पोखरा:  रोजगारीको शिलसिलामा कोरियामा रहेका नेपालीले पोखराका दुई विद्यालयलाई सहयोग गरेका छन्। कोरियामा रोजगारीसँगै त्यहाँका सरकारी निकायमा कार्यरत व्यक्तिसँग समन्वय गरी संकलन गरेको रकमबाट पोखरा १...

पोखराको कोमागाने पार्कमा बिहीबार धुमधामका साथ फागु पूर्णिमा (होली) मनाइएको छ ।   प्रचार नेपाल र स्पेक्स फोर्टिनले आयोजना गरेको `होलिल्याण्ड´ कार्यक्रममा पुग्नेको निकै ठूलो भीड बिहान ११ बजेदेखि साँझसम्म देखिन्थ्यो ।   करिब १५ हजार दर्शकले कार्यक्रममा भाग लिएको आयोजना संस्था प्रचार नेपालका संचालक आशिष पुरीले दाबी गरे ।   डिजे डेनी, डिजे अनिष, डिजे रुस, डिजे एम्मी, डिजे न्याक्सिजम, डिजे साउडेको प्रस्तुति कार्यक्रमको आकर्षण थियो । उक्त कार्यक्रमको स्टेज हाइपरमा बकबक (विवेक गुरुङ) थिए । स्टेज हाइपर भनेको डिजेले प्रस्तुति दिँदा माहोल बनाउने व्यक्ति हुन् ।   कार्यक्रममा हट एअर बेलुन, अल्ट्रालाइट, ड्रोन स्प्लयास, खानाको स्टल र सांगीतिक प्रस्तुति आकर्षणको रुपमा रहेका थिए ।   होलीमा गरिएको कार्यक्रममा दर्शकले दिएको साथले आफूहरुलाई आगामी कार्यक्रम गर्न निकै हौसला थपेको स्पेक्स फोर्टिनका संचालक महेश्वरसिंह भण्डारीले बताए ।   अन्तिम समयमा कार्यक्रम हुने स्थान बाराही घाटबाट कोमागाने पार्क सार्नु परेपनि दर्शकको साथले कार्यक्रम सोचेभन्दा धेरै सफल भएको उनको भनाइ थियो ।   करिब सात घण्टा चलेको कार्यक्रमको होस्ट यकिन गुरुङ थिए । यो कार्यक्रमलाई टिल्ट योर वर्ल्ड र एक्स्पर्ट एजुकेसन एन्ड भिसाले सहयोग गरेका थिए ।   प्रचार नेपालले पोखरामा प्रायः सांगीतिक कार्यक्रम गर्दै आएको छ । यो वर्षको प्रणय दिवस (भ्यालेन्टाइन डे)मा द एज ब्यान्ड र स्वरको कन्सर्ट गरेको थियो जहाँ करिब ५ हजार दर्शक उपस्थित थिए । त्यसअघि गत कार्तिकमा चर्चित गायक सज्जनराज वैद्यको कन्सर्टको व्यवस्थापन प्रचार नेपालले नै गरेको थियो ।    अंग्रजी नयाँ वर्षको अवसरमा यो वर्ष आयोजित २६ औं सडक महोत्सवमा प्रचारले गत पुसमा ‘द एण्ड गेम’ नाम दिएर सबिन राई एण्ड फेरोह, पूर्ण राई र दाजु–भाइहरु, र्‍यापर डोंग, देवेन्द्र बब्लु एण्ड द फिरन्तेलगायतको कन्सर्ट गरेका थिए 

म्याग्दी: मङ्गला गाउँपालिका–३ सातबिसेमा १० वर्ष अमेरिकामा पढेर फर्किएका एक जना युवाले व्यावसायिक केराखेती गर्नुभएको छ ।  हाल बागलुङमा बसोबास र काठमाडौँमा व्यवसाय गर्नुहुने ३८ वर्षीय सुशील खड्काले जन्मथलोमा पुख्र्यौली जग्गालाई सदुपयोग गर्न केराखेती सुरू गर्नुभएको हो ।  मङ्गला भेञ्चर कम्पनीमार्फत केराखेती गरेर बाँझिन थालेको खेतीयोग्य जमिनलाई सदुपयोगका साथै कृषि उद्यमबाट गाउँघरमा नै आम्दानी र रोजगारीको अवसर भएको सन्देश दिने प्रयास गर्नुभएको छ ।  “हाम्रा पुर्खाले दुई सय वर्षअघि धानखेती गर्न किनेको सातविसेको उर्वरायुक्त जग्गा बसाइँसराइ र वैदेशिक रोजगारीका कारण बाँझिन थालेपछि दुई वर्षअघि केरा रोप्दा धेरैले मलाई हाँसोको पात्र बनाए”, खड्काले भन्नुभयो, “जग्गा बाँझो नहोस् भनेर सुरू गरेको केराखेती राम्रो हुन थालेपछि अरूले पनि सिको गर्न थालेकामा खुसी लागेको छ ।” अमेरिकाको भेण्डेरबिल्ट विश्वविद्यालयबाट अर्थशास्त्र र व्यवसाय विषयमा स्नाकोत्तर तथा इन्जिनियरिङमा स्नातक गरेका सुशीलले काठमाडौँमा श्रीमती सिलसिलासँगै नकुहिने फोहर प्रशोधन गरेर पुनःप्रयोग गर्ने कम्पनी सञ्चालन गर्नुभएको छ । खड्काको सातबिसेमा एक सय रोपनी पुख्र्यौली जग्गा छ ।  