लुम्बिनी: नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परिवर्तन उल्टाउन खोज्नेलाई छुट नदिइने बताउनुभएको छ । उहाँले त्यस्ता विरुद्ध सडकबाट भण्डाफोर अभियान चलाउनेसमेत बताउनुभयो । आज बुटवलमा आयोजित मगर मुक्तिमोर्चाको छैटौँं राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहनुभएका दाहालले विगतमा नागरिकसँगका सम्बन्ध केही कमजोर भएकाले त्यसलाई सुधारेर जाने प्रतिबद्धता जनाउनुभयो । उहाँले विगतका निर्वाचनमा एमाले र कांग्रेससँग गठबन्धन गर्दा गल्ती गरिएको स्वीकार गर्दै जनतासँग माफी माग्न मैदानमा आएको बताउनुभयो । “माओवादीले अब पहिले गरेका गल्ती कमजोरी दोहो¥याउँदैन”, उहाँले भन्नुभयो, “जनतासँग माफी मागेर सरकारका गलत कामको खबरदारी गरिरहने हो ।” अध्यक्ष दाहालले अबको आवश्यकता जनताले प्राप्त गरेका अधिकारको रक्षा गर्दै प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख, पूर्ण समानुपातिक निर्वाचन प्रणाली जस्ता अग्रगामी ‘एजेन्डा’मा जानु उचित रहेको उल्लेख गर्दै कसैले पनि प्रतिगमनबारे नसोच्न चेतावनी दिनुभयो । पार्टीले गरेको जनयुद्ध उत्पीडित समुदायको मोर्चाबाटै सफल भएको बताउँदै उहाँले ती समुदायप्रति उच्च सम्मान व्यक्त गर्नुभयो । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले सरकारले कार्यशैलीका कारण निरङ्कुशतन्त्रले प्रहार गर्न खोजेको बताउनुभयो । उहाँले हालका सबै परिवर्तनको आधार माओवादी जनयुद्ध रहेको जिकिर गर्नुभयो । कार्यक्रममा नेकपा माओवादीका केन्द्रीय सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज चक्रपाणी खनालले राजतन्त्रले टाउको उठाउन खोजेकाले सबै क्रान्तिकारी शक्ति एकजुट हुनुपर्नेमा जोड दिनुभयो ।
गण्डकी: पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडानको प्रयासस्वरुप यही चैत ५ गते पोखराबाट मित्रराष्ट्र चीनको छेन्दुसम्म पहिलो व्यवसायिक चार्टर्ड उडान गरिने भएको छ । लामो समयदेखि पोखरेली जनसमुदायको माग तथा सरकारी र निजी क्षेत्रको संयुक्त प्रयासबाट सञ्चालनमा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन भएको दुई वर्षसम्म पनि नियमित अन्तर्राष्ट्रिय उडान हुन नसकेका अवस्थामा पहिलोपटक व्यावसायिक चार्टर्ड उडान गर्न लागिएको पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले जानकारी दिनुभयो । “पोखराबाट अन्तर्राष्ट्रिय विमान सुचारु गर्नको लागि पटकपटक राज्यका सम्बन्धित उच्च निकायमा ध्यानाकर्षण गरिरहदा पनि उडान सुचारु हुन नसक्दा हामी निजी क्षेत्रका पर्यटन व्यवसायीले नै केही प्रयास गरौँ भन्ने उद्देश्यका साथ पोखरा पर्यटन परिषद्को नेतृत्वमा नेपालस्थित चिनियाँ राजदूतावास र सिचुवान एयरलाइन्स सँगको सहकार्यमा यो अन्तर्राष्ट्रिय उडान गर्न लागिएको हो”, उहाँले भन्नुभयो । यसमा विशेषतः चीनस्थित चाइना ट्राभल्स इन्टरनेसनल छेन्दुले सुरुआती उडानहरुमा सहकार्य गरिरहेको बताउँदै उहाँले नेपालस्थत चाइनिज ओभरसिज एसोसिएसनले पनि संयोजनकारी भूमिका निर्वाह गरेको जानकारी दिनुभयो । यो उडानले पोखरा र समग्र गण्डकी प्रदेशकै पर्यटन चलायमान हुने विश्वास लिइएको उहाँको भनाइ छ । आगामी तीन महिनासम्मको अवधिमा करिब एक हजार २५० जना चिनियाँ पर्यटक चीनको सिचुवान प्रदेशबाट हवाईमार्गबाट