पोखरा : नेकपा एमाले पोखरा महानगरपालिका वडा नम्बर ३१ मा १ हजार १ सय १ सदस्यीय निर्वाचन परिचालन कमिटि गठन गरिएको छ । आगामी मंसिर ४ गते हुने निर्वाचन लक्षित उम्मेदवार भेटघाट तथा चाडपर्व विशेष शुभकामना आदानप्रदान कार्यक्रमसँगै शनिवार निर्वाचन परिचालन कमिटि गठन गरिएको हो । कार्यक्रममा नेकपा एमालेको तर्फबाट कास्की क्षेत्र नम्वर १ का प्रतिनिधि सभाका प्रत्यासी उम्मेदवार मनबहादुर गुरूङले विधि र पद्धतिमा चल्ने एक मात्र पाटी एमाले भएकोले देशको विकास गर्नको लागि एमालेलाई जिताउनुको विकल्प नभएको बताए । उनले एमाले दुःखी र गरिवको पाटी भएको बताउँदै भूमिहिनका समस्या समाधान गर्ने पाटी एमाले मात्रै भएको जिकिर गरे । देशमा व्यवस्था परिवर्तन भए पनि जनताको अवस्थामा परिवर्तन नआएकोले अवस्थामा परिवर्तन ल्याउने पाटी एमाले बाहेक अर्को विकल्प नभएको उनको भनाई छ । उनले देशमा विकासको मुल फूटाउन एमालेलाई बहुमतले विजय गराउन अनुरोध गरेका छन् । कार्यक्रममा नेकपा एमालेको तर्फबाट कास्की १ (क) का प्रदेश सभाका उम्मेदवार खगराज अधिकारीले आशा र विश्वसनियता भएको पाटी एमाले भएको बताउँदै अव बन्ने एमालेको प्रदेश सरकारले गण्डकी प्रदेशमा विकासको लहर ल्याउँने बताउँदै यसको लागि एमालेलाई बहुमतले विजयी गराउन मतादातासँग आग्रह गरे ।
पोखरा : पोखरा वडा नं. १७, २१ र २२ कार्यक्षेत्र तोकी सेवा शुभारम्भ गरेको मानशा बहुउद्देश्यीय सहकारी संस्थाले स्थापनाको पहिलो वर्षमै लय समातेको छ । पोखरा १७, बिरौटा, हिमालीटोलीमा कार्यालय रहेको सहकारीले अब कार्यक्षेत्र विस्तार गरी ६ वडा बनाउने लक्ष्य राखेको छ । यस्तै, ९१ लाख शेयर पूँजी बढाई २ करोड पु¥याउने लक्ष्य पनि राखेको छ । सहकारीको प्रथम वार्षिक साधारणसभाको अवसरमा वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष गोविन्दप्रसाद देवकोटाले कुल निक्षेपमा वृद्धि गरी ३ करोड २० लाख पु¥याउने र ऋण रकम पनि ४ करोड ६० लाख पु¥याउने लक्ष्य राखिएको बताए । हाल एक सय सात जना शेयर सदस्य संख्या रहेकोमा यसलाई वृद्धि गरी चालु आर्थिक वर्षमा २ सय पु¥याउने लक्ष्य पनि उनले सुनाए । ‘अघिल्लो आर्थिक वर्षमा ६ महिनामात्र सेवा सञ्चालन भयो । तर अब संस्थामा बचत, ऋण लगायत विभिन्न गतिविधिमा उत्कृष्ट योगदान पु¥याउने सदस्यहरुलाई सम्मान तथा पुरस्कृत गरिनेछ ।’ – अध्यक्ष देवकोटाले भने– ‘रेमिटेन्स सेवा तत्काल सुरु गरिने, मानशा कल्याणकारी कोष स्थापना गरी शेयर सदस्यहरुका सामाजिक तथा आर्थिक हितका कार्यक्रम संचालन गर्ने, टपरी उद्योग चलाउने, कृषि तथा पशुपालनलाई परियोजनामार्फत् अघि बढाउने हाम्रो योजना छ ।’ कार्यक्रमका प्रमुख अतिथि पोखरा १७ की वडाध्यक्ष राधिका शाही योगीले वडामा कार्यक्षेत्र बनाएका दर्जन जति बहुउद्देश्यीय सहकारी रहेकाले यी सबै सहकारीको प्रतिनिधित्व हुने गरी समिति बनाएर वडाबासीको हितमा विभिन्न उत्पादनमूलक कार्यक्रम अघि बढाउन अनुरोध गरिन् । ‘कृषि उत्पादन तथा संकलन केन्द्र, महिलाको उद्यमशीलता, दुग्ध संकलन केन्द्र सञ्चालन, बजारीकरण गर्न सहकारीहरु अग्रसर भएमा स्थानिय सरकारले सहयोग गर्नेछ । बहुउद्देश्यीय सहकारीहरुले स्थानिय क्षेत्रमा केही गर्न र समृद्धिको यात्रामा सँगै अघि बढ्न सकोस् भन्ने आग्रह गर्दछु । हाम्रो सहयोग हुनेछ ।’ – अध्यक्ष योगीले भनिन् । पोखरा महानगरपालिका सहकारी विभागका रजिष्ट्रार भरतराज पौडेलले सहकारी अभियानमा चुनौति थपिएको भन्दै सहकारी सञ्चालकहरुले गम्भीर भएर संस्था चलाउन आग्रह गरे । ‘लगानी गर्दा सुरक्षामा ध्यान दिनुप¥यो । ऋण असुली, बचत फिर्ताको समयको लेखाजोखा गरेर लगानी गर्नुपर्छ । नत्र, बचत फिर्ता गर्न सकिएन भने संस्था डुब्छ । सहकारी अभियानमा असर पुग्छ ।’ पौडेलले भने– ‘सदस्यहरु पनि चिनेजति सबै सहकारीमा सदस्य बन्ने, ऋण लिनु पनि छैन, बचत गर्नु पनि छैन । चिनेका सञ्चालक सदस्यले भनेकै भरमा शेयर लियो । बोन पाए लियो, गयो । यसरी हुँदैन । संस्था कसरी चलिरहेको छ । गहिरिएर बुझ्न म आग्रह गर्दछु ।’ सहकारीका अध्यक्ष गोविन्दप्रसाद देवकोटाको अध्यक्षतामा भएको कार्यक्रममा मादी गाउँपालिका ४ का वडाध्यक्ष शिवप्रसाद सापकोटा, पोखरा उद्योग वाणिज्य संघका नवनिर्वाचित सदस्य रामप्रसाद कँडेल, मयुर बहुउद्देश्यीय सहकारीका अध्यक्ष मिनराज खड्का, कोअपरेटिभ म्यानेजर्स क्लबका सचिव मोहनप्रसाद अधिकारी लगायतले संस्थालाई शुभकामना दिएका थिए । कार्यक्रममा कोषाध्यक्ष सञ्जय पौडेलले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन र लेखा समिति संयोजक विशाल सुवेदीको लेखासमितिको प्रतिवेदनलाई बन्दसत्रमा पारित गरिएको थियो । कार्यक्रमको सञ्चालन सचिव प्रकाश सुवेदीले गरेका थिए ।
पोखरा : दीगो सडक र सुरक्षित यातायातमार्फत समृद्ध नेपालको निर्माणमा गण्डकी प्रदेशबाट योगदान दिने अभिप्रायले पोखरामा वृहद अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । इन्जिनियरिङ, अटोमोबाइल, पर्यटन, यातायात, सञ्चार माध्यम, वातावरण, व्यावसायिक र सामाजिक लगायत क्षेत्रका सय जना भन्दा बढी व्यक्तिहरुको सहभागितामा कार्यक्रम भएको हो । पोखरा उद्योग वाणिज्य संघ र आर्थिक आवाज अनलाइनको आयोजना, नासा फाउण्डेसन नेपाल, बाबा फाउण्डेन र नबिल बैंकको सहकार्यमा भएको कार्यक्रममा अन्तर्राष्ट्रिय अटोमोबाइल फेडेरेसन (एफआइए), ग्लोबल रोड सेफ्टी एनजिओ एलाइन्स तथा नासा नेपालको समेत सहभागिता रहेको थियो । कार्यक्रममा अन्तर्राष्ट्रिय अटोमोबाइल फेडेरेसनका वल्ड काउन्सिल मेम्बर गोविन्द भट्टराईले ‘फ्रोफेसनल इङगेजमेन्ट फर सेफर मोबिलिटी’ पोखरा विश्वविद्यालयका सहप्राध्यापक बुद्धिराज जोशीले ‘सस्टेनेबल डेभलपमेन्ट गोल र सडक यातायात’, भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात व्यवस्था मन्त्रालय गण्डकी प्रदेशका सिडिई रामकुमार श्रेष्ठले मन्त्रालयको कार्यप्रगति र प्रदेशको अवस्थाको बारेमा र पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनी प्रालिका अध्यक्ष अधिवक्ता योगेन्द्रबहादुर केसीले गण्डकी प्रदेशको सार्वजनिक यातायातको विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । उक्त कार्यपत्र माथि नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालका अध्यक्ष ध्रुवबहादुर थापा, नेपाल अर्थोपेडिक एसोसिएसनका पूर्व अध्यक्ष तथा नेशनल रोड सेफ्टी एलान्यसका सदस्य प्रा.डा. बुलन्द थापा, बाबा फाउण्डेसनका अध्यक्ष दिलीपराज श्रेष्ठ, अटो पत्रकार संघ नेपालका अध्यक्ष उज्ज्वल जंग शाह, एकेडेमिक नेटवर्क फर रोड सेफ्टी रिसर्च (टियु)का सुजना श्रेष्ठ, लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेय लगायतले टिप्पणी गरेका थिए । कार्यक्रममा गण्डकी प्रदेशको सडक यातायातको सुधारका लागि सुझाव तथा सुरक्षित हेलमेन्टको प्रयोग र परिचर्चासमेत गरिएको थियो । कार्यक्रममा गण्डकी प्रदेशकै दीगो विकास, सडक र यातायातको व्यवस्था तथा पर्यटन प्रवद्र्धनमा समेत सहयोग पुर्याउने उद्देश्यले ‘गण्डकी प्रदेश एलायन्स फर सेफ एण्ड सस्टेनेवल मोविलिटी’ नामक खुल्ला नेटवर्क गठन गर्ने निर्णयसमेत भएको छ । कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तिहरुले आवश्यक नीतिको अभाव, योजना कार्यान्वयनमा ढिलाई, सरकारी क्षेत्रको बेवास्ताका कारण प्रदेशको दीगो विकास, नागरिक स्वास्थ्य तथा पर्यटन प्रवद्र्धनमा समेत नकारात्मक असर परेको बताएका छन् । पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापतीको अध्यक्षतामा कार्यक्रमको सञ्चालन आर्थिक आवाजका सञ्चालक सुरेन्द्र पौडेलले गरेका थिए ।
पोखरा : आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनको तयारी तीव्र छ । निर्वाचनको समयमा भ्रामक, दुष्प्रचार तथा द्धेष फैलाउने किसिमका समाचार आइरहेका हुन्छन् । त्यसैले निर्वाचनमा निष्पक्ष भएर पत्रकारिता गर्न सचेत गराउने उद्धेश्यले मिडिया एक्शन नेपालले देशका सात वटै प्रदेशमा विभिन्न सञ्चारमाध्यममा आबद्ध पत्रकारका लागि निर्वाचनमा