पोखरा: वि विल राइज फाउण्डेसनले राष्ट्रव्यापी वृत्तचित्र प्रतियोगिता ‘मेरो गाउँ, मेरो ठाउँ’ २०२३ को दोस्रो संस्करणका लागि भिडियो आह्वान गरेको छ । फाउण्डेसनले ओझेलमा परेको पर्यटकीय क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यले आज २०७९ फाल्गुण १२ (शुक्रबार) देखि ७० दिन अर्थात् २०८० वैशाख २१ गतेसम्मका लागि भिडियो पठाउन आह्वान गरेको हो । विजेता प्रतियोगीहरूको घोषणा १३ जेष्ठ २०८० का दिन काठमाडौँमा हुनेछ । पर्यटकीय दृष्टिकोणले प्रचुर सम्भावना भएर पनि ओझेलमा परेका कुनै पनि महत्त्वपूर्ण प्राकृतिक, सांस्कृतिक सम्पदा, भेषभुषा, जातजातिको पहिचान, खानपान, कलासंस्कृति लगायतका विषयवस्तुमा केन्द्रित रही वि विल राइज फाउण्डेसनले राष्ट्रव्यापी वृत्तचित्र प्रतियोगिता ‘मेरो गाउँ, मेरो ठाउँ’ को आयोजना गर्दै आएको छ । सन् २०१९ मा पहिलो पटक आयोजित प्रतियोगितामा देशभरबाट उत्साहजनक रूपमा १३२ वृत्तचित्र सहभागी थिए । सन् २०२० मा प्रतियोगिताका लागि भिडियो आह्वान भए पनि विश्वभर फैलिएको कोभिड १९ महामारीका कारण कार्यक्रम स्थगित हुन पुग्यो । यसअघि सन् २०२० को भिडियो च्यालेञ्जमा सहभागी प्रतियोगीहरूले आफूले पठाइसकेको भिडियोमा परिवर्तन गर्नुपर्ने आवश्यक ठानेमा सो भिडियो सम्पादन गरी वा नयाँ नै पनि पठाउन सक्नेछन् । ‘मेरो गाउँ, मेरो ठाउँ २०२३’ प्रतियोगितामा यसअघि सहभागी नभएका नयाँ प्रतियोगीहरूले समेत सहभागिता जनाउन सक्ने फाउण्डेसनले जनाएको छ । भिडियो निर्माताहरुले प्रचुर पर्यटकीय सम्भावना भएर पनि ओझेलमा परेका कुनै पनि गाउँ–ठाउँको प्राकृतिक, सांस्कृतिक सम्पदा, भेषभुषा, खानपान, कलासंस्कृति, जातजातिको पहिचान लगायतका विषयहरूलाई आधार बनाएर भिडियो तयार पार्न सक्नेछन् । वृत्तचित्र अधिकतम ५ मिनेटको हुनुपर्नेछ । प्राप्त भिडियोहरूमध्येबाट निर्णायकले छनौट गरेका उत्कृष्ट दशलाई नगदसहित ‘मेरो गाउँ, मेरो ठाउँ’ अवार्ड प्रदान गरिनेछ । कोरोनाका कारण थलिएको पर्यटन क्षेत्रलाई उकास्न र यस क्षेत्रलाई चलायमान बनाउन यस्ता कार्यक्रमको उपादेयता अझ बढेर गएको छ । यस प्रतियोगिताले देशैभर ओझेलमा रहेका पर्यटकीय थलोहरू पहिल्याउन महत्त्वपूर्ण भूमिका खेल्ने र प्राप्त वृत्तचित्रहरूको उचित प्रचारप्रसार गर्न सके यो आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनका लागि ठूलो सहयोगी हुन सक्नेमा फाउण्डेसन विश्वस्त छ । सहभागीले फाउण्डेसनको आधिकारिक वेबसाइट डब्लुडब्लुआरएफ डट ओआरजी डट एनपी www.wwrf.org.np मार्फत फर्म भरी सहभागिता जनाउन सक्नेछन् । प्रतियोगितामा सहभागिता लागि कुनै किसिमको शुल्क लाग्ने छैन ।
