सर्लाही: सर्लाहीको बागमती नगरपालिका–१२, बथनीयाकी ५० वर्षीया कृष्णकुमारी कुशवार केही दिनयता पढ्न जान थाल्नुभएको छ । ६ वर्षीया नातिनी पढ्दै गरेको विद्यालयले नातिनीका लागि तपाईंले पनि पढ्नुपर्छ भनेपछि उहाँ पनि पढ्न जान थाल्नुभएको हो । पढ्ने उमेरमा विभिन्न समस्याका कारण विद्यालय पढ्न नपाएकाले आफूले अक्षरसमेत चिन्ने मौका नपाएको कृष्णकुमारी बताउनुहुन्छ । “आफूले नपढेर दुःख पाएँ”, उहाँले भन्नुभयो, ‘‘छोराछोरी पनि पढ्न मानेनन् । उनीहरु अहिले दुःख पाउँदैछन् । नातिनातिनालाई पढाउँछु भनेको तर आफूले पनि पढ्नैपर्ने रहेछ । नातिनीलाई गृहकार्य सिकाउन जानिन्छ की भनेर पनि पढ्न सुरु गरेकी छुँ”, उहाँले भन्नुभयो । कृष्णकुमारी जस्तै २३ वर्षीया रीता माझी पनि अचेल छोरीसँगै पढ्न जान थाल्नुभएको छ । घरमा पढेलेखेको व्यक्ति नहुँदा छोरीलाई पढाउन समस्या भएकाले आफैले पढ्न थालेको उहाँले बताउनुभयो । उमेर छँदै पढ्न नसकेकामा रीतालाई पछुतो छ । अब छोरीलाई उच्च शिक्षा पढाउने उहाँको रहर छ । नपढेकै कारण छोरीको गृहकार्य गराउन तथा सिकाउन नसकेको रीताको भनाइ छ । थोरै सिकाउने, उनीहरूले के पढिरहेका छन्, भनेर बुझन, उनीहरूले नजानेको कुरा सिकाउन पनि विद्यालय जान थालेको रीताले सुनाउनुभयो । विपन्न सुकुम्बासी परिवारको बसोबास रहेको यस क्षेत्रका नागरिक अधिकांश निरक्षर छन् । कृष्णकुमारी र रीता जस्तै १५ अभिभावकलाई बागमती नगरपालिका–१२, बथनीयास्थित जनजागृति प्राथमिक विद्यालयले पढाउन सुरु गरेको हो । बालबालिकाको शैक्षिक गुणस्तर सुधारका लागि पहिला अभिभावक शिक्षित बनाउनुपर्ने देखिएपछि अभिभावक शिक्षा सुरु गरेको विद्यालयका प्रधानाध्यापक हेरम्भराज सुवेदीले जानकारी दिनुभयो । ‘‘निकै प्रयास गरेपछि पनि साना कक्षाका बालबालिकाको पढाइमा सुधार नभएपछि अभिभावकलाई पढाउन थालेका हौँ”, उहाँले भन्नुभयो, ‘‘अभिभावक निरक्षर हुँदा बालबालिकाले गृहकार्य नै नगर्ने, घरमा नपढ्ने, स्कुल पनि नियमित नपठाउने भएकाले पहिला अभिभावकलाई पढाइको महत्व बुझ्ने र बालबालिकालाई गृहकार्य गराउन सक्ने बनाउन खोजेका हौँ ।’’ बालबालिकाको पठनपाठनमा घरको वातावरण र परिवारमा पनि आमाको भूमिका महत्वपूर्ण हुन्छ । तर, यहाँ अधिकांश आमा अशिक्षित रहेकाले बालबालिकाको पठनपाठन सुधारका लागि आमालाई पढाउन सुरु गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पवित्रा माझीले बताउनुभयो । यसपछि आमाहरुले नानीहरुसँगै बसेर पढ्ने तथा सिकाउन सक्ने अपेक्षा गरेको उहाँको भनाइ छ । विद्यालयको पहलमा सुरु भएको ‘नानीसँगै