पोखरा: हल्ट प्राइज पोखरा विश्वविद्यालयले दर्ता टीमलाइ तालिम सूरु गरेको छ। बुधबार भर्चुअल रुपमा प्रथम पटक तालिम भएको हो । तालिम रिडिजाइनिङ्ग फेसनको बारेमा रहेको थियो । भने प्रशिक्षकका रुपमा पाकिस्तानका इंटरपेनर इब्तिसम बाबर रहेका थिए। अबको दोस्रो तालिम पौसको २४ गते हुने भएको छ। विद्यार्थीहरूका लागि नोबेल पुरस्कार मानिने यस प्रतियोगिता एक सामाजिक उद्यमशीलता प्रतियोगिता हो ।
कास्की: नेपालकै तेस्रो अन्तरराष्ट्रिय विमानस्थलको रुपमा पोखरामा नयाँ विमानस्थल जनवरी १ देखि सुचारु छ । तत्कालका लागि अन्तरराष्ट्रिय उडान भर्न नसकेको सो विमानस्थलले आन्तरिक उडान भने भर्दै आएको छ । विमानस्थल सञ्चालनको पूर्वसर्तका रुपमा पोखरा महानगरपालिका २६ को रिठेपानी डाँडा कटान र पोखरा १४ को ल्याण्डफिल साइट थियो । हाललाई विमानस्थललाई आवश्यक रिठेपानी डाँडाको कटान भइसकेको छ भने पोखरा महानगरपालिका ल्याण्डफिल साइटको व्यवस्थापनमा लागिरहेको छ । महानगरपालिकाको १० औं बैठकले पोखरा ३२ लामेआहालमा तीन महिनाका लागि फोहोर व्यवस्थापन गर्ने निर्णय गरेपश्चात काम भइरहेको छ । र पहिले प्रयोगमा रहेको पोखरा १४ को बाच्छेबडुवामा फोहोर लाने कार्य बन्द गरिसकेको छ । यद्यपी नयाँ विमानस्थल परिसरमा चरा तथा चिलहरुले व्यापक गतिविधि बढाइरहेको छ । तिनै चरा र चिलहरुकै कारण जहाजको उडान र अवतरणमा जोखिम बढिरहेको छ । त्यसैले यतिबेला विमानस्थलले ‘बर्ड स्केयरिङ डिभाइस गन’ पड्काउदै प्लेन उडाउदै आएको छ । स्थानीयबासीले बताए अनुसार विमानस्थल सञ्चालनमा आएदेखि दैनिक ४०–५० पटकसम्म बन्दुक पड्केको जस्तो आवाज आउने गरेको छ । तर उक्त आवाज बन्दुकको नभई बर्ड स्केयरिङ डिभाइस (गन) को रहेको विमानस्थलका प्रबन्धक तथा प्रवक्ता अनुप जोशीले बताए । ‘हरेक विमानस्थलमा बर्ड स्केयरिङ डिभाइस हुन्छ, सुनगाभा न्यूजसँग जोशीले भने, ‘रनवेमा चराहरु आएको खण्डमा धपाउनका लागि त्यो डिभाइस प्रयोग गरिन्छ ।’ उनका अनुसार चरा धपाउनका लागि विमानस्थलमा छुट्टै टोली नै खडा गरिएको हुन्छ । ‘चराले पहिलेको एयरपोर्टमा पनि डिस्टर्ब त गथ्र्याे नै अहिलेपनि यहाँ अलिअलि गरिरहेछ । त्यसको लागि चरा धपाउने स्पेसलिष्ट छन् त्यसैगरि दुई जना शिकारीहरु पनि छन्, उनले भने, ‘चरा भगाउनका लागि आवाज आउने सिस्टम छ । त्यसलाई बर्ड स्केयरिङ डिभाइस (गन) भनौ न । त्यही प्रयोग भइरहेको हो । त्यसको लागि हामीसँग एयर साइड भन्ने टोली नै छ ।’ उनले नेपालका विभिन्न विमानस्थलमा सो प्रकारको सिस्टम हुने गरेको बताए । ‘यस्तो प्राक्टिस नेपालको सबै विमानस्थलमा छ । चराहरु, वन्यजन्तु र स्यालहरु त आउन सक्छन नि त्यसैले तिनलाई धपाउने, पट्रोलिङ गर्ने सबै एयरपोर्टमा हुन्छ । यहाँ पनि त्यही नै प्राक्टिस छ ।’ जोशीले भने । जोशीले विमानस्थलमा यस्तो गनको प्रयोग सामान्य बताएपनि पुरानो विमानस्थलमा यसको खासै प्रयोग थिएन । तर नयाँ विमानस्थलमा भने गन नपड्काई विमान अवतरण र उडान गर्न कठिन देखिएको छ । धावनमार्गको आकाशमाथि सामान्यतयः आधा दर्जन बढी चिल र कागहरु उडिरहेका देखिन्छन् । उक्त क्षेत्र पहिले गिद्धको बासस्थान भएको त्यहाँबाट विस्थापितहरुले बताए । करिब ४ दशकपछि गौरवको योजना अन्तरगत पोखरेलीले पाएको अन्तरराष्ट्रिय विमानस्थलको निर्माण चिनियाँ कम्पनी सिएएमसीले करिब २२ अर्बको लागतमा फोरडी मोडलको निर्माण गरेको हो ।
पोखराः सहारा क्लब पोखराले आयोजना गरेको २२ औं आहा ! रारा पोखरा गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ । आज (मंगबार) पोखरा रंगशालामा भएको अन्तिम क्वाटरफाइनल खेलमा मनाङ मस्याङ्दी क्लबलाई पराजित गर्दै अमेरिकी टिम भुटनिज युथ स्पोट्स क्लब बीवार्ईएससी जित निकाल्दै सेमिफाइनलमा स्थान बनाएको हो । ६ पटकको आहा ! रारा पोखरा गोल्डकप विजेता तथा ६ पटकको उपविजेता मनाङलाई आमन्त्रित अमेरिकी क्लब बीवाईएससीले १–० ले पराजित गरेको हो । बाई पाएर सिधै क्वाटरफाइनमा पुगेको साविक उपविजेता मनाङ पहिलो खेलबाटै बाहिरिएको छ । बीवाईएससीले पहिलो हाफको सुरुवातमै अग्रता लिएको थियो । खेलको १७ औं मिनेटमा बीवाईएससीका प्रविण बस्नेतले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । उनले हेक्टर ओर्टेगाले ब्याकमा फालिदिएको बल डिबक्सबाट रिसिभ गर्दै अवसरलाई गोलमा परिणत गरिदिएका थिए । दोस्रो हाफमा केहीसुधार गरेर मैदान प्रवेश गरे पनि मनाङले नतिजा उल्टाउन भने सकेन । निकै प्रतिस्पर्धात्मक बनेको खेलमा दुवै टिमले डिबक्स क्षेत्र नजिकै पटकपटक मौका पाए पनि अवसरको सदुपयोग गर्न सकेनन् ।
सडक विभाग, पुल महाशाखा, ललितपुरले पृथ्वीनारायण क्याम्पसलाई पठाएको पत्रले क्याम्पस प्रशासन एवं प्राध्यापक संघलाई चिन्तित बनाएको छ । विभागले क्याम्पस परिसरमा रहेको जमिनबाट वडा नम्बर ११ जोड्ने पक्की पुल बनाउने जानकारी गराउँदै बाटो खोल्न आग्रह गरेपछि प्राध्यापक संघहरुले सामुहिक विरोध जनाएका छन् । संघका अध्यक्षहरुले क्याम्पसको जग्गा खण्डिकृत गरी निजी प्रयोजन र केही व्यक्तिको स्वार्थमा लाभ हुने टिप्पणी गरे । क्याम्पस प्रमुख प्राडा सरोज कोइरालाले विभागले प्रेषित गरेको चिट्ठीले क्याम्पसमाथि कुदृष्टि राखेको जनाएका छन् । ‘क्याम्पसको भविष्यमाथि धावा बोल्ने विभागको योजनालाई हामी सफल हुन दिँदैनौ’ क्याम्पस प्रमुख कोइरालाले भने ‘विभागको निर्णय कदापी स्वीकार्दैनौ, हामी यसको विरोधमा छौं ।’ यस विषयउपर प्राध्यापक संघबीच छलफल चलाएको र विभागको निर्र्णयविरुद्ध भोली जिल्ला प्रशासन कार्यालय र अख्तियार जाने तयारीमा रहेको कोइरालाले जनाए । ‘आम पोखरेलीलाई विभागको पत्रबारे जानकारी दिन पत्रकार सम्मेलन गर्नेछौं’ कोइरालाले भने । नेपाल प्रगतिशील प्राध्यापक संगठन, पृथ्वीनारायाण क्याम्पसका अध्यक्ष नवीन प्यासी अधिकारीले विभागको पत्रानुसार क्याम्पसमाथि अहित हुने टिप्पणी गरे । पत्रमा पुल निर्माणार्थ क्याम्पसले बाटो दिनुपर्ने भन्दै पठनपाठनमा अवरोध हुन गए क्षमा याचना गर्ने जनाएको छ । क्याम्पस र मणिपाल अस्पताल नजिक रहेको झोलुंगे पुलबाट करिब १ सय मिटर उत्तरमा पक्की पुल बनाउने विभागको योजना छ । ‘१ किलोमिटरको आसपास अन्य पुल भएकाले त्यसको नजिकै पक्की पुल बनाउनुको नियत क्याम्पसको जमिन खण्डिकरण गर्ने नियत हो भन्नेमा कुनै शंका छैन’ अध्यक्ष अधिकारीले उल्लेख गरे । विभागको निर्णयले पोखराका केही स्वार्थ समूहलाई फाइदा गर्ने नियत रहेको उनको आशय छ । अधिकारी भन्छन् ‘क्याम्पसमाथि केही व्यक्ति र समूहको गिद्धेदृष्टि छ, जो क्याम्पस भोली विश्वविद्यालय बनोस्, प्रगति होस् भन्ने चाहँदैनन् ।’ विभागको निर्णयविरुद्ध क्याम्पस अन्तरगतका त्रिवि प्राध्यापक संघ, प्रजातन्त्रवादी प्राध्यापक संघ, नेपाल राष्ट्रिय प्राध्यापक संगठन र एकीकृत समाजवादी प्राध्यापक संगठनले संयुक्त विरोध जनाएका छन् ।
पोखराः कास्कीको मादी गाउँपालिका १ सिक्लेसमा आगलागी हुँदा एकजनाको मृत्यु भएको छ । आइतबार बेलुका मादी गाउँपालिका १ सिक्लेसको दुईघरमा आगलागी हुँदा एकजनाको मृत्यु भएको मादी १ का वडाध्यक्ष देवी जंग गुरुङ्गले जानकारी दिए । आगलागी हुँदा मादी गाउँपालिका १ का निवर्तमान वडाध्यक्ष सुरजकुमार गुरुङ्गको मृत्यु भएको वडाध्यक्ष गुरुङ्गले जानकारी दिए । आगलागी कारण खुल्न सकेको छैन । घटनाको थप विवरण आउँन बाँकी छ ।
पोखरा: पोखरामा अन्तर्राष्ट्रिय विमानस्थलको सपना पुरा भएपछि पोखरालाई लुम्बिनी र भारतसँग जोड्न सिद्धार्थ राजमार्ग स्तरोन्नती गर्ने लक्ष्य रहेको उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले बताएका छन् । पोखरामा आज क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटनकाक्रममा अर्थमन्त्री पौडेलले विमानस्थलमात्र नभएर पर्यटन विकासमा सडकको उत्तिकै महत्वपूर्ण भूमिका रहने भन्दै सिद्धार्थ राजमार्गको स्तरोन्नती अबको योजना भएको उल्लेख गरे । ‘पोखरालाई पर्यटनमा थप बलियो बनाउन सबै कोणबाट सशक्त हुनुपर्छ’ पौडेलले भने ‘अब हाम्रो ध्यान सिद्धार्थ राजमार्गको स्तर वृद्धि गर्नेमा छ ।’ सम्बोधनकैक्रममा उनले सम्पूर्ण कास्कीवासी र नागरिक समाजले धर्ना र अनशन गरेर राखेको माग पुरा भएको स्मरण गर्दै सम्पूर्णमा धन्यवाद टक्र्याए । ‘म जिल्लावासी र पूर्वमन्त्री रविन्द्र अधिकारीलाई पनि सम्झिरहेको छु, जसेको अथक प्रयासबाट विमानस्थलले पूर्णता पायो ।’ मन्त्री पौडेलले अहिलेको सरकारमा धेरै दल समाहित भएको प्रसंग निकाल्दै उनले स्थायी सरकारको लागि समीकरण आवश्यक भएको टिप्पणी गरे ।
