पहिरोले मोदीको कोरुङ्गा गाउँ जोखिममा
पर्वत | साउन २६, २०८२
पर्वतः लगातारको वर्षाका कारण जिल्लाको मोदी गाउँपालिका वडा नं २ देउपुरको कोरुङ्गा गाउँ जोखिममा परेको छ । भिरबाट पहिरो झर्ने क्रम नरोकिएपछि सिङ्गो गाउँनै जोखिममा परेको हो । यहाँ आधादर्जन घरपरिवारको बसोबास रहेको छ ।
पातीचौर–देउपुर–लप्सीवोट सडक निर्माणपछि करिव एक दशकदेखि सुरूआत भएको कोरुङ्गाको पहिरो बढ्दै गएर बस्ती तर्फ पुगेको हो । अहिले यहाँका पाँच घरपरिवार उच्च जोखिममा परेका छन् ।
पहिरोका कारण स्थानीय टीकाराम जैसीको घर भत्किएको छ, भने कुमार केसीको घर उच्च जोखिममा परेको छ । पहिरोले घर नै क्षतिग्रस्त भई बस्न अयोग्य भएपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा सर सामान सुरक्षितस्थान तर्फ सारिएको छ भने बस्नको लागि अस्थायी टहरासमेत निर्माण गरिएको छ । पहिरो रोकथामको प्रयास नहुँदा यहाँका बासिन्दा रातभर जाग्राम बस्ने गरेको बाबुराम जैसीले जानकारी दिनुभयो ।
केही वर्ष पहिलेदेखि सुरू भएको पहिरोको रोकथामका लागि आवश्यक पहल हुन नसक्दा बर्सेनि झनै बढ्दै गएको र जोखिम बढिरहेको स्थानीयले गुनासो गरेका छन् । पहिरो झर्ने क्रम नरोकिएकाले जुनसुकै बेला बस्तीनै दुर्घटनामापर्ने भन्दै आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रविन विष्टले जानकारी दिनुभयो ।
गत वर्ष सोही पहिरोको कारण गाउँपालिकाको केन्द्रदेखि वडा नं १, २, ३ र ४ जोड्ने मुख्य सडक तीन महिना पूर्णरूपले अवरुद्ध भएको थियो । पातीचौर देउपुर लप्सीबोट सडकको कोरुङ्गा खण्डको झण्डै दुई किलो मिटर पक्की सडक क्षतिग्रस्त भएको छ । यसवर्ष पनि सो सडक पूर्णरूपले अवरुद्ध बनेको छ ।
गाउँपालिकाको केन्द्र जोड्ने मुख्य सडकनै अवरुद्ध भएपछि स्थानीयले निकै सास्ती बेहोर्नु परेको छ । अन्य वैकल्पिक सडकसमेत मर्मत सम्भार नहुँदा आवतजावतमा निकै समस्या परेको स्थानीय शिक्षक भूमिराज शर्माले जानकारी दिनुभयो ।
विकल्पको रूपमा रहेको बेतेनी गौँडा टापु सडक पनि स्तरोन्नति नहुँदा सञ्चालनमा कठिनाइ भएको उहाँले बताउनुभयो । नयाँपुल मख ठूली पोखरी सडक पनि ठाउँ ठाउँमा पहिरो गएर क्षतिग्रस्त भएको छ ।
वातावरणीय र भौगोलिक अवस्थालाई ख्याल नगरी अव्यवस्थित किसिमले सडक निर्माण गरिएको र ढल निकासको राम्रो व्यवस्था नभएका कारण ग्रामीण भेगका सडक निर्माण सम्पन्न नहुँदै क्षतिग्रस्त हुने गरेका छन् । वर्षाको समयमा गरिने निर्माण कार्यले पनि विपत्ति निम्त्याइरहेको स्थानीय बताउँछन् ।
पोखरा: टुबोर्गको मुख्य प्रायोजनमा आयोजित चौथों सिमपानी साँझबाट करिब ७ लाख संकलन भएको छ । शुभ दिपावलीको अवसरमा त्रिशक्ति समाज सेवा क्लबले आयोजना गरेको देउसी भैलो तथा सांस्कृतिक कार्...
काठमाडौँ: वैचारिक आस्था र राजनीतिक आबद्धतालाई ‘रिजर्भ’ मा राखेका समाजका चर्चित व्यक्तिहरूले जेनजी आन्दोलनयता खुलेर राजनीतिक यात्रा थालेका छन् । राजनीतिक यात्राको आर...
उदयपुर: सबै मानिसको आ–आफ्ना सपना लक्ष्यहरु रहेका हुन्छन्, कसैको लक्ष्य सङ्घर्षका क्रममा पूरा हुन्छ भने कसैले लक्ष्य प्राप्तिका लागि सङ्घर्षरत रहँदै गर्दा अचानक बीचमा जीवनलीला नै अन्त्य भएर यो संसारबाट सधैँ...