सुशीलका जिजुबाजेले दुई सय वर्षअघि बागलुङबाट आएर सातबिसेमा जग्गा खरिद गरेका थिए । सातवटा २० रूपैयाँमा किनेको जग्गा भएकाले यो ठाउँको नाम सातबिसे नामकरण भएको किंवदन्ती छ । खेतमा पाक्दा र भान्छामा पकाउँदा मगमग बास्ना आउने गौरिया धानखेती हुने र सिँचाइ सुविधा भएकाले खड्काका पुर्खाले सातबिसेमा जग्गा किनेका थिए ।  पछिल्लो समय वैदेशिक रोजगारीका कारण कृषि मजदुर नपाउने र लागत बढ्न थालेपछि सातबिसेको खेतीयोग्य जमिन पनि बाँझिएर झाडीमा परिणत हुन थालेको छ । सन् २००५ मा अध्ययनका लागि अमेरिका जानुभएका सुशील सन् २०१५ मा नेपाल आउनुभएको थियो ।  कोरोना महामारी फैलिएपछि भएको बन्दाबन्दीका समयमा उहाँलाई पुख्र्यौली जग्गामा कृषि उद्यम सञ्चालन गर्ने सोच पलाएको थियो । तीन रोपनीमा एक सय ५० बोट हजारी जातको केराबाट उद्यम सुरू गर्नुभएका खड्काले हालै एक रोपनीमा नयाँ केराका बिरूवा रोपेर विस्तार गर्नुभएको छ । केराखेतीको परीक्षण सफल भएपछि विस्तार गर्न थाल्नुभएको हो ।  केरा बगैँचा रेखदेखको काममा सुशीललाई आमा मनकुमारीले सघाउनुभएको छ । केरा बेचेर पछिल्लो एक वर्षयता रू एक लाख आम्दानी गर्नुभएका खड्का केराखेतीसँगै ड्रागन फ्रुटको खेती गर्ने तयारीमा हुनुहुन्छ ।  आधुनिक उपकरणको प्रयोग गरेर कम लागतमा रैथाने गौरिया जातको धानखेतीलाई निरन्तरता दिने र विदेशबाट फर्किएका तथा गाउँमै भएका बेरोजगार युवाको समूह बनाएर कृषि उद्यम सञ्चालन गर्ने उहाँको योजना छ ।  “देशमै केही गर्न सकिन्छ भन्ने सन्देश दिनु र परम्परागत बालीको संरक्षणसँगै प्रवर्द्धन गर्ने मेरो उद्देश्य हो”, खड्काले भन्नुभयो, “जलवायु र मौसममा आएको परिवर्तनको सामना गर्न सक्ने क्षमता भएका परम्परागत बालीलाई जोगाउनु हाम्रो दायित्व र जिम्मेवारी हो ।”

काठमाडौं: साहित्यकार लीलबहादुर क्षेत्रीको ९३ वर्षको उमेरमा निधन भएको छ ।  भारतको आसामका स्थायी बासिन्दा उहाँको गए राति गुवाहाटीमा निधन भएको साहित्यक पत्रिका ‘शब्दपथ’का प्रबन्ध सम्पादक मुरारी सिग्देलले राससलाई बताउनुभयो ।  ‘बसाइँ, अतृप्त र बह्मपुत्रको छेउछाउ’, उपन्यास, ‘आसाममा नेपाली भाषाको साह्रोगाह्रो’ निबन्ध  सङ्ग्रह उपन्यासका साथै कथा, निबन्ध र नाटकसमेत लेखेर नेपाली भाषा साहित्यको श्रीवृद्धिमा योगदान गर्नुभएका उहाँ जगदम्बाश्री पुरस्कारबाट सम्मानित हुनुहुन्थ्यो ।  भानु पुरस्कारलगायत विभिन्न पुरस्कारबाट सम्मानित उहाँलाई भारत सरकारले सर्वोच्च नागरिक पुरस्कार पद्मश्रीबाट पनि सम्मान गरेको थियो । 