सीधा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गराउन प्रयासरत रहेको चिनियाँ दूतावास, सिचुवान एयरलाइन्स र चाइना ट्राभल इन्टरनेसनल छेन्दुले जानकारी गराएको उहाँले बताउनुभयो । सुरुवाती चरणमा केही व्यावसायिक चार्टर्ड उडानबाट सुरु गरेर यसलाई व्यावसायिक उडानमा परिणत गरी नियमित अन्तर्राष्ट्रिय उडान गर्ने कार्यको लागि पोखरा पर्यटन परिषद् र समग्र पर्यटन व्यवसायीहरू निरन्तर प्रयासमा लागिरहेको परिषद्ले जनाएको छ । पोखराबाट नियमित अन्तर्राष्ट्रिय उडानको प्रयासस्वरुप पहिलोपटक व्यावसायिक चार्टर्ड उडान हुन लागेको बताउँदै पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले अब चार्टर्ड मात्र नभई नियमित उडान हुनुपर्ने बताउनुभयो । ठूलो जनसङ्ख्या रहेको चीनबाट पर्यटक भित्र्याउन सकिएमा त्यसले पोखरा सहित समग्र नेपालको पर्यटनमा महत्वपूर्ण योगदान पुग्ने उहाँले बताउनुभयो । नेपालस्थित चिनिया राजदूतावासका डिसिएम वाङ सिनले पोखराबाट हुन लागेको व्यावसायिक चार्टर्ड उडानले पोखराको समग्र आर्थिक एवं पर्यटकीय विकासमा महत्वपूर्ण योगदान पु¥याउने बताउँदै नेपाल चीनबीचको वर्षौंदेखिको सम्बन्ध आगामी दिनमा थप प्रगाढ बन्दै जाने उहाँले विश्वास व्यक्त गर्नुभयो । उडानको तालिका अनुसार चैत ५ गते छेन्दुबाट बिहान १० बजे १२७ जना चिनियाँ यात्रु लिएर विमान पोखरा विमानस्थल अवतरण गर्नेछ । उक्त दिन दिउँसो १२ बजे १२७ जना पोखराबाट पर्यटन व्यवसायी छेन्दु प्रस्थान गर्नेछन् । उक्त व्यावसायिक चार्टर्ड उडानमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछाने, पोखरा भ्रमण वर्ष २०२५ कार्यसम्पादन समितिका संयोजक गोपीबहादुर भट्टराई, पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीलगायत सहभागी बन्ने जनाइएको छ । पहिलो व्यावसायिक उडानका क्रममा हुनेसात रात आठ दिनसम्मको कार्यक्रममा विशेषतः सिचुवान प्रदेशको छेन्दु, लुझेउ, इमि, लिसन, छोङछिङ केन्द्रित रही त्यहाँका पर्यटन विकास, विस्तारका बारे जनकारी लिइने परिषद्का महसचिव जीवनराज सापकोटाले जानकारी दिनुभयो । त्यस्तै नेपाल पर्यटन बोर्डको आयोजना तथा नेपाली महावाणिज्य दूतावास छेन्दुको सहकार्यमा छेन्दु र छाउछिङमा क्रमशः १९ र २२ मार्चमा नेपाल इभिङ र सेल्स मिसन गर्न लागिएको नेपाल पर्यटन बोर्ड पोखरा कार्यालयका प्रमुख मणिराज लामिछानेले जानकारी दिनुभयो । “पोखराबाट अन्तर्राष्ट्रिय उडानका रुपमा गर्न लागिएको पहिलो व्यावसायिक चार्टर्ड उडानसँगै गरिने सेल्स मिसनका कार्यक्रमले पोखरा सहित समग्र नेपालको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण टेवा पुग्नेछ”, उहाँले भन्नुभयो । त्यस्तै पोखरा महानगरपालिकाका प्रमुखको नेतृत्वमा लुझोउ सहरमा केही विशिष्ट व्यक्तिहरू सहित समकक्षीसँग भेटवार्ता एवं महत्वपूर्ण विषयमा छलफल गरिने जनाइएको छ । सञ्चालनको दुई वर्षसम्म पनि पोखराबाट नियमित अन्तर्राष्ट्रिय उडान हुन नसकेका अवस्थामा पहिलोपटक गर्न लागिएको व्यवसायिक चार्टर्ड उडान आफैँमा महत्वपूर्ण रहेको पोखरा भ्रमणवर्ष २०२५ कार्यसम्पादन समितिका संयोजक गोपीबहादुर भट्टराईले बताउनुभयो ।
