पोखराः पोखरामा सहरी विकासमा सामाजिक संस्थाको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । रोटरी क्लब अफ पोखरा न्युरोडले आयोजना गरेको कार्यक्रममा बोल्दै गण्डकी प्रदेश सरकारका कानून,संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दु कुमार थापाले सहरको विकासमा सामाजिक संस्थाको भूमिका महत्वपूर्ण रहेको बताए । उनले सामाजिक संस्थाले सरकारको कामकारबाही प्रति पैरवी गर्दै विकासका अवधारणाहरुलाई सुचारु गर्न सहयोग गरेको अभिव्यक्ति दिए । ‘सहर विकासमा सामाजिक संस्थाको भूमिका महत्वपूर्ण छ । पूर्वाधार विकास देखि सामाजिक एवम् सांस्कृतिक विकासमा सामाजिक संस्थाहरुले उल्लेखनिय काम गरिरहेका छन् । सामाजिक संस्थाहरु पारदर्शी तरिकाले संचालन भई सरकारका कामकारबाहीहरुमा समेत सहयोग गर्ने हेतुले अगाडि बढ्नुपर्ने आवश्यकता आजको हो ।’, उनले भने । विकासको पथमा सामाजिक संस्थाहरु सँगै प्रदेश सरकार पनि रहेको भनाई उनको छ । प्रदेश सरकार पनि सामाजिक संस्थाहरुसँगै सहकार्य गरेर अगाडि बढिरहेको जानकारी उनले गराएका छन् । कतिपय सामाजिक संस्थाहरु काम भन्दा पनि कुरा बढी गर्ने खालको भएको उल्लेख गर्दै नियमन गरी कारबाहीको दायरामा पनि ल्याउनुपर्ने आवश्यकतालाई उनले औंल्याएका छन् । सामाजिक संस्था बिना विकास सम्भव नभएको बताउँदै पूर्वाधार सँगै सोचमा समेत परिवर्तन राखी अगाडि बढ्न उनको सुझाव छ । प्रतिनिधि सभा सांसद विद्या भट्टराईले सहर निर्माणमा सबै नागरिकको दायित्व बराबरी हुने बताइन् । उनले पोखराको विकास आजसम्म काठमाडौंलाई हेरेर गरिएको र अब आवश्यकता मौलिकताको रहेको उल्लेख गरिन् । ‘सहरको विकासका हर नागरिकको जिम्मेबारी उत्तिकै हुन्छ । पोखराको विकास आजसम्म काठमाडौंलाई हेरेर गरिएको थियो । अब मौलिकताको खाँचो छ । भौतिक विकास देखि समावेशी विकासको अवधारणालाई आत्मसात् गर्दै अगाडि बढ्न सके मात्र समृद्धि हासिल गर्न सकिन्छ ।’, उनले भनिन् । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले शंकरराज पाठक लगायतका व्यक्तित्वले पोखराको संरचनाको विषयमा नसोचेको भए अहिलेको पोखरा नहुने बताए । उनले पोखराको विकासमा महानगर सामाजिक संस्थाहरुसँगै मिलेर काम गर्न तयार रहेको अभिव्यक्ति दिए । सांस्कृति, प्राकृतिक रुपमा पोखरा धनी भएता पनि प्रस्तुती राम्रो नहुँदा पोखरा पछाडी पर्नुपरेको भनाई उनको छ । जसका लागि सामाजिक संस्थाहरुले समेत पहलकदमी गर्न आवश्यक रहेको उनले बताए । पर्यटनविद कर्ण शाक्यले सहरको विकास पूर्वाधारले मात्र नहुने र सोचमा परिवर्तनको आवश्यकता रहेको प्रति इंकित गरे । पोखराको प्राकृतिक अवस्थाको बरण गर्दै शाक्यले हाम्रो सोच्ने शैलीमा नै परिवर्तनको आवश्यकता रहेको उल्लेख गरे । सहरको गरिबको सोचका कारण विकासमा फितलोपन आएको अभिव्यक्ति उनको थियो । रोटरी क्लबका डिस्ट्रीक गर्भनर जितेन्द्र राज भण्डारीले रोटरी क्लब एक अन्तराष्ट्रिय संस्था भएको बताए । उनले क्लबले स्वास्थ्य र शिक्षाको क्षेत्रमा महत्वपूर्ण काम गरेको उल्लेख गरे । कार्यक्रम रोटरी क्लब अफ पोखरा न्यूरोडका अध्यक्ष गीता सिग्देलको अध्यक्षतामा भएको थियो भने स्वागत मन्तव्य पूर्व अध्यक्ष सुभाष सिग्देलले राखेका थिए । कार्यक्रममा सहभागीले पोखराको समग्र विकासका लागि प्रश्न एवम् सुझाव प्रस्तुत गरेका थिए ।
पोखराः पाँच दशक भन्दा बढी नेपाली लोक साँस्कृतिक क्षेत्रमा निरन्तर क्रियाशिल ६५ वर्षिय बरिष्ठ नृत्य निर्देशक बुद्धिप्रसाद गुरुङ(गौरी)को शनिवार पोखरा सभागृहमा गौरी गुरुङ एकल साँझ सम्पन्न भएको छ । नेपाली लोक सँस्कृति बचाऔं मुल नाराका साथ क्रियाशिल हिमाली साँस्कृतिक परिवारको रजत जयन्तीको वर्षको सन्दर्भमा संस्थाका वरिष्ठ सल्लाहकार गुरुङको एकल साँझको भव्यताका साथ सम्पन्न भएको हो । आठ वटा नृत्य प्रस्तुत गरेका गौरी गुरुङ हिमाली साँस्कृतिक परिवारका पुराना र नयाँ कलाकारले साथ दिएका थिए भने परिवारका कलाकारहरुको विविध साँस्कृतिक प्रस्तुति गर्दै कार्यक्रममा रौनक भरेका थिए । कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले गौरी गुरुङ पोखरेली साँस्कृतिक क्षेत्रको इतिहास भएको बताउनुभयो । उहाँले बुद्धिप्रसाद गुरुङ गौरी अझै आफुहरुले विद्यार्थीकालदेखि नै नृत्य निर्देशक, कलाकार गोरे गुरुङको नामबाट चिन्दै आएको भन्दै उहाँको नृत्य क्षेत्रमा योगदानको प्रसंशा गर्नुभयो । कलाकारिता सँस्कृतिसँग समृद्धिको आधार भएकाले आगामी दिनमा महानगरपालिकाले पर्यटकीय शहर पोखरामा कला प्रवद्र्धनका लागि विशेष योजना बनाउने बताउनुहुदै आगामी २ वर्षमा प्रदर्शनी केन्द्र अत्याधुनिक सम्मेलन केन्द्र निर्माण गर्ने योजना रहेको जानकारी गराउनुभयो । नगरप्रमुख आचार्यले पोखरामा निर्माण सम्पन्न भएको अन्र्तराष्ट्रिय विमानस्थल नियमित सञ्चालन गर्ने अन्तिम तयारीको जुटेको भन्नुहुदै रिठेपानी डाडाकटान गरिएको र फोहोर मैला व्यवस्थापनका लागि वडा नं.३२ मा प्रवन्ध गरिएको बताउनुभयो । उहाँले पृथ्वीराजमार्गमा रहेको पृथ्वीचोकदेखि बिजयपुरसम्मको सडक क्षेत्रलाई व्यवस्थित र सफा गर्नका लागि पुस १३ गते विहान सरसफाई कार्यक्रम आयोजना गरिएकाले सबैको सहभागिताको लागि आग्रह गर्नुभयो । एकल साझँकै क्रममा बरिष्ठ नृत्य निर्देशक बृद्धिप्रसाद गुरुङ गौरीलाई हिमाली साँस्कृतिक परिवारले मानार्थ सदस्यताबाट सम्मान र लिटिस्टेप माविले विगत दुईदशकदेखि विद्यालयमा नृत्यनिर्देशक भई योगदान दिएको भन्दै सम्मान गरेको थियो । एकल साँझ समापनको क्रममा गौरी गुरुङले सहयोगी, शुभेच्छुकहरुलाई धन्यवाद दिनुहुदै जीन्दगी नै नृत्य क्षेत्रमा क्रियाशील रहिरहने क्रममा आफुलाई दर्शकहरुमा आत्मैदेखि सम्मान गरेको अनुभूति भएको भन्दै आभार व्यक्त गर्नुभयो । हिमाली साँस्कृतिक परिवारका अध्यक्ष ज्ञानबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष एवम कार्यक्रम संयोजक गजबहादुर गुरुङले स्वागत उपाध्यक्ष श्रीजंग गुरुङ र सहसचिव डबिन गुरुङले कार्यक्रम संचालन गर्नुभएको थियो । कार्यक्रम सफल बनाउनका लागि मुख्य प्रायोजन नादा तमु समाज, सहयोगी संस्था पोखरा महानगरपालिका, सहप्रायोजक शितलादेवि युवा क्लव, प्रवद्र्धक गण्डकी प्रज्ञाप्रतिष्ठान र पोखरा प्रज्ञाप्रतिष्ठान रहेको थियो ।
