पोखरामा ११ औं संस्करणको ‘मिस टिन इन्टरनेसनल २०२६’ आयोजना हुने भएको छ ।    लिटिल स्टेप सेकेन्डरी स्कुलको प्रायोजन तथा इभेन्ट्स फर यू प्रालिको आयोजनामा हुने ‘मिस टिन इन्टरनेसन...

पोखरा:  पोखराका फोटोपत्रकार सुुरेश कुमार श्रेष्ठ (सुुरज श्रेष्ठ) अन्तराष्ट्रिय फोटो पत्रकारिता पुुरस्कारबाट पुुरस्कृत हुने भएका छन् । अमेरिकाबाट संचालित नेपाली  पत्रकारहरुको अन्तराष्ट्रिय सन्जाल “इन्जा” ले यस वर्ष देखि सुरु गरेको इन्जा फोटो पत्रकारिता पुरस्कारबाट श्रेष्ठ पुरस्कृत हुने भएका हुन् । यही फागुनको १६ गते काठमाडौंमा आयोजना गरिने कार्यक्रममा ५०० अमेरिकी डलर राशि सहित उनलाई पुुरस्कृत गर्न लागिएको हो ।  पोखरालाई आफ्नो कार्यक्षेत्र बनाएर फोटो पत्रकारितालाई निरन्तरता दिँदै आएका श्रेष्ठ २०६२ सालबाट पत्रकारिता क्षेत्रमा क्रियाशील छन् । पोखरा सिटीडकम र ठीकठाक डटकमबाट फोटो पत्रकारिता शुुरु गरेका श्रेष्ठले कान्तिपुर, कान्तिपुर साप्ताहिक, नागरिक म्याग्जिनमा फोटो पत्रकारको रुपमा काम गरे ।  श्रेष्ठले खिचेका फोटो पोखराबाट संचालित पत्रिकाहरुमा पनि प्रकाशित भएका छन् । हाल श्रेष्ठको आफ्नै मिडिया एस टु प्रोडक्सन, ह्याप्पी पोखरा डटकम संचालनमा छ । २०७० सालमा आफ्नै प्रोडक्सन हाउस एस टु प्रोडक्सन संचालनमा ल्याई थुप्रै म्युजिक भिडियो, विज्ञापन,डकुुमेन्ट्री र प्रोमो निर्माण गर्दै आएका छन् ।  फोटो पत्रकारिता सँगै उनको अर्को परिचय भनेको गायन हो । २०५८ सालमा गायक बन्छु भनेर हिँडेका श्रेष्ठले ‘अन्जान मायालुु’ गीति एल्बम निकाले । उक्त एल्बमको ‘सम्झना छ छोडी जानेलाई, माया छ बिर्सी जानेलाई’ बोलको गीतले प्रसिद्धि कमायो । जुन गीत अहिले पनि उत्तिकै रुचाइन्छ ।  श्रेष्ठले नेपालको चर्चित ¥यालिटी शो हिमालयन रोडीजमा सिनेमेटोग्राफीको काम समेत गरेका छन् । सगरमाथा क्याम्पमा आयोजना गरिएको वल्र्ड भ्लग च्यालेन्जमा पनि उनले सिनेमेटोग्राफीको काम गरिसकेका छन् । अनुभवले खारिएका श्रेष्ठले राष्ट्रिय फोटो पत्रकार संघले २०७० सालमा आयोजना गरेको राष्ट्रिय स्तरको ‘नेपाल फोटो कन्टेस्ट’ बाट समेत सम्मान प्राप्त गरेका छन् । उक्त कार्यक्रममा उनले खिचेको फोटो उत्कृष्ट भएको थियो । नेपालका तत्कालिन उपराष्ट्रपति बाट उनले सम्मान र पुरस्कार पाएका थिए ।  २०७५ सालमा पोखरामा ट्रेनर नेपालले आयोजना गरेको फेशन अवार्ड नेपालमा श्रेष्ठले बेष्ट फेशन फोटोग्राफरको अवार्ड हात पारे । पोखरामा भएका सौन्दर्य प्रतियोगिताहरुमा निणार्यकको भुमिका समेत उनले निर्वाह गर्दै आएका छन् । सुरजको सक्रियता समाजसेवामा पनि देखिन्छ । श्रेष्ठ नेपाल पत्रकार महासंघ कास्कीमा पनि आबद्ध छन् । नेपाल फोटो पत्रकार संघ कास्कीको कोषाध्यक्षको जिम्मेबारी सम्हालेका श्रेष्ठको दैनिकी भनेकै फोटोग्राफी हो ।  सुरेश कुमार श्रेष्ठ (सुुरज श्रेष्ठ) सँगै फोटो पत्रकारिताको माध्यमद्वारा नेपाली समाज तथा आम नागरिकलाई सुसूचित गराउँदै आएका वरिष्ठ फोटो पत्रकार नरेन्द्र श्रेष्ठलाई समेत अन्तर्राष्ट्रिय फोटो पत्रकारिता पुुरस्कारबाट पुुरस्कृत गर्न लागिएको इन्जा ग्लोवलका अध्यक्ष गुणराज लुइटेलले बताए ।  वि.सं. २०५२ सालदेखि नेपाल समाचारपत्रबाट फोटो पत्रकारिता सुरु गर्नु भएका नरेन्द्र श्रेष्ठले कान्तिपुर पव्लिकेस, लस एन्जलस टाइम्स, न्यूर्योक टाइम्स, टाइम्स म्यागजिन,गार्डियन  डेली, टेलिग्राफ युके, इन्डिपेन्डेन्ट युके, फाइनान्सियल टाइम्स, वालस्ट्रीट जर्नल,द टाइम्स लण्डन,डाइ वेल्ट,नेशनल ज्योग्राफी, वाशिंगटन पोष्ट लगायतका संचार माध्यममा काम गरिसकेका छन् । 

