बाँके: नेपालगञ्जमा एक युवकले प्रेमिकाको हत्या गरेका छन्। दैलेख घर भई नेपालगन्जको बीपीचोकस्थित सुनाखरी रेस्टुरेन्टमा कार्यरत २२ वर्षीया निर्मला थापाको हत्या भएको हो। बेलासपुरस्थित कोठामा सलले घाँटी कसेर उनको हत्या भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। युवती हत्या आरोपमा बर्दिया घर भई नेपालगन्जस्थित स्वस्तिक कटेजमा क्याप्टेनको रूपमा कार्यरत ३५ वर्षीय प्रकाश सुनारलाई प्रहरीले पक्राउ गरेको छ। बुधबार राति हत्या गरी प्रकाशले निर्मलाको बहिनीलाई फोन गरेर हत्याको जानकारी दिएका प्रहरीले जनाएको छ। निर्मलाको हत्यापछि राति २ बजे उनी आफैँ जिल्ला प्रहरी कार्यालय बाँके पुगेर आफूले प्रेमिकाको हत्या गरेको जानकारी गराएका थिए। प्रकाश विवाहित रहेको प्रहरीले जनाएको छ। उनका श्रीमती, एक छोरा र एक छोरी बर्दियामै बस्दै आएका छन्। प्रकाश र निर्मला विगत तीन वर्षदेखि नेपालगन्ज १२ बेलासपुरमा सँगै बस्दै आएका खुलेको छ। हत्याको कारण खुलेको छैन। घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
गण्डकी: पोखरा–मुग्लिन सडकको पश्चिम खण्ड (पोखरा–जामुने)को भौतिक प्रगति ५५.१० र वित्तीय प्रगति ४२.५० प्रतिशत पुगेको छ । कुल ३८.८८ किमी दूरीको उक्त खण्डमा हालसम्म ३७.७० किमीमा एकतर्फी पहिलो तहको कालोपत्र भइसकेको आयोजना कार्यालयले जनाएको छ । उक्त खण्डका प्रमुख इन्जिनियर कृष्णबहादुर कुँवरका अनुसार २६.३८ किमीमा दुईतर्फी (चार लेन) र १०.३२ किमी सडकमा एकतर्फी (दुई लेन) कालोपत्र भइसकेको छ । विसं २०७८ भदौदेखि निर्माण सुरु गरिएको उक्त खण्डको ठेक्का म्याद आगामी पुससम्म रहेको छ । निर्माण कम्पनीले समयमा काम नगरेपछि यसअघि दुईपटकसम्म म्याद थप भएको इन्जिनियर कुँवरले बताए । चिनियाँ निर्माण कम्पनी यनहुई काइयुयान हाइवे एन्ड ब्रिज कन्स्ट्रक्सनले उक्त खण्डमा सडक विस्तार एवम स्तरोन्नतिको काम गरिरहेको हो । तनहुँको जामुनेदेखि पोखराको सेती पुलसम्मको आधा सडक छ लेन र आधाजति चार लेनको बन्ने इन्जिनियर कुँवरले बताउनुभयो । पश्चिम खण्डमा पर्ने १३ वटा पुलमध्ये ११ पुल बनिसकेको र दुई पुल निर्माणाधीन अवस्थामा रहेको उहाँले जानकारी दिनुभयो । १०५ वटा कल्भर्टमध्ये १०३ वटा निर्माण भइसकेका छन् । तनहुँको म्याग्देखोला, कुम्लेखोला, ठाडेखोला, सम्धीखोला, मूलखोला, फेदीखोला–१, फेदीखोला–२, रुदीखोला, हलेदीखोला, कालीखोला र कास्कीको कोत्रेखोलामा पुल निर्माण सकिएको हो । सडक ठेक्काअन्तर्गत कास्कीको विजयपुर र पुल ठेक्काअन्तर्गत सेती पुल निर्माणको चरणमा छ । विजयपुर खोला पुलको भौतिक प्रगति ६० प्रतिशत पुगेको छभने सेती पुलको भौतिक प्रगति ४८ प्रतिशत पुगेको छ । विजयपुर पुल बन्न अझै पाँचदेखि छ महिनासम्म लाग्ने इन्जिनियर कुँवरले बताउनुभयो । आगामी भदौमा तीनवर्षे ठेक्का अवधि सकिन लागेको सेती पुलको भौतिक प्रगति पनि न्यून देखिएको