पोखराः नेपाल लिट्रेचर फस्टिभलको तेस्रो दिन एउटा सेसन थियो-‘महाभारादेखि कञ्चनजङ्घासम्म ।’ सेसनमा थिए लेखक तथा पत्रकारद्वय मोहन मैनाली र वसन्त बस्नेत । कार्यक्रमको सहजकर्ता थिए पत्रकार विराट अनुपम । अघिल्लो वर्ष पत्रकार बस्नेतले उपन्यास ‘महाभारा’ बजारमा ल्याए । ‘तपाईंले पुस्तकमा ३८ पटकसम्म महाभारा शब्द ल्याउनुभएको छ। यसप्रतिको प्रेम के हो?’ विराटको प्रश्न थियो । वसन्त भन्छन्, ‘महाभारा औपचारिक रुपमा धेरै प्रयोग गरिन्न। यो मान्छेको जीवनशैलीमा भिजेको छ । यो लोकल प्रचलितबाट ल्याएको शब्द हो ।’ पहाडमा बस्ने मान्छेलाई संस्कृतिबाट बढी राम्रो सुनिन्छ । लोकल प्रचलितबाट ल्याउने हो भने । मोहन मैनालीलाई ‘महाभारा’बाट देखिने दृश्यबारे सोध्छन्। मोहन आकाशबाट हेर्दा महाभारा फरक देखिने बताउँछन् । ‘महाभाराबाट सिधा अगाडि देखिने जुन हिमाल छन्, कन्चनजंगादेखि कुम्भकर्णसम्म । त्यो जोडिएजस्तो लाग्थ्यो। तर माथिबाट चाहिँ हेर्दा धेरै ठाउँ खाली देखिँदो रहेछ। तलबाट जस्तो राम्रो दखिने रैनछ ।’ आफूले प्लेनबाट शरत ऋतुको बेलामा महाभारा हेर्दा सुन्दर देखिएको पनि उनी स्मरण गर्छन् । विराट वसन्तलाई प्रश्न गर्छन्, ‘बाँचेको महाभारा र लेखेको महाभारामा के फरक छ ? इलाममा बसेको महाभारा र काठमाडौंबाट हेरेको महाभारमा के फरक?’ वसन्त आफूले किताबमा लेखेको ‘महाभारा’ हिजोआज नपाउने बताउँछन्। ‘म महाभारा क्षेत्रमा पुग्दा कतिपय चिज यस्तो छ, जसलाई महत्व नदिई त्यसको महत्व स्थापित भएको थियो। पात्रबाट हेर्दा डुक्पा कोही थिएन, सुक्मती कोही पनि थिएन । विशुद्ध कल्पना थियो पात्र। कति कुरा देखेको भोगेको, कति कुरा निर्मित यथार्थ हो,’ उनी भन्छन् । मोहन धेरै स्थान पुगिसक्दा पनि कन्चजंगा पुगेका छैनन्। विराट सोध्छन्, ‘तपाईं कन्चनजंगा पुग्न किन भ्याउनुभएन?’ मोहन आफ्ना पुराना यात्राताकाका समयमा पर्कन्छन्। उनलाई करिअरका सुरुवाती दिनमा मनास्लु जाने अवसर आयो। ‘एकजना भरिया टेप बोकाएर लानुपर्यो । मेरा सिनियरहरू १ सय १ तयार थिए। भोज भएको ठाउँमा खान नपाएका मान्छे मुख मिठ्याएर बसेगरी म बसेको थिएँ। धन्न सिनियरले राम्रो काम पाउनुभयो र जान्न भन्नुभयो। त्यसपछि मैले पाएँ । पहिलो पटक त्यहाँ गएर फर्केपछि म नियरहरूभन्दा अगाडि भएँ । मैले छाडेपछि मात्र अरु सिनियर जान पाउनुभयो,’ मोहनले सम्झिए । विस्तारी थुप्रै ठाउँमा आफूले घुम्न पाएको मोहनले बताए। कतिपयले मोहनलाई सोध्छन्, ‘यसरी धेरै घुमेर पैसा कसरी ल्याउँछौं? विदा कसरी लिन्छौ?’ मोहन आफू जहाँ घुमे पनि कामैको शिलशीलामा घुम्ने बताउँछन्। बरु जहाँबाट घुमेको छु त्यहाँबाट पारिश्रमिक पनि लिने उनी सुनाउँछन् ।
डा. भगवान कोइराला पोखराः हामीले कसैको जीवनमा केही न केही सकरात्मक प्रभाव पार्न सक्छौं । कहिले काहीँ असन्तुष्ट पनि हुन सकिन्छ । दुःख त हुन्छ । थकित पनि भइन्छ । प्रत्येक दिन दर्जनौं विरामीहरुको हँसिलो अनुहार देख्न पाउँदा काम गर्ने ऊर्जा मिल्छ । यो भाग्यको कुरा पनि हो । संस्कृतिमा मेरो असाध्यै राम्रो थियो । भाषामा मात्रै दख्खल थियो होला त्यो बेला । अख्यानमा म कमजोर नै थिएँ । साइन्स वायोलोजिमा राम्रो भएकोले म त्यतातिर लागे । पुस्कतमा त्यस्तो फूलबुट्टा भरिएको छैन, मलाई जस्ताको जस्तै प्रस्तुत गरिएको छ । एउटा पुस्तक २५ हजार मूल्यमा बिक्रि गरेर सात प्रदेशमा विशिष्टिकृत बाल अस्पताल खोल्न सम्भव देख्नुहुन्छ ? यो सम्भव छैन भन्ने कुरामा क्लियर छु, त्यो अपेक्षा पनि राखेको छैन । देशका लागि चाहिएको विषय हो । यसको महत्वपूर्ण स्टेप चाहि यो हुन सक्छ । नलेजलाई प्रयोग गरेको हो । यसको लागि प्रकाशकले फ्रिममा पुस्तक छापिदिनु भयो । मैले रोयल्टी नलिने गरी पुस्तक छापिदिनु भयो । सरकारले यस्ता खालका अस्पतला खोल्न सकेको छैन । तर तपाईले यो उमेर आएर यो जोखिम किन मोल्न खोजेको ? बालअस्पताल सरकारको योजनामा नै पर्छ । यो सबैले मिलेर गर्ने काम हो । यसमा हामी सबैले मिलेर काम गर्न चाहान्छौं । अस्पतालको मोडल पनि सरकार र गैरसकारी क्षेत्रबाट हुने हो । यसलाई सरकारले गर्न नसकेको पनि नभनौं । २०÷२२ वर्षअघि गंगालाल अस्पतालमा कार्यकारी निर्देशकको रुपमा भर्खर नियुक्ति भएको थिएँ । त्यसबेलाको स्वास्थ्य मन्त्रीले देशमा मुटुको रोग नै छैन । मुटुको अस्पताल किन चाइयो भनेका थिए । अहिले मुटु अस्पतालको अस्पताल ‘भ्यालु’ सावित भयो । त्यसैले महशुसलाई गाइड गर्दिने काम पनि विज्ञहरुको कै हो । यसमा हामी सबै जिम्मेवारी हुनु पर्छ । यसमा कुनै अन्यथा लिनु पर्दैन । यो ‘मोडल’ बाट गयो भने दिर्घकालिन रुपमा योगदान दिन सकिन्छ भनेर यो योजना बनाएको हो । यसमा प्रदेश सरकार र स्थानीय सरकार हुन्छ । तर यसको नेतृत्व गर्ने काम गैरसकारी क्षेत्रले गर्न खोजेको हो । त्यसैले यसलाई सरकारसँग सहाकार्य गर्ने रुपमा लिएको छु । स्थानीय सरकारको कुरा गर्दा पोखरा महानगरसँग पनि सम्झौता भएको जस्तो लाग्छ । पहिलो विशिष्टिकृत बाल अस्पताल चाहि पोखरामै बन्ने होकी भन्ने आशा पनि गरिएको छ नि । मेरो पोखरासँग पुर्खैली नाता कतिपयलाई थाहा पनि छैन होला । मेरा पुस्ता पोखाराबाट पाल्पा गएका रहेछन् । त्यसकारण मेरो पोखरासँग आत्मीय सम्बन्ध छ । काठमाडौं भन्दा पहिले यही अस्पतलाको खोल्ने भेर योजना बनाएका थियौं । भेनु खाली