पोखरामा सवारी दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ ।    सोमबार बिहान पोखरा महानगरपालिका–८ सभागृह चोकमा ग.२ च.२१६२ नम्बरको गाडीको ठक्करबाट पैदलयात्री सोही महानगरपालिका–२० भल...

काठमाडौं:   हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यूनचापीय रेखा पूर्वमा सरदर स्थानको आसपास र पश्चिममा सरदर स्थानभन्दा थोरै उत्तरतिर रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । सोमबार दिउँसो देशभर साधारणतया बदली रहनेछ । कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भू–भागमा केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । देशको उच्च–पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षारहिमपातको सम्भावना छ । आज राति देशभर साधारणतया बदली रहनेछ।  कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।  कोशी प्रदेश र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ। देशको उच्च–पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा÷हिमपातको सम्भावना छ ।

पोखरा:  संसदीय पत्रकार मञ्च गण्डकीको अध्यक्षमा विशन क्षेत्री निर्वाचित भएका छन् । पोखरामा आज भएको मञ्चको छैटौँ साधारण सभा तथा चौँथो अधिवेशनबाट विशन अध्यक्ष निर्वाचित भएका हुन् । उनले २० मत प्राप्त गरे । उनका प्रतिष्पर्धी रोहितराज पराजुलीले १६ मत पाए । युवराज श्रेष्ठलाई १० मतले पराजित गर्दे अनुप पौडेल उपाध्यक्ष निर्वाचित भए । पौडेलले २३ र श्रेष्ठले १३ मत पाए । सचिवमा युवराज गुरुङ युनिस र सहसचिवमा उमा आलेमगर सर्वसम्मत चयन भए । फणिन्द्र अधिकारीलाई २ मतले हराउँदै ऋषिराम बराल कोषाध्यक्ष निर्वाचित भए । बरालले १९ र फणीन्द्रले १७ मत पाए । सदस्यहरु निर्विरोध निर्वाचित भए ।   दुर्गा राना, प्रतिक्षा काफ्ले, सुबास पौडेल, चन्द्रिका घिमिरे अनिता, सञ्चय रानाभाट र विमल तिवारी चयन भए ।

झापा:  प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रको एकतालाई मजबुत बनाएर संकल्पका साथ लाग्ने हो भने एमालेलाई अरुले हराउन नसक्ने बताउनुभएको छ।  नेकपा (एमाले) को जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले एमालेमा लामो समय बसेर विभिन्न जिम्मेवारी र लाभको अवसर लिएका कतिपय स्वार्थी नेताहरूले विगतमा पार्टी विभाजन र पार्टी सिध्याउने षड्यन्त्र गरे पनि कार्यकर्ता र जनताले एमालेलाई बचाएर पुनः  राष्ट्रिय शक्ति बनाएको बताउनुभयो।  केपी ओलीविनाको एमाले देख्न चाहने प्रतिक्रियावादीहरुको खेल भएको टिप्पणी गर्दै  उहाँले पार्टीभित्र र बाहिरबाट भइहेको षड्यन्त्र चिर्दै ढुक्कका साथ पार्टीको सही नीति र नेतृत्वको पक्षमा लाग्न आग्रह गर्नुभयो। ‘एमालेविनाको देश र केपी ओली विनाको एमाले होस् भन्ने कामना गर्नेहरूको कामना पुरा हुँदैन। एमाले साना स्वार्थ बोक्ने पार्टी होइन। यसको काँधमा देश बनाउने महान उद्देश्य छ। यो राष्ट्रिय हितका लागि बलिदानबाट आएको पार्टी हो’, अध्यक्ष ओलीले भन्नुभयो, ‘एमालेविरुद्ध जाल बुन्नेहरु सफल हुँदैनन्। माकुरोको जालोमा कहिल्यै भैसी पर्दैन। हाम्रा विरुद्धको भ्रामक प्रचारको पछि लाग्नु हुँदैन। केपी ओली र एमालेले भ्रष्टाचार गर्दैन। हामी  सहकारी ठगेर मुद्दा  झेलेपछि आफ्नो पक्षमा हस्ताक्षर अभियान चलाउने रास्वपाजस्तो हुँदै होइन।’’  उहाँले नेपाललाई एमालेले नसके अरु कसैले बनाउन नसक्ने स्पष्ट गर्दै आफू प्रधानमन्त्री भएपछि फलामखानी र पेट्रोलियम पदार्थको उत्खनन, सुरुङमार्ग निर्माणजस्ता अनेकौं  विकास र समृद्धिका काम थालनी भएको र त्यसको प्रतिफल आउन थालेको बताउनुभयो।  अहिले नेपालको अन्तर्राष्ट्रिय छवि देखिने र सुनिने अवस्थामा रहेको उल्लेख गर्दै उहाँले पछिल्लो स्पेन भ्रमणको सफलता सुन्न नचाहने विपक्षीले वाइसिएल प्रयोग गरेर स्पेन भ्रमणमा मान्छे छाडेर आयो भन्ने दुस्प्रचार गरेको जनाउनुभयो।

