पोखरामा सवारी दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ ।    सोमबार बिहान पोखरा महानगरपालिका–८ सभागृह चोकमा ग.२ च.२१६२ नम्बरको गाडीको ठक्करबाट पैदलयात्री सोही महानगरपालिका–२० भल...

बाँके:  बाँके जिल्लाको राप्तीसोनारी गाउँपालिका–५ गोरधुईस्थित राप्ती नदिमा फसेका तीन जनाको सकुशल उद्धार गरेको छ । गाईवस्तु चराउन गएका उनीहरु राप्ती नदिमा एक्कासी आएको बाढीका कारण नदिको बिच टापुमा फसेका थिए ।  सोबारे जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल नं। ४२ रिजर्भ शंम्शेरगंज बाँकेबाट खटिएको गोताखोरसहितको सुरक्षा फौजले बुधबार सकुशल उद्धार गरेको सशस्त्रका डिएसपी एवम् सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो ।   उद्धार गरिएकाहरुमा सोही गाउँपालिका–५ बस्ने ५२ वर्षीय मानसिंह धामी, ६९ वर्षीय लीलबहादुर खत्री र ५० वर्षीय ससु वली छन् । उनीहरुको अवस्था भने सामान्य रहेको छ । 

मुस्ताङ: उपल्लो मुस्ताङमा अकल्पनीय बाढीले पुर्‍याएको क्षतिको प्रारम्भिक अनुगमनका लागि अनुगमन सुरु भएको छ ।  लोमान्थाङ गाउँपालिका अध्यक्ष टसीनर्बु गुरुङ, उपाध्यक्ष छ्युमी बिष्ट, प्रमुख प्रशासकीय अधिकृत विकास केसी, गाउँपालिकाका प्राविधिक टोली, पाँचवटै वडाका वडाध्यक्ष तथा सदस्यलगायत नेपाल प्रहरी र सशस्त्र प्रहरीका सुरक्षा प्रतिनिधिहरूले संयुक्त रूपमा बाढीले त्यहाँ पुर्‍याएको क्षति यकिन गर्न बुधबार अनुगमन गरेका छन् । बाढीले तीनवटा पक्की पुलसहित गाउँपालिकाको शाखा सडकमा कुल सातवटा पुलमा क्षति पुगेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत  केसीले जानकारी दिनुभयो । यसबाट रु डेढ करोडभन्दा बढी नोक्सान भएको अनुमान गरिएको उहाँले बताउनुभयो । प्रमुख प्रशासकीय अधिकृत केसीका अनुसार  मङ्गलबार साँझ लोमान्थाङ–४ चुम्जुङस्थित छुआमा खोलाको बाढीले आर्का–भार्सा जोड्ने पक्की पुलसहित तीनवटा पक्की मोटरेबल पुल, एक फलामे पुल र तीनवटा काठेपुलमा पूर्ण क्षति पुगेको छ । बाढीले सडक पुलहरूमा क्षति पुगे पनि मानवीय तथा पशुचौपायामा कुनै क्षति नपुगेको जनाइएको छ । अध्यक्ष गुरुङले लोमान्थाङ गाउँपालिकाभित्रको रिङरोड सडक र अन्य शाखा सडक जोड्ने पक्की पुल र अस्थायी पुलमा क्षति पुगेको बताउनुभयो । बाढीले पुलहरुमा क्षति पुगेपछि रिङरोड सडकको सवारी आवागमन अवरुद्ध रहेको उहाँले बताउनुभयो ।  उपल्लो मुस्ताङको लोमान्थाङ–४ स्थित चुम्जुङ गाउँ नजिकैको छुआमा खोलामा अकल्पनीय बाढी हिमताल फुटेका कारण आएको हुनसक्ने आशङ्का गरिएको छ । पानी नै नपर्ने भनेर चिनिएको हिमाली जिल्ला मुस्ताङमा बाढी आउँदाको समय त्यस क्षेत्रमा वर्षा नभएको लोमान्थाङ गाउँपालिका अध्यक्ष गुरुङले बताउनुभयो । “हामीले बाढी आउँदा त्यस स्थान र मुहानको लेकमा मौसमी अवस्था कस्तो थियो भनेर स्थानीयसँग जानकारी लियौँ, उनीहरूले त्यस क्षेत्रमा पानी नपरेको जनाएका छन्”, अध्यक्ष गुरुङले भन्नुभयो, “यसरी एकाएक बाढी आउनुको एउटै कारण हुनसक्छ, त्यो हो हिमताल फुट्नु ।” लोमान्थाङ(२ छोसेरस्थित नेचुङस्थित सशस्त्र प्रहरी बोर्डर आउटपोस्ट ९बिओपी०का सशस्त्र प्रहरी निरीक्षक विष्णुहरि थापाले बाढी आउनाका कारण पत्ता लगाउन गएको टोली चुम्जुङबाट फर्किएको जानकारी दिनुभयो ।  चुम्जुङस्थित छुआमा खोलाको मुहान भएको लेकमा हिमतालहरू रहेको यार्सा सङ्कलन गर्नेहरूले बताएका उहाँको भनाइ छ । “यहाँ बाढी आउनाको मुख्य कारण हिमपात नै फुटेर हो कि भन्ने हाम्रो अनुमान छ, बाढी आउँदा मुहानको लेकमा पानी परेको थियो भनेर जानकारी आइसकेको छैन”, उहाँले भन्नुभयो । यहाँको लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल बिष्टले उपल्लो मुस्ताङका शाखा नदीहरूको मुहानमा दर्जनौँ हिमताल रहेको जानकारी दिनुभयो ।  उहाँले जलवायु परिवर्तनका कारण जमिनको तापमान वृद्धि भइरहेकाले उच्चलेकमा रहेका हिमालका हिउँका ढिस्का खसेर हिमपातमा क्षति पुर्‍याउने सम्भावना रहेको उल्लेख गर्नुभयो ।