नभएकोले काम अलि ढिला भयो । ननसरकारी अस्पताल जान मन लाग्दैन । तर मुटु रोग लाग्यो भने मान्छे गंगालालय जान्छन् । यो अस्पतालले जुन विश्वासनीयता हाँसिल गर्याे । सर्वसाधारण नेपालीहरुले उपचार गर्न मिल्ने नमूना बन्यो । यसको कुन फ्याक्टरले गर्दा सफल भयो ? यसको सम्पूर्ण जस मलाई मात्रै दिन मिल्दैन । यसको धेरै फ्याक्टरहरु छन् । लिडरसिप नै यसको लागि बढी महत्वपूर्ण हुन्छ । देशको स्तर हेर्दा, राष्ट्रिय स्तरको संघसंस्थाको रुपमा हेर्दा पनि लिडरसीपबाट धेरै कुराहरु गाइड हुन सक्छन् । चाहानाले मात्रै पुग्दैन । इमान्दारिताको साथ कुनै काम गर्छु भनेर दृढता गर्याे भने धेरै कुरा मिलेर आउने रहेछ । अस्पतालले कुनै भौतिक सामान पनि व्यवस्था गर्नु पर्छ । मुलभूत रुपमा अस्पताल विरामी र विरामीको आफन्तहरु प्रति कति संवेदनशील छन भन्ने कुराको अनुभूति विरामीलाई भयो भने वा विरामीका मान्छेमरुलाई भयो भने आक्रमक हुँदैनन् । विरामी र विरामीको आफन्तको विश्वास जित्ने काम चिकित्सककको हो । तर कपितय अवस्थामा सामाना पनि गर्नु पर्छ । सबै भन्दाबढी जोखिम त मुटु र कार्डियोमा हुन्छ । हृदयघात भएर पनि विरामीको मृत्यु हुन्छ । सबै ठाउँमा मिल्दैन, यस्तोमा म आफै पनि फसेको छु । अपरेसशन पछि कतिपय अवस्थामा मृत्यु हुनसक्छ । ती सबै घटना दुर्घना भने हुँदैन । तर विरामीप्रति कमिटेड हुने, विरामीलाई दिलो ज्यान दिने विरामीका आफन्तले देख्नु पर्छ कि सबै जना खटिरहेका छन् भनेर अनुभूत हुनुपर्छ । कतिपय अवस्थामा गर्दा गर्दै पनि हुँदैन । विज्ञानले पनि सतप्रतिशत दिन सक्दैन । विरामीका परिवारले चिकित्सकले इमान्दार भएर काम गरेका छन् भन्ने भयो भने यस्ता घटनाहरु न्युनीकरण हुन्छ । यसमा धेरै जिम्मेवारी हाम्रो छ । जनता पनि चेतनशील हुनुपर्छ । अनावश्यक भौतिक होहल्लाले जनतालाई हानी पुग्छ । दुवैको जिम्मेवारी एउटै हो भनेर बुझेर गयो भने फाइदा हुन्छ । आफैमा संवेदना हुँदैन, यो सत्य हो । संवेदना ब्रेनको टिप एरियामा हुन्छ । त्यहीबाट एक्प्रेस भएर मुटुलाई ड्राइभ हुने हो । प्रत्येक पटक मुटुलाई खोलेर हेर्दा वा अप्रेशन गरेर ठिक बनाएर फेरि चालु गर्दा अझै पनि एक्साइटमेन्ट आउँछ । मुटुमा एक हिसाबको विशेषता चाहि छ । अरु माशंपेशी भएपनि अरु जस्तो होइन । यसको रिदम हुन्छ । मुटुको बनाउँदा युनिक फिचर मुटुलाई दिएको छ । त्यसैले प्रत्येक मटुलाई टिक गर्दा छुट्टै एक्साइटमेन्ट हुन्छ । अर्काे चुनौती पनि छ । यसअर्थमा हेर्दा धेरै संवेदना भएको महशुस हुन्छ । अस्पतालमा गम्भीर प्रकृतिको रोगले विरामी भएर आउँदा विरामीको इमोसन र विरामीको आफन्तहरुको इमोसन । आत्तिएका हुन्छन् । त्यसमा डाक्टरहरुले विचार पुर्याएन कठिन हुन्छ । रोगको र मानसिक रुपमा पनि उपचार गर्नु पर्ने हुन्छ । चिकित्सकले रोगको मात्रै उपचार गर्ने होइन । विरामी र समग्र रुपलाई हेर्ने हो । पहिले विरामीको आफन्तको इमोसनलाई सम्बोन गर्न सकियो भने समधान हुन्छ । अस्पताल सुध्रदै गयो घरचाहि विग्रदै गयो । भन्ने प्रसंग पनि आयो । कसरी मिलाएर अघि बढ्नु पर्ने रहेछ । आर्थिक हिसाबले गाह्रो हुँदै गएको थियो । सरकारी अस्पतालमा सर्पित भएर काम गर्दा घर चलाउने मामला निकै गाह्रो भएको थियो । त्यो बाहेक अरु सबै ठिक छ । स्वास्थ्य क्षेत्रको संघसंस्थालाई विकास गर्न राजनीतिक नेताहरुले सहयोग गरिदिनु पर्याे ।
पोखराः पोखराको लेकसाइडमा रहेको प्याराडिसो स्पोर्टस् बार एण्ड ग्रिलले क्रिसमसलाई लक्षित गरेर गायक सविन राईको विशेष साङगितिक साझँको आयोजना गरेको छ । क्रिसमको अवसरमा पुस १० गते शनिबार विशेष कार्यक्रमको आयोजना गरेको प्याराडिसो स्पोर्टस् बार एण्ड ग्रिलका म्यानेजर हरी पौडेलले जानकारी दिए । शनिबार साँझ सविन राई र उनको ब्याण्ड ‘द फेरोह’ युवा युवतीलाई नचाउने छन् । सबिन राई निकै लोकप्रिय गायक तथा गीतकार हुन् । उनका तिमि नै हौ, म संसार जित्ने, दिन र रात, मलाई अंगालिदेउ, जाउकी बसु, कोमल त्यो तिम्रो, सधै तिमि मेरो लागयतका गीतहरु चर्चित छन् । उनलाई स्टेज प्रस्तुतीहरु निकै रोचक हुने गर्दछन् । उनले सन् १९९२ बाट नेपाली सांगितक दुनियामा आएका हुन् । प्रबेशका लागि एक हजार र १ हजार ५ सयको टिकट रहेको उनले बताए । निःशुल्क रुपमा अग्रिम टेवल बुकिङको पनि व्यवस्था रहेको उनको भनाई छ । ‘फुड, ड्रिङ् र म्युजिक’ स्लोगन सहित खेलकुद तथा परिवारीक वातावरण जोडएको पौडेलले बताए । पोखरा आएका धेरै पर्यटकलाई क्रिसमको अवसरमा मनोरञ्जन दिन उद्देश्यले कार्यक्रमको आयोजना गरेको उनले बताए । बार भित्रको फराकिलो क्षेत्र रहेको र जहाँ जुनसुकै ठाउँमा बसेर पनि टेलिभिजन मार्फत महत्वपूर्ण खेलकुदका प्रत्यक्ष प्रशारण हेर्दै साङगितीक रमाइलो लिन पाइने उनले बताए । उनले बार भित्रै पुल टेबल, डार्ट गेम, चेस लगाएतका खेलहरु खेल्ने समेत व्यवस्था मिलाएको छ । उनले बारमा जन्मदिन, म्यारीज एनिभसरी, संस्थाका एनिभसरी, प्राइभेट पार्टी गर्नका लागि समेत विषेश व्यवस्था मिलाएको बताए । उनले बारमा फन्ट, बालकुन्नी, फेवाफन्ट लगाएका ठाउँमा बसेर ‘फुड, ड्रिङ् र म्युजिक’ रमाउन पाइने उल्लेख गरे ।
