पोखरा: चलचित्र पत्रकार संघ नेपाल कास्कीको अध्यक्षमा प्रभु अधिकारी निर्वाचित भएका छन् । संघको शनिबार सम्पन्न पाँचौं अधिवेशनले अधिकारीलाई सर्वसम्मत अध्यक्षमा निर्वचित गरेको हो । त्यस्तै संघको उपाध्यक्षमा अर्पण तिवारी, सचिवमा सन्तोष बस्याल, सहसचिवमा शंकर तिवारी र कोषाध्यक्षमा सुरक्षा श्रेष्ठ निर्वाचित भए। यसैगरी संघको कार्यसमिति सदस्यमा सुरेश सुनार, विनिता सुनार, एलीजा क्षेत्री, राकेश गुरुङ, सुदिप पौडेल, सिद्धार्थ गौतम, प्रेम थापा र गौरव त्रिपाठी रहेका छन् । संघको केन्द्रीय प्रतिनिधिमा आशिष पुरी र सुशान्त घिमिरे चयन भएका हुन् ।
पोखरा: पोखराको गैह्रापाटन निवासी बलराम गौतम सम्पर्कविहीन भएको २७ दिनपछि विरगंजमा मृत फेला परेका छन् । गत माघ २ गतदेखी सम्पर्कविहीन भएका गौतम शनिबार विहान विरगञ्ज बसपार्कको पार्कमा मृत फेला परेको परिवारजनले जनाएको छ । गौतम सम्पर्कविहिन भएदेखीनै उहाँको खोजी गर्ने क्रममा भारतमा रहेको खुलेको थियो । गौतमले आफन्तलाई मोवाइलमा सन्देश लेखेर आफू भारतमा रहेको जानकारी पठाएको परिवारले जनाएको छ । गौतमलाई हृदयघात भएको आशंका गरिएको छ । परिवारका अनुसार सिसिटिभी फुटेजमा विरगञ्ज बसपार्कको पार्कमा ५ः३० बजे गौतम आएको देखिएको छ । त्यसपछि शौचालय गएको देखिने र पार्कमा बस्ने कुर्सीमा चिया लिएर आरामले बसेर चिया खाएको अवस्थामा टाउको झुकेको देखिएको छ । प्रहरीले हिजो विहान ८ः४५ बजे पार्कबाट अस्पताल लगेको थियो । मृतक गौतमको शव पोष्टमार्टम गरी शनिबार राति पोखरा ल्याइएको छ । गौतमको परिवार पुरानो ठेगाना पुरुञ्चौर भएपनि पछिल्लो समय गैह्रापाटन बस्दै थिए। ५६ वर्षीय गौतम माघ २ गते सोमबार दिउँसो साढे १ बजे छोरीसँग बाहिर निस्कन्छु भनि हिँडेको र त्यसपछि सम्पर्क हुन सकेको थिएन । गौतम नेकपा(एमाले) गण्डकी प्रदेश कमिटी सदस्य समेत थिए । उनका श्रीमति र तीन छोरी छन् ।
पोखरा: पोखरा महानगरपालिका ६ बैदाम लेकसाइडमा दिउसो देखि लागेको आगलागी नियन्त्रणमा आएको छ । पोखराको लेकसाइडस्थित सेलवेज सेन्टरमा शनिबार अपराह्न ३ः४५ देखि लागेको आगो नेपाली सेना, सशस्त्र प्रहरी र जनपद प्रहरीको टोलीले झण्डै तीन घण्टापछि आगो नियन्त्रणमा लिएको वडा प्रहरी कार्यालय बैदामले जानकारी दिएको छ । लेकसाइड सेलवेज टावरको भवनमा रहेको सेलवेज डिपार्टमेन्टको अण्डरग्राउण्डबाट शुरु भएको आगोले सेलवेज डिपार्टमेन्ट स्टोरसहित नासा ट्रेकिङ इकुप्मेन्ट सप, दोर्जेज बार एन्ड ग्रिल लगायत पसल र केही बैंकका एटीएम मेसिनहरूमा पनि क्षति पुगेको छ । पोखरा महानगरपालिका र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ४ वटा दमकल र १५ वटा पानी ट्याङकरको सहायताबाट साढे ६ बजेपछि आगो नियन्त्रणमा लिइएको हो । क्षतिको यकिन विवरण भने आइसकेको छैन ।
