पोखराः नेवाः खल कास्की र नेवाः मिसा पुचः कास्कीको आयोजनामा पोखरामा नेवारी भोज कार्यक्रम हुने भएको छ । शनिबार झ्वः भ्वय तथा सांस्कृतिक उत्सवको तेस्रो संस्करण आयोजना हुन लागेको नेवाः मिसा पुचः कास्कीका अध्यक्ष मेनुका श्रेष्ठले जानकारी दिनुभयो । साँस्कृतिक गतिविधी मार्फत नेवारी संस्कृतिको जगेर्नामा तल्लिन नेवाः खलले नेवारी खानाको संस्कृतिलाई बचाउनका लागि भोजको आयोजना गरिएको नेवाः खल कास्की का अध्यक्ष अशोक पालिखेले बताउनुभयो । पोखरामा पहिलोपटक २०७२ सालमा झ्वः भ्वयको आयोजना गरिएको थियो । हरेक २/२ बर्षमा आयोजना हुने नेवारी भोज कोरोनाका कारण नियमित हुन नसकेको उहाँले जानकारी दिनुभयो । नेवारी खानका परिकारलाई फुड कल्चरका रुपमा विकसित गर्न तथा परम्परादेखि चलि आएको खाद्य संस्कारका बारेमा युवा पुस्तालाई समेत जानकारीका लागि कार्यक्रम सहायक हुने कार्यक्रम संयोजक मोहिनी श्रेष्ठले बताउनुभयो । कार्यक्रममा नेवारी परिकारका साथै कुमारी नाच, बज्रयोगिनी नाच समेत प्रस्तुत गरिने नेवाः मिसा पुचः का संस्थापक अध्यक्ष शान्ती उदासले जानकारी दिनुभयो । उक्त कार्यक्रममा १ हजार २ सय जनालाई भोज खुवाइने लक्ष्य रहेको उदासले बताउनुभयो । कार्यक्रम भिमसेनटोलस्थ्ति नेवाः छेः मा आयोजना हुने छ । कार्यक्रमका लागि तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ । कार्यक्रम सम्पन्न गर्नका लागि विभिन्न उपसमितिहरु समेत गठन गरिएको छ । कार्यक्रम संयोजकमा मोहिनी श्रेष्ठ, अतिथि सत्कारमा शान्ति उदास, आर्थिक व्यवस्थापनमा सोनी ढेवाजु, सांस्कृतिक संयोजकमा रेविका श्रेष्ठ, टिकट व्यवस्थापनमा किरण बिजुक्छे, प्रचारप्रसार संयोजकमा शक्ति प्रधानाङ्ग, साज सज्जामा देविका श्रेष्ठ तथा व्यानर व्यवस्थापनमा रेखा कर्माचार्य रहेका छन् । कार्यक्रमलाई गण्डकी आयल मिलको कोशेली तेल, नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेज, ग्रीन डेभलबमेन्ट बैंक, टिशा सिल्भर सप, मेनुका इम्पोरियमले प्रायोजन गरेको छ । यसैगरि सुजल फुड्स, फिस्टेल डेरी, वोन्डाइ क्याफे, कृष्ण राइस मिल लगायतका संघ संस्थाले पनि प्रायोजन गरेका छन् भने नेपाल पर्यटन वोर्ड पोखरा प्रवद्र्धकका रुपमा रहेको छ ।
पोखराः पृथ्वीनारायण क्याम्पसले अन्तर संकाय सप्ताहव्यापी खेलकुद कार्यक्रम आयोजना गरेको छ । नेपालकै दोस्रो ठुलो आंगिक कलेजका रुपमा परिचित पोखरा महानगर १ स्थित पृथ्वीनारायण क्याम्पसले विद्यार्थीको अन्तरनिहित प्रतिभालाई प्रस्फुटन गर्ने उद्देश्यका साथ हरेक वर्ष आयोजना गर्दै आएको नियमित प्रतियोगितालाई दिएको हो । पृथ्वीनारायण क्याम्पसको आयोजना र विद्यार्थी कल्याण तथा खेलकुद शाखाको संयोजनमा पुष १० देखि १४गते प्रतियोगिता सञ्चालन हुने क्याम्पस प्रमुख डा. सरोज कोइरालाले बताए । उनका अनुसार सप्ताहव्यापी प्रतियोगितामा अन्तरसंकाय फुटबल छात्र÷छात्रा, बास्केटबल छात्र/छात्रा, टेबुल टेनिस छात्र/छात्रा, बुद्विचाल छात्र/छात्रा, भलिबल छात्र/छात्रा, पुरुष क्रिकेट, एथ्लेटिक्सतर्फ ५ कि.