पोखरा : पोखराको नयाँ गाउँस्थित ’ग्लो संस्था’ मा सिलाई कटाईको तालिम लिइरहेका २० जना महिलाहरूलाई संस्थाले सिलाई मेसिन वितरण गरेको छ । पोखरा महानगरपालिका-१५ नयाँ गाउँ स्थित उक्त संस्थामा विगत ४ महिनादेखि निःशुल्क सिलाई कटाईको तालिम लिइहेका २० जना गरिब तथा विपन्न महिलालाई संस्थाले बिदाइ गर्दै निःशुल्क सिलाई मेसिन समेत वितरण गरेको हो । निःशुल्क मेसिन वितरण कार्यक्रममा मेसिन प्रदान गर्दै वडाका वडा अध्यक्ष तोरण बहादुर बानियाँले आफूहरू निर्वाचित भएर आए लगत्तै यस पवित्र संस्थासँग सहकार्य भएको र निर्वाचनका बेला वडावासीसँग वाचा गरे अनुरूप वडामा महिला उद्यमशीलता र युवा स्वरोजगारका कार्यक्रमलाई अगाडि बढाउँदै लगिएको बताए। उनले पवित्र उद्देश्य लिएर हिँडेको ’ग्लो संस्था’ले समाजमा रहेका असहाय, अपाङ्ग, गरिब तथा विपन्न वर्ग र समस्यामा परेकाहरूको उत्थानका लागि निःशुल्क शैक्षिक सामाग्री वितरण लगायत हरेक क्रियाकलापमा सहयोग गर्दै आइरहेको प्रति संस्थालाई धन्यवाद दिँदै आगामी दिनमा पनि सहकार्य रहने बताए। साथै बानियाँले वडाको उद्देश्य अनुरूप यो पहिलो सुरुवाती कार्य मात्र भएको र अबका दिनमा वडाका अन्य संस्थाहरूसँग पनि सहकार्य गदै यस्ता कार्यक्रमलाई अगाडि बढाउँदै लैजाने बताए । संस्थाकी संस्थापक सिता पौडेलले सिकेको सीपलाई व्यवहारमा उतार्न तालिममा सहभागीहरूलाई सुझाव दिइन्। बिदाइ कार्यक्रममा भावुक समेत देखिएकी पौडेलले सिकाईका क्रममा सहभागीहरूसँग छुट्टै आत्मीययता गाँसिएको भन्दै यही सीपबाट आत्मनिर्भर भएर प्रगति गर्नु भन्दै सबैलाई आशीर्वाद दिइन् । वडा सदस्य बलराम पौडेलले सहभागी महिला दिदी बहिनीहरूलाई प्रदान गरिएको मेसिन मेसिन मात्र नभएर जीवन रूपान्तरण गर्ने साधन भएकाले यसको जतनसँग उपयोग गर्न आग्रह गरे। उनले सिलाई कटाई पेसा अति उत्तम पेसा रहेको भन्दै आत्मनिर्भर भएर समाजमा उदाहरणीय बन्न सबैलाई सुझाव दिए । यस्तै, संस्थाका निर्देशक आगमन राज पौडेलले आज उपलब्ध गराइएको मेसिन आफ्नै खुट्टामा उभिन र आफै श्रम गरेर जिउनका लागि औजारको रूपमा रहेको बताए। उनले यस औजार लाई नचलाए औजारमा मात्र नभई सीपमा पनि खिया लाग्ने भन्दै यसको सही प्रयोग गर्दै आफ्नो सीपलाई पनि उधाएर अगाडि बढ्न तथा उन्नति प्रगति गर्न शुभकामना दिए । वडा नं –१५ को सिफारिस तथा समन्वयमा वडावासी २० जना गरिब तथा विपन्न महिलालाई उक्त संस्थामा निशुल्क सिलाई कटाई तालिमका दिइएको थियो । संस्थाले तालिममा सहभागी सबैलाई ३ लाख बराबरको उषा कम्पनीको सिलाई मेसिन र मेसिन राख्ने स्ट्यान्ड वितरण गरेको हो। निःशुल्क मेसिन वितरण कार्यक्रममा संस्थाका संस्थापक, निर्देशक तथा वडाका जनप्रतिनिधिहरू लगायत तालिमकी प्रशिक्षक उषा नेपालीको सहभागिता रहेको थियो । उक्त संस्थामा हाल पुनः १० जना गरिब तथा जेहेन्दार छात्र छात्राले निःशुल्क कम्प्युटरको तालिम लिइरहेका छन् ।
