पोखरा -   नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ ।    नेपाल पत्रकार महासंघ, कास्कीले बु...

काठमाडौं:  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कास्कीको माछापुच्छ्रे गाउँपालिका धितालमा प्रस्तावित एन्फा टेक्निकल सेन्टर निर्माणको काम अगाडि बढ्नुपर्नेमा आफ्नो जोड रहेको बताएका छन् ।  धितालस्थित भेडाबारीका स्थानीय जग्गादाता, विभिन्न राजनीतिक दलका प्रतिनिधि र जनप्रतिनिधिहरूको टोलीले बिहीबार प्रचण्ड निवास खुमलटार पुगेर एन्फा टेक्निकल सेन्टर निर्माण प्रक्रिया अघि नबढेको भन्दै पहल गरिदिन अनुरोध गरेका थिए । प्रतिनिधिहरूले सो क्षेत्रमा सर्वेक्षण, वातावरणीय प्रभाव मूल्याङ्कन, माटो परीक्षण लगायतका प्रारम्भिक काम सम्पन्न भइसकेको र पालिकाको पहलमा जग्गा समेत हस्तान्तरण भइसकेको जानकारी गराए । प्रारम्भिक चरणमा बजेट विनियोजन, टेन्डर प्रक्रिया जस्ता कामहरू सम्पन्न भए पनि पछिल्लो समय योजना अलपत्र परेको भन्दै उनीहरूले चिन्ता व्यक्त गरेका थिए । अध्यक्ष प्रचण्डले पार्टीका प्रतिनिधि, जग्गादाता र स्थानीय जनप्रतिनिधिहरू सबैलाई माओवादी केन्द्रको तर्फबाट यो योजना अगाडि बढ्नुपर्छ भन्नेमा पहल गरिने विषयमा ढुक्क हुन आग्रह गरे । टोलीसँगको छलफलपछि प्रचण्डले भने, ‘यो प्रक्रिया अघि बढेको योजना हो र अब यो बन्नै पर्छ । कास्कीमै बन्नुपर्छ, धितालमै बन्नुपर्छ भन्ने हो ।’ उनले योजना कार्यान्वयनका लागि आफूबाट सक्दो पहल गर्ने प्रतिवद्धता व्यक्त गरे ।

भक्तपुर:  भक्तपुरको मध्यपुर थिमि नगरपालिका–९ सिन्टीटारमा डेरा गरी बस्ने दुई किशोरी आज बिहान मृतावस्थामा फेला परेका छन् ।  स्थानीय निरज चक्रधरको दुईतले घरको भुइँ तलामा डेरा गरी बस्ने सुर्खेत पञ्चपुरी नगरपालिका–८ की १७ वर्षीया मेनुका कँडेल र १५ वर्षीया सिर्जना कँडेल सोही घरको प्यासेजमा एउटै डोरीले झुन्डिएर मृतावस्थामा फेला परेका हुन् । मेनुका र सिर्जना दिदीबहिनी भएको प्रहरी वृत्त थिमिका प्रमुख प्रहरी नायब उपरीक्षक नवराज ढुङ्गानाले बताउनुभयो । घरधनीका अनुसार दुई साताअघिमात्र ती किशोरीहरु डेरामा बस्न आएका थिए । प्रहरीका अनुसार मृतक दिदीबहिनी घरबाट भागेर आएको खुल्न आएको छ ।   मृतकको आफन्त सम्पर्कमा आइनसकेकाले उनीहरु आएपछि घटनास्थलको मुचुल्का हुने प्रनाउ ढुङ्गानाले बताउनुभयो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

काठमाडौं:  प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक वर्ष २०८१/२०८२ मा निर्यातमा इतिहासकै उच्च विन्दु हासिल भएको बताउनुभएको छ । प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जालमार्फत आव २०८१/२०८२ मा नेपालले दुई खर्ब ७७ अर्ब तीन करोड दुई लाख रुपैयाँ बराबरको वस्तु तथा सेवाको निर्यात गर्न सफल भएको जानकारी गराउनुभएको छ । आफू प्रधानमन्त्री हुनुअघि अघिल्लो वर्ष नेपालको कूल निर्यात एक खर्ब ५२ अर्ब ३८ करोड १२ लाख रुपैयाँ मात्र रहेको उहाँले उल्लेख गर्नुभएको छ । प्रधानमन्त्री ओलीले लेख्नुभएको छ, “यस वर्ष निर्यातमा इतिहासकै उच्च विन्दु हासिल भएको छ । दुई खर्ब ७७ अर्ब तीन करोड दुई लाख रुपैयाँको निर्यात गर्न हामी सफल भएका छौँ । हामी सरकारमा आउनुभन्दा अगाडि अघिल्लो वर्ष रु एक खर्ब ५२ अर्ब ३८ करोड १२ लाखको निर्यात भएको थियो । गत वर्षको तुलनामा ८१ दशमलव ८० प्रतिशत निर्यात बढेको छ ।”