पोखराः २०६४ सालमा दुर्घटना एउटा खुट्टा गुमाएपछि नीलम ढुंगानाको आत्मविश्वास पनि भाँच्चिसकेको थियो । दुर्घटना हुनुअगाडि शौखले नृत्य गर्दै आएकी उनलाई उभिने खुट्टा नै गुमाए पछि धेरै थोक गुमाएझैं लाग्यो । तर, उनको जीवनमा यस्तो पनि मोड आयो, जुन मोडबाट उभिन मात्रै सिकिनन्, एउटै खुट्टाको बलमा उभिएर फनफनी नृत्य गर्न सकिन् । आज देशमा मात्रै होइन, अन्तर्राष्ट्रियस्तरका मञ्चमा पनि उनको माग बढ्दो छ । आज देशकै सफल नृत्यंगनामा उनी दरिन्छिन् । त्यो नीलमले देखाएको आँत थियो, र हजारौं अपांगता भएका व्यक्तिका लागि अजरअमर हिम्मत । ‘म अरुभन्दा फरक देखिन्छु भनेर नृत्य गरेको पनि होइन । दुर्घटनापछि मलाई आत्मविश्वास पनि थिएन । यसरी बोल्न पनि सक्दिनँ थिएँ । कहीं कन्फिडेन्स थिएन, सेल्फडाउट थियो,’ ढुंगाना सुनाउँछिन्, ‘तर, जुन चिजसँग प्यासिनेट भइन्छ, कहीं न कहींबाट डो¥याएर ल्याउने रहेछ ।’ पोखरामा जारी नवौं नेपाल लिटरेचर फेस्टिबलको तेस्रो दिन भएको ‘फरक, अब्बल’ सत्रमा ढुंगानाले कलाकार सुजल बम र अमीर बोम्जनसँग आफ्नो भोगाइहरु साझा गरेकी हुन् । सत्रको सहजीकरण पत्रकार गजेन्द्र बुढाथोकीले गरेका थिए । नीलमले एउटै खुट्टाको बलमा नाच्न थालेको २०१३ देखि हो । त्यतिबेला पनि आफ्नो कमजोरी लुकाउन ‘आफ्नै बिजोग देखाएर किन नाच्ने ?’ भन्ने लाग्ने गरेको उनको अनुभव छ । ‘सायद ममा पनि चेतना थिए । डर, लाज मलाई पनि लाग्थ्यो,’ उनले भनिन्, ‘कसैले केही भन्ने हुन् कि मन नपराइदिने हुन् कि भन्ने लाग्थ्यो ।’ तर, अहिले आफ्नै प्रस्तुतिले दर्शकको सोच बदल्न सकेकोमा भने उनी खुसी छिन् । पहिले अपांगता भएका व्यक्तिहरुको कुरा काट्नेहरु पनि आफूहरुको सफलतामा खुसी हुन थालेको उनको अनुभव छ । ‘पर्फमेन्स अघि र पछि व्यवहार फरक हुन्छ । काहीं न काहीं उहाँहरुको सोच बदल्न सकेको रैछु नि भन्ने हुन्छ,’ उनले भनिन् । उस्तै कथा छ, कलाकार सुजल बमको पनि । पछिल्लो समय चर्चामा आएको सामाजिक सञ्जाल ‘टिकटक’लाई प्रयोग गर्दै बम कलाकारितामा प्रवेश गरेकी हुन् । सत्रमा बमलाई अनुवादक रश्मि निरौलाले सहयोग गरेकी थिइन् । उनले अहिले ‘लिपसिङ’कै आधारमा थुप्रै म्युजिक भिडियोमा मोडलिङ पनि गरिसकेकी छन् । सुदूरपश्चिमको डोटीबाट काठमाडौं आएर संघर्ष गरेकी बमले आफू बहिरा भएकै कारण थुप्रै ठाउँमा समस्या भोग्नु परेको सुनाइन् । मिस एसईई २०१९ मा भाग लिएर चौथो स्थान ल्याएकी उनी त्यतिबेला दोभाषे नहुँदा पनि आफू हिम्मत गरेर उक्त प्रतियोगितामा भाग लिएको बताइन् । ‘१० कक्षापछि मिस एसईईमा भाग लिएकी थिएँ । त्यसमा पनि दोभाषेको व्यवस्था थिएन । दोभाषे नहुँदा धेरै समस्या भोग्नुप¥यो,’ बम सुनाउँछिन्, ‘तर, जे गरें आफ्नै बलबुत्ताले गरें । साथ बाबाको पनि रह्यो ।’ डोटीबाट सुरुमा धनगढी आएको तर, बहिरालाई पढ्ने व्यवस्था नभएकै कारण पछि सिन्धुपाल्चोक गएको बमले सुनाइन् । त्यसपछि उनी काठमाडौं आए । काठमाडौं नक्सालमा बहिरा स्कुलबाट उनले २ कक्षादेखि एसईईसम्मको पढाइ पूरा गरेकी थिइन् । ‘होस्टल बसेर पढेको हुँ । होस्टेल कति फोहोर थियो, कुनै व्यवस्थित नै थिएन । खेल्ने साथी पनि थिएन, खाली त्यो सांकेतिक भाषा सिक्नका लागिमात्रै थियो,’ सुजलले भनिन् । तर, त्यहाँ उनले आफूले केटा साथीहरु नाचेको देखेरै नाच्न सिकेको खुसी हुँदै सुनाइन् । साथीहरुको सिको गर्दै नाच्न सिक्दासिक्दै कोरोना महामारीले कक्षा रोकियो । त्यसपछि उनले आफूलाई भुलाउन टिकटकमा नाचेको भिडियो पोस्ट््याउन थालिन् । गीत नसुने पनि ओंठको चालका आधारमा आफ्नो नृत्य चाल पहिल्याउन थालिन् । ‘सुरुमा नाच सिक्छु भन्दा पनि बहिरा भनेर कसैले सहयोग गरेन । तर, कोरोनाका बेला टिकटकमा नृत्य गर्दै भिडियो हाल्न थालें । धेरैले मन पराइदिनुभयो,’ उनले भनिन् । कलाकार सुजल बम आफूहरुलाई बहिराको साटो लाटा भनिदिँदा दुख लाग्ने गरेको दुखेसो पोखिन् । आफूहरुको पनि भावना हुने भएकाले त्यसलाई सम्मान गरिदिन उनले आग्रह गरिन् । कलाकार ढुंगानाले अपांगता भएका व्यक्तिहरुलाई अवसर सपांग व्यक्तिले नै दिनुपर्ने धारणा राखिन् । अपांगता भएका व्यक्तिहरु पनि अवसरकै खोजीमा हुने भएकाले त्यसमा व्यक्ति, समाज र राज्य सबै उत्तिकै जिम्मेवार हुनुपर्ने सुझाइन् । ‘अवसर दिने अपांगता नभएकाले नै दिने रहेछ । जिम्मेवारीचाहिँ व्यक्ति, समाज र राज्य सबैको हुँदो रहेछ,’ उनले भनिन्, ‘जब हाम्रा मुद्दाहरु स्वीकारिन्छन्, तबमात्रै हाम्रो सम्मान हुन्छ । नत्र त विभेद कहाँ हुँदैन ? त्यसको पनि आफैं विरोध गर्न सक्नुपर्छ ।’ संसार चियाउने हुट्हुटीले कलाकार ! घरअगाडि गुम्बा भए पनि अमीर बोम्जन कहिल्यै त्यहाँ पुग्न पाएनन् । नजिकै हरियो फैलिएको पहाड थियो, उक्लिन पाएनन् । पाठशाला थियो, अक्षरसँगै यात्रा गर्न पाएनन् । कारण थियो, बोम्जनको जन्मजात घाँटीभन्दामुनिको भाग नचल्नु । जहाँ देख्थे अँध्यारोमात्रै देख्थे, जे सोच्थे एक्लोपनबाहेक केही पनि अनुभव गर्दैन थिए । तर, अमीर त्यही एक्लोपनको बलमा उभिएर आज अन्तर्राष्ट्रियस्तरको कलाकार बनाएका छन् । गीतकार, गायक बनाएका छन् । ‘जब एक्लो थियो, एकान्त थियो । साथी खोज्दा साथी भेटिँदैन थियो । केवल सुनसानमात्रै थियो । र, त्यो सुनसानभित्र पनि कतै आवाज आएकोजस्तो । बतासले बालोएजस्तो, रुखका पातले बोलाएजस्तो महसुस हुन्थ्यो,’ अमीर सुनिए, ‘चाहना थियो या थिएन, आफ्नो एक्लोपन भुलाउन कोशिष गरिरहें । प्रकृतिलाई साथी बनाएर गीत गाउने लय हाल्ने भएर गीत गाउने भएको हुँ, चित्र बनाउने भएको हुँ ।’ पोखरामा जारी दशौं नेपाल लिटरेचर फेस्टिभलमा अमीरको चित्रकला पनि प्रदर्शनमा छ । आफूले सधैं देख्ने गरेको तर, कहिल्यै टेक्न नपाएको घर नजिकैको गुम्बाबाट आफूले कलायात्रा सुरु गरेको बोम्जन सुनाउँछन् । ‘मेरै घरबाट हेरिराखेको गुम्बा थियो । त्यो गुम्बामा पुग्न मन लाग्थ्यो, आफ्नो कुरा सुनाउन मन लाग्थ्यो,’ उनले भने, ‘टाढाबाट भगवानले मेरो कुरा सुनेन भन्ने लाग्यो । अचानक गुम्बाकै स्केच बनाइसकेको रैछु ।’ बोम्जनले घर नजिकै माथिको अनिता लामा ‘दिदी’बाट अक्षर सिक्ने मौका पाएको सुनाए । त्यहीबेल सिकको अक्षरले नै आज आफूलाई यो स्थानसम्म उभ्याउन पाएको बताए । ‘चित्र गर्दा कति रमाइलो लाग्थ्यो, मनको पीडा चोट, भोगाइ आउँथ्यो । पीर आउँथ्यो । तर, बाहिर ल्याउन सकेको थिएन । तर, पछि भूकम्प (२०७२) आयो । त्यतिबेला मैले आफूमा पनि केही कला छ है भन्ने जान्ने मौका पाएँ,’ उनले भने, ‘गिलासमा पानी भएर पनि फैलिन पाएको छैन भन्ने लाग्यो । भूकम्प आएर गिलासलाई लडाइदियो र पानी जताततै फैलियो ।’ बोम्जनले आफ्नो कलामा भावना र प्रकृतिको संयोजन नै धेरै प्रयोग हुने बताए । सानैदेखि सधैं आफू एक्लै बस्नुपर्दा आफ्नो पेन्टिङमा पनि त्यही भाव भल्कने उनको भनाइ थियो । ‘आमा काममै, बुवा बाहिर । भाइ पढ्न जान्थ्यो । मसँग हुन्थ्यो त केवल भित्ता, यही वरिपरिको प्रकृति हो,’ उनले भने, ‘त्यसैलाई मैले साथी बनाए, मित्रता गाँसे । यही प्रकृतिलाई प्रेम गरेरै पेन्टिङमा यही देख्न पाएको हो ।’
