नवलपरासी: चार लेनमा विस्तार भइरहेको पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकको म्याद एक वर्ष थपिने भएको छ । सडक विभाग आयोजना निर्देशनालय (एडिबी)का आयोजना निर्देशक इञ्जिनियर चुडाराज ढकालले निर्माण कम्पनीले म्याद धेरै मागेको भए पनि एक वर्ष थप्दा काम सक्ने सहमति गरेपछि म्याद थप्ने तयारी गरिएको जानकारी दिनुभयो । “निर्माण कम्पनी र आयोजनाको कन्सल्टेन्टसँग कुरा गर्दा एक वर्षमा फिनिसिङबाहेकका काम सकाउने सहमति भएको कारण म्याद थप्ने तयारी गरेका छौँ”, उहाँले भन्नुभयो, “निर्माण कम्पनीले ९० प्रतिशत काम सकाउने सहमति भएपछि हामी एक वर्ष म्याद थप गर्ने निष्कर्षमा पुगेका छौँ ।” आयोजना निर्देशक ढकालका अनुसार सडक योजनाको तेस्रोपटक थप भएको म्याद यही साउन ८ गते सकिँदैछ । हालसम्म आयोजनाको भौतिक प्रगति ६९ दशमलव तीन प्रतिशत सकिएको उहाँले जानकारी दिनुभयो । नारायणघाट–बुटवल सडक योजना (पूर्वी खण्ड)का सूचना अधिकारी इञ्जिनियर शिव खनालका अनुसार अहिले निर्माण कम्पनीले दाउन्ने खण्डमा काम गरिरहेको छ । दाउन्नेमा सडकका कारण यात्रीलाई समस्या परेकाले त्यहाँ ढलान गर्न जनशक्ति केन्द्रित भएका छन् । दाउन्नेमा सडक ढलानसहित चोरमारामा कालोपत्र, पुल निर्माण, दुई लेन सडक भएको ठाउँमा चार लेन बनाउने, डिभाइडर बनाउने काम भइरहेको छ । सडक विस्तारका लागि अहिले दुई सय ७२ जना श्रमिक काम गरिरहेका छन् । यस खण्डमा पर्ने साना पुल निर्माण सम्पन्न भएर सवारीसाधन सञ्चालनमा रहेको भए पनि ठूला पुल बन्ने क्रम जारी रहेको सूचना अधिकारी खनालको भनाइ छ । डण्डाको सुक्खा खोलामा ठूलो पुल निर्माण भएर पनि एप्रोच रोड (पहुँच मार्ग) बनाउन बाँकी रहेका कारण सो पुल सञ्चालनमा आउन नसकेको उहाँले बताउनुभयो । “अहिले चोरमाराको पुलमा काम भइरहेको छ, बेल्डिहा खोलाको पुल दुईतीन दिनमा सञ्चालनमा आउँछ, त्यस्तै जयश्री खोलाको पुलमा ढलानको काम चाँडै गर्दैछौँ, अहिले पूर्वी खण्डको काम धमाधम अगाडि बढिरहेको छ ।” गैँडाकोटको पुलचोकमा एक सय मिटर सडक कालोपत्र गर्न बाँकी रहे पनि अबको एक महिनाभित्र कालोपत्र गरिने उल्लेख गर्दै खनालले यस खण्डमा पुल भएको ठाउँमा, चोरमारामा र दुम्कीबासबाट दाउन्नेसम्म करिब सात किलोमिटर कालोपत्र गर्न बाँकी रहेको बताउनुभयो । नारायणघाट– बुटवल सडकको एक सय १४ किलोमिटरमध्ये पूर्वी खण्डमा करिब ६५ किलोमिटर छ । पूर्वी खण्डमा पर्ने सडकमध्ये डेढ किलोमिटर जति क्षेत्रफल पुलले ओगटेको छ बाँकी रहेको करिब सात किलोमिटर सडक पनि चाँडै कालोपत्र हुन्छ । अहिले दाउन्नेबाहेकको खण्डमा यात्रा सहज भएको उहाँले बताउनुभो । एक वर्षमा यस खण्डको भौतिक प्रगति करिब २० किलोमिटर थपिएको उहाँले बताउनुभयो । “दोस्रापटक थप गरिएको म्याद सकिँदा यस खण्डमा कालोपत्र सडक २९ किलोमिटरमात्र थियो”, उहाँले भन्नुभयो, “असार मसान्तसम्म अहिले पूर्वी खण्डमा ५६ किलोमिटर सडक कालोपत्र भएको छ ।” चिनियाँ निर्माण कम्पनी ‘चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरिङ कर्पोरेसन लिमिटेडले सडक विस्तारको काम गरिरहेको छ । निर्माण कम्पनीले नेपाल सरकारसँग २०७५ साल माघ २४ गतेदेखि काम सुरु गरी ४२ महिनामा सक्नेगरी ठेक्का सम्झौता गरेको थियो । निर्धारित समयमा काम नसकिएपछि निर्माण कम्पनीले विभिन्न कारण देखाउँदै सडक विस्तारको म्याद थप गर्दै आएको छ । अब थप हुने म्याद अन्तिम भएको सडक विभाग आयोजना निर्देशनालय एडिबीका आयोजना निर्देशक इञ्जिनियर चुडाराज ढकालले बताउनुभयो । दुई खण्डमा विभाजन गरी काम भइरहेको नारायणघाट–बुटवल सडक विस्तार योजनाको कुल लागत १६ अर्ब ९९ करोड ५२ लाख रुपैयाँ छ । नारायणघाट–बुटवल सडक योजना पूर्वी खण्ड (गैँडाकोट–दाउन्ने) ६५ किलोमिटरको लागत नौ अर्ब १३ करोड १८ लाख ९५ हजार रुपैयाँ एवं पश्चिम खण्ड (दाउन्ने–बुटवल) ४९ किलोमिटरको लागत सात अर्ब ८६ करोड ३४ लाख रुपैयाँ छ । एसियाली विकास बैंक ९एडिबी०को ८५ प्रतिशत ऋण सहयोगमा अघि बढाइएको आयोजनामा बाँकी रकम सरकारको छ ।
पोखरा: गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे ७ दिने औपचारिक भ्रमणका लागि मंगलबार चीनतर्फ प्रस्थान गरेका छन्। नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७० औँ वार्षिकोत्सवको अवसरमा आयोजित एक कार्यक्रममा सहभागी हुन मुख्यमन्त्री पाण्डेको नेतृत्वमा ५ सदस्यीय प्रतिनिधिमण्डल चीन गएको हो। भ्रमण टोलीमा मुख्यमन्त्रीकी पत्नी बिना पाण्डे, नेपाली कांग्रेसका प्रमुख सचेतक नन्दप्रसाद न्यौपाने, एमालेका प्रमुख सचेतक गोविन्दबहादुर नेपाली तथा मुख्यमन्त्रीका प्रेस संयोजक नरहरि सापकोटा छन्। आफ्नो अनुपस्थितिमा उनले प्रदेश सरकारको कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री पद्मा जिसी श्रेष्ठलाई सुम्पेका छन्। भ्रमणका क्रममा मुख्यमन्त्री पाण्डेले चिनियाँ कम्युनिष्ट पार्टीका उच्च पदस्थ नेताहरूसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ। उनले ल्हासामा तिब्बत स्वायत्त क्षेत्रीय कमिटीका पार्टी सचिव वाङ जुनझेङसँग र लिन्झीमा नगर कमिटीका पार्टी सचिव आओ लिउछ्वान तथा उपसचिव एवं नगर प्रमुख बातासँग द्विपक्षीय भेटघाट गर्नेछन्। मंगलबार बिहान चीन प्रस्थान गर्नुअघि मुख्यमन्त्रीसहितको भ्रमण टोलीलाई पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यवाहक मुख्यमन्त्री जिसी, प्रदेशका मन्त्रीहरू तथा प्रदेश सभा सदस्यहरूले बिदाइ गरेका थिए। पोखराबाटै चीन प्रस्थान गरेको टोली साउन १२ गते स्वदेश फर्कने कार्यक्रम छ। मुख्यमन्त्री पाण्डेको यो भ्रमणलाई संघीय मन्त्रिपरिषद्को असार २३ गते बसेको बैठकले स्वीकृति प्रदान गरेको थियो।