सप्तरी:  सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिका–६ मोहनपुरमा बिहीबार सर्पदंशबाट एक महिलाको मृत्यु भएको छ । स्थानीय इन्द्रबहादुर राईकी ५० वर्षीया श्रीमती सङ्गीता राईको मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए । तराईमा अत्यधिक गर्मीका कारण विषालु सर्पको बिगबिगी बढेको छ ।

पोखरा:  गोरखाको अजिरकोट गाउँपालिका–३ का प्रकाश गुरुङ लागूऔषधसहित पोखरामा पक्राउ परेका छन् ।  पोखरा महानगरपालिका–३२ लामेआहाल स्थित पृथ्वी राजमार्ग सडक खण्डमा सवारी चेकजाँच गर्ने क्रममा ग ६ प १६३० नम्बरको मोटरसाइकलमा सवार गुरुङलाई प्रहरीले लागूऔषधसहित मंगलबार पक्राउ गरेको हो ।  पक्राउ परेक गुरुङको साथबाट प्रहरीले २ केजी ९ सय ग्राम लागूऔषध, १ थान मोबाइल र १ हजार रुपैयाँ बरामद गरेको छ ।  पक्राउ परेक उनलाई जिल्ला अदालत कास्कीबाट लागूऔषध सम्बन्धी कसूरमा ५ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।   

रौतहट:  रौतहटमा एक सातामै खेतमा धान रोप्न पानी लगाउने क्रममा करेन्ट लागेर तीन किसानको मृत्यु भएको छ । बुधबार मात्रै धान रोप्न पानी लगाउने क्रममा मोटर चलाउँदा करेन्ट लागेर दुई जनाको ज्यान गएको हो ।  बुधबार बिहान माधव नारायण–४ बिसनपुर्वा मानपुर बस्ने तुल्सी मुखियाको छोरा ४० वर्षीय रामबाबु मुखियाको खेतमा सिँचाइका लागि विद्युतीय मोटरबाट पानी पटाउने क्रममा करेन्ट लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायब उपरीक्षक राजन कार्कीले जानकारी दिनुभयो ।  सिँचाइ गर्न जडान गरिएको मोटरको तारबाट करेन्ट लागि घाइते भएका मुखियाको उपचारको क्रममा प्रादेशिक अस्पताल गौरमा मृत्यु भएको प्रहरीले जनाएको हो ।  त्यसैगरी कटहरीया–२ जमुनिया टोलका लालमहमद देवानको ५२ वर्षीय छोरा मोक्तार देवानको पनि खेतमा पानी लगाउने क्रममा करेन्ट लागेर मृत्यु भएको उहाँले जानकारी दिनुभयो । करेन्ट लागि घाइते भएका देवानको उपचारको क्रममा गरुडास्थित ग्राण्डी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ  । यसअघि गत असार ३१ गते मौलापुर–८ सोनरनियाका सुधन राउतका १४ वर्षीय छोरा गोलु भन्ने नरेन्द्र पटेलको  पनि खेतमा पानी लगाउने क्रममा करेन्ट लागेर मृत्यु भएको थियो । यसवर्ष तराईमा खडेरी परेको कारण रोपाईँ गर्न नसके पछि किसानहरुले मोटरबाट पानी तानेर रोपाईँ गर्नुपर्ने बाध्यता भएको हो ।

