कास्की: आइएसएमटी कलेज पोखरामा ‘डाटा साइन्स एण्ड एआई फाउन्डेसन कोर्स’ बारे तालिम सम्पन्न भएको छ । पोखरा महानगरपालिका १५ स्थित कलेजमा पहिलो चरण अन्तरगत दुई हप्ता तालिम सम्पन्न भएको हो । कलेजका अप्रेशन तथा मार्केटिङ् म्यानेजर शिव पौडेलले गत १० गतेदेखि २३ गतेसम्म तालिम सञ्चालन भएको जानकारी दिए । उनका अनुसार २ हप्तासम्म सञ्चालन भएको उक्त कोर्समा ४० जना विद्यार्थी सहभागि थिए । कलेजको आइटी संकायका एआई पिषयका शिक्षक एवम डिपार्टमेन्ट प्रमुख कम्प्युटिंग सरण कार्कीले तालिममा सहजिकरण गरेका थिए । उक्त कोर्सबाट विधार्थीले तथ्यांक संकलन (Data Collection), तथ्यांक प्रशोधन एवम् रुपान्तरण (Data Cleaning and Transformation) र एआई टुलस् प्रयोग गरि डाटा भिजुलाइजेसन (Data Visualisation) गर्न सक्ने भएको पौडेलले बताए । तालिममा सहभागि विद्यार्थीहरुले उक्त कोर्ष आफुहरुलाई निकै महत्वपूर्ण भएको प्रतिक्रिया दिएका थिए । सहभागी विद्यार्थीलाई डिपार्टमेन्ट प्रमुख कम्प्युटिंग सरण कार्की तथा क्याम्पस संयोजक शुष्मा रञ्जितले प्रमाणपत्र वितरण गरेका थिए । अन्य कोर्सको तयारी गर्दै ‘आइएसएमटी’ आइटी पढ्न चहाने विद्यार्थीहरुका लागि आगामी दिनमा डाटा साइन्स र एआई लगायत डिजिटल मार्केटिङ् र हाउस किपिङ् जस्ता विषयमा पनि नि:शुल्क ट्रेनिङहरु दिदै जाने कलेजको तयारी रहेको पौडेलले जानकारी दिए । उनका अनुसार यही असार ३१ गतेबाट सुरु हुने गरि रजिस्ट्रेसन खुला गरिसकेको छ । तालिम लिन इच्छुक विधार्थीले गुगलमार्फत फारम सक्ने बताउदै कलेजमै गएर वा 061433826, 061435436 मा सम्पर्क गरेर आफ्नो सिट सुरक्षित गर्न सक्ने जानकारी दिए । यो पनि पढ्नुहोस आइएसएमटी कलेजबाट ३ सय ९० विद्यार्थी दीक्षित इएसएमटी कलेज पोखरा बेलायतको प्रख्यात शैक्षिक संस्था युनिर्भसिटी अफ सन्डरल्याण्डबाट सम्बन्धन प्राप्त शिक्षण संस्था हो । आइएसएमटी ग्रुप अन्तर्गत नेपालका प्रमुख शहरहरु पोखरा लगायत काठमाडौँ,चितवन, विराटनगर र बुटवलमा पनि कलेजहरु सञ्चालनमा रहेका छन् । अन्तर्राष्ट्रिय मान्यता प्राप्त गुणस्तरीय शिक्षाको सपना साकार पार्ने कार्यमा आइएसएमटी कलेज पोखरा प्रतिबद्ध रहेको कलेजले जनाएको छ ।
पोखरा: कास्कीको माछापुच्छ्रे गाउँपालिकाले ३८ विद्यालयका लागि खुल्ला प्रतिस्पर्धाबाट प्रधानाध्यापकको माग गरेको छ । गाउँपालिकाले सोमबार एक सूचना जारी गर्दै २८ आधारभुत र १० माध्यमिक तहको लागि खुल्ला प्रतिस्पर्धाबाट प्रधानाध्यापकको माग गरेको हो । ‘गाउँपालिकाको शिक्षा व्यवस्थापन तथा सञ्चालन नियमावली दोस्रो संशोधन २०७५ र स्थानीय सरकार सञ्चालन ऐन २०७४ को परिच्छेद् १५ को दफा १०२ बमोजिम देहालयबमोजिमका सामुदायिक विद्यालयमा ५ वर्षका लागि करारमा