म्याग्दी: म्याग्दी र मुस्ताङमा बसोबास गर्ने अल्पसङ्ख्यक थकाली समुदायले आजदेखि तोरन ल्ह (फागुपूर्णिमा) पर्व मनाउन सुरु गरेका छन् । नेपालका विभिन्न क्षेत्रमा ११ हजारको सङ्ख्यामा बसोबास गर्ने थकाली समुदायले हरेक वर्ष फागुपूर्णिमाको अवसरमा परम्परागत तोरन ल्ह पर्व मनाउने गर्दछन् । फागुपूर्णिमाको अघिल्लो दिन सुरु हुने तोरनल्ह तीन दिनसम्म मनाउने चलन रहेको थकाली सेवा समिति बेनी क्षेत्रका अध्यक्ष जगनारायण गौचनले बताउनुभयो । “तीन दिन सबैरे उठेर शुद्ध भई पितृहरुलाई सम्झिएर पूजाआजा गर्ने र फूलप्रसाद चढाउनुपर्छ”, उहाँले भन्नुभयो, “आफन्तलाई बोलाएर मीठामीठा परिकार खुवाउने र आर्चरी ९तारो हान्ने० खेल्ने चलन छ ।” मुस्ताङको थासाङ गाउँपालिकाको कोवाङ थकाली समुदायको उद्गमस्थल मानिन्छ । घरपझोङ र थासाङ गाउँपालिकामा थकाली समुदायको बाहुल्य बसोबास छ । म्याग्दीको दाना, भुरुङ तातोपानी, बेनी, दरवाङलगायत बजार क्षेत्रमा थकाली समुदायको बसोबास छ । तोरन ल्ह मनाउन घरबाहिर र विदेशमा रहेका थकालीहरु आफ्नो जन्मथलो फर्किएका छन् । तोरन ल्हमा थकाली समुदायले घर सिँगारपटार गरेका छन् । तोरन्ल्ह पर्वको अवसरमा थकाली समुदायका पुरुषहरु परम्परागत तारो हान्ने खेल खेलेर रमाइलो गर्दछन् । महिलाहरु भने मौलिक वेशभूषामा सजिएर नाचगान गर्ने, गोटा खेल्ने र शुभकामना साटासाटा गरेर तोरन्ह मनाउँछन् ।
काठमाडौं: नेपालमा बोलिने १२५ भाषाका लागि साझा लेखन पद्धति निर्माण गर्ने उद्देश्यले एउटै ‘फन्ट’ निर्माण गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठाले गठन गरेको नेपालका भाषाको साझा लेखन पद्धतिको विकास अध्ययन कार्यदल र आवरण प्रकाशनबीचको सहमतिअनुसार फन्ट निर्माण गरिएको हो । कलाकार रमेश पौडेलले कार्यदलको प्रतिवेदनका आधारमा ‘दुबो’ नामक ‘फन्ट’को ‘डिजाइन’ गरेर मङ्गलबार सो फन्ट प्रतिष्ठानलाई हस्तान्तरण गरिएको बताउनुभयो । आवरण प्रकाशनका प्रबन्ध निर्देशक पौडेलले २२४ ‘क्यारेक्टर’ रहेको ‘दुबो’ फन्ट देवनागरी र ‘युनिकोड’भन्दा फरक ‘लेआउट’ मा भए पनि प्रयोगमा सजिलो रहेको बताउनुभयो । मङ्गलबार प्रतिष्ठानमा आयोजित एक कार्यक्रममा प्रस्तावित फन्टका विषयमा भाषविद्सहित छलफल र प्रस्तुतीकरणसमेत गरिएको थियो । त्यस अवसरमा भाषाविद् प्रा डा माधव पोखरेलले प्रस्तावित फन्टले लिपि नभएका तर नेपालमा बोलिने धेरै भाषाहरूको लेखनपद्धतिमा देखिएको समस्या समाधानमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको थियो । प्रतिष्ठानका कुलपति भूपाल राईले विज्ञ कार्यदलको सहयोयमा नयाँ फन्ट सिर्जना गरिएको र यो प्रयास निकै उपयोगी हुने बताउनुभयो । भाषा आयोगका अध्यक्ष डा गोपाल ठाकुरले प्रस्तावित फन्टले नेपालमा बोलिने सबै भाषाको लेखनमा एकरूपता आउने बताउनुभयो । कार्यदलका संयोजक डा अमृत योञ्जन तामाङले प्रस्तावित फन्टले नेपालका भाषाहरूको लेखनमा सहजता आउने बताउनुभयो । कार्यदलका सदस्य प्रा भीमनारायण रेग्मीले प्रस्तावित फन्टका विशेषतासहितको प्रस्तुतीकरण गर्नुभएको थियो । कार्यक्रममा प्रतिष्ठाका सदस्यसचिव डा धनप्रसाद सुवेदी, प्रा राम लोहनी, डा कृष्णप्रसाद चालिसे, डा