माछापुच्छ्रेका सामुदायिक विद्यालयमा करारमा प्रधानाध्यापक नियुक्त

कास्की | भदौ १९, २०८१

माछापुच्छ्रेका सामुदायिक विद्यालयमा करारमा प्रधानाध्यापक नियुक्त

कास्की:    जिल्लाको माछापुच्छ्रे गाउँपालिकाले गाउँपालिकाभित्रका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि पाँच वर्षका लागि प्रधानाध्यापकको करारमा नियुक्ति गरेको छ । गाउँपालिकाको शिक्षा शाखा र ३८ सामुदायिक विद्यालयका प्रधानाध्यापकबीच पञ्चवर्षीय करार सम्झौता गरिएको हो ।


गाउँपालिकाले प्रअ नियुक्तिका लागि आवेदन माग गरेको थियो । गाउँपालिकाले शैक्षिक गुणस्तर वृद्धि गर्न योग्यता र क्षमताका आधारमा प्रतिस्पर्धाका माध्यमबाट पाँच वर्षका लागि करारमा प्रधानाध्यापक नियुक्त गरेको गाउँपालिका उपाध्यक्ष सीता अधिकारीले बताउनुभयो । उहाँले देशमै नमूनाका रूपमा शिक्षा क्षेत्र सुधारका लागि आफूहरूले सुरुआत गरेको बताउनुभयो । 


“पालिकाका सामुदायिक विद्यालयका कार्यरत योग्यता पुगेका शिक्षक र हाल कार्यरत प्रधानाध्यापक समेतबाट आवेदन माग गरेका थियौँ । आवेदकको विद्यालय सुधार कार्ययोजनाको प्रस्तुतिसहित विज्ञ सम्मिलित मूल्याङ्कन समितिबाट पारदर्शी रूपमा नियुक्ति गरेका छौँ । सबै जना खुसी हुनुभएको छ”,  उहाँले भन्नुभयो । 


गाउँपालिकाले आधारभूत तह (१–५) का लागि १८, आधारभूत तह (६–८) का लागि १०, माध्यमिक तह (९–११)का लागि चार र माध्यमिक तह (११–१२)का लागि छ जना प्रधानाध्यापकसँग सम्झौता गरेको हो । 


विद्यालय विकास प्रस्ताव तयारी र प्रस्तुति तथा प्रधानाध्यापक छनोट मापदण्डअनुसारको अङ्कका आधारमा प्रअको छनोट गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोपीकृष्ण अर्यालले बताउनुभयो ।


प्रधानाध्यापकको विधिपूर्वक छनोट गरी विद्यालयको शैक्षिक प्रशासनमा गुणस्तरीयता, शैक्षिक विकास र उपलब्धि तथा विद्यालयको कुशल व्यवस्थापनका लागि पहिलोपटक प्रतिस्पर्धामा जोड दिइएको उहाँले बताउनुभयो । 


“विद्यालयका प्रधानाध्यापकको पद विभिन्न कारणबाट अस्थिर हुने, प्रअले पूरा अवधि राम्रोसँग काम गर्ने वातावरण थिएन । पाँचवर्षे सम्झौताले प्रअहरूले आफ्नो विद्यालयमा ढुक्कले काम गर्ने वातावरण बनेको छ । यसबाट पालिकाको समग्र शिक्षा क्षेत्रमा सुधार हुने विश्वास लिएका छौँ”, उहाँले भन्नुभयो ।
 

प्रमुख प्रशासकीय अधिकृत अर्यालले चालु वर्षमा पालिकाले प्रधानाध्यापक छनोट तथा व्यवस्थापनसम्बन्धी कार्यविधि बनाएको थियो । सोही कार्यविधिलाई टेकेर खुला आवेदनसहित प्रक्रिया सुरु गरिएको अर्यालले बताउनुभयो । 


प्रधानाध्यापक छनोटका लागि गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतको संयोजकत्वमा पाँच सदस्यीय छनोट मूल्याङ्कन समिति बनाइएको थियो । सो समितिमा गाउँ शिक्षा समितिले तोकेका दुईजना विज्ञ, गाउँ शिक्षा समितिको अध्यक्षले मनोनित एकजना सदस्य र गाउँपालिका शिक्षा अधिकृत सदस्यसचिव रहेका थिए । 

मकवानपुरः    मकवानपुरको मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्ताले  आक्रमण गर्दा एक जना प्रहरी सहायक निरीक्षक र आक्रमणकारीमध्येका एक जना घाइते भएका छन् ।   प्रहरीचौकी पदमप...

थप पढ्नुहोस्

पोखरा: गण्डकी प्रदेशमा राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फ पाँच लाख बढी मत प्राप्त गरेको छ । गण्डकी प्रदेशका ११ वटा जिल्लामा कुल १८ निर्वाचन क्षेत्रमध्ये प्रत्यक्षतर्फ १५ क्षेत्रमा विजयी बनेको पार्टीले समानुपा...

थप पढ्नुहोस्

कञ्चनपुरः  बझाङको बुँगलबाट डेढ वर्षअघि कञ्चनपुर झरेका ५६ वर्षीय शङ्कर लुहार परम्परागत आरन पेसाको भरमा परिवारको जीविका चलाउँदै आउनुभएको छ । शुक्लाफाँटा नगरपालिका–८ फुलेलीमा आरन सञ्चालन गर्दै उहाँल...

थप पढ्नुहोस्