हामी’ कार्यक्रमका लागि लुम(तान) नामक गैर सरकारी संस्थाले आर्थिक सहयोग गरेको विद्यालयले जनाएको हो । विद्यालयका अनुसार सहभागी आमा(अभिभावक)हरुलाई ५० दिनसम्म अनौपचारिक शिक्षा प्रदान गरिने छ । यसबाट सहभागीले सामान्य लेखपढदेखि बालबालिकाको पालनपोषण, सरसफाइ लगायतको ज्ञान प्राप्त गर्नसक्ने छन् । योसँगै महिला स्वास्थ्य, शिक्षा, अधिकारलगायत विभिन्न विषयमासमेत प्रशिक्षण प्रदान गरिने छ । पहिलो चरणमा १५ अभिभावकलाई समेटे पनि पछि अन्यलाई पनि सहभागी गराउने योजना रहेको विद्यालयले जनाएको हो ।
तनहुँ: तनहुँको आँबुखैरेनी गाउँपालिका–१ सत्रसयस्थित मित्रता माध्यमिक विद्यालयमा विद्यार्थीको स्मार्ट हाजिरी प्रणाली सुरु भएको छ । तनहुँ जिल्लामै पहिलो पटक आँबुखैरेनी गाउँपालिकाको विद्यालयमा स्मार्ट हाजिरीको प्रयोग भएको हो । स्मार्ट हाजिरीको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले उद्घाटन गर्नुभएको छ । एम्बेडेड सोलुसन नेपालले निर्माण गरेको एकेडेमिक म्यानेजमेन्ट सफ्टवयर स्मार्ट उपस्थिति प्रणालीले विद्यालयमा विद्यार्थीको उपस्थितिबारे अभिभावकलाई सूचना प्रदान गर्छ । विद्यार्थी गेटबाटभित्र छिर्ने बित्तिकै अभिभावकको मोबाइलमा आफ्ना बालबालिका विद्यालय पुगेको जानकारी पुग्छ र गेटबाट बाहिर निस्कँदा विद्यालयबाट बाहिरिएको सूचना अभिभावकको मोबाइलमा पुग्ने गरेको विद्यालयका प्रधानाध्यापक सुरेन्द्र बोगटीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “विद्यालय छुट्टीपछि घर आउन लाग्ने समय अभिभावकलाई जानकारी हुन्छ, साथै घरबाट हिँडेपछि आफ्ना छोराछोरी विद्यालय पुगेको कुरासमेत जानकारी हुन्छ ।” मित्रता माविले अहिले यो व्यवस्था आधारभूत तहका विद्यार्थीमा लागू गरेको छ । आगामी वर्षदेखि कक्षा १२ सम्म यो प्रणाली जडान गरिने बोगटीले बताउनुभयो । उहाँले भन्नुभयो, “यस प्रणालीमा विद्यार्थी कक्षा छोडेर जाने सम्भावना हुँदैन । विद्यार्थीको परिचयपत्रमा चिप्स जडान गरिएको छ । विद्यार्थी गेटमा आइपुग्ने बित्तिकै मेसिनले घण्टी बजाउँछ र तत्कालै उक्त सूचना अभिभावकसम्म पुग्ने गर्छ । बोगटीले अभिभावकलाई उहाँका बालबालिका विद्यालयमा सुरक्षित छन् वा बाहिर छन् भन्ने चिन्ता भइरहने र यो प्रणाली लागू गरेपछि अभिभावकलाई सहज भएको बताउनुभयो । उहाँले भन्नुभयो, “विद्यालय व्यवस्थापन प्रणालीमा नविनता ल्याउन स्मार्ट एटेन्डेन्स सिष्टम महत्वपूर्ण हुने विश्वास छ ।”
