पोखरामा सवारी दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ ।    सोमबार बिहान पोखरा महानगरपालिका–८ सभागृह चोकमा ग.२ च.२१६२ नम्बरको गाडीको ठक्करबाट पैदलयात्री सोही महानगरपालिका–२० भल...

पर्वत:   पर्वतको मोदी गाउँपालिका–३ देउरालीको लाङ्दीमा पहिरोमा घर पुरिँदा  बेपत्ता भएका दम्पतीमध्ये श्रीमानको शव भेटिएको छ ।  स्थानीयवासी र सुरक्षाकर्मीले पुरिएको अवस्थामा ७८ वर्षीय छविलाल विश्वकर्माको शव भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रविन विष्टले जानकारी दिनुभयो ।  उहाँले पहिरोमा बेपत्ता भएकी छविलालकी श्रीमती विष्णुमतीको खोजी जारी छ । डिमुवा र कुश्माबाट गएको प्रहरी र स्थानीयवासीको सक्रियतामा पहिरो पन्छाएर बेपत्ताको  खोजी जारी राखेको प्रहरी प्रमुख विष्टले जानकारी दिनुभयो । अत्यधिक वर्षा भएकाले उद्धारमा समेत कठिनाइ भइरहेको उहाँको भनाइ छ । गए रातिदेखि परेको भारी वर्षाका कारण आज बिहान घरमाथि कान्लोबारी खस्दा दम्पती पुरिएका थिए भने उनीहरुकी २८ वर्षीया बुहारी पवित्रा  हामफालेर ज्यान जोगाउन सफल भएकी थिइन्  ।    यो पनि पढ्नुहोस   पर्वतको लाङ्दीमा पहिरोले घर पुरिँदा दम्पती बेपत्ता

ढोरपाटन:   ‘थाम राम’ निसीखोलाको विशिष्ट मौलिक संस्कृति हो । यो सयौँ वर्ष पुरानो मानिन्छ । बागलुङको निसीखोला गाउँपालिका–६ मा यतिबेला यो संस्कृतिले रौनक छाएको छ ।  विशेषगरी साउने सङ्क्रान्ति पर्वसँग साइनो जोडिएको थाम रामलाई स्थानीयले संरक्षणमा जोड दिएका छन् । स्थानीयको भाषामा ‘थाम’को अर्थ तरुनी तन्नेरी हात समाएर नाचगान गर्ने, दौडिने र ‘राम’को अर्थ मेला भन्ने बुझिन्छ ।  हरेक वर्ष साउन १ गते गाउँका युवायुवती जम्मा भएर लेकमा पुगेर फूल टिप्ने गर्छन् । गीत गाउँदै, नाच्दै र रमाइलो गर्दै फूल टिप्न लेक पुगेका उनीहरु साँझ गाउँ फर्किएर सङ्क्रान्ति मनाउने गर्छन् । भोलिपल्ट थामडाँडामा जम्मा भएर तरुनीतन्नेरीलाई लेकबाट लिएको फूल लगाइदिने, नाचगान गर्ने र हात समातेर दौडिने गर्छन् । हात समाएर दौडिने संस्कृतिलाई स्थानीयले थाम खेल्ने भन्छन् । थाम खेल्नेमा युवायुवतीदेखि बूढाबूढीसम्म सहभागी हुन्छन् । यो संस्कृतिलाई नयाँ पुस्ताले पनि चासो दिएका छन् । यसरी थाम खेल्दा देवीदेवता खुसी हुने धार्मिक मान्यता छ । निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीमगरका अनुसार पहिलेपहिले थाम खेल्ने जोडीले मायाप्रेम गर्ने र विवाह गर्ने गर्थे । तर पछिल्लो समय त्यो चलन भने कम भएको छ । थाम राम युवायुवतीको जमघट हुने माध्यसमेत रहेको अध्यक्ष घर्तीमगरले बताउनुभयो ।  “थाम राम यो क्षेत्रको ऐतिहासिक संस्कृति हो, यसमा मगर समुदायको पहिचान जोडिएको छ, लेकमा फूल टिप्न जाँदा देउरालीमा ध्वजा बाँध्ने, फूल चढाउने र पूजा गर्ने गरिन्छ, यसरी फूल चढाउँदा पितृ खुसी हुने जनविश्वास छ”, अध्यक्ष घर्तीमगरले भन्नुभयो, “लेकमा फूल टिप्ने र थाम खेल्ने चलन त धेरै पहिलादेखि मनाइँदै आएको छ, हामीहरू पनि यसलाई संरक्षण गर्नुपर्छ भनेर लागेका छौँ ।” यो संस्कृति द्वन्द्वकालमा हटेको थियो । विसं २०५७ देखि रोकिएको संस्कृति स्थानीयले गत वर्षदेखि पुनः मनाउन थालेका छन् । स्थानीय ६८ वर्षीय नैनसिंह बुढामगरले यो संस्कृति कहिलेदेखि मान्न सुरु भएको भन्ने यकिन नभएपनि बूढापाकाले भनेअनुसार बाइसेचौबीसे राजाका पालादेखि सुरु भएको हुनसक्ने बताउनुभयो । थाम रामले वर्षौँदेखि टाढिएका प्रेमीप्रेमिका, आफन्त जमघटको अवसर जुटाउने उहाँको भनाइ छ ।  बुढामगरले भन्नुभयो, “थाम राम पुरानो संस्कृति हो, यसबेला फूल टिप्ने, तरुनी तन्नेरीलाई लगाइदिने, नाचगान गर्ने र मनका वेदना पोख्ने गरिन्छ, पहिलेपहिले अहिलेको जस्तो फोनको जमान थिएन, तरुनीतन्नेरी भटे हुनका लागि कुनै मेला महोत्सव हुनुपथ्र्यो, त्यसका लागि स्थानीयले लेकमा गएर फूल टिप्ने र थाम खेल्ने एउटा समय तोके सोहीअनुसार अहिले चल्दै आएको भन्ने लाग्छ, त्योसँगै धार्मिक आस्थासँग पनि यसको महत्व जोडिएको छ ।” यहाँको रिग युवा क्लबले थाम राम संस्कृतिको संरक्षणमा अग्रणी भूमिका खेल्दै आएको छ । युवालाई एकीतृत गर्ने र पाका पुस्ताबाट नयाँ पुस्तामा संस्कृति हस्तान्तरणको प्रयास गरिएको छ । युवालाई बूढापाकासँगै राखेर सिकाउने कार्य गरेको क्लबका अध्यक्ष भुवनसिंह घर्तीमगरले जानकारी दिनुभयो । युवाले चासो नदिए संस्कृति नै लोप हुने उहाँको भनाइ छ ।

पोखरा: इम्ब्रोइडरी एण्ड गार्मेन्ट एसोसिएसन (एगा) पोखराको २२औँ साधारणसभा एक समारोहका बीच आज सम्पन्न भएको छ ।      साधारणसभाको नेपाल पर्यटन बोर्डका बोर्ड सदस्य ऋषि भण्डारीले उद्घाटन गर्नुभयो ।      कार्यकममा भण्डारीले राज्यका निकायले राम्रोसँग ध्यान नदिँदा पर्यटन क्षेत्रमा निराशा छाएको बताउनुभयो ।  मुलुकमा बनेका संरचनाले १५ लाख भन्दा बढी पर्यटन धान्ने सक्ने अवस्था नरहेको भन्दै उहाँले वर्षमा १०÷१२ लाख पर्यटकको मात्रै लक्ष्य राखेर मुलुकको पर्यटन अघि बढ्न नसक्ने जिकिर गर्नुभयो ।      बैंक तथा वित्तीय संस्थाको अधिकांश लगानी पर्यटन क्षेत्रमै भएकोले अझै पनि ध्यान नदिने हो भने अबको केही वर्षमा पर्यटन क्षेत्र डुब्ने र यसको प्रत्यक्ष असर राज्यलाई नै पर्ने उहाँको भनाइ छ ।    पोखराको पर्यटन विकासका लागि एगासँग सहकार्य गरेर अघि बढ्न आफू तयार रहेको उहाँले प्रतिवद्धता व्यक्त गर्नुभयो ।       नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका प्रमुख मणिराज लामिछानेले आ.व.२०८१/०८२ मा एगासँग सहकार्य गरेर विभिन्न कार्यक्रम गरिएको बताउँदै आगामी दिनमा पनि सहकार्य गरेर अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।      पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले कुनै पनि संस्था आँर्फैमा सानो वा ठूलो नहुने बताउँदै सो संस्थाले गर्ने कामका आधारमा त्यसको स्थान निर्धारण हुने बताउनुभयो । परिषद्मा आवद्ध संस्थाबीच समन्वय गरेर पर्यटन क्षेत्रमा व्यवस्थापन सुधार्ने र व्यवसायी र राज्यबीच पुलको भूमिका निर्वाह गर्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।      एगा पोखराका अध्यक्ष गोकर्ण लम्सालले पर्यटन प्रवद्र्धनमा एगाले महत्वपूर्ण भूमिका खेलेको बताउँदै सबैको साथ र सहयोगबाटै संस्थालाई माथि उठाउन प्रयास गरिएको बताउनुुभयो । संस्था स्थापना दुई दशकदेखि भए पनि नेपालको पर्यटकीय प्रचारप्रसारमा एगाको भूमिका तीन दशकदेखि नै भएको उहाँले स्पष्ट पार्नुुभयो ।      सदस्यहरूको क्षमता अभिृबद्धि समेतको उद्देश्य राख्दै एगाका सदस्यहरूले यही साउन १० गतेदेखि इन्डोनेशिया र भियतनाम लगायतका स्थानको भ्रमणसँगै त्यहाँका गार्मेन्ट उद्योगहरूको भ्रमण गर्ने भएको उहाँले जानकारी दिनुुभयो ।      एगाका निवर्तमान अध्यक्ष ईन्द्रप्रसाद भण्डारीले पोखरालाई हरेक तवरले पर्यटनसँग जोड्नुपर्ने भन्दै यसतर्फ राज्यका निकायले विशेष ध्यान दिन आवश्यक रहेको बताउनुुभयो ।      पोखरा पर्यटन परिषदका पूर्व अध्यक्ष एवम् पोखरा भ्रमण वर्ष कार्यसम्पादन समिति संयोजक गोपीबहादुर भट्टराईले पर्यटन प्रवद्र्धनका लागि नारा मात्र नभै दीर्घकालीन योजना आवश्यक रहेको बताउनुभयो ।       एगाका सल्लाहकार एवम् पोखरा पर्यटन परिषद्का पूर्व अध्यक्ष चिरञ्जीवि पोखरेलले सबै एकै ठाउँमा बसेर पर्यटन क्षेत्रका समस्या बारे छलफल गर्दै समाधानमा जोड दिनुपर्ने बताए । कालीगण्डकी करिडोरले पोखरामा पर्यटक आगमन शून्य हुन सक्नेतर्फ सचेत गराउँदै उहाँले यसतर्फ बेलैमा ध्यान दिन आवश्यक रहेको धारणा राख्नुुभयो ।      एगा पोखराका अध्यक्ष गोकर्ण लम्सालको अध्यक्षता एवम् सचिव माया सुवेदीले सञ्चालन गर्नुुभएको कार्याक्रममा स्वागत उपाध्यक्ष गीता ढकाल पौडेलले गर्नुभएको थियो । सचिव सुवेदीले संस्थाको वार्षिक प्रतिवेदन पेश गर्नुुभएको थियो ।       