पोखराः नेपाल लिटरेचर फेस्टिभलको तेस्रो दिनको एउटा सत्र रह्यो— भताभुङ्ग काम, लथालिङ्ग अर्थतन्त्र । यस सत्रमा डा. युवराज खतिवडा, डा. स्वर्णिम वाग्ले, डा. विमला राई पौडेलसँग निरञ्जन श्रेष्ठले संवाद गरे । उहाँहरुको भनाइलाई हामीले यहाँ प्रस्तुत गरेका छौं । ‘मन्त्री, सांसदले स्वार्थ बाझिने नीति निर्माणमा बस्दिनँ भन्नुपर्छ’ डा. युवराज खतिवडा हामीले हाम्रा सबै विकासका प्रक्रियामा चुक्यौँ, नराम्रोसँग फसेका छौँ । जहिले पनि अतिवादको कुरा गर्नु हुँदैन । अति राम्रो पनि होइन, अति हामी संकटमै छौँ भन्ने पनि होइन । हामी जटिल समस्याको अवस्थामा छौँ ती समस्या हल गर्न सक्ने अवस्थामा आजसम्म छौँ । तर, त्यसको लागि राजनीतिक नेतृत्वको इच्छाशक्ति, आर्थिक समस्या हल गर्ने प्राथमिकता, समस्या हल गर्ने क्षमता तीन वटा कुरा हुनुपर्छ । त्यो भएको नेतृत्व भयो भने राम्रो हुन्छ । हाम्रो अहिलेको समस्या उत्पादनको हो । त्यो भनेको कृषि उत्पादन, ओद्योगिक उत्पादनको, सेवा क्षेत्रको समस्या छ । बाह्य क्षेत्रका हाम्रा समस्या त्यही उत्पादनसँग सम्बन्धित छन् । किनभने हामी जे उत्पादन गर्छौँ त्यसको ठूलो हिस्सा हामी आयात गर्छौं । औद्योगिक कच्चा पदार्थ, विद्युतीय होस्, मेसिनरी होस्, सडक निर्माणको, रेलको, पर्यटकीय सेवाको सामान हामी आयात गर्छौं । त्यसो हुनाले उत्पादनको संरचना परिवर्तन गर्दै आयातमा आधारित उत्पादन प्रणालीलाई आन्तरिक कच्चा पदार्थ र स्रोतमा जानासाथ हाम्रो बाह्य क्षेत्र बलियो हुन्छ । त्यसो हुँदा उत्पादन र रोजगारी बढ्छ । पुँजी बढी भएको ठाउँबाट पुँजी जान्छ । प्रविधि बढी भएको ठाउँबाट प्रविधि जान्छ । मान्छे बढी भएको ठाउँबाट मान्छे प्रवाह हुन्छ । नेपालमात्रै मान्छे विदेश पठाउने मुलुक होइन । हामीले हेर्नुपर्ने कुरा के हो भने त्यो जनशक्तिलाई सिपयुक्त, दक्ष, सुरक्षित र आर्जन गरेको मुद्रा नेपाल फर्काउने गरी पठाएका छौँ कि छैनौँ त्यो आजका लागि महत्वपूर्ण कुरा हो । पाँच लाख जति मान्छे श्रम बजारमा प्रवेश गराउँछौँ । हाम्रो उत्पादनको संरचनाले २र३ लाख मान्छे पनि श्रम बजारमा आउन सक्दैनन् । अब प्रविधिले हामीलाई रोजगारका अवसर कसरी हर्दै लगेको छ ? यो प्रविधिसँग जुध्ने श्रम शक्ति कसरी विकास गर्ने भन्ने प्रश्न अब ज्वलन्त हुन्छ । अहिले हामीले तत्कालै हेर्ने हाम्रो उत्पादनसँग सम्बन्धित समस्या हो । त्यो समस्यालाई हल गर्न सरकारको अर्थ नीति, औद्योगिक नीति र केन्द्रीय बैंकको मौद्रिक नीतिको संयोजन जरुरी छु । समष्टीगत अर्थतन्त्र व्यवस्थापन गर्नेहरुले एक ठाउँ बसेर अलिकति सामञ्जस्यपूर्ण ढंगले चल्यो भने हाम्रा समस्या केही महिनाभित्रै हल हुन्छन् । हामी आत्तिएर व्यवसायलाई सन्त्रासमा पारेर व्यवसाय बिगार्नेमात्रै काम गर्छौं । मन्त्री, सांसद चाहे व्यवसायी होस् स्वार्थ बाझिन्छ भने नीति निर्माण गर्ने ठाउँमा म बस्दिनँ है भन्नुपर्ने हुन्छ । उदाहरणका लागि लगानी बोर्डमा आफूसँग सम्बन्धित अर्को कसैले अप्लाइ गरेको छ भने सम्भव नै हुँदैन, हामी नै क्षमतामा चलेका छैनौँ भनेर निजी क्षेत्रको प्रतिनिधिले त्यहाँ भन्दिन्छ । त्यो स्वार्थ बाझिने कुरा भयो । संसदीय समितिमा अर्थ, बेरुजु अथवा विकाससम्बन्धी सरोकारवाला सांसद छ भने ऊ त्यहीँ बसेर आफ्नो व्यवसाय प्रवद्र्धन हुने गरी कानुन संशोधन गर्न खोज्छ । भएका विधिलाई परिवर्तन गराउन र दबाब दिनलाई आफ्नो समूह ल्याएर सरकारलाई दबाब दिने काम गराउँछ । मन्त्रीहरुको आफ्नो व्यवसायसँग, आफ्नो क्षेत्रसँग सम्बन्धित ठाउँमा स्रोत विनियोजन गर्ने, कर प्रणालीबाट सहुलियत दिने स्वार्थ बाझिने कुरा हुन्छ । सबै क्षेत्रले स्वार्थ बाझिने ठाउँमा नबस्ने स्वघोषणा गर्ने कुरा संसदको नियमावलिमा बनाउनुप¥यो । संसदीय समिति बनाउँदा नै तपाईं कुन व्यवसायमा हुनुहुन्छ ? निर्माण व्यवसायी हो भने अर्थ र लेखा समितिमा नबसिदिनुस्, विकास समितिमा नबसिदिनुस् भन्नुपर्ने हुन्छ । अभियन्ता आउनुभएको छ भने त्यस्तोमा नबस्ने स्थिति हुनुपर्छ । अबको संसदले त्यो गर्नुपर्छ । दण्डहीनताको विषय के हो भने कानुन नभएको होइन । कानुनलाई अवहेलना गर्न कोसिस गर्ने, कानुन पालना गराउने निकायहरु न्याय प्रणाली, संवैधानिक अंगमा त्यहाँ क्षमता र स्वार्थ नबाझिने गरी काम गराउनु सक्नुपर्छ । नियत दुई किसिमको हुन्छ । आफ्नो निर्वाचन क्षेत्र, आफ्नो भौगोलिक क्षेत्रमा अलिकति केही गरौँ भन्ने एउटा नियत होला । अर्को म बनिहालौँ, कमाइहालौँ भन्ने अर्को नियत होला । मन्त्रीहरुमा स्वाभाविक रुपमा एउटा नियत अर्कोपटक चुनाव जित्नु छ आफ्नो निर्वाचन क्षेत्रमा केही गरौँ भन्ने हुन्छ । मन्त्री भयो हाम्रो क्षेत्रमा केही ल्याएन भन्ने हुन्छ । मानौँ ऊ त्यही क्षेत्रको मन्त्री भएको हो । यो मानसिकताले पनि हामी बन्दैनौँ । असल नियत भए पनि त्यो न्यायिक हुँदैन । २०६३ सालदेखि ०७९ सम्म कति वटा सरकार बने ? औषत एउटा सरकारको आयु डेढ वर्षभन्दा माथि भएको इतिहास छैन । त्यस्तो अवस्थामा सुशासनको कुरा गर्द कानुनलाई बलियो बनाउने, कर्मचारीतन्त्रलाई बलियो बनाउने र त्यसको आधारमा शासकीय प्रबन्ध गर्ने, राजनीतिक तहबाट लामो समयसम्म गतिलो दृष्टि बनिराखेको छैन । समाजमा सबै