पोखरा:  पोखरा महानगरपालिका २७  लेखनाथको डाडानाक प्रहरी चौकी अगाडि माईक्रो बस दुर्घटना भएको छ ।  बेगनासतालबाट पोखरा आउँदै गरेको ग १ ख ६७४७ नम्बरको बस दुर्घटना भएको कास्की प्रहरीले जनाएको छ । बसमा अधिकांस पोखरा विश्वविद्यालयका विद्यार्थीहरु रहेको खुल्न आएको छ ।  अहिले बस दुर्घटना स्थलमा उद्धार कार्य चलिरहेको छ । थप विवरण आउँदै । 

पोखरा:   पोखरामा सम्पन्न भएको गण्डकी प्रदेशस्तरीय दोस्रो संस्करणको खुल्ला आर्चरी प्रतियोगितामा बागलुङका दुर्गा घर्तीमगर र कास्कीका केशरीमाया आलेमगर ‘च्याम्पियन’ हुनुभएको छ । पोखरा रङ्गशालाभित्रको आर्चरी मैदानमा यही फागुन ५ देखि सुरु भएको प्रतिस्पर्धामा पुरुषतर्फको रिकर्ब विधामा घर्तीमगरले बागलुङकै खड्गबहादुर घर्तीमगरलाई ६–० अङ्कले पराजित गरी उपाधि आफ्नो पोल्टामा पार्नुभएको हो । विजेता दुर्गाले उपाधिसहित रू ३० हजार पुरस्कार प्राप्त गर्दा उपविजेता खड्गले रू २० हजार पुरस्कार पाउनुभयो । यसैगरी कास्कीका सुमन गुरुङले ६–४ को अङ्कमा कास्कीकै अशिम शेरचनलाई पछि पार्दै तृतीय हुनुभयो । यसैगरी रिकर्ब खुला महिलातर्फको प्रतिस्प्रर्धामा कास्कीले जित हासिल गरेको छ । कास्कीका केशरी आलेमगरले कास्कीकै अनुस्का शेरचनलाई ७–३ को अङ्कमा पराजित गर्दै उपाधि पोल्टामा पार्नुभयो ।   पुरुषतर्फको विधामा बागलुङका हिकमत पुरीले कास्कीका कुमार पुर्जालाई ६–२ को अङ्कमा पराजित गरी उपाधि आफ्नो पक्षमा पार्नुभयो । बागलुङका मुकेश रोकामगरले रोशन पुर्जा पुनलाई ७–५ अङ्कमा पराजित गरी तृतीय हुनुभयो ।  प्रतियोगितामा रिकर्ब ओपन पुरुषतर्फ विजेतालाई रू ३० हजार, उपविजेतालाई रू २० हजार र तृतीय हुनेलाई रू १५ हजारका साथै शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार प्रदान गरिएको थियो । रिकर्ब ओपन महिलातर्फ विजेताले रू १५ हजार, उपविजेताले रू १० हजार र तृतीय हुनेले रू पाँच हजार पाउनुभयो । पुरुषतर्फ विजेतालाई रू २० हजार, उपविजेतालाई रु १५ हजार र तेस्रो हुनेलाई रु १० हजार प्रदान गरिएको छ । प्रतियोगिताअन्तर्गत शुक्रबार भएको भेट्रान्सतर्फको विधामा म्याग्दीका जयप्रकाश छन्त्यालले प्रथम स्थान हासिल गर्नुभएको थियो । प्रतियोगितामा विजयी खेलाडीलाई नेपाल आर्चरी सङ्घका कन्द्रीय अध्यक्ष दीपकराज गुरुङ, पूर्वअध्यक्ष वसन्त थकालीलगायतले पुरस्कार वितरण गर्नुभयो । आर्चरी खेलका सुविधासम्पन्न पूर्वाधार रहेको पोखरालाई आर्चरी खेलको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गन्तव्य बनाउने लक्ष्यसहित प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगितामा गण्डकी प्रदेशका मुस्ताङ, म्याग्दी, पर्वत र कास्कीबाट गरी ८९ जना खेलाडी सहभागी भएको कास्की जिल्ला आर्चरी सङ्घका अध्यक्ष योगेन्द्र शेरचनले जानकारी दिनुभयो । गण्डकी प्रदेश खेलकुद परिषद्को वार्षिक कार्यक्रमअन्तर्गत आर्चरी सङ्घसँगको सहकार्यमा प्रतियोगिता आयोजना गरिएको हो ।

