काठमाडौं: सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । बिहिबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पत्रकार सम्मेलन गर्नुहुँदै साउन १२ गतेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्नुभएको हो । सरकारले बाढीबाट क्षतिग्रस्त सिन्धुली सडकको आपतकालीन पुन: स्थापनाको लागि जापान सरकारबाट प्राप्त हुने २.८ अर्ब जापानी येन बराबरको अनुदान सहायत स्वीकार गर्ने निर्णय निर्णय भएको प्रवक्ता गुरुङले जानकारी दिनुभयो। राज्यकोषबाट लगानी भएका प्रतिष्ठान, बोर्ड, समिति तथा सार्वजनिक संस्था लगायत निकायका पदाधिकारी र कर्मचारी पारिश्रमिक तथा सेवा सुविधामा एक रुपता कायम गर्ने सम्बन्धमा सुझावसहितको प्रतिवेदन पेश गर्न रामु प्रसाद डोटेल, पर्वतको संयोजकत्वमा, रमेश प्रसाद शिवाकोटी, दोलखा र चण्डी प्रसाद घिमिरे, ललितपुर सदस्य रहनेगरी कार्यदल गठन गर्ने निर्णय समेत भएको छ ।
काठमाडौं: नेकपा (एमाले) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवालगायत शीर्ष नेताहरूबिच बिहीबार बालुवाटारमा भेटवार्ता भएको छ । भेटमा समसामयिक विषय वस्तुमा छलफल हुने छ । भेटवार्तामा उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक, पूर्व उपप्रधानमन्त्री एवम् कांग्रेस उपसभापति पूर्णबहादुर खड्कासहितका नेताहरू रहनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
पोखरा: नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले व्यक्तिगत कुरालाई लिएर पार्टी सङ्गठनभित्र असमझदारी बढाउन हुँदैन भन्नुभएको छ । नेपाली कांग्रेस कास्कीद्वारा आज पोखरामा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले पार्टी सङ्गठनभित्र एकआपसमा स्वच्छ प्रतिष्पर्धा हुने भए पनि यही प्रतिष्पर्धाका कारण पार्टीलाई विभाजित गराउन नहुने बताउनुभयो । उहाँले भन्नुभयो, “पार्टी व्यक्तिगत महत्त्वाकाङ्क्षा पूरा गर्ने ठाउँ होइन, यो राष्ट्र र समाजका लागि योगदान गर्ने थलो हो । ” कांग्रेसका सस्थापक नेता बिपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई लगायत नेताहरूको अतुलनीय योगदानका कारण पार्टी यस स्थानमा आइपुगेको जनाउँदै केन्द्रीय सदस्य देउवाले उहाँहरूका मार्ग निर्देशलाई आत्मसात गर्दै अघि बढ्न् जरुरी छ भन्नुभयो “उहाँहरूले धेरै ठुलो योगदान गर्नुभएको छ उहाँहरूले देखाउनुभएको मार्गदर्शनमा कांग्रेस पार्टी हिड्नु एकदमै जरुरी छ”, उहाँले भन्नुुभयो, “हामी हरेकको बोली, आचरण, व्यवहारमा पार्टीलाई कसरी बलियो बनाउने भन्ने भयो भने पार्टी बलियो बन्छ ।” आसन्न पार्टीको १५औँ महाधिवेशनमा आन्तरिक प्रतिष्पर्धा हुने भए पनि कसैलाई काखा र कसैलाई पाखा नलगाई एक ढिक्का भएर पार्टी झन बलियो र सुदृढ हुने विश्वास व्यक्त गर्नुभयो । नयाँ दलले सामाजिक सञ्जालको अधिकतम प्रयोग गरिरहेको प्रसंग उल्लेख गर्दै डा देउवाले कांग्रेसले सकारात्मक ऊर्जा प्रवाह गर्ने गरी सामाजिक सञ्जालको प्रभावकारी उपयोग गर्नु जरुरी भएको धारणा राख्नुयो । पछिल्ला समयमा ‘देशमा केही भएको छैन‘ भन्ने नकारात्मक भाष्यलाई बढी प्रचार गर्न खोजिएको जनाउँदै उहाँले युवा पलायनलाई रोक्दै सकारात्मक सन्देश प्रवाहका साथ देशमा नै रहने र केही गर्ने किसिमले अघि बढ्नु हामी सबैको दायित्व भएको बताउनुभयो । नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले पार्टीले स्थापनाकालिन राष्ट्रियता, प्रजातन्त्र र समाजवादको मूल्य मान्यतालाई भुल्न नहुने बताउनुभयो । गुट गुटमा विभाजित नभै पार्टीलाई एकताबद्ध बनाएर लैजानु अपरिहार्य भएको उहाँको भनाइ छ । नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालले कांग्रेस राष्ट्रका जस्तासुकै चुनौतीलाई समाधान गर्दै अघि बढ्न सक्ने पार्टी भएको बताउनुभयो ।
