पोखराः पोखरा– १४ छिनेडाँडाकी कृतिका तामाङ्ग अहिले दश जोड दुईमा अध्ययनरत छिन् । मिस तामाङ्ग पोखरा २०२३ की प्रतियोगीका रुपमा उनले यो पटक भाग लिएकी हुन् । तामाङ्ग भएर पनि तामाङ्ग समुदायको विषयमा थाहा नपाउँदा आफूलाई निकै खिन्नता महसुस गर्ने उनी आफ्नो समुदायको भाषा, संस्कार र संस्कृतिका बारेमा बुझ्न मिस तामाङ्ग पोखरामा सहभागी हुन आइपुगेकी हुन् । मिस तामाङ्ग पोखराका अर्का प्रतिस्पर्धी सुमिता तामाङ्ग पोखरा सराङ्गकोट निवासी हुन् । भर्खरै व्यवस्थापन संकायमा दश जोड दुई सकेकी सुमिता आफ्नो प्रेरणा तथा साहसको प्रतिकका रुपमा आमालाई मान्छिन् । आत्मविश्वासी बन्न चाहने सुमितालाई मिस तामाङ्ग पोखरामा सहभागी भइसके पछि आफ्नो समुदायको बारेमा धेरै विषयहरुमा जान्न पाएकोका खुसी लागेको छ । मिस तामाङ्ग पोखराका अर्का प्रतिस्पर्धी रेनुका तामाङ्ग पोखरा २७ रिठेपानीमा बस्छिन् । भर्खरै सुनकोशी माविबाट दश जोड दुइको अध्ययन पुरा गरेकी रेनुका पेशागत रुपमा एक शिक्षिका पनि हुन् । उनले ओखलढुङ्गाको श्री सुनकोशी माविमै अध्यापन गराउछिन् । आफ्नो आमाको प्रेरणाको कारण उनि मिस तामाङ्ग पोखरामा सहभागी हुन आइपुगेकी हुन् । उनले प्रतियोगितामा सहभागि भए पछि तामाङ्ग समुदायको बारे आफुले थाहा नपाएको इतिहास देखि आज सम्मका विषयमा जानकारी पाएकोमा दंग छिन् । पछिल्लो युवा पुस्तालाई कला, संस्कृतिको जर्गेनाका लागि सघाउने उद्देश्यले समाजले प्रतियोगिता आयोजना गर्दै आइरहेको बैदाम तामाङ सेवा समाजका अध्यक्ष ज्याक तामाङ्गले बताए । बढ्दो आधुनिकता सँगै आफ्नो संस्कार र संस्कृतिबारे युवा पुस्ताको चासो कम हुँदै गएकाले तामाङ्ग समुदायको संस्कृति जर्गेना गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको संयोजक राम लामाले जानकारी दिए । मिस तामाङ पोखराको ग्राण्ड फिनाले माघ १ गते हुने भएको छ । बैदाम तामाङ सेवा समाज पोखराको आयोजनामा हुने प्रतियोगिताको ग्राण्ड फिनाले पोखरा सभागृहमा आँउदो आइतबार हुने भएको समाजका अध्यक्ष ज्याक तामाङ्गले जानकारी दिए । सातौं संस्करण प्रतियोगितामा लक्ष्मी तामाङ्ग, रेनुका तामाङ्ग, अर्विना तामाङ्ग, जुना तामाङ्ग, निशा तामाङ्ग, विकिता तामाङ्ग, सुप्रिया तामाङ्ग, योगिता तामाङ्ग, आकृति तामाङ्ग, विपना तामाङ्ग, मनिषा तामाङ्ग, जिना तामाङ्ग, सुमित्रा तामाङ्ग, कृतिका तामाङ्ग र रोश्मा तामाङ्ग प्रतियोगीका रुपमा सहभागी छन् । प्रतियोगिताको विजेताले नगद १ लाख रुपैयाँ पुरस्कार, ताज, ट्रफी, फस्ट रनरअपले नगद ५० हजार रुपैयाँ सहित ताज, ट्रफी, प्रमाणपत्र प्राप्त गर्नेछन । त्यस्तै सेकेण्ड रनरअपले नगद ३० हजार रुपैयाँ पुरस्कार, ताज, ट्रफी, प्रमाणपत्र हात पार्नेछन् । भ्युवर्स च्वाइसका रुपमा एकजनाले नगद २० हजारले पुरस्कार प्राप्त गर्ने कार्यक्रम