पोखरा:  पोखराका पत्रकार रुद्र श्रीस मगरलाई राष्ट्रिय मौलिक कौराहा संरक्षण पत्रकारिता पुरस्कार–२०८२ अर्पण गरिने भएको छ ।  नेपाल मगर पत्रकार संघका केन्द्रिय उपाध्यक्ष तथा राष्ट्रिय मौलिक कौराहा संरक्षण पत्रकारिता पुरस्कार–२०८२ छनौट समितिका संयोजक एमबी आस्था मगरको संयोजकत्वमा गठिन ५ सदस्यीय समितिले श्रीस मगरलाई पुरस्कार अर्पण गर्न सिफारिस गरेको थियो ।  मगर पत्रकार संघ कास्कीको आयोजना र राष्ट्रिय मौलिक कौराहा संरक्षण समिति नेपालको सहकार्य साउन १ गरिने कार्यक्रममा उनलाई पुरस्कार प्रदान गरिने मगर पत्रकार संघका कास्कीका अध्यक्ष सुरज थापा मगरले जानकारी दिए ।  उनका अनुसार राष्ट्रिय मौलिक कौराहा संरक्षण समितिद्धारा स्थापित पुरस्कार राशी यसपटक १५ हजार रुपैयाँ पु¥याइएको छ ।  उक्त पुरस्कार मगर जातिको भाषा, कला, धर्म, रितीरिवाज तथा संस्कार– संस्कृति र कौराहा संरक्षण र प्रवद्र्धनको क्षेत्रमा कलम चलाउँदै आएका पत्रकारहरुलाई वार्षिक रुपमा प्रदान गर्दै आएको छ ।  २०७५ सालमा स्थापना भएको पुरस्कारबाट यसअघि कमला राना मगर (नवलपुर), तिलक पुन पुर्जा (कास्की), प्रताप राना मगर (तनहुँ), ‘एमबी आस्था’ (कास्की), मनोज घर्ती मगर (कास्की), खेम सारु मगर (पाल्पा) र सारदा झेंडी मगर (नवलपुर) पुरस्कृत भइसकेका छन् ।  यस वर्ष पुरस्कृत हुन लागेका श्रीस मगर विगत १९ वर्षदेखि पत्रकारिकतामा सक्रिय छन् ।  २०६३ सालमा पृथकयात्रा साहित्यिक द्धैमासिक पत्रिकाबाट पत्रकारिता सुरु गरेका श्रीस अहिले पोखराको फेवा टेलिभिजनको कार्यकारी सम्पादक र कास्की आवाज दैनिकका सम्पादकमा  कार्यरत छन् ।  पत्रकार श्रीस मगर यसअघि जगनान्थ सिग्देल स्मृति युवा प्रोत्साहन पत्रकारिता पुरस्कार, तीर्थसागर सुवेदी स्मृति पत्रकारिता पुरस्कार, कर्म–कर्ण आदिवासी जनजाति पत्रकारिता पुरस्कार र मगर सांस्कृतिक पत्रकारिताबाट सम्मानबाट सम्मानित भइसकेका छन् ।  उनी आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकीको इन्चार्ज र नेपाल मगर पत्रकार संघका केन्द्रिय उपमहासचिवमा छन् ।   

