पोखरा:  जानकी माध्यामिक विद्यालय पोखरा १७ का विद्यार्थीलाई ईक्रा शिक्षा फाउण्डेशनले आर्थिक सहयोग गरेको छ । संस्थाले विद्यालयका जेहेन्दार एवम् विपन्न वर्गका २० जना विद्यार्थीलाई जनही दुई हजारका दरले नगद वितरण ...

भरतपुर:   भरतपुर महानगरपालिकाले संस्थागत विद्यालयको कक्षा ११ मा अध्ययनरत दुई सय ६६ विद्यार्थीलाई पूर्ण छात्रवृत्ति गरेको छ ।   ती विद्यार्थीलाई अनलाइन आवेदन माग गरी शिक्षा ऐन तथा भरतपुर महानगरको छात्रवृत्ति व्यवस्थापन कार्यविधिअनुसार छात्रवृत्तिमा छनोट गरिएको हो ।   भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले आइतबार आयोजित कार्यक्रममा विद्यार्थीको क्षमता र योग्यताका आधारमा कक्षा १२ सम्म पढ्नका लागि छात्रवृत्ति वितरण गरिएको बताउनुभयो । उहाँले शिक्षा क्षेत्रमा भरतपुर महानगरले उल्लेख्य फड्को मारेको उल्लेख गर्नुभयो ।   उहाँले भन्नुभयो, “महानगरले शिक्षा क्षेत्रमा शैक्षिक तथा भौतिक रूपमा ठूलो फड्को मारेको छ ।”   शिक्षामा सबैको पहुँच पुर्याउने उद्देश्यले महानगरपालिका अघि बढिरहेको उहाँले बताउनुभयो । सरकारी विद्यालयको सुधार गर्दै संस्थागत विद्यालयसरह बनाउनेगरी महानगरले शिक्षा क्षेत्रमा काम गर्दै आएको उहाँको भनाइ थियो । छात्रवृत्तिका लागि छनोट भएका विद्यार्थीलाई सिफारिसपत्र वितरण गरिएको छ ।   अल्पसङ्ख्यक र सीमान्तकृत समुदायका विद्यार्थीलाई पनि छात्रवृत्ति वितरण गरिएको छ । “जेहेन्दार विद्यार्थीलाई पढाइमा प्रोत्साहन गर्ने नीति लिएका छौँ”, शैक्षिक प्रशासन महाशाखा प्रमुख सुभाषचन्द्र आचार्यले भन्नुभयो । तीसवटा संस्थागत विद्यालयबाट छात्रवृत्ति दिइएको छ ।   छात्रवृत्ति पाएकामध्ये विज्ञानतर्फ एक सय ८९ र अन्य ७७ जना छन् ।   छात्रवृत्ति पाउनेमा जेहेन्दारतर्फ ९९, गरिब तथा विपन्नतर्फ ९६, आदिवासी जनजातितर्फ २६, दलिततर्फ १३, अपाङ्गता भएका आठ, जनआन्दोलनका घाइते तथा सहिदका सन्ततितर्फ २४ रहेका छन् ।   महानगरले वार्षिक रूपमा छात्रवृत्ति वितरण गर्दै आएको छ । गत वर्ष महानगरले दुई सय ७४ जनालाई छात्रवृत्ति दिएको थियो ।

काठमाडौं:    शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले माध्यमिक तहसम्मको शिक्षालाई अनिवार्य र निःशुल्क बनाउने सरकारको योजना रहेको बताउनुभएको छ ।       राष्ट्रिय शिक्षा दिवस–२०८१ मूल समारोह समितिको आजको बैठकलाई सम्बोधन गर्नुहुँदै उहाँले सो व्यवस्था कार्यान्वयनका लागि शिक्षासम्बन्धी ऐन÷कानुनको प्रभावकारी कार्यान्वयन र समयानुकूल परिमार्जन गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो ।         मन्त्री भट्टराईले दिवसलाई आआफ्नो तहबाट सप्ताहव्यापी कार्यक्रम तय गरी मनाउन अनुरोध गर्नुभयो । यसैगरी उहाँले प्रदेशस्तरमा शिक्षा दिवसका कार्यक्रम तर्जुमा गरी सञ्चालन गर्न प्रदेश सरकार, मुख्यमन्त्रीको कार्यालयलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत अनुरोध गरी पठाउने र प्रदेशका शिक्षा हेर्ने मन्त्रालयलाई शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले पत्राचार गर्ने बताउनुभयो ।       