संयोजक राम लामाले जानकारी दिए । कार्यक्रमबाट बचत रकम लेकसाइडमा समाजले निर्माण गरेको रिन्छिङ तोर्जेत तामाङ शान्ति गुम्बा सहयोगार्थ खर्च गरिने समाजका अध्यक्ष ज्याक तामाङले बताए । ग्राण्ड फिनालेमा कालो चश्मा गीतका चर्चित गायिका तथा कलाकार डोल्मा ह्याल्मोले गीत गाउने छन् । कार्यक्रम गण्डकी प्रदेशको मुख्य मन्त्री खगराज अधिकारीको प्रमुख आतिथ्यतामा हुने आयोजकले जनाएको छ । कलाकार तथा बरिष्ठ पाइलट विजय लामा कार्यक्रमको आकर्षण रहने छ ।
पोखराः पोखराको अमरसिंह चौरमा जारी एघारौं पोखरा महोत्सवमा महोत्सवको अवलोकनसंगै दर्शकहरुले टिकटक बनाएर पुरस्कार जित्ने अवसर आयोजकले ल्याएको छ । महोत्सव अवलोकनमा आएका दर्शकहरुले महोत्सव स्थल प्रवेश गरेपछि जुनसुकै स्थानमा टिकटक बनाउन सक्नेछन । दर्शकहरुले कुनैपनि गीतमा टिकटक बनाएर #2079PM राखेर भिडियो अप्लोड गर्नुपर्ने छ । सर्वाधिक भ्युज आउने भिडियोलाई पुरस्कार प्रदान गरिन प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए । महोत्सव स्थल भित्र टिकटक बनाउनका लागि आयोजकले टिकटक निर्माणका लागी सजावट गरी विभिन्न स्थानमा टिकटक स्पट समेत निर्माण गरेको छ । टिकटक माघ ८ गते सांझ ४ बजे सम्म अपलोड गरिसक्नुपर्नेछ । टिकटकका सर्वाधिक भ्युज आउने टिकटकलाई प्रथम पुरस्कार नगद ३० हजार र दोस्रो पुरस्कार २० हजार प्रदान गरिने समेत प्रचार प्रसार संयोजक सुनारले जानकारी दिए । पोखरा महोत्सवले टिकटकमा सामाजिक सन्देशमुलक भिडियोहरु अपलोड गराउने र टिकटकबाट मनोरन्जनसँगै टिकटक चलाएर पुरस्कार समेत पाइन्छ भन्ने प्रस्ट्याउन पनि प्रतियोगिताको आयोजना गरिएको हो । तेस्रो दिन सम्म आइपुग्दा महोत्सवमा दर्शकको आर्कषण बढीरहेको छ भने ब्यापार समेत बढेको महोत्सवका अर्थ ब्यवस्थापन उपसमितिका संयोजक सूर्य बहादुर बानियाले बताए । महोत्सवमा विशेष गरी जाडो यामका सामाग्रीको बिक्री वितरण र घरायसी सामाग्रीहरुको बिक्री वढेको बानियाले जानकारी दिए । महोत्सवमा शुक्रबार लोकदोहोरीतर्फ चन्द्र शर्मा, जीवन दाहाल, कुमार पुन, शिवहरी ढुंगाना, लक्ष्मी नेपाली, इन्द्रा गुरुङ, केशव देवकोटा, रचित पौडेल, तुलसा जिसीको प्रस्तुती रहेको थियो । भने साँझको लाईभ ब्याण्ड तर्फ अभय एण्ड द स्टीम इन्जीन्सको प्रस्तुती मार्फत युवाहरुले मनोरन्जन लिएका थिए । महोत्सवमा शनिबार लोकदोहोरी तर्फ प्रकाश सपुत, जीवन दाहाल, शिवहरि ढुंगाना, राजन कार्की, निशा पोख्रेल, परशुराम अधिकारी, बसन्ती थापा, सुमन केसी, तुलसा जिसीको प्रस्तुती रहनेछ भने साँझ लाइभ कन्सर्टमा लाहुरेको प्रस्तुती रहने छ ।