छ । विसं २०७९ साउनमा निर्माण कम्पनी रसुवा कन्स्ट्रक्सनले पुल निर्माणको जिम्मा लिएको थियो । पुलको डिजाइन स्वीकृतदेखि मापदण्डभित्रका संरचना हटाउनेसम्मका काममा ढिलाइ भएकाले पुल समयमा बन्न नसकेको इन्जिनियर कुँवरले बताउनुभयो । केवल–स्टेड प्रविधिको उक्त पुलमा सब–स्ट्रक्चरको काम सकिएको र अहिले डाउनस्ट्रिम पुलमा सुपर–स्ट्रक्चरको काम भइरहेको उहाँको भनाइ छ । आकर्षक डिजाइनमा बन्ने उक्त सिग्नेचर पुलको जग निर्माणमा बढी समय लागे पनि टावरलगायत माथिल्लो संरचनाको काम छिटो हुने निर्माण कम्पनीले जनाएको छ । छ लेनको उक्त सडकमा अहिले रहेको चाइना पुलको तल र माथि गरी आकर्षक बनावटका दुईवटा सिग्नेचर पुल बन्ने भएका हुन् । भ्याटबाहेक रु ९४ करोडको ठेक्कामा पुल निर्माणको काम भइरहेको हो । पुलमा कङ्क्रिट र फलामको प्रयोग गरिएको छ । ५० वर्षअघि बनेको पृथ्वी राजमार्गअन्तर्गतको उक्त सडक एसियाली विकास बैङ्कको ऋण सहयोगमा विस्तार तथा स्तरोन्नतिको काम भइरहेको हो । निर्माणमा कुनै अवरोध नआएमा आगामी हिउँदसम्ममा सडक स्तरोन्नतिको काम सकिने आयोजना कार्यालयले जनाएको छ । गण्डकी प्रदेशको ‘लाइफलाइन’का रुपमा रहेको उक्त सडकको पूर्वी खण्ड (जामुने–मुग्लिन)मा भने हालसम्म भौतिक प्रगति ८६ प्रतिशत पुगेको आयोजना कार्यालयले जनाएको छ ।
काठमाडौं: हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ । हाल देशभर पहाडी भू–भागमा साधारणतया बदली रही कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । शनिबार दिउँसो देशका पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने पूर्वानुमान महाशाखाले जनाएको छ । बागमती, गणडकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भू–भागका केही स्थानहरूमा तथा बाँकी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन रचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेशको तराई र मधेश प्रदेशका केही स्थानहरूमा हावाहुरी चल्ने सम्भावना रहेको छ । पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशलगायत देशका पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानहरूमा तथा बाँकी भू–भागका थोरै स्थानहरूमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेशका तराई तथा बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेकोले सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूमा पछिल्लो मौसमी सूचनाको जानकारी लिनुहुन महाशाखाले अनुरोध छ ।