पोखरा: पोखरामा जापान फाउण्डेशन दूतावास जापानको आयोजना र भाषा संघ नेपालको सहकार्यमा आजदेखि पोखरामा जापनीज चलचित्र महोत्सव हुने भएको छ । पोखरामा आज (शुक्रबार) र शनिबार हुने जापनीज चलचित्र महोत्सव प्रर्दशन हुने छ भने, काठमाडौंमा शनिबार र आइतबार महोत्सव हुनेछ । पोखरामा पोखरा उद्योग वाणिज्य संघको सभाहल र काठमाडौंको राष्ट्रिय नाचघर जमालमा हुनेछ । महोत्सव अवलोकन निशुल्क रहेको आयोजकले जनाएको छ ।
पोखरा: छँगेली नेवा खल, पोखराको आयोजनामा भैरव नाच कार्यक्रम हुने भएको छ । फागुन २४ गते पोखरा फुलबारीमा नाच आयोजना गर्न लागिएको छँगेली नेवा खल, पोखराका अध्यक्ष शिबलाल मल्लले जानकारी दिए । नाच सम्पन्न गर्नका लागि विभन्न ६ वटा उपसमिती बनाइएको छ । मुल समारोह व्यवस्थापन समितीको संयोजक शिबलाल मल्ल, सदस्यहरुमा तेजकुमार मल्ल, भरत कर्माचार्य, रुद्र मल्ल, विष्णुकुमार श्रेष्ठ , बुद्धी मल्ल, रमेश मल्ल, सुर्य राजभण्डारी विश्णुश्याम मल्ल रहेका छन् । यस्तै पुजा व्यवस्थापन उपसमितीमा सुना मल्लको संयाजकत्वमा सदस्यहरु निर्मला मल्ल नारायणी श्रेष्ठ, लक्ष्मण मल्ल , अन्जु मल्ल, अर्मिला मल्ल, लक्ष्मी मल्ल, शान्ती कर्माचार्य, बिन्दु मल्ल, सरस्वती मल्ल रहेका छन् । प्रचारप्रसार उपसमितीमा सन्जय मल्ल संयोजक तथा जयराम कायस्थ, रामप्रताप मल्ल, मनिराज मल्ल सदस्य छन् । कार्यक्रम सफल बनाउन अर्थिक व्यवस्थापन उपसमितीमा प्रल्हादभक्त कायस्थ संयोजक, हेमन्त मल्ल, श्याम मल्ल, कृष्ण मल्ल सदस्य रहेका छन् । खाना व्यवस्थापन उपसमितीमा बालकृष्ण श्रेष्ठ संयोजक, मिलन श्रेष्ठ, ज्ञाननारायण श्रेष्ठ, लक्ष्मण मल्ल सदस्य छन् । स्वयमसेवक व्यवस्थापन उपसमितीमा संयोजक मोहन मल्ल, सदस्यहरु रविन्द्र मल्ल, सुरेन्द्र मल्ल, सुर्यकुमार श्रेष्ठ, इश्वर कर्माचार्य, सन्जय श्रेष्ठ, सुमन कायस्थ रहेका छन् । तनहुँको साविक छांग गाविसबाट बसाइसराइ गरि पोखरा बसोबास गरेकाहरुले २०७२ सालमा ाछांगेली नेवाः खल पोखराको स्थापना गरेको थियो ।