पोखराः पोखराको अमरसिंह चौरमा जारी एघारौं पोखरा महोत्सवमा पोखरामा निर्माणाधिन चिडियाखानाको अवलोकनको लागि निःशुल्क बसको ब्यवस्था गरेको छ । महोत्सवमा आउने दर्शकले टिकट काटेर महोत्सवको अवलोकन संगै महोत्सव स्थलबाट दिउसो एकबजे र चार बजे गरी दुई सिफ्टमा निशुल्क बस सेवा उपलब्ध गराइएको महोत्सवका प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए । महोत्सव प्रवेश टिकटपछि दर्शकले निशुल्क रुपमा बस सेवाको उपलब्ध गराउने र चिडियाखाना पुगेपछि भने दर्शकले टिकट काट्नुपर्नेछ । चिडियाखाना अवलोकनको लागि विद्यार्थीलाई १५ र सर्वसाधारणका लागि २५ रुपैया टिकट लाग्ने समेत प्रचार प्रसार संयोजक सुनारले बताए । युनाइटेड क्लबले महोत्सवको आयोजना गरी शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटन प्रवद्र्धनका लागि पोखरामा खुल्ला चिडियाखाना निर्माणको पहलकदमी थाल्दै आएको र एघारौं संस्करणको पोखरा महोत्सव सम्म आइपुग्दा चिडियाखाना निर्माणको कार्य तीब्र गतिमा बढिरहेको छ । चिडियाखाना अवलोकनमा जाने दर्शकहरुले निलगाइ, हुचिल, इजिप्सियन भल्चर, मृग, बांदर लगायतका जीवजन्तुहरुको अवलोकन गर्न पाउनेछन । महोत्सवको दोश्रो दिन दर्शकहरुको उल्लेख्य सहभागिता रहेको समेत प्रचार प्रसार संयोजक सुनारले जानकारी दिए । महोत्सवमा बिहीबार दर्शकहरुलाइ लोकदोहोरीतर्फ पुरुषोत्तम न्यौपाने, जीवन दाहाल, बबिता बानिया (जेरी), शिवहरी ढुंगाना, कृष्ण सुवेदी, जीवन सिग्देल, प्रदिप त्रिपाठी, दुर्गा क्षेत्री, तुलसा जि.सी. नवराज अधिकारी लगायतले लोकदोहोरी मार्फत मनोरन्जन प्रदान गरेका थिएभने हास्य ब्यङ्ग्य तर्फ कमेडियन जादुगर दिपक थापा मगरले दर्शकहरुलाई भरपुर मनोरन्जन प्रदान गरेका थिए । सांझको कन्सर्ट तथा लाईभ ब्याण्ड तर्फ द स्क्रयाच जर्नीको प्रस्तुती बाट युवाहरुले मनोरन्जन लिएका थिए । महोत्सवमा शुक्रबार लोकदोहोरीतर्फ चन्द्र शर्मा, जीवन दाहाल, कुमार पुन, शिवहरी ढुंगाना, लक्ष्मी नेपाली, इन्द्रा गुरुङ, केशव देवकोटा, रचित पौडेल, तुलसा जिसीको प्रस्तुती रहनेछभने सांझको लाईभ ब्याण्ड तर्फ अभय एण्ड द स्टीम इन्जीन्सको प्रस्तुती रहने प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए ।
पोखराः लामा अमृत फाउण्डेशन घान्द्रुकद्धारा निर्माण गरेको घान्द्रुकको (कोँड नाश) वृत्तचित्र बेलायतमा प्रदर्शन हुने भएको छ । ब्रेजमेश्रो फिल्म प्रोडक्शन घान्द्रुकको ब्यानरमा निर्मित वृत्तचित्र घान्द्रुक समाज बेलायतको आयोजनामा माघ १ (जनवरी १५ तारिख)मा बेलायतको एम्पाएर हल एल्डरशटमा प्रदर्शन हुने लामा अमृत फाउण्डेशनका संस्थापक अमृत गुरुङले जानकारी दिए । ‘घान्द्रुकमा पहिलो प्रदर्शन गरेको वृतचित्रलाई देशको प्रमुख शहरहरु पोखरा, काठमाडौं लगायतका स्थानमा प्रर्दशन गरिएको छ, गुरुङले भने, ‘कास्कीको पर्यटकीय क्षेत्र घान्द्रुक लगायत विभिन्न क्षेत्रमा निर्माण भएको वृत्तचित्रलाई पहिलो पटक बेलायतमा प्रदर्शन गर्दै छौं, बेलायतपछि हङकङ, जापान लगायतका देशका शहरमा प्रदर्शन गर्ने तयारीमा छौं ।’ लामा अमृत फाउण्डेशन घान्द्रुकका अमृत गुरुङले निर्माण गरेको उक्त वृत्तचित्रमा सन्तोष कोन्मेको निर्देशन, जितेश प्रधान र युनिश गुरुङको लेखन, शिव मुखियाको संगीत र सञ्जय मल्लको आवाजले सिगारिएको छ । भने बार डिजिटल पोखरामा रेकर्ड गरिएको हो । उक्त वृत्तचित्रमा तमु समुदायसँग सम्बन्धित संस्कृति त्यसैगरी प्राकृतिक सौन्दर्यता तथा कास्कीको उत्तरी भेगमा रहेको पर्यटकीय गाउँ घान्द्रुक आसपासको रहनसहन भेषभुषा तथा कला संस्कृतिलाई चित्रण गरिएको छ ।
पोखरा: पोखरा महानगरपालिका ४ फिर्केपुलमा (बुधबार) मोटरसाइकल दुर्घटना हुँदा दुईजना घाइते भएका छन् । पोखरा बागलुङ सडकखण्ड अन्तरगत पर्ने पोखरा ४ फिर्केपुलमा मोटरसाइकल दुर्घटना हुँदा बागलुङका मनिष नेपाली र बाजुराका सुरज बुढा घाइते भएको जिल्ला ट्राफिक कार्यालय कास्कीका सूचना अधिकारी शिव पाठकले जानकारी दिए । ‘बुधबार राति फिर्के खोला पुलमा मोटरसाइकलस अनियन्त्रित हुँदा से ७ प ५२०३ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा दुईजना घाइते छन्, सूचना अधिकारी पाठकले भने, दुईजना नै सामान्य घाइते छन्, अहिले मेट्रोसिटी अस्पतालमा उपचार भइरहेको छ ।’ सूचना अधिकारी पाठकका अनुसार मोटरसाइकलका चालक सुरज बुढाले मापसे गरेको खुल्न आएको छ । पोखरा बागलुङ सडकखण्ड अन्तरगत पर्ने फिर्के खोला पुलमा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको सूचना अधिकारी पाठकले जानकारी दिए ।
पोखरा: पोखरा महानगरपालिका वडा नं –१५ ले वडा स्तरीय वृहत खेलकुद महोत्सवको आयोजना गरेको छ । पोखरा १५ स्थित वन विज्ञान अध्ययन संस्थानको खुल्ला चौरमा आजदेखि खेलकुद महोत्सवको आयोजना गरिएको हो । खेलकुद महोत्सवमा महिला तथा पुरुष भलिबल, पुरुष फुटबल, अन्तर विद्यालय स्तरीय फुटबल, महिला, पुरुष दौड, आमा समूह बिच रस्साकस्सी खेल लगायत फरक शारीरिक क्षमता भएका व्यक्तिहरू बिच बास्केटबल र ह्विलचियर दौड प्रतियोगिता सञ्चालन हुनेछ । खेलकुद महोत्सवबारे जानकारी दिँदै वडा अध्यक्ष तोरण बहादुर बानियाँले वडावासी नागरिकमा आपसी मेलमिलाप, भाइचारा, तथा सहयोगको भावना जगाउनुका साथै नागरिकको स्वास्थ्यको लागि खेलकुदले महत्त्व राख्ने हुँदा खेलकुद महोत्सवको आयोजना गरिएको बताए। उनले वडाले लिएको नीति अनुरूप अब भौतिक पूर्वाधारको विकासले मात्र मानवीय विकास नहुने भन्दै त्यसका लागि नागरिकहरू पनि शारीरिक र मानसिक रूपमा स्वस्थ हुन आवश्यक रहेको भन्दै खेलकुदलाई पनि प्राथमिकता दिइएको प्रतिक्रिया दिए। बानियाँले खेलकुद महोत्सवमा सहभागिता जनाउने टिम धेरै भएकाले समयमै सम्पन्न गर्नका लागि आज (बुधवार) देखि प्रतियोगिता सञ्चालन गरिएको जानकारी दिए । यस्तै, कार्यक्रम संयोजक आशिष भण्डारीले खेलकुद महोत्सवमा वडावासी