पोखरा:  स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन मिति नतोकेपछि पोखरा स्थित जनप्रिय बहुमुखी क्याम्पसमा तीन विद्यार्थी संगठनले तालाबन्दी गरेका छन् ।  नेपाल विद्यार्थी संघ, अनेरास्ववियु र अखिल क्रान्तिकारी जनप्रिय बहुमुखी क्याम्पस कमिटीले सयुक्त रुपमा स्ववियु निर्वाचनको माग गर्दै तालाबन्दी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।  तीन विद्यार्थी संगठनका नेताहरुले हस्ताक्षर गरिएको विज्ञप्तीमा भनिएको छ ‘क्याम्पसमा सक्रिय रहेका विद्यार्थी संगठनको बिचार–विमर्श र छलफललाई क्याम्पस प्रशासनले आफ्ना तवरले व्याख्याले गर्दै कुनै अमुक संगठन र विद्यार्थी नेतालाई मात्र हावी गराउने गरी आम–विद्यार्थीको भावना र आस्थालाई कुल्चेर गर्न खोजिएको व्याख्याप्रति घोर आपत्ति छ ।’ विद्यार्थी संगठनले क्याम्पस प्रमुखको कार्यकक्ष, प्रशासनिक कक्ष, लेखा शाखा र भर्ना काउन्टरमा अनिश्चितकालका लागि तालाबन्दी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।   अहिले क्याम्पस प्रशासन र विद्यार्थी संगठनबीच वार्ता चलिरहेको छ ।   

पोखरा:    पोखरा महानगरपालिका १७ स्थित विरौटा–छोरेपाटन सडकखण्ड निर्माणाधिन छ, दिनहु कति सवारी आउँछन् जान्छन, सडक खण्डबाट निस्कने धुलो र धुवाबाट विरौटाका स्थानीय आजित छन् ।    हिजोदेखि विरौटा–छोरेपाटन सडकखण्ड धुलो र धुवाले ढाक्न थालेपछि स्थानीयले सडकमा पानी हाल्न माग गर्न थालेका छन् । केहीदिन अगाडी निर्माण कम्पनीले काममा ढिलाईसुस्ती गरेको भन्दै स्थानीयले प्रर्दशन समेत गरेका थिए ।  सडकमा ठेकेदारले हिजोदेखि पानी नहाल्दा सवारी आवतजावत गर्दा धुलोका कारण यात्रामा सास्ती भएको स्थानीय चन्द्र भण्डारीले जानकारी दिए ।  सिद्धार्थ राजमार्गसँग जोडिने यो सडकखण्ड निर्माणाधिन रहेको छ । निर्माणाधिन सडकखण्डमा दैनिक पानी हाल्नुपर्ने भएपनि निर्माण कम्पनीले हिजोदेखि पानी नहाल्दा धुलोका कारण प्रदुषण फैलिएको छ ।   