दिवसलाई भव्य र सभ्य बनाउने उद्देश्यले सरोकार भएका  मन्त्रालय, सङ्घ÷संस्था र अन्य सम्बन्धित निकायसँग आज छलफल गरिएको हो । बैठकमा राष्ट्रिय शिक्षा दिवस मनाउने सम्बन्धमा मन्त्रालयबाट हालसम्म भएका कामकारबाही, दिवसका आदर्श वाक्य तय, विभिन्न उपसमिति गठन गर्ने सम्बन्धमा छलफल भएको थियो ।       आजको बैठकले राष्ट्रिय शिक्षा दिवस मनाउने सन्दर्भमा सम्बन्धित विभिन्न निकाय र तहलाई अनुरोध गर्ने निर्णयसमेत गरेको छ । दिवसको मूल आयोजक समितिमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष र सदस्यहरू, विभिन्न पालिकाका प्रमुख, नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति, विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष, त्रिभुवन विश्वविद्यालयका उपकुलपति र नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपतिसहित एक सय ३० जना विभिन्न सरोकारवाला सङ्घरसंस्थाका प्रतिनिधिहरु सदस्य रहनुभएको छ ।       नेपाल विद्याभूषण, नेपाल प्रविधि विद्याभूषण, नेपाल छात्रा विद्यापदक र राष्ट्रिय शिक्षा पुरस्कारसम्बन्धी निर्देशिका, २०७७ बमोजिम दिवशका अवसरमा प्रदान गरिने पुरस्कारका लागि यसअघि नै निवेदन माग तथा सम्बन्धित निकायबाट नाम सिफारिस गरी पठाउन सार्वजनिक सूचना जारी गरिनुका साथै सम्बन्धित निकायमा पत्राचार गरिसकेको त्यस अवसरमा जानकारी दिइयो । नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयअनुसार प्रत्येक वर्ष असोज २ गते राष्ट्रिय शिक्षा दिवस मनाउन थालिएको हो । 

गण्डकी:    ‘निरन्तर शिक्षाका लागि पुस्तकालय’ भन्ने नारासहित यही भदौ १५ गते १७औँ राष्ट्रिय पुस्तकालय मनाइँदैछ । गण्डकी प्रदेशमा रहेका सामुदायिक तथा सार्वजनिक पुस्तकालय पनि रचनात्मक र सन्देशमूलक कार्यक्रमसहित दिवस मनाउने तयारीमा छन् । उक्त दिवसका अवसरमा पोखरा सार्वजनिक पुस्तकालय÷अमेरिकन कर्नर पोखरा र नेपाल पुस्तकालय सङ्घ गण्डकी प्रदेश समितिको संयुक्त आयोजनामा कास्की जिल्ला विद्यालयस्तरीय चित्रकला प्रतियोगिता आयोजना गरिएको छ । उक्त प्रतियोगितामा प्रथम हुनेलाई रु सात हजार, द्वितियलाई रु पाँच हजार, तृतीयलाई रु चार हजार र सान्त्वना पुरस्कार रु दुई हजार राखिएको छ ।  यस्तै विसं २००३ सालमा स्थापना भएको देशकै अग्रणीमध्येको विद्यामन्दिर पुस्तकालय, बागलुङले पाँच दिवसीय कार्यक्रमसहित उक्त दिवस मनाउने भएको छ ।  दिवसका अवसरमा यही भदौ ११ गते पुस्तकालय परिसर सरसफाइसहित सदरमुकामका चोकमा दिवसको प्रचारात्मक ब्यानर प्रदर्शन गरिनेछ । १२ र १३ गते गते विद्यालय उमेरका बालबालिकालाई लक्षित गरी ‘सिर्जनात्मक लेखन कार्यशाला’ आयोजना गरिएको पुस्तकालयका सचिव राजनप्रसाद शर्माले जानकारी दिनुभयो ।  १४ गते पुस्तकालय दिवससँग सम्बन्धित शीर्षकमा बागलुङ नगरपालिकास्थित माध्यमिक विद्यालयस्तरीय निबन्ध लेखन प्रतियोगिता आयोजना गरिएको छ ।  सोही दिन पुस्तकालयको बाल कक्षमा अध्ययनरत बालबालिकाको स्वास्थ्य परीक्षण तथा शैक्षिक सामग्री वितरण गरिने सचिव शर्माले बताउनुभयो ।  दिवसका सन्दर्भमा जिल्ला प्रहरी कार्यालयको हिरासत कक्षमा पुस्तक उपहार दिने कार्यक्रमसमेत तय गरिएको उहाँले जानकारी दिनुभयो । भदौ १५ गते सम्मान र पुरस्कार वितरणसहित मूल समारोह आयोजना गरिएको उहाँको भनाइ छ ।  सोही समारोहमा पुस्तकालयको विभिन्न पदमा रही ४० वर्षसम्म सेवा पु¥याउनुभएका पुस्तकालयका संरक्षक समिति सदस्य हरिहर श्रेष्ठलाई दीर्घ सेवा सम्मान प्रदान गरिने भएको छ ।  “हामीले बर्सेनि पुस्तकालय दिवसलाई विशेष रुपमा मनाउँदै आएका छौँ”, सचिव शर्माले भन्नुभयो, “बालबालिकाको सिर्जनात्मक क्षमता विकाससँगै उनीहरुलाई पुस्तकालयप्रति आकर्षित गर्ने गरी यस वर्षको कार्यक्रम तय गरिएको छ ।” राणाकालको प्रतिकूल समयमा खुलेका कारण पनि विद्यामन्दिर पुस्तकालयको अलग्गै पहिचान र गरिमा छ । धवलागिरि क्षेत्रको शैक्षिक, सामाजिक र राजनीतिक जागरणको केन्द्रका रुपमासमेत यस पुस्तकालयलाई लिने गरिन्छ ।  स्थापनाकालमा काठमाडौं उपत्यका हुँदै भारतको दिल्ली, गोरखपुरसम्मबाट भरिया लगाएर ल्याइएका पुस्तक सङ्ग्रह गरेर सुरु गरिएको पुस्तकालयमा अहिले विभिन्न विधाका गरी करिब १७ हजार पुस्तक छन् ।  पुस्तकालयमा विद्युतीय पुस्तकालय (ई–लाइब्रेरी) पनि सञ्चालित छ । प्रारम्भिक चरणमा विद्यालयको कोठा हुँदै सार्वजनिक पौवामा चलेको पुस्ताकालयले अहिले आफ्नै सुविधासम्पन्न भवनबाट सेवा दिँदै आएको छ ।  यस पुस्तकालयका संस्थापक दिवङ्गत ओमप्रसाद गौचन र मेघकुमार वैद्य हुनुहुन्छ । पुस्तकालयमा छुट्टै बाल पुस्तकालय स्थापनाको तयारी अगाडि बढेको छ ।  पर्वतको फलेवासमा रहेको मोती सामुदायिक पुस्तकालयले पनि विविध रचनात्मक कार्यक्रम गरी दिवस मनाउने तयारी गरेको छ । पुस्तकालयका पुस्तकाध्यक्ष इन्द्र सापकोटाकाअनुसार समुदायमा सरसफाइ सचेतना, ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण, सम्मान, चित्रकला प्रतियोगितालगायत कार्यक्रम तय गरिएको छ ।  गत साउन २१ गते शिक्षा, विज्ञान, तथा प्रविधि मन्त्रालयको सचिवस्तरीय बैठकबाट ‘निरन्तर शिक्षाका लागि पुस्तकालय’ भन्ने आदर्श वाक्यसहित १७औँ राष्ट्रिय पुस्तकालय दिवस मनाउने निर्णय गरेको थियो ।  पुस्तकालयमार्फत ज्ञान, सीप तथा सूचना पहुँच, अध्ययन गर्ने बानीको प्रवद्र्धन र सामुदायिक भावना सम्मिलित समावेशी तथा सहभागितामूलक कार्यक्रम गरी भव्य रुपमा उक्त दिवस मनाउन मन्त्रालयले सार्वजनिक तथा सामुदायिक पुस्तकालयहरुलाई अनुरोध गरेको छ । गण्डकी प्रदेशका ११ जिल्लामा हाल ४० भन्दा बढी सार्वजनिक तथा सामुदायिक पुस्तकालय सञ्चालित छन् ।

