पोखरा वडा नं. ५, पर्स्याङस्थित शान्ति निकेतन स्कूलले सुविधासम्पन्न भवन निर्माण गर्ने भएको छ ।   आफ्नै जग्गामा १५ करोड लागतमा अत्याधुनिक प्रविधिमैत्री भवन निर्माण गर्न लागेको विद्यालयले जानकारी दिएको छ । ...

काठमाडौं:   त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि दरखास्त आह्वान भएको छ । नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले रिक्त उपकुलपतिका लागि दरखास्त आह्वान गरेको हो । आज सार्वजनिक सूचनामा कुलपतिबाट रिक्त उपकुलपति नियुक्त गर्न त्रिभुवन विश्वविद्यालय ऐन २०४९ को दफा १८ को उपदफा ९२० अनुसार गठित सिफारिस समितिबाट स्वीकृत कार्यविधि २०८० अनुसार योग्यता पुगेका इच्छुक नेपाली नागरिकबाट दश दिनभित्र दरखास्त पेस गर्न भनिएको छ । दरखास्त सिंहदरबारमा रहेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा कार्यालय समयभित्र पेस गर्नुपर्नेछ । दरखास्तमा शैक्षिक, वैयक्तिक विवरणसहित सोचपत्र, चार वर्षे व्यावसायिक कार्ययोजना बुझाउनुपर्नेछ । रिक्त उपकुलपति सिफारिसका प्रधानमन्त्री एवम् विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल प्रचण्डले गएको कात्तिक तेस्रो हप्ता शिक्षामन्त्रीको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गर्नुभएको थियो । त्रिविका उपकुलपति डा। धर्मकान्त बास्कोटाको कार्यकाल कात्तिक १६ गते सकिएको थियो । बास्कोटाको कार्यकाल सकिएपछि रेक्टर शिवलाल भुसालले निमित्त उपकुलपतिको जिम्मेवारी सम्हालिरहनुभएको छ । 

काठमाडौं:    त्रिभुवन विश्वविद्यालयको ४९औँ दीक्षान्त समारोहमा आज विभिन्न सङ्काय र तहमा उपाधिप्राप्त १२ हजार चार सय १५ विद्यार्थी दीक्षित भएका छन् । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा प्रधानमन्त्री एवं कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाट विद्यार्थीहरु दीक्षित भएका हुन् । त्रिविको ६१औँ ग्रेसलिष्टमा परेका ७४ हजार सात सय ४९ विद्यार्थीमध्ये यसपटक १२ हजार चार सय १५ जनाले दीक्षान्त समारोहमा सहभागिताका लागि आवेदन दिएका थिए । निवेदन दिएकामध्ये स्नातक तहतर्फ आठ हजार ९८ जना, स्नातकोत्तर तहतर्फ चार हजार एक सय चार, एमफिलतर्फ ४४ तथा विद्यावारिधितर्फ एक सय १२ विद्यार्थी दीक्षित भएका हुन् । विश्वविद्यालयका कार्यवाहक उपकुलपति प्रा डा शिवलाल भुसालले विसं २०७९ असार १ देखि २०८० जेठ मसान्तसम्म उत्तीर्ण गरेका विद्यार्थी दीक्षान्त समारोहमा सहभागी हुन पाउने व्यवस्था गरिएको जानकारी दिनुभयो । गत वर्ष १० हजार तीन सय विद्यार्थी दीक्षान्त समारोहमा सहभागी भएका थिए । उहाँले उत्तीर्ण विद्यार्थीलाई स्वदेशमै रोजगारीसहित टिकाउने चुनौती देखिएको स्थितिमा विश्वविद्यालयले शिक्षासँगै उद्यमशीलता अपनाउने प्रतिबद्धता व्यक्त गर्नुभयोश्र।