मि सडक दौड छात्र, छात्रा र अतिरिक्त क्रियाकलाप तर्फ निबन्ध लेखन, वक्तृत्वकला र कविता लेखन गरि १० विधामा प्रतियोगिताहरु सञ्चालन हुनेछन् । ३ वर्ष कारोना भाइरसका कारण खेलकुद कार्यक्रम आयोजना गर्न नसकेको क्याम्पस प्रमुख डा. कोइरालाले बताए । ‘पत्येक वर्ष क्याम्पसले अन्तरसंकाय स्तरीय प्रतियोगिता आयोजना गर्दै आएको छ, उनले भने, ‘ ३ वर्ष कोरोना भाइरसको कारण प्रतियोगिता सञ्चालन गर्न सकेनौं अब प्रतियोगितालाई निरन्तरता दिन्छौं । ’ शिक्षा संकायका सहायक प्रमुख यादव राज अधिकारीले आज (बिहिबार) सम्म टिम दर्ताको समय भएको र प्रतियोगितामा विद्यार्थीको संख्या बढी रहेको बताए । ‘लामो समय पछिको यस खेलकुद प्रतियोगितामा विद्यार्थीहरुको सहभागिता उल्लेख्य देख्न सकिन्छ, उनले भने, ‘ प्रतियोगितामा विद्यार्थीहरुको घुइचो बढेर आएको छ । आज सम्म टिम दर्ता प्रक्रिया पुरा हुन्छ, कुन खेलमा कति संख्या छ त्यै अनुसारको खेल हामिले निर्धारण गर्छौँ । खेल तालिका भोलिसम्म सार्वजनिक गर्छौं ।’ खेलकुद मेजर प्रतियोगितामा विजेताहरुले ट्रफी, मेडल,प्रमाणपत्र र नगद पाउने छन् । त्यस्तै एथ्लेटिक्स र अतिरिक्त क्रियाकलापतर्फका विजेताहरुले मेडल, प्रमाणपत्र र नगद पाउने अधिकारीले बताए । यस्तै क्याम्पसले प्राध्यापक र कर्मचारीहरु बिच ‘मैत्रीपूर्ण फुटबल प्रतियोगिता समेत आयोजना गरेको छ ।
पोखराः पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले जनप्रिय बहुमुखी क्याम्पसलाई मानित विश्वविद्यालय बनाउनका लागि जग्गा प्रबन्ध गर्न प्रतिवद्ध रहेको जनाएका छन् । क्याम्पसको नवौं अधिवेशनबाट निर्वाचित कार्यसमितिको पदस्थापना कार्यक्रममा प्रमुख अतिथिका रूपमा बधाई तथा शुभकामना मन्तव्य राख्दै आचार्यले भने हामी पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्दै छौं, पर्यटन क्षेत्रका लागि चाहिने दक्ष जनशक्ति उत्पादनमा जनप्रियले स्वायत्त कार्यक्रम विएमटिम चलाइरहको हुँदा प्राज्ञिक उन्नयनसँगै विशिष्टता हाँसिल गर्न आग्रह गरे । पदस्थापनापछि नवनिर्वाचित वीरेन्द्रनारायण अध्यक्ष बिजुक्छेले ‘जनप्रिय क्याम्पस समुदायबाट सञ्चालित शैक्षिक संस्था भएकाले संरक्षक र सिनेटरलाई विशेष सम्मान गर्ने, कर्मचारी र प्राध्यापकको मनोवल बढाउने, आर्थिक मितव्ययिता पालना गर्ने, जवाफदेहिता र पारदर्शिता कायम गर्दै संस्थाको विधि र मर्यादाभित्र रहेर काम गर्ने प्रतिवद्धता गरे । बिजुक्छेले थपे आफू राजनीतिक व्यक्ति भए पनि तीन वर्षे कार्यकालमा जनप्रियभित्र राजनीतिक रङ दिने छैन् । पूर्वाधार विकास र शैक्षिक गुणस्तर वृद्धिमा कुनै ‘कम्प्रोमाइज’ गर्दिन भने । अध्यक्षका प्रत्यासी सोमनाथ बरालले राजनीतिक, सामाजिक र शैक्षिक क्षेत्रमा काम गरेर अनुभव हाँसिल गरेको अध्यक्ष क्याम्पसले पाएको हुँदा गुणस्तरको शाख कायम राख्दै, स्वायत्त कार्यक्रमलाई प्रभावकारी बनाउन, शिक्षक कर्मचारीको स्थायी र बढुवा गर्ने कार्यमा कार्यविधि बनाएर काम गर्न सुझाए । पदस्थापना कार्यक्रममा नवनिर्वाचित कार्यसमितिलाई शुभकामना र बधाईसँगै सुझाव पनि दिइएको थियो । संस्थापक पूर्व उपाध्यक्ष हरि बराल, संस्थापक प्राध्यापक प्राडा देवेन्द्रबहादुर लामिछाने, निवर्तमान अध्यक्ष तारा गिरी, पूर्व अध्यक्ष दामोदर चालिसे, इन्द्रबहादुर कुँबर, सल्लाहकार परशुराम बराल, सिर्जना विकास केन्द्रका अध्यक्ष कृष्णबहादुर थापा, क्याम्पस प्रमुख लोकराज