पोखरा: लामा अमृत फाउण्डेशनले घान्द्रुकको श्री जनप्रिय आधारभुत विद्यालयमा शैक्षिक तथा खेलकुद सामाग्री वितरण गरेको छ । फाउण्डेशनका संस्थापक अमृत लामा गुरुङले कास्कीको अन्नपूर्ण गाउँपालिक–१० किम्चे स्थित जनप्रिय आधारभुत विद्यालयमा आज (शुक्रबार) एक कार्यक्रमको आयोजना गरि विद्यार्थीहरुलाई शैक्षिक तथा खेलकुद सामाग्री वितरण गरेका हुन् । फाउण्डेशनका संस्थापक गुरुङले ६५ जना विद्याथीैहरुलाई शैक्षिक सामाग्री र विद्यालयलाई डष्टविन र एक थान भलिबल सहयोग गरेका हुन् । शैक्षिक सामाग्री हस्तान्तरण पछि बोल्दै फाउण्डेशनका संस्थापक गुरुङले सामाजिक कार्यमा जोडिने उद्धेश्यसहित विद्यालयहरुमा शैक्षिक सामाग्री सहयोग गर्दै आएको बताए । ‘सामाजिक तथा खेलकुद क्षेत्रमा क्रियाशिल रहँदै आएको फाउण्डेशनले घान्द्रुक लगायत विभिन्न जिल्लाका विद्यालयमा शैक्षिक सामागी सहयोग गरि सकेको छ, संस्थापक गुरुङले भने, ‘केही दिन अगाडि पोखरामा क्लबस्तरीय भलिबल सम्पन्न भइसकेको छ, यसपछि आज यस विद्यालयमा शैक्षिक तथा खेलकुद सामाग्री सहयोग गर्ने अवसर पाएको छु, सहयोगका लागि सहयोग गर्नुहुने सबैलाई धन्यवाद समेत दिन चाहान्छु ।’ संस्थापक गुरुङले शैक्षिक गुणस्तर सुधारमा शिक्षक मात्र नभएर स्थानीयहरुले समेत चासो देखाउन सके गाउँमै गुणस्तरीय शिक्षा प्रदान गर्न सकिने बताए । ‘शिक्षा नै जीवनको महत्वपूर्ण खुड्किला हो, शैक्षिक गुणस्तरमा ध्यान दिन विद्यालयका शिक्षक मात्र हैन स्थानीयहरुले पनि चाँसो देखाउन आवश्यक छ, उनले भने, ‘गाउँकै विद्यालयमा गुणस्तरीय शिक्षाका लागि फाउण्डेशन मार्फत सक्रियता बढाएको छु, अबको परिवर्तन शिक्षाले मात्र दिन सक्छ त्यसैले शिक्षामा सबैले ध्यान पु¥याउन आवश्यक छ ।’ विद्यालयका प्रधानाध्यापक बैकुण्ठ दाहालले यस सहयोगले विद्यार्थीहरुको अध्ययनमा हौसल थपिएर जाने बताए । ‘हाम्रो विद्यालयले आधारभुत तहमा पालिकामा नै उत्कृष्ट नतिजा निकाल्दै आएको छ, विद्यालयमा स्रोतका कमीका कारण केही समस्या छ, पालिकाले पनि छात्रावृत्ति लगायत विभिन्न शिर्षकमा सहयोग गर्दै आएको छ, प्रधानाध्यापक दाहालले भने, ‘लामा अमृत फाउण्डेशन घान्द्रुकले गरेको सहयोगले विद्यार्थीहरुको अध्ययनमा अझै हौसला बढेर जाने विश्वास लिएको छु ।’ फाउण्डेशनले यसअघि लमजुङ र घान्द्रुकको विभिन्न विद्यालयहरुमा शैक्षिक सामाग्रीसँगै पोशाक वितरण गरेको छ । फाउण्डेशन शैक्षिक, सामाजिक र खेलकुद क्षेत्रमा क्रियाशिल रहँदै आएको छ ।
पोखरा अन्तर्राष्ट्रीय विमानस्थलको यथोचित संचालनका लागि होटल संघ पोखरा नेपालको टोलीले विहिबार प्रधानमन्त्री, अर्थमन्त्री र युएईका राजदूतको ध्यानाकर्षण गराएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत भ्रमण अघि संघको टोलीले अर्थमन्त्री विष्णुप्रसाद पौडेलमार्फत् प्रधानमन्त्रीलाई भारतका विभिन्न शहरबाट पोखरासम्म उडानको पहलका लागि कुरा राख्न आग्रह गरेको हो । यसैगरी अर्थमन्त्री पौडेलसँगको संवादको क्रममा पोखरा र भैरहवाको नयाँ विमानस्थलबाट अन्तर्राष्ट्रीय उडान संचालनका लागि आफूले सक्दो पहल गर्ने मन्त्री पौडेलले बताएको होटल संघ नेपालका केन्द्रिय सदस्य एवं होटल संघ पोखरा नेपाल सल्लाहकार परिषद्का संयोजक भरतराज पराजुलीले जानकारी दिए । चालू बजेटमा व्यवस्था