पोखरा: आलु गाउँका रुपमा ख्याती कमाएका कास्कीको हेमजामा आगामी चैत २६ गतदेखि बैशाख ३ गतेसम्म ११ औं राष्ट्रिय हेमजा आलु महोत्सव हुने भएको छ । ‘सुन्दर ठाउँ हेमजा जाउँ, आलुका स्वादिष्ट परिकार खाउ, आलु एक परिकार अनेक’ भन्ने मूल नाराका साथ विष्णु्पादुका खेलमैदान पोखरा २५ हेमजामा हुने छ । मंगलबार हेमजामा बसेको भेलाले सुबिन श्रेष्ठको संयोजकत्वमा मुल आयोजक समिति गठन गरेको छ ।समिति महासचिवमा वसन्तकुमार श्रेष्ठ, सचिवमा चन्द्रमान श्रेष्ठ तथा कोषाध्यक्षमा मधुर कुँवर रहनु भएको छ । भेलाले विभिन्न उपसमिति पनि गठन गरेको छ । अर्थ संकलन उपसमिति संयोजकमा डम्बरबहादुर कुँवर, लेखा उपसमिति संयोजकमा राम सापकोटा, स्टल रेस्टुरेस्ट उपसमिति संयोजकमा राजेन्द्र थापा, आमा समूह परिचालन उपसमिति संयोजकमा उमा भुर्तेल, अतिथि सत्कार उपसमिति संयोजकमा शान्ता केसी, सांस्कृतिक उपसमिति संयोजकमा दानबहादुर थापा, सुरक्षा व्यवस्थापन उपसमितिको संयोजकको जिम्मेवारी डम्बरबहादुर अधिकारीलाई दिइएको छ । भेलाले पानी बिजुली उपसमिति संयोजकमा केशव गिरी, यातायात तथा पार्किङ उपसमिति संयोजकमा बिपिन थापा, बैंक तथा बित्तीय संघसंस्था समन्वय उपसमिति संयोजकमा कृष्ण पौडेल, स्वयंसेवक परिचालनमा अस्बिन थापा, प्रचारप्रसार उपसमितिमा निराजन अधिकारी, झाँकी ¥याली व्यवस्थापनमा पार्वती बाँस्तोला, कृषि परिचालन उपसमिति जयराम तिमिल्सिना, प्राथमिक उपचारमा अनिल पौडेल, छपाइ तथा अनलाइन व्यवस्थापनमा नरेस सिरस र वैदेशिक समन्वयमा मनोज कार्कीले पाउनु भएको छ । वि.स २०६६ सालदेखि वार्षिक रुपमा चैतमा हुँदै आएको उक्त महोत्सवको पहिलो संस्करण स्थानीय बहुउद्देश्यीय किसान सहकारी संस्थाले, दोस्रो संस्करण तत्कालिन हेमजा गाविसले तथा तेस्रो संस्करणदेखि लगातार विष्णुपादुका क्लबले गर्दै आएको थियो । कोरोना भाइसरको संक्रमणका कारण बिगत ३ बर्षदेखि स्थगित भएको महोत्सव यस बर्षदेखि निरन्तर दिन लागिएको हो । क्लबका अध्यक्ष सुबिन श्रेष्ठको अध्यक्षतामा बसेको भेलाको सञ्चालन सचिव बसन्तकुमार श्रेष्ठले गर्नु भएको थियो ।
पोखराः सोमबार पोखरा विमानस्थलमा अवतरण गरिरहेकोबेला बुद्ध एयरसँग चिल ठोक्किएर झरेको भिडियो बाहिरिएपछि यसबारे सर्वसाधारणको जिज्ञासा बढेको छ । भिडियो खिचेर सामाजिक सञ्जालमा पोस्टिने व्यक्ति इश्वर क्षेत्री हुन् । यस भिडियोको आधिकारिता खोज्ने क्रममा पोखरा अन्र्तराष्ट्रिय विमानस्थलका प्रमुखसँग सम्पर्क गर्दा उनले बुद्ध एयरको विमानसँग चिल ठोक्किएको अस्वीकार गरेका छन् । ‘सामाजिक सञ्चालमा भिडियो आएपछि सर्वसाधारणको जिज्ञासा बढ्नु स्वभाविक हो’, गौतमले भने, ‘हिजो सार्वजनिक भएको भिडियोबारे मलाई पनि जानकारी आएको थियो, हेरें तर कहिलेको हो, कहाँ हो, यसबारे कुनै रिपोर्टिङ छैन ।’ बुद्ध एयर पोखराका म्यानेजर गौतम बरालले भिडियोमा सत्यता नभएको दावी गरेका छन् । ‘जहाजसँग चराहरु ठोक्किए क्षति पुग्छ तर जहाजमा कुनै क्षति भएको देखिएन’, गौतमले भने, ‘हिजो काठमाडौंबाट पोखरा आएको जहाज पुनः काठमाडौं नै फर्केको छ, जहाजमा कुनै समस्या छैन ।’ सामाजिक सञ्जालमा भाइरल भिडियोमा भने जहाज उड्दै गर्दा दुई वटा गिद्ध वेगसँग झरेको देखिन्छ । भिडियोग्राफर क्षत्रीले भने घुम्न जानेक्रममा मोबाइलबाट जहाजको भिडियो खिच्नेक्रममा उक्त दृश्य कैद भएको सुनगाभा न्यूजसँग बताएका छन् । उनले भने, ‘मैले खिचिरहँदा जहाज क्रस भएपछि चीलजस्तो देखिने चरा रन्थनिँदै झरेको छ । जुन भिडियोमा प्रष्टै छ ।’ (भिडियोसहित)
पोखरा: पोखरामा सोमबार देखि हराइरहेका बालक आज खुँडेपोखरीमा मृत फेला परेका छन् । जिल्ला प्रहरी कार्यालयका कास्कीका अनुसार सुशिला केसीको चार वर्षीय छोरा सुहान केसी पोखरीमा मृत भेटिएका हुन् । हिजो (सोमबार) बेलुका देखि हराइरहेका केसी पोखरा महानगरपालिका ५ खुँडेपोखरीमा डुबेको अवस्थामा मृत भेटिएका हुन् ।
पोखरा: पोखरा रिसर्च सेन्टरले सञ्चालन गरेको गण्डकी प्रदेशमा युथ इन पोलिसी एन्ड गभरनेन्स (वाइपिजी) फेलोसिप कार्यक्रम अन्तर्गत क्याम्प २ भएको छ । नेसनल इन्डोमेन्ट फर डेमोक्रेसीको सहयोगमा रिसर्च सेन्टरले सञ्चालन गरेको उक्त कार्यक्रम अन्तर्गत ४ दिने क्याम्प २ आइतबार सकिएको हो । २० देखि ३० वर्षका युवालाई कानुन तथा सार्वजनिक नीति निर्माणमा सहभागी गराउने उद्देश्यसँगै सञ्चालन गरिएको उक्त क्याम्प २ मा २६ युवायुवती सहभागी थिए । यसअघि रिसर्च सेन्टरले पुस ७ सम्मको मिति राखेर आवेदन दिन आग्रह गरेको थियो । आवेदकमध्येबाट पहिलो चरणमा ५० जना छनोट गरी गत माघमा पहिलो क्याम्प सञ्चालन भएको थियो । उक्त क्याम्पबाट २६ जनालाई छनोट गरी दोस्रो क्याम्पमा पठाइएको हो । अब रिसर्च सेन्टरले २६ जनाबाट १२ जनालाई अर्को राउन्डमा छनोट गर्नेछ । त्यसपश्चात् १२ जनालाई वाइपिजी फेलोको रुपमा गण्डकी प्रदेश सभाका सदस्यसँग ज्ञान सहायक भई ६ महिना काम गर्ने अवसर प्रदान गरिने रिसर्च सेन्टरका ‘एक्जुकेटिभ डाइरेक्टर’ सुजन रेग्मीले बताए । सामाजिक नीति नियम र सुशासनमा रुचि राख्ने २०-३० वर्षका गण्डकी प्रदेशमा बसोबास गरिरहेका २ सय ५० जना युवायुुवती यसका लागि आवेदन दिएका थिए । युथ इन पोलिसी एन्ड गभरनेन्स (वाइपिजी) अन्तर्गत रिसर्च सेन्टरले प्रदेश १, कर्णाली प्रदेशमा समेत कार्यक्रममा सञ्चालन गरिसकेको छ । गण्डकी प्रदेशमा यसअघि २ पटक यो कार्यक्रम सञ्चालन भइसकेको छ ।