सोलखुम्बु: हिमाली जिल्ला सोलुखुम्बुमा भाइरल सङ्क्रमणको प्रकोप उच्च भएको छ । पछिल्ला केही सातायता जिल्लाका विभिन्न स्थानमा भाइरल ज्वरो, रूघाखोकी, दम, निमोनिया, झाडापखाला, टाउको दुख्ने तथा श्वासप्रश्वाससम्बन्धी समस्याबाट ग्रसित बिरामीको सङ्ख्या अत्यधिक बढिरहेको छ । स्वास्थ्य कार्यालयका अनुसार बिरामीको चाप असामान्य रूपमा वृद्धि भएको छ । जसले गर्दा जिल्लाको प्रमुख स्वास्थ्य केन्द्र फाप्लु अस्पतालको सेवा प्रवाहमा कठिनाइ सृजना भएको छ ।  जिल्ला अस्पताल फाप्लुमा दैनिक एक दर्जनभन्दा बढी बिरामी भाइरल सङ्क्रमणका कारण उपचारका लागि पुगिरहेका छन् ।  पन्ध्र शय्या क्षमताको यस अस्पतालमा अहिले ५० जनाभन्दा बढी बिरामी भर्ना गरेर उपचार गराइरहेको अस्पताल प्रशासनले जनाएको छ । जसका कारण जनशक्ति व्यवस्थापनमा समेत चुनौती सृजना भएको अस्पतालका निमित्त प्रमुख सानी शेर्पाले बताउनुभयो ।   उहाँका अनुसार अस्पतालका सबै बेड भरिएका छन्, जसका कारण सुत्केरी कक्षका बेडसमेत अन्य बिरामीलाई उपचार दिन प्रयोग गरिएका छन् । “अस्पतालमा भर्ना भएका अधिकतम बिरामी भाइरल सङ्क्रमणकै हुन् । जनशक्ति कम छ, तर बिरामीको चाप अत्यधिक छ । अहिले हामीले उपलब्ध सबै स्रोतसाधन परिचालन गरिरहेका छौँ”, शेर्पाले भन्नुभयो । ओपिडीका बिरामीलाई पनि अक्सिजन  अस्पतालमा आउने अधिकांश बिरामी गम्भीर अवस्थाका छन् । डाक्टरहरूका अनुसार ज्वरो, दम, निमोनिया र श्वासप्रश्वास समस्याले ग्रसित बिरामीलाई अक्सिजन नै दिनुपर्ने अवस्था छ ।  “अस्पतालका सबै बेड भरिएका छन् । सुत्केरी कक्षका बेडमा समेत अन्य बिरामी राखेर उपचार गराइरहेका छौँ । यदि बिरामीको सङ्ख्या अझै बढे, हामीलाई भुइँमा राखेर उपचार गर्नुपर्ने अवस्था आउन सक्छ”, डा रामबाबु जोशीले भन्नुभयो ।  भाइरल सङ्क्रमणबाट प्रभावित हुनेमा सबैभन्दा बढी बालबालिका र वृद्धवृद्धा रहेका डा जोशीले बताउनुभयो ।  स्वास्थ्य कार्यालयका अधिकारीले बालबालिकालाई विशेष सावधानी अपनाउन आग्रह गर्दै स्वास्थ्य समस्याबाट जोगिन पर्याप्त पानी पिउने, भीडभाडबाट टाढा रहने, मास्क लगाउने र व्यक्तिगत सरसफाइमा ध्यान दिनुपर्ने सुझाव दिएका छन् ।  फाप्लु अस्पतालमा जनशक्ति तथा आवश्यक औषधिको अभावले थप समस्या निम्त्याएको छ । दुर्गम क्षेत्र भएकाले स्वास्थ्यकर्मी सीमित छन्, तर बिरामीको चाप अत्यधिक हुँदा उपचार प्रभावकारी रूपमा दिन कठिन भइरहेको अस्पताल प्रशासनले जनाएको छ । अस्पतालका डा श्रेया पङ्गेनीका अनुसार भाइरल ज्वरो एकअर्काबाट सजिलै फैलिने भएकाले सावधानी अपनाउनुपर्ने आवश्यकता छ ।  भवन सुविधासम्पन्न, जनशक्ति अभाव साना साँघुरा टहराबाट विगत ५४ वर्षदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको सोलुुखम्बुको जिल्ला अस्पताल फाप्लुको सुविधासम्पन्न भवन तयार भएको छ ।  विविध कारणले वर्षौँदेखि बन्न नसकेको भवन सोलुदूधकुण्ड नगरपालिकाका प्रमुख नाम्गेलजाङबु शेर्पाले सरोकारवाला निकायमा पहल र समन्वय बढाएपछि भवन निर्माण भएको हो ।  जिल्ला समन्वय समितिका प्रमुख तथा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद निरौला र सोलुदूधकुण्ड नगरपालिकाका प्रमुख नाम्गेलजाङबु शेर्पाले बुधबार संयुक्त रूपमा उद्घाटन गरेपछि लिफ्टसहितको अपाङ्गमैत्री नयाँ भवनबाट एकीकृत स्वास्थ्य सेवा सुरू हुने भएको छ । तर जनशक्ति भने अत्यन्त कम हुँदा उपचारमा समस्या भएको अस्पतालका स्वास्थ्यकर्मी बताउँछन् ।   