निष्पक्ष रिपोर्टिङ तथा दुस्प्रचार र घृणायुक्त अभिव्यक्तिको रोकथाम विषयक कार्यशालाको आयोजना ग¥यो । विभिन्न चरणमा असोज १२ देखि सुरु भएको एक दिने प्रदेशस्तरीय कार्यशालाको अन्तिम दिन शुक्रबार गण्डकी प्रदेशको राजधानी पोखरामा सम्पन्न भएको छ । कार्यशालाका सहजकर्ता तथा मिडिया एक्शन नेपालका अध्यक्ष लक्ष्मण दत्त पन्तले पत्रकारले विशेषत् निर्वाचनको समयमा समाचारको तथ्य जाँच पटक पटक गर्नुपर्नेमा जोड दिए । उनले निर्वाचनका बेला उम्मेदवार तथा राजनीतिक दलहरुले पत्रकारलाई माध्यम बनाएर आफ्नो प्रचारप्रसार गर्नसक्ने भएकाले पत्रकार अझ बढी चनाखो बन्नुपर्ने बताए । नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारीले निर्वाचनको समयमा पत्रकार कुनै प्रलोभनमा नपरी सत्य समाचार बाहिर ल्याउनुपर्ने बताइन् । अहिलेसम्मको निर्वाचनमा गण्डकी प्रदेशमा अमर्यादित तथा भ्रामक किसिमका समाचार सम्प्रेषण कमै हुने गरेको दाबी गर्दै उनले पत्रकारिताको आचारसंहिता भित्र रहनुपर्नेमा सचेत गराइन् । मिडिया एक्शन नेपालका सचिव गनेश घिमिरेले पत्रकारले मानवअधिकारको मुद्धामा संवेदनशील र सन्तुलित भएर रिपोर्टिङ गर्नुपर्ने बताए । यस्तै कार्यशालाका सहजकर्ता मानवअधिकार विशेषज्ञ सन्तोष क्षेत्रीले डिजिटलाइज्ड समयमा पत्रकारका कारण दुष्प्रचार तथा द्धेष सजिलोसंग फैलन सक्ने जोखिम भएकाले शब्द चयन तथा समाचारको दृष्टिकोणमा संवेदनशील हुन पत्रकारलाई आग्रह गरे । सहभागि पत्रकार सुमन गुरुङले निर्वाचनमा राजनीतिक दल र भोटमात्र नभइ निर्वाचनका अन्य मुद्धामा पनि लेख्ने बताउदैं निष्पक्ष रिपोर्टिङ गर्ने प्रतिबद्धता जनाए । यस्तै रिना थापाले कार्यशाला फलदायी भएको भन्दै दुष्प्रचार हुनसक्ने जोखिमबाट सचेत भइ रिपोर्टिङ गर्ने बताइन् । कार्यशालामा २० जना पत्रकारको उपस्थिति रहेको थियो ।
पोखरा : नागरिक समाज कास्कीले नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा आतिजबाजी गरेर लाखौं रकम हिनाबिना गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखरामा निवेदन दिएको छ । पोखरामा सम्पन्न नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको विभिन्न विधाका घाइते खेलाडीहरुलाई न्यून्नतम स्वास्थ्य उपचार सुविधासमेत उपलब्ध नगराइएको र उद्घाटन र समापन समारोहमा लाखौं रकमको आतिजबाजी गरेर लाखौं रकम हिनामिना गरेको भन्दै समाजका प्रवक्ता गोकुलप्रसाद कार्कीद्वारा हस्ताक्षरित निवेदन बुझाएको हो । निवेदनमा भनिएको छ, ‘खेलकुदमा सहभागी खेलाडीहरुको जीवन विमा, आकस्मिक दुर्घटना विमा, स्वास्थ्य उपचार, समयसापेक्ष आवास, खानाखाजा तथा यातायात खर्च सुविधा सम्बन्धमा र प्याराग्लाइडिङ खेल संचालनका लागि नागरिक उड्यन प्राधिकरणसँग स्विकृति नलिएको सम्बन्धमा छानबिन गर्न नागरिक समाज कास्की माग गर्दछौं ।’ साथै प्रचलित कानूनको कुन बुँदालाई आधार मानेर आतिजवाजी गरिएको र वास्तविक खर्च र खेल आयोजना पूर्व खेलकुद पूर्वाधार निर्माण तथा खेलमैदान स्त्तरोन्नतीको नाममा भएको खर्च विवरणको सम्बन्धमा छानबिन गर्नसमेत नागरिक समाज कास्कीले माग गरेको छ ।
पोखरा : आगामी मंसिर ४ गते हुने निर्वाचनमा कास्की क्षेत्र नम्वर १ बाट प्रतिनिधि सभाका लागि एमाले उम्मेदवार मनबहादुर गुरूङले एमाले दुःखी, किसान तथा मजदुरको पाटी भएको बताएका छन् । उनले एमालेले बहुमत ल्याएमा विकासको लहर आउने स्पष्ट पारे । पोखरा २८ का मतदातासँग उम्मेदवार परिचयात्मक कार्यक्रममा गुरुङले यसअघि प्रदेश सांसद हुदा आफुले आम नागरिकको पक्षमा काम गरेको बताउँदै यस पटकको निर्वाचनमा पनि एमालेलाई बहुमतले जिताउन मतदातासँग आग्रह गरेका छन् । कार्यक्रममा क्षेत्र नम्वर १ (ख) का प्रदेश तर्फका एमाले उम्मेदवार वेदबहादुर गुरूङ (श्याम) ले एमालेले जितेमा सन्तुलित ढगंले विकास हुने विश्वास दिलाए । यदि गठबन्धनको विजय भएमा फेरि मंहगी बढ्दै जाने उनको भनाई छ । गण्डकी प्रदेशका लागि समानुपातिक उम्मेदवार नन्दकली परियारले आफ्नो उम्मेदवारी सम्पूर्ण महिलाको नेतृत्वको उम्मेदवारी भएको बताउँदै एमाले उम्मेदवारलाई अत्याधिक बहुमतले जिताउन आग्रह गरिन् । कार्यक्रम नेपाल कम्युनिष्ट पाटी एमाले पोखरा महागरपालिका वडा नम्बर २८ को अध्यक्ष रामकृष्ण तिवारीको अध्यक्षतामा भएको थियो ।
पोखरा : गठबन्धन दलहरुको तर्फबाट कास्की क्षेत्र नम्बर–२(ख) अन्तर्गत पोखरा महानगरपालिका वडा नं ४ र ८ मा निर्वाचन सम्पर्क कार्यालय स्थापना भएको छ । विहिबार एक कार्यक्रमका बीच पोखरा ४ रामकृष्ण टोल र पोखरा ८ को सिर्जनाचोकमा उम्मेदवारसहित गठबन्धन दलका नेताहरुले संयुक्त रुपमा उद्घाटन गरेका छन् । उद्घाटन कार्यक्रममा बोल्दै कास्की क्षेत्र नम्बर–२ मा गठबन्धनको तर्फबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार नेकपा एकीकृत समाजवादी पार्टीका पोलिट्ब्युरो सदस्य श्रीनाथ बरालले कास्कीका जनताको आवश्यकता र भावना अनुरुपको काम गर्न गठबन्धन प्रतिबद्ध रहेको बताए । कास्की २ का जनताको मनोभावनालाई आफुले बुझेको र त्यसलाई पुरा गर्ने जिम्मेबारीका साथ चुनावी मैदानमा उत्रिएको अभिव्यक्ति उनको थियो । ‘तपाईका हरेक समस्याका विषयमा म जानकार छु । जसलाई समाधान गर्ने दायित्वका साथ निर्वाचनमा होमिएको छु । आशा छ कास्की २ का जनताले विश्वास गर्नुहुनेछ ।’