पोखरा: पोखरा लेकसाइड हल्लनचोक नजिक रहेको सेलवज टावरमा आगलागी भएको छ । थप विवरण आउँदै
पोखरा: पोखरा रंगशालामा ड्यामसाइडन क्लब र पोखरा महानगरपालिका १७ को आयोजनामा दोस्रो अन्तर विद्यालय वडाध्यक्ष कप फागुन १ देखि ६ गतेसम्म सञ्चालन हुने भएको छ । ६दिनसम्म सञ्चालन हुने वडाध्यक्ष अन्तर विद्यालय कपमा पोखरा १७ भित्रका सामुदायिक तथा संस्थागत विद्यालयले सहभागिता जनाउने पाउने प्रतियोगिता सहसंयोजक पदम बहादुर ढकालले बताए । ‘वडाध्यक्ष कपमा पोखरा १७ का सामुदायिक तथा संस्थागत विद्यालयहरुको सहभागिता रहनेछ, प्रतियोगितामा ६देखि १० सम्मका विद्यार्थीहरुले सहभागिता लिन पाउँछन्, ढकालले भने, ‘विद्यालय भन्दा बाहिर र कक्षा १० भन्दा माथिका विद्यार्थीहरु समावेश गरेको पाइए कारवाही गछौं ।’ विद्यालयस्तरबाट नै खेलाडी उत्पादन गर्ने महानगरको एक वडा एक खेल मैदानको अवधारणा अनुसार खेल मैदान स्तरोन्नती गर्ने उद्धेश्य रहेको उनले बताए । प्रतियोगितामा प्रथम, प्रथम दित्तीय तृतीय हुनेले क्रमश ३० हजार, २० हजार र १० हजारको साथमा ट्रफि मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगीतामा सान्त्वना पुरस्कारको समेत व्यवस्था गरेको छ । त्यस्तै आयोजकले विभिन्न पाँच विधामा उत्कृष्ठ खेलाडी, उत्कृष्ठ गोलकर्ता, मिडफिल्डर, उत्कृष्ठ गोलरक्षक, उत्कृष्ठ डिफेन्डरलाई पुरस्कार प्रदान गर्नेछ । ड्यामसाइड क्लबले विगत लामो समयदेखि विशेषगरि फुटवलको क्षेत्रमा काम गर्दै आइरहेको छ । क्लबले राष्ट्रिय स्तरका धेरै खेलाडीहरुसमेत उत्पादन गरिसकेको संहसंयोजक ढकालले जानकारी दिए । उनका अनुसार क्लबले ए डिभिजनदेखि राष्ट्रिय स्तरका खेलाडीहरु उत्पादन गरिसकेको छ । ती खेलाडीहरुमा बसन गौचन, भिषन गौचन, राजेन्द्र तामाङ, दिपेन्द्र तामाङ लगायत कम्तिमा २६ खेलाडी रहेका छन् । प्रतियोगितामा ५ लाख २० खर्च हुने आयोजकले जनाएको छ । प्रतियोगिता सञ्चालन गर्न पोखरा महानगरपालिका वडा नं १७ ले ३ लाख आर्थिक सहयोग गरेको छ भने अन्य रकम क्लबको आन्तरिक स्रोत र वडा नं १७ का स्थानीयको सहयोगमा प्रतियोगित सञ्चालन गर्ने छ । २०७६ सालमा पहिलो पटक प्रतियोगिता सञ्चालन गरेको क्लबले विश्वभर फैलिएको कोरोना भाइरसका कारण प्रतियोगिता सञ्चालन गर्न नसकेको भन्दै दोस्रो संस्करणको प्रतियोगिता फागुन १ देखि ६गतेसम्म सञ्चालन गर्न लागेको आयोजकले जनाएको छ ।