कोशी प्रदेश सरकारले यस अस्पताललाई १५ शय्याको मात्र स्वीकृति दिँदा सोहीअनुसार जनशक्ति रहेको अस्पतालका निमित्त प्रमुख शेर्पाले बताउनुभयो । जसका कारण अस्पताल विकास समितिले आधा दर्शनभन्दा बढी कर्मचारी करारमा राखेर सेवा सञ्चालन गर्नुपरेको उहाँको भनाइ छ ।  हिमाली जिल्लाको अस्पताल भएकाले जनशक्ति कम रहे पनि बिरामीको चाप धेरै हुने भएकाले उपचारमा स्वास्थ्य उपकरण, औषधि तथा जनशक्तिको पनि अभाव झेल्नुपरेको अस्पताल प्रशासनले जनाएको छ ।  अस्पताल व्यवस्थापन समितिका अध्यक्षसमेत रहनुभएका जिल्ला समन्वय समिति सोलुखुम्बुका प्रमुख कृष्णप्रसाद निरौलाले अस्पतालको दरबन्दीअनुसार जनशक्ति र उपकरण व्यवस्थापनमा स्थानीय तह, प्रदेश र सङ्घीय सरकारसँग समन्वय गर्ने बताउनुभयो ।  सोलुदूधकुण्ड नगरपालिकाका प्रमुख नाम्गेलजाङबु शेर्पाले जिल्ला अस्पताल भौतिक पूर्वाधारमा अब्बल रहेकाले सेवा प्रवाहमा चुस्त र स्तरीय बनाउन लाग्ने बताउनुभयो ।  सोलुदूधकुण्ड नगरपालिका–४ मा रहेको यस अस्पतालमा जनशक्ति र आवश्यक उपकरण व्यवस्थापनमा नगरपालिकाले सहजीकरणमा सक्दो सहयोग गर्ने उहाँको प्रतिबद्धता छ ।  जिल्ला अस्पतालको सुविधासम्पन्न भवन सहरी विकास मन्त्रालयको रु २१ करोड २१ लाखको लागतमा निर्माण भएको ३० शय्याको अस्पताल भवन विसं २०७६ पुस २७ गतेदेखि निर्माण सुरु भई गत असार २५ गते निर्माण कम्पनीले अस्पताललाई हस्तान्तरण गरेको थियो । विश्वको सर्वोच्च शिखर सगरमाथामा पहिलो पाइला टेक्ने सर एडमन्ड हिलारीले ५४ वर्षअघि स्थापना गर्नुभएको फाप्लु अस्पताल ६४ रोपनी क्षेत्रफलमा फैलिएको छ ।  हालै नवनिर्मित भवन सात रोपनीमा बनेको अस्पताल प्रशासनले जनाएको छ । अस्पतालको आफ्नै सुविधासम्पन्न भवन नहुँदा लामो समयदेखि पुरानो भवनबाट सेवा प्रवाह हुँदै आएको थियो । सरकारले कर्मचारीको दरबन्दी घटाउँदा सेवा प्रवाहमा चुनौतीको सामना गर्नुपरेको अस्पताल व्यवस्थापन समितिले जनाएको छ । 

तनहुँ:  शुक्लागण्डकी नगरपालिका–९ स्थित तालवेसी माध्यमिक विद्यालयले व्यावहारिक शिक्षासँगै प्रयोगात्मक सीप सिकाउन थालेपछि यहाँका विद्यार्थी आत्मनिर्भर हुन थालेका छन् ।  विद्यालयका विद्यार्थी पछिल्लो समय लोकबाजामा आत्मनिर्भर हुन थालेका हुन् । विद्यालयले पछिल्लो समय विद्यार्थीको क्षमतालाई पहिचान गर्दै लोक संस्कृति संरक्षण गर्ने उद्देश्यले नौमती बाजाको व्यवस्थापन गरेपछि विद्यार्थी उत्साहित भएका छन् ।  कक्षा ६ देखि ८ सम्मका विद्यार्थीको सक्रिय सहभागितामा विद्यालयमा तालबेँसी बाजा समूह गठन गरिएको प्रधानाध्यापक धु्रव वाग्लेले जानकारी दिनुभयो । विद्यालयको सांस्कृतिक, शैक्षिक एवं अन्य शुभकार्यमा समेत विद्यार्थीले नौमती बाजा बजाउन थालेको उहाँले बताउनुभयो ।  उहाँले भन्नुभयो, “व्यावहारिक शिक्षासँगै प्रयोगात्मक सीप सिकाएपछि विद्यार्थी नौमती बाजा बजाउन सक्ने भएका छन् । विद्यार्थीको प्रतिभा देखेर अभिभावक पनि दङ्ग छन् ।”  कक्षा ७ का विद्यार्थी सुकबहादुर विकको संयोजकत्वमा कक्षा ७ का विद्यार्थी सुसन सुनार, सिजन विक, कृष्ण सुनार, सुदीप बैदास, निशान थापा र कक्षा ८ का विद्यार्थी रूविन बैदास, अर्विन परियार र प्रसुन पौडेल रहेको तालबेँसी बाजा क्लब गठन भएको छ ।  