पर्वत:     मोदी गाउँपालिका–५ बाजुङस्थित सरस्वती माध्यमिक विद्यालयलाई बस खरिद गर्न जापानी नागरिकले रु पाँच लाख ३५ हजार प्रदान गरेका छन् ।  जापानी नागरिक मात्सुसिता हिरोयुकी र उहाँकी पत्नी रियो मितोको आर्थिक सहयोगमा २० वर्ष अगाडि उक्त विद्यालयका दुईवटा भवन निर्माण भएका थिए । यसपटक उहाँहरूले बस खरिद गर्न उक्त रकम विद्यालयका प्रधानाध्यापक अजय लामिछानेलाई बिहीबार हस्तान्तरण गर्नुभएको हो ।  प्रधानाध्यापक लामिछानेका अनुसार यसअघि जापानको नागासाकी निची लायन्स क्लबले बस खरिद गर्न रु १० लाख प्रदान गरेको थियो । उक्त रकबाट बस खरिद गर्न अपुग भएपछि विद्यालयले स्थानीय मोदी गाउँपालिकासँग रु १५ लाख सहयोग मागेको थियो ।  उक्त पालिकाबाट ऋण सहयोग प्राप्त नभएका बेला जापानी दम्पतीबाट सहयोग भएको हो । यो दम्पतीले विद्यालयका लागि पाँचकोठे भवन निर्माण गरिदिएका थिए भने हरेक दुई वर्षमा विद्यालयमा नै आएर विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएका छन् । उनीहरूले गरिब तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण, सीप र कला सिकाउने गरेका छन् ।  स्थानीयवासी डा खड्गबहादुर केसीमार्फत जापानी दम्पती विद्यालयसँग जोडिएका हुन् । डा केसी त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष हुनुहुन्छ ।  

रामेछाप:    यहाँको मन्थली नगरपालिका–१ सानी मदौका स्थानीय तेजप्रसाद सुवेदीले व्यक्तिगत खर्चमा जिल्लाका विभिन्न नौ वटा विद्यालयका तीन सय १२ जना गरिब तथा जेहेन्दार छात्राहरुलाई छात्रावृत्ति वितरण गर्नुभएको छ ।  उहाँले जेहेन्दार छात्रा शिक्षा हातेमालो कार्यक्रममार्फत नगद, एक वर्षलाई पुग्ने दुई दर्जन बढी कापी, डटपेन झोला र विद्यालय पोसाक वितरण गर्नुभएको हो ।   ती विद्यालयले छनोट गरेका गरिब तथा जेहेन्दार छात्रामध्ये केहीलाई पूर्ण र केहीलाई आंशिक दिइएको छ । उहाँले ग्रामीण भेगमा छोरीलाई पढाउनुपर्छ भन्ने मान्यता कम भएकाले छोरीलाई पनि छोरा सरह शिक्षा दिनुपर्छ भन्ने मूल सन्देश दिन गरिब तथा जेहेन्दार छात्रालाई पठनपाठनमा सहयोग पुगोस् भनि विगत आठ वर्षअघिदेखि सहयोग गर्दै आइरहेको बताउनुभयो । पूर्ण छात्रावृत्ति अन्तर्गत प्रति विद्यार्थी १८ हजार नगद, विद्यालय पोसाक र झोला वितरण गरिएको  छ, भने  आंशिक तर्फ विद्यालय पोसाक, झोला र एक वर्षलाई पुग्ने कापी, डटपेन वितरण गरिएको छ । सहयोग रकम पाएपछि आफूजस्ता गरिब तथा जेहेन्दार छात्रालाई पठनपाठनका लागि सहज भएको मन्थली माविको कक्षा ७ मा अध्ययनरत छात्रा इन्दिरा बुढाथोकीले बताउनुभयो ।  भैरवी मावि सुनारपानीमा अध्ययनरत छात्रा गीता कार्कीले आफू जस्ता विद्यार्थी यस कार्यक्रममा सहभागी हुन पाउँदा खुसी लागेको बताउनुहुन्छ । “गाउँमा अझै छोराछोरीबीचको विभेद् कायम छ, छोरालाई निजी र छोरीलाई सामुदायिक विद्यालयमा पढाउने गरिन्छ”, तामाकोशी क्याम्पस खिम्तीका क्याम्पस प्रमुख दिवाकर खड्काले भन्नुभयो, “शैक्षिक सामग्री किन्न नसक्ने ग्रामीण परिवेशका अभिभावकलाई यस कार्यक्रमले सहयोग पुगेको छ ।” आठ वर्ष अघिदेखि छात्रावृत्ति कार्यक्रम सञ्चालन गदै आउनु भएका सुवेदी परिवारको यस वर्षको कार्यक्रम नवौँ हो । उक्त कार्यक्रममा प्रत्येक वर्ष रु १० लाख भन्दा बढी खर्च हुने गरेको  छ ।  