पोखरा : युवा ब्यवशायी पूर्ण कुमार श्रेष्ठले आफ्नो जन्मदिनको अवसर पारी विभिन्न ब्यक्तिहरुलाई निः शुल्क कम्प्युटर शिक्षा प्रदान गर्ने भएका छन । पोखराका विभिन्न संघ संस्थामा आवद्ध श्रेष्ठले आफ्नो जन्मदिनको अवसर पारी १२ जना युवाहरुलाई निशुल्क कम्प्यूटर शिक्षा प्रदान गर्न लागेका हुन । श्रेष्ठले जन्मदिनको अवसरमा साथीहरु संघ रमाइलो गरी खर्च गर्ने पैसाले आफु भन्दा कम अवसर पाएको र पर्याप्त तालिमको कमीका कारण रोजगार बिहिनहरुलाई रोजगार दिने उद्देश्यले १ लाख बराबरको खर्चमा उक्त तालिम निशुल्क रुपमा प्रदान गर्न लागेका हुन् । श्रेष्ठले आफुले संचालन गरेको संध्या जब्स प्रा.लि र युवा ब्यवशायीहरु बिच साथ सहयोग र सहकार्यका लागी गठन गरिएको “युथ कम्युनिटी क्लब”को आयोजनामा ६ जना युवालाई बेसिक कम्प्युटर तलिम र ६ जनालाई कम्प्युटर हार्डवेयर नेटवर्किङ तालिम दिने बताए । पोखरामा बिगत १० वर्षदेखि रोजगार सम्बन्धी विभिन्न तालिम तथा परामर्श सहित रोजगार र संघ संस्थाहरुको लागि कर्मचारी साथै पोखराका एजेन्सीको रुपमा काम गर्दै आइरहेको हजारौ युवालाई रोजगार दिलाउन सफल संध्या जब्स प्रा लि बुद्धचोकमा उक्त तालिम प्रदान गरिने श्रेष्ठले वताए । तालिममा सहभागीहरुलाई रोजगारको समेत अवसर प्रदान गरिने र आगामी दिनमा सन्ध्या जब्स प्रालिबाट निशुल्क रोजगार उपलब्ध गराउने समेत बताए । युवा ब्यवशायी श्रेष्ठले संध्या जब्स प्रालि संगै युवा ब्यवयशायीहरु बिच साथ सहयोग र सहकार्यका लागी “युथ कम्युनिटी क्लब” गठन गरी पोखरा साथै नेपाल भरिनै विगत तीन बर्षदेखी युवाहरुलाई ब्यवसायमा संलग्न बनाउदै आएका छन । श्रेष्ठले आगामी दिनमा पनि रोजगारी नपाएकाहरुलाई नेपालमै रोजगार दिलाउनका लागि विभिन्न तालिम परामर्श सहित निःशुल्क रोजागार उपलब्ध गराउने आफ्नो कम्पनीको उद्देश्य रहेको समेत वताएका छन । श्रेष्ठले जन्मदिनको अवसरमा विभिन्न संघ संस्थाबाट उपहार स्वरुप प्राप्त केक काटी विभिन्न ब्यवशायीहरु संगै आफ्नो जन्मदिन समेत मनाए । उक्त अवसरमा सहभागीहरुले श्रेष्ठको प्रगति तथा उत्तरउत्तर प्रगतिको कामना गर्दै आफुहरुले पनि आफ्नो जन्मदिनमा केही न केही सामाजिक काम गर्ने समेत वताएका थिए ।