प्रधानाध्यापकको छनोट गरिने छ,’ माछापुच्छ्रे गाउँपालिका–९ का वडाध्यक्ष हरिबहादुर क्षेत्री (राजेन्द्र)ले सुनगाभा न्यूजसँग भने । उनका अनुसार प्रधानाध्यापक छनोट तथा व्यवस्थापन सम्बन्धि कार्यविधि २०८१ अनुसार इच्छुक माछापुच्छ्रे गाउँपालिकाका सामुदायिक विद्यालयमा कार्यरत योग्यता पुगेका शिक्षक तथा हाल कार्यरत रहेका प्रधानाध्यापकहरुले आवेदन दिन सक्ने छन् । सामाजिक विकास समितिका संयोजक समेत रहेका क्षेत्रीले शैक्षिक गुणस्तर सुधारका लागि खुल्ला प्रतिस्पर्धाबाट प्रधानाध्यापकको माग गरेको बताए । ‘कुनै पनि शिक्षक एकपटक प्रधानाध्यापक भइसकेपछि अवकाश नपाउने समयसम्म प्रधानाध्यापक हुने परम्परा हाम्रो विद्यालयमा छ, वडाध्यक्ष क्षेत्रीले भने, ‘प्रअ पाठ्यक्रक अनुसार परिवर्तन हुन सक्नुपर्छ अहिले प्राय विद्यालयमा पुरानै पाठ्यक्रम बढेका शिक्षकहरु प्रअ हुनुहुन्छ, नयाँ पाठ्यक्रम अनुसार विद्यालयलाई गतिशिल बनाउन गाउँपालिकाले खुल्ला प्रतिस्पर्धाबाट प्रधानाध्यापकको माग गरेको हो ।’ वडाध्यक्ष क्षेत्रीले स्थानीयस्तरबाट नै पुराना प्रधानाध्यापकबाट विद्यालयमा कुनै परिवर्तन नदेखिएकाले योग्य र क्षमतावान शिक्षकको माग गरेका आवेदन खुल्ला गरेको बताए । ‘स्थानीयहरुले अहिले विद्यालयमा हुनुभएका प्रधानाध्यापकबाट विद्यालयमा कुनै परिवर्तन आउन नसकेको गुनासो गर्नुभएको छ, उनले भने, ‘कतिपय प्रधानाध्यापक ज्यूहरुले राम्रो काम पनि गर्नुभएको छ, उहाँले पनि गाउँपालिकाको कुनै विद्यालयमा काम गर्ने मनशाय राखेकाले यो आवेदन खुल्ला गरेको हो । उनले गाउँपालिकाको शैक्षिक गुणस्तरमा सुधार, नयाँ युवा शिक्षकहरुको क्षमताको कदर गर्दै एउटै शिक्षक प्रधानाध्यापक बनिरहने अवस्थाको सिन्डिकेटको अन्त्य, काम गर्न इच्छुक शिक्षकहरलाई अवसरसमेत प्रदान गर्न लागेको बताए । यसवर्षको एसइई परीक्षाको रिजल्ट सन्तोषजनक नभएको, कुनै विद्यालयमा प्रअले काम नगरेको र कुनै विद्यालयमा प्रअलाई काम गर्न नदिएको भन्ने गुनासो पछि पनि सबैको समझदारीमा खुल्ला प्रतिस्पर्धाबाट प्रधानाध्यापकको माग गरेको उनले जानकारी दिए । गाउँपालिकाले प्रधानाध्यापकमा आवेदन दिन विद्यालय विकास प्रस्ताव तयारी र प्रस्तुती, प्रधानाध्यापक छनोट मापदण्ड अनुसारको अङ्ग पूरा भएको हुनुपर्ने उल्लेख गरेको छ । प्रधानाध्यापकको लागि साउन ७ गतेसम्म आवेदन दिन सकिने गाउँपालिकाले जनाएको छ ।