काठमाडौं: आगामी चैत ७ गते बस्ने प्रतिनिधिसभाको बैठकमा ‘प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नउत्तर’ कार्यक्रम हुनेभएको छ । प्रतिनिधिसभा नियमावली २०७९ को परिच्छेद ९ बमोजिम ‘प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नउत्तर’ सम्बन्धी कार्यक्रम आगामी चैत ७ गतेको बैठकमा हुनेगरी निर्धारण गरिएको सभामुख देवराज घिमिरेले संसद्लाई जानकारी गराउनुभयो । उहाँले भन्नुभयो, “प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नउत्तर कार्यक्रमको लागि यसअघि नै समूह विभाजन भइसकेको र समूह नौमा रहेका सदस्यले यस महिनामा प्रश्न सोध्नका लागि नियमावली नियम ५८ बमोजिम अगामाी चैत ३ गते आइतबार दिनको २ बजेभित्र प्रतिनिधिसभाका सचिव समक्ष आफ्नो प्रश्न लिखित रूपमा दिइसक्नु हुन व्यहोरासभा समक्ष जानकारी गराउन चाहान्छु ।”
काठमाडौं: महिला ट्वान्टी–२० अन्तरराष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा नेपाल नामिबियासँग पराजित भएको छ । जारी प्रतियोगितामा नेपालको यो प्रतियोगितामा तेस्रो हार हो । युगान्डाको एन्टेब्बे क्रिकेट ओभल मैदानमा नेपाल नामिबियासँग २३ रनले पराजित भएको हो । हारसँगै नेपाल फाइनल पुग्ने सम्भावना कमजोर बनेको छ । नामिबियासँगको पहिलो भेटमा पनि नेपाल ६ विकेटले पराजित भएको थियो । यस्तै घरेलु टोली युगान्डलाई एक विकेटले हराएको नेपाल हङकङसँग दुई रनले पराजित भएको थियो । प्रतियोगितामा दोस्रो जित निकालेको नामिबियाको चार खेलमा चार अङ्क छ । नामिबियाले यसअघि पनि नेपाललाई पराजित गरेको थियो । साथै हङकङसँग चार विकेट र युगान्डासँग एक रनको पराजय बेहोरेको थियो । नामिबियाले प्रस्तुत गरेको १२६ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभर पाँच विकेट गुमाउँदै १०२ रन मात्रै बनाउन सक्यो । नेपालका लागि साना प्रवीनले ३१, कविता कुँवरले अविजित १७ तथा पूजा महतो र कप्तान इन्दु बर्माले समान १५ रन बनाए । नामिबियाका लागि इभ्लिन केजरुक्वाले दुई तथा विल्का एमवाटिल, साइमा टुहाडेलिनी र मिकेली एमवाटिलले समान एकरएक विकेट लिए । टस हारेर पहिले ब्याटिङ गरेको नामिबियाले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १२५ रनको योगफल बनाएको थियो । नामिबियाका लागि यास्मिन खानले ४५, विल्का एमवाटिलले २०, आरास्ता डियर्गार्डले अविजित १६ तथा सुने विटम्यानले १५ रन बनाए । नेपालका लागि ईश्वरी विष्टले तीन, रचनाकुमारी चौधरीले दुई तथा रिया शर्मा र इन्दु बर्माले समान एकरएक विकेट लिए । नेपालले अर्को खेल भोलि युगान्डासँग खेल्ने तालिका छ ।
पोखरा: पोखराको फेवाताल किनार बाराही घाट चौरमा फागु पूर्णिमा होलीको दिन बिहीबार हुने भनिएको (होलिल्याण्ड)को कार्यक्रम स्थल सरेको छ । आयोजक प्रचार नेपाल र स्पेक्स फोर्टिनले बुधबार एउटा सूचना निकालेर कार्यक्रम हुने स्थान विशेष कारणले सार्नुपरेको जनाएको छ । कार्यक्रम कोमागाने पार्क (केदारेश्वर मन्दिर क्षेत्र)मा सारिएको प्रचार नेपालका संचालक आशिष पुरीले जानकारी दिए । अन्तिम समयमा कार्यक्रम स्थल सार्नुपरे पनि आफूहरुको उर्जा नघटेको पुरीले बताए । होलिल्याण्डको दोस्रो संस्करणमा पनि प्रवेश निशुल्क रहेको छ । कार्यक्रममा डिजे डेनी, डिजे अनिष, डिजे रुस, डिजे एम्मी, डिजे न्याक्सिजम, डिजे साउडेको प्रस्तुति रहने उनले बताए । उक्त कार्यक्रमको स्टेज हाइपरमा बकबक ९विवेक गुरुङ० रहेका छन् । स्टेज हाइपर भनेको डिजेले