कार्यक्रममा टान गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्य, पर्यटन विज्ञ दीपेन्द्र पहारी, संस्थाका सद्भाव सदस्य गोविन्दप्रसाद अधिकारी, रासस गण्डकी प्रदेशका प्रमुख वासुदेव पौडेल लगायतले विभिन्न सामाग्रीका माध्यमबाट एगाले नेपालको पर्यटनलाई विश्वमाझ चिनाउन महत्वपूर्ण योगदान गरेको धारणा राख्नुभयो ।      कार्यक्रममा संस्थाका निवर्तमान अध्यक्ष ईन्द्रप्रसाद भण्डारी, उत्कृष्ट पसल सजावट गर्ने व्यवसायी रामहरि भट्ट,  विभिन्न कार्यक्रमका संयोजकहरू रमेश सुवेदी, माया सुवेदी, सुशिल ढकाल, गीता ढकाल लगायतलाई  सम्मान गरिएको थियो । 

काठमाडौं:   हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा थोरै उत्तरतिर रहेको हुँदा कोशी, मधेस, बागमती, गण्डकी र कर्णाली प्रदेशलगायत देशका पहाडी भागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको पूर्वानुमान रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार ती प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना छ ।  यसैगरी देशको उच्चपहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना छ । त्यसैगरी विभागका अनुसार आज राति देशभर साधारणतया बदली रहनेछ ।  गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थान तथा बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको पनि विभागद्वारा जारी मौसम बुलेटिनमा उल्लेख  छ ।

पर्वत: मोदी गाउँपालिका–३ देउरालीको लाङ्दीमा पहिरामा घर पुरिँदा वृद्ध दम्पती बेपत्ता भएका छन् ।  आज विहान गएको पहिरामा एकतले घर पुरिँदा ७६ वर्षीय छविलाल विश्वकर्मा र उहाँकी श्रीमती ७६ वर्षीया विष्णुमती बेपत्ता हुनुभएको हो ।  उहाँकी बुहारी ३२ वर्षीया पवित्रा भने पहिरो खस्नासाथ  हम्फालेर बच्न सफल हुनुभएको मोदी –३ का वडा सदस्य सन्तोष विकले जानकारी दिनुभयो । उहाँका अनुसार स्थानीयले उद्धारकार्य जारी राखेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामप्रसाद सापकोटाले घटनास्थलतर्फ प्रहरी जाँदै गरेको र पुगिसकेपछि यथार्थ विवरण आउने जानकारी दिनुभयो ।  गएरातिदेखि पर्वतलगायत आसपासका क्षेत्रमा भीषण वर्षा भइरहेको छ । यस क्षेत्रका खोला तथा नदीहरूमा समेत बहाव उच्च भइरहेको छ । 

पोखरा:  पोखराको रत्चोकमा रहेको श्रीकृष्ण प्रणामी मन्दिरमा जारी एक महिने श्रीमदवीतक चर्चा एवं श्रीकृष्ण कथा प्रवचन जारी रहेको छ । श्रीमदवीतकको पाँचौ दिन सम्म आइपुग्दा भक्तजनहरुको उपस्थिती बढ्दै गएको छ ।  