पोखरा:   पृथ्वीनारायण क्याम्पस नेपाली विभागद्वारा सञ्चालित छात्रवृत्ति तारानाथ पराजुली र विष्णुप्रसाद काफ्लेले प्राप्त गर्न सफल भएका छन् । स्नातकोत्तर तहका छात्रछात्राको प्रोत्साहनका लागि विभागको पहलमा स्थापित र सञ्चालित छात्रवृत्ति बुधवार पोखरामा आयोजित एक समारोहबीच प्रदान गरिएको हो । शालिग्राम–कृष्ण पौडेल छात्रवृत्ति बिहादी गाउँपालिका–२ पर्वतका तारानाथ पराजुलीले प्राप्त गरे भने सीता–तीर्थ अधिकारी छात्रवृत्ति शुक्लागण्डकी नगरपालिका १० तनहुँका विष्णुप्रसाद काफ्लेले प्राप्त गर्न सफल भए । छात्रवृत्ति प्राप्त गर्न सफल छात्रद्वयलाई सहायक क्याम्पस प्रमुख मीनराज लम्साल, विभागीय प्रमुख डा. यमनाथ तिमिल्सना, पूर्व विभागीय प्रमुख प्रा.डा. कुसुमाकर न्यौपाने, छात्रवृत्ति कोषका संस्थापक कृष्णप्रसाद पौडेल र पत्रकार असफल गौतमलगायतले संयुक्तरुपमा प्रदान गरे । सहायक क्याम्पस प्रमुख मीनराज लम्सालले विभागले सञ्चालन गर्ने यस्ता छात्रवृत्तिले सिङ्गो क्याम्पसलाई मजबुद बनाउन सहयोग गर्ने बताए । छात्रवृत्ति प्राप्त गर्न सफल विद्यार्थी र स्थापना गर्ने संस्थापकलाई आभार व्यक्त गर्दै प्रमुख लम्सालले वर्तमानमा अध्ययनका लागि संकाय र विषयलाई लिएर हुने कुरा भन्दा विद्यार्थीको क्षमताले अध्ययनको क्षेत्र निर्धारणमा महत्वपूर्ण भूमिका खेल्ने बताए । कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै त्रि.वि प्राध्यापक संघ पृथ्वीनारायण क्याम्पस एकाइ सभापति डा. लक्ष्मीशरण अधिकारीले त्रि.वि.ले पछिल्लो अन्य विषयमा स्नातक पूरा गरेका विद्यार्थीलाई पनि स्नातकोत्तरमा भर्ना सञ्चालन गर्नु सराहनीय विषय रहेको बताए । शालिग्राम–कृष्णपौडेल छात्रवृत्तिका संस्थापक कृष्णप्रसाद पौडेलले आफ्नो जीवनलाई सार्थक तुल्याउन बुबाको योगदानको स्मरणका लागि र पहिला विभागीय प्रमुख भएर सेवा गरेको ठाउँमा केही गरौं भनेर  छात्रवृत्ति स्थापना गरेको बताए । सीता–तीर्थ अधिकारी छात्रवृत्तिका बारेमा प्रकाश पार्दै असफल गौतमले मुक्तकमणि तीर्थराज अधिकारी नेपाल सरकारको उपसचिवबाट सेवा निवृत्तपछि राज्यबाट प्राप्त निवृत्तिभरणको रकम नेपाली वाङ्मयको श्रीवृद्धि र शिक्षा क्षेत्रमा लगाउँदाको एउटा निरन्तरता सीता–तीर्थ छात्रवृत्ति रहेको बताए । नेपाली विभागका विभागीय प्रमुख डा. यमनाथ तिमिल्सिनाले विभागलाई अगाडि बढाउन हिजो साथ र सहयोग गर्ने सम्पूर्ण मनकारीलाई आभार व्यक्त गर्दै त्यो साथ र सद्भावलाई