पोखरा : गण्डकी प्रदेश सभासदस्य क्षेत्र नं.२ ‘ख’ उम्मेदवार विन्दु कुमार थापाले दलितका लागि धेरै गरेको बताएका छन् । पोखरा २० भलामका दलित समुदायले आफुहरुलाई आवश्यक परेको समयमा थापाले ठूूलो सहयोग गर्दै आएपनि मौका नपाउँदा केही काम अधुरै रहेको बताएका छन् । उनीहरुले वडा २० को मुहार फेर्ने काम थापाले आफ्नो अधिकारले भ्याएसम्मको विकास गरेको सुनाउँदै मौका पाएमा अझ धेरै विकास गर्नेमा आफुहरु आशावादी रहेको सुनाए । दलित समुदायको नेतृत्व गर्दै आफ्ना कुरा राख्ने क्रममा विष्णु परियारले विन्दु थापाले क्षेत्र २ मा विकासको लहर ल्याएको सुनाइन् । उनले विकासको लहर ल्याएपनि आफुहरुलाई अब खानेपानी र सडक आवश्यक परेको बताइन् । ‘हाम्रा लागि विन्दु थापाले एकदम हेर्नु भएको छ । उहाँले गर्नुभएको छ । गाउँमा बाटो आएको छ । उहाँले अझै मौका पाउनुभएको छैन् । भन्नाले भड्किराखेको छ । त्यो भएर अहिलेलाई उहाँलाई नै मत’, उनले भनिन्, ‘एक दुई जनाले गरेर पनि नहुँदो रहेछ उहाँको हात वडामा भएन् । वडामा पनि भएको भए हामीहरुको पनि दिन फिर्ने थियो । यहाँ आउने बाटोपनि बनाइदिन्छु भन्नुभएको थियो तर, यहाँका जग्गा धनीले जग्गा नदिदाँ बन्न सकेन । उहाँले मिलाउने प्रयास पनि गर्नुभयो । हाम्रो केही पनि छैन् हाम्रो बस्ने झुपडि बाहेक छैन् ।’ करिब ४० धुरी रहेको घरमा सोही हारहारीमा मतदाता पनि रहेका छन् । यस्तै प्रदेशसभा सदस्य उम्मेदवार थापाले आफुले सडक ल्याउनका लागि पहल गरेपनि प्राविधिक कारण नमिल्दा असफल भएको बताए । उनले आफुले पाँच वर्ष प्रदेशको संरचना बनाउने काममा व्यतित गरेको सुनाउँदै अबको पाँच वर्ष विकासका लागि रहेको स्पष्ट पारे । ‘हामीले यहाँ बाटो ल्याउने प्रयास अहिलेपनि जारी राखेकै छौँ तर यहाँ प्राविधिक कुरा नमिलेका कारण सडक जोडन सकिरहेका छैनौँ ’, उनले भने, ‘तत्कालै केहि गर्न सक्ने स्थिति छैन् । निर्वाचनको आचार संहिता लाग्छ त्यसैले निर्वाचन सकिएलगत्तै यसका लागि पुनः पहल हुनेछ त्यसमा ढुक्क हुनुहोस् ।’ थापाले देश विकास गर्नका लागि स्थानीय, प्रदेश र संघमा एकै सरकार हुन आवश्यक रहेको सुनाए ।
पोखरा । बैंक तथा वित्तिय संस्थाका कारण आफूहरुले निकै समस्या झेल्नुपरेको व्यवसायीहरुले गुनासो गरेका छन् । रेडियो अन्नपूर्ण पोखरा र नेपाल उद्योग बाणिज्य महासंघ गण्डकीले सोमबार आयोजना गरेको ‘आर्थिक अन्योल र समाधान’ बिषयक अन्तक्र्रियामा बोल्दै उनिहरुले कर्जा र ब्याजको समय सीमा बढाउन सरोकारवालासँग आग्रह गरेका हुन् । पोखरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष अध्यक्ष एवं रेडियो अन्नपूर्णका अध्यक्ष विश्वशंंकर पालिखेले आफू अस्वस्थ भएर अस्पताल वेडमा उपचारारत हुँदा समेत बैंकको फोनले पीडा दिएको सुनाए । व्यवसायीहरुलाई प्रताडित नबनाउन समेत उनले बैंक तथा वित्तिय संस्थालाई आग्रह गरे । महानगरपालिकाले जग्गाको बर्गीकरण नगर्दा सम्पत्ति हुँदापनि बेचबिखन गर्न समस्या