काठमाडौं: नेकपा (एमाले)ले आगामी भदौमा हुने दोस्रो विधान महाधिवेशनको व्यवस्थापनका लागि जिम्मेवारी बाँडफाँड गरेको छ । महाधिवेशन सफल बनाउन विभिन्न नेतालाई व्यवस्थापनको जिम्मेवारी दिइएको एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार महासचिव शङ्कर पोखरेलको अध्यक्षतामा बुधबार बसेको बैठकले महाधिवेशन प्रतिनिधिको सङ्ख्या यकिन गर्न सङ्गठन विभागलाई जिम्मा दिएको छ । १०औँ राष्ट्रिय महाधिवेशनका प्रतिनिधिमध्ये कतिको मृत्यु भयो रु कतिले पार्टी छाडे ती सबै बिषय यकिन गर्न सङ्गठन विभागलाई जिम्मा दिइएको केन्द्रीय कार्यालय सचिव डा अधिकारीले जानकारी दिनुभयो । त्यसैगरी स्वास्थ्य क्षेत्रको जिम्मा स्वास्थ्य तथा जनसङ्ख्या विभागका प्रमुख कृष्णगोपाल श्रेष्ठ, स्वयंसेवक परिचालनको जिम्मा जनसङ्गठन समन्वय संयन्त्र प्रमुख भानुभक्त ढकाललाई, सचिवालय र खानाको व्यवस्थापन कार्यालय सचिव डा अधिकारीलाई जिम्मा दिइएको छ । महाधिवेशन प्रचारको जिम्मा प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमलाई, स्वागत नृत्यसहित विविध साँस्कृतिक कार्यक्रमका लागि केन्द्रीय सदस्य हेमराज राईलाई र कार्यालयको बैठकले यातायात तथा मञ्च व्यवस्थापनको जिम्मा केन्द्रीय सदस्य विनोद श्रेष्ठलाई जिम्मा दिएको जनाएको छ । महाधिवेशन प्रतिनिधिले आवासको व्यवस्था आफैँ गर्नुपर्ने छ । आवासको व्यवस्थापन गर्न नसक्ने प्रतिनिधिका सम्बन्धित जिल्ला वा प्रदेशका सम्पर्क समन्वय कमिटीले व्यवस्थापन गर्नुपर्ने छ । यसका लागि सो विभागका इन्चार्ज लालबाबु पण्डितलाई जिम्मेवारी तोकिएको छ । विधान महाधिवेशनमा दुई हजार २७९ प्रतिनिधि तोकिएका छन् । एमालेको दोस्रो विधान महाधिवेशन आगामी भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीस्थित सनराइज हलमा हुँदैछ ।
पोखरा: नेपाल उद्योग तथा व्यवसायी महासंघ गण्डकी प्रदेश, कास्की जिल्ला, माछापुच्छ«े गाउँपालिकाकोे आयोजनामा भोलि माछापुच्छ«े गाउँपालिकाको वडा नं ४ लाहाचोकमा प्रथम कोदो रोपाई महोत्सव हुने भएको छ । नेपाल सरकारले “कोदोजन्य परिकारको आहारः खाद्य सुरक्षा र स्वास्थ्य जीवनको आधार” भन्ने नाराका साथ यसै वर्षदेखि साउनको १६ गते राष्ट्रिय कोदो दिवस मनाउन गइरहेका सन्दर्भमा लाहाचोकमा पहिलो कोदो महोत्सव गर्न लागिएको नेपाल उद्योग तथा व्यवसायी महासंघ गण्डकी प्रदेशका अध्यक्ष बोबरजंग गुरुङले जानकारी दिनुभयो । महोत्सवका अवसरमा ख्यातीप्राप्त जनगायक जीवन शर्माका साथै स्थानीय कलाकारको मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रमसँगै पञ्चेवाजाका साथमा आमा समूहहरूबीच कोदो रोपाई प्रतियोगिता समेत गरिने भएको उहाँले बताउनुभयो । “हामीहरू स्वदेशी उत्पादनमा आत्मनिर्भर बन्नु आवश्यक छ”, उहाँले भन्नुुभयो, “कोदोजन्य बालीको प्रवद्र्धन गर्दै यसतर्फ कृषकलाई आकर्षित गरी उत्पादन बढाउने लक्ष्यका साथ महोत्सव आयोजना गरिएको