पोखरा: साहित्यकार लक्ष्मण थापालाई नवनित साहित्य सागरले आफ्नो नियमित काव्य वाचन तथा श्रवण कार्यक्रमका २३८ औं श्रृङ्खलामा सम्मान गरेको छ । कार्यक्रमका प्रमुख अतिथि प्राज्ञ वरिष्ठ साहित्यकार सरुभक्तले सम्मान पत्र, दोसल्लाले उनलाई सम्मान गरेका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद लम्सालले अविर लगाएर सम्मान गरेका थिए । छोरेपाटन माविको सभाहलमा भएको कार्यक्रममा विभिन्न साहित्यिक संस्थाका अध्यक्ष, प्रतिनिधि, शिक्षक, विद्यार्थीहरुले पुष्पगुच्छा प्रदान गरी वधाई दिएका थिए । साहित्यकार थापा नवनीत साहित्य सागरका संस्थापक अध्यक्ष हुन । साथै सोही विद्यालयका पुर्व प्रधानाध्यापक हुन । शिक्षण पेशा संगै साहित्यको विकासमा उनले गरेको योगदानको उच्च मुल्याङ्कन गर्दै संस्थाले सम्मान गरेको हो । सो अवसरमा संस्थाका अध्यक्ष तथा विद्यालयका प्रधानाध्यापक डिल्लिराम शर्माको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष मेघनाथ पौडेलले स्वागत र कार्यक्रम संचालन सचिव सीता बरालले गरेकी थिईन भने सम्मानित ब्यक्तिको परिचय लक्ष्मी देबकोटाले दिएकी थिईन ।
पोखरा: वडा स्तरिय दलित संजाल पोखरा ९ ले आफ्नो वडामा रहेका दलित महिलाहरुलाई साबुन बनाउने तालिम दिएको छ । तालिमको समापन गर्दै कार्यक्रमकी प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं. ९ की वडा सदस्य गीता चम्रकारले तालिममा सिकेको सिपले महिला दिदीबहिनीहरु स्वरोजगार वन्नु पर्ने बताएकी थिइन् । कार्यक्रममा पोखरा महानगर न्यायिक समिति सदस्य तथा वडा सदस्य भावना श्रेष्ठ, वडा सदस्य लक्ष्मी पहारी, निवर्तमान वडा सदस्य राममाया मानन्धर लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्दै सहभागीहरुलाई प्रमाण पत्र वितरण गरेका थिए । १० दिनसम्म संचालन रहेको तालिममा २३ जनाको सहभागिता रहेको थियो भने पोखरा औद्योगिक क्षेत्रमा रहेको गण्डकी साबुन उद्योगका संचालक हरि विश्वकर्माले प्रशिक्षण दिएका थिए । तालिममा कपडा र भाडा माझ्ने साबुन, फिनेल, हर्पिक वनाउने तालिम दिईएको थियो । प्रशिक्षार्थीहरु सिम्रन सुनाम र एलिना परियारले तालिमबाट धेरै कुरा सिकेको बताउँदै आफुहरुले मिलेर साबुन उद्योग संचालन गर्ने विषयमा छलफल गर्ने बताएका थिए । संजालका अध्यक्ष रामबहादुर वयलकोटीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत सदस्य जानकी परियार र संचालन सचिव सपना विकले गरेकी थिइन ।