भएको उनको भनाइ छ । पोखरा पर्र्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले बैंकबाट लिएको कर्जा आफूहरुले पर्यटन क्षेत्रमा नै लगानी गरेको स्पष्ट पारे । ब्याजदरमा भएको वृद्धिका कारण पर्यटन व्यवसायी बढी मारमा परेको उनले बताए । नेपालको प्रमुख आयस्रोत पर्यटन क्षेत्र भएकाले यसको संरक्षणमा ध्यान दिनुपर्ने उनको भनाइ थियो । होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले कोभिडका समयमा राष्ट्रबैंंकले दिएको सुविधा समेत निजी बैंकहरुले नदिएको गुनासो गरे । उनले पर्यटन व्यवसायीलाई व्यवसाय पुनरुत्थानका लागि दिएको रकम समेत पर्यटन व्यवसायीहरुले नपाएको भन्दै असन्तुष्टि जनाए । नेपाल राष्ट्रबैंक गण्डकीका निर्देशक रामशरण खरेलले निर्यातमा कडाई, बढ्दो रेमिटयान्स तथा पर्यटकहरुको आगमनमा भएको वृद्धिका कारण केही सहजता आउने विश्वास व्यक्त गरे । राष्ट्रबैंकले विभिन्न बैंक तथा बित्तिय संस्थाहरुमा निमयन गरिरहेको उनको भनाइ छ । बैंंकहरुले प्रिमियम बढाउन नहुने उनको भनाइ छ । नेपाल उद्योग बाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले नेपाल राष्ट्रबैंक र अर्थमन्त्रालयलबिच नै सामञ्जस्यताको अभाव हुँदाको परिणाम उद्योगी व्यवसायीहरुले पीडा भोग्नु परेको बताए । राष्ट्रबैंक दलहरुको भर्तीकेन्द्र जस्तो भएको भन्दै उनले सुधारको खाँचो औंल्याए । राष्ट्रबैंकले पूँजी पलायनलाई रोक्न कुनै ध्यान नदिँदा वित्तिय क्षेत्रमा तरलता देखा परेको उनको भनाइ छ । व्यवसाय चलायमान नहुँदा कर्जा प्रवाहमा कठिनाइ हुने भएकाले संरचनामा नै सुधान हुनुपर्ने उनको जोड छ । नेपाल बित्त कम्पनी बैंकर्श एसोसिएसनका उपाध्यक्ष रवि गुरुङले बित्तिय पार्टनरबिना व्यवसायीहरुलाई अगाडी बढ्न समस्या हुने बताए । उनले बैंकहरुले विभिन्न शिर्षकमा चार्ज नलिएको दाबी गरे । नेपाल डेभलपमेन्ट बैंकर्श एसोसिएसनका पूर्व अध्यक्ष गोबिन्द ढकालले ब्याजदर आन्दोलनले नभइ बजारको अवस्थाले घटबढ हुने बताए । राष्ट्रबैंकको नीतिलाई अवलम्बन गर्दै आफूहरु व्यवसायीकै पक्षमा रहेको उनको भनाइ छ । नेपाल बैंकर्श एसोसिएसन गण्डकीका कार्यवाहक संयोजक सूर्य रोकाले व्यवसायको नाममा लिएको कर्जा व्यवसायीहरुले अन्य क्षेत्रमा लगानी गरेको बताए । नेपाल उद्योग बाणिज्य महासंघ गण्डकीका अध्यक्ष संजीवबहादुर कोइरालाले बैंक तथा वित्तिय संस्थाहरु सामाजिक उत्तरदायित्व बहन गर्न चुकेकाले ब्जाजदर बृद्धि मात्र भन्दापनि यसतर्फपनि ध्यान दिनुपर्ने बताए । गलत काम गर्नेहरुलाई व्यवसायीहरुले उजुरी नगरेपनि राष्ट्रबैंकले कारबाही गर्नुपर्ने उनको माग छ । नेपाल उद्योग परिसंघ गण्डकीका अध्यक्ष विनोद शर्माले