हो ।” कोदो वर्षौंसम्म्म नबिग्रने विशेषगरी पहाडी क्षेत्रमा उत्पादन हुने अन्न हो । मानिसको शरीरमा आवश्यक पर्ने प्रोटिनको मात्रा अत्यधिक हुने यसको उत्पादन भने कृषिप्रतिको बढ्दो अनिच्छा र बसाइँसराइसँगै बर्सेनी घट्दै गएको छ । विशेष गरी पहाडी क्षेत्रमा साउनको पहिलो सातातिर मकै भाँचेपछि सर्वसाधारणले कोदो रोप्ने गर्दछन् । विगतमा कोदो रोपाइँका कारण चापाचाप हुने गाउँबस्तीका अधिकांश बारी यतिखेर बाँझै छन् । कोदोको उत्पादन घट्दै गए पनि यसको माग भने अत्यधिक बढ्दै गएको पाइन्छ । कोदोबाट रोटी, ढिँडो, पुवा जस्ता परिकार बनाउने गरिन्छ भने यसबाट घरेलु मदिरा पनि बनाउने गरिन्छ । महोत्सव मार्फत बहुउपयोगी कोदो खेतीप्रतिको आकर्षण बढाउन खोजिएको गुरुङले बताउनुभयो ।
पोखरा: पोखरामा भोलिदेखि पहिलो पटक हुन लागेको आरयु फेष्टको तयारी पूरा भएको छ । साउन १६ र १७ गते पोखरामा पहिलो पटक हुन लागेको आरयु फेष्टको तयारी पूरा भएको आज (बुधबार) पत्रकार सम्मेलन गर्दै जानकारी दिएको हो । पोखरा महानगरपालिकासँगको सहकार्यमा कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) को आर्थिक सहयोग तथा संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम (युएनडिपी) को प्राविधिक सहयोगमा पोखरामा सञ्चालित रिसाइक्लिङ र अपसाइक्लिङ मार्फत हरित रोजगारी सिर्जना परियोजना (GCRU) अन्तरगत आरयु फेष्ट (RU FEST-2025) गर्न लागिएको हो । यही साउन १६ र १७ गते बुलौदी स्थित पोखरा इभेन्ट सेन्टरमा फोहोरलाई खजना (मोहोर) बनाउने मुलमन्त्र सहित यो फेस्टिभल आयोजना गरिएको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले बताए । पोखरा महानगरपालिकाका नगर प्रमुख आचार्यले पोखरा लगायत सिङ्गो मुलुकको हरित विकासका लागि एक नवीनतम प्रयासका रूपमा फेस्टिभल स्थापित हुने अपेक्षा समेत व्यक्त गरे । फेस्टिभलले सृजनशीलता, नवप्रवर्तन र दिगोपनाका लागि हातेमालो गर्दै वातावरणमैत्री र सुरक्षित भविष्य निर्माण गर्ने लक्ष्य राखेको उनले बताए । “दैनिक जीवनमा प्रयोगहीन सामाग्रीहरू रिसाइक्लिङ र अपसाइक्लिङ गरी हरित रोजगारी सिर्जना सहित चक्रीय अर्थतन्त्रको निर्माणमा फेस्टिभलले नयाँ ज्ञान, सीप र मार्गदर्शन प्रदान गर्नेछ, नगर प्रमुख आचार्यले भने, यसले उद्यमशीलता र रोजगारी सिर्जनामा महत्त्वपूर्ण योगदान गर्नेछ ।” फेस्टिभलमा रिसाइक्लिङ र अपसाइक्लिङ सम्बन्धी नेपालको मौलिक सीप र दक्षिण कोरियाको चक्रीय अर्थतन्त्रमा यसले पारेको सकारात्मक प्रभाव र प्रेरणादायी अनुभवहरू आदान प्रदान गरिने उनले बताए । फेस्टिभलमा देशभरिका नवप्रर्तनयुक्त रिसाइक्लिङ र अपसाइक्लिङ उत्पादनहरूको प्रदर्शनी, फोहोरलाई उपयोगी वस्तुमा रूपान्तरण गर्ने प्रक्रियाको प्रत्यक्ष प्राविधिक डेमो सो, जलवायु, दिगो पर्यटन विकास, हरित उद्यमशीलता र प्लास्टिक टु रोड प्रविधि माथि संवाद, युवाहरूका लागि सिर्जनात्मक कार्यशाला, सार्वजनिक कला प्रदर्शनी, सहभागितामूलक गतिविधिहरू प्रस्तुत, दक्षिण कोरियाको सफलता अनुभवमाथि विशेष संवाद सत्र, हरित रोजगारी, बजार पहुँच र दिगो जीविकोपार्जनका उपायहरू लगायत विषयहरू माथि चर्चा परिचर्चा हुनेछ । हाल रिसाइक्लिङ र अपसाइक्लिङ मार्फत हरित रोजगारी सिर्जना परियोजना अन्तरगत कोइकाको ९.८ मिलियन अमेरिकी डलर र युएनडिपीले ०.