निरन्तरता दिन आग्रह गरे । विभागीय सदस्य डा. पुण्यप्रसाद शर्माले विभागद्वारा सञ्चालित छात्रवृत्तिले नेपाली विषय अध्ययन गर्ने विद्यार्थीलाई प्रोत्साहन र हौसला मिल्ने बताए । विद्यार्थी तारानाथ पराजुलीले हिजो संस्कृत पृष्ठभूमिबाट आएर नेपाली विषय पढेर मैले साच्चै राम्रो विषय अध्ययन गरेको रहेछु भन्ने अनुभूति आज भएको बताए । अर्का विद्यार्थी विष्णुप्रसाद काफ्ले आफूले पढेको क्याम्पसमा पुरस्कृत हुन पाउँदा गौरवबोध हुनुका साथै आगामी दिनमा थप जिम्मेवारी प्राप्त भएको धारणा राखे । 

पोखरा:   गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री  दीपेन्द्रबहादुर थापामगरले ४ हजार विद्यार्थी अध्ययन गर्ने जनप्रिय क्याम्पसलाई ४० रोपनी जग्गा उपलब्ध गराउन प्रतिवद्ध भएको बताएका छन् ।    जनप्रिय बहुमुखी क्याम्पसको ३२ औं वार्षिकोत्सवका अवसरमा प्रमुख आमन्त्रित थापामगरले मानित विश्वविद्यालयका लागि आवश्यक जग्गा, भौतिक पूर्वाधार, भवन निर्माणका लागि आफू र प्रदेश सरकार प्रतिवद्ध रहेको बताएका हुन् । थापामगरले दुईपटकसम्म मुलकभरिकै उत्कृष्ट सामुदायिक क्याम्पस र गुणस्तर सुनिश्चितताको प्रमाणपत्र पाएको जनप्रिय क्याम्पसको गुणस्तरले खुशी लागेको बताए । भौतिक पूर्वाधार र शैक्षिक गतिविधि उत्कृष्ट रहेकाले विद्यार्थीको बढ्दो आकषर्णलाई ध्यान दिई दक्ष जनशक्ति उत्पादनमा प्राविधिक र सिपमुलक शिक्षा  दिन आग्र्रह गरे ।   क्याम्पसका पूर्व कार्यवाहाक अध्यक्ष परशुराम बरालले क्याम्पसले देखेका सपना साकार बनाउन  र रूपान्तरणका लागि पूराना चिज छोडेर नयाँ कार्यक्रम लागु गर्न नेतृत्व सक्षम हुनुपर्ने धारणा राखे । प्राध्यापकले राम्रो पठनपाठन गराउँदा गुणस्तर कायम रहने भएकाले त्यसतर्फ क्याम्पस अग्रसर रहन आग्रह गरे ।  क्याम्पस प्रमुख लोकराज भण्डारीले क्याम्पसको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै जेएमसीले शैक्षिक गुणस्तर कायम राख्न अनुसन्धान र प्रकाशनमा जोड दिने प्रतिवद्धता सहित ५ वर्षे रणनीतिक योजना अनुरूप मानित विश्वविद्यालय बनाउन लागेको बताए ।   पुस्तकालयलाई आधुनिक र प्रविधिमैत्री बनाउँदै ५० हजारभन्दा बढी विषयगत पुस्तक राखिएको क्याम्पसबाट उत्पादित ८ सय ८८ दक्ष जनशक्तिको ट्यासर स्टडी गरिएको छ । विश्वविद्यालय अनुदान आयोगबाट गुणमापन तथा प्रत्ययानको प्रमाणपत्र प्राप्त क्याम्पसले स्वयत्त कार्यक्रम अन्तर्गत स्नातकतह पर्वतीय पर्यटन व्यवस्थापन र एमविए इन हस्पिटालिटी म्यानेजमेन्ट चलाइरहेको भण्डारीले उल्लेख गरे । क्याम्पस प्रमुख भण्डारीले गरिब तथा जेहन्दार, पिछडिएका क्षेत्रबाट आउने विद्यार्थीलाई १० प्रतिशत छात्रावृत्ति सुविधा छुट्याएको क्याम्पसले चालु आर्थिक वर्षका लागि २० करोड बढीको अनुमानित बजेट तर्जुमा गरेको जानकारी दिए ।   