कर्णाखर खतिवडा, दिलेन्द्र सुब्बा, डा सूर्यप्रसाद यादव र राजनलाल जोशीले प्रस्तावित फन्टका विषयमा जिज्ञासासहित टिप्पणी गर्नुभएको फन्ट निर्माता कलाकार पौडेलले राससलाई जानकारी दिनुभयो । प्रतिष्ठानले गठन गरेको अध्ययन कार्यदलको संयोजकमा डा तामाङ, सहसंयोजकमा डा विष्णुकुमार सिंजाली र सदस्यहरूमा प्रा भीमनारायण रेग्मी, डा तारामणि राई, अम्बरजङ लिम्बू, प्राज्ञ त्रैलोक्यमान बनेपाली र हंसवती कुर्मी रहनुभएको थियो ।
काठमाडौं: लन्डनबाट बेपत्ता नेपाली विद्यार्थी कमल अधिकारी डेढ महिनापछि नेपाली दूतावासको सम्पर्कमा आउनुभएको छ । गत फेब्रुअरी २ देखि सम्पर्कविहीन २३ वर्षीय अधिकारी सकुशल फेला पर्नुभएको लन्डनस्थित नेपाली दूतावासका उपनियोग प्रमुख विपिन दुवाडीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “इस्ट लन्डनस्थित एक होमलेस सेल्टरमा आश्रय लिएर बसिरहेको अवस्थामा कमलसँग सम्पर्क भएको छ । उहाँ सम्पर्कमा आउनुभएसँगै नेपालस्थित उहाँको परिवारलाई खबर गरेका छौँ, उहाँहरुकै आग्रहमा नेपाल फिर्ता पठाउने तयारी सुरु भइसकेको छ ।” दूतावाससँग कमल स्वयम्ले पनि नेपाल फर्कने इच्छा देखाएको दुवाडीको भनाइ छ । उहाँको शारीरिक र मानसिक स्वास्थ्य राम्रो रहेको र पासपोर्ट बेलायतको होमअफिसमा रहेको दूतावासले जनाएको छ । लन्डनस्थित ‘युनिभर्सिटी अफ क्रियटिभ आर्टस’मा अध्ययनरत कमललाई घरबेटीले निकालिदिएपछि सडकमा पुग्नुपरेको थियो । त्यसपछि उहाँ लन्डनबाटै सम्पर्कविहीन हुनु भएपछि परिवारले खोजी गरिदिन आग्रह गर्दै परराष्ट्र मन्त्रालयमा निवेदन दिएको थियो । कमल हराएको सूचना पाएलगत्तै लन्डनस्थित नेपाली दूतावासले लन्डन मेट्रोपोलिटन प्रहरीलाई खबर गरेर खोजीका लागि आग्रह गरेको थियो । धनुषाको हंसपुर–६ का अधिकारी सन् २०२२ मा अध्ययनका लागि बेलायत आउनुभएको थियो ।
काठमाडौं: नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपाली राष्ट्रिय पुरूष र महिला क्रिकेट खेलाडीको नयाँ केन्द्रीय सम्झौता सार्वजनिक गरेको छ । क्यानले आज सार्वजनिक गरेको नयाँ सूचीअनुसार पुरूषतर्फ ग्रेड ‘ए’ र ‘बी’ मा समान पाँच, ‘सी’ मा चार, डी’ मा १२ तथा इमर्जिङ प्लेयरमा सात खेलाडीलाई छनोट गरेको छ । केन्द्रीय सम्झौताअनुसार ग्रेड ‘ए’ मा कप्तान रोहितकुमार पौडेल, दीपेन्द्र ऐरी, सन्दीप लामिछाने, सोमपाल कामी र आसिफ शेख परेका छन् । उनीहरूले मासिक जनही रू एक लाख प्राप्त गर्नेछन् । ग्रेड बी मा करण केसी, कुशल भुर्तेल, गुल्सन झा, ललित राजवंशी र अनिल साह छन् । यी खेलाडीहरूले मासिक रू ७० हजार प्राप्त गर्नेछन् । ग्रेड सी’ मा सन्दीप जोरा, आरिफ शेख, भीम सार्की र कुशल मल्ल छन् । उनीहरूले रू ५५ हजार पाउनेछन् । त्यस्तै ग्रेड डि मा सागर ढकाल, लोकेश बम, साहब आलम, आकाश चन्द, विवेक यादव, सुर्य तामाङ, रिजन ढकाल, देव खनाल, बसीर अहमद, प्रतिस जिसी, अभिनाश बोहरा र मयन यादव छन् । उनीहरूले मासिक रू ३५ हजार प्राप्त गर्नेछन् । यसैगरी अर्जुन घर्ती, हेमन्त धामी, दिपेश कँडेल, रूपेश सिंह, अर्जुन कुमाल, शुभ कंशाकार र सन्तोष यदावलाई इमर्जिङ प्लेयसमा राखिएको छ । उनीहरूले रू २५ हजार प्राप्त