पोखरा: मानवसेवा आश्रमको भवन निर्माणका लागि युनाइटेड क्लबले १ लाख ११ हजार १ सय ११ रुपैया सहयोग गरेको छ । कास्कीको हेम्जामा निर्माणाधिन मानवसेवा आश्रम स्थलमा आयोजित श्रीमद भागवत ज्ञानविज्ञान महायज्ञ स्थलमा पुगी भवन निर्माणको सहयोग स्वरुप सामाजिक क्षेत्रमा अग्रणी स्थानमा रहेको युनाइटेड क्लबले उक्त रकम हस्तान्तरण गरेको हो । भवन निर्माण स्थलमा जारी महायज्ञमा क्लबका अध्यक्ष राजु श्रेष्ठको नेतृत्वमा पुगेको क्लबका पदाधिकारी र सदस्यहरुको टोलीले महायज्ञका प्रमुख बाचक भागवत भास्कर कमलनयन गौतमलाई नगद १ लाख ११ हजार १ सय ११ रुपैयाको चेक हस्तान्तरण गरेका हुन । उक्त अवसरमा युनाइटेड क्लबका संस्थापक अध्यक्ष हिमालय बख्रेल, वरिष्ठ उपाध्यक्ष लोक बहादुर थापा, प्रथम उपाध्यक्ष गणेश तिमिल्सिना, महासचिव दिनेश सुनार, कोषाध्यक्ष सूर्य बहादुर बानिया, सदस्यहरु जयराम आचार्य, चन्द्रा पराजुली, शिव थापा, कार्यालय सचिव रेजिना खत्री लगाएतको सहभागिता रहेको थियो । स्थापना कालदेखी पोखराको अमरसिंह चौरमा पोखरा महोत्सवको आयोजना गरी युनाइटेड क्लब पोखराले शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवद्र्धनको लागि पोखरामा खुल्ला चिडियाखाना निर्माणमा पहलकदमी, सेती नदी संरक्षण र विपद ब्यवस्थापनमा काम गर्दै आइरहेको क्लवले सामाजिक उत्तरदायित्व अन्तर्गत मानव सेवा आश्रममा सहयोग गरेको युनाइटेड क्लबका अध्यक्ष राजु श्रेष्ठले जानकारी दिए । युनाइटेड क्लबले सामाजिक काम संगै सामाजिक उत्तरदायित्व बहन गर्ने कामहरु गर्दै आइरहेको र जस अनुरुप कास्कीको हेम्जामा निर्माणाधिन मानव सेवा आश्रमको भवन निर्माणका लागी अन्य संघ संस्थाहरुले जसरीनै आफुहरुले सहयोग गरेको र सवैको साथ र सहयोगलेनै मानव सेवा आश्रमको भवन पूर्ण हुने वताउदै अन्य ब्याक्ति र संघ संस्थाहरुले समेत यस्तो पुण्य काममा सहयोग गर्न समेत आग्रह गरे । मानव सेवा आश्रममा यसअअघिपनि कास्कीको छोरेपाटन शाखामा खाद्यान्न सामाग्री वितरण गरिसकेको क्लबका महासचिव दिनेश सुनारले जानकारी दिए । आगामी दिनमा पनि यस्ता सामाजिक उत्तरदायित्व बहन गर्ने कामलाई निरन्तरता दिइने समेत सुनारले बताए ।