पोखरा: राष्ट्रिय समाचार समिति (रासस) गण्डकी प्रदेशको कार्यालयमा चोरीको प्रयास गर्ने दुई युवक प्रकाउ परेका छन् । पोखरा महानगरपालिका ९ नयाँबजारस्थित राससको कार्यालयमा चोरीको प्रयास गरेका पोखराका २ युवकलाई प्रकाउ गरिएको वडा कार्यालय बैदामका प्रहरी नायब उपरीक्षक बेदप्रसाद जोशीले जानकारी दिए । ‘शनिबार पोखरा रंगशालामा म्याराथन शुरु हुन लागेको थियो, रासस कार्यालयबाट बिहान ६ बजे चोरी भएको खवर आयो, प्रहरी उपरीक्षक जोशीले भने, ‘घटनाको उजुरीपछि अनुसन्धान गर्दै जाँदा २ जनालाई प्रकाउ गरेर अनुसन्धान अगाडी बढाएका छौं।’ प्रहरी उपरिक्षक जोशीका अनुसार कार्यालयमा शुक्रबार राति प्रवेश गरी चोरीको प्रयास गर्ने पोखरा–३ नदीपुर बस्ने १९ वर्षीय राजीव दास र पोखरा–७ चोरसाँघुका २६ वर्षीय रोशन मगरलाई नियन्त्रणमा लिएको हो । जोशीका अनुसार प्रकाउ परेका दास तीन पटक प्रकाउ परेर छुटेको देखिन आएको छ । ‘पहिलो पटक चोरी गरेको अभियोगमा प्रकाउ परेका दासलाई बालसुधार गृहमा पठाईको हो, जोशीले भने, ‘बालसुधारबाट आएपछि पटकपटक चोरीमा संग्लन भएको पाएका छौं ।’ प्रहरीका अनुसार राष्ट्रिय समाचार समिति (रासस)को कार्यालयबाट चोरी भएको क्यामेरा सहित प्रकाउ परेका दुई युवकलाई चोरी तथा डाँका कसुरअन्तर्गत अनुसन्धान भइरहेको छ । सिसी क्यामेरा फुटेजमा देखिएको हुलियाका आधारमा उनीहरु पक्राउ परेका हुन । शुक्रबार राति १ः३० बजे कार्यालयको ढोका फोडेर चोरी प्रयास भएको थियो ।
पोखरा: पोखरा महानगरपालिका २७ लेखनाथको डाडानाक प्रहरी चौकी अगाडि माईक्रो बस दुर्घटना हुँदा ४५ जना घाइते भएका छन् । बेगनासतालबाट पोखरा आउँदै गरेको ग १ ख ६७४७ नम्बरको बस दुर्घटना ४५ जना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी ज्ञान बहादुर खड्काले जानकारी दिए । ‘पोखरा विश्वविद्यालयबाट पोखरा आउँदै गरेको डाँडाको नाक लेखनाथमा दुर्घटना हुँदा ४५ जना घाइते भएका छन्, घाइतेहरुलाई पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, गण्डकी मेडिकल कलेज, फिस्टेल, मेट्रोसेटीमा उपचार भइरहेको छ, थप अनुसन्धान हुँदै छ ।’ सूचना अधिकारी खड्काले भने ।