,उनले भने । गठबन्धनको तर्फबाट कांग्रेसबाट कास्की २ (ख) मा प्रदेश सभासदस्य पदमा उम्मेदवारी दिएका गण्डकीका कानुन, सञ्चार तथा प्रदेशसभा मामिला मन्त्री विन्दुकुमार थापाले २०७४ सालको निर्वाचनमा जस्तै मतदाताको माया यसपाली पनि मिल्ने बताए । उनले पहिलो कार्यकालमा पुरा गर्न नसकेका योजनाहरुलाई पुरा गर्ने ध्येयका साथ निर्वाचनमा होमिएको उल्लेख गरे । ‘प्रदेशसभाको पहिलो कार्यकालमा प्रदेशको नामकरण, राजधानी तोक्ने लगायतका काम भएका छन् । अब विकास र समृद्धिसँग सम्बन्धित कार्य गर्न बाँकी छ । शिक्षा,स्वास्थ्य, रोजगारीका क्षेत्रमा अथाह सम्भावना छन् । यहाँका उद्यमी व्यवसायीहरुले भोगेका समस्यालाई निर्मुल पार्न सकिन्छ । जनताका सबै खाले समस्यालाई समाधान गर्ने गरी यसपटक फेरि कास्की २(ख) बाट प्रदेश सभा सदस्यका रुपमा आफ्नो उम्मेदवारी दिएको छु । आशा छ यसपटक पनि सबैको माया पाउनेछु ।’, उनले भने । कार्यक्रम पोखरा ४ मा नेपाली काँगे्रसका इकाई सभापति गोविन्द पराजुलीको सभापतित्वमा भएको थियो भने पोखरा ८ मा इकाई सभापति रमेश बरालको सभापतित्वमा भएको थियो । पोखरा ४ को कार्यक्रमलाई सचिव बिग्नेश थापाले संचालन गरेका थिए । पोखरा ४ मा कार्यालय स्थापना पश्चात उम्मेदवारहरुले मतदाताहरुसँग भेटघाट समेत गरेका छन् । पोखरा ८ मा नेपाली कांग्रेसका नेता महासमिति सदस्य सोभियत बहादुर अधिकारीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा नेपाली काँग्रेस कास्की क्षेत्र नं २ का सभापति एवम् निर्वाचन परिचालन समिति सभापति केशर निर्दोशी,नेकपा एकीकृत समाजवादीका नेता पूर्ण लामा, नेकपा माओवादी पोखरा कमिटीका हरिनारायण विज्ञान, नेकपा एकीकृत समाजवादीकी रत्न कुमारी गुरुङ सहित गठबन्धन सम्बद्ध दलका नेताहरुले बोलेका थिए ।
पोखरा : प्रधानमन्त्री शेरबहादुर देउवाले आज अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयको अवलोकन गर्नुभएको छ । पोखरा महानगरपालिका–१७ रातोपैह्रास्थित अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयको प्रधानमन्त्री देउवाले रुचिपूर्वक अवलोकन गर्नुभएको हो । नेपाल पर्वतारोहण सङ्घद्वारा स्थापना गरिको सङ्ग्रहालय भवनभित्र विभिन्न चार वटा कक्षअन्तर्गत १२ उपकक्षमा हिमाल र हिमालीका गतिविधि बारेमा सङ्ग्रह गरी प्रदर्शन गरिएको छ । सङ्ग्रहालयमा पर्वतीय मानव कक्ष, हिमालीको सामाजिक, सांस्कृतिक धार्मिक एवं आर्थिक क्रियाकलाप झल्काउने सामग्री, विश्वका पर्वत श्रृङखलाको उत्पत्ति, भौगर्भिक महत्व, वन्यजन्तु, वनस्पति तथा खनिज पदार्थको प्रदर्शन गरिएको छ । उक्त कक्षमा विश्वका पर्वत शृङ्खलामा हुने पर्वतारोहण, पदयात्रा, स्कीइङ, शिकार, अनुसन्धान