गर्नेछन् । त्यसैगरी महिला खेलाडीको नयाँ केन्द्रीय सम्झौताअनुसार चार खेलाडीलाई ग्रेड ‘ए’ मा समवेश गरिएको छ । जसमा कप्तान इन्दु बर्मा, रूविना क्षेत्री, सीता रानामगर र पूजा महतो छन् । उनीहरूले मासिक रू ५० हजार प्राप्त गर्नेछन् । ग्रेड ‘बी’ मा कविता जोशी छन् । उनले मासिक ३५ हजार पाउनेछिन । ग्रेड सी’ मा कविता कुँवर र सम्झना खड्का छन् । उनीहरूले रू २५ हजार प्राप्त गर्नेछन् । यस्तै ग्रेड डि मा विन्दु रावल, अलिशाकुमारी यादव, रिया शर्मा, साना प्रविन, सीमान केसी, सावित्री धामी, रोमा थापा, ईश्वरी विष्ट, कृस्मा गुरूङ, ज्यात्निका मरासिनी, रचनाकुमारी चौधरी र मनिषकुमारी उपाध्याय छन् । उनीहरूले मासिक २० हजार पाउनेछन् । उक्त केन्द्रीय सम्झौतामा रहने खेलाडीहरूको सम्झौता अवधि छ महिनासम्म हुनेछ । छमहिनापश्चात् खेलाडीहरूको प्रदर्शनका आधारमा बाँकी छ महिनाका लागि खेलाडीहरूको पुनःवर्गीकरण गरी केन्द्रीय सम्झौता गरिने क्यानले जनाएको छ ।
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले इजिप्टका राष्ट्रपति अब्देल फत्ताह सइद हुुसैन खालिलसँग आज साँझ टेलिफोन संवाद गरी हमासद्वारा बन्धक बनाइएका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि थप पहल गरिदिन आग्रह गर्नुभएको छ । प्रधानमन्त्री ओलीले ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत इजरायलमा कार्यरत विद्यार्थी जोशीको सकुशल र शीघ्र रिहाइका लागि भूूमिका निर्वाहका लागि राष्ट्रपति अब्देलसँग आग्रह गर्नुभएको हो । जवाफमा राष्ट्रपति अब्देलले उक्त विषयमा आफ्नो प्रयास जारी रहने अवगत गराउनुुभयो । इजरायलमाथि आक्रमणका क्रममा सन् २०२३ अक्टोबर ७ मा हमासद्वारा बन्धक बनाइएका जोशीको इजरायल र हमासबीचको दोस्रो चरणको बन्दी आदानप्रदानको सूचीमा नाम प्राथमिकतामा पार्ने प्रयासका लागि धन्यवाद व्यक्त गर्नुभयो । प्रधानमन्त्री ओलीले इजरायल र हमासबीचको युद्धविराम सम्झौताको नेपालले स्वागत गरिसकेको र सो क्रममा अरब गणतन्त्र इजिप्टले खेलेको भूमिकाको महत्त्वपूर्ण भएको उल्लेख गर्नुभयो । प्रधानमन्त्री ओलीले नेपाल विश्व शान्तिका पक्षमा सदैव रहेको स्पष्ट गर्दै यस मानवीय प्रकृतिको कार्यमा भूमिका निर्वाहका लागि कतार र संयुक्त राज्य अमेरिका सरकारलाई पनि आभार व्यक्त गर्नुभयो ।
पोखरा: नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकी प्रदेशको अध्यक्षमा खिमाकुमारी गुरुङ (कास्की) निर्वाचित भएकी छिन् । पोखरामा बुधबार भएको तेस्रो प्रादेशिक महाधिवेशनले गुरुङको नेतृत्वमा १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो । समितिमा उपाध्यक्ष (खुला) धनबहादुर गुरुङ (कास्की), उपाध्यक्ष (महिला) शिला गुरुङ (नवलपुर), महासचिव सुरज थापा (कास्की), सचिव (खुला) दिलप्रसाद गुरुङ (कास्की), सचिव (महिला) कला राना (स्याङ्जा) र कोषाध्यक्ष सुमन थापामगर (कास्की सर्वसम्मत निर्वाचित भएका छन् । सदस्यहरूमा चेतबहादुर थापा ‘प्रविन’ (कास्की) यमबहादुर सोमै मगर (नवलपुर) , खड्गबहादुर आले (तनहुँ) , मनप्रसाद गुरुङ (कास्की) , कविता घर्तीमगर (कास्की) , चन्द्रकुमारी महतो (नवलपुर) , पुनम