सधैँ किताबमात्र पढ्ने र लेख्ने गर्दा सिर्जनशील हुन नसकेको बताउँदै विद्यालयले बाजा व्यवस्था गरेपछि आफूलाई आवश्यक पर्ने सामान्य कापी, कलम किन्ने खर्च व्यवस्थापनमा सहजता भएको बाजामा संलग्न विद्यार्थी अर्विन परियारले बताउनुभयो । उहाँले भन्नुभयो, “सानैदेखि वाद्यवादन क्षेत्रमा रमाउने इच्छा विद्यालयले पूरा गराउन खोजेकामा विद्यालयलाई धेरै धन्यवाद दिन चाहन्छु ।” आफू सानै उमेरमा सिर्जनशील हुन खोजेको बताउँदै वडामार्फत विद्यालयले बाजाको सेट उपलब्ध गराएपछि व्यावसायिकतर्फ अगाडि बढेको समूहका संयोजक सुकबहादुर विकले बताउनुभयो ।  उहाँले भन्नुभयो, “घरमा पनि एक न एक काममा व्यस्त रहन्थे । हाल शुक्लागण्डकी नगरपालिका–९ ले बाजाको सेट उपलब्ध गराएपछि मलाई व्यावसायिकतातर्फ अगाडि बढ्ने बाटो खुलेको छ ।” विद्यालयले अतिरिक्त क्रियाकलाप सञ्चालन गर्दाबाहेक अन्य सवालमा नियमित बाजाको प्रयोग बढेको विकको भनाइ छ ।  विद्यालयको सेवा क्षेत्रमा दलित बस्ती बढी भएको र यो क्षेत्रको सम्भावना पनि बाजासँग सम्बन्धित लोक संस्कृतिको क्षेत्र फराकिलो भएको हुँदा बाजाको कार्यक्रमलाई प्राथमिकता दिइएको शुक्लागण्डकी नगरपालिका–९ का वडाध्यक्ष धनबहादुर थापाले बताउनुभयो ।  उहाँले भन्नुभयो, “विद्यालयको मागलाई पहिलो प्राथमिकतामा राख्दै विद्यार्थी भाइबहिनीको क्षमतालाई प्रस्फुटन गर्न सहज हुने कार्यक्रमलाई वडा कार्यालयले महत्व दिएको छ । विद्यार्थी भनेका भविष्यका कर्णधार हुन् । हामीले बनाउने योजना दीर्घकालीन हुनुपर्छ ।”  विद्यार्थी पहिचानको क्षेत्रलाई फराकिलो बनाउँदै विद्यार्थीको आफ्नो क्षमता उजागर गराउन विद्यालय प्रतिबद्ध रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विनोद राउतले बताउनुभयो । उहाँले विद्यार्थीको क्षमता पहिचान गर्दै व्यावहारिक शिक्षातर्फ विद्यालय अगाडि बढेको उल्लेख गर्नुभयो । वडाको एकमात्र मावि भएको र विद्यालयको भौतिक, शैक्षिक एवं वातावरणीय पक्षको विकासका लागि स्थानीय सरकार तल्लीन रहेको वडा सदस्य एवं विद्यालय व्यवस्थापन समितिका सदस्य कमल थापाले बताउनुभयो ।  विद्यालयका अतिरिक्त क्रियाकलाप संयोजक शिक्षक दामोदर रेग्मीले सामाजिक अध्ययन तथा मानव मूल्य शिक्षा अध्यापनका लागि बाजा अपरिहार्य रहेको र विद्यालय भनेको लोक संस्कृतिको जर्गेना गर्ने महत्त्वपूर्ण क्षेत्र भएको हुँदा लोक बाजाको कार्यक्रम विद्यालयको लागि महत्त्वपूर्ण रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “कक्षा ६ देखि ८ सम्मका नौ जना विद्यार्थी भाइहरूको एक समूह छ जसले लोक बाजालाई सञ्चालन र व्यवस्थापन गर्ने जिम्मा लिएको छ । विद्यालयको मात्र नभई शुक्लागण्डकी नगरपालिकाको विभिन्न कार्यक्रम र तनहुँ जिल्लास्तरीय १६औँ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको उद्घाटनसत्रमा पनि विद्यार्थी भाइहरूले कुशलतापूर्वक बाजा बजाई आफ्नो कलाकौशल प्रदर्शन गरेका थिए ।”