काठमाडौं: राष्ट्रिय परीक्षा बोर्डले पूरक परीक्षाको तालिका सार्वजनिक गरेको छ । परीक्षा साउन २३ गतेदेखि ३१ गतेसम्म सञ्चालन हुनेछ । असार १६ गतेको बोर्डको निर्णय अनुसार माध्यमिक शिक्षा परीक्षा (एसईई) मा नियमित परीक्षार्थीको रूपमा सम्मिलित भई ग्रेड प्राप्त गर्न नसकेका र अनुपस्थित भएका सबै परीक्षार्थीहरूका लागि पूरक (ग्रेडवृद्धि) परीक्षा सञ्चालन गर्ने गरेको थियो । परीक्षाको आवेदन फाराम परीक्षा नियन्त्रण कार्यालयको वेवसाइट www.see.gov.np बाट डाउनलोड गरी भर्न सकिनेछ । कुनै आकस्मिक बिदा पर्न गएमा पनि राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयको पूर्व सूचनाविना परीक्षा स्थगित हुनेछैन । परीक्षार्थीले आवेदन फाराम भरी प्रति परीक्षार्थी रु. ५००।( राजश्व खाता नं १४२२३ मा जम्मा गरेको भौचर, प्रवेशपत्रको प्रतिलिपि र ग्रेडसिट (वेवसाइटबाट डाउनलोड गरेको) सहित संलग्न राखी सम्बन्धित विद्यालयमार्फत मिति २०८१ साउन १६ गतेसम्ममा शिक्षा विकास तथा समन्वय इकाइमा पेश गर्नुपर्नेछ । २०८० सालको नियमित परीक्षाको प्रवेशपत्र नै पुरक परीक्षाको प्रवेशपत्र कायम गरिएकोले सोही प्रवेशपत्रका आधारमा परीक्षामा सहभागी हुनुपर्नेछ । परीक्षा केन्द्रहरूको जानकारी सम्बन्धित शिक्षा विकास निर्देशनालय र शिक्षा विकास तथा समन्वय इकाइहरूबाट हुनेछ । तोकिएको केन्द्र र तालिका अनुसार परीक्षामा सामेल नहुने परीक्षार्थीलाई परीक्षाको अर्को व्यवस्था गरिने छैन । परीक्षाफल रद्द भएका परीक्षार्थीहरु ग्रेडवृद्धि परीक्षामा सहभागी हुन पाउने छैनन् । शिक्षा विकास तथा समन्वय इकाइहरुले पुरक (ग्रेडवृद्धि) परीक्षामा सामेल हुन आवेदन फाराम भर्ने परीक्षार्थीहरुको विवरण २०८१ साल साउन १८ गते सम्ममा विद्यालयगतरुपमा विषय समेत खुल्ने गरी परीक्षा नियन्त्रण कार्यालय कक्षा १० मा आइपुग्ने गरी पठाउनुहुन र परीक्षार्थीले बुझाएको आवेदन फाराम ६ महिनासम्म शिक्षा विकास तथा समन्वय इकाइले नै सुरक्षित राख्नुहुन बोर्डको अनुरोध छ ।
काठमाडौं: राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) को ग्रेड वृद्धि अर्थात पुरक परीक्षा साउन २३ गतेदेखि सञ्चालन गर्ने भएको छ । आज राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) र शिक्षा मन्त्रालयको संयुक्त बैठकले साउन २३ गतेबाट ग्रेड वृद्धि अर्थात पुरक परीक्षा सञ्चालन गर्ने निर्णय गरेको परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिनुभयो । यसअघि परीक्षाफल सार्वजनिक गरेको दिनमा बोर्डका अध्यक्ष प्रा डा महाश्रम शर्माले दुई विषयमा ‘नन ग्रेडेड’ अर्थात अनुत्तीर्ण विद्यार्थीका लागि बोर्डले साउन १८ र १९ गते परीक्षा गर्ने बताउनुभएको थियो । यद्यपि शिक्षा मन्त्रालयले शुक्रबार नै दुईभन्दा बढी विषयमा नन ग्रेडेडलाई परीक्षामा सहभागी गराउने निर्णय गर्दै बोर्डलाई निर्देशन दिएपछि आइतबार बसेको बोर्ड बैठकले परीक्षा मिति सारेर सबै विषयको परीक्षा दिने निर्णय गरेको उहाँले जानकारी दिनुभयो । साउन २३ गतेबाट सुरु भई साउन ३१ गतेसम्म सञ्चालन हुने पुरक