८७ मिलियन अमेरिकी डलर आर्थिक सहयोगमा पोखरामा जिभिजेड सेन्टर निर्माण भइसेको छ । नयाँ बजार स्थित प्रदर्शनी केन्द्रमा कोसेली घर निर्माणको काम भइरहेको छ । पोखरा महानगरपालिका क्षेत्रमा १३६ वटा सामुदायिक समूहहरू निर्माण गरी उनीहरूलाई आवश्यक तालिम तथा प्राविधिक प्रशिक्षण पनि प्रदान गरिएको छ । “यस परियोजनाले युवाहरूलाई रोजगारीसँग जोड्ने छ भने, हरित अर्थतन्त्रको विकासमा महत्त्वपूर्ण योगदान गर्नेछ ।” नगर प्रमुख आचार्यले भने । फोहोरमैलाको उचित व्यवस्थापन मार्फत हरित रोजगारी सृजना र चक्रीय अर्थतन्त्रको सृजनशील उपयोग आम समुदायका लागि निकै महत्त्वपूर्ण हुने विश्वास गरिएको छ । हरित अर्थतन्त्रमा योगदान पुर्याउने आरयू उद्यमहरूलाई बढवा दिन दिगो नीतिको सुनिश्चितता सहित महानगरपालिकाले परियोजनाको स्वामित्वमा लिनेछ । परियोजना मार्फत आगामी २ वर्षमा ३ हजार रोजगारी सृजना गर्ने लक्ष्य राखिएको छ । फेस्टिभल उत्सुक विद्यार्थीहरू, उद्देश्यमूलक उत्पादनहरू, दूरदर्शी नीतिनिर्माताहरु र जिज्ञासु नागरिकहरूका लागि यो फेस्टिभल सहकार्य, सृजनशीलता र सकारात्मक कदमको साझा मञ्च बन्नेछ । पर्यटकीय राजधानी पोखरालाई हरित, दिगो र स्मार्ट बनाउने यात्रामा हातेमालो गर्न पोखरा महानगरपालिकाले आम पोखरेलीहरूलाई सार्वजनिक आह्वान समेत गरेको छ ।
गुल्मी: पहिरोका कारण कालीगण्डकी सडक पूर्णरुपमा अवरुद्ध भएको छ । कालीगण्डकी गाउँपालिकाको गरगरे र मुल्कमा ठूलो चट्टानसहितको पहिरो आज बिहान खसेपछि उक्त सडक पूर्णरुपमा अवरुद्ध भएको हो । सडक अवरुद्ध भएको जानकारी प्राप्त हुनासाथ प्रहरीचौकी पुर्तीघाटबाट सुरक्षाकर्मी परिचालन गरिएका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकरी गङ्गाबहादुर सारुले जानकारी दिनुभयो । पहिरो पन्छाउने प्रयास जारी छ ।
उदयपुर: उदयपुरको उदयपुरगढी गाउँपालिका–७ अँधेरीमा बिहीबार बिहान सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । काठमाडौँबाट इटहरीतर्फ गइरहेको ट्रक दुर्घटना हुँदा चालक त्रियुगा नगरपालिका–४ बगाहाका ३५ वर्षीय जीवन विश्वकर्माको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार दुर्घटनामा गम्भीर घाइते चालक विश्वकर्मालाई उपचारका लागि जिल्ला अस्पताल उदयपुर लगिएकोमा उपचारको क्रममा मृत्यु भएको हो ।
पोखरा: कास्कीको माछापुच्छ्रे गाउँपालिका–३ घाचोकमा बुधबार पहिरोमा पुरिएर एक युवकको मृत्यु भएको छ । घाचोकको लस्तीखोलास्थित हेमजा माछापुच्छ्रे सडक खण्डमा बुधबार विहान करिब १० बजे खसेको पहिरोमा पुरिएर पोखरा महानगरपालिका– २५ का २३ वर्षीय तेजबहादुर गुरुङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी एवम् प्रहरी नायव उपरीक्षक हरीबहादुर बस्नेतले जानकारी दिए । प्रहरीका अनुसार दिउँसो करिब साढे २ बजे पहिरो पन्छाउने क्रममा गुरुङको शव फेला परेको हो । स्थानीय बंगुर फार्ममा दाना लिएर जाने क्रममा गुरुङ पहिरोमा पुरिएको प्रहरीले उल्लेख गरेको छ। उक्त घटनामा परी स्थानीय शुक्लागण्डकी माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक सुरजमोहन पोखरेल घाइते भएका छन् । उनको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । पोखराबाट विद्यालय जाने क्रममा शिक्षक पोखरेल सवार मोटरसाइकलाई पहिरोले पुरेको थियो । घाइते शिक्षक पोखरेललाई स्थानीयले उद्धार गरी तत्काल अस्पताल लगेका थिए ।