वार्षिकोत्सव कार्यक्रममा सञ्चालक समितिका अध्यक्ष वीरेन्द्रनारायण विजुक्छे, सहायक क्याम्पस प्रमुख मेखराज पौडेल, पूर्व क्याम्पस प्रमुख पीताम्बर शर्मा नेपाली, पब्लिक क्याम्पस प्राध्यापक संघ जनप्रिय इकाइका अध्यक्ष विकास थापामगर, कर्मचारी संघका अध्यक्ष देवी पनेरु, विद्यार्थी संघ संगठनका प्रतिनिधि लगाएका वक्ताले शुभकामना मन्तव्य राख्दै क्याम्पसलाई केन्द्रमा राखेर यसको मर्मअनुसार अगाडि बढ्न जोड दिएका थिए ।   उत्कृष्ट कार्यसम्पादन गरेका प्राध्यापक डा. चुडामणि कडेँल र कर्मचारी कर्मचारी कुमार गुरुङलाई नगद, कदरपत्र र दोसल्ला आढाएर सम्मान गरिएको थियो । संस्थापक क्याम्पस प्रमुख गणेशमान पालिखेको स्मृतिमा स्थापित पुरस्कारबाट कर्मचारी ठूलीमाया विश्वकर्मा सम्मानित भएकी छिन् ।  विभिन्न संस्था तथा व्यक्तिद्वारा स्थापित अक्षयकोषबाट उत्कृष्ट शैक्षिक नजिता ल्याउने विद्यार्थीलाई छात्रावृत्तिको नगद रकम र प्रमाणपत्र हस्तान्तरण गरिएको थियो । त्यस्तै अतिरिक्त क्रियाकलाप अन्तर्गत भलिवल, ब्याडमिन्टन, रस्साकसी, बास्केटबल, टेवुलटेनिस, नृत्य, हाजिरीजवाफ, कविता, निबन्ध, वक्तृत्वकला, बुद्धिचाल, चित्रकला प्रतियोगिताका बितेजालाई प्रमाणपत्र, शिल्ड, मेडल, नगद पुरस्कार प्रदान गरिएको थियो ।  प्रातः र दिवा सत्रमा ४ हजारभन्दा बढी विद्यार्थी अध्ययन गर्ने जनप्रिय क्याम्पसले देशभरिका १ हजार ९६ सामुदायिक क्याम्पस मध्ये २०७२ र २०७३ मा शिक्षामन्त्रालयबाट उत्कृष्ट क्याम्पसको पुरस्कार पाइसकेको छ । विश्वविद्यालय अनुदान आयोगको छनौटमा परेको जेएमसीले दुई पटक गुणमापन तथा प्रत्ययानको प्रमाणपत्र पाएर गुणस्तर सुनिश्चितताको कसीमा अब्बल ठहरिएको छ ।   

पोखरा:  लामा अमृत फाउण्डेशन घान्द्रुकका संस्थापक अमृत गुुरुङले घान्द्रुकका तीन विद्यालयमा शैक्षिक सामग्री र पोशाक वितरण गरेका छन् ।  कास्कीको अन्नपूर्ण गाउँपालिका १०/११ स्थित घान्द्रुकका सरस्वती आधारभुत विद्यालय उरी, घुर्जुङ आधारभुत विद्यालय र तालबाराही आधारभुत विद्यालयका ३७ जना विद्यार्थीहरुलाई फाउण्डेशनका संस्थापक गुरुङले शैक्षिक सामग्री र पोशाक वितरण गरेका हुन् ।  शैक्षिक पोशाक वितरण पछि बोल्दै फाउण्डेशनका संस्थापक गुरुङले सामाजिक उत्तरदायित्व बहन गर्ने उद्धेश्यले शिक्षासँग जोडिएको बताए । ‘घान्द्रुकको विभिन्न स्थानलाई समेटेर वृत्तचित्र निर्माण गरेको थिए, घान्द्रुक,पोखरा र काठमाडौं लगायतको स्थानपछि बेलायत र हङकङमा वृत्तचित्र प्रर्दशन गर्ने अवसर पाए’, गुरुङले भने, ‘फाउण्डेशन मार्फत विभिन्न क्षेत्रमा जोडिएको छु, सामाजिक उत्तरदायित्व बहन गर्ने उद्धेश्यले शिक्षासँग जोडिएको छु ।’ शैक्षिक क्षेत्रलाई गुणस्तरीय बनाउन फाउण्डेशनमार्फत सक्रियता बढाएको फाउण्डेशनका संस्थापक गुरुङले बताए । ‘शिक्षा नै जीवनको महत्वपूर्ण खुड्किलो हो, शैक्षिक क्षेत्रलाई गुणस्तरीय बनाउन फाउण्डेशनमार्फत सक्रियता बढाएको छु’, उनले भने, ‘अबको परिवर्तन शिक्षाले मात्र दिन सक्ने भएकाले सबैलाई शिक्षामा जोड्न आवश्यक छ ।’ हामीले शैक्षिक क्षेत्र बाहेक स्वास्थ्य र खेलकुद क्षेत्रमा पनि सहयोग गर्दै उनले बताए ।‘हामीले यस अगाडि पनि विभिन्न समयमा सहयोग गरिसकेका छौं, शैक्षिक क्षेत्रसँगै यस अगाडि स्वास्थ्य र खेलकुदमा पनि सहयोग गर्दै आएका छौं ।’ उनले भने । लामा अमृत फाउण्डेशनका संस्थापक अमृत गुरुङले तीन विद्यालयका ३७ जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री र पोशाक एक कार्यक्रमका बीच वितरण गरेका हुन् । फाउण्डेशनले यस अगाडि लमजुङको एक विद्यालय र घान्द्रुकको तिख्यानस्थित कुर्लङ्ग बराह आधारभुत विद्यालयमा विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको थियो ।  

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षाको नतिजा आज सार्वजनिक गरेको छ ।    बोर्डले आज एक विज्ञप्ति प्रकाशित गरी राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय सानोठिमी, भक्तपुरद्वारा गत असोज ९ र १० गते सञ्चालन भएको कक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षाको नतिजा प्रकाशित गरिएको जनाएको छ ।   परीक्षामा कुल एक लाख १७ हजार आठ सय ८२ विद्यार्थीले परीक्षा दिएकोमा जसमा ८८ हजार नौ सय ४७ अर्थात् ७५ दशमलव ४५ प्रतिशत विद्यार्थीले ग्रेड प्राप्त गरेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।  १५ जना विद्यार्थीको परीक्षा रद्द गरिएको बोर्डको भनाइ छ । रासस

पोखराः    स्वर्गीय टेकबहादुर गुरुङको स्मृतिमा घान्द्रुक तिख्यानस्थित कुर्लङ्ग बराह आधारभुत विद्यालयमा विद्यार्थीहरुलाई शैक्षिक सामाग्री र पोशाक वितरण गरिएको छ ।  स्वर्गीय गुरुङको स्मृतिमा उनका छोरा मनिष गुरुङका परिवारले लामा अमृत फाउण्डेशन घान्द्रुकको समन्वयमा आज (शुक्रबार) एक कार्यक्रमकाबीच घान्द्रुक तिख्यान स्थित कुर्लङ्ग बराह आधारभुत विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री, पोशाक वितरण गरेको हो । कास्कीको अन्नपूर्ण गाउँपालिका १० घान्द्रुक तिख्यान स्थित कुर्लङ्ग आधारभुत विद्यालयका ३९ जना विद्यार्थीहरुलाई स्वर्गीय