तनहुँ: तनहुँको ऋषिङ गाउँपालिकाका जनप्रतिनिधीले बैठक भत्ताबापत एक महिनाको रकम अक्षयकोष स्थापनामा खर्च गर्ने भएका छन् । गाउँपालिकाभित्रका ११ माध्यमिक विद्यालयमा अक्षयकोष स्थापना गर्न उनीहरुले बैठक भत्ताबापतको रकम खर्च गर्न लागेका हुन् । अक्षयकोषबाट प्राप्त ब्याजबाट बर्सेनि गरिब, जेहेन्दार, बिपन्न र अशक्त विद्यार्थीलाई छात्रबृत्ति प्रदान गर्ने उद्देश्य रहेको गाउँपालिकाले जनाएको छ । चालु आर्थिक वर्षको साउनदेखि उक्त प्रक्रिया अघि बढाइसकिएको गाउँपालिकाका प्रवक्ता विजय दरैले जानकारी दिनुभयो । उहाँका अनुसार गाउँपालिकामा कुल ४४ जनप्रतिनिधि छन् । जनप्रतिनिधिले एक महिनामा प्राप्त गर्ने सेवासुविधा सहयोग गर्दा अक्षयकोषमा रु आठ लाख सङ्कलन हुने प्रवक्ता दरैले बताउनुभयो । जनप्रतिनिधिको बाँकी तीनवर्षे कार्यकालसम्म यसलाई निरन्तरता दिनेगरी योजना अघि बढाइएको हो । गाउँपालिकाको १६औँ अधिवेशनमा प्रस्तावित नीति तथा कार्यक्रमबाट उक्त प्रस्ताव पारित गरिएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत चिनबहादुर रानाभाटले जानकारी दिनुभयो । उहाँका अनुसार जनप्रतिनिधिले पाउने वर्षको एक महिनाको सेवासुविधा बापतको रकम तीन वर्षसम्म निरन्तरत दिँदा रु २४ लाख बराबरको अक्षयकोष स्थापना हुनेछ । विद्यालयमा अक्षयकोष स्थापना गर्न कार्यविधि बनाइसकिएको गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार साउन महिनाबाट लागू हुने गरी प्रक्रिया अघि
कञ्चनपुर: मेहनत र साहस गरियो भने हरेक कुरा सम्भव हुन्छ भन्ने प्रमाणित गर्नुभएको छ बेदकोट नगरपालिका–७ मन्दिरपुरका उर्मिला डगौराले । तीन दशकअघि एक कट्ठा जग्गामा तरकारीखेती सुरु गर्नुभएका उहाँले तरकारीखेतीबाटै घर जग्गा जोड्नुका साथै छोरा रविन र छोरी रविनालाई उच्च शिक्षा पढाउन सफल हुनुभएको छ । उहाँले छोरा रविनलाई भारतको चण्ढीगढमा सफ्टवेयर इन्जिनियर पढाइरहनुभएको छ । छोरी रविना चितवन मेडिकल कलेजमा एमबिबिएस अध्ययन गरिरहनुभएको छ । “हामीले तरकारीखेतीबाट आम्दानी गरेरै छोराछोरीको पढाइ खर्च जुटाएका छौँ,” उर्मिलाले भन्नुभयो, “तरकारीखेती गर्न थालेको २०५२ सालदेखि हो ।” २०५२ सालमा एक कट्ठा जग्गामा तरकारीखेती गर्नुभएका उहाँले तरकारीखेतीकै आम्दानीले दुई वर्षपछि दुई कट्ठा जग्गा खरिद गर्नुभयो । त्यसपछि आम्दानी गर्दै जग्गा थप्दै गरेर तरकारी खेती विस्तार गरेको उहाँको भनाइ छ । उहाँको मेहनतमा श्रीमान् रामबहादुरको ठूलो सहयोग छ । तरकारीखेतीसँगै स्थानीय लालपुर बजारमा उहाँका श्रीमान्ले किराना पसल सञ्चालन गर्नुभएको छ । उक्त पसलमा आफ्नै खेतमा उत्पादन गरेको तरकारी बिक्री गर्ने गर्नुभएको छ । “तरकारी र पसल गरेर हामीले जग्गा थप्दै गयौँ अहिले १५ कट्ठा जग्गा छ”, उर्मिलाले भन्नुभयो, “अहिले १५ कट्ठा जग्गामा तरकारीखेती गरेका छौँ त्यसबाट सन्तोषजनक आम्दानी भइरहेको छ ।” उहाँले छोरी रविनालाई डाक्टर पढाउन हालसम्म रु ६० लाख खर्च भइसकेको बताउनुभयो । सबै खर्च तरकारीखेतीबाटै धानेको उहाँको भनाइ छ । उहाँले लहरे तरकारीबाटै सिजनमा रु दुई लाख बचत हुने गरेको बताउनुभयो । तरकारीखेती सुरु गरेको केही वर्षपछि महेन्द्रनगरको उदयदेव सहकारीले गाउँमै पुगेर उद्यम गरिरहेका महिलाहरुको समूह गठन ग¥यो । सहकारीले गठन गरेको तुलसी उदयदेव महिला केन्द्रमा उहाँ आबद्ध हुनुभयो । सरकारीले उक्त समूहमा आबद्ध तरकारीखेती गरिरहेका महिलाहरुलाई नि:शुल्क प्राविधिक सहयोग गरेपछि खेती गर्न सहयोग पुगेको उहाँको अनुभव छ । उहाँले सहकारीको सहयोगपछि तरकारी उत्पादनमा वृद्धि समेत भएको बताउनुभयो । “हामीले परम्परागत रुपमा खेती गर्दै आएका थियो”, उहाँले भन्नुभयो, “सहकारीले धेरै ज्ञान दियो त्यसले उत्पादनमा फाइदा भयो ।” उक्त समुहमा १६ महिला आबद्ध छन । सहकारीले तराईको उत्पादनलाई पहाड र पहाडको उत्पादनलाई तराईसम्म ल्याउन शाखासमेत विस्तार गरेको उदयदेव सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत गणेशबहादुर चन्दको भनाइ छ ।
धनुषा: चिकित्सा शिक्षा आयोगले मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि चिकित्साशास्त्रमा स्नातक (एमबिबिएस)का लागि ५० सिट निर्धारण गरेको छ । यससँगै मधेस प्रदेशमा पहिलोपटक सरकारी तहमा चिकित्साशास्त्रतर्फ उच्च शिक्षाको अध्यापन हुने भएको छ । मधेस प्रदेश सरकारका मुख्यमन्त्री एवं प्रतिष्ठानका कुलपति सतिशकुमार सिंहले कार्यकालको पहिलो दिन नै प्रतिष्ठानमा एमबिबिएसको अध्यापन चाँडै सुरु गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको उहाँको सचिवालयले जनाएको छ । सोहीअनुरूप मुख्यमन्त्री सिंहले सरकारको नीति तथा कार्यक्रममा यसलाई समेट्नु भएको थियो सोही क्रममा उहाँले चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा अञ्जनीकुमार झालगायत सम्बद्ध पदाधिकारीलाई भेटी आवश्यक पूर्वाधारलगायत मापदण्ड पूरा भएकाले प्रतिष्ठानलाई एमबिबिएस पढाइका लागि तत्काल सिट निर्धारण गरिदिन आग्रह गर्नुभएको थियो । प्रतिष्ठानलाई प्राप्त ५० सिटमध्ये ७५ प्रतिशतमा विद्यार्थीले पूर्ण छात्रवृत्तिमा एमबिबिएस पढ्न पाउनेछन् ।