पोखरा:    गण्डकी प्रदेशका सर्जक तथा कलाकर्मीका कालजयी  सिर्जनाको सम्मानार्थ पब्लिक फोरके टेलिभिजनले ‘सम्मान र सम्झनामा स्रष्टाहरु’ कार्यक्रम गर्ने भएको छ । टिभीको औपचारिक सुरुआत हुने दिन फागुन ७ गते उक्त कार्यक्रम गर्न लागेको हो । पब्लिक फोरके टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुने कार्यक्रममा सुगम संगीतका चर्चित गायक राज सिग्देल, बिनोद बानिया, अजुदा थापा, सन्तोष बस्याल लगायत कलाकारको प्रस्तुति रहनेछ ।  गण्डकी प्रदेशका  दिवंगत स्रष्टाहरुको सम्झना तथा सम्मानमा गर्न लागिएको कार्यक्रममा झलकमान गन्धर्व, धर्मराज थापा, अलि मियाँ, सरोजगोपाल बज्राचार्य, भूपि शेरचन, माधवप्रसाद घिमिरे, कल्याण शेरचन, धनबहादुर गायक, प्रविण गुरूङ, सुन्दर थापालगायत सर्जकका कालजयी गीत प्रस्तुत हुने पब्लिक टेलिभिजनका प्रवन्ध निर्देशक मन क्षेत्रीले जानकारी दिए । कार्यक्रमको प्रत्यक्ष प्रसारण पब्लिक फोरके टेलिभिजनसहित यसैका अफिसियल युट्युब र फेसबुक पेजमार्फत पनि हुनेछ । टेलिभिजनले आफ्नो नियमित प्रशारण आरम्भ गर्दैगर्दाको अवसरमा यो कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रम होटल पोखरा ग्रान्डमा हुनेछ । प्रदेशकै पहिलो फोरके प्रविधिमा सञ्चालनमा आउन लागेको  टिभीको औपचारिक उद्घाटन समारोहमा गण्डकी प्रदेशका राजनीति, कला, साहित्य, संगीत, पर्यटन, पत्रकारिता, उद्योग, खेल क्षेत्रका व्यक्ति व्यक्तित्व उपस्थित हुने क्षेत्रीले जानकारी दिए ।  

सोमबार दिउँसो पोखराको लेकसाइड आइपुगेर होटलको रुममा रुकस्याक (झोला) राखेर तुरुन्तै बाहिर निस्केका एक फ्रेञ्च पर्यटकले अहिलेसम्म आफु बसेको होटल पत्ता लगाउन सकेका छैनन् ।    होटलबाट निस्केर नगद पैसाको जोहो गर्न उनी एटीएम खोज्न निस्किएका थिए । उनले एटीएमल त भेटे तर होटल फर्कने बाटो भुले ।    हिजो दिनभर उनको होटल खोजी गर्न स्थानीय श्वेता रानाभाटसँगै परिवार लागिपरे पनि साँझसम्म होटल ठम्याउन सकेनन् । होटल नभेटिएपछि पर्यटकले अर्काे होटलमा रुम लिएर बसे ।    पर्यटकले भनेका छन्, ‘केही हतार थियो, होटलमा फुत्त झोला फालेर म एटीएम खोज्न निस्के । हतारोले होटलको नाम पनि हेरिन ।’ होटलको रुट पत्ता लगाइहाल्ने विश्वास लिएर निस्किँदा दुख पाएको सुनाए ।    आजपनि होटल खोजी कार्य जारी छ । होटल पत्ता लगाउन सहयोग हुने विश्वासले उनको रुमको चाबी सोसियल मिडियामा पोष्ट्याइएको छ ।    ‘पोखरा नोटिसबोर्ड’ नामक फेसबुक पेजमा उनको तस्बिर र चाबी राखिएको छ ।    समाचार तयार पार्दासम्म उनकाे हाेटल पत्ता लगाउन सकिएकाे छैन ।   उक्त चाबी कुन होटलको हो, कसैलाई थाहा भए फोन नम्बर ९८०४१०५६८८ मा सम्पर्क गरिदिन रानाभाटले अनुरोध गरेकी छिन् ।   