काठमाडौं:    नेपाल क्रिकेट सङ्घ (क्यान)ले आइसिसी टी–२० विश्वकपको एसिया तथा पूर्वी एसियाली क्षेत्रीय छनोटको तयारीका लागि मोहम्मद आदिल आलमसहित ३२ क्रिकेट खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ । क्यानले आइतबार खेलाडीलाई प्रशिक्षणमा बोलाएको हो । यसअघि खेल मिलेमतोको आरोप लागेका आदिल करिब तीन वर्षपछि प्रशिक्षण टोलीमा अटाउनुभएको हो । उहाँ मिलेमतोको आरोपमा प्रतिबन्धमा पर्नुभएको थियो । आरोप प्रमाणित नभएपछि उहाँ प्रतिबन्ध फुकुवा हुनुभएको थियो । यस्तै टोलीमा यु–१९ टोलीका युवराज खत्रीले पनि स्थान बनाउनुभएको छ ।  अक्टोबरमा ओमानमा आयोजना हुने छनोट खेलमा नेपाल समूह ‘बी’ मा परेको छ । नेपालको समूहमा कुवेत र जापान परेको छ । पहिलो चरणको प्रतिस्पर्धामा सहभागी नौ टोलीलाई तीन समूहमा विभाजन गरिएको छ । यस्तै समूह ‘ए’मा संयुक्त अरब इमिरेट्स (युएई), मलेसिया र कतार रहेको छ । समूह ‘सी’मा ओमान, पपुवा न्युगिनी र समओले रहेको छ । छनोट खेल अक्टोबर ८ देखि १७ तारिखसम्म ओमानमा हुनेछ । सिंगल राउन्ड रोविन लिगका आधारमा हुने छनोट खेलमा समूहका शीर्ष दुई टोलीले ‘सुपर सिक्स’मा प्रवेश गर्नेछन् ।  सुपर सिक्सका शीर्ष तीन टोलीले आगामी वर्ष भारत र श्रीलङ्काले संयुक्त रुपमा आयोजना आइसिसी टी–२० विश्वकपमा स्थान बनाउनेछन् । छनोट खेलअघि नेपालले अस्ट्रेलिया भ्रमण गर्नेछ । त्यहाँ नेपालले वेस्ट इन्डिजसँग तीन खेलको टी–२० सिरिज खेल्नेछ ।  प्रशिक्षणमा परेका खेलाडी  रोहितकुमार पौडेल (कप्तान), कुशल भुर्तेल, अनिल शाह, आसिफ शेख, भिम शार्की, लोकेश बम, कुशल मल्ल, आरिफ शेख, सन्दीप जोरा, विवेक यादव, गुलसन झा, सन्दीप लामिछाने, नन्दन यादव, करण केसी, सोमपाल कामी, रिजन ढकाल, प्रतीस जिसी, ललित राजवंशी, कमलसिंह ऐरि, शाहब आलम, सागर ढकाल, आकाश चन्द, दीपेन्द्र सिंह ऐरि, रुपेश सिंह, बसिर अहमद, युवराज खत्री, किरण ठगुन्ना, मोहम्मद आदिल अलाम, पवन शराफ, शेर मल्ल, शुभ कंसाकर र अर्जुन घर्ती । 