नवलपरासी: रङहरूको पर्व होली आज तराई तथा मधेसका जिल्लामा हर्षोल्लासपूर्वक मनाइँदै छ ।  हिमाली एवं पहाडी जिल्लामा होली (फागुपूर्णिम)० मनाइएको भोलिपल्ट तराईका जिल्लामा होली मनाउने परम्पराअनुसार आज यस क्षेत्रमा होली मनाउन लागिएको हो ।    आज नवलपरासी (बर्दघाट सुस्तापूर्व), नवलपरासी (बर्दघाट सुस्तापश्चिम), चितवन, झापा,  मोरङ, सुनसरी, सप्तरी, सिराहा, उदयपुर, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, रूपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुरलगायत जिल्लामा होली मनाइँदै छ ।    मगर, थारू समुदायको बाक्लो बसोबास रहेको नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा होली पर्वलाई विशेष महत्त्वका साथ मनाउने गरिएको छ । सबै प्रकारका भेदभावलाई भष्म गरी परस्परमा रङ हाल्दै सबैलाई रसरङ्गले तरङ्गित तुल्याउने होली उल्लास र रङ्गीचङ्गीको पर्वका रूपमा लिने गरिन्छ ।    सबैलाई एउटै रङमा रङ्ग्याउने होली पर्व समानता र सद्भावको प्रेरणा स्रोत रहिआएको पण्डित बुद्धिसागर भण्डारीले बताउनुभयो । “असत्यमाथि सत्यको, छलमाथि निश्छलताको र अधर्ममाथि धर्मको विजयको प्रतीक होलीले अनेकतामा एकता कायम गर्दै आएको छ”, उहाँले भन्नुभयो, “धार्मिक महत्वसँगसँगै सामाजिक सद्भाव र उमङ्ग प्रदान गर्न होलीको विशेष भूमिका रहेको छ ।”   प्राचीनकालमा वसन्तोत्सवका रूपमा स्थापित यो पर्व कालान्तरमा प्रह्लाद, कृष्ण, होलिका, ढुण्ढा आदिका माध्यमले फागु, फगुवा, होली, होरी आदि नाउँबाट मनाउन थालिएको भण्डारीले बताउनुभयो ।  रसरङ्ग, नाचगान, खानपिन, मनोरञ्जन र आफ्नो रङमा अरूलाई रङ्ग्याउने, ढोल, डम्फु, मृदङ्ग बजाउँदै भेदभाव, मनोमालिन्य त्याग्दै भ्रातृत्व भावना बढाउने यस पर्वको आफ्नै गरिमा छ । पहाडी जिल्लामा होलीको बिहीबार सार्वजनिक बिदा दिइएको भए पनि तराईका जिल्लामा आज सार्वजनिक बिदा दिइएको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा होली पर्वलाई मर्यादित, सुरक्षित र शान्तिपूर्ण बनाउन विशेष सुरक्षा योजना कार्यान्वयनमा ल्याएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक यादव ढकालले बताउनुभयो ।   “अनुमतिबिना रङ दल्ने, लोला हान्ने, अनावश्यक होहल्ला गर्ने, झैझगडा गर्ने, अभद्र व्यवहार गर्नेलगायत गतिविधि गर्नेलाई कारबाहीको दायरामा ल्याउने छौँ”, उहाँले भन्नुभयो, “अपरिचित मान्छेसँग होली नखेल्न, आत्मीय र आफन्तसँग मात्र हाली खेल्न, कसैको पनि इच्छाविपरीत रङ नदल्न, लोला हान्ने काम नगर्न, छाला तथा आँखामा असर पर्ने केमिकल रङको प्रयोग नगर्न, मादक पदार्थ एवं लागुपदार्थ सेवन गरेर सवारी नचलाउन, ट्राफिक नियमको पूर्ण रूपमा पालना गर्न र कुनै आपराधिक घटना हुन लागेको थाहा पाएमा तुरून्त प्रहरीको हटलाइन १०० नम्बरमा सम्पर्क गर्न अनुरोध गर्दछौँ ।”

ढोरपाटन:  बागलुङको निसीखोला गाउँपालिकाले ‘मगर खाम भाषा’को स्थानीय पाठ्यपुस्तक पठनपाठन गराउन थालेको छ ।  गाउँपालिकाले यस वर्षदेखि गेमी (हाम्रो) निसीखोला नाम पाठ्यपुस्तक तयार गरेर पठनपाठन गराउन थालेको हो । सात वडा रहेको निसीखोलामा वडा नं ५ र ६ मा मात्र खाम भाषा बोल्ने गरिन्छ । अन्य वडामा भने नेपाली भाषामै पाठ्यपुस्तक तयार गरेर लागू गरेको निसीखोला गाउँपालिकाका शिक्षा शाखा प्रमुख विष्णुप्रसाद न्यौपानेले जानकारी दिनुभयो ।  उहाँका अनुसार अन्य वडाका विद्यालयमा पढाइ हुने विषयवस्तु एउटै भए पनि दुई वटा वडाका १६ विद्यालयमा ‘मगर खाम भाषा’ पाठ्यपुस्तक पढाइ हुने गरेको छ ।   