परीक्षाको नतिजा भने असोजको पहिलो साताभित्र सार्वजनिक गर्ने जनाइएको छ । पुरक परीक्षामा उत्तीर्ण विद्यार्थीलाई यसै वर्ष कक्षा ११ को अध्ययन गर्ने अवसर प्रदान गरिने भएको छ । गत बिहीबार प्रकाशित एसइईको नतिजाअनुसार ‘नन ग्रेडेड’ अर्थात अनुत्तीर्ण दुई लाख ४२ हजार तीन सय १३ विद्यार्थी पुनःपरीक्षामा सहभागी हुन पाउने भएका छन् । बोर्डले परीक्षा तालिका नै परिवर्तन गरेर साउन २३ गतेबाट सञ्चालन गर्ने जनाएको हो ।
काठमाडौं: एसईई परीक्षामा दुई विषय भन्दा धेरैमा एनजी आएका विद्यार्थीलाई पनि मौका परीक्षामा सहभागी गराइने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले आज मन्त्रीस्तरीय निर्णय गर्दै दुइ विषयभन्दा धेरैमा एनजी आएका विद्यार्थीलाई पनि मौका परीक्षामा सहभागी गराउने वातावरण बनाउन राष्ट्रिय परीक्षा बोर्डलाई निर्देशन दिनुभएको हो । मन्त्रीको निर्देशनपछि बोर्डले लेटर ग्रेडिङ निर्देशिका संसोधनको प्रस्ताव तयार गरेर मन्त्री समक्ष पेश गर्ने मन्त्रालयका प्रवक्ता केशब दाहालले जानकारी दिनुभयो । मन्त्रीको निर्देशन अनुसार काम गर्नका लागि निर्देशिकामा संसोधन आवश्यक रहेकाले सो प्रकृया अघि बढाइने उहाँले जानकारी दिनुभयो । मौका परीक्षामा सहभागी हुने विद्यार्थीलाई तयारीका लागि शिक्षण कार्यको व्यवस्थापन सम्बन्धित विद्यालयले गर्नेगरी आवश्यक व्यवस्था गर्न पनि मन्त्री श्रेष्ठले सम्बन्धित निकायलाई निर्देशन दिनुभएको मन्त्रालयले जानकारी दिएको छ । लेटर ग्रेडिङ निर्देशिकामा दुइ विषयसम्ममा एनजी भएका विद्यार्थीले मौका परीक्षामा सहभागी हुन पाउने व्यवस्था रहेकोमा अब निर्देशका संसोधनपछि दुइ भन्दा बढी विषयमा एनजी भएका विद्यार्थीले पनि मौका परीक्षामा सहभागी हुन पाउने छन । मौका परीक्षा एक महिनाभित्र हुने गरी तोकिएको छ ।
काठमाडौं: बिहीबार राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रकको कार्यालय (कक्षा १०)ले माध्यामिक शिक्षा परीक्षा ९एसइई० नतिजा सार्वजनिक गरेको छ । गत वर्षको चैत १५ गतेदेखि भएको परीक्षामा देशभरबाट ४७.८६ प्रतिशत विद्यार्थीमात्रै पास भएका छन् । बोर्डले सार्वजनिक गरेको सातै प्रदेशको नतिजा अनुसार कोशी प्रदेशमा ७५ हजार ९८८ जना विद्यार्थी एसइईमा सहभागी भएका थिए भने ३९ हजार ८९५ जना विद्यार्थी कक्षा ११ पढ्न अयोग्य भएका छन् । मधेश प्रदेशबाट ७९ हजार ५९२ जना विद्यार्थी एसइईमा सहभागी भएका थिए भने ४२ हजार २८६ जनाले ननग्रेड (एनजी) पाएका छन् । बागमती प्रदेशबाट ९९ हजार ८७२ जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए । त्यसमध्ये ३३ हजार ८४३ जना ननग्रेड (एनजी) पाएका छन् । गण्डकी प्रदेशमा ४० हजार ५२६ जना सहभागी भएका थिए । त्यसमध्ये २० हजार २७५ जना