पोखरा: इन्द्रेणी थिएटरको प्रस्तुति र केदार नाथ पौडेलद्धारा लिखित नाटक आतुरकालको फस्ट लुक्स सार्वजनिक भएको छ । नाटकको निर्देशन कपिल शर्माले गर्नुभएको छ । आतुरकालको पोष्टर सार्वजनिक गर्दै निर्देशक कपिल शर्माले फरक फरक अनुभूति गर्ने रहरले यो बनेको बताउदैं विशेषगरि नेपाली समाजको जरैसम्म पुगेर नाटक लेख्न सिपालु केदार नाथ पौडेलको यो अर्को उदाहरण भएको जनाउनुभयो । विशेषतस् गण्डक क्षेत्रलाई केन्द्र बनाएर लेखिएको नाटक हो ‘आतुरकाल’ र यसलाई निर्देशन गर्ने जिम्मा पनि मेरै हातमा परेको र यसलाई कति न्याय गर्न सकें त्यो दर्शकले मूल्याङ्कन गर्नुहुनेमा विश्वस्त रहेको बताउनुभयो । शर्माले केदार नाथ पौडेल पछिल्लो पुस्ताका चर्चित नाटककार हुन् । उनको पहिलो चर्चित नाटक घेरो र धनिरामको गोरु मैले नै निर्देशन गर्ने मौका पाएका पनि जनाउदै पोखरेली दर्शकले माया गर्नेमा विश्वस्त रहेको बताउनुभयो । शर्माले नेपाल र नेपाली समाज भित्र भिन्नभिन्न रितिरिवाज, धर्म, संस्कार, संस्कृति, चालचलन र आ९आफ्नै सभ्यताहरू छन् । एउटा मान्छे जन्मेपछि उसले मृत्युवरण गर्ने बेलासम्म अनेकन अप्ठ्यारा परिस्थितिहरूको सामना गर्नुपर्ने आफ्ना संस्कार, चालचलनले कसरी पिरोल्ने एउटा सन्तान, एउटा बाबु र एउटी आमाले आफ्नो कर्तव्य निर्वाह गर्नका लागि कयौं त्याग गर्नुपर्ने समग्र रूपमा भन्नुपर्दा ‘आतुरकाल’ एउटा मान्छेको जीवन चक्र भएको बताउनुभयो । लेखक केदारनाथ पौडेलले नाटक लेख्दा थुप्रै पटक म भावविह्वल भएको र देशमा परिवर्तनका नारा थुप्रै पटक घन्किए पनि थुप्रै व्यवस्था बदलिए तर आत्मा र शरिरले सुखको अनुभुती गर्न नपाएको बताउदै जीवन ठक्करै ठक्करको मरुभूमि बन्न पुगेकोहरुका पिडा, दुख र सङ्घर्षको पहाड ‘आतुरकाल’ जनाउनुभयो । कलाकार राजेन्द्र अधिकारीले नाटक धनिरामको गोरुको रिहर्शल गर्दै गर्दा एकदिन केदार भाइ नयाँ नाटक लिएर आउनुभयो र नाटक सर्सर्ति अध्ययन गर्दै आँखा रसाएको बताउनुभयो । उहाँले धनिरामको गोरुको अन्तिम चरणमा पुग्दै गर्दा त्यसलाई बीचैमा थाँति राखेर नाटक ‘आतुरकाल’ गर्ने निर्णय गरेको जानकारी दिदै आँफु एक रुखो मान्छे भएको तर आतुरकालको रिहर्शलमा म आफै धेरैपटक भावविहल भएको बताउनुभयो । अधिकारीले कलाकारको हैसियतले यो नाटक प्रति कत्तिको न्याय गर्न सके त्यो पछि दर्शकको हातमा छोडेको बताउदै नाटक चुनौतिपुर्ण रहेको कन्टेन्टको हिसाबले यो नाटकले पक्कै पनि दर्शकहरुको मन छुने विश्वास व्यक्त गर्नुभयो । नाटक फागुन ५ देखि ११ गतेसम्म पोखरा थिएटरमा प्रस्तुत हुने इन्द्रेणी थिएटरका व्यवस्थापक दिपेन्द्र पौडेलले जानकारी दिनुभयो । नाटकको सह निर्देशक लक्ष्मण डुम्रे हुनुहुन्छ भने कलाकारमा राजेन्द्र अधिकारी, प्राञ्जल, ज्योती हमाल, रिमा शाही ठकुरी, उत्तमजङ्ग राणा, शिवहरी अर्याल र बिनोद पौडेल रहेका छन् ।