झापा:  प्रधानमन्त्री केपी शर्मा ओलीले हुलाकी राजमार्गअन्तर्गत गौरीगञ्ज(आमबारी खण्डको झापा र मोरङ जोड्ने रतुवा पुलको आज उद्घाटन गर्नुभएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको हुलाकी सडक निर्देशनालयद्वारा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले सो पुलको उद्घाटन गर्नुभएको हो ।  प्रधानमन्त्री ओलीले छेउमै नदी भए पनि खेतमा सिंचाइ र उत्पादन नहुने स्थिति अन्त्य गर्दै विकास निर्माणलाई तीव्रता दिएर अबको १५ वर्षभित्र मुलुकबाट गरिबी उन्मुलन गर्नुपर्ने आव्हान गर्नुभयो ।  उहाँले कृषिको आधुनिकीकरण र व्यावसायिकीकरण गरी नमुना कार्य गर्न स्थानीय तहलाई आग्रह गर्नुभयो ।

पोखरा:   अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासंघ (फिने) ले नेपाली युवा उद्यमीलाई विश्वभर जोड्दै छ । फिनेले नेपालबाट युवा उद्यमीलाई जोड्नका लागि प्रदेशहरु कमिटि विस्तारमा लागेको बताएको छ । बागमती प्रदेशमा कमिटि गठन गरी सकेको र गण्डकी प्रदेशमा कमिटि गठनका लागि संयोजक तोकेको फिनेका आइसी महासचिब दिपेन घलेले बताए । गण्डकी प्रदेशमा पर्यटन व्यवसायी कृष्ण आचार्यलाई संयोजक तोकेको छ । अगस्ट २ तारिकमा पोखरामा भेला गरेर समिति बनाउने आचार्यले बताए । विदेशमा भएका नेपाली उद्यमीहरूले नेपालसँग जोड्न संस्थाको स्थापना गरेको महासचिब घलेले बताए । उनले फिने विश्वभर छरिएर रहेका नेपाली उद्यमीहरूलाई जोड्ने विश्वव्यापी सञ्जाल बनेको बताए । उनले अहिले सम्म १२ देशमा कमिटि विस्तार भैसकेको र अन्य देशमा पनि थपिदै जाने बताए । नेपालमा पहिले सबै प्रदेशमा कमिटि गठन गरेपछि नेपाल कमिटि बनाउने महासंघका नेपाल संयोजक रामशरण थापाले बताए । उनले संस्थाको उद्देश्य सहयोग, मार्गदर्शन, र व्यवसायिक अवसरहरूको माध्यमबाट नेपाली उद्यमीहरूलाई सशक्त बनाउने रहेको उल्लेख गरे । युवा उद्यमीहरूलाई जोड्ने, व्यापार तथा लगानी प्रवद्र्धन गर्ने र विश्वव्यापी नेपाली व्यवसायिक समुदायको दिगो विकासलाई अघि बढाउन महत्वपूर्ण मञ्च भएको उनको भनाई छ । कार्यक्रममा बागमति प्रदेश कमिटीका संयोजक कृष्ण खतिवडा, सल्लाहारका रामकुमार थपलिया लगाएतले शुभकामना दिए । 