छात्रावृत्ति पाउने क्याम्पस तथा विद्यालयमा मन्थली सहिदस्मृति बहुमुखी क्याम्पसका छ जना, तामाकोशी क्याम्पस खिम्तीका १२ जना, सेतीदेवी मावि सालु, भैरवी मावि सुनारपानी र शिद्धेश्वर मावि गैराथोकका  १०÷१० जना  विद्यार्थी रहेका छन् ।  त्यसैगरी  जनविजय आधारभूत विद्यालयका ५७, हरिसिद्धी मावि चौकीघर फुलसीका ६२ र मावि चिण्डे फूलासीका एक सय १३  गरि कूल तीन सय १२ जना छात्रा यो कार्यक्रमबाट लाभान्वित भएका छन् ।  

काठमाडौं:    पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा अब चिकित्सा शिक्षा अध्ययनअन्तर्गत ‘एमबिबिएस’ अध्ययन सुरु गर्न बाटो खुलेको छ ।  सरकारअन्तर्गतका दुवै प्रतिष्ठानमा ‘एमबिबिएस’ पढाइ सञ्चालनका लागि अर्थ मन्त्रालयले स्रोत सुनिश्चिता गरेको छ । अर्थले यससम्बन्धी पत्र हालै मन्त्रालयलाई पठाएको छ ।      गत साउन २७ गते आफ्नो प्राथमिकता तथा योजना सार्वजनिक गर्दा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले दुवै प्रतिष्ठानमा यसै वर्ष चिकित्सा शिक्षा सुरु गर्ने घोषणा गर्नुभएको थियो । मन्त्रालयले पाँच करोड विनियोजन गरे पनि थप स्रोत सुनिश्चित नहुँदा पढाइ सुरु गर्न सकिएको थिएन ।      मन्त्रालयले अर्थसँग समन्वय गरेपछि हालै रकम सुनिश्चित बनेको हो । दुवै प्रतिष्ठानले पाँच वर्षअघि पूर्वाधार विकास गरेर बसेका थिए तर मन्त्रालयगत बजेट प्राप्त नहुँदा अघि बढ्न नसकेको कार्यक्रम यसपालि अघि बढेको हो । चिकित्सा आयोगले पूर्वाधारका आधारमा दुवै प्रतिष्ठानमा ‘एमबिबिएस’ पठनपाठनका लागि सिट निर्धारण गर्नेछ । सोही आधारमा पठनपाठन अघि बढाउने मन्त्रालयले तयारी थालेको छ ।      “देशमा चिकित्सक अभाव रोक्न दक्ष जनशक्ति उत्पादन बढाउने हाम्रो लक्ष्य हो,” मन्त्री पौडेलले भन्नुभयो, “प्रतिष्ठानमा चिकित्सा शिक्षा अध्ययनसँगै थप चिकित्सक अध्ययन गर्ने मार्ग खोल्न हामी लाग्नेछौँ ।”        मन्त्री पौडेलको प्राथमिकता तथा योजनामा एक सय शय्याभन्दा माथिका सरकारी अस्पतालमा नर्सिङ र तीन सय शय्याभन्दा माथिका सरकारी अस्पतालमा स्नातक र स्नातकोत्तर तहका विषय अध्यापन गर्न विगतमा भएका अध्ययन पुनरावलोकन गरी चिकित्सा शिक्षा आयोगको परामर्शका आधारमा कार्यान्वयन गरिने पनि उल्लेख छ । यसअनुसार आवश्यक तयारीका लागि मन्त्रालयले काम अघि बढाएको जनाएको छ ।