प्रस्तुति दिँदा माहोल बनाउने व्यक्ति हुन् । कार्यक्रममा हट एअर बेलुन, अल्ट्रालाइट, ड्रोन स्प्लयास, खानाको स्टल र सांगीतिक प्रस्तुति आकर्षणको रुपमा रहने स्पेक्स फोर्टिनका संचालक महेश्वरसिंह भण्डारीले जानकारी दिए । बिहान ११ बजेदेखि ६ बजेसम्म हुने कार्यक्रमको सञ्चालक एकिन गुरुङ छन् । यो कार्यक्रमलाई टिल्ट योर वर्ल्ड र एक्स्पर्ट एजुकेसन एन्ड भिसाले सहयोग गरेको छ । प्रचार नेपालले पोखरामा प्रायः सांगीतिक कार्यक्रम गर्दै आएको छ । यो वर्षको प्रणय दिवस ९भ्यालेन्टाइन डे०मा द एज ब्यान्ड र स्वरको कन्सर्ट गरेको थियो जहाँ करिब ५ हजार दर्शक उपस्थित थिए । त्यसअघि गत कार्तिकमा चर्चित गायक सज्जनराज वैद्यको कन्सर्टको व्यवस्थापन प्रचार नेपालले नै गरेको थियो । अंग्रजी नयाँ वर्षको अवसरमा यो वर्ष आयोजित २६ औं सडक महोत्सवमा प्रचारले गत पुसमा ‘द एण्ड गेम’ नाम दिएर सबिन राई एण्ड फेरोह, पूर्ण राई र दाजु–भाइहरु, र्यापर डोंग, देवेन्द्र बब्लु एण्ड द फिरन्तेलगायतको कन्सर्ट गरेका थिए ।
पोखरा: नेकपा (एमाले)निकट विद्यार्थी संगठन अनेरास्ववियुले इन्जिनियरिङ अध्ययन संस्थान (पश्चिमाञ्चल क्याम्पस)मा स्ववियु निर्वाचनका उम्मेद्वार टुंगो लगाएको छ । आगामी ५ चैतमा हुने निर्वाचनका लागि अनेरास्ववियुले आइतबार अनुप न्यौपानेको नेतृत्वको टिम तयार गरेको हो । प्रत्यक्षतर्फ निर्वाचन हुने सचिवमा विनायक भुवाँजी, कोषाध्यक्षमा रोहितकुमार शाहलाई उम्मेद्वार बनाउने निर्णय भएको अनेरास्ववियु कास्की जिल्ला सचिव रवि क्षेत्रीले जानकारी दिए । प्रत्यक्ष सदस्यमा अमृत बस्नेत, रुपेश पौडेल, अंकित गैरे, अश्रान्त पहारी, सुशान्त गौतम, पूर्णिमा अछामी, त्रिदेव ढकाल(सुरज)उम्मेद्वार रहेका छन् । समानुपातिक उम्मेदवार भने टुंगो लाग्न बाँकी छ । अध्यक्षका उम्मेद्वार न्यौपानेले इन्जिनियरिङ अध्ययन क्षेत्रका समस्या आफूले प्रत्यक्ष देखेको र त्यसलाई समाधान गर्न स्ववियुमार्फत क्रियाशील रहने प्रतिबद्धता जनाए । विगतमा हुन नपाएको निर्वाचन योपटक पनि नभएमा विद्यार्थीका मुद्दा झनै ओझेलमा पर्ने उनले बताए । ‘कसले जित्छ–हार्छ भन्ने भन्दा पनि सबै विद्यार्थी संगठन मिलेर कसरी स्ववियु चुनाव गर्ने भन्ने हुनुपर्छ,’ उनले भने, ‘योपटक स्ववियु निर्वाचन हुन्छ ।’ इन्जिनियरिङ अध्ययन संस्थान (पश्चिमाञ्चल क्याम्पस)मा स्ववियु निर्वाचनका लागि २ हजार ४१ जना मतदाता छन् । उक्त क्याम्पसमा २०७३ सालमा निर्वाचन भएको र त्यसपछि हुन नसकेको अनेरास्ववियु गण्डकी प्रदेश कमिटी सदस्य विकल्प सापकोटाले जानकारी दिए । त्यतिबेला अनेरास्ववियुका उम्मेदवार इन्द्र पौडेल सभापतिमा विजयी भएका थिए । त्रिभुवन विश्वविद्यालयअन्तर्गत रहेका देशभरका क्याम्पसमा स्ववियु निर्वाचनका लागि आगामी मंगलबार मनोनयन दर्ता हुँदैछ । यसअघि जनप्रिय बहुमुखी क्याम्पसमा अनेरास्ववियुले आविष्कार केसीलाई अध्यक्षको उम्मेद्वार बनाउने सार्वजनिक गरिसकेको छ । अनेरास्ववियुले सोमबार साँझसम्म सबै क्याम्पसमा उम्मेद्वार टुंग्याउने अनेरास्ववियु कास्की सचिव रवि क्षेत्रीले जानकारी दिए । इन्जिनियरिङ, जनप्रियसहित त्रिभुवन विश्वविद्यालयअन्तर्गत रहेका पोखराको पृथ्वीनारायण क्याम्पस, वन विज्ञान अध्ययन संस्थान, पोखरा नर्सिङ क्याम्पस आगामी ५ चैतमा स्ववियु निर्वाचनअन्तर्गत मतदानको कार्यतालिका छ । नेपाल संस्कृत विश्वविद्यालयअन्तर्गत रहेको विन्दुवासिनी संस्कृति विद्यापीठमा भने १० चैतमा निर्वाचन हुने कार्यतालिका छ ।