कास्की: जिल्लाको माछापुच्छ्रे गाउँपालिकाले गाउँपालिकाभित्रका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि पाँच वर्षका लागि प्रधानाध्यापकको करारमा नियुक्ति गरेको छ । गाउँपालिकाको शिक्षा शाखा र ३८ सामुदायिक विद्यालयका प्रधानाध्यापकबीच पञ्चवर्षीय करार सम्झौता गरिएको हो । गाउँपालिकाले प्रअ नियुक्तिका लागि आवेदन माग गरेको थियो । गाउँपालिकाले शैक्षिक गुणस्तर वृद्धि गर्न योग्यता र क्षमताका आधारमा प्रतिस्पर्धाका माध्यमबाट पाँच वर्षका लागि करारमा प्रधानाध्यापक नियुक्त गरेको गाउँपालिका उपाध्यक्ष सीता अधिकारीले बताउनुभयो । उहाँले देशमै नमूनाका रूपमा शिक्षा क्षेत्र सुधारका लागि आफूहरूले सुरुआत गरेको बताउनुभयो । “पालिकाका सामुदायिक विद्यालयका कार्यरत योग्यता पुगेका शिक्षक र हाल कार्यरत प्रधानाध्यापक समेतबाट आवेदन माग गरेका थियौँ । आवेदकको विद्यालय सुधार कार्ययोजनाको प्रस्तुतिसहित विज्ञ सम्मिलित मूल्याङ्कन समितिबाट पारदर्शी रूपमा नियुक्ति गरेका छौँ । सबै जना खुसी हुनुभएको छ”, उहाँले भन्नुभयो । गाउँपालिकाले आधारभूत तह (१–५) का लागि १८, आधारभूत तह (६–८) का लागि १०, माध्यमिक तह (९–११)का लागि चार र माध्यमिक तह (११–१२)का लागि छ जना प्रधानाध्यापकसँग सम्झौता गरेको हो । विद्यालय विकास प्रस्ताव तयारी र प्रस्तुति तथा प्रधानाध्यापक छनोट मापदण्डअनुसारको अङ्कका आधारमा प्रअको छनोट गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोपीकृष्ण अर्यालले बताउनुभयो । प्रधानाध्यापकको विधिपूर्वक छनोट गरी विद्यालयको शैक्षिक प्रशासनमा गुणस्तरीयता, शैक्षिक विकास र उपलब्धि तथा विद्यालयको कुशल व्यवस्थापनका लागि पहिलोपटक प्रतिस्पर्धामा जोड दिइएको उहाँले बताउनुभयो । “विद्यालयका प्रधानाध्यापकको पद विभिन्न कारणबाट अस्थिर हुने, प्रअले पूरा अवधि राम्रोसँग काम गर्ने वातावरण थिएन । पाँचवर्षे सम्झौताले प्रअहरूले आफ्नो विद्यालयमा ढुक्कले काम गर्ने वातावरण बनेको छ । यसबाट पालिकाको समग्र शिक्षा क्षेत्रमा सुधार हुने विश्वास लिएका छौँ”, उहाँले भन्नुभयो । प्रमुख प्रशासकीय अधिकृत अर्यालले चालु वर्षमा पालिकाले प्रधानाध्यापक छनोट तथा व्यवस्थापनसम्बन्धी कार्यविधि बनाएको थियो । सोही कार्यविधिलाई टेकेर खुला आवेदनसहित प्रक्रिया सुरु गरिएको अर्यालले बताउनुभयो । प्रधानाध्यापक छनोटका लागि गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतको संयोजकत्वमा पाँच सदस्यीय छनोट मूल्याङ्कन समिति बनाइएको थियो । सो समितिमा गाउँ शिक्षा समितिले तोकेका दुईजना विज्ञ, गाउँ शिक्षा समितिको अध्यक्षले मनोनित एकजना सदस्य र गाउँपालिका शिक्षा अधिकृत सदस्यसचिव रहेका थिए ।