पोखराको महेन्द्रपुलमा भर्खरै एक निजी गाडीले सडक पार गरिरहेका ३ जनालाई ठक्कर दिएको छ । ठक्करबाट घाइते भएका २ जनालाई उपचारार्थ नजिकैको अस्पताल लगिएको छ ।    अर्का एकको अवस्था भने सामान्य रहेको छ । सामान्य अवस्था रहेका पैदलयात्री वसन्त रसाइली हुन् ।    तीब्र गतिमा रहेको बा १३ च २६६२ नम्बरको पजेरोले पैदलयात्रीलाई ठक्कर दिएपछि पुलको बारमा गएर ठोक्किएको छ ।    पुलकाे बारमा ठोक्किँदा पजेरो नदीमा खस्नबाट बचेको छ । हाल चालकलाई नजिकै ड्युटीमा खटिएका प्रहरीले नियन्त्रणमा लिएको छ ।    चालकको अवस्थाबारे केहीबेरमा जानकारी दिने प्रहरीले जनाएको छ । 

पोखरा:    नेपाल निर्माण व्यवसायी संघ कास्कीको २९ औं साधारण शनिबार पोखरामा भएको छ । साधारणसभाको उद्घाटनपछि बोल्दै नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले सम्झौता अनुसार समयमै गर्नुपर्ने भुक्तानीमा सरकारले ढिलाइ गरेको बताएका छन् ।  ‘देशभरका १७ हजार निर्माण व्यवासायीको आवाज सुन्न भन्दा पनि आफ्नै सत्ता टिकाउन सरकार व्यस्त रहेको छ, सिंहले भने, ‘सरकारले निर्माण व्यवसायीलाई सम्झौता अनुसार समयमै गर्नुपर्ने भुक्तानी गर्न ढिलाई गरेको छ, सक्ताको अगाडी पछाडी रहेका कसैले पनि निर्माण व्यवसायीको गुनासो सुनेका छैनन् ।’ सार्वजनिक खरिद ऐन पूर्वाधार मैत्री र मुलुक सुहाउँदो हुने गरी संशोधन गर्न पनि उनले सुझाव राखे । साधारणसभामा पोखरा २६ का वडा अध्यक्ष नरेन्द्र थापा, पोखरा ९ का वडा अध्यक्ष दिपेन्द्र मर्सानी, संघका सदस्य एवं वडा १७ का सदस्य विक्रम गुरुङ, अग्रज व्यवसायी कृष्णप्रसाद अधिकारी, भीमबहादुर श्रेष्ठ, विष्णुप्रसाद श्रेष्ठ, भरतराज भट्टराई र मुक्तिनाथ सुवेदीलाई सम्मान गरेको छ ।    एसईईमा उत्कृष्ट अंक ल्याएका निर्माण व्यवसायीका छोराछोरी विनीता भण्डारी र निशान ढकाललाई पनि सो अवसरमा पुरस्कृत गरेको थियो । त्यस अवसरमा संघका सचिव इञ्जिनियर शिरशकुमार बास्तोलाले सचिवको प्रतिवेदन प्रस्तुत गर्दै चालू आर्थिक वर्षका लागि विभिन्न १५ बुँदे कार्यक्रम पेश गरे । कोषाध्यक्ष उत्तम सिग्देलले चालु आर्थिक वर्ष २०७९र०८० का लागि ४५ लाख ९० हजार रुपैयाँको वजेट प्रस्तुत गरे । कार्यक्रमका सभापति एवं आयोजक संघका अध्यक्ष लिलकाजी गुरुङले उपस्थित सबैलाई धन्यवाद प्रकट गर्दै निर्माण व्यवसायीका समस्या समाधान गर्न व्यावसायिक एकताको आबश्यकता औंल्याए । उक्त अवसरमा नेपाल उद्योग वाणिज्य महासंघका कोषाध्यक्ष एवं नेपाल निर्माण व्यवसायी महासंघका पूर्व अध्यक्ष सुकुन्तलाल हिराचन, नेपाल निर्माण व्यवसायी महासंघका उपाध्यक्ष खिमप्रकाश मल्ल, सदस्य सुरेश श्रेष्ठ र गंगा पोखरेल, गण्डकी प्रदेश निर्माण व्यवसायी संघका अध्यक्ष टंकराज बराल र नेपाल इञ्जिनियर्स एसोसिएशन गण्डकीका अध्यक्ष व्रिजेन्द्र केसीले भनाई राखेका थिए ।