बाजुरा: बाजुराको खप्तड छेडेदह गाउँपालिकामा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बूढीगङ्गा नगरपालिका–४ खोडालबाडाका अन्दाजी ३३ वर्षीय ट्र्याक्टर चालक पदमबहादुर रावत रहेकोे जिल्ला प्रहरी कार्यालयले जनाएको छ । खप्तड छेडेदह गाउँपालिकाबाट बूढीगङ्गा नगरपालिका आउँदै गरेको भे२त १५८८ नम्बरको ट्र्याक्टर गएराति ओरालो सडकमा अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी नायब उपरीक्षक जनक बोहराले जानकारी दिनुभएको छ । उहाँका अनुसार ट्र्याक्टरमा सवार रहेका चार जना मध्ये चालक रावतका छोरा सञ्जय रावतलाई सामान्य चोट लागेको छ । घाइते बालकको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको निमित्त प्रहरी नायब उपरीक्षक बोहराले बताउनुभएको छ । अन्य तीन जना सकुशल रहेको , ट्र्याक्टरको अगाडिको भाग करिब २५० मिटर तल सडकमा खसेको र ट्राली ५० मिटर तल खसेको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको छ ।
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकभित्रै रोजगारीका अवसर सिर्जना गर्न निजी क्षेत्रको महत्वपूर्ण योगदान रहेको बताउनुभएको छ । राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन, २०८१ को आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले उद्यमशीलताको विकास गरी परिस्थितिमा परिवर्तन ल्याउन र समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा अघि बढाउन सरकार लागिरहेकाले यसमा निजी क्षेत्रको भूमिका झन् महत्वपूर्ण हुने धारणा व्यक्त गर्नुभयो । उहाँले विदेशका विभिन्न मुलुकमा गएर नेपालीहरुले श्रम गर्ने तर स्वदेशमा रोजगारीका अवसर सिर्जना नहुने हो भने अर्थतन्त्रको उत्थान नहुने भएकाले विज्ञान प्रविधिको भरपुर उपयोग गरेर उत्पादन र उत्पादकत्व वृद्धि गर्नेतर्फ ध्यान जानुपर्ने बताउनुभयो । प्रधानमन्त्री ओलीले विश्व बजारमा प्रतिस्पर्धी हुनसक्ने दक्ष जनशक्ति उत्पादन गर्न र स्वदेशमै बढीभन्दा बढी रोजगारी सिर्जना गर्न लाग्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा राष्ट्रिय सीप विकास प्रतिष्ठान र रोजगारदाता कम्पनीबीच समझदारीपत्रमा हस्ताक्षर भएको थियो । यस्तै, प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत एकीकृत श्रम बजार सूचना प्रणाली विस्तारका लागि श्रम तथा रोजगार मन्त्रालय र स्विस एजेन्सीबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
सुदूरपश्चिम: नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकार सञ्चालनमा दलहरूबीच कुनै समस्या नरहेको बताउनुभएको छ । आज धनगढी विमानस्थलमा पत्रकारसँग सङ्क्षिप्त कुरा गर्नुहुँदै देउवाले अहिलेको गठबन्धन २०८४ सम्म कायम रहने स्पष्ट पार्नुभयो । अर्को एक प्रश्नमा देउवाले राजतन्त्रका पक्षमा अहिले हल्ला मात्र भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “कुनै माहोल मैले देखेको छैन, त्यो हल्ला मात्र हो, हल्ला गरेर केही हुँदैन ।” कांग्रेस सभापति देउवा सहितका नेता पार्टीको सुदूरपश्चिम प्रदेशस्तरीय सम्मेलनमा सहभागी हुन आज धनगढी पुग्नुभएको छ ।