पोखरा:  मिलन नेवारको ‘राजै’ गीत युटुबमार्फत सार्वजनिक भएको छ । गीतमा स्वर नेवारको छ भने निर्देशन सुरज थापाले गरेका हुन् । भिडियोमा राज बुढा, मिलन नेवार, विजय पुनमगर, प्रियंका गर्वुजामगर, पवित्रा थापा र बिनु राना मगरको अभिनय छ । गीत राजकुमार बगरले लेखेका हुन् साथै संगीत पनि उनकै छ । थापाले गीतमा मौलिक संस्कृतिको भावनालाई समेट्ने प्रयास गरिएको बताए । मौलिकताबाट प्रेरित भएर नयाँ शैलीमा प्रस्तुत गरिएकाले सबैपुस्ताले मनपराउनेमा उनी विश्वत देखिए । अग्रज साहित्यकार सरु भक्तले गीतसंगीतका माध्यमबाट जातीय पहिचानका साथै संस्कृती संरक्षण र प्रवद्र्धन गर्न सकिने बताए । गीत मनोरञ्जनको साधन मात्र नभई मौलिक संस्कृति, परम्परालाई जोगाउन भूमिका खेल्ने उनको भनाइ छ । मिलन नेवार गीतका माध्यमबाट मगर समाजसँग नजिक हुने मौका पाएको बताइन् । उनले भ्युज र लाइकको पछि नलागी कालजयी गीत बनाउनतर्फ लाग्नुपर्ने बताइन् । ‘सुटिङको समयमा साच्चिकै रोधी बसे जस्तो अनुभव भएको थियो । गीत कमले सुनेपनि राम्रो प्रतिक्रिया पाउनु महत्वपुर्ण हो,’ नेवारले भनिन् ।  

काठमाडौं:  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ‘भिजिट भिसा’ प्रकरणमा छानबिन गर्न सामान्य प्रशासनिक समिति बनाएर आफूहरुको माग बेवास्ता गरेको जनाउँदै प्रतिनिसभाको आजको बैठक बहिस्कार गरेका छन् । बैठक प्रारम्भ हुनासाथ  रास्वपाका सांसद सोविता गौतमले भिजिट भिसा छानबिनका लागि उच्चस्तरीय आयोग वा संसदीय छानबिन समिति गठन नभएसम्म सदनको बैठक बहिस्कार जारी रहने जानकारी दिनुभयो ।  “नागरिक बेचिने र मुलुकको छविमा आँच आउने विषयमा पनि स्वार्थ बाझिने, आफू मातहतको र कनिष्ठ कर्मचारी सम्मिलित टालटुले प्रशासनिक समिति बनाएर झेली खेल खेलेको छ”, उहाँले भन्नुभयो, “हाम्रो कुरा सरकारले नसुनेका कारण निरन्तर संसद् बहिस्कार गरिरहेका छौँ ।” राप्रपाका सांसद अनिशा नेपालीले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गर्न माग गरिएको भए पनि सामान्य समिति गठन गरेर आलटाल गरेको बताउनुभयो । उच्चस्तरीय छानबिन आयोग नबनेसम्म राप्रापाले संसद् बैठक बहिस्कार गर्ने जानकारी दिनुभयो ।  उहाँले देशका विभिन्न स्थानमा प्राकृतिक विपद्बाट ठूलो धनजनको क्षति भएकामा दुःख व्यक्त गर्दै विपद् प्रभावित नागरिकलाई उचित राहत दिन सरकारको ध्यानाकर्षण गराउनुभयो । रास्वपा र राप्रपाका तर्फबाट गौतम र नेपालीले आ–आफ्ना धारणा राखेपछि दुई दलका सांसदहरु बैठककक्षबाट बाहिरिनुभएको थियो । रास्वपा र राप्रपाले भिजिट भिसाको दुरुपोग सम्बन्धमा उच्चस्तरीय छानबिन आयोग वा संसदीय छानबिन समिति गठन गर्न माग गर्दै आएको छ ।   बैठकमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसद सुनिता बरालले प्रधानमन्त्रीको स्पेन भ्रमणलाई लिएर रास्वपाका तर्फबाट गरिएको टिप्पणीप्रति आपत्ति जनाउनुभयो ।