श्रीमदवीतकको छैठौं दिन सोमबार श्रीकृष्ण प्रणामी मन्दिर परिसरमा निःशुल्क स्वास्थ्य जाँचको आयोजना हुने भएको छ । महिला बिकासका लागि समाजको आयोजना र पोखरा महानगरको सहयोगमा शिविरमा विशेष गरी सुगर र मुटु सम्बन्धि परिक्षण गरिने श्रीकृष्ण प्रणामी सेवा समिति नेपाल श्रीकृष्ण प्रणामी मन्दिर पोखराका अध्यक्ष मोहन प्रसाद ढकालले जानकारी दिए । श्रीमदवीतकको पाँचौ दिन सम्म आइपुग्दा कथा श्रवण गर्न विभिन्न विशिष्ट ब्याक्तिहरुले उपस्थिती जनाउदै आएका छन । आइतबार श्रीमदवीतक चर्चामा श्रीकृष्ण प्रणामी मन्दिर पुगेका गण्डकी प्रदेश प्रहरी तालिम केन्द्र पोखराका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनार्दन जिसीले नैतिक शिक्षाको कमी भइरहदा धार्मिक सत्संग कार्यक्रमले नैतिक शिक्षा प्रदान गर्नमा मदत पुगेको बताउदै सत्संगले जीवन बुझ्न सहयोग पुग्ने बताए । सत्संगले गलत बाटोमा लागेका तथा बाटो बिराएका हरुलाई समेत सत्मार्गमा लाग्न अभिप्रेरित गर्ने उनको भनाइ रहेको थियो । बृन्दाबन धाम पोखरा २७ डाँडानाकका प्रमुख विष्णु वशिष्ठ महाराजले कृष्ण प्रणामी मन्दिर पोखरा रत्नचोकमा सञ्चालन भएको श्रीमदवीतक चर्चा तथा श्रीकृष्ण कथा प्रवचनमा सहभागी हुन सम्पूर्णलाई आग्रह गरे । कुनैपनि धार्मिक स्थलमा आयोजना हुने सत्संगमा बिना निमन्त्रण पनि गएर सत्संग सुनेमा सुख शान्ति र समृद्धि छाउने बताए । भोक र तिर्खामा खाना र पानी पिउदा जतिको आनन्द हुन्छ सत्संगमा पुगेर कथा सुन्दा त्यति आनन्द र शरिरमा शुद्धता छाउने उनको भनाइ रहेको थियो ।   श्रीमदवीतक चर्चाकै बिचमा आयोजना हुने निशुल्क स्वास्थ्य शिविरमा सहभागी भइ जो कोहीले पनि लाभ लिन सकिने सचिव लक्ष्मण बरालले  बताए । बरालका अनुसार प्रत्येक दिन श्रीकृष्ण प्रणामी धर्मका धर्म प्रचारिका साध्वी उर्वशी माताजीको मुखारविन्दुबाट संगीतमय कथा प्रवचन भइरहेको छभने सोमबार पोखरा पोखरा महानगरपालिका वडा नं ८ का अध्यक्ष रुद्रनाथ बरालको उपस्थिती रहने छ । 

काठमाडौं:   बङ्गलादेशमा जारी साफ यु–२० महिला च्याम्पियनसिपमा नेपालले भुटानमाथि अर्को सानदार जित निकालेको छ ।  ढाकास्थित बसुन्धरा किङ्ग्स एरिनामा शनिबार भएको खेलमा नेपालले भुटानलाई ८–० गोलले हरायो । एकपक्षीय खेलमा नेपालले पहिलो हाफमा ६ र दोस्रो हाफमा दुई गोल गरेको थियो ।  नेपालको जितमा प्रर्णिमा राई र मीना देउवाले ह्याट्रिक पूरा गर्नुभयो । यस्तै समीक्षा घिमिरे र कुसुम खतिवडाले एक एक गोल गर्नुभयो । यसअघिको खेलमा नेपालले भुटानलाई ६–१ गोलले हराएको थियो । यस्तै चार टोली सहभागी च्याम्पियनसिपमा नेपालले श्रीलङ्कालाई दुवै खेलमा समान ७–० गोलले हराएको थियो । नेपाल जारी च्याम्पियनसिपको आफ्नो दोस्रो खेलमा भने घरेलु टोली बङ्गलादेशसँग ३–२ गोलले पराजित भएको थियो ।  यस च्याम्पियनसिपको पाँच खेलमा चौथो जित निकालेको नेपालले १२ अङ्क बनाएको छ । नेपाललाई च्याम्पियन बन्न अब घरेलु टोली बङ्गलादेशविरुद्ध सोमबार हुने अन्तिम खेल जित्नुपर्ने छ ।  च्याम्पियनसिपमा सहभागी चार टोलीले एक आपसमा दुई पटक खेलेपछि शीर्षस्थानमा रहने टोली च्याम्पियन बन्ने छ । 