गरिएको पर्यटन क्षेत्रलाई अन्य उद्योग सरहको सुविधाको व्यवस्थालाई कार्यान्वयन तहमा पुर्याउन समेत आग्रह गरिएको केन्द्रिय सदस्य पराजुलीले जानकारी दिए । यसैगरी संघको टोलीले काठमाडौं स्थित संयुक्त अरव इमिरेट्स् (युएई) का राजदूत अब्दुल्ला सइद मुवारकसँग भेट गरी पोखरा दुबई सिधा हवाई सम्पर्कका लागि पहल गरिदिन आग्रह गरेको थियो । सो अवसरमा राजदूत अब्दुल्लाले पोखरा दुबई उडानका लागि आफूले फ्लाई दुबईसँग कुरा राख्ने आश्वासन दिएको होटल संघ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए । पोखराको पर्यटन प्रवद्र्धन गर्ने र दुबईबाट पोखराको पर्यटन क्षेत्रमा लगानी भित्र्याउने विषयमा समेत राजदूत सकारात्मक रहेको अध्यक्ष सुवेदीले बताए । अर्थमन्त्रीसँग भेटको क्रममा पोखरा नयाँ पुल सुरुंग मार्ग शिलान्यास हुने क्रममा रहेको जानकारी मन्त्री पौडेलले संघको टोलीलाई गराएको संघका अध्यक्ष सुवेदीले जानकारी दिए । उक्त मार्गको डीपीआर तयार भइसकेको र चालू बजेटमा केही रकम समेत छुट्टिएको जानकारी पौडेलले गराएको अध्यक्ष सुवेदीले बताए । नारायणगढ बुटवल सडक र स्तरोन्नतीको अन्तिम चरणमा रहेको पोखरा मुग्लिन सडकको निर्माण कार्यलाई तिव्रता दिन पनि मन्त्री पौडेलसँग संघको टोलीले आग्रह गरेको थियो ।
म्याग्दीमा यस वर्ष अघिल्लो वर्षको तुलनामा आलु बालीको उत्पादन नौ प्रतिशतले बढेको छ । एक हजार ८२० हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर १९ दशमलव पाँच मेट्रिक टनका दरले ३५ हजार मेट्रिक टन आलु उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । क्षेत्रफल विस्तार, अनुकूल मौसम, रोग र कीराको समस्या नदेखिएकाले आलुको उत्पादन बढेको केन्द्रका प्रमुख सञ्जीव बाँस्तोलाले बताउनुभयो । उहाँका अनुसार आर्थिक वर्ष २०८०/*८१ म एक हजार ७५० हेक्टरमा जिल्लामा ३१ हजार ४५० मेट्रिक टन आलु उत्पादन भएको थियो । केन्द्रका अनुसार म्याग्दीबाट वार्षिक रु १० करोड मूल्यबराबरको आलु पोखरा, काठमाडौँलगायत बजारमा बिक्री हुने गर्छ । सरदर प्रतिकेजी रु ४० देखि ४५ का दरले बारीबाटै आलुको व्यापार भएको छ । नियमित वर्षा भएकाले सिँचाइ, मौसम अनुकूल र रोग कीरा नदेखिएकाले उत्पादन बढेको अन्नपूर्ण गाउँपालिका–७ का वुद्धिवीर पुनले बताउनुभयो । उहाँका अनुसार लेकाली क्षेत्रको चिसो हावापानीमा उत्पादन भएको आलु स्वादिलो र पोषिलो हुने भएकाले जिल्ला बाहिरबाट अत्यधिक मात्रामा माग आउने गरेको छ । अन्नपूर्ण गाउँपालिकाको शिख, खिबाङ, राम्चे, काफलडाँडा नाङ्गी, हिस्तान, पाउद्वार, रघुगङ्गा गाउँपालिकाको कुइनेमङ्गले, दर्मिजा, चिमखोला, ठाडाखानी, बेनी नगरपालिकाको भकिम्लीलगायत ठाउँमा आलु उत्पादन हुन्छ । सवारीसाधनको पहुँच पुगेपछि गाउँगाउँमा उत्पादन भएको आलुले बजार पाउन थालेको हो । गत वर्षमा एक हजार तीन सय रोपनीमा सञ्चालन भएको खायन आलु प्रवर्द्धन