बैंकहरुले अनुत्पादक क्षेत्रमा लगानी गर्दा सबै क्षेत्रमा समस्या उत्पन्न भएको बताए । निक्षेपमा ब्याजदर बढाउने प्रवृत्ति नरोकिँदा धेरै व्यवसायीहरु पलायन हुनुपरेको उनले बताए । पोखरा उद्योग बाणिज्य संघका कार्यवाहक अध्यक्ष गोकर्ण कार्कीले व्यवसायीहरुको मर्काप्रति बैंक तथा बित्तिय संस्था अनुदार भएको र आफूहरुको आवाज सरकारलेपनि नसुनेका कारण बाध्य भएर सडकमा उत्रनुपरेको बताए । यो समस्या व्यवसायीहरुको मात्र नभएर सबैको साझा समस्या भएको उनको भनाइ छ । ब्याजदर वृद्धिको असर नागरिकको चुल्हो सम्म पुग्ने कार्कीले बताए । होटल संघ गण्डकीका अध्यक्ष एवं पर्यटन व्यवसायी हरी शर्मा गैहो, पोखरा हस्तकला संघका अध्यक्ष रामकली खड्का, उद्योगी टिकाराम सुवेदी र नविन श्रेष्ठले व्यवसाय उत्थानका लागि बैंकहरुले ध्यान दिनुपर्ने बताए । बैंक तथा बित्तिय संस्थाहरुले मनोमानी ढंगले ब्याजदर बढाएको भन्दै पछिल्लो समय व्यवसायीहरुले आन्दोलन गर्दै आइरहेका छन् । कार्यक्रमको सहजीकरण अन्नपूर्णकर्मी बासुदेव मिश्रले गरेका थिए । कार्यक्रमको रेडियोले प्रत्यक्ष प्रशारण गरेको थियो । पोखरा उद्योग बाणिज्य संघ र पब्लिक फोरके टेलिभिजनले कार्र्यक्रम सहकार्य गरेका थिए ।
पोखरा : पोखरा रंगशालामा आयोजना हुने तेस्रो संस्करणको ‘टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल’ प्रतियोगिता आगामी माघमा हुने भएको छ । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा पोखरा रंगशालाको भलिबल कोर्टमा आयोजना हुने तेश्रो संस्करणको उक्त प्रतियोगिता माघ ८ देखि १४ गते सम्म सञ्चालन हुनेछ । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा सञ्चालन हुने उक्त प्रतियोगिताका लागि नेपाली भलिबल संघहरुको छाता संस्था नेपाल भलिबल संघले स्वीकृती प्रदान गरेको संस्थाका अध्यक्ष नारायण शर्माले जानकारी दिए । माघ ८ देखि १४ गतेसम्म सञ्चालन हुने टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब च्याम्पियनशिप महिला तथा पुरुष भलिबल प्रतियोगितामा विभागिय महिला तथा पुरुष टोलीसहित विभिन्न क्लबहरुको सहभागिता रहने छ । प्रतियोगिता फिव, काभा र एनभिएको नियमनुसार सञ्चालन गर्ने गरी स्वीकृती प्रदान गरिएको नेपाल भलिबल संघका महासचिव रोशन श्रेष्ठले जनाएका छन् । पहिलो संस्करणमा पुरषतर्फ गण्डकी प्रदेश र महिला तर्फ नेपाल पुलिस क्लबले उपाधि जितेका थिए भने दोस्रो संस्करणमा पुरष तर्फ त्रिभुवन आर्मी क्लब र महिला तर्फ सशस्त्र प्रहरी बलको नेपाल एफिएफ क्लबले उपाधि जितेका थिए ।