थापामगर (कास्की) र कृष्ण श्रेष्ठ ‘रोजी’ (कास्की) सर्वसम्मत भएका छन् । संघीय प्रतिनिधिमा रुद्र श्रीस मगर, रत्ना गुरुङ र सुशान्त गाहा मगरलाई चयन गरिएको निर्वाचन समितिका संयोजक संघीय सल्लाहकार हुमबहादुर गुरुङले जानकारी दिए । प्रदेश समितिले बागलुङका यामबहादुर थापालाई पनि संघीय प्रतिनिधिमा मनोनीतका लागि सिफारिस गर्ने भएको छ । अधिवेशन तथा सम्मान कार्यक्रमको गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री डा. टकराज गुरुङले उद्घाटन गरेका थिए । कार्यक्रममा मन्त्री गुरुङले गण्डकी प्रदेशमा गुरुङ र मगर भाषालाई सरकारी कामकाजको भाषा बनाउने प्रक्रिया द्रुत गतिमा अघि बढिरहेको बताए । आदिवासी जनजातिको हितका निमिक्त आदिवासी जनजातिकै पत्रकारहरुले कलम र क्यामेरा चलाउनुपर्नेमा उनको जोड थियो । उनले फोनिजको श्रीवृद्धिका लागि आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा फोनिजलाई समेट्ने प्रतिवद्धता जनाए । फरक प्रसंगमा उनले समाजलाई बिगार्न खोज्ने केही व्यक्तिहरुको आतंकका कारण देशमा अहिलेको अवस्था सृजना भएको बताए । नेपालको वर्तमान राज्य व्यवस्था संसारकै उत्कृष्ट मोडलको रहेको भन्दै उनले समाजमा अराजकता फैलाउनेहरुले गरेका सामान्य गतिविधिमा अत्तालिनु नपर्ने धारणा राखे । कार्यक्रममा फोनिजका संघीय वरिष्ठ उपाध्यक्ष लक्की चौधरी, महासचिव समिर बलामी, संघीय सल्लाहकार हुमबहादुर गुरुङ, कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेलगायतले पत्रकारिताको माध्यमबाट देशको सबै क्षेत्रको विकास हुनुपर्नेमा जोड दिएका थिए । पत्रकारले राम्रो कामको प्रचारप्रसार र नकारात्मक कार्यमा खबरदारी गर्नुपर्ने उनीहरुको भनाइ थियो । कार्यक्रममा फोनिज गण्डकीले ‘मिलन पत्रकारिता पुरस्कार–२०८१’ पर्वतका पत्रकार संजय रेग्मीलाई प्रदान गरेको छ । समाजसेवी दुर्गा गुरुङ ‘मिलन’ ले आफ्ना स्वर्गीय बुबा नरबहादुर गुरुङ र आमा सावित्रीकुमारी गुरुङको सम्मान एवं स्वर्गीय मित बुबा सूर्यप्रसाद मलेपति श्रेष्ठ ‘मिलन’ को स्मृतिमा स्थापना गरेको पुरस्कारबाट रेग्मीलाई सम्मान गरेको हो । पोखरा र पर्वतमा रहेर करिब डेढ दशकदेखि पत्रकारितामा सक्रिय रहेका रेग्मीले आदिबासी जनजातिहरूको उत्थानका लागि तथा उनीहरूका परम्परागत सीप, शैली, कला लगायतका विषयमा लेख्ने गरेका छन् । सोही मूल्यांकनको आधारमा ‘मिलन पत्रकारिता पुरस्कार–२०८१’ पहिलो पुरस्कार नै उनलाई प्रदान गरिएको फोनिज गण्डकी प्रदेशका अध्यक्ष रुद्रबहादुर श्रीसमगरले बताए । उनलाई मन्त्री गुरुङले जनजातिको मौलिक पहिचानका रुपमा रहेको फेटा र भांग्रा सहित सम्मान पत्र र नगद २० हजार १११ रुपैयाँ प्रदान गरेको हो । पुरस्कार लागि व्यक्तिको छनोट समितिका संयोजक तथा फोनिज गण्डकी प्रदेशका इन्चार्ज एम.बी.आस्था मगरले फोनिज गण्डकी प्रदेशबाट सञ्चालन हुने गरी गण्डकी प्रदेश स्तरमा पत्रकारिताको क्षेत्रबाट आदिवासी जनजातिको आवाज मुखरित गर्ने एक जना क्रियाशील युवा पत्रकारलाई सम्मान गर्ने विधान अनुसार रेग्मीलाई छनोट गरिएको बताए । नवनिर्वाचित अध्यक्ष गुरुङले फोनिज गण्डकी प्रदेशलाई अग्रजको सल्लाहसँगै अनुजको साथ र सहयोगका आधारमा रचनात्मक ढंगबाट कार्यक्रम गर्दै जाने प्रतिवद्धता जनाइन् ।
