‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेञ्ज २०२३ आह्वान
पाेखरा | फागुन १३, २०७९
पोखरा: वि विल राइज फाउण्डेसनले राष्ट्रव्यापी वृत्तचित्र प्रतियोगिता ‘मेरो गाउँ, मेरो ठाउँ’ २०२३ को दोस्रो संस्करणका लागि भिडियो आह्वान गरेको छ ।
फाउण्डेसनले ओझेलमा परेको पर्यटकीय क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यले आज २०७९ फाल्गुण १२ (शुक्रबार) देखि ७० दिन अर्थात् २०८० वैशाख २१ गतेसम्मका लागि भिडियो पठाउन आह्वान गरेको हो । विजेता प्रतियोगीहरूको घोषणा १३ जेष्ठ २०८० का दिन काठमाडौँमा हुनेछ ।
पर्यटकीय दृष्टिकोणले प्रचुर सम्भावना भएर पनि ओझेलमा परेका कुनै पनि महत्त्वपूर्ण प्राकृतिक, सांस्कृतिक सम्पदा, भेषभुषा, जातजातिको पहिचान, खानपान, कलासंस्कृति लगायतका विषयवस्तुमा केन्द्रित रही वि विल राइज फाउण्डेसनले राष्ट्रव्यापी वृत्तचित्र प्रतियोगिता ‘मेरो गाउँ, मेरो ठाउँ’ को आयोजना गर्दै आएको छ । सन् २०१९ मा पहिलो पटक आयोजित प्रतियोगितामा देशभरबाट उत्साहजनक रूपमा १३२ वृत्तचित्र सहभागी थिए । सन् २०२० मा प्रतियोगिताका लागि भिडियो आह्वान भए पनि विश्वभर फैलिएको कोभिड १९ महामारीका कारण कार्यक्रम स्थगित हुन पुग्यो ।
यसअघि सन् २०२० को भिडियो च्यालेञ्जमा सहभागी प्रतियोगीहरूले आफूले पठाइसकेको भिडियोमा परिवर्तन गर्नुपर्ने आवश्यक ठानेमा सो भिडियो सम्पादन गरी वा नयाँ नै पनि पठाउन सक्नेछन् । ‘मेरो गाउँ, मेरो ठाउँ २०२३’ प्रतियोगितामा यसअघि सहभागी नभएका नयाँ प्रतियोगीहरूले समेत सहभागिता जनाउन सक्ने फाउण्डेसनले जनाएको छ ।
भिडियो निर्माताहरुले प्रचुर पर्यटकीय सम्भावना भएर पनि ओझेलमा परेका कुनै पनि गाउँ–ठाउँको प्राकृतिक, सांस्कृतिक सम्पदा, भेषभुषा, खानपान, कलासंस्कृति, जातजातिको पहिचान लगायतका विषयहरूलाई आधार बनाएर भिडियो तयार पार्न सक्नेछन् । वृत्तचित्र अधिकतम ५ मिनेटको हुनुपर्नेछ । प्राप्त भिडियोहरूमध्येबाट निर्णायकले छनौट गरेका उत्कृष्ट दशलाई नगदसहित ‘मेरो गाउँ, मेरो ठाउँ’ अवार्ड प्रदान गरिनेछ ।
कोरोनाका कारण थलिएको पर्यटन क्षेत्रलाई उकास्न र यस क्षेत्रलाई चलायमान बनाउन यस्ता कार्यक्रमको उपादेयता अझ बढेर गएको छ । यस प्रतियोगिताले देशैभर ओझेलमा रहेका पर्यटकीय थलोहरू पहिल्याउन महत्त्वपूर्ण भूमिका खेल्ने र प्राप्त वृत्तचित्रहरूको उचित प्रचारप्रसार गर्न सके यो आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनका लागि ठूलो सहयोगी हुन सक्नेमा फाउण्डेसन विश्वस्त छ ।
सहभागीले फाउण्डेसनको आधिकारिक वेबसाइट डब्लुडब्लुआरएफ डट ओआरजी डट एनपी www.wwrf.org.np मार्फत फर्म भरी सहभागिता जनाउन सक्नेछन् । प्रतियोगितामा सहभागिता लागि कुनै किसिमको शुल्क लाग्ने छैन ।
काठमाडौं: सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे बस्दैछ । आजको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘आदिवासी जनजाति आयोगको छैटौँ वा...
गण्डकी: म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ मुलपानीस्थित एकतारे खोलाले बगाउँदा ३५ वर्षीय भीमबहादुर घर्ती बेपत्ता हुनुभएको छ । रघुगङ्गा–८ चौरखानीबाट किनेर ल्याएको भैँसीसहित खोला तर्ने क्रम...
गण्डकी: कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दी सदरमुकाम बेनीबाट मुस्ताङको जोमसोम जोड्ने सडक पहिरोले अवरुद्ध भएको छ । रघुगङ्गा गाउँपालिका-२ बैसेरीमा आज दिउँसो सडकमाथि पहिरो खस्दा सवारी आवा...