पोखरा : पोखरा महानगरपालिकाले भोलिदेखि (मंगलबार) भूमिगत पार्किङ खाली गर्ने भएको छ । महानगरले आज एक सूचना प्रकाशित गर्दै महानगरभित्र रहेका भूमिगत पार्किङहरुलाई सोही प्रयोजनका लागि प्रयोग गराउन भोलिदेखि दलबलसहित लाग्ने बताएको छ । महानगरले दशै अगाडी महानगरबाट भूमिगत पार्किङको अनुमति लिएर ब्यापारी प्रयोजनमा लगाएको सटरहरु ३५ दिनभित्र खाली गराउन निर्देशन दिएको थियो । तर नेपालीहरुको ठुला चाडपर्वको कारण देखाउँदै तिहार र छठपछि एक्सनमा उत्रने पोखरा महानगरका प्रमुख धनराज आचार्यले बताएका थिए ।
पोखरा : ड्याम साइड क्लवको आयोजनामा तिहार विशेष साँस्कृतिक साँझ-२०७९ सम्पन्न भएको छ । पोखरा -१७ स्थित कल्बले आइतबार ‘संस्कृतिको जगेर्ना गरौं, पर्यटन प्रर्वद्धनमा टेवा पु¥याऔं’ भन्ने नाराका साथ नेपालीहरुको दोस्रो ठूलो पर्व तिहारको अवसर पारेर कार्यक्रम आयोजना गरेको हो । साँझ ९ बजेसम्म सञ्चालन भएको कार्यक्रममा गायक कर्णदास, हाँस्य कलाकार सुमन कार्की, पोखरेली उदयमान कलाकार सौगात गुरुङ, ब्लु डायमण्ड सोसाइटी तथा लोक नृत्य कलाकार संघका कलाकारहरुको बेजोड प्रस्तुतीमा दर्शकहरु झुमेका थिए । २०५९ सालमा स्थापना भएको क्लवले विद्यालयमा अध्ययनरत आर्थिक स्थिति कमजोर भएका बालबालिकाहरुलाई निःशुल्क फुटबलसम्बन्धी प्रशिक्षण दिनुका साथै फुटबललाई केन्द्रमा राखेर विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको क्लवका अध्यक्ष अध्यक्ष प्रताप गुरुङले बताए । पत्रकार श्रेष्ठ ड्यामसाइड बर्ष पुरस्कार-२०७९ द्वारा सम्मानित पत्रकार दीपेन्द्र श्रेष्ठ ड्यामसाइड बर्ष पुरस्कार– २०७९ द्वारा सम्मानित भएका छन् । ड्यामसाइड क्लव पोखरा– १७ ले नेपाल पत्रकार महासंघ कास्कीका पुर्व अध्यक्ष तथा एभरेस्ट आवाज डटकमका सम्पादक एवं एभरेस्ट एफएमका कार्यकारी निर्देशक समेत रहेका श्रेष्ठलार्ई पत्रकारिताको माध्यमबाट सामाजिक उत्तरदायित्व वहन गर्दै सत्यतथ्य समाचार सम्प्रेषण गरी विभिन्न कालखण्डमा पुर्याएको योगदानको कदर गर्दै सम्मान गरेको हो । आइतबार साँझ क्लवले तिहारको अवसरमा आयोजना गरेको तिहार विशेष साँस्कृतिक साँझका अवसरमा पत्रकार श्रेष्ठलाई कार्यक्रमका प्रमुख अतिथी पोखरा–१७ का वडाध्यक्ष राधिका कुमारी शाही योगी, क्लवका अध्यक्ष प्रताप गुरुङ, कार्यक्रम संयोजक एवं पूर्व अध्यक्ष केशवराज बराल र क्लवका महासचिव राकेश श्रेष्ठले नगद रु १५ हजार ५५५ सहित दोसल्ला र सम्मानपत्रद्वारा सम्मान गरेका हुन् । यसअघि सो सम्मानबाट पर्यटनविज्ञ हरिध्वज तुलाचन सम्मानित भइसकेका छन् ।
