पोखरा वडा नं. ५, पर्स्याङस्थित शान्ति निकेतन स्कूलले सुविधासम्पन्न भवन निर्माण गर्ने भएको छ ।   आफ्नै जग्गामा १५ करोड लागतमा अत्याधुनिक प्रविधिमैत्री भवन निर्माण गर्न लागेको विद्यालयले जानकारी दिएको छ । ...

चितवन:   नयाँ शैक्षिकसत्र सुरु भएसँगै यहाँस्थित जनक शिक्षा सामग्री केन्द्र प्रादेशिक कार्यालयले आफूसँग विद्यालयस्तरका पाठ्यपुस्तकको मौज्दात पर्याप्त रहेको बताएको छ ।   कार्यालय प्रमुख धनबहादुर केसीका अनुसार कक्षा ३ देखि १२ सम्मका ३१ लाख ३४ हजार १०८ थान पुस्तक मौज्दात छन् ।   केन्द्रबाट चितवनसहित छ जिल्लामा पुस्तक जाने गरेको छ । केन्द्रले पूर्वी तनहुँ (देवघाट र खैरहनी गाउँपालिका), रौतहट, बारा, पर्सा मकवानपुर, नवलपरासी (वर्दघाट सुस्तापूर्व) र चितवनमा बिक्री गर्दै आएको छ ।   प्रमुख केसीले भने, “शैक्षिकसत्र सुरु हुनुअघि नै पाठ्यपुस्तक विद्यार्थीको हातहातमा पुर्याउने गरी बिक्री सुरु भएको छ ।” गत वर्ष १४ लाख ७६ हजार ३५९ थान पुस्तक बिक्री भएका थिए ।   गत वर्ष कक्षा ३, ४ र ५ को पाठ्यपुस्तक निजी क्षेत्रले पनि बिक्री गरेका थिए । यो वर्ष कक्षा ३ देखि नै केन्द्रले पाठ्यपुस्तक बिक्री गरेको छ ।

पोखरा महानगरपालिका–१, मोहरिया टोलमा ‘‘गुणस्तरीय शिक्षा, अनुशासन र ज्ञान’’ भन्ने मूल नारासहित सञ्चालित विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुलमा  नि:शुल्क आँ आँखा परिक्षण सम्पन्न भएको छ ।   वार्षिक परीक्षाको परीक्षाफल प्रकाशन गर्ने कार्यक्रमको अवसरमा आँखा परीक्षण तथा विविध कार्यक्रम सम्पन्न भएको हो ।   हिमालय आँखा अस्पतालले प्राविधिक सहयोगमा भएको सो शिविरमा  अभिभावक, विद्यार्थी, शिक्षक, शिक्षिका, कर्मचारीका साथै स्थानीयहरुगरी सय बढीले सेवा लिएका थिए ।    सोही सन्दर्भमा साँस्कृतिक कार्यक्रम, शैक्षिक सत्र २०८१ मा कक्षागत रुपमा उत्कृष्ट हुने विद्याथीहरुलाई  पुरस्कृत गरिएको थियो ।    उक्त कार्यक्रममा प्राचार्य कृष्णकुमार श्रेष्ठले विद्यालयको  बार्षिक प्रगती प्रतिवेदन तथा शैक्षिक शत्र २०८२ को लागि  कार्ययोजना राख्दै  विभिन्न विद्यामा उत्कृष्ट हुने विद्यार्थी, शिक्षक, कर्मचारी तथा अभिभावकहरुलाई अर्वाड वितरण गरेका थिए ।   विद्यालयका संस्थापक शम्भु कार्कीको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन शिक्षिका माया क्षेत्रीले गरेकी थिइन् ।