काठमाडौं: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन वन कार्यालय, धनगढी कैलालीका वरिष्ठ वन अधिकृत पूर्णशङ्कर यादवलाई घुस रकमसहित पक्राउ गरेको छ । स्थानीय चुरे गाउँपालिका-६ स्थित ग्वासी सामुदायिक वनको घाटगद्दी गरेको काठको बिर्मका र छोडपूर्जीका लागि सेवाग्राहीसँग घुस माग गरेको भन्ने सूचनाका आधारमा आयोगको कञ्चनपुर कार्यालयबाट गएको टोलीले यादवलाई पक्राउ गरेको हो । आरोपी यादवको साथबाट रु सात लाख ३१ हजार रकमसहित डिभिजन वन कार्यालयबाट सोमबार साँझ पक्राउ गरेको हो । आरोपी यादवमाथि थप अनुसन्धान भइरहेको आयोगक प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिनुभयो ।
पोखरा: पोखरा महानगरपालिका वडा नं. २६ ले वडाका विभिन्न जेष्ठ नागरिक समूहलाई बाद्यबाधनको सामाग्री हस्तान्तरण गरेको छ । वडा अध्यक्ष नरेन्द्र थापाले जेष्ठ नागरिकहरुको दिवा सेवा केन्द्रका लागि खैजडी, मादल, मुजुरा लगायतका बाद्यबाधनको सामाग्री हस्तान्तरण गरेका हुन । घरेलुचौर दिवा सेवा केन्द्र, सक्नेरी जेष्ठ नागरिक दिवा सेवा केन्द्र, सर्वमोक्ष धाम मन्दिर, जटा शंकरमा रहेको सिलिङ्गे जेष्ठ नागरिक दिवा सेवा केन्द्र, खाष्टेताल जेष्ठ नागरिक समाज, खरानोचोक फराकको चौतारा जेष्ठ नागरिक समुहलाई उक्त सामाग्री हस्तान्तरण गरिएको हो । यसैगरी देउराली मन्दिरको समूहलाई पनि एक सेट बाद्यबाधनको सामाग्री हस्तान्तरण गरिएको हो । सामाग्री हस्तान्तरण गर्दै वडाध्यक्ष थापाले जेष्ठ नागरिकको शिप, ज्ञान र विचारलाई पुस्तान्तरण गर्नु पर्नेमा जोड दिए । थापाले जेष्ठ नागरिकहरु स्वभावैले धार्मिक हुने भएकाले भजन कृतनमा सहज हुने गरी सामाग्री बितरण गरिएको बताए । उनले आफुहरु निर्वाचित भएर आएपछि जेष्ठ नागरिकहरुको दिवा सेवा केन्द्रमा खाजा बितरण र विपन्न सुत्केरीलाई पोषण बितरणको पहिलो निर्णयमा हस्ताक्षर गरेको उल्लेख गरे । उनले सोही निर्णय अनुसार बार्षिक रुपमा वडाका चार स्थानका जेष्ठ नागरिक सेवा केन्द्रमा खाजा बितरण गर्दै आएको बताए । वडा सदस्य लक्ष्मीदेवी भट्टराई, सुजता बराल सुनार, सचिव लिलामणि भण्डारी सहित वडाको टिम सामाग्रही बितरण गर्न सेवा केन्द्रमा पुगेको थियो । यसैविच परियार समाज पोखरा २६ लाई लोकसंस्कृति जगर्नोका लागि पनि वडाध्यक्ष थापाले पञ्चेबाजाको एक सेट हस्तान्तरण गर्नु भएको थियो । समाजका अनिल परियार सहितको टोलीलाई अध्यक्ष थापाले उक्त सामाग्री हस्तान्तरण गरेका हुन ।