दाङ: फोहरका रूपमा फालिएका बोतल बेचेर दाङको तुलसीपुर उपमहानगरपालिका–७ स्थित बालकल्याण प्रावि डाँडापातुका विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरिएको छ । तुलसीपुर बजार सफा गर्ने क्रममा भेटिएका बोतल बेचेर त्यहाँ अध्ययनरत विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिइएको हो । बजार सफा बनाउनुका साथै त्यसबाट सङ्कलन भएको रकमलाई यस्तै न्यून आर्थिक अवस्था भएकालाई सहयोग गर्ने गरेको सफाइ अभियानको संयोजक निमबहादुर बुढाथोकीले बताउनुभयो । “हाम्रो सरसफाइ अभियान एक सय ६४औँ हप्तामा प्रवेश गरेको छ, हामीले लामो समयदेखि तुलसीपुरमा प्रत्येक हप्ता सरसफाइ अभियान सञ्चालन गरिरहेका छौँ”, उहाँले भन्नुभयो, “यही क्रममा भेटिएका पानीका बोत्तललाई सङ्कलन गरेर यस्तै विपन्न विद्यार्थीलाई सहयोग गर्न थालेका छौँ ।” सोमबार विद्यालयमै पुगेर विद्यार्थीलाई कपी–कलम सहयोग गरिएको हो । त्यो विद्यालयका ५० बढी विद्यार्थीलाई कपी र कलम सहयोग गरिएको हो । सोही विद्यालयमा न्यून आर्थिक अवस्था भएका विद्यार्थी अध्ययन गर्छन् । धेरैजसो विद्यार्थी अभिभावकविहीन बनेका तथा विद्यार्थीदेखि अभिभावक टाढा भएकाहरू अध्ययन गर्ने गरेको विद्यालयका प्रधानाध्यापक हुमबहादुर केसीले बताउनुभयो । “यो विद्यालयमा अधिकांश सहाराविहीन र गरीब विद्यार्थी पढ्छन्”, उहाँले भन्नुभयो, “आर्थिक अवस्था कम्जोर भएकालाई यसरी सहयोग गर्नुले विद्यार्थीमा थप हौसला बढ्ने गर्छ ।” विसं २०४५ मा उक्त विद्यालय स्थापना भएको हो । शिशुदेखि कक्षा ५ सम्म सञ्चालित उक्त विद्यालयमा ८८ विद्यार्थी अध्ययन गर्छन् भने सातजना शिक्षक कार्यरत रहनुभएको छ ।
काठमाडौं: प्रत्येक वर्ष भदौ १५ गते विभिन्न कार्यक्रम आयोजना गरी मनाइने पुस्तकालय दिवस आज देशभर मनाइँदै छ । विसं २०६५ देखि सरकारले भदौ १५ गतेलाई पुस्तकालय दिवसका रुपमा मनाउँदै आएको हो । राजा गीर्वाणयुद्ध विक्रम शाहको शासनकालमा विसं १८६९ भदौ १५ गते शुक्रबार पुस्तकालय बनाउनेसम्बन्धी कानुनमा लालमोहर लगाएको स्मृतिमा सरकारले भदौ १५ गतेलाई पुस्तकालय दिवसका रूपमा मनाउने निर्णय गरेको थियो । सत्रौँ पुस्तकालय दिवसका अवसरमा दुई साता अघिदेखि नै सरकारी एवं गैरसरकारी स्तरबाट विभिन्न कार्यक्रम सुरु भएको छ । सरकारले पुस्तकालय दिवस मनाउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव डा दीपक काफ्लेको संयोजकत्वमा मूल समारोह समिति गठन गरेको छ । मूल समारोह समितिले यस वर्षको पुस्तकालय दिवसको नारा ‘निरन्तर शिक्षाका