कैलाली:    कैलालीका केही सामुदायिक विद्यालयले पूर्ण रूपमा निरन्तर मूल्याङ्कन प्रणाली कार्यान्वयनमा ल्याएको छन् । विद्यालयले कक्षा १ देखि ३ सम्म पूर्ण रूपमा निरन्तर मूल्याङ्कन लागू गरेका हुन् । अब कक्षा १ देखि ३ का लागि प्रश्नपत्र नबनाई निरन्तर मूल्याङ्कनका आधारमा विद्यार्थीको मूल्याङ्कन गरिने भएको छ ।  टीकापुर नगरपालिका र आसपासका पालिकाले कक्षा १ देखि ३ मा पूर्ण रूपमा निरन्तर मूल्याङ्कन लागू गरेका छन् । टीकापुरले यसै वर्षदेखि कक्षा १ देखि ३ पूर्ण रूपमा निरन्तर मूयाङ्कन लागू गरेको हो ।  कक्षा १ देखि ३ सम्मको आउने भदौ ४ गतेदेखि हुने सामुदायिक विद्यालयको प्रथम त्रैमासिक परीक्षाको प्रश्नपत्र निर्माण नगर्ने र निरन्तर मूल्याङ्कनका आधारमा मूल्याङ्कन गरिने शिक्षा अधिकृत नरेश अवस्थी बताउनुहुन्छ ।  “अब हामीले ३ कक्षासम्म प्रश्नपत्र बनाउने, परीक्षा लिने काम गर्दैनौँ, निरन्तर मूल्याकङ्नका आधारमा उहाँहरूको नतिजा आउनेछ”, उहाँ भन्नुहुन्छ, “साना नानीबाबुको केही समयको परीक्षाले मूल्याकङ्न हुँदैन भनी निरन्तर मूल्याकङ्न थालेका हौँ ।” जोशीपुर गाउँपालिकाले पनि यसै वर्षबाट निरन्तर मूल्याङ्कनलाई कडाइका साथ लागू गर्ने र अन्य कक्षाको लागि प्रश्नपत्र निर्माण गर्न थालेको छ । “हामीले पनि कक्षा ३ सम्म प्रश्नपत्र बनाउन छाडेका छौँ”, शिक्षा अधिकृत सङ्ग्रामसिंह धामी उहाँ भन्नुहुन्छ, “शैक्षिक सुधार, गुणस्तर वृद्धिमा ध्यान दिइरहेका छौँ । साना बालबालिकाको मूल्याकङ्नका आधारमा परीक्षा हुनेछ ।” शिक्षा अधिकृत धामी कुनै विद्यालयले विद्यार्थीको क्षमता बढाउन प्रश्नपत्रको आधारमा परीक्षा लिए पनि त्यसलाई नतिजाको आधार नबनाइने बताउनुहुन्छ । “परीक्षा अन्य प्रयोजनका लागि विद्यालयले लिन सक्नेछन्”, उहाँले भन्नुभयो, “परीक्षा त मासिक, साप्ताहिक परीक्षण हुनेछ तर कक्षामा लिइएको परीक्षा नतिजामा समावेश हुनेछैन ।” जानकी गाउँपालिकाले पनि यसै वर्षदेखि निरतनर मूल्याङ्कन शतप्रतिशत लागू गर्ने र अहिले सञ्चालित प्रथम त्रैमासिक परीक्षामा पनि कक्षा १ देखि ३ मा प्रश्नपत्र निर्माण नगरिएको शिक्षा अधिकृत धर्मानन्द कपाडी बताउनुहुन्छ ।  “विद्यालयलाई निरन्तर विद्यार्थी मूल्याकङ्नका लागि पुस्तिका उपलब्ध गराएका छौँ, पुस्तिकामा भएको मापदण्डअनुसार मूल्याङ्कन हुनेछ”, उहाँ भन्नुहुन्छ, “त्यसैका आधारमा अन्तिम नतिजा प्रकाशित हुन्छ । कतिपय विद्यालयले विद्यार्थी ब्यस्त राख्न परीक्षा गरेको देखिन्छ तर यो आन्तरिक प्रयास मात्र हो ।” टीकापुर, जोशीपुर र जानकीले जस्तै लम्कीचुहा नगरपालिकाले पनि यस वर्षबाट कडाइका साथ निरन्तर मूल्याङ्कनलाई जोड दिएको छ । गत वर्षबाट लागू गर्ने प्रयास गरे पनि सफल नभएको र यस वर्षबाट भने लागू गरिसकेको शिक्षा अधिकृत गौरीकान्त न्यौपानेले बताउनुभयो ।  “राष्ट्रिय पाठ्यक्रम प्रारुपमा भएको व्यवस्थाअनुसार हामीले गत वर्ष पूर्ण रूपमा सबै विद्यालयमा लागू गर्न सकेका थिएनौँ, यस वर्ष सबैमा लागू भएको छ”, न्यौपानेले भन्नुभयो, “ अब कक्षा ४ माथिको मात्र परीक्षा हुन्छ । निरन्तर मूल्याकङ्नले शिक्षकलाई पनि जिम्मेवार बनाउँछ ।”