पोखरा: शिखर इन्सुरेन्स कम्पनी प्रा.लि गण्डकी प्रदेश कार्यालयद्धारा जानकी मावि पोखरा १७ लाई एक लाख रुपैया सहयोग गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्वमार्पmत सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउन सहयोग पु¥याउने लक्ष्यका साथ आर्थिक सहयोग गरिएको हो । विद्यालयमा आयोजित एक कार्यक्रमका वीच इन्सुरेन्सका गण्डकी प्रदेश प्रमुख विष्णुराज पौडेलले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नगेन्द्र गुरुङ उक्त रकम बराबरको चेक हस्तान्तरण गर्नुभयो । विद्यालयमा ३५० जना विद्यार्थी अध्ययनरत छन् । नेपाल सरकार प्राधिकरणबाट इजाजत प्राप्त गरि सवारी साधन दुर्घटना हजाई, निर्माण सम्वन्धी मार्गस्त विमान, सम्पत्ति, उद्योग कलकारखाना जस्ता निर्जिवन विमाका साथै मजदूर स्वास्थ्य विमा लगायत विभिन्न १८ जटिल रोगमा १० लाख रुपैयासम्मको उपचार विमा समेत गर्दै आएको प्रमुख पौडेलले सो अवसरमा जानकारी दिनुभयो । मुलुकको ७३ जिल्लामा ११८ वटा शाखामार्पmत सेवालाई प्रभावकारी बनाउँदै आएको जानकारी दिंदै उहाँले भन्नुभयो, गत आर्थिक बर्षमा पाँच अर्व ८० करोड संकलन गरेकोमा तीन अर्व भन्दा वढी रुपैया दावी भुक्तानी गरेको थियो । छिटोछरितो सेवा प्रदान गर्नु संस्थाको पहिलो प्राथमिकता भएको बताउँदै उहँँले भन्नुभयो, कम्पनीमा हाल तीन लाख भन्दा वढी विमित एवम् ६६० जनालाई प्रत्येक्षरुपमा रोजगारी प्राप्त गरेका छन् । कम्पनीले पोखरा २१ निर्मलपोखरीस्थित जनचेतना माविलाई पनि सोही शिर्षकमा एक लाख रुपैया उपलव्ध गराएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोविन्द गिरीलाई प्रदेश प्रमुख पौडेलले उक्त रकम वरावरको चेक हस्तान्तरण गर्नु भएको थियो । कार्यक्रममा नेपाल विमा प्राधिकरण गण्डकी प्रदेश प्रमुख शम्भु मिश्रले यस्ता कार्यक्रमले सामुदायिक विद्यालयको पठनपाठनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्दै रकमको सदुपयोग हुने विश्वास व्यक्त गर्नुभयो ।
काठमाडौं: हाल देशभर मनसुनी वायुको प्रभाव रहँदा मनसुनको न्यूनचापीय रेखा सरदर स्थानका आसपासमा अवस्थित रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मङ्गलबार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशलगायत देशका पहाडी भू–भागका केही स्थान तथा अन्य भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि पूर्वानुमान रहेको छ । त्यसैगरी, आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशलगायत देशका पहाडी भू–भागका केही स्थान तथा अन्य भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।