पोखरामा आगामी २६ गते आइटीको विकसित पाठ्यक्रमबारे छलफल हुँदैछ  ।   बेलायतको एनसिसी एजुकेशनसँगको सहकार्यमा नेपाल भित्रिएको आइटीको विकसित पाठ्यक्रमको बारेमा विभिन्न शैक्षिक संस्थाका प्रतिनिधिहरुसँग छलफल गरिने गण्डकी प्रदेशका प्र्रतिनिधि किसान सुनारले जानकारी दिए  ।   उनका अनुसार गण्डकी प्रदेशको जिम्मेवारी तेजारथ ग्रुपले लिएको छ । उक्त छलफलमा कक्षा १ देखि १२ सम्म सञ्चालन हुने आइटी करिकुलमबारे अन्तरक्रिया हुनेछ ।    डिजी स्कुलका सिइओ राजु बाँनियाले पछिल्लो सयम सूचना र प्रविधिको युग भएकाले आइटीको क्षेत्रमा परिस्कृत पाठ्यक्रम आवश्यक भएको बताउदै उक्त करिकुलम बेलायतको एनसिसीसँग सहकार्य गरेर नेपाल भित्राइएको जानकारी दिए ।    ‘एक्काइसौं शताब्दी सूचना र प्रविधिको युग भएकाले अहिले नेपालमा भएको भन्दा परिस्कृत र विकसित आइटी करिकुलम यहाँ भित्राएका हौं, उनले भने, ‘आजको समयानुसार विद्यार्थीहरु विश्व बजारमा बिक्न सक्ने खालको यो आइटी करिकुलम छ । यसको विविध पक्षबारे कनेक्ट एण्ड लिडमा छलफल हुनेछ ।’      डिजी स्कुलले भित्राएको आइटी करिकुलम अहिले निजी स्कुलहरुमा भएको कम्प्युटर कोर्स भन्दा नितान्त पृथक र विकसित भएको बानियाँले बताए  ।   सो कार्यक्रममा करिकुलमको फाइदा तथा लागत र विविध पक्षहरुका बारेमा गण्डकी प्रदेश तथा आसपासका विद्यालयका प्रतिनिधिहरुसँग वृहत अन्तरक्रिया हुुने बताइएको छ । 

नेपाल शिक्षक महासङ्घले विभिन्न माग राख्दै सुरु गरेको आन्दोलन आज पनि जारी छ ।   आज शिक्षकहरु बबरमहल–बानेश्वर सडकमा भेला भएर सिठ्ठी बजाउँदै शान्तिपूर्ण तरिकाले सरकारको ध्यानाकर्षण गराइरहेका छन् ।   गुणस्तरीय शिक्षा, विद्यार्थी र शिक्षक–कर्मचारीमैत्री विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने माग गर्दै शिक्षकहरु यही चैत २० गतेदेखि आन्दोलित छन् ।   नेपाल शिक्षक महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले गुणस्तरीय विद्यालय शिक्षाका लागि विद्यालय शिक्षा ऐन जारी नभएसम्म आन्दोलन जारी रहने बताए ।   महाङ्सघले आज विज्ञप्ति जारी गरी यो अवधिमा उत्तर पुस्तिका परीक्षण, नतिजा प्रकाशन, तालिम-गोष्ठी, सेमिनार, शैक्षिक भ्रमणजस्ता कुनै पनि काममा संलग्न नहुन सबै शिक्षकहरुलाई आग्रह गरेको छ ।                  

तनहुँ: तनहुँमा शैक्षिक सत्र अगावै पाठ्यपुस्तक आइपुगेको छ । शैक्षिक सत्र २०८२ सुरु हुनुपूर्व नै जिल्लामा सबै पाठ्यपुस्तक आएको हो ।  सामुदायिक विद्यालयका एक सय प्रतिशत र निजी विद्यालयका ९५ प्रतिशत पुस्तक जिल्लामा आइसकेको पुस्तक व्यवसायी महासङ्घका केन्द्रीय कोषाध्यक्ष ताराराम श्रेष्ठले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “निजी विद्यालयका केही पुस्तक मात्रै आउन बाँकी छन् । अरु सबै आइसक्यो ।” जनक शिक्षा सामग्रीमार्फत् सबै पुस्तक जिल्लामा आइपुगेको उहाँले जानकारी दिनुभयो । विगतका वर्ष जस्तै यस वर्ष पनि शैक्षिक सत्र अगावै जिल्लामा पाठ्यपुस्तक आएको उहाँको भनाइ छ । जिल्लाभर ६० पुस्तक व्यवसायी छन् । सबै व्यवसायीले केही दिनमै पाठ्यपुस्तक बिक्री वितरण थाल्ने उहाँले बताउनुभयो ।  जिल्लामा समयमै पाठ्यपुस्तक आएकाले विगतका वर्षमा जस्तो समस्या नहुने शिक्षा विकास तथा समन्वय इकाइ तनहुँका प्रमुख उद्धवराज कट्टेलको भनाइ छ । इकाइका अनुसार तनहुँमा पाँच सय ५१ सामुदायिक र एक सय १९ निजी विद्यालय छन् ।  आँबुखैरेनी गाउँपालिका–४ भाँगेस्थित छिम्केश्वरी माध्यमिक विद्यालयका प्रधानाध्यापक राजेन्द्र न्यौपानेले आज विद्यालयमै पाठ्यपुस्तक आइपुग्ने जानकारी दिनुभयो । भर्ना अभियानसँगै विद्यार्थीलाई पाठ्यपुस्तक वितरण गरिने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “वैशाख २ गतेदेखि कक्षा सञ्चालन हुँदैछ । भोलिदेखि नै विद्यार्थीलाई पाठ्यपुस्तक वितरण गरिनेछ ।” आँबुखैरेनी गाउँपालिका–६ छिम्केश्वरीस्थित कन्यादेवी माध्यमिक विद्यालयका प्रधानाध्यापक सूर्यमानसिंह गुरुङले समयमै पाठ्यपुस्तक आएकाले सहज भएको बताउनुभयो । 