नागरिकको उत्साहपूर्ण सहभागिताले आफूहरूलाई पनि खुसी र थप जिम्मेवार बनाएको प्रतिक्रिया दिए। उनले खेलकुद महोत्सवमा झन्डै एक हजार जनाले विभिन्न खेल मार्फत सहभागिता जनाउन लागेको दाबी गर्दै प्रतियोगितालाई सफल र विवादरहित बनाउनका लागि आयोजकको तर्फबाट सम्पूर्ण तयारी चुस्त दुरुस्त पारिएको बताए। भण्डारीका अनुसार अन्तर क्लब फुटबलमा १७ टोली, अन्तर विद्यालय स्तरिय ८, महिला भलिबलमा ११, पुरुष भलिबलमा ९, रस्साकसीमा १७ टिमले भाग लिएका छन् । त्यस्तै ४० वर्ष माथिका महिला दौडमा ७१ जना, ५० वर्ष माथिको पुरुष दौडमा २६ जना तथा फरक क्षमता भएकाहरूको बास्केट बल प्रतियोगितामा २० जना खेलाडीले सहभागिता जनाउनेछन् । यस्तै, खेलकुद महोत्सव अन्तर्गत आज पुरुष फुटबलमा ६ खेल र भलिबलमा ५ खेल खेलाइएको छ। आज भएको प्रतिस्पर्धामा पुरुष फुटबल तर्फ ठुली मजुवाले मिलन शान्ति टोललाई १–० गोल, सानी मजुवाले तल्लो सिमल बोट मार्गलाई ३–० गोल, फलेपाटनले निर्मल टोललाई ३–२ गोल, प्रतिभा मार्गले बेलबटोलाई ४–१ गोल, तल्लो नयाँ गाउँले गण्डकी रिभर साइडलाई २–० गोल र जना जागृतिले अलकापुरलाई ३–० गोल अन्तरले पराजित गरेको छ । यस्तै भलिबलतर्फ गलेश्वरले दुई आजै खेल खेल्दै नयाँ गाउँ र जनशक्ति टोललाई पराजित गरेको छ भने, अलकापुरले बेलबोट, तल्लो नयाँ गाउँले प्रतिभा मार्ग र लक्ष्मी टोल विकासले ठुली मजुवालाई पराजित गरेको छ । भोलिको खेलमा पनि पुरुष फुटबल तथा पुरुष महिला भलिबल, आमा समूह दौड, रस्साकस्सी लगायतका प्रतियोगिता सञ्चालन हुनेछन् । खेल पौष ३० गतेसम्म सञ्चालन हुनेछ ।
पोखराः पोखरा महानगरपालिकाको १२ औं नगरसभा अर्को सूचना नआएसम्म स्थगित भएको छ । पोखरा सभागृहमा आजदेखि सुरुभएको नगरसभामा नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुले नगरसभाको उद्घाटनपछि नगरसभाको विषयवस्तु भन्दा बाहिर एमालेले विषय उठाएको भन्दै नगरसभा बहिष्कार गर्दै बाहिरिएका थिए । पोखरा महानगरपालिका २४ का वडाध्यक्ष भरतबहादुर अधिकारीलाई कारवाहीको माग गर्दै नगरसभामा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुले विरोध गरेका थिए । जातीय विभेदका आरोपित वडाध्यक्षलाई कारवाही माग गर्दै एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुले नगर सभामा विरोध गरेका हुन । आरोपित वडाध्यक्ष अधिकारी प्रहरी नियन्त्रणमा रहेका छन् । कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरु सभाबाट बाहिरिएपछि पोखरा महानगरपालिकाको नगरप्रमुख धनराज आचार्यले अर्को सूचना नआएसम्म नगरसभा स्थगित भएको जानकारी गराएका थिए ।
