न थालेको २०५२ सालदेखि हो ।” २०५२ सालमा एक कट्ठा जग्गामा तरकारीखेती गर्नुभएका उहाँले तरकारीखेतीकै आम्दानीले दुई वर्षपछि दुई कट्ठा जग्गा खरिद गर्नुभयो । त्यसपछि आम्दानी गर्दै जग्गा थप्दै गरेर तरकारी खेती विस्तार गरेको उहाँको भनाइ छ । उहाँको मेहनतमा श्रीमान् रामबहादुरको ठूलो सहयोग छ । तरकारीखेतीसँगै स्थानीय लालपुर बजारमा उहाँका श्रीमान्ले किराना पसल सञ्चालन गर्नुभएको छ । उक्त पसलमा आफ्नै खेतमा उत्पादन गरेको तरकारी बिक्री गर्ने गर्नुभएको छ । “तरकारी र पसल गरेर हामीले जग्गा थप्दै गयौँ अहिले १५ कट्ठा जग्गा छ”, उर्मिलाले भन्नुभयो, “अहिले १५ कट्ठा जग्गामा तरकारीखेती गरेका छौँ त्यसबाट सन्तोषजनक आम्दानी भइरहेको छ ।” उहाँले छोरी रविनालाई डाक्टर पढाउन हालसम्म रु ६० लाख खर्च भइसकेको बताउनुभयो । सबै खर्च तरकारीखेतीबाटै धानेको उहाँको भनाइ छ । उहाँले लहरे तरकारीबाटै सिजनमा रु दुई लाख बचत हुने गरेको बताउनुभयो । तरकारीखेती सुरु गरेको केही वर्षपछि महेन्द्रनगरको उदयदेव सहकारीले गाउँमै पुगेर उद्यम गरिरहेका महिलाहरुको समूह गठन ग¥यो । सहकारीले गठन गरेको तुलसी उदयदेव महिला केन्द्रमा उहाँ आबद्ध हुनुभयो । सरकारीले उक्त समूहमा आबद्ध तरकारीखेती गरिरहेका महिलाहरुलाई नि:शुल्क प्राविधिक सहयोग गरेपछि खेती गर्न सहयोग पुगेको उहाँको अनुभव छ । उहाँले सहकारीको सहयोगपछि तरकारी उत्पादनमा वृद्धि समेत भएको बताउनुभयो । “हामीले परम्परागत रुपमा खेती गर्दै आएका थियो”, उहाँले भन्नुभयो, “सहकारीले धेरै ज्ञान दियो त्यसले उत्पादनमा फाइदा भयो ।” उक्त समुहमा १६ महिला आबद्ध छन । सहकारीले तराईको उत्पादनलाई पहाड र पहाडको उत्पादनलाई तराईसम्म ल्याउन शाखासमेत विस्तार गरेको उदयदेव सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत गणेशबहादुर चन्दको भनाइ छ ।
धनुषा: चिकित्सा शिक्षा आयोगले मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि चिकित्साशास्त्रमा स्नातक (एमबिबिएस)का लागि ५० सिट निर्धारण गरेको छ । यससँगै मधेस प्रदेशमा पहिलोपटक सरकारी तहमा चिकित्साशास्त्रतर्फ उच्च शिक्षाको अध्यापन हुने भएको छ । मधेस प्रदेश सरकारका मुख्यमन्त्री एवं प्रतिष्ठानका कुलपति सतिशकुमार सिंहले कार्यकालको पहिलो दिन नै प्रतिष्ठानमा एमबिबिएसको अध्यापन चाँडै सुरु गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको उहाँको सचिवालयले जनाएको छ । सोहीअनुरूप मुख्यमन्त्री सिंहले सरकारको नीति तथा कार्यक्रममा यसलाई समेट्नु भएको थियो सोही क्रममा उहाँले चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा अञ्जनीकुमार झालगायत सम्बद्ध पदाधिकारीलाई भेटी आवश्यक पूर्वाधारलगायत मापदण्ड पूरा भएकाले प्रतिष्ठानलाई एमबिबिएस पढाइका लागि तत्काल सिट निर्धारण गरिदिन आग्रह गर्नुभएको थियो । प्रतिष्ठानलाई प्राप्त ५० सिटमध्ये ७५ प्रतिशतमा विद्यार्थीले पूर्ण छात्रवृत्तिमा एमबिबिएस पढ्न पाउनेछन् ।