पोखरा:   गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले  गण्डकी प्रदेश कला, साहित्य, संगीत र लोक संस्कृतिमा सम्पन्न रहेको बताउनुभएको छ ।   पोखरा थियटरले नेपाली साहित्यका वरिष्ठ श्रष्टा, कवि तथा संस्कृतिकर्मी तीर्थ श्रेष्ठका सम्मानमा आयोजना गरेको विशेष काव्य–सांस्कृतिक कार्यक्रम ‘हिउँमा नलेखिएका तीर्थ– पाँच आयामका साथ’ मा प्रमुख अतिथि भट्टले कला, साहित्य, प्रकृति र संस्कृतिको प्रवर्द्धन एवं संरक्षण गर्नु हामी सबैको दायित्व रहेको उल्लेख गर्नुभयो ।   ‘आदिकवि भानुभक्त आचार्य, कवि शिरोमणि लेखनाथ पौड्याल, जनकविकेशरी धर्मराज थापा, लोककवि अलिमियाँ, लोकसंगीतका शिखर व्यक्तित्व झलकमान गन्धर्वदेखि हालका सरुभक्त, तीर्थ श्रेष्ठ, हरिदेवी कोइराला लगायतको भूमि गण्डक क्षेत्र हो ।’ उहाँले भन्नुभयो – ‘यस भेगमा सिर्जित अपार सांस्कृतिक ज्ञानपरम्परा र वैभवले यस क्षेत्रको चेतनालाई सदैव उँचो राख्दै आएको छ । हाम्रा मौलिक तथा रैथाने संस्कृति, कला–साहित्य, रीतिरिवाज हाम्रा अमूल्य सम्पदा हुन् ।’   यस भूमिलाई जीवन्त र सांस्कृतिक दृष्टिले समृद्ध बनाउने अभियानमा संस्थागत तथा व्यक्तिगत तर्फबाट पनि विभिन्न प्रयासहरु भएको पाएको बताउँदै उहाँले गण्डकीको राजधानी पोखरा शहरलाई कला र संस्कृतिको मञ्च बनाउन पोखरा थियटरले निरन्तर कर्म गरिरहेकोमा खुशी व्यक्त गर्नुभयो ।     यहाँ नाटक, संगीत, नृत्य, कवि गोष्ठी लगायत विभिन्न सांस्कृतिक गतिविधिहरू सञ्चालन हुँदै आएकाले पोखरामा सांस्कृतिक उत्सवहरूको वातावरण निर्माणमा यहाँका कलाकारहरूको सिर्जनात्मकता र व्यावसायिकता विकास गर्न यसले महत्वपूर्ण भूमिका खेलेको उहाँको भनाई छ ।   कवि एवं साहित्यकार तीर्थ श्रेष्ठमा समर्पण गरी उहाँकै सम्मुख ‘हिउँमा नलेखिएका तीर्थ — पाँच आयामका साथ’ आयोजित यस कार्यक्रमले स्रष्टालाई हौसला प्रदानसँगै सबै कलाकार तथा सर्जकलाई सम्मान अर्पण गरेको भट्टले उल्लेख गर्नुभयो ।   पोखरा थियटरका प्रमुख कार्यकारी अधिकृत मोतीबहादुर कार्की (परिवर्तन)को अध्यक्षतामा भएको कार्यक्रममा कवि तीर्थ श्रेष्ठका कविता, गजल, मुक्तक, गीत र नाटक गरी पाँच विधामा उहाँका सिर्जनाहरू वाचन तथा मञ्चन गरिएको थियो ।           