काठमाडौं:  प्रधानमन्त्री केपी शर्मा ओलीबाट त्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपतिमा सिफारिस भएकामध्येबाट प्रा डा दीपक अर्याल नियुक्त गर्नुभएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तको संयोजकत्वको गठित सिफारिस समितिले यही असार २३ गते प्रधानमन्त्री एवं कुलपति ओलीसमक्ष उपकुलपतिका लागि तीन जनाको नाम सिफारिस गरेको थियो । समितिले वर्णानुक्रमअनुसार हालका निमित्त उपकुलपति प्रा डा खड्ग केसी, त्रिविको विज्ञान सङ्कायका पूर्वडीन प्रा डा विनिल अर्याल र जल तथा मौसम केन्द्रीय विभागका पूर्वप्रमुख डा दीपक अर्याललाई सिफारिस गरेको थियो । उपकुलपति प्रा डा केशरजङ्ग बरालले दिनुभएको राजीनामा गत चैत २८ गते स्वीकृत भएपछि गत चैत ३१ गते विश्वविद्यालयका कुलपतिसमेत रहनुभएका प्रधानमन्त्री ओलीले शिक्षाध्यक्ष केसीलाई पदपूर्ति नभएसम्मका लागि बढीमा तीन महिनाका लागि उपकुलपतिको जिम्मेवारी दिनुभएको थियो ।

पोखरा:   जिल्ला प्रशासन कार्यालय, कास्कीले मनसुन सक्रिय भएसँगै बाढी र पहिरोको जोखिमलाई मध्यनजर गर्दै जिल्लाका चार स्थानमा जाने सडकखण्डमा सवारीसाधन सञ्चालनको समय तोकेको छ।  कास्की प्रशासनले असार २५ गतेदेखि १५ दिनका लागि अत्यावश्यक बाहेकका सार्वजनिक तथा निजी सवारी साधनहरूमा समय तालिका लागू गरेको हो। प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको अध्यक्षतामा सोमबार बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले उक्त निर्णय गरेको हो।  बैठकमा जिल्ला समन्वय समिति, सुरक्षा निकायका प्रमुखहरू, यातायात व्यवसायी तथा अन्य सरोकारवालाहरूको उपस्थितिमा मनसुनजन्य विपद्बाट बच्न अपनाउनुपर्ने सतर्कताबारे छलफल भएको बताइएको छ ।  मानवीय र भौतिक क्षति न्यूनीकरण गर्ने उद्देश्यले प्रशासनले जारी गरेको सूचना अनुसार, पर्यटकीय क्षेत्र घान्द्रुक, उल्लेरी र लान्द्रुक जाने सडकहरू ९विरेठाँटी(घान्द्रुक, विरेठाँटी(उल्लेरी र लुम्ले(लान्द्रुक० मा चल्ने सवारी साधनले बिहान ५ बजेपछि मात्र प्रस्थान गर्न पाउनेछन् भने साँझ ५ बजेभित्र आफ्नो प्रस्थानविन्दुबाट गन्तव्यका लागि छुटिसक्नुपर्नेछ। त्यसैगरी, काहुँखोलाबाट ताङ्तिङ जाने सवारी साधनहरूले पनि बिहान ५ बजेपछि मात्र यात्रा सुरु गर्न सक्नेछन् भने साँझ ४स्३० बजेभित्र प्रस्थानविन्दुबाट छुटिसक्नुपर्ने नियम बनाइएको छ।  प्रशासनले तोकिएको समयपछि ती सडकखण्डमा सवारी चलाउन पूर्णरुपमा रोक लगाएको छ। यो व्यवस्थाले यात्रुवर्गमा पर्न गएको असुविधाप्रति स्थानीय प्रशासनले क्षमा मागेको छ र सबैलाई यात्रामा सावधानी अपनाउन आग्रह गरेको छ।    