चोर, बद्मास हुँदैनन् । राजनीतिमा पनि सबै बद्मान हुँदैनन् । सबै ठाउँमा केही न केही कानुन विरोधी कुरा गर्ने, अवाञ्छित गतिविधि गर्ने सानो समूह हुन्छ । त्यसलाई लक्षित गरेर समाज, अर्थतन्त्र, राजनीतिलाई सामान्यकृत नगरौँ । हामी यही राजनीतिक प्रणालीमा बाँच्नु छ, यही प्रणालीलाई अघि बढाउनु छ र यहीँको राजनीतिज्ञलाई सुधारेर राष्ट्र निर्माणमा लगाउनु छ । हामीले सबैलाई एकमुष्ठ गाली नगरौँ । निजी क्षेत्र विकासको, आर्थिक वद्धिको संवाहक हो । निजी क्षेत्रले कर बढी तिर्छ । यत्रो आर्थिक क्रियाकलाप अघि बढाइराखेको छ । यो निजी क्षेत्रलाई चोर नभनौँ । कसैकसैले चोरेको छ भने कानुन छँदै छ । त्यसलाई पक्रेर जेल हाले भयो, किन सबैलाई गाली गर्नुप¥यो ? सामाजिक अभियन्ताहरुले जनताको अपेक्षा बढाइदिनु भएको छ आफू केही गर्नु हुन्न । उहाँहरुको जिम्मेवारी के हुन्छ भने अपेक्षा बढाइरहँदा साधन, स्रोत र क्षमता बढाइदिए राज्य सञ्चालनमा सजिलो हुन्थ्यो । अपेक्षा बढाउनेमात्रै सम्बोधन गरेर काम गरेर पनि देखाउनुभएको छ । त्यसैले गालीलाई सीमित गरौँ, समस्या जहाँ छन् त्यसलाई हल गरौँ । ‘२०६२/२०६३ पछि हाम्रा धेरै अनुशासनका सीमा भत्किए’ डा. स्वर्णीम वाग्ले हामी सन् २०२२ को डिसेम्बरमा छौँ । १९७२ को डिसेम्बरमा ठ्याक्कै ५० वर्षअघि नेपालमा योजना किन असफल भनेर एक जना क्यालिफोर्निया विश्वविद्यालयका विज्ञ आएर तीन वटा आवधिक योजनापछि चौँथो चलिरहँदा त्यो लेखेका थिए । उनले त्यसमा पाँच वटा विषय उठाएका छन् । एउटा विकास प्रशासनको क्षमता कमजोर, भौगोलिक विकटताले सूचनाको अभाव थियो । अहिले नेपाल सरकारले हिजो साँझसम्म कहाँ कति खर्च ग¥यो भनेर हेर्न सक्नुहुन्छ । कुन नाकाबाट कति पैसा उठ्यो भन्ने पनि आइसकेको छ । त्यतिबेला डाटा आउनै समस्या हुन्थ्यो । योजनाको तयारी एकदमै कमजोर रहेको उनीहरुले लेखेका छन् । उनीहरुले दातृ सहयोग पनि सदुपयोग गर्न नसकेको भनेका छन् । अर्थमन्त्रालयको भूमिका भनेर आलोचना गरेर ५० वर्षअघि लेखिएको रहेछ । २५ वर्षअघि देवेन्द्ररराज पाण्डेले पनि यस्तै कुरा समेटेर लेख्नुभयो । दातृ सहयोगसँग गासिएका बेथितिबारे उहाँले बढी लेख्नुभएको छ । म सन् २०१७ मा राष्ट्रिय योजना आयोगको सदस्य हुँदा ठूला राष्ट्रिय गौरवका आयोजना किन कामै हुँदैनन् भनेर आफैँ प्रतिवेदन पनि लेखेको थिएँ । तर, मैले भन्ने खोजेको ५० वर्षअघि, २५ वर्षअघिको वृत्तान्त पात्रमा फरक भयो होला, साधन स्रोतको सदुपयोग कसरी गर्ने भन्ने अहिले पनि छ । सुशासनको पाटो छ । सन् १९९२ मा सिंहदरबार र राजदरबारभित्रको सचिवालयको चर्चा लेखमा छ । पछिल्लो समय पनि सहकार्य, सुशासनको कुरा छ । साधनस्रोत कसरी उत्पादन गर्ने, सदुपयोग कसरी गर्ने, कर्मचारीको क्षमता कसरी विकास गर्ने र सबैलाई चलाउने राजनीतिको कुरा आउँछ । अहिले कुशासनसँग कुनियत पनि जोडिएजस्तो लाग्छ । नियत नै खराब हुन थाल्यो । पहिला क्षमता थिएन होला तर यो गरौँ, ऊ गरौँ भन्ने इच्छा थियो । २०६२र२०६३ पछि हाम्रा धेरै अनुशासनका सीमा भत्किएका छन् जस्तो लाग्छ । योसँगै दण्डहीनता, जे गरे पनि हुन्छ भन्ने शासकीय अहंकार, राजनीतिक नेतृत्वमा र राजनीतिक नेतृत्वको संरक्षण पाएको कर्मचारीमा पनि मौलाएकोजस्तो छ । कर्मचारीले व्यापारी–उद्यमीलाई गाली गर्ने, चोर भन्ने अनि उद्यमी–व्यवसायीले पनि कर्मचारीलाई यी फटाहा हुन्, कहाँबाट लुट्न सकिन्छ, दोहन गर्न सकिन्छ भन्ने दृष्टिले हेर्ने । नेताहरुलाई पनि त्यही । यो सबैले सबैमा जुन अविश्वासको वातावरण छ त्यसले गर्दा सकारात्मक, कोल्टे फेराउनेतिर सम्भव छ । तर, त्यो सबै कुराको सुरुवात राजनीतिक भिजन भएको नेतृत्व आयो भने हुन्छ । अविश्वासको वातावरणलाई शंकाको लाभको चरणसम्म पु¥याउन सक्छौँ । हामी यहाँ छौँ, यहाँ पुग्न पर्ने हो भनेर न्यूनतम कुरा गरौँ भनेर टिप्न सकिने नतिजा धेरै ठाउँमा छन् । ६ महिना एक वर्ष गरेर हेरौँ । त्यसले आफैँ सुधारको क्रममा लैजान्छ । सजिलो उत्तर नेताहरुलाई गाली गर्ने नै हो । तर, विश्लेषण गर्दा सबैले चिन्तन–मनन गर्नुपर्ने छ । अर्थतन्त्रकै कुरा गर्दा १४–१६ घण्टा काम गरेर कहाँ अड्चन छन् फुकाउनेभन्दा पनि हरेक नियुक्तिमा पैसाको कुरा, हरेक नीति निर्माणमा निचोडतिर ध्यान गएपछि सुधार ओझेलमा परेको छ । सत्पात्रहरु दुईरचार जना प्रधानमन्त्री, अर्थमन्त्री हुने हो भने सही बाटोमा ल्याउन सकिन्छ । एउटा चिनियाँ उखान छ – माछा कुहिन थाल्यो भने टाउकोबाट कुहिन थाल्छ । माथिबाट ठिक हुनासाथ तल पनि मिल्छ । यति समझदार जनता भएको देशमा धेरै कुरालाई ठिक ठाउँमा ल्याउन सक्छौँ । हामीले घोषणापत्रमा (कांग्रेसको) २४ देखि ४८ कानुन संशोधन र खारेजीसम्म भनेका छौँ । त्यो हावामा भनेका हैनौँ । निजी क्षेत्रले उठाएका विषय हुन् । उनीहरुले जे माग्छन् त्यो दिनु हुँदैन किनकि निजी स्वार्थ पनि हुन्छन् । तर, देशको हितमा छ भने त्यो गर्नुपर्छ । आयरल्याण्डमा सन् १९७०–८० तिर यस्तै अविश्वासको वातावरण थियो । ट्रेड यूनियनले रोजगारदातालाई, रोजगारदाताले सरकारलाई गाली गर्ने, सरकारले निजी क्षेत्र चोरडाँका हुन् भन्ने । उनीहरुले दुष्चक्रलाई तोडेर गए त्यसपछि अर्थतन्त्र नै बद्लियो । रोजगारी सिर्जना गर्ने, सम्भावना खोज्ने, अन्तर्राष्ट्रिय बजार खोज्ने, राज्यलाई कर बुझाउने निजी क्षेत्र हो । १० वटा नयाँ रोजगारीमा ८ वटा निजी क्षेत्रले नै गरेको हो । प्रतिव्यक्ति आयको हिसाबले १२ सय डलरमा छौँ । नेपालले नेपालसँग दाँज्दा २०र३० वर्षमा धेरै सूचकांकमा प्रगति गरिएको छ । हामीजस्तै जस्तै भएको देशको तुलनामा धेरै पछाडि परेका छौँ । त्यसको एउटै कारण कुशासन हो । अहिले थपिएको कुनियतसहितको कुशासन हो । योग्य नेता भएको देशमा स्वविवेकमा छोड्न सकिन्छ । तर, त्यस्तो स्तरको राजनेता नभएको देशमा नियमले