काठमाडौं:   गएको एक वर्षमा आठ लाख ३९ हजार २६६ जनाले श्रम स्वीकृति लिएका छन् । वैैदेशिक रोजगार विभागका अनुसार श्रम स्वीकृति लिनेमा सात लाख ४४ हजार ८११ पुरुष छन् भने ९४ हजार ४५५ महिला रहेका छन् । विभागले आज यहाँ पत्रकार सम्मेलन गरी उक्त विवरण सार्वजनिक गरेको हो । अघिल्लो आर्थिक वर्ष भन्दा यसपटक एक लाख बढीले श्रम स्वीकृति लिएका विभागका महानिर्देशक कमलप्रसाद भट्टराईले जानकारी दिनुभयो । उहाँले श्रम स्वीकृतिको भार ६० दशमलव २८ प्रतिशत नयाँ र ३९ दशमलव ७२ प्रतिशत पुनः श्रम स्वीकृतिका रहेका छन् । उहाँका अनुसार वैैदेशिक रोजगारीका लागि गत आवमा श्रम स्वीकृति लिने प्रमुख १० गन्तव्य मुलुकमा युएई, साउदी अरेबिया, कतार, कुवेत, मलेसिया, रोमानिया, जापान, दक्षिण कोरिया र बहराइन रहेका छन् । व्यक्तिगत श्रम स्वीकृति लिने प्रमुख गन्तव्य मुलुकमा युएई, रोमानिया, जापान, कतार, क्रोएसिया, माल्दिभ्स, कुवेत, मौरिसस, सर्बिया र माल्टा रहेका पनि उहाँले जानकारी दिनुभयो । विगत पाँच वर्षमा कुल ३५ लाख बढीले श्रम स्वीकृति लिएका र त्यसमा ३१ लाख ८१ हजार पुरुष रहेका पनि पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो । वैदेशिक रोजगारीका लागि विदेशमा श्रमिक पठाउने संस्थाहरू कुल एक हजार ६८७ रहेकामा हाल सक्रिय इजाजत प्राप्त संस्थाको सङ्ख्या जम्मा ७२४ रहेको विभागले जनाएको छ । विसं २०८२ असारसम्ममा भने २१२ संस्थाले नवीकरण गरेका छन् । वैदेशिक रोजगारीमा अहिलेसम्म सात करोड २० लाख बढी क्षतिपूर्ति भराइएको पनि विभागले जनाएको छ । विभागका महानिर्देशक भट्टराईले श्रम स्वीकृति जारी गर्ने कार्यलाई डिजिटलाइज गरी आवेदन दिएकै दिनमा जारी गर्ने प्रतिबद्धता पूरा गरेको बताउँदै आगामी दिनमा अन्य सुधारका प्रयास जारी राख्ने बताउनुभयो । उहाँले विगत डेढ महिनादेखि भने आवेदन दिएको दुई मिनेटमा श्रमस्वीकृति प्रदान गरिएको पनि जानकारी दिनुभयो । अनुसन्धान तथा मुद्दा शाखामा रहेका करिब ३६ हजार फाइलको व्यवस्थापन गरी सेवाग्राहीमैत्री बनाउने लक्ष्यअनुसार दुईतिहाइ काम सम्पन्न भएको उहाँले बताउनुभयो । सुधारका लागि पहिचान गरिएका विषयको सन्दर्भमा विद्यमान कानुनी व्यवस्था संसोधन गरी अघि बढ्न्पर्ने आवश्यकता देखिएको पनि उहाँले बताउनुभयो । उहाँले वैैदेशिक रोजगारीको सूचना व्यवस्थापन प्रणालीको स्तरोन्नतिका लागि प्राविधिक अध्ययन भइरहेको पनि जानकारी दिनुभयो । यस्तै वैैदेशिक रोजगारीमा जानुअघि गरिने स्वास्थ्य परीक्षणलाई थप प्रभावकारी गराउन अनुगमन प्रणालीमा सुधार गरिएको र त्यसको विवरण वैैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीमा आबद्ध गर्न डिजिटल प्रणालीको निर्माण सम्पन्न भएको जनाइएको छ । यस्तै विभागले सेवा प्रवाहको गुणात्मक र रचनात्मक सुधार गर्न प्रयत्नशील रहेको पनि जानकारी गराएको छ ।