काठमाडौं:  नेपाल प्रहरीले रसुवामा मङ्गलबार आएको बाढीपछि बेपत्ता भएका १९ जनाको खोजीकार्य आज बिहानैदेखि जारी रहेको जनाएको छ ।  रसुवाबाट बगाएका व्यक्तिको शव चितवनमा फेला परेपछि त्रिशूली नदी किनार तथा नारायणी नदीसम्म तथा विभिन्न जिल्लामा खोजी जारी रहेको बागमती प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक सञ्जयसिंह थापाले जानकारी दिनुभयो । उहाँले रसुवा, नुवाकोट, धादिङ, चितवन तथा नवलपरासीसम्मका नदी किनार क्षेत्रमा खोजीका लागि प्रहरी टोली परिचालन गरिएको उल्लेख गर्नुभयो । उहाँका अनुसार रसुवाबाट बाढीमा परी बेपत्ता भएका प्रहरीका असई लालबहादुर श्रेष्ठको शव मङ्गलबार साँझ चितवनमा फेला परेको थियो । प्रवक्ता थापाले बाढीले बगाएर तलसम्म शव लगेको आशङ्कामा खोजी जारी रहेको बताउँदै बाढीमा परेर मृत्यु भएकाहरूको सनाखतको काम पनि अघि बढाइएको जानकारी दिनुभयो । उहाँका अनुसार हालसम्म उक्त बाढीमा परी मृत्यु भएका नौमध्ये पाँच जनाको मात्रै सनाखत गर्न सकिने अवस्थामा शव  छन् । चार वटा मानव अङ्गमात्रै फेला परेको बताउँदै उहाँले ती शवको भने डिएनए परीक्षण आवश्यक रहेको बताउनुभयो । प्रवक्ता थापाका अनुसार अझै दुई प्रहरी, छ चिनियाँ नागरिक र ११ जना सर्वसाधारण बेपत्ता छन् । “बाढीले ६४ वटा सवारीसाधन, मितेरी पुल बगाएको छ भने भौतिक सम्पत्तिमा ठूलो क्षति गराएको छ । बाढीका कारण यकिन भइसकेको छैन तर मौसमविद्हरूले माथिल्लो क्षेत्रमा रहेको हिम पोखरीहरू फुटेका हुनसक्ने आशङ्का गरेका छन”, उहाँले भन्नुभयो ।  मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखा प्रमुख विनोद पराजुलीले बाढीका कारण पत्ता लगाउन अध्ययन भइरहेको जानकारी दिनुभयो । उहाँले ठूलो वर्षा नभइकन यसरी बाढी आएकाले यसबारे विस्तृत रूपमा अनुसन्धान भइरहेको बताउनुभयो ।

लमजुङ:  लमजुङ र मनाङ जोड्ने बेँसीसहर–चामे सडकमा आज रातिदेखि सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । मङ्गलबार जिल्ला सुरक्षा समिति लमजुङको बैठकले बर्खायाममा यात्रा जोखिमपूर्ण रहेको निष्कर्ष निकाल्दै आजदेखि साउन महिनाभर बेलुकी ७ बजेदेखि भोलिपल्ट बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक लगाउने निर्णय भएको हो । प्रमुख जिल्ला अधिकारी माधवप्रसाद पोखरेलका अनुसार सो समयमा अत्यावश्यक बाहेकका सबै सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । वर्षातका कारण विपद्को अवस्था सिर्जना हुनसक्ने भएकाले यात्रु तथा सवारीमा क्षति हुन नदिन सुरक्षाका लागि अर्को निर्णय नभएसम्म बेँसीसहर–चामे–खाङसार (माथिल्लो मनाङ) सडकखण्डमा रातिको समयमा सार्वजनिक, निजी तथा सरकारी सवारीसाधन सञ्चालनमा रोक लगाइएको प्रशासनले जनाएको छ । चामे नजिकैको कोतोबाट अपराह्न साढे ४ बजेपछि बेँसीसहरका लागि सवारी छुट्न नपाइने व्यवस्था गरिएको छ । ती सवारीसाधन नासो गाउँपालिका–१ स्थित तालडाँडा प्रहरी चौकीबाट बेलुकी साढे ६ बजेभन्दा अघिसम्म छुटिसक्नुपर्ने छ । कूल ६५ किलोमिटर रहेको यस सडकमध्ये ३५ किलोमिटर लमजुङ र ३० किलोमिटर सडक मनाङमा पर्छ । बेँसीसहरमा रहेको तत्कालीन नेपाली सेना कार्यगणले विंसं २०६९ मा सडक निमार्ण सम्पन्न गरेसँगै सडक डिभिजन कार्यालय दमौली तनहुँलाई हस्तान्तरण गरेको थियो ।