काठमाडौं:  स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले क्यान्सर रोगको उपचारमा प्रयोग हुने अत्यावश्यक औषधि निःशुल्क उपलब्ध गराइने बताउनुभएको छ ।  नेपालमा औषधि उपलब्ध नभएकाले उपचारका लागि विदेश जानुपर्ने बाध्यता हटाउन अन्तर्राष्ट्रिय च्यारिटी डाइरेक्ट रिलिफले ३७ प्रकारका औषधि सहयोग गर्ने प्रतिबद्धता जनाएअनुसार पहिलो चरणको औषधि नेपाल ल्याइएको उहाँको भनाइ छ । यसअघि मन्त्री पौडेलले त्यस्ता औषधि प्राप्त गरेर सरकारी अस्पतालमा निःशुल्क उपलब्ध गराउने निर्णय गर्नुभएको थियो ।  डाइरेक्ट रिलिफले वन हर्ट वर्ल्डवाइड संस्थामार्फत नेपाल सरकारलाई पठाएको सहयोग हस्तान्तरणका लागि आयोजित कार्यक्रममा मन्त्री पौडेलले औषधि अभावमा विदेश गएर महँगो खर्च गनुपर्ने बिरामीको बाध्यता हटाउन लामो मेहनतपछि सफलता प्राप्त भएको मन्त्री पौडेलको सचिवालयले जनाएको छ ।  डाइरेक्ट रिलिफले स्तन, छाला तथा विभिन्न खालका क्यान्सर उपचारमा आवश्यक पर्ने दुर्लभ र महँगा औषधी नेपालको आवश्यकताअनुसार पाँच वर्षसम्म सहयोगस्वरुप उपलब्ध गराउने मन्त्री पौडेलले जानकारी दिनुभयो ।  “क्यान्सरको औषधि महँगो हुँदा विपन्न नागरिकलाई समस्या छ”, मन्त्री पौडेलले भन्नुभयो, “राज्यको लगानीबीना नै धेरै नागरिकलाई राहत दिने प्रयास गरेका हौं ।” हाल ३७ प्रकारका औषधि क्रमैसँग आउने भए पनि अन्य आवश्यक औषधिसमेत सहयोगमा प्राप्त गर्न प्रयास गरिने मन्त्री पौडेलको भनाइ छ ।  मन्त्री पौडेलले सरकारी क्यान्सर अस्पतालमा तत्काल औषधी पठाउने व्यवस्था मिलाइएको बताउनुभयो । मन्त्री पौडेलले सरकारले दिने स्वास्थ्य सुविधा तथा बीमाबारे पर्याप्त जानकारी प्राप्त नहुँदा नागरिकले सेवा लिन नसकिरहेको प्रसङ्ग निकाल्दै सञ्चारमाध्यमलाई यस्ता जानकारी प्राथमिकताका साथ प्रसार गरेर सहयोग गरिदिन आग्रह गनुभयो ।  मन्त्रालयको समन्वय महाशाखा प्रमुख डा‍ भीम सापकोटाले पाँच वर्षसम्म नेपालको आवश्यकताअनुसार औषधि प्राप्त गर्ने गरी समझदारी भएको जानकारी दिनुभयो ।  वन हर्ट वर्ल्डवाइडका नेपाल प्रतिनिधि सूर्य भट्टले मन्त्री पौडेलको विशेष पहलबाट मात्र औषधि प्राप्त भएको उल्लेख गर्दै नेपालका लागि ठूलो उपलब्धि भएको बताउनुभयो ।  स्तन क्यान्सर, प्लाक सोरियासिस, अल्जाइमर आदि स्वास्थ्य समस्यामा प्रयोग हुने यी औषधि र स्वास्थ्य सामग्रीहरू भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भक्तपुरको भक्तपुर क्यान्सर अस्पताल, बाँकेस्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताल र काठमाडौँस्थित वीर अस्पताललाई हस्तान्तरण गरिएको मन्त्रालयका प्रवक्ता डा‍ प्रकाश बुढाथोकीले जानकारी दिनुभयो । 

काठमाडौं:  प्रधानमन्त्री केपी शर्माले आदिकवि भानुभक्त आचार्यले नेपालीलाई भाषा र भावनाको सेतुले जोड्ने काम गरेको बताएका छन् । भानुजयन्तीको अवसरमा आइतबार शुभकामना व्यक्त गर्दै ओलीले भानुभक्तले नेपाली मनमा रामायण रोपेर गएको उल्लेख गरेका छन् । उनले भनेका छन्– ‘आज आदिकवि भानुभक्त आचार्यको जन्मजयन्ती । आदिकवि, जसले नेपाली मनमा रामायण रोपेर जानुभयो, नेपालीलाई भाषा र भावनाको सेतुले जोड्नुभयो । नेपाली भाषामा आदिलेखन थालनी गर्नुभएका भानुभक्तप्रति नमन, स्रष्टाहरूलाई भानुजयन्तीको हार्दिक शुभकामना ।’ आइतबार देशभर आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्ती विविध कार्यक्रम गरी मनाइँदै छ ।