अनुत्तीर्ण भएका छन् । यसैगरी, लुम्बिनी प्रदेशबाट एसइईमा ८० हजार ३२७ जना सहभागी भएका थिए । त्यसमध्ये ४९ हजार २२४ जना ननग्रेड (एनजी)मा समावेश भएका छन् । कर्णाली प्रदेशबाट एसइई परीक्षामा ३५ हजार ३४ जना सहभागी थिए । त्यसमध्ये एनजी २० हजार ३८० जना विद्यार्थी ननग्रेडमा समावेश भएका छन् । सुदूरपश्चिम प्रदेशबाट ५३ हजार ४४६ जना विद्यार्थी सहभागी भएकोमा ३६ हजार ४१० कक्षा ११ पढ्न अयोग्य भएका छन् । एसइई परीक्षामा चार लाख ६४ हजार ७८५ जना विद्यार्थी सहभागी भएकोमा दुई लाख ४२ हजार ९२ जनामात्रै उत्तीर्ण भएका छन् ।
काठमाडौं: राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । यस वर्ष नियमित तर्फ ४७.८६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । परीक्षामा सहभागी भएका चार लाख ४४ हजार ७८५ जना विद्यार्थी मध्ये दुई लाख ४२ हजार ९२ जना विद्यार्थीले मात्रै नियमित तर्फ उत्तीर्ण भएका छन् । यी उत्तीर्ण विद्यार्थीले मात्र कक्षा ११ मा पढ्न पाउने बोर्डले जनाएको छ । विद्यार्थीले सैद्धान्तिकतर्फ हरेक विषयमा न्यूनतम ३५ प्रतिशत अङ्क ७५ अङ्कको सैद्धान्तिक परीक्षा हुने विषयमा न्यूनतम २६.२५ अङ्क प्राप्त गर्ने र आन्तरिकतर्फ २५ पूर्णाङ्कको परीक्षामा भने ४० प्रतिशत अर्थात् १० अङ्क प्राप्त गर्ने विद्यार्थीको नजिता नियमित तर्फ समावेश गरेको हो । ५२.१४ प्रतिशत परीक्षार्थीले नन ग्रेड (एनजी) अर्थात् ३५ प्रतिशत भन्दा कम अङ्क ल्याएका छन् । एसइई परीक्षा २०८० चैत १५ देखि २७ गतेसम्म भएको थियो । बोर्डले यस वर्षदेखि लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार नतिजा सार्वजनिक गर्नेछ । जसमा सैद्धान्तिक र आन्तरिकको मूल्याङ्कन फरक(फरक रूपमा गर्ने व्यवस्था गरेको जनाएको छ । बोर्डले दिएको जानकारी अनुसार १८६ जनाले ४ जिपिए ल्याएका छन् ।
पोखरा: अमेरिकाको वासिङ्टन डिसी र क्यान्सस शहरमा आयोजना हुने युवा नेतृत्व कार्यक्रममा भाग लिन पोखराको मदरल्याण्ड माविका ४ विद्यार्थी जाने भएका छन् । मदरल्याण्ड माविमा कक्षा १० मा अध्ययनर कृपा बराल र एल्भिना बराल, कक्षा ११ व्यवस्थापनमा अध्ययरत सुविज्ञा नेपाल र विज्ञान संकायमा अध्ययरत रविना पौडेल जान लागेका हुन् । उनीहरुलाई बिहीबार गण्डकी प्रदेशकी प्रमुख सचिव लक्ष्मी कुमारी बस्नेतले अबिर र माला लगाएर विदाइ गरिन् । उनीहरु अमेरिकी दुतावास नेपालले सञ्चालन गरेको प्रतिष्पर्धामा उत्कृष्ट भई छनौट भएका थिए । नेपालभरबाट १६ जना छात्राहरु छनोट गरेको मदरल्याण्डबाट चार जना पर्न सफल भएका हुन् । विज्ञान, गणित, इन्जिनियरीङ र टेक्नोलोजीका बारेमा नेतृत्व सम्बन्धी तालिम लिने छन् । उनीहरुले महिलाको नेतृत्व, वातावरणीय विकास, खाद्यय सुरक्षा, सस्कृतीका