भक्तपुर: अरनिको राजमार्ग खण्ड अन्तर्गत यहाँको मध्यपुरथिमि नगरपालिका–३ गठ्ठाघरचोकमा आज ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । भक्तपुरबाट काठमाडौँतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख १८८४ नं को ट्रकले सोही दिशातर्फ जाँदै गरेको बा ३१ प ४४४ नं को मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक भक्तपुर नगरपालिका–६ बस्ने ३६ वर्षीय श्यामकृष्ण कायस्थको मृत्यु भएको प्रहरी वृत्त थिमिले जानकारी दिएको छ । प्रहरीले ट्रक चालक सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–६ घर भई हाल मध्यपुरथिमि–३ सागबारी बस्ने ४७ वर्षीय चन्द्रलाल शाक्यलाई पक्राउ गरी अनुसन्धान अगाडि बढाएको प्रहरीले जनाएको छ
काठमाडौं: नेपाली फिल्म निर्देशन गरेर अन्तर्राष्ट्रिय रूपमा परिचय बनाउनुभएका निर्देशकमध्येका एक हुनुहुन्छ, दीपक रौनियार । उहाँले विसं २०७० मा निर्देशन गर्नुभएको पहिलो चलचित्र ‘हाइवे’ बर्लिन अन्तरराष्ट्रिय चलचित्र महोत्सवमा ‘प्रिमियर’ हुने पहिलो चलचित्र बन्यो । निर्देशक रौनियारले नेपाली चलचित्रलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउनुका साथै ‘अन्तरराष्ट्रिय प्लेटफर्म’मा प्रवेश दिलाउन नेपाली चलचित्रले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो । यसै सन्दर्भमा पछिल्ला दिनमा छोटा चलचित्र, वृत्तचित्र तथा चलचित्रहरूले अन्तरराष्ट्रिय महोत्सवमा स्थान पाउने गरेका छन् भने कैयौँ नेपाली चलचित्र अब्बल सावित हुन सफल भएका पनि छन् । यद्यपि यतिमै खुसी हुनुपर्ने अवस्था नरहेको निर्देशक रौनियार बताउनुहुन्छ । “हामीले विश्वका अधिकांश चलचित्र महोत्सवमा नेपाली झण्डा फरफराइ रहेका छौँ । चलचित्रमार्फत पनि हामीले देशसँगै कला र संस्कृतिलाई चिनाउने काम गरेका हुन्छौँ । तर, हामी अब त्योभन्दा अगाडि बढ्नुपर्छ, यो विन्दुमा अलमल गर्नुहुँदैन”, उहाँले भन्नुभयो । विसं २०७० पछि नेपाली चलचित्र बनाउन विदेशी सहायता पनि जोडिएको पाइन्छ । विभिन्न अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमार्फत चलचित्र निर्माणका लागि प्राप्त हुने सहयोगका लागि सोही देशका चलचित्रकर्मी निर्माताका रुपमा जोडिएका हुन्छन् । चलचित्र निर्माण, वितरण र प्रदर्शनका लागि रहेको ‘चलचित्र ऐन’ नयाँ नआउँदासम्म कठिनाइको सामना गर्नुपरेको निर्देशक रौनियारले बताउनुभयो । “हामीले आफ्ना चलचित्रलाई विदेशीमाझ पु¥याउन सफल भएका छौँ, पुरस्कार पनि जितिरहेका छौँ । तर, उनीहरुको लगानी नेपाल ल्याउन मौजुदा कानुनले रोकेको छ, त्यसलाई संशोधन गरेर चलचित्रकर्मीलाई प्रोत्साहन गर्नु राज्यको दायित्व हो । किनकी हामीले अहिले जे जस्तो उपलब्धि हासिल गरेका छौँ, त्यसका लागि हाम्रो प्रयास, लगनशीलता र मेहनत जोडिएको छ, तर हामीले चाहेको उपलब्धि हासिल गर्न राज्यको भूमिका र सहयोग आवश्यक छ”, उहाँले भन्नुभयो । उहाँले सर्वोच्च शिखर ‘सगरमाथा’ र ‘खेलकुद’ विधाले जस्तै ‘चलचित्र’ क्षेत्रले पनि नेपाललाई विश्वमा चिनाउन मद्दत गरेको छ भन्ने