गोरखा:     गोरखाको भीमसेन थापा गाउँपालिका–२, तान्द्राङस्थित ओख्लेका नवीन भट्ट उमेरले अहिले ५१ वर्ष पुग्नुभयो । दुई छोरा र एक छोरीलाई हुकाई सक्नुभएका नवीनको अब छोराछोरीको कमाई खाएर परिवारसँग रमाएर बस्ने उमेर पनि नभएको होइन ।  पढ्ने उमेरमा घरायसी समस्याका कारण विद्यालय शिक्षा पूरा गर्न नसक्नु भएका उहाँलाई यतिबेला फेरि पढ्ने रहर जागेपछि परिवारिक सुखसयल समेत छोडेर विद्यालय भर्ना हुनुभएको छ । पढ्ने इच्छा पूरा गर्न चालु शैक्षिक सत्रदेखि घर छोडेर गोरखा नगरपालिका–६, स्थित शक्ति माध्यमिक विद्यालयमा कक्षा ९ भर्ना हुुनुभएका नविन विद्यालयमै बस्ने व्यवस्था मिलाएर पढ्न थाल्नुभएको हो ।      “अहिले म मेरा छोराछोरीसरहका साथी र शिक्षकसँग पढिरहेको छु,” उहाँले भन्नुभयो, “शिक्षक तथा साथीभाइको सहयोगले पढ्नका लागि निकै सहज भएको पनि छ ।” सानैदेखि पढ्नमा लगनशील भए पनि उमेरमा पढ्न र लेख्न नपाएकामा अहिले पनि बेलाबेलामा उहाँलाई दुःख लाग्ने गरेको छ ।      बुढेसकालमा पढ्न थालेको देख्दा कतिपयले आफ्नो कुरा समेत काट्ने गरेको नवीनले बताउनुभयो तर कसैको कुराको कुनै प्रवाह नगरी आफ्नो लक्ष्य हासिल गर्नका लागि आफूले पढाइमा ध्यान दिने गरेको उहाँको भनाइ छ ।        “जसले जे–जे भने पनि मलाई पढेर चिकित्सक बनेर सबैको सेवा गर्ने ठूलो धोको छ”, उहाँले भन्नुभयो, “अनुशासित भएर पढ्छु र राम्रोसँग एसइई पास गरेर प्लस टूमा साइन्स र सकेदेखि ब्याचलरमा एमबिबिएस पढ्छु भन्ने लागेको छ ।” विसं २०५३ सालमा एसएलसीमा फेल भएपछि पढाइ छोड्नु भएका नवीनले करिब २९ वर्षपछि फेरि  विद्यालयमा पढ्न थाल्नुभएको हो ।      कक्षा १२ सम्म पढ्न विद्यालयले खर्च नलाग्ने भनेकाले आफूलाई थप उत्साहित बनाएको उहाँको भनाइ छ । “गएको वैशाखदेखि विद्यालयमा भर्ना भएर पढ्न थालेको हो, नवीनले भन्नुभयो, “बस्नका लागि विद्यालयले नै एउटा कोठा दिएको छ, खानका लागि चामल, नुन, तेल, तरकारी पनि सहयोग जुट्ने गरेको छ सजिलो भइरहेको छ ।”      कक्षामा पहिलो दिन आफ्ना छोराछोरीको उमेरका नानीबाबुसँग पढ्न अलिअलि लाज र डर नलागेको पनि होइन तर बिस्तारै सङ्गत गर्दै जान थालेपछि अहिले निकै सहज भएको उहाँ बताउनुहुन्छ । “नियमित रुपमा पढेर पास गर्न सके भने ६२ वर्षमा त एमबिबिएस पूरा गर्छु, उहाँले भन्नुभयो, “त्यतिबेला मेरो जागिर खाने अवस्था त हुँदैन तर गाउँघरमा एक्लै बसेका बूढाबूढीको सेवा गर्ने धोको छ ।”      उहाँलाई कहिलेकाहीँ बेलैमा पढ्न सकेको भए राम्रो जागिर खान सकिने रहेछ भन्ने पनि लाग्ने गर्छ । “मेरो जेठो छोरो पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबिबिएस पढ्दैछ,” उहाँले भन्नुभयो, “इच्छाशक्ति भए नहुने भन्ने हुँदैन भन्ने लागेर फेरि पनि पढ्न थालेको हुँ ।” विद्यालय र कक्षाकोठामा सहपाठीले अङ्कल दाइ, बाजे भनेर सम्बोधन गर्दा खुसी लाग्ने गरेको नवीन बताउनुहुन्छ ।      घर छोडेर सदरमुकाममा बसेर पढ्न थालेपछि नवीनकी श्रीमती छोरी लिएर माइत बस्न थालेका छन् । विद्यालयमा अन्य विद्यार्थीको जस्तो नभए पनि नवीन आफूले नजानेको कुरा तत्कालै शिक्षक तथा सहपाठीहरुसँग सोध्ने र सिक्ने बानी रहेको विद्यालयका प्रधानाध्यापक बद्री अर्यालले बताउनुभयो ।  “विद्यार्थीका रुपमा नवीनको उपस्थितिले अरूलाई पनि प्रोत्साहन मिलेको छ,” प्रधानाध्यापक आर्चायले भन्नुभयो, “उहाँले देखाउनुभएको अनुशासन र लगनशीलताका कारण शिक्षक तथा विद्यार्थीहरु सबै प्रभावित भएका छौँ ।” कहिलेकाहीँ शिक्षक, कर्मचारीले पैसा उठाएर समेत नवीनलाई पढ्न तथा खानका लागि सरसामान किनिदिने गरेको उहाँले बताउनुभयो ।

पोखरा:     शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले शैक्षिक क्षेत्रमा सुधार गर्न नेकपा एमालेले शिक्षा मन्त्रालय रोजेको बताएकी छिन् ।  नेकपा (एमाले) कास्कीले शनिबार पोखरामा आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रममा बोल्दै मन्त्री भट्टराईले शिक्षा क्षेत्रमा भएको कमजोरी सुधार गर्नका लागि शिक्षा मन्त्रालय एमालेलले लिएको बताएकी हुन् ।  मन्त्री भट्टराईले २०२८ को शिक्षा ऐनलाई पटकपटक संशोधन गरेपनि अहिलेको सन्दर्भमा ऐन बन्न नसकेको बताउँदै संसदको समितिमा शिक्षा विद्येयक बिचाराधिन रहेको उल्लेख सुनाइन् ।  ‘शिक्षा विद्येयकमा शिक्षा कस्तो भनेर विद्येयकमा ल्याएका छैनौं, विद्यालय शिक्षा केही व्यवस्थित गर्ने गरी ल्याएका छौं, अझै उच्च शिक्षा ऐन, पूर्ण रुपमा प्राविधिक शिक्षा ऐन बन्न बाँकी छ, त्यसलाई पूनरावलोकन गर्न बाँकी छ,’ मन्त्री भट्टराईले भनिन् ।  उनले शिक्षा ऐन नहुँदा विद्यालय र बालविकास क्षेत्रमा काम गर्न शिक्षक कर्मचारीहरुले थोरै तलब सेवा सुविधा लिएर काम गर्न बाध्य भएको उल्लेख गरिन् ।   ‘हिजोको दिनमा ऐन संशोधन भए पनि हक र अधिकारीलाई संस्थागत गर्न नसक्दा शिक्षक सडकमा आउन परेको छ ।  सरकारले त्यो आन्दोलनलाई सरकारले एकछिनका लागि स्विकार गरेको छ’, उनले भनिन्, ‘स्विकार गरेको विषयलाई ऐनमा कसरी कायम गर्ने चुनौती अझै छन्, सबै चुनौतीलाई समाधान गर्दै शिक्षाको सुधारका लागि नीति नियम र कानून बनाएर शिक्षामा सुधार गर्न नेकपा एमाले शिक्षा मन्त्रालय लिएको छ ।’ उनले जनताको गुनासो सम्बोधन गर्न नीति नियम र ऐनको अभावको कारण गुनासो सम्बोधन गर्न नसकिएको बताइन् ।  ‘सांसदहरुले नीति नियम बनाउने राजनीतिको पाटो हो भनेर बुझ्न सकेका छैनौं, नीति, नियम, कानून र ऐन नहुँदा सरकार र राज्य प्रभावकारी बन्न सकेको छैन, उनले भनिन्, ‘गुनासो आउँछ, गुनासोलाई कसरी सम्बोधन गर्न सकिन्छ भनेर ऐन पल्टाउँछ । तर, नीतिगत रुपमा गुनासो सम्बोधन गर्न सक्दनौं । केही व्यक्तिलाई सेवा दिन सकौला तर आम जनतालाई सेवा दिन सक्दनौं ।’ उनले जनताको गुनासो सम्बोधन गर्न नसक्दा लोकतन्त्रको आभाष गर्न नसकेको समेत बताइन् । ‘जनताले लोकतन्त्रको आभाष गर्न नसकेको यथार्थता हो, वास्तविकता हो । जनताको गुनासो सम्बोधन गर्न लागि नै नेकपा एमालेले त्यो जनगुनासोलाई सम्बोधन गर्दै जनतालाई समृद्धितर्पm उन्मुख गराउने छौं । आम जनताको भाषालाई बोकेर हिड्छौं,’ उनले भनिन् ।