लागि पुस्तकालय’ तय गरेको छ । यही नाराका आधारमा आज पुस्तकालय दिवसको मूल कार्यक्रम गरिनेछ । कार्यक्रममा पुस्तकालय दिवससम्बन्धी स्मारिका सार्वजनिक गरिनेछ । मूल समारोहको कार्यक्रममा उत्कृष्ट पुस्तकालय र पाठकलाई पनि सम्मान गर्ने गरी तयारी भएको छ । शिक्षा मन्त्रालयको २०७८/७९ को सर्वेक्षणले देशभर नौ सय २८ वटा सामुदायिक तथा सार्वजनिक पुस्तकालय रहेको देखाएको थियो । तीमध्ये हाल दुई सय २७ वटा पुस्तकालयमात्र राम्रोसँग चलेको नेपाल सामुदायिक पुस्तकालय सङ्घको महासचिवसमेत रहनुभएका मूल समारोह समिति अन्तर्गतको प्रचारप्रसार उपसमितिका संयोजक राजेन्द्र पाण्डेले जानकारी दिनुभयो । पुस्तकालय दिवसका अवसरमा खुलेका सबै पुस्तकालयलाई राम्रोसँग चलाउनुपर्ने र आवश्यकता भएका अन्य स्थानमा नयाँ खोल्न पनि प्रोत्साहन गर्ने नीति लिनुपर्नेमा जोड दिइएको छ ।
बागलुङ: विद्यालय उमरेका बालबालिकामा लेखन सीप अभिवृद्धिका लागि बागलुङ सदरमुकाममा सृजनात्मक लेखन कार्यशाला बुधबारदेखि सुरु भएको छ । विद्यामन्दिर पुस्तकालय, बागलुङको आयोजनामा बिहीबारसम्म सञ्चालन हुने कार्यशालाको बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठले उद्घाटन गर्नुभयो । उहाँले बालबालिकाको सृजनात्मक र मनोवैज्ञानिक विकासमा कार्यशालाले मद्दत पु¥याउने विश्वास व्यक्त गर्नुभयो । नगरप्रमुख श्रेष्ठले बागलुङ नगरपालिकालाई बालमैत्री नगर घोषणको तयारी भइरहेको बताउनुभयो । कार्यक्रममा पुस्तकालय संरक्षक समितिका सदस्य प्रेम छोटा, पूर्वअध्यक्ष श्यामप्रसाद श्रेष्ठ, विद्यामन्दिर माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बाबुलाल शाक्य, एनप्याब्सन बागलुङ नगर अध्यक्ष चन्द्रबहादुर क्षेत्रीलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यशालामा सामुदायिक र निजी विद्यालयका गरी ६० जना बालबालिका सहभागी रहेका छन् । कार्यशालामा बाल साहित्यकार यशु श्रेष्ठले कथा, निबन्ध, कवितालगायत विधामा सृजनात्मक लेखन र प्रयोगबारे अभ्यासमूलक प्रशिक्षण दिने पुस्तकालयले जनाएको छ । बालबालिकामा मोबाइलको नकारात्मक लत न्यूनीकरण गरी सकारात्मक सिकाइमा मोबाइलको सदुपयोगबारे पनि अभिमुखीकरण गरिने पुस्तकालयका सचिव राजनप्रसाद शर्माले बताउनुभयो । विद्यालय तहमा अध्यापन गर्ने शिक्षकलाई शिक्षणमा कथावाचनको महत्व र प्रयोगका विषयमा पनि प्रशिक्षित गरिने उहाँको भनाइ छ । “विद्यालय उमेरका बालबालिकामा सृजनात्मक क्षमता अभिवृद्धिका लागि कार्यशाला आयोजना गरिएको हो”, उहाँले भन्नुभयो, “कार्यशालाले लेखन सीपसँगै