टेकबहादुर गुरुङको स्मृतिमा शैक्षिक पोशाक र शैक्षिक सामाग्री वितरण गरिएको लामा अमृत फाउण्डेशन घान्द्रुकका संस्थापक अमृत गुरुङले बताए । ‘विभिन्न समयमा लामा अमृत फाउण्डेशनले विभिन्न स्थान, समाजमा सहयोग गर्दै आएको छ’, गुरुङले भने, ‘स्वर्गीय टेकबहादुर गुरुङका छोराले बुबाको सम्झनामा विद्यालयमा सहयोग गर्ने बाचा अनुरुप फाउण्डेशनको समन्वयमा आज शैक्षिक पोशाकसँगै शैक्षिक सामाग्री वितरण गरिएको हो ।’ उनले अन्य सामाजिक कार्यमा सहभागी भएपनि पछिल्लो समय शैक्षिक क्षेत्रमा पनि फाउण्डेशन मार्फत सक्रियता बढाएको बताए । ‘कोभिड लगायत प्राकृतिक विपत्तिमा फाउण्डेशनको सहकार्यमा विभिन्न स्थानहरुमा राहत लगायत सामाजिक कार्यमा सहभागी भएको थिए’, उनले भने, ‘शिक्षा नै जिवनको महत्वपूर्ण खुड्किलो हो, शैक्षिक क्षेत्रलाई गुणस्तरीयता बनाउन फाउण्डेशन मार्फत पछिल्लो समय सक्रियता बढाएको छु ।’ कार्यक्रममा विद्यालयका प्रधानाध्यापक ममिता थापा मगरले विद्यालयको आयस्रोत कम भएकाले भौतिक संरचना निर्माणमा सहयोगको आवश्यकता रहेको बताईन् । ‘विद्यालयको आयस्रोत कम छ, भौतिक संरचना निर्माण भएपनि विभिन्न किसिमका शैक्षिक सामग्री खरिद गर्न आर्थिक अभाव छ’, प्रधानाध्यापक मगरले भनिन्, ‘ग्रामिण क्षेत्रको शैक्षिक सुधारका लागि फाउण्डेशनको सहयोग हामी सम्झी रहने छौं ।’ कास्कीको अन्नपूर्ण गाउँपालिका १० घान्द्रुक तिख्यान स्थित कुर्लङ्ग बराह आधारभुत विद्यालयमा ३९ जना विद्यार्थीहरु अध्ययनरत रहेका छन् । उनीहरुलाई हङकङमा कार्यरत मनिष गुरुङले स्वर्गीय बुबा टेकबहादुर गुरुङ (काजीको काइला)को स्मृतिमा ३९ जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री, शैक्षिक पोशाक र शिक्षकहरुलाई शैक्षिक सिकाईका लागि विभिन्न सामग्री लामा अमृत फाउण्डेशन घान्द्रुकको समन्वयमा वितरण गरिएको हो ।   

काठमाडौं:  शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले शिक्षामा लगानी बढाउँदै जानुपर्छ भन्ने कुरामा सरकार प्रष्ट रहेको बताउनुभएको छ ।   आगामी वर्षहरुमा अर्थतन्त्रको प्रगतिसँगसँगै शिक्षामा बजेट बढाएर राख्ने मन्त्री राईको भनाइ थियो । आइतबार प्रतिनिधिसभा बैठकमा विद्यालय शिक्षा विधेयक–२०८० माथि सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा उहाँले मुलुकको अर्थतन्त्रको बढोत्तरी नभएसम्म भने कुनैपनि क्षेत्रमा लगानी वृद्धि गर्न सकिने अवस्था नरहने स्पष्ट पार्नुभयो ।   