नै कस्ने हो । सानो समूहको कुराले समाज, अर्थतन्त्र, राजनीतिलाई सामान्यकृत नगरौँ डा. विमला राई पौडेल सरकारले ल्याउने अन्य कानुनमा सांसदले आ–आफ्नो धारणा राख्न पाउँछन् । सांसदको सुझावअनुसार विधेयकको ड्राफ्टमा त्यसलाई सच्याइन्छ । तर, सरकारले ल्याएको बजेटमा भने कुनै संशोधन हुँदैन, त्यो पास हुन्छ । राष्ट्रिय सभाकी पूर्व सांसद डा. विमला राई पौडेल आर्थिक विधेयकको सुधारमा सांसद शक्तिहीन भएको बताउँछिन् । पोखरामा जारी दसौँ संस्करणको नेपाल लिटरेचर फेस्टिबलमा शनिबार भताभुङ्ग काम, लथालिङ्ग अर्थतन्त्र सेसनमा बोल्दै उनले आर्थिक विधेयकमा पनि संशोधन गर्न मिल्नुपर्ने विचार राखिन् । ‘च्याउचाहिँ स्याउ टाइप भएर आएको छ भने सच्याएर च्याउ बनाऊ भन्न पनि नपाइने । त्यो बनायो भने सरकार ढलिहाल्छ,’ उनले भनिन्, ‘सांसदलाई गाली गर्नुहुन्छ । सांसदले कसरी गर्ने ? कानुन, नीति बनाउने कुरामा हाम्रा सांसद शक्तिहीन भएका छन् । सुधार गर्नुपर्ने ठाउँ देख्दादेख्दै पनि गर्न सकेका छैनौँ ।’ पूर्व अर्थमन्त्री डा. युवराज खतिवडाले स्वार्थ नबाझिने सांसद नीति निर्माणमा भए कानुन प्रभावकारी हुने बताए । उनले स्वार्थ बाझिने सांसद सम्बन्धित ठाउँमा नबस्ने गरी स्वघोषणा गर्ने व्यवस्था ल्याइनुपर्ने मत राखे । ‘सबै क्षेत्रले स्वार्थ बाझिने ठाउँमा नबस्ने स्वघोषणा गर्ने कुरा संसदको नियमावलिमा बनाउनुप¥यो,’ उनले थपे, ‘संसदीय समिति बनाउँदा नै तपाईं कुन व्यवसायमा हुनुहुन्छ ? निर्माण व्यवसायी हो भने अर्थ र लेखा समितिमा नबसिदिनुस्, विकास समितिमा नबसिदिनुस् भन्नुपर्ने हुन्छ । अभियन्ता आउनुभएको छ भने त्यस्तोमा नबस्ने स्थिति हुनुपर्छ । अबको संसदले त्यो गर्नुपर्छ ।’ निजी क्षेत्र देश विकासको ठूलो संवाहक भएकाले गाली गर्न नहुने खतिवडाले बताए । कोही व्यवसायीले गलत गरे त्यसलाई कानुनअनुसार सजाय हुनुपर्ने उनको भनाइ थियो । देशको आर्थिक अवस्थालाई ध्वस्त हुन नदिन राजनीतिक नेतृत्वको इच्छाशक्ति अत्यावश्यक रहेको उनले बताए । ‘अति राम्रो पनि होइन, अति हामी संकटमै छौँ भन्ने पनि होइन । हामी जटिल समस्याको अवस्थामा छौँ ती समस्या हल गर्न सक्ने अवस्थामा आजसम्म छौँ । तर, त्यसको लागि राजनीतिक नेतृत्वको इच्छाशक्ति, आर्थिक समस्या हल गर्ने प्राथमिकता, समस्या हल गर्ने क्षमता तीन वटा कुरा हुनुपर्छ । त्यो भएको नेतृत्व भयो भने राम्रो हुन्छ,’ खतिवडाले भने । एक–दुई जना व्यक्तिको क्रियाकलाप हेरेर पुरै क्षेत्रलाई सामान्यकृत गर्न नहुने उनले सुझाए । ‘समाजमा सबै चोर, बद्मास हुँदैनन् । राजनीतिमा पनि सबै बद्मास हुँदैनन्,’ खतिवडाले भने, ‘सबै ठाउँमा केही न केही कानुन विरोधी कुरा गर्ने, अवाञ्छित गतिविधि गर्ने सानो समूह हुन्छ । त्यसलाई लक्षित गरेर समाज, अर्थतन्त्र, राजनीतिलाई सामान्यकृत नगरौँ ।’ अर्थशास्त्री डा. स्वर्णिम वाग्लेले कुनियतसहितको कुशासनले देश विकासको बाटोमा अघि बढ्न नसकेको बताए । त्यही कारण केही दशकअघि एउटै अवस्थामा रहेको नेपाल र अरु देशबीच फरक भइसकेको सुनाए । ‘नेपालले नेपालसँग दाँज्दा २०र३० वर्षमा धेरै सूचकांकमा प्रगति गरिएको छ । हामीजस्तै जस्तै भएको देशको तुलनामा धेरै पछाडि परेका छौँ । त्यसको एउटै कारण कुशासन हो । अहिले थपिएको कुनियतसहितको कुशासन हो,’ उनले भने, ‘योग्य नेता भएको देशमा स्वविवेकमा छोड्न सकिन्छ । तर, त्यस्तो स्तरको राजनेता नभएको देशमा नियमले नै कस्ने हो ।’ देशको आर्थिकसहित सबै खाले विकास गर्न मूल व्यक्ति सही हुनुपर्ने अर्थशास्त्री डा. वाग्लेले बताए । ‘सत्पात्रहरु दुईरचार जना प्रधानमन्त्री, अर्थमन्त्री हुने हो भने सही बाटोमा ल्याउन सकिन्छ । एउटा चिनियाँ उखान छ – माछा कुहिन थाल्यो भने टाउकोबाट कुहिन थाल्छ । माथिबाट ठिक हुनासाथ तल पनि मिल्छ । यति समझदार जनता भएको देशमा धेरै कुरालाई ठिक ठाउँमा ल्याउन सक्छौँ,’ उनले भने । कर्मचारी र व्यापारीबीचको अविश्वासको वातावरणले पनि देशमा काम गर्न समस्या भएको वाग्लेले बताए । कर्मचारीले व्यापारी–उद्यमीलाई गाली गर्ने, चोर भन्ने अनि उद्यमी–व्यवसायीले पनि कर्मचारीलाई यी फटाहा हुन्, कहाँबाट लुट्न सकिन्छ, दोहन गर्न सकिन्छ भन्ने दृष्टिले हेर्ने । नेताहरुलाई पनि त्यही,’ उनले भने, ‘यो सबैले सबैमा जुन अविश्वासको वातावरण छ त्यसले गर्दा सकारात्मक, कोल्टे फेराउनेतिर सम्भव छ । तर, त्यो सबै कुराको सुरुवात राजनीतिक भिजन भएको नेतृत्व आयो भने हुन्छ ।’ पूर्वसांसद पौडेलले कर्मचारीलाई जिम्मेवार बनाउनुपर्ने बताइन् । कर्मचारीले काम नगरे दण्डित गर्ने व्यवस्था हुनुपर्ने बताइन् । । जुन नेतालाई गाली ग¥यो त्यसैलाई जिताएर जनता पनि केही हदसम्म जवाफदेही नभएको पौडेलको भनाइ थियो ।
पोखरा: नेपाललाई अन्तर्राष्ट्रिय समुदायमा, विशेषगरी भारतमा मादलको देश भनेर चिनाउने संगीतकार हुन् रञ्जित गजमेर। रञ्जित गजमेरको संगीतमा सजिएका नेपाली फिल्मी गीतहरु नेपाली स्रोताको पहिलो रोजाइमा पर्ने गीत हुन् । दैनिक सुने पनि मुम्बई बसेर काम गर्दै आएका उनलाई प्रत्यक्ष सुन्ने मौका बिरलै जुर्छ । पोखरामा जारी नेपाल लिटरेचर फेस्टिभलको तेस्रो दिन यस्तै दुर्लभ अवसर जुरेको छ । गजमेर विशेष कार्यक्रम ‘गीत रञ्जित’मा उनले झन्डै २५ वर्षपछि नेपाली स्टेजमा मादल बजाएको देख्न सुन्न पाइयो । उनले हम दोनो दो प्रेमी दुनिया छोड चले, मोहनी लाग्ला है जस्ता चर्चित गीतको धुन मादलमा घन्काए । वर्षौंपछि नेपाली स्रोतामाझ मादल बजाउने क्रममा उनका आँखासमेत रसाएका थिए । नेपाल लिटरेचर फेस्टिभलको बहानामा वर्षौंपछि पोखरा आउने मौका पाएँकोमा एकदम धेरै खुसी लागेको बताउँदै उनले भने, ‘धेरै वर्षपछि यसरी नेपाली बोल्ने मौका पाए । कत्ति वर्षदेखि नेपाली बोल्ने यस्तो मौका पाएको थिइनँ। बम्बैमा त घरबाट निस्केपछि अंग्रेजी बोल्नुपर्यो कि मराठी बोल्नुपर्यो। कि गुजराती कि हिन्दी बोल्नुपर्यो ।’ गजमेरको यो सेसन उनका चर्चित गीतहरुको सन्दर्भ वरिपरि केन्द्रित रह्यो। र, ती गीतहरु स्टेजमा गायक उज्वल सागरले गाए पनि । एकसेएक उत्कृष्ट गीतका संगीतकार रञ्जितले आफ्नो कुनै एक मात्र नेपाली गीत छान्नु पर्यो भने छान्ने गीत हो, झझल्को लिएर आएछ सावन । आशा भोसलेको स्वरमा सजिएको यो गीतको सन्दर्भ बताउँदै गजमेरले भने, नेपाली पिक्चरमा नेपाली गायिकाले नै गायो भने राम्रो हुन्छ भन्ने कुरा आयो । तुलसी घिमिरे, मेरो श्रीमती र मैले सोच्दाखेरी काठमाडौंबाट तारादेवी वा दार्जिलिंगबाट अरुणा लामालाई बोलाउनु पर्यो । उहाँहरुको प्लेन खर्च, होटल यो सबै हाम्रो बजेटले भ्याएन,’ उनले भने, ‘मेरो श्रीमतीले एक पल्टलाई आशा भोसलेलाई भनम् भनिन् । आरडी बर्मनलाई यो कुरा भन्दा आफैं आशालाई भन भन्नुभयो। मैले आशा दिदीलाई भन्दा दिदी एकदम खुसी भयो।’ बाँसुरी फिल्मकै मिर्मिरे साँझमा सिमसिमे पानी गीत पनि त्यो गीतसँगै रेकर्ड भएको उनले बताए। उनले खर्च जोगाउन दुबै गीत एकै दिन रेकर्ड गरिएको जानकारी दिए । मिर्मिरे साँझ उदित उदितनारायण झाको पहिलो गीत भएको पनि उनले बताए। उनले भने, ‘उहाँले मुम्बईमा माइक समातेर गाएको पहिलो गीत पनि यही हो ।’ नेपाली गीतको चर्चाको सिलसिलामा हम दोनो दो प्रेमी गीतको चर्चा पनि आइहाल्यो । उनले आफ्ना गुरुजी अर्थात् बोस आरडी बर्मनले नेपाली शैलीको गाना मागेपछि यही गीतको धुन मादल बजाएर सुनाएको स्मरण गरे। उनले भने, यो गीत रेलमा छायांकन हुन्छ। गीतमा मादल मादल तिमी मात्र बजाउनू अरु रिदम चाहिन्न । गितार हुन्छ अनि अनि रेलको छुकछुक आवाज पनि चाहिन्छ ।’ रेलको छुकछुक आवाजको कथा पनि भनिहाले, ‘हामी रंग लगाउँदा साइन पेपर लाउँछौं नि त्यो साइन पेपर च्यातेर मेरो एक साथीलाई छिकछिक गर्ने आवाज निकाल्न लगाइयो । मनोहरि सिंह दाइले बाँसुरी बजाउनुभयो। लता मंगेशकर र किशोरकुमारले गाएको गीतमा जितन अमान र राजेश खन्नाले अभिनय गरे । हिन्दीपछि महाकवि लक्ष्मीप्रसाद देवकोटाको कुन मन्दिरमा जान्छौ यात्री ? को पालो आयो । बाँसुदेव फिल्मका निर्देशक तथा पटकथाकार नीर शाहले यो गीतको प्रस्ताव गर्दा मैले भनेको थिएँ, ‘मैले महाकवि देवकोटाको कवितामा ट्युन गर्ने? घर आएर श्रीमतीसँग कुरा गरेपछि उनले यो त तपाईंको लागि चुनौती हो भनिन् । चुनौती लिनैपर्छ । गर्नैपर्छ ।’ मुम्बईमा ट्युन बनाएर मात्र गीत लेखिने तर पहिल्यै लेखिएको देवकोटाको कवितामा संगीत भर्न गाह्रो लागेको उनको भनाइ थियो । ‘पहिला छन्द मिलाउनुपर्छ हामीले । छन्द मिलाउने क्रममा यो तालमा हुन्छ कि, अर्को तालमा हुन्छ नमिलेर सात मात्रामा गरौं न त भनेर त्यसपछि मैले प्रयास गरेँ । ट्युन हाम्रो भूपाली रागजस्तो होस्, नेपाल टच या पहाडी राग होस् भनेर हाम्रो भूपाली रागमा गर्यौं ।’ कार्यक्रम सञ्चालक सिर्जना पोखरेलले रञ्जितकी दिवंगत पत्नी कुसुम गजरेलमा समर्पित गर्दै कार्यक्रम सुरु गरेकी थिइन्। कुराकानीका क्रममा गजमेरले कुसुमलाई स्मरण गर्दै आफ्नो संगीत यात्रा यहाँसम्म आइपुग्नुमा उनको ठूलो हात रहेको बताए । उनले भने, ‘जति पनि काम गरेँ अहिलेसम्म, जति पनि नाम भयो मेरो रञ्जित गजमेरले गरेको होइन । ममा भगवानको आशीर्वाद थियो र दार्जिलिंगदेखि काठमाडौं र काठमाडौंदेखि बम्बईसम्म गएर उहाँको आशीर्वादले भएको हो। र, यसको सम्पूर्ण श्रेय मेरी श्रीमतीलाई दिन्छु । भए हुन्छ नभए फेरि फर्कौंला । उनको जोडले हामी बम्बै पुगेको हो । मेरी श्रीमती र भगवान पशुपतिनाथ र तपाईंहरु सम्पूर्ण नेपाली जनताले जो प्यार, माया दिनुभयो । त्यो नै सबैभन्दा ठूलो कुरा हो मेरो लागि ।’
पोखरा: भारतकै चर्चित कम्पनी हाउस अफ इण्डियाको फ्याबल्ली र इण्डिया ब्राण्डको नेपाल फ्रेन्चाइज पोखरामा शुरु हुने भएको छ । नेहा थापा भट्टराईले पर्यटकिय क्षेत्र लेकसाइडबाट नेपालकै पहिलो फ्रेन्चाइज शाखाको रुपमा आइतबारदेखि यसको औपचारिक शुरुवात गर्न लागेकी हुन् । सिवानी पोदारले सन् २०१६ मा भारतको नोयडा दिल्लीबाट यो ब्राण्डको शुरुवात गरेकी थिइन् । यसले भारतको ट्रेडिशनलदेखि नयाँ पुस्तासम्मलाई समेटने मोर्डन ड्रेसको उत्पादन तथा विक्री गर्दै आएको छ । ‘कम्पनीले रेडिमेड साडी, लेहेंगा, कुर्थीदेखि नयाँ पुस्ताको रोजाइमा पर्ने विभिन्न प्रकारका पहिरनको उत्पादन गर्दछ, जुन उत्पादनले नेपाली ग्राहकको मन पनि जित्दै आएको छ’–नेहा थापाले भनिन् । विगत लामो समयदेखि नेपालमा यसको फ्रेन्चाइज खोल्नका लागि कम्पनी समक्ष अनुरोध गर्दै आएपनि हालै आएर मात्र कम्पनीले आफुलाई यसको फ्रेन्चाइज अधिकार दिएको उनले बताइन् । झण्डै डेढ करोडको लगानीमा यसको शुरुवात गरिएको उनका श्रीमान कञ्चनबहादुर भट्टराइले जनाए । पोखरामा बुटिक आइटमको माग बढ्दै गएको अवस्थामा यो प्रोडक्ट पोखरेलीहरुको रोजाइमा पर्ने उनको विश्वास छ । विवाह,पार्टी अथवा कुनै समारोहमा जानका लागि महिनौं अघिदेखि बुटिक धाउन नपर्ने र कमै खर्चमा चाहे जस्ता विभिन्न डिजाईनका पहिरनहरु सहजै उपलब्ध हुने उनले बताइन् । अनलाइनमार्फत पनि यसको खरिद बिक्री हुने थापाले जानकारी दिइन् । थाइल्याण्डको ए.आइ.टी.स्कुल अफ म्यानेज्मेण्टबाट एमबीए गरेकी थापालाई यसको फ्रेन्चाइज दिन पाउँदा खुसि लागेको कम्पनीका फाउण्डर सिवानी पोदारले बताइन् । हामीले नेपालमा पनि यसको शाखा विस्तार गर्न चाहान्थ्यांै, धेरैले हामीसंग प्रस्तावन पनि गरे, तर हामीले सक्षम सम्झिएर थापालाई यसको अधिकार दियौं’–सिवानीले भनिन् । देशका विभिन्न शहरहरुमा यसको शाखा विस्तार गरिने नेहाले बताइन् । ‘छिट्टनै काठमाण्डौमा अर्को शाखा विस्तार गर्नेछौं, पाँच वर्ष भित्र देशका अन्य ठूला तीन शहरहरुमा शाखा खोल्नेछौं’–थापाले भनिन् ।