बालबालिकाको अभिव्यक्ति कलासमेत विकास हुने हाम्रो विश्वास छ ।” १७औँ राष्ट्रिय पुस्तकाल दिवसको अवसरमा प्याब्सन, एनप्याब्स, विद्यामन्दिर माध्यमिक विद्यालय र बागलुङ जेसीजसँगको सहकार्यमा पुस्तकालयले कार्यशाला आयोजना गरेको हो । ‘निरन्तर शिक्षाका लागि पुस्तकालय’ भन्ने आदर्श वाक्यसहित यही भदौ १५ गते मनाइने उक्त दिवसलाई पाँच दिवसीय कार्यक्रमसहित मनाउन लागिएको पुस्तकालयका सचिव शर्माले बताउनुभयो । दिवसका अवसरमा मङ्गलबार पुस्तकालय परिसर सरसफाइसहित सदरमुकामका चोकमा दिवसको प्रचारात्मक ब्यानर प्रदर्शन गरिएको थियो । शुक्रबार पुस्तकालय दिवससँग सम्बन्धित शीर्षकमा बागलुङ नगरपालिकास्थित माध्यमिक विद्यालयस्तरीय निबन्ध लेखन प्रतियोगिता आयोजना गरिएको पुस्तकालयले जनाएको छ । सोही दिन पुस्तकालयको बालविकास केन्द्रमा रहेका बालबालिकाको निःशुल्क स्वास्थ्य परीक्षण तथा शैक्षिक सामग्री वितरण गरिने भएको छ । दिवसका सन्दर्भमा जिल्ला प्रहरी कार्यालयको हिरासत कक्षमा प्रयोग हुने गरी पुस्तक उपहार दिने कार्यक्रमसमेत तय गरिएको छ । भदौ १५ गते सम्मान र पुरस्कार वितरणसहित मूल समारोह आयोजना गरिएको सचिव शर्माले जानकारी दिनुभयो । सोही समारोहमा पुस्तकालयको विभिन्न पदमा रही झण्डै ४० वर्षसम्म सेवा पु¥याउनुभएका पुस्तकालयका संरक्षक समिति सदस्य एवं पूर्वअध्यक्ष हरिहर श्रेष्ठलाई दीर्घ सेवा सम्मान प्रदान गरिने भएको छ । विसं २००३ सालमा स्थापना भएको देशकै अग्रणीमध्येको विद्यामन्दिर पुस्तकालय राणाकालको प्रतिकुल समयमा खुलेका कारण पनि यसको अलग पहिचान छ । धवलागिरि क्षेत्रको शैक्षिक, सामाजिक र राजनीतिक जागरणको केन्द्रका रुपमासमेत यस पुस्तकालयलाई लिने गरिन्छ । स्थापनाकालमा काठमाडौँ उपत्यका हुँदै भारतको दिल्ली, गोरखपुरसम्मबाट भरिया लगाएर ल्याइएका पुस्तक सङ्ग्रह गरेर सुरु गरिएको पुस्तकालयमा अहिले विभिन्न विधा र भाषाका गरी करिब १७ हजार बढी पुस्तक छन् । पुस्तकालयमा विद्युतीय पुस्तकालय (ई–लाइब्रेरी) पनि सञ्चालित छ । प्रारम्भिक चरणमा विद्यालयको कोठा हुँदै सार्वजनिक पौवामा चलेको पुस्ताकालयले अहिले आफ्नै सुविधासम्पन्न भवनबाट सेवा दिँदै आएको छ । यस पुस्तकालयका संस्थापक दिवङ्गत ओमप्रसाद गौचन र मेघकुमार वैद्य हुनुहुन्छ । पुस्तकालयमा छुट्टै बाल पुस्तकालय स्थापनाको तयारी अगाडि बढेको छ । कार्यशालाको उद्घाटन सत्र पुस्तकालयका अध्यक्ष राम थापा ‘अविरल’को अध्यक्षता, उपाध्यक्ष रामचन्द्र शर्माको स्वागत र सचिव राजनप्रसाद शर्माको सञ्चालन सम्पन्न भएको थियो ।