जस्ता मानवीय गतिविधिका महत्वपूर्ण एवं ऐतिहासिक पक्षको प्रदर्शनी गरिएको छ । सङ्ग्रहालयमा यतिखेर स्वदेशी तथा विदेशी पर्यटकको आकर्षण बढेको छ । विश्वका हिमाल र हिमाली क्षेत्रका बारेमा अनुसन्धान गर्ने अध्येता, अन्वेषकका लागि उपयुक्त थलोको रूपमा लिइएको सङ्ग्रहालय परिसरमा निर्माण बोटानिकल गार्डेन, मनास्लु हिमालको मोडल, ढलोटको याकलगायतका विविध संरचना निर्माण गरिएको छ । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको समापन कार्यक्रममा पोखरा आउनुभएका प्रधानमन्त्री देउवाले सङ्ग्रहालयको अध्ययन अवलोकनसँगै संस्थाको आगन्तुक पुस्तिकामा हस्ताक्षर गर्नुभएको थियो । त्यसअघि उहाँलाई नेपाल पर्वतारोहण सङ्घका अध्यक्ष निमा नुरु शेर्पा, नेपाली कांग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्मा, सङ्ग्रहालयका कार्यकारी निर्देशक निर्मलाकुमारी न्यौपानेलगायतले स्वागत गर्नुभएको थियो ।
पोखरा : राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव टंकलाल घिसिङले गण्डकीका खेल पत्रकारको प्रशंसा गरेका छन् । पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको अन्तिम दिन पोखरा रंगशालामा रहेको मिडिया सेन्टरमा पत्रकारसँग भेट गरी गरेको कामको प्रशंसा व्यक्त गर्दै धन्यवाद दिएका हुन् । उनले भने–‘नवौं राष्ट्रिय प्रतियोगिता मेरो लागि पहिलो थियो । मेरो नयाँ अनुभवसँगै गण्डकीका पत्रकारहरूले प्रतियोगितालाई सफल बनाउन जुन भूमिका खेल्नु भएको छ त्यो प्रशंसनिय छ ।’ नवौ राष्ट्रिय खेलकुद आफ्ना लागि पहिलो तर यस्ता ठुल्ठूला राष्ट्रिय खेलकुद तथा अन्तर्राष्ट्रिय खेलकुदहरू नेपाली खेलकुद पत्रकारहरूले गरेको कार्य आफूले सधैँ देख्दै र धेरै पटक व्यहोर्दै सम्हाल्दै आएको उल्लेख गर्दै भने–‘ गण्डकी प्रदेशका खेलकुद पत्रकारहरूबाट सन्देश अरू सबै प्रदेशका र केन्द्रका खेलकुद पत्रकारहरूले पनि लिएर जानु हुनेछ भन्ने मैले विश्वास लिएको छु । र उहाँहरूलाई त्यो लिएर जानुहोस् पनि भनेको छु ।’ नवौं राष्ट्रिय खेलकुदमा गण्डकीका पत्रकारहरूले जोश र जाँगरका साथ व्यवस्थित रूपमा कार्य गरेको देख्दा आफू पनि उत्साहित भएको बताउँदै भने–‘अहिले सबै राष्ट्रिय मिडियाका खेलकुद पत्रकारहरूको भनाइ के छ भने– गण्डकी प्रदेशमा कार्यरत खेलकुद पत्रकारहरूले नवौं राष्ट्रिय खेलकुदमा निकै उत्कृष्ट, निकै व्यवस्थित खालको मिडियाको कामलाई तुल्याएको छ भन्ने उहाँहरू सबैको प्रतिक्रिया छ । यो प्रतिक्रियाप्रति म निकै आभारी छु, त्यसका लागि खुसी व्यक्त गर्न चाहन्छु र गण्डकी प्रदेशका सम्पूर्ण खेलकुद पत्रकारहरूलाई हार्दिक धन्यवाद दिन चाहन्छु ।’