पाेखरा: गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले फेवाताल संरक्षणमा पैसाको कमीले खासै काम गर्न नसकेको बताएका छन् । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटनकाक्रममा बोल्दै मुख्यमन्त्री पोखरेलले अघिल्लो सरकारले फेवाको हितमा काम नगरेको र आफ्नो कार्यकालमा विशेष योजना लिएर केही काम गर्न खोजेपनि पैसाको अभावमा पुरा गर्न नसकेको उल्लेख गरे । सोही क्रममा उनले भने ‘१०–२० करोड रुपैयाँले केही काम गर्न नसकिने रहेछ, सोही कारण फेवातालको संरक्षण, सम्वद्र्धन र सौन्दर्यकरणमा तयार पारेको योजना पुरा भएन ।’ त्यस्तै, विमानस्थल गौरवको योजना भएको त रिनले थला पार्न सक्ने उनको संकेत थियो । ‘२५ प्रतिशत अनुदान र बाँकी रकम रिन, ब्याजमा विमानस्थल तयार भएको छ’ उनले भने ‘बाँकी ७५ प्रतिशत रकम पनि अनुदानमा बदलिदिँन म चीन सरकारसंग अपील गर्दछु ।’
पोखरा: पोखरा अन्तरराष्ट्रिय विमानस्थलको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरेका छन् । आजदेखि सञ्चालनमा आउने पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको औपचारिक उद्घाटन प्रधानमन्त्री प्रचण्डले ताम्रपत्र अनावरण गर्दै विमानस्थलको शुभारम्भ गरेका हुन् । विमानस्थल शुभारम्भकै अवसरमा पोखरा महानगरपालिकाद्वारा अमरसिंहचोकबाट र्याली सहित विमानस्थलसम्म पुगेको थियो । उद्घाटन समारोहमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका परिकल्पनाकार शङ्करराज पाठकलाई नागरिक अभिनन्दन गर्ने कार्यक्रम छ । आज दिउँसो २ बजेदेखि दिउँसो ४ बजेसम्म विविध सांस्कृतिक कार्यक्रम हुनेछ भने ४ बजेदेखि साढे ५ बजेसम्म ‘फेसन शो’ को कार्यक्रम तय गरिएको छ। बेलुका ६ बजे कार्यक्रमको समापन हुने महासचिव सिग्देलले जानकारी दिनुभयो । विमानस्थल शुभारम्भकै अवसरमा पोखराको हल्लनचोकमा बेलुका ६ बजे भैरव नाच प्रदर्शन गर्ने तयारी गरिएको छ । उद्घाटन भव्य बनाउन पोखरा महानगरपालिकाले महानगरअन्तर्गतका महाशाखा, ३३ वडा कार्यालय, मातहतका सबै विद्यालय तथा शैक्षिक संस्थामा सार्वजनिक बिदा समेत दिएको छ ।
पोखराः पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटनका लागि पोखरा महानगरपालिकाले सार्वजनिक बिदा दिएको छ । भोलि (आइतबार) पुस १७ गते (अर्थात, जनवरी १) मा उक्त बिमानस्थल उद्घाटन समारोहमा उपस्थित हुन सार्वजनिक बिदा दिइएको महानगरका प्रशासकीय प्रमुख अधिकृत बिरेन्द्रदेव भारती द्धारा जारी सुचनामा उल्लेख गरिएको छ । विमानस्थलको उद्घाटन आइतबार हुँदैछ । समुउद्घाटन समारोहलाई ब्यापक जनसहभागिता रहोस भन्ने उद्देश्यले भोलि (आइतबार) पोखरा महानगरलले कार्यलय,महाशाखा,वडा कार्यलय तथा अन्तरर्गतका बिद्यालय एवम् शैक्षिक संस्थाहरु समेत बन्द रहने सुचना मार्फत उल्लेख गरिएको छ ।