पोखराः पोखरा महानगरपालिकाको १२ औं नगरसभा अवरुद्ध भएको छ । नगरसभाको उद्घाटनपछि नगरसभाको विषयवस्तु भन्दा बाहिर एमालेले विषय उठाएको भन्दै नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुले जारी सभा बहिष्कार गरेको हो । उद्घाटनसत्र पछि गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सभामा सम्बोधन गरेपछि नगरसभाको उद्घाटन सत्र सकिएको छ । मुख्यमन्त्रीले सम्बोधन गर्ने क्रममा कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि बाहिरिएका थिए । पोखरा महानगरपालिका २४ का वडाध्यक्ष भरतबहादुर अधिकारीलाई कारवाहीको माग गर्दै नगरसभामा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुले विरोध गरेका थिए । जातीय विभेदका आरोपित वडाध्यक्षलाई कारवाही माग गर्दै एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुले नगर सभामा विरोध गरेका हुन् ।
पोखराः एघारौं पोखरा महोत्सवको सम्पूर्ण तयारी पुरा भएको छ । आयोजक युनाईटेड क्लबले सोमबार पत्रकार सम्मेलनको आयोजना गरी आगामी पुषको २७ देखी माघको ९ गते सम्म पोखराको अमरसिंह चौरमा आयोजना हुने एघारौं संस्करणको महोत्सवको सम्पूर्ण तयारी पुरा भएको जनाएको हो । एघारौं पोखरा महोत्सवको आम्दानीबाट पोखराको बीच भागबाट बग्ने सेनी नदी खोंचलाई एक साहसिक पर्यटकीय गन्तब्य निर्माण र युनाईटेड क्लबको आफ्नै जग्गा पोखरा २६ अर्चलेमा गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई लक्षित गरी निशुल्क शिक्षा प्रदान गर्ने गरी आवाशीय छात्राबास निर्मालाई जोड दिइने क्लबका अध्यक्ष राजु श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार क्लबले लिएको शिक्षा, स्वास्थ्य, खेलकुुद, पर्यटन प्रवद्र्धन र सेती नदी संरक्षणलाई निरन्तरता दिइने छ । महोत्सवमा प्रत्येक टिकटबाट एक रुपैया सेती नदी संरक्षणको लागि छुट्याइने छ । १३ दिन सम्म सञ्चालन हुने महोत्सवमा २ सय ५८ स्टल रहने र दुई देखी दुईलाख पचास हजार दर्शकले महोत्सवको अवलोकन गर्ने आयोजकले जनाएको छ । महोत्सवले देशको कला, संस्कृति, भेषभुषाको संरक्षण, शिक्षा, स्वास्थ्य, खेलकुद तथा पर्यटनको विकास गरी देशलाई समृद्धि तिर पु¥याउनेु, विकसित सुचना प्रविधिको जानकारी सर्वसाधारण समक्ष पु¥याउने, गण्डकी प्रदेशमा रहेका पर्यटकीय स्थानको बारेमा जानकारी दिदै आन्तरिक तथा बाह्य क्षेत्रमा उत्पादित वस्तुहरुको बजार सहजीकरण गराउने, सवै कलाकारहरुको प्रतिभा प्रस्फुटनमा सहयोग पु¥याउने, आर्थिक चलायमान गराई रोजगार सिर्जना गराउने, क्षेत्रगत बिकासमा टेवा पु¥याउने र उद्योगको प्रवद्र्धन गर्ने उद्देश्य लिएको क्लबका महासचिव तथा महोत्सव प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए । महोत्सवमा विभिन्न जाति, जनजातिका कला संस्कृतिको प्रदर्शनी, औधोगिक उत्पादनको प्रदर्शनी एवं बिक्री, हस्तकला सामानहरुको प्रदर्शनी एवं बिक्री, सूचना प्रविधीहरुको प्रदर्शनी एवं जानकारी, ब्यवशायीक संघ संस्थाहरुको सेवा बारे