म्याग्दीमा नयाँ शैक्षिक सत्र सुरु नहुँदै पुस्तक वितरण गर्न थालिएको छ । नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासङ्घले जनक शिक्षा सामग्री लिमिटेडको पोखरा बिक्री केन्द्रबाट पुस्तक ल्याएर विद्यालयलाई वितरण गर्न थालेको हो ।    महासङ्घका जिल्ला अध्यक्ष नारायण शर्माले बेनीमा बिक्री कक्ष स्थापना गरेर बिहीबारदेखि विद्यालयमा पुस्तक पठाउन थालेको जानकारी दिनुभयो । “म्याग्दीका सामुदायिक विद्यालयलाई आवश्यक पर्ने १५ हजार सेट पुस्तक ल्याएर दुर्गमका विद्यालयलाई प्राथमिकता दिएर वितरण गर्न थालेका छौँ,” उहाँले भन्नुभयो, “नयाँ शैक्षिक सत्रमा भर्नासँगै विद्यार्थीको हात–हातमा पुस्तक पुग्ने व्यवस्था मिलाइएको छ ।”   म्याग्दीका २८ जना पुस्तक व्यवसायीले बेनीमा संयुक्त रुपमा पुस्तक बिक्री कक्ष स्थापना गरेका छन् ।   यस वर्ष म्याग्दीमा रु एक करोड मूल्य बराबरको पुस्तक भित्रिएको महासङ्घका सचिव धु्रवराज सुवेदीले बताउनुभयो ।   उहाँका अनुसार शिक्षा विकास तथा समन्वय एकाइ र स्थानीय तहका शिक्षा शाखाको तथ्याङ्कका आधारमा प्रतिकक्षा रु एक हजार २०० सेटका दरले पुस्तक आयात गरिएको छ । शैक्षिक सत्र सकिँदासम्म पनि विद्यार्थीले पुस्तक नपाउने समस्या पछिल्लो दुई वर्षयता हटेको छ ।    बेनी नगरपालिकाका शिक्षा अधिकृत कमल ढकालले समयमै पुस्तक खरिद र वितरणको व्यवस्था मिलाउन विद्यालयको खातामा फागुन महिनामै पुस्तकको रकम निकासा गरिएको बताउनुभयो ।   “विद्यार्थीसँग पुस्तक भयो भने स्वअध्ययन गर्न पाउँछन्,” उहाँले भन्नुभयो, “शिक्षकले पढाएको सहजै बुझ्न र सम्झन सजिलो हुन्छ ।”