काठमाडौं:   नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । संस्कृत भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवादसहितको ‘रामायण’ प्रस्तुत गरेर भानुभक्तले नेपाली जनतालाई ठूलो गुन लगाउनुभएको छ । उहाँले लेख्नुभएको रामायण अहिले पनि नेपालीहरूको घरघरमा सस्वर लय हालेर पाठ गरिन्छ । पृथ्वीनारायण शाहले भौगोलिक रूपमा एकीकरण गर्नुभएको नेपाललाई आदिकवि भानुभक्तले भाषा, साहित्य र संस्कृतिमार्फत एकीकरण गर्नुभएको हो । विसं १८७१ असार २९ गते तनहुँको चुँदीरम्घा गाउँमा जन्मिनुभएका भानुभक्तलाई एक सामान्य घाँसीले ‘जन्मेपछि राम्रो काम गरेर नाम कमाउनुपर्छ’ भनी अर्ती उपदेश दिनुभएकाले उहाँ रामायणलाई नेपालीमा रचना गर्न प्रेरित हुनुभएको थियो । ‘वधुशिक्षा’ उहाँको अर्को प्रसिद्ध कृति हो । यसैगरी ‘प्रश्नोत्तर’, ‘भक्तमाला’, ‘रामगीता’, फूटकर रचनालगायत कृति छन् । कुमारी चोकको हिसाब मिलाउन नसकेर झ्यालखानामा परेका आदिकवि आचार्यले सरकारी कार्यालयमा हुने ढिलासुस्ती र ‘भोलिवाद’का कट्टर विरोधी भएर कवितामा भोलिको विरोध गर्दै लेख्नुभएको थियो– ‘भोलिभोलि भन्दैमा सब घर बितिगो बक्सियोस् आज झोली’ । नेपाली जातीय एकता, राष्ट्रिय पहिचान र नेपाली सांस्कृतिक चेतना जगाउन र राष्ट्रिय संस्कृतिलाई बलियो बनाउनमा भानुभक्तको ऐतिहासिक योगदान छ । भानुभक्त ऐतिहासिक व्यक्ति भएकाले सम्पूर्ण नेपालीले उहाँको सम्मान गर्नुपर्ने र उहाँका विचारका बारेमा उठेका विवादमाथि छलफल एवं समीक्षात्मक कार्यक्रम गर्नु आजको प्रमुख आवश्यकता भएको समालोचकहरूको धारणा छ । त्रिभुवन विश्वविद्यालयबाट भानुभक्तबारे स्नात्तकोत्तरमा थुप्रै शोधग्रन्थ लेखिएका छन् । यस उपलक्ष्यमा आज बिहान काठमाडौँको रानीपोखरी अगाडि रहेको राष्ट्रिय विभूति भानुभक्तको प्रतिमामा माल्यार्पण र नगर प्रभातफेरी गर्ने कार्यक्रम रहेको जनाइएको छ । घरघरमा आदिकवि आचार्यले नेपाली भाषामा भावानुवाद गर्नुभएको रामायण पाठ गरी भानु जयन्ती मनाउँछन् । यस अवसरमा भाषा, साहित्य र संस्कृतिका क्षेत्रमा काम गर्ने संस्थाले आज विभिन्न कार्यक्रम गरी भानु जयन्ती मनाउँदै छन् । आदिकवि आचार्यभन्दा अघि नै नेपाली भाषामा कविता लेख्ने कवि भएकाले उहाँलाई आदिकवि भन्न नमिल्ने तर्क पनि उठ्ने गरेका छन् । भानुभक्तका विषयमा अध्ययन, अनुसन्धान गरिरहनुभएका त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक ज्ञाननिष्ठ ज्ञवाली रामायणजस्तो ग्रन्थलाई नेपाली लोकलयमा भावानुवाद गरी भाषिक एकताको महत्त्वपूर्ण योगदान गर्नुभएकाले भानुभक्तलाई आदिकवि भनिनु न्यायोचित रहेको बताउनुहुन्छ । रामायण ग्रन्थले भाषिक क्षेत्रमा नयाँ युगनिर्माण गरेको मानिन्छ । आदिकवि आचार्यको निधन विसं १९२५ असोजमा भएको थियो । भानुभक्तको जन्मजयन्ती भारतको दार्जिलिङ, सिक्किम, भुटान, बर्मालगायत नेपाली भाषाभाषी धेरै रहेका देश एवं स्थानमा पनि मनाइन्छ ।