तत्थ्यलाई हामी सबैले मनन गरी सोहीअनुसार यसको प्रवद्र्धन गर्नुपर्नेमा जोड दिनुभयो । आफू सम्बद्ध चलचित्र ‘सेतो सूर्य’ संसारकै सबैभन्दा पुरानो भेनिस अन्तररष्ट्रिय चलचित्र महोत्सवमा छनोट भएर ‘इन्टरफिल अवार्ड’ जित्न सफल भएपछि विश्वका चलचित्रसम्बन्धी आयोजना हुने धेरै मेला महोत्सवमा पुग्नुभएका निर्देशक रौनियार आवश्यक नीतिगत सहयोग, आर्थिक लगानी र अनुकूल वातावरण बनाएर चलचित्रकर्मीलाई प्रोत्साहित गर्नुपर्ने बताउनुहुन्छ । “मसँगै धेरै चलचित्रकर्मी अन्तरराष्ट्रिय चलचित्र महोत्सवमा नेपालको प्रतिनिधित्व गर्दै पुगिरहनुभएको छ । हाम्रो काम देखेर लगानी गर्न खोज्ने धेरै छन्, हामीले अहिले नेपाली चलचित्रको राम्रो बजार बनिरहेको संयुक्तराज्य अमेरिका, अस्ट्रेलियालगायतका देशबाट लगानी ल्याउन सक्छौँ । तर, नीतिगत कठिनाइ छ, रचनात्मक स्वतन्त्रता पनि कम छ । यसले हामी जस्ता चलचित्रकर्मीलाई प्रोत्साहन गर्न सकेको छैन”, निर्देशक रौनियारले भन्नुभयो । उहाँले निर्देशन गर्नुभएको पछिल्लो चलचित्र हो,‘राजागञ्ज’ । उक्त चलचित्रले समाजलाई प्रश्न गर्ने, छलफल गराउने र बाटो देखाउने काम गर्ने उहाँको भनाइ छ । नेपाल र भारतको सीमावर्ती सहरमा अपहरणमा परेका दुई बालकलाई मुक्त गराउन प्रहरीले गरेको खोजीको कथा पनि समेटिएको चलचित्रले उठाएको विषयले माथि उल्लेखित तथ्यलाई समेटेको उहाँले बताउनुभयो । “खेलकुद झैँ चलचित्रले पनि समाजलाई जोड्ने काम गर्छ । हामी चलचित्रकर्मीले आफ्नो दायित्व बोध गरेर त्यस किसिमका विषयवस्तुमा आधारित चलचित्र ल्याइरहेका हुन्छौँ, हामीले गल्तीबाट नै सिक्ने हो । चलचित्रमा पनि गलत गर्नु हुन्न् भन्ने देखाउन गलत देखाएर त्यसले दिएको नकारात्मक परिणामले गरिरहेको असर देखाउँदै सही बाटो रोज्न प्रेरित गर्ने हो । एउटा चलचित्रकर्मीका रुपमा मैले आफ्नो दायित्व बोध गरेको छु”, निर्देशक रौनियारले भन्नुभयो । अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा चलचित्रले पुरस्कार जिते पनि घरेलु व्यापारमा भने त्यस प्रकारको सफलता निर्देशक रौनियारले निर्देशन गर्नुभएको चलचित्रले पाउन सकेको छैन । उहाँले निर्देशन गर्नुभएको ‘हाइवे’ र ‘सेतो सूर्य’ युट्युबमा सार्वजनिक हुँदा राम्रो प्रतिक्रिया आए पनि चलचित्र भवनमा दर्शकको उपस्थिति नगन्य थियो । घरेलु बजारमा कलात्मक चलचित्र कमजोर हुनुलाई जानकारी सम्प्रेषणमा देखिएको कठिनाइ रहेको उहाँको बुझाइ छ । “हामी कहाँ महोत्सवमा छानिएका चलचित्र बुझ्नै कठिन हुन्छ भन्ने भाष्य बनेको छ, त्यो गलत हो । महोत्सवमा पठाउन र चलचित्र भवनमा चलाउन दुई किसिमबाट सम्पादन गरेका हुन्छौँ, साथै उक्त चलचित्रमा गाउँ, समाजकै कथा हुने भएकाले बुझ्न नसकिने वा गाह्रो केही हुँदैन । चलचित्र भवनसम्म आएर हेर्नुभयो भने उस्तै मनोरञ्जन पाउनुहुनेछ, तर यस्ता चलचित्र विषय प्रधान हुन्छन्”, निर्देशक रौनियारले स्पष्ट गर्नुभयो । उहाँले नेपालमा आगामी चैत १ गतेदेखि सार्वजनिक प्रदर्शन हुने तयारीमा रहेको चलचित्र ‘राजागञ्ज’ भेनिस, ह्याम्बर्ग, बुसान र मुम्बईजस्ता अन्तरराष्ट्रिय चलचित्र महोत्सवमा छनोट भएर प्रदर्शन भइसकेको जानकारी पनि दिनुभयो ।