ढोरपाटन: बागलुङमा हरेक वर्ष वर्षातको समयमा बाढी पहिरोले धनजनको क्षति हुने गरेको छ । यस वर्ष पनि वर्षात सुरु भएकाले जिल्ला विपद् व्यवस्थापन समितिले जोखिम क्षेत्रको पहिचान गरी नागरिकलाई सचेत गराउँदै आएको हो । यस वर्षको मनसुनमा जिल्लाभर पाँच हजार ८७२ घर बाढी पहिरोको जोखिममा छन् । जोखिममा रहेका बस्ती तथा घरमा बस्दा सहजकता अपनाउन विपद् व्यवस्थापन समितिले सुझाव दिएको छ । यहाँका अधिकांश बस्ती खोला किनार र भिरालो जमिनमा रहेकाले वर्षातको समयमा बाढी पहिरोको जोखिममा पर्ने गरेका छन् । जिल्लामा सबैभन्दा बढी निसीखोला गाउँपालिकाका जोखिममा छन् । यस पालिकामा दुई हजार ४३८ घर बाढी पहिरोको जोखिममा रहेका समितिले जनाएको छ । सबैभन्दा कम जोखिमयुक्त घर जैमिनी नगरपालिकामा छन् । जैमिनीमा १६ घर जोखिममा रहेका जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी पुष्पराज पौडेलका अनुसार बागलुङ नगरपालिकामा एक हजार ५५४, ढोरपाटन नगरपालिकामा ३९०, गलकोट नगरपालिकामा १२५, बरेङ गाउँपालिकामा २१०, बडिगाड गाउँपालिकामा १६०, तमानखोला गाउँपालिकामा ११५, ताराखोला गाउँपालिकामा १४४ र काठेखोला गाउँपालिकामा ७२० घर बाढी पहिरोको जोखिममा परेका हुन् । घरसँगै विद्यालय, सिँचाइ, कुलो, विद्युत् गृह, सयौँ रोपनी खेतीयोग्य जमिन जोखिममा रहेका उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “वर्षातको समय छ, जोखिम रहेका घर तथा बस्तीमा जतिबेला पनि बाढी पहिरोले बगाउन सक्छ, सबै नागरिक सचेत हुन जरुरी छ, हामीले पनि सबै नागरिकलाई सचेत हुनका लागि आग्रह गरेका छौँ, जोखिम मोलेर बस्नु हुँदैन भनेका छौँ, वर्षा हुँदा सुरक्षित स्थानमा गएर बस्नुको विकल्प हुँदैन, विगतमा बाढी पहिरोबाट धेरैले ज्यान गुमाउनुभएको छ ।” निसीखोला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन पुन मगरले वडा नं १ को हुल्दी क्षेत्रमा सबैभन्दा बढी घर पहिरोको जोखिममा रहेका जनाउँदै बस्ती अन्यत्र सार्नुपर्ने अवस्था रहेको बताउनुभयो । एकीकृत बस्ती निर्माण गरेर स्थानीयलाई पुनःस्थापित गर्न केन्द्र र प्रदेश सरकारसँग सहकार्य गर्ने उहाँको भनाइ छ । विपद् व्यवस्थापनका लागि पूर्वतयारीका गरिरहेको भन्दै राहत र उद्धारका लागि ‘विपद् व्यवस्थापन कोष’ बनाइएको पुनमगरले जानकारी दिनुभयो । “निसीखोलाको अधिकांश ठाउँ र सयौँ घर जोखिममा छन् । पालिकाको सीमित स्रोतसाधनले बस्ती स्थानान्तरण नभ्याउने हुँदा माथिल्लो तहका सरकारसँग सहकार्य गर्नुपर्छ”, उहाँले भन्नुभयो, “अहिले विपद्बाट नागरिकलाई जोगाउन सचेतना फैलाउने काम भइरहेको छ । त्योबाहेक विपद्मा परेकालाई राहत तथा पुनःस्थापनाका लागि रु ३० लाखको कोष बनाएका छौँ, उद्धारलाई प्रभावकारी बनाउन निसीखोलाका तीनवटै चौकीलाई उद्धार सामग्री हस्तान्तरण गरेका छौँ ।”
काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको आन्तरिक एकतालाई बलियो बनाएर प्रस्तुत हुन केन्द्रीय सदस्यहरुलाई आग्रह गर्नुभएको छ । आजदेखि सुरू भएको एमालेको केन्द्रीय कमिटीको नवौँ बैठकमा अध्यक्षता गर्दै अध्यक्ष ओलीले पार्टीभित्र वैचारिक र नीतिगत रूपमा कुनै विवाद नभएकाले सिङ्गो पार्टी पङ्क्ति एकताबद्ध हुनुपर्नेमा जोड दिनुभयो । अध्यक्ष ओलीले पछिल्लो समयमा एमालेको पार्टी सदस्यता एक लाख ३९ हजार ९२८ प्रतिशत० ले वृद्धि भई सङ्गठनात्मक रूपमा मजबुत भएको बताउनुभयो । उहाँले पार्टीलाई राष्ट्रिय निर्णायक शक्तिका रूपमा रुपान्तरण गर्न आह्वान गर्नुभएको एमालेका केन्द्रीय प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो । अध्यक्ष ओलीले केन्द्रीय सदस्यहरूलाई आफूलाई लागेको कुरा बैठकमा राख्न आग्रह गर्नुभएको र विरोधी तथा अनेक तत्वहरूले एमालेमाथि झुट र अफवाहको शैलीमा आक्रमणको निसाना बनाएकाले एकताबद्ध भएर सामना गर्न आग्रह गर्नुभएको उहाँले जानकारी दिनुभयो । “वैचारिक र नीतिगत रूपमा अहिले हाम्रो पार्टी एकढिक्का छ । यहाँ कुनै मतभेद छैन तर हामीलाई विवाद र विभाजन गराउने तत्वका अनेक प्रयास हुन सक्नेतर्फ सचेत भएर लाग्नुपर्छ”, अध्यक्ष ओलीले भन्नुभयो, “विरोधीहरूले हामीसँग विचार र काममा प्रतिस्पर्धा गर्न सक्दैनन् । झुटको सहारा लिएर गोयबल्स शैलीमा आरोप लगाउँछन् । एमालेलाई कमजोर देखाउने प्रयास गर्छन् । यस्ता आरोप र चुनौतीको सामना हामीले पहिल्यैदेखि गर्दै आएका छौँ । फेरि पनि गर्छौँ ।” नेता गौतमले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पार्टीको सक्रिय राजनीतिमा आउने भन्ने सन्दर्भमा उहाँ र पार्टी अध्यक्ष ओलीबीच आइतबार भएको संवाद र उक्त विषयबारे निर्णयमा पुग्नुपर्ने प्रस्ताव पनि बैठकमा आउने अपेक्षा गर्नुभयो । प्रचार विभागका प्रमुख गौतमका अनुसार बैठकमा उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रस्ताव र महासचिव शङ्कर पोखरेलले सङ्ठगनात्मक प्रतिवेदन प्रस्तुत गर्नुहुने छभने आसन्न विधान महाधिवेशनको व्यवस्थापकीय तयारीका सम्बन्धमा पनि छलफल हुनेछ ।
पोखरा: पोखरामा १२ लाख ३० हजार रुपैयाँ चोरी गरेको आरोपमा ओमबहादुर भुजेललाई प्रहरीले पक्राउ गरेको छ । पोखरा ५ मालेमाटनस्थित दाङ भ्याली फ्रेस हाउसका सञ्चालक संगिता भण्डारीको कोठाभित्र दराज राखिएको १२ लाख ३० हजार रुपैयाँ शुक्रबार चोरी भएको थियो । पक्राउ परेका ओमबहादुर भुजेलको साथबाट प्रहरीले बरामद गरेको नगद । फोटो कास्की प्रहरी पैसा चोरी भएको सूचनापछि अनुसन्धानका लागि खटिएको वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीको टोलीले माछापुच्छे गाउँपालिका ९ स्याथी घर भएका २३ वर्षीय ओमबहादुरलाई ९ लाख ९७ हजार ५ सय रुपैयाँसहित पक्राउ गरेको हो । पक्राउ परेका भुजेलको साथबाट प्रहरीले २ थान मोवाईलसमेत बरामद गरेको छ । उनलाई जिल्ला अदालत कास्कीबाट चोरी तथा डाँका सम्बन्धी कसूरमा १० दिनको म्याद थप गरेर अनुसन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ ।