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आन्दोलरत शिक्षकलाई वार्ताका लागि बोलाएको छ ।    मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले बिहीबार विज्ञप्ति जारी गर्दै आन्दोलन छाडेर वार्ताबाट समस्या सामाधान खोज्न नेपाल शिक्षक महासंघलाई आग्रह गरेका छन् ।   'शिक्षक समुदायसँग विगतझैँ फेरि पनि सान्दर्भिक छलफल गर्न र साझा धारणा निर्माण गर्न नेपाल सरकार तयार रहेकाले शिक्षा तथा कर्मचारीका प्रतिनिधिलाई मन्त्रालयमा हार्दिक स्वागत गर्दछौँ,' उनले भनेका छन् ।   विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० प्रतिनिधिसभामा पेस भई छलफलको प्रक्रियामा रहेकामा त्यसलाई यथाशीघ्र पारित गरियोस् भन्ने माग राख्दै सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीबाट केही समयदेखि ध्यानाकर्षण गराउँदै आएको विषयप्रति मन्त्रालयको ध्यानाकर्षण भएको जनाइएको छ ।   प्रवक्ता सापकोटाले विद्यालय शिक्षा विधेयक स्वीकृतिको पर्खाइमा रहेकाले यसका लागि सामूहिक सन्देश प्रवाह गर्न मन्त्रालय सदैव सकारात्मक रहेको उल्लेख गरे ।

पाेखरा:   उच्च अदालत पोखराले गण्डकी विश्वविद्यालयमा करारमा रहेका शिक्षक तथा कर्मचारीकाे स्थायी नियुक्ति प्रक्रिया अगाडि नबढाउन अन्तरिम आदेश दिएकाे छ ।   बुधबार न्यायाधीश दीपेन्द्र अधिकारी र मेरिना श्रेष्ठको इजलाशले बबुधबार अन्तरिम आदेश जारी गरेको हो ।   ठूलो संख्यामा शैक्षिक र प्रशासनिक कर्मचारीहरु माग गरिँदा अरुलाई प्रतिष्पर्धाको अवसर नदिइएको भन्दै अधिवक्ता मनोज घर्तीमगरले गत शुक्रबार उच्च अदालतमा रिट दायर गरेका थिए ।   आइतबार न्यायाधीश दीपेन्द्र अधिकारीको इजलाशले अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो ।   ‘निवेदकले उठाएका विषयवस्तु गण्डकी विश्वविद्यालय ऐन, २०७६, गण्डकी विश्वविद्यालय शिक्षक, कर्मचारीको सेवा, शर्त, नियुक्ति तथा बढुवाको लागि सिफारिस गर्ने मापदण्ड र पदस्थापनसम्बन्धी नियमावली, २०८१ समेतको रोहमा अन्तिम आदेश हुँदाको बखत विवेचना भई निरुपण हुने देखिँदा हाललाई यस अदालतबाट मिति २०८१।१२।१७ मा जारी भएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता प्रदान गरिएको छ,’ आदेशमा भनिएको छ ।   गण्डकी विश्वविद्यालयमा करारमा रहेका ७८ जना शिक्षक तथा विभिन्न तहका कर्मचारी रहेका छन् ।

मोरङ:  मोरङको सुन्दरहरैँचा नगरपालिका–१० स्थित सुकुना माध्यमिक विद्यालयका आठ जना जुम्ल्याहा विद्यार्थीले एसइई परीक्षा दिइरहेका छन् ।  यो विद्यालयबाट कोशी प्रदेशमै सबैभन्दा बढी विद्यार्थीले एसइई परीक्षा दिइरहेका र जसमध्ये आठजना जुम्ल्याहा विद्यार्थीले एकैपटक परीक्षा दिइरहेका सहायक प्रधानाध्यापक राजेन्द्र गिरीले जानकारी दिनुभयो ।      विद्यालयबाट चारवटा परीक्षा केन्द्रमार्फत ६२६ विद्यार्थी परीक्षामा सहभागी छन्, जुन सङ्ख्या एकै प्रदेशमै बढी रहेको विद्यालयको दाबी छ ।  विसं २०२९ मा स्थापना भएको यस विद्यालयमा २०३९ सालबाट ‘एसएलसी’ परीक्षा दिन सुरु गरिएको थियो । प्रदेशकै नमूना विद्यालयअन्तर्गत गर्ने यस विद्यालयमा ं२ सहित हाल चार हजार ५०० विद्यार्थी अध्ययनरत रहेका विद्यालयका प्रधानाध्यापक हिक्मतबहादुर बस्नेतले जानकारी दिनुभयो ।       कोशी प्रदेशमा ८० हजारभन्दा बढी विद्यार्थीले परीक्षा दिइरहेका छन् ।