बारेमा समुदायमा बसेर सिक्ने छन् । उनीहरु नेपाल फर्किएपछि पनि आफ्नो परियोजना अनुसार समुदायमा नै काम गर्ने छन् । उनीहरुले २१ दिन सम्म अमेरिकामा रहेर अन्य देशका युवाहरु सँगै युवा नेतृत्व कार्यक्रममा सहभागीता जनाउने छन् । विदाई कार्याक्रममा गण्डकी प्रदेशकी प्रमुख सचिव लक्ष्मी कुमारी बस्नेतले विद्यार्थीलाई पढाई र सिकाईसँगै भए छिटो सिक्न सक्ने बताइन् । उनले विद्यार्थीहरुले अमेरिकामा सिकेका कुरा विद्यालयमा आएर अन्य साथीहरुलाई पनि सिकाउदा अझ फलदायी हुने बताइन् । कार्यक्रममा विद्यालयका प्रिन्सीपल नारायण बरालले विद्यालयले विद्यार्थीको चौतर्फीमा लागेको बताउदै त्यसै अनुसार नै विद्यार्थीहरु छनौट भएको बताए । उनले विद्यार्थीको सबै कुरामा विकासका लागि पढाइ सँगै खेलकुद, हाजिर जवाफ, अतिरिक्त क्रियाकलापहरु गराउदै आएको बताए ।
पाेखरा: ‘गुणस्तरीय शिक्षा, अनुशासन र ज्ञान’ भन्ने मूल नारासहित शैक्षिक क्षेत्रमा त्रियाशिल विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुलमा विविध कार्यक्रम सम्पन्न भएको छ । पोखरा महानगरपालिका १ मोहरिया टोलमा रहेको सो विद्यालयमा शुक्रबारीय कार्यक्रम अन्तर्गत गणित हाजिरीजवाफ तथा नेपाली शब्दखेल प्रतियोगिता सम्पन्न भएको हो । गणित हाजिरीजवाफ प्रतियोगितामा आधारभूत (सिनियर) तथा मा.वि.तहमा धौलागिरी सदनबाट कक्षा १० की छात्रा अनिता बिक, कक्षा ९ का छात्र सुजन राई, कक्षा ६ का छात्रहरुद्वय आदित्य बिक र दिजन मल्ल प्रथम भए । यस्तै कञ्चनजङ्घा सदनबाट कक्षा १० की छात्रा निरसरा पौडेल, कक्षा ९ की छात्रा अंशु भुजेल, कक्षा ६ का छात्रछात्राद्वय दिप्सन सुवेदी र सविता सुनार द्वितीय भए । यस्तैगरी आधारभूत (जुनियर) तह नेपाली शब्दखेल प्रतियोगितामा धौलागिरी सदनबाट कक्षा ५ का छात्रा श्रीषा तिमिल्सिना, कक्षा ४ का छात्र सखिम बास्तोला, कक्षा ४ का छात्र सविन बिक र कक्षा ३ का छात्रा मौ भौमिक प्रथम भए । यस्तै कञ्चनजङ्घा सदनबाट कक्षा ५ की छात्रा अदिती तिमिल्सिना, कक्षा ४ की छात्रा युनिका खनाल, कक्षा ३ की छात्रा प्रेमिका नेपाली र कक्षा २ का छात्र सौगात हमाल द्वितीय भए । दुवै तहतर्फ प्रथम तथा द्धित्तिय स्थान हाँसिल गरेका विद्यार्थीहरुलाई विद्यालयका प्राचार्य कृष्णकुमार श्रेष्ठले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरे । सो अवसरमा बोल्दै प्राचार्य श्रेष्ठले विद्यार्थीहरुलाई उक्त कार्यक्रमले अध्ययनशिल बनाउन प्रेरित गर्ने धारणा राखे । मावि तहको कार्यक्रम गणित शिक्षक नीलकण्ठ पौडेल र प्रावि तहको कार्यक्रम नेपाली शिक्षिका शर्मिला शर्माले सञ्चालन गरेकी थिइन् । विन्ध्येश्वरीले पठनपाठनसँगै विभिन्न अतिरिक्त कार्यक्रहरु सञ्चालन गर्दै आएको छ ।