पोखरा: पोखरा महानगरपालिका ६ लेकसाइडमा आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरि बिजिबी कोरियन रेष्टुरेन्ट सञ्चालनमा आएको छ । आज (सोमबार) नेपालका क्याप्टेन विजय लामाले बिजीबी कोरियन रेष्टुरेन्टको उद्घाटन गरेका हुन् । २०४५ सालबाट पोखराको लेकसाइडमा बिजिबी रेष्टुरेन्ट सञ्चालन गर्दै आएका ज्याक तामाङले कोरियन रेष्टुरेन्ट सञ्चालनमा ल्याएको तामाङले जानकारी दिए । उनका अनुसार अहिले बिम बिम रेष्टुरेन्ट क्याफे प्रा.लिमा परिणत भइ बिजीबी समुहले सञ्चालन गर्दै आएको छ । बिजीबी कोरियन रेष्टुरेन्टको अर्काे शाखा काठमाण्डौंको ठमेलमा बिस्तार गरिने तयारी भइरहेको सञ्चालक तामाङले बताए । रेष्टुरेन्टमा तयार हुने कोरियन परिकार तथा आवश्यक पर्ने मलासजन्य समाग्रीहरु सबै कोरियाबाट नै आयात गरिने उनले बताए । साथै खानाको लागि आवश्यक पर्ने भाँडाकुँडा तथा टेबल कुर्चीको व्यवस्था कोरियाको शैलीमा नै तयार गरिएको छ । आजबाट औपचारिक रुपमा सञ्चालन गरिएपछि विगत ३ महिनादेखि रेष्टुरेन्ट सञ्चालन रहेको थियो । उक्त रेष्टुरेन्टमा ४५ प्रकारका कोरियन खाना तयार हुनेछ भने रेष्टुरेन्ट बिहान ११ः३० देखि बेलुका १० बजेसम्म खुल्ने बताइएको छ ।
पोखरा : युनाईटेड क्लवको आयोजनामा विपद व्यवस्थापन कोष सहयोगार्थ शुभकामना देउसीभैलो सांस्कृतिक कार्यक्रम गर्ने भएको छ । स्थापना कालदेखि शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवद्र्धनका लागि खुल्ला चिडियाखाना निर्माण संगै सेती नदी संरक्षणमा काम गर्दै आएको युनाईटेड क्लबले हरेक वर्ष तिहारमा देउसीभैलो कार्यक्रमको आयोजना गरि विपद कोषमा सहयोग रकम संकलन गर्दै आईरहेको छ । जसअनुरुप यो वर्ष तिहारको अवसरमा सोमवार देउसीभैलो कार्यक्रम आयोजना गर्न लागिएको युनाईटेड क्लबका कार्यसमिति सदस्य तथा देउसीभैलो कार्यक्रमका संयोजक शिव थापाले जानकारि दिए । संयोजक थापाका अनुसार भोलि (सोमबार) सांझ ५ बजेदेखि राति ९ बजे सम्म अमरसिंहचोक स्थित प्रभुबैंक अगाडि देउसीभैलो कार्यक्रम हुनेछ । देउसीभैलोमा राष्ट्रिय तथा स्थानीय लोकदोहोरि कलाकारहरु प्रजापति पराजुलि, शरला पाण्डे , शिवहरि ढुंगाना, तुलसा जिसि, कमला सुनार लगायतका कलाकारहरुद्वारा मनोरञ्जन तथा तरेलि परिवारका कलाकारहरुको सांस्कृतिक कार्यक्रम रहने छ । विपद व्यवस्थापन कोष मार्फत क्लवले हाल सम्म कैलालीको हावाहुरि प्रभावित र सराङकोट पहिरो पिडितलाई आर्थिक सहयोग गरेको छ । भने कोभिड कोषमा प्रदेश सरकार र पोखरा महानगरपालिकालाई सहयोग रकम प्रदान गरिसकेको छ । क्लबले आयोजना गर्ने पोखरा महोत्सव तथा देउसीभैलो कार्यक्रममा संकलित रकम सामाजिक काममानै खर्च गरिने भएकाले एघारौं संस्करणको पोखरा महोत्सवको संघारमा आयोजना गर्न लागिएको देउसीभैलो कार्यक्रममा सहभागीता जनाई सहयोग गरि सामाजिक काममा सहकार्य गर्न समेत युनाईटेड क्लबका अध्यक्ष राजु श्रेष्ठले आग्रह गरेका छन ।