कार्यक्रममार्फत एक हजार ८५ मेट्रिक टन उत्पादन भएको केन्द्रका प्रमुख बाँस्तोलाले बताउनुभयो । कार्यक्रममार्फत तीनवटा सहकारी र २७ समूहलाई बीउ, यान्त्रिकीकरण, सिँचाइ पूर्वाधार, प्याकेजिङ र ढुवानीका लागि रु ८७ लाख ६४ हजार अनुदान उपलब्ध गराएको केन्द्रले जनाएको छ । म्याग्दीमा आलु जोन कार्यक्रमले अन्नपूर्ण र रघुगङ्गा गाउँपालिका तथा बेनी नगरपालिकाको वडा नं ९ र १० मा आलुखेती विस्तारमा सहयोग गर्दै आएको छ । रासस
काठमाडौँ: बौद्धधर्माम्वलीले मनाउने पर्व गुंला शुक्रबारबाट सुरु भएको छ । गुंलाको गुंलाथ्व पारुदेखि ११ औं महिना यँलाको यँलाथ्व पारुसम्म चल्ने यस पर्वलाई नेवाः समुदायका बौद्ध धर्मावलम्बीहरुले अति नै महत्त्व मनाउने गर्दछ । नेपाल संवत् तिथि अनुसार आजबाट एक महिनासम्म बुद्धको उपासना गरी विभिन्न चैत्य तथा बौद्ध बिहार परिक्रमा गरी नामसंगीति पाठ गरि यो पर्व मनाइन्छ । विशेषगरी काठमाडौँका नेवार समुदायले प्रत्येक दिन मौलिक बाजा बजाएर स्वयम्भू महाचैत्य लयायतका बुद्ध चैत्यहरुमा परिक्रमा गर्छन् । प्रत्येक दिन बिहान चैत्य तथा गुम्बा, परिक्रमा गरिँदा पापबाट मुक्ति पाउने विश्वास अनुसार एकमहिना अवधिको पर्व मनाउने गरिएको पाइन्छ । यस अवधिमा धा बाजा, म्वायेली, नेकू बाजा लगायतको विशेष महत्त्व रहेको पाइन्छ ।
पोखरा: यही असोज ४ गते पोखरामा आयोजना हुने दोस्रो संस्करणको पुम्दी–भुम्दी पर्वतीय दौड प्रतियोगिता भव्य रूपमा सम्पन्न गर्न सरोकारवालाहरूले प्रतिबद्धता व्यक्त गर्नुभएको छ । प्रतियोगितालाई ध्यानमा राखेर बिहीवार आयोजना गरिएको सरोकारवालासँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै गण्डकी प्रदेश सभा सदस्य प्रकाश बरालले आफ्नै जन्मभूमिमा आयोजना हुने यस्ता गतिविधि जन्मभूमिको पहिचानसँगै राष्ट्रिय गौरवसँग पनि जोडिने विषय भएकाले प्रतियोगिता सफल बनाउन आफू पूर्ण रूपमा प्रतिबद्ध रहेको जनाउनुभयो । “हामीले गर्ने कर्मले माता–पिता, गुरु वर्ग र मातृभूमिको उन्नयनमा टेवा पु¥याउनुपर्छ,” भन्दै उहाँले प्रतियोगिता खेलकुदसँगै पर्यटन र अर्थतन्त्रसँग जोडिने भएकाले यसलाई बृहत् आयामबाट हेर्नुपर्नेमा जोड दिनुभयो । पुुम्दीकोट कोट विकास समितिका अध्यक्ष तथा उद्योगी चन्द्रकान्त बरालले अघिल्लो संस्करणका कमजोरी सच्याउँदै यसपटकको प्रतियोगिता थप भव्य र व्यवस्थित हुने विश्वास व्यक्त गर्नुभयो । पुम्दी र भुम्दी क्षेत्र आफैँमा पर्यटकीय सम्भावना बोकेका स्थान भए तापनि पर्वतीय दौडजस्ता कार्यक्रम अन्य गन्तव्यहरूको प्रवद्र्धनमा सहयोगी हुने बताउनु भयो । विश्व शान्ति स्तुप समितिका अध्यक्ष अशोक गुरुङले दोस्रो संस्करणलाई उत्कृष्ट बनाउन समिति सक्रियताका साथ लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । समितिका सचिव दुर्गाबहादुर गुरुङले यस वर्ष प्रतियोगितालाई उत्सवकै रूपमा लिएर