काठमाडौं: जापान सरकारको सहयोगमा निर्माणाधीन नागढुङ्गा सुरूङमार्ग निर्माण आयोजनाका लागि प्रस्तावित सहुलियतपूर्ण ऋण सहायतासम्बन्धी सम्झौतालाई अन्तिमरूप दिन नेपाल सरकारकोतर्फबाट अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गरी वार्ता गर्न अख्तियारी दिने मन्त्रीपरिषद्ले निर्णय गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाल सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरूङले यही फागुन २६ गते बसेको मन्त्रीपरिषद्को निर्णय सार्वजनिक गर्दै उक्त जानकारी दिनुभयो । सञ्चार मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्री गुरूङले सरकारले गरेका २५ वटा निर्णय सार्वजनिक गर्नुभयो । भवानी विद्यापीठ माध्यमिक विद्यालय, पर्वतको छात्राबास भवन निर्माणको प्रस्तावित सम्भाव्यता अध्ययनसम्बन्धी आदानप्रदान पत्र स्वीकृत गर्ने र उक्त पत्रमा सरकारकोतर्फबाट हस्ताक्षर गर्न अर्थ मन्त्रालयलाई अख्तियारी प्रदान गर्ने सरकारले निर्णय गरेको छ । त्यस्तै, सरकारबाट क्वालिटी टिभीइटी फर युथ (क्वालिटिटिभी) प्रोजेक्ट, फेज आई कार्यक्रमका लागि स्वीट्जरल्याण्ड सरकारबाट प्राप्त हुने थप अनुदान रकम १ दशमलव ६८ मिलियन स्वीस फ्रैंक (करिब नेपाली २५ करोड ६५ लाख रूपैयाँ बराबर) अनुदान सहायता स्वीकार गर्ने र उक्त एक्सचेञ्ज अफ लेटरमा नेपाल सरकारकोतर्फबाट हस्ताक्षर गर्न अर्थ मन्त्रालयलाई अख्तियारी दिने निर्णय भएको छ । सरकारले विश्व बैंकबाट सञ्चालित विभिन्न आयोजनामा प्रतिकार्य विकल्प (आरआरओ) स्थापना गर्नका लागि उल्लिखित आयोजनाको वित्तीय सम्झौतामा नेपाल सरकारकोतर्फबाट हस्ताक्षर गर्न अर्थ मन्त्रालयलाई अख्तियारी दिएको छ । त्यस्तै आगामी चैत २० गतेदेखि २२ गतेसम्म स्पेनको मेड्रिडमा सञ्चालन हुने लिडरसिप एण्ड लिभरेजिङ द ग्लोबल एसआइए नेटर्वक कार्यक्रम र चैत २५ गतेदेखि २६ गतेसम्म थाइल्याण्डको बैंककमा सञ्चालित हुने आइडिआइएडीबी लिडरसिप फोरम कार्यक्रममा सहभागिताका लागि महालेखापरीक्षक तोयम रायालाई स्वीकृति प्रदान गरेको मन्त्री गुरूङले जानकारी दिनुभयो । त्यस्तै, अन्य निर्णयमा विश्व बैंकको वित्तीय सहयोगमा कार्यान्वयनमा रहेको रणनीतिक सडक सञ्चालन तथा व्यापारिक मार्ग सुधार आयोजनामा प्रस्तावित २०० मिलियन अमेरिकी डलर बराबरको थप सहुलियतपूर्ण ऋण रकम स्वीकार गर्नेसम्बन्धी वित्तीय सम्झौता र आयोजना दस्तावेजलाई अन्तिमरूप दिन नेपाल सरकारकोतर्फबाट वार्ता गर्न अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गरी उल्लेखित दस्तावेजहरूलाई अन्तिम रूप दिन अख्तियारी दिइएको छ । आगामी चैत १८ गतेदेखि २२ गतेसम्म थाइल्याण्डको बैंककमा सञ्चालित हुने एजुकेशनल वर्कसप अन सिस्टम अफ अडिट क्वालिटी म्यानेजमेन्ट कार्यक्रममा सहभागिताका लागि उपमहालेखापरीक्षक वैकुण्ठबहादुर अधिकारीलाई स्वीकृति दिएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगबाट सिफारिस भएबमोजिम सङ्घ, प्रदेश, स्थानीय तहबीच रोयल्टी बाँडफाँटका आधार, विधि र हिस्सा स्वीकृत गरिएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र अन्तर्गतका