जानकारी, स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय उपभोग्य बस्तुहरुको प्रदर्शनी तथा उचित मुल्यमा बिक्री वितरण , पर्यटन प्रवद्र्धनका सामाग्रीहरुको प्रदर्शनी एवं जानकारी, पोखरा लगायत विभिन्न पर्यटकीय स्थलहरुको जानकारी, सामाजिक संस्थाहरुको परिचयन एवं जानकारी, नेपाली संस्कृति झल्कने नृत्य प्रस्तुती संगै कृषिका गतिविधीहरु सञ्चालन हुनेछन । महोत्सवको आकर्षणमा लोकदोहोरी तर्फ बद्री पंगेनी, प्रजापति पराजुली, पुरुषोत्तम न्यौपाने, पशुपति शर्मा, रामजी खांड प्रिति आले, चोलेन्द्र पौडेल, ज्योती मगर, राजु परियार, चिज गुरुङ, अस्मिता डल्लाकोटी, कृष्ण अखेली, आलिफ खान लगायत स्थानिय कलाकारहरुको प्रस्तुती रहनेछभने कन्सर्ट तर्फ मन्त्र, लाहुरे, सविन राई एण्ड द फेरोह, छेवाङ लामा, भिटेन, मेलिना राई, दिक्षिता कार्की, झिल्के एण्ड द कम्पनी, अनुप्रस्था, अभय एण्ड द स्टीम इन्जीन्स, एएसएम र लोकल ब्याण्डहरुको प्रस्तुती रहने छ । त्यसैगरी हांस्य ब्यङ्ग्य प्रस्तुती, नेपाली संस्कृति झल्कने प्रस्तुती, बाल उद्यान, विद्यालय स्तरिय लोक नृत्य प्रतियोगिता, झांकी प्रदर्शनी लगायत विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरु रहने प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए । त्यसैगरी थप आकर्षणमा घोड सवार, चिडियाखाना अवलोकनको लागि सवारीको ब्यवस्था, भिआर नाइन डी, टिकटक प्रतियोगिता र विभिन्न मनोरन्जनका कार्यक्रमहरु हुनेछन । एघारौं संस्करणको पोखरा महोत्सवको मुख्य प्रायोजक रवि एण्ड सन्नी इण्डष्ट्रिज प्रालिको बेट्टर होम एपलाएन्सेस, प्रायोजकहरुमा रारा तयारी चाउचाउ, योकोहामा जापानिज ल्याङ्ग्वेज एण्ड ट्रेनिङ कन्सल्टेन्सी, वण्डर स्वीच एण्ड एससोरिज, युएनआइ एक्सपर्ट एलईडी लाइटिङ, युनाईटेड युथ सर्कल युएसए, सिजी हार्डवेयर एण्ड सप्लायर्स, स्काईलिंक टेक्नोलोजी, फिस्टेल ड्रिमपार्क रहेको छ । त्यसैगरी अफिसियल बैंकमा ग्रीन डेभलपमेन्ट बैंक, अफिसियल पानीमा एक्वा रिउस पानी, अफिसियल इन्टरनेटमा वल्र्डलिंक कम्युनिकेशन प्रा.लि. आफिसियल इन्स्योरेन्समा सगरमाथा इन्स्योरेन्स रहेको छ,भने प्रवद्र्धकमा नेपाल टुरिजम वोर्ड र विशेष सहयोगी संस्थामा पोखरा महानगरपालिका, अमरसिंह मावि रहेको छ । त्यसैगरी सहयोगी संस्थामा युथ कम्युनिटी क्लव रहेको छ । त्यसैगरी मिडिया पार्टनरहरुमा एबीसी न्युज टेलिभिजन, फेवा टेलिभिजन, समाधान राष्ट्रिय दैनिक र एभरेष्ट एफएम ९३ मेघाहर्ज रहेका छ । महोत्सवमा शारिरीक अशक्त, बृद्धबृद्धा, एकल महिला, विदेशी पर्यटक, पत्रकार, ६ वर्ष मुनिका वालवालिका र सुरक्षाकर्मी (पोषाक सहित) हरुलाइ निः शुल्क प्रवेश गराइने छ । महोत्सवको गण्डकी प्रदेशका नव निर्वाचित गण्डकी प्रदेशको मुख्यमन्त्री खगराज अधिकारीले बुधवार उद्घाटन गर्ने आयोजकले जनाएको छ ।