सबैले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । पोखरा महानगरपालिका वडा नम्बर २२ का वडा युवा परिषद्का अध्यक्ष दिनेश बरालले प्रतियोगिताका लागि आवश्यक स्वयंसेवक परिचालनको सम्पूर्ण व्यवस्थापन गर्ने जानकारी दिनुभयो । कार्यक्रम संयोजक दीननाथ बरालले अघिल्लो संस्करणको अनुभवलाई आधार बनाएर यसपटक प्रतियोगितालाई थप व्यवस्थित र पुरस्कार पक्षलाईसमेत प्रभावकारी बनाउने तयारी भइरहेको जानकारी दिनुभयो । पोखरा क्लिकको आयोजनामा हुने पुम्दी–भुम्दी पर्वतीय दौड प्रतियोगिता नेपाल पर्यटन बोर्डको प्रवद्र्धन, प्रदेश खेलकुद परिषद् गण्डकीको समन्वय तथा पोखरा महानगरपालिका वडा नम्बर २२ को सहकार्य र अफिसियल मिडिया पार्टनरमा सिटीवान टेलिभिजन रहेका छन् । प्रतियोगिताले स्थानीय प्रतिभाको प्रोत्साहनसँगै समग्र खेलसँग पर्यटन प्रवद्र्धनलाई जोडेर सामुदायिक एकता र आर्थिक समृद्धिका लागि कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने पोखरा क्लिकका वरिष्ठ संवाददाता असफल गौतमले बताउनु भयो । विश्व पर्यटन दिवसको अवसरमा उक्त प्रतियोगिता हुने भएकोे हो । प्रतियोगिताका लागि आगामी भदौं पहिलो सातादेखि अनलाइन फर्ममार्फत् धावकले नाम रजिष्ट्रर गर्न सक्ने व्यवस्थापक सागर सुनारले जानकारी दिनुभयो ।
पोखरा: पोखरामा विपि स्मृति एमेजर फुटसल प्रतियोगिताको उपाधि मिकी एफसीले उचालेको छ । नयाँ गाउँ युथ क्लबको व्यवस्थापनमा पोखरा रंगशालामा भएको प्रतियोगिताको फाइनलमा मिकी एफसीले सुजन डल्ले एफसीलाई २–१ गोलले हराउँदै उपाधि चुमेको हो । उपाधिसँगै मिकी एफसीले नगद एक लाख रुपैयाँको साथमा शिल्ड, मेडल र ट्रफी प्राप्त गरेको छ । उपविजेता बनेको सुजन एफसीले ५० हजार रुपैयाँको साथमा शिल्ड मेडल र प्रमाणपत्र प्राप्त ग¥यो । भेट्रान्सतर्फको फाइनलमा डल्फिन भेट्रान्सले नयाँ गाउँ भेट्रान्सलाई ४–० को फराकिलो गोलअन्तरले हराउँदै उपाधि चुमेको छ । डल्फिनले उपाधिसँगै बोका प्राप्त ग¥यो भने नयाँ गाउँले भाले प्राप्त ग¥यो । युगपुरुष विपि कोइरालाको ४३ औं स्मृति दिवसको अवसर पारेर प्रतियोगिताको आयोजना गरिएको हो । मेलमिलाप तथा राष्ट्रिय एकता कायम गराउने व्यक्तिले दिएको सन्देशलाई आत्मसात गर्दै अमित गुरुङ र अन्तिम गुरुङले आफ्ना स्वर्गारोहण भएका साथिहरुको स्मृतिमा प्रतियोगिताको मुख्य प्रायोजन गरेका थिए । दुई दिनसम्म चलेको प्रतियोगितामा ३० टिमको सहभागिता रहको थियो । प्रतियोगीताबाट बचत हुने रकम तनहँुको भानु नगरपालिका ७ मा रहेको चण्डिका बालगृहलाई सहयोग गर्ने आयोजकले जनाएको छ । सो बाल गृहमा हाल विभिन्न जिल्लाका १८ जना असहाय बालबालिका आस्रित रहेका छन् । अनिल गुरुङ, सजत कार्की र उत्तम गुरुङको स्मृतिमा उनका साथिद्धय अमित र अन्तिमले मुख्य प्रायोजन गरेका हुन भने, प्रदेश खेलकुद परिषद् गण्डकी, लोकतान्त्रिक खेलकुद संघ कास्की र नयाँ गाउँ युवा क्लबले सहयोग गरेका थिए ।