निकायको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण९ओएन्डएम० गर्न पूर्वस्वीकृति दिइएको छ । आगामी चैत १५ गतेदेखि १७ गतेसम्म माल्टामा आयोजना हुने १६औँ एनआरएन युरो रिजनल कन्फ्रेन्स मा सहभागी हुन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीलाई स्वीकृति दिइएको छ । सरकारले भागीरथी भट्टराई ९ज्ञवाली०, काठमाडाँैलाई विद्युत् नियमन आयोजनाको सदस्य पदमा नियुक्त गर्ने निर्णय गरेको छ । त्यसैगरी सरकारले रेट एनलाइसिस नर्मस फर वर्कस् २०८१ स्वीकृत गरेको छ । आर्थिक वर्ष २०८१र८२ को बाँकी अवधिका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत सञ्चालित उच्च मूल्य कृषिवस्तु उत्थानशील कार्यक्रम, काठमाडाँैका लागि अधिकृतस्तरका आठ पदहरूको अस्थायी दरबन्दी स्वीकृत भएको छ । सरकारले राष्ट्रिय चिया तथा कफी विकास बोर्डको कार्यकारी निर्देशक पदमा फाइन्द्रराज पाण्डेलाई नियुक्त गरेको छ । त्यसैगरी सो मन्त्रिपरिषद् निर्णयबाट अनुचित लेनदेन (मिटरब्याज) अपराध नियन्त्रणका लागि सुझावसहितको प्रतिवेदन पेस गर्न बाबुराम रेग्मीको अध्यक्षतामा भरतबहादुर बोहोरा र बद्रीप्रसाद भट्टराई सदस्य रहेको तीन सदस्यीय अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ आयोग, २०८१ गठन गर्ने निर्णय भएको छ । गैरआवासीय नेपालीसम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृित दिइएको छ । जिल्ला समन्वय समितिका नाममा दर्ता रहेको तनहुँ जिल्ला साविक फराकचौर गाविस वडा नं ९ ग को क्षेत्रफल ०–६–०–० (छ आना) सरकारी जग्गा व्यास नगरपालिका–३ को वडा कार्यालय भवन निर्माणका लागि उपयोग गर्न स्वीकृति दिइएको छ । त्यसैगरी जग्गा प्रशासन निर्देशिका, २०२५ र भू–सूचना प्रणाली सञ्चालन निर्देशिका, २०७१ खारेज गरिएको छ । यसैगरी, आगामी चैत २१ गतेदेखि १३ गतेसम्म जर्मनीको बर्लिनमा आयोजना हुने पेटेरेसबर्ग क्लाइमेट डाइलग २०२५ कार्यक्रममा सहभागी हुन वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीलाई स्वीकृति दिइएको छ । बडीचौर–विम्रेनी–बाबियाचौर–विद्यापुर सडक निर्माणका लागि सुर्खेत जिल्लाको बराहताल गाउँपालिका वडा नं २, ५, ६, ७ र पञ्चपुरी नगरपालिका वडा नं ३ मा रहेको राष्ट्रिय वनको १० दशमलव ३१९ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृति दिइएको छ । जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडको सञ्चालन समितिको अध्यक्ष पदमा वन तथा वातावरण मन्त्रालयका सहसचिव ९प्रा० डा बुद्धि सागर पौडेललाई अर्को व्यवस्था नभएसम्मका लागि कामकाज गर्न खटाउने र नागरिक उड्डयन क्षेत्रको सुधारसम्बन्धी उच्चस्तरीय अध्ययन तथा सुझाव समितिको म्याद ४५ दिन थप गरिएको छ । मन्त्रीपरिषद्बाट कान्तिबाल अस्पताल भवन पुनःनिर्माण कार्यलाई विशेष परियोजनाका रूपमा कार्यान्वयन गर्नेगरी खरिद प्रक्रिया अगाडि बढाउन स्वीकृति दिने, चीनले एम्बुलेन्स प्रयोजनार्थ अनुदान(वस्तुगत सहायता) स्वरूप प्रदान गर्ने ५० थान विद्युतीय सवारीसाधन स्वीकृत गर्न स्वीकृति प्रदान गर्ने र स्वास्थ्य बिमा बोर्डको कार्यकारी निर्देशकको पदमा डा रघुराज काफ्लेलाई नियुक्त गर्ने निर्णय भएको छ ।