पालिकाभर ४५ विद्यालय भए पनि २९ विद्यालयमा नेपाली भाषमा पढाइ हुने उहाँले बताउनुभयो । अहिले कक्षा १ मा स्थानीय पाठ्यपुस्तक लागू गरेको भन्दै शैक्षिकसत्र २०८२ मा कक्षा २ र ३ मा पनि पठनपाठन गराउने शाखा प्रमुख न्यौपाने बताउनुहुन्छ । सोहीअनुसार पाठ्यपुस्त छपाइको काम भइरहेको उहाँले जानकारी दिनुभयो । न्यौपानेले भन्नुभयो, “निसीखोलामा विभिन्न जातजातिका बसाइ छ, यहाँ खासगरी वडा नं ५ र ६ मा मगर खाम भाषा बोल्ने गर्नुहुन्छ, अन्य वडामा त्यो भाषा बोल्नुहुन्छ, अहिले हामीले लागू गरेको पाठ्यपुस्तकको विषयवस्तु सबै एउटै हो, वडा नं १, २, ३, ४ र ५ का बालबालिकाले नेपालीमै पढ्छन् भने दुईवटा वडाका विद्यार्थीले मगर खाम भाषामा पढ्छन् ।” न्यौपानेले कक्षा १ देखि ८ सम्म पाठ्यक्रम तयार भएको भन्दै पाठ्यपुस्तक प्रत्येक वर्ष छपाइ गर्ने र लागू गर्दै जाने बताउनुभयो । खाम भाषाको पुस्तक तयार गर्न मगर प्रतिष्ठानबाट चार जना र स्थानीय सात जना विज्ञ परिचालन गरेको उहाँको भनाइ छ । पाठ्यपुस्तक तयार गर्न केही अप्ठ्यारो परेको न्यौपानेले सुनाउनुभयो । पाठ्यपुस्तकमा निसीखोलाको जनजीवन, पर्यटन, परम्परा, संस्कृति, कृषि, पशुपालनलगायत विषयवस्तु समावेश गरिएको छ ।  निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीमगरले खाम भाषा सङ्कटमा पर्न थालेपछि संरक्षणका लागि पाठ्यपुस्तक बनाएर विद्यालयमा पढाउन थालेको बताउनुभयो ।  पछिल्लो समय बालबालिकालाई सहरबजार लगेर पढाउने प्रचलन बढेपछि खाम भाषा लोप हुने अवस्थामा पुगेको उहाँको भनाइ छ । गाउँपालिकाले भाषा संरक्षणका लागि विज्ञसमेत खटाएर पाठ्यक्रम र पाठ्यपुस्तक बनाउन थालेको अध्यक्ष घर्तीमगरले बताउनुभयो ।

सिरहा:  सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुरकी १७ वर्षीया किशोरी रिङ्कुकुमारी सदाको मृत्यु प्रकरणमा प्रहरीले पञ्चायतीमा बसेका थप दुई जनालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा स्थानीय ५५ वर्षीया कारी सदा र ६६ वर्षीय रामदेव सदा रहेका छन् । उनीहरूलाई यही फागुन २५ गते पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी दिनुभयो । उहाँका अनुसार सिरहा जिल्ला अदालतबाट म्याद लिएर उनीहरुमाथि अनुसन्धान भइरहेको छ ।  योसँगै उक्त घटनामा हालसम्म पक्राउ पर्नेको सङ्ख्या १० पुगेको छ । मुख्य आरोपित रुपेश मण्डल तथा पञ्चायतीमा संलग्न वडा सदस्य नथुनी साहसहित आठजना पक्राउ परेका थिए ।  गत माघ २७ गते राति शौच गर्न निस्केकी सदा सामूहिक बलात्कारमा परेकी थिइन् । माघ २९ र ३० गते पञ्चायती बसेर घटना गाउँमै मिलाउने प्रयास गरिएको थियो । माघ ३० गते साँझ रिङ्कु आफ्नै घरमा झुन्डिएको अवस्थामा भेटिएकी थिइन् ।