पोखरा:  वडा प्रहरी कार्यालय बैदाम, पोखराका प्रमुख प्रहरी नायब उपरीक्षक नवराज भट्टराईले ध्वनी प्रदुषण गर्ने सवारी साधनलाई नियन्त्रण गर्ने बताएका छन् ।  साउन ५ गते वडा प्रहरी कार्यालय बैदामामा प्रमुखको रुपमा आएका भट्टराईले स्वरुप परिवर्तन गरेका र ध्वनी प्रदुषण गर्ने मोटरसाइकललाई तत्काल कारवाही गर्न प्रहरी परिचालन गरिसकेको बताए ।    सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा बैदामले आयोजना गरेको स्वागत कार्यक्रममा भट्टराईले शान्ती सुरक्षा सबैको सरोकारको विषय रहेको बताए ।  भट्टराईले पर्यटकीय क्षेत्र लेकसाइडमा मोटरसाइकलले ध्वनी प्रदुषण गरेको गुनासो सुने पछि आफुले ध्वनी प्रदुषण गर्ने मोटरसाइकल नियन्त्रणका लागि प्रहरी खटाइसकेको बताए ।  भट्टराईले पर्यटकीय नगरीलाई सभ्य र सुरक्षीत बनाउन सबैको साथ लिएर अगाडी बढ्ने बताए । । प्रहरीले गर्नुपर्ने काम कर्तब्यमा रहेर शान्ति सुरक्षा कायम गर्न आफु लाग्ने उनले प्रतिवद्धता व्यक्त गरे ।  सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा बैदामका अध्यक्ष ठाकुर प्रसाद बरालले बैदाममा हुने गरेका अवान्छिक क्रियाकलापलाई रोक्न भट्टराईको ध्यानाकर्षण गराएका थिए ।  बरालले रात्रीकालिन व्यवसायका कारण होहल्ला हुने गरेका कारण स्थानीयहरु प्रभावित भएको बताए ।  उनले लेकसाइडको हल्लनचोक देखी बाराहीघाट सम्म पार्किङको समस्या रहेको, फेवाताल किनारको फुटट्रेल  लागु पर्दाथ दुव्र्यसनीको अखडा बनेकाले यसलाई नियन्त्रण गर्नुपर्ने बताए ।  कार्यक्रममा सामुदायिक सेव केन्द्र एवं सामुदायिक प्रहरी सेवा बैदामका संस्थापक अध्यक्ष मंगल नेपाली, पूर्वअध्यक्ष लक्ष्मीनारायण श्रेष्ठ, पूर्वअध्यक्ष मिना भट्टराई लगायतले दण्डहिनता मौलाउदा शान्तीसुरक्षा खलबलिने भएकाले प्रहरी सचेत हुनुपर्ने धारणा राखे ।  स्वागत कार्यक्रममा संस्थाका उपाध्यक्ष सोभियत परियार र महासचिव शान्ता तिमिल्सीना, समाजसेवी नविन बराल लगायतले लेकसाइड पर्यटकीय क्षेत्र भएकाले शान्ती सुरक्षामा ध्यान दिन आवश्यक रहेको बताए ।  उनीहरुले कास्कीका अन्य क्षेत्र भन्दा लेकसाइडलाई प्राथमिकतामा राखेर हेर्नुपर्ने धरणा राखे ।   

काठमाडौं:  प्रहरी प्रधान कार्यालयले कुनै पनि घटना तथा अपराधमा पक्राउ परेका व्यक्तिको फोटो तथा भिडियो सार्वजनिक नगर्न देशभरका प्रहरी कार्यालयहरूमा परिपत्र गरेको छ । पत्रकार सम्मेलनमा वा कुनै पनि सूचना दिँदा पक्राउ परेका व्यक्तिको तस्बिर तथा भिडियो सार्वजनिक नगर्न र नपठाउन भन्दै प्रहरी प्रधान कार्यालयले देशैभरका प्रहरी युनिटमा परिपत्र जारी गरिएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले जानकारी दिनुभयो । महान्यायाधिवक्ताको कार्यालयले तस्बिर, भिडियोहरू सार्वजनिक नगर्न प्रहरी प्रधान कार्यालयलाई दिएको निर्देशनका आधारमा यसरी मातहतका सबै युनिटमा परिपत्र जारी गरिएको प्रवक्ता घिमिरेले जानकारी दिनुभयो । गएको असारमै महान्यायाधिवक्ताको कार्यालयले उक्त निर्णय गरिसकेको छ । सोही निर्णयको जानकारी प्रहरी प्रधान कार्यालयमा पठाएपछि प्रहरीले तत्काल कार्यान्वयन गर्न परिपत्र जारी गरेको हो । प्रवक्ता घिमिरेले जघन्य अपराधका घटना वा त्यस्ता तस्बिर र भिडियो सार्वजनिक नगर्दा राज्य तथा सामाजिक असर पर्ने अवस्था रहेको खण्डमा सम्बद्ध निकायको अनुमतिमा सार्वजनिक गर्न सकिने जनाइएको छ ।

काठमाडौं:  हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार बिहीबार कोशी, बागमती, गण्डकी,  कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहनेछ ।  कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका केही स्थान तथा देशका बाँकी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । त्यसैगरी, आज राति कोशी, मधेश र बागमती प्रदेशलगायत देशका पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ ।  महाशाखाद्वारा प्रकाशित बुलेटिनअनुसार कोशी, मधेश र बागमती प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।  कोशी प्रदेशका पहाड र तराईका साथै मधेस प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।