मन्त्री राईले भन्नुभयो, ‘‘हाम्रो अर्थतन्त्रले धानेसम्म शिक्षामा लगानी बढाउँदै जानुपर्छ भन्ने कुरामा सरकार पनि प्रष्टै छ । यस पाली कुल बजेटको ११ दशमलव २७ प्रतिशत लगानी रहेको छ भने आउने वर्षहरुमा त्यो भन्दा अर्थतन्त्रको प्रगतिसँगसँगै त्यो भन्दा बढि बजेट बढाएर राख्न सकिने कुरा पनि म निवेदन गर्न चाहन्छु । तर सबै चीजको निर्णायक विषय चाहिँ के हो भने अर्थतन्त्रमा बढोत्तरी हुनु पर्‍यो । अर्थतन्त्रमा प्रगति हुनुपर्‍यो । उद्योगधन्दा खुल्नु पर्‍यो । बन्दव्यापार फुल्नु, फल्नु पर्‍यो । कृषि उपजमा प्रगति हुनु पर्‍यो । यो सबै कुराको सामरिक असर शिक्षामा पनि पर्नेकुरा म यहाँहरुलाई निवेदन गर्न चाहन्छु ।’’   मन्त्री राईले विज्ञहरुसँग थप छलफल गरेर सो विधेयकलाई समृद्ध बनाउन पनि सरकार तयार रहेको बताउनुभयो । उहाँले सरकारले शिक्षक, विद्यार्थी र अभिभावकको जायज मागलाई सम्बोधन गरेर नै सो विधेयकलाई अघि बढाउने पटकपटक दोहोर्‍याउनुभयो ।

पोखरामा:     पोखरामा असोज १९ गते तेस्रो मन्टेश्वरी चाइल्ड ट्यालेन्ट शो हुने भएको छ  । मन्टेश्वरी एसोसिएसन कास्कीले पोखरामा तेस्रो मन्टेश्वरी चाइल्ड शो हुने जानकार दिएको हो ।  पोखरा सभागृह हलमा आयोजना हुने ट्यालेन्ट शोमा पोखरामा रहेका  ३२ मन्टेश्वरीका ४ सय ४० जना बालबालिकाहरुको सहभागिता रहने अध्यक्ष शान्ति बास्तोलाले बताइन् । उनका अनुसार एसोसिएसनमा ४८ मन्टेश्वरी स्कुल आबद्ध छन् । मन्टेश्वरीमा भएका बालबालिकाको प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको उनले बताइन् । मन्टेश्वरी चाइल्ड केयर गर्ने संस्था मात्रै नभई शिक्षा दिने संस्था पनि भएको सन्देश प्रवाहका लागि ट्यालेन्ट शोको आयोजना गरिएको उनको भनाई थियो । कार्यक्रमकी संयोजक रिता पौडेलले ट्यालेन्ट शोमा ३२ आइटम प्रस्तुत हुने बताइन् । एकैपटकमा बढीमा १६ जना बालबालिकाले प्रस्तुति राख्ने उनले खुलाइन्  ।   संस्थापक अध्यक्ष अरुणा शेरचनले साना बालबालिकाहरुमा पनि प्रतिभा हुन्छ  भन्ने सन्देश दिन पनि कार्यक्रम आयोजना गरिएको बताइन् । कार्यक्रम सहसंयोजक बिष्णु घिमिरेले एसोसिएसनको नियमित कार्यक्रम अन्र्तरगतनै कार्यक्रम आयोजना गरिएको बताए ।  उनले यस कार्यक्रम लाई निरन्तरा दिदै जाने जनाए। ट्यालेन्ट शोमा पुरस्कारको भने व्यवस्था गरिएको छैन । कार्यक्रममा बालबालिकाले गायन, चित्रकला, नृृत्य, अभिनय तथा नयाँ अन्य प्रतिभा समेत प्रस्तुत गर्न पाउनेछन् । ६ वर्ष मुनिका बालबालिकाको सहभागिता रहने गरी कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रम सफल बनाउनको लागि मुल आयोजक समिति सगै बिभिन्न उपसमिति समेत बनाइएको छ । सन् २००० बाट कास्कीमा मन्टेश्वरी स्कुल संचालन भएता पनि २०७२ सालमा मात्रै मन्टेश्वरी एसोसिएसन कास्की नामक संस्थाको स्थापना भएको आयोजकले जनाएको छ ।