काठमाडौं:  फागु पूर्णिमा अर्थात् होली पर्व आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ एकापसमा रङ र लोला खेली आपसी सद्भाव साटेर मनाइएको छ ।   हिमाली र पहाडी जिल्लामा प्रत्येक वर्ष फागुन शुक्ल पूर्णिमाका दिन फागु पूर्णिमा पर्व मनाइन्छ । तराईका जिल्लामा भने भोलिपल्ट यो पर्व मनाउने चलन छ ।  वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाइएको हो । केही वर्ष अघिसम्म उपत्यकामा उत्ताउलो रुपमा मनाइने यो पर्व प्रहरीको सक्रियताका कारण पछिल्लो समय अनुशासित बन्दै गएको छ ।  आज काठमाडौँको वसन्तपुरमा उपस्थित मानिसले वातावरणलाई नै रङ्गीचङ्गी तुल्याउँदै पर्व मनाएका छन् । फागुन शुक्ल अष्टमीका दिन त्यहाँ गाडिएको चीरलाई विधिपूर्वक ढाली बाजागाजाका साथ टुँडिखेल लगी जलाउने चलन छ ।  उक्त चीरमा राखिएका ध्वजापताकाहरू औषधोपचारको काममा आउने विश्वासका साथ लुछाचुँडी गरी लिने र अनिष्ट टर्छ भनी चीरको खरानीको टीका लगाइन्छ ।       फागुन शुक्ल अष्टमीका दिन वसन्तपुरस्थित गद्दी बैठकअगाडि मैलको रुखलाई रङ्गीचङ्गी ध्वजापताका साथ सिँगारी गाडिएको चीरमा पूजाआजा गरेपछि फागु शुरु भएको थियो ।  आजै राति टुँडिखेलमा ‘गुरुमापा’ नामक राक्षसलाई इटुम्बहालदेखि कहीँ पनि नबिसाई ल्याइएको दश पाथी चामलको भात र एउटा राँगाको मासु खुवाई सैनिक अस्पतालभित्र रहेको ‘जधु’ नामक धारामा चुठाउने चलन छ ।       त्रेता युगमा दैत्यराज हिरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफैँ भष्म भएकी तर भक्त प्रह्लादलाई आगोले छुन नसकेको कथा यो पर्वसँग जोडिएको छ ।        त्यसै बेलादेखि शक्तिको दुरूपयोग गर्ने पापी प्रवृत्तिकी प्रतीक बनेकी होलिका मारिएको उपलक्ष्यमा होली (फागु) खेल्ने परम्परा चलेको विश्वास गरिन्छ ।  यसैगरी द्वापरयुगमा श्रीकृष्ण भगवान्लाई मार्न कंशद्वारा पठाइएकी राक्षसनी पुतनाले आफ्नो विष दलिएको स्तन चुसाउन लाग्दा असफल भई मारिइन् । निजलाई ब्रजवासीले जलाई फागु महोत्सव मनाउने परम्परा चलेको पनि धर्मग्रन्थमा उल्लेख गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा डा देवमणि भट्टराईले राससलाई जानकारी दिनुभयो ।       राम्रो तरिकाले तयार पारिएका रङ र अबिरले छालाको रोग निवारण गर्ने भएकाले यस्ता रङको प्रयोग गरी फागु खेल्नाले शीतकालमा शरीरमा उत्पन्न कफको विनाश हुन्छ ।  बालिएको चीरको धुवाँबाट शीतकालका अनेकौँ रोगका कीटाणु निर्मूल हुने हुनाले यो पर्वको आयुर्वेदिक महत्व पनि रहेको आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग आयुर्वेद प्रवद्र्धन शाखाका प्रमुख डा वंशदीप शर्मा खरेल बताउनुहुन्छ ।       फागु पर्वका उपलक्ष्यमा परम्परादेखि सरकारले सार्वजनिक बिदा दिंँदै आएको छ । आज हिमाली र पहाडी गरी ५६ जिल्लामा सार्वजनिक बिदा दिइएको थियो । शुक्रबार तराइका २१ जिल्लामा बिदा दिइएको गृह मन्त्रालयले जनाएको छ । यस पर्वका अवसरमा आज राजधानीको टुँडिखेल, खुलामञ्च, वसन्तपुर, रामशाहपथजस्ता स्थानमा हजारौँ मानिस जम्मा भएर फागु पूर्णिमा पर्व मनाएका छन् । तराई क्षेत्रमा भने यो पर्व पूर्णिमाको भोलिपल्ट मनाउने गरिन्छ ।       यस पर्वका उपलक्ष्यमा आजभोलि रमाइलोका निम्ति गाँजा, भाङ, जाँड–रक्सी जस्ता नसालु पदार्थको सेवन गरी गुन्डागर्दी गर्ने, शरीरमा प्रतिकूल असर गर्ने खालका रासायनिक पदार्थ प्रयोग गर्ने तथा सवारीसाधनमा समेत लोला हिर्काउने जस्ता विकृति पनि कम हुँदै गएको छ । समग्रमा राजधानीलगायत पहाडी र हिमाली जिल्लामा फागु अर्थात् होली अनुशासित बन्दै गएको छ ।