भण्डारी लगायतका वक्ताले चुनाव जितेको दम्भ नलिई अहङ्कार बिर्सेर क्याम्पसको हितमा क्रियाशील रहन आह्वान गरे । क्याम्पस सञ्चालक समितिका ११ जना सदस्यहरूमा अर्जुन श्रेष्ठ, रंगिला आचार्य, ध्रुवराज चालिसे, युवराज पराजुली, गणेशबहादुर अधिकारी, इन्द्रप्रसाद पौडेल, शोभामोहन पौडेल, नम्रता बराल, राजेन्द्र पहारी, विजयराज आचार्य र कृष्णप्रसाद पराजुली निर्वाचित भएका छन् । सदस्यहरू एकल सङ्क्रमणीय निर्वाचन पद्धतिबाट चयन भएका हुन् । निर्वाचन समितिका संयोजक अधिवक्ता दयाराम गौतमले अध्यक्ष बिजुक्छेसहित सञ्चालक समितिका सदस्यहरूलाई पद तथा गोप्यनीयताको सपथ ग्रहण गराए । निर्वाचन समितिका संयोजक अधिवक्ता दयाराम गौतमको सभापतित्वमा सम्पन्न पदस्थापना कार्यक्रममा सदस्य एकनारायण अर्यालले शुभकामना मन्तव्य राखेका थिए भने डा.श्रीकान्त शर्मा खतिवडाले कार्यक्रम सञ्चालन गरेका थिए ।
पोखरा: उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीको आयोजनामा पोखरामा १५ औं संस्करणको हिसान स्पोर्टस मिट औपचारिक रुपमा सुरु भएको छ । पोखरा रंगशालामा आयोजित १५ औं हिसान स्पोर्टस मिटको एक भव्य समारोहका विच गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीले उद्घाटन गरेका छन् । सेम अवसरमा बोल्दै मुख्यमन्त्री पोखरेलले पोखरा खेलकुद संस्कृतीको शहरको रुपमा बिकास भएको बताए । उनले भने–“गण्डकी प्रदेशको राजधानी पोखरामा आयोजना हुने ठूला राष्ट्रिय अन्तर्राष्ट्रिय प्रतियोगिता हुन वा अन्य खेल गतिविधिले पनि पोखरा खेलकुदको संस्कृतीको शहरको रुपमा स्थापित गर्न सहयोग गरेको छ ।” पोखरालाई खेलकुद राजधानीको शहरको रुपमा घोषणा गर्न प्रदेश सरकारले पटक–पटक आफ्ना कुराहरु संघिय सरकारलाई अघि बढाएको बताउँदै मुख्यमन्त्री पोखरेलले हिसानले शिक्षाको क्षेत्रमा जसरी बिकास गरेको छ त्यसरीनै खेलकुद विकासका लागि समेत महत्वपूर्ण भूमिका खेलेकोमा हिसान कास्की प्रति आभार व्यक्त गरे । सो अवसरमा आफ्ना भनाई राख्दै हिसानका केन्द्रिय अध्यक्ष तथा राष्ट्रिय खेलकुद परिषद (राखेप)का पूर्व सदस्य सचिव रमेश सिलवालले खेलकुदमा कहिल्यै पनि राजनितीमा जस्तो हार वा जितको विषय नहुने बताए । उनले खेलकुदले एकताको विकास गर्न अहम भूमिका खेल्ने बताउँदै हिसानले आगामी दिन चाँडै नै राष्ट्रियस्तरको फुटसल प्रतियोगिता आयोजना गर्न लागिएको बताउँदै स्पोर्टस मिटले खेलकुद मार्फत मित्रता बढाउन कोशेढुङ्गा सावित हुने उल्लेख गरे । हिसान कास्कीका अध्यक्ष याम बहादुर रोक्काको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा १५ औं हिसान स्पोर्टस मिटका संयोजक डा.रामजी शर्माले शिक्षा संगै खेलकुदको विकास र खेलाडी उत्पादनका लागि स्पोर्टस मिटलाई निरन्तरता दिंदै आएको बताए । उद्घाटन कार्यक्रममा अतिरिक्त कृयाकलापमा बिजेता विद्यालय तथा विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो भने विभिन्न विद्यालयका विद्यार्थीहरुले एकल तथा सामुहिक नृत्य प्रस्तुत गरेका थिए । बास्केटबल १५ औं हिसान स्पोर्टस मिट अन्तर्गत बिहिबार प्लस टु छात्रतर्फ १३ खेल सम्पन्न भएको बास्केटबल प्रतियोगिताका संयोजक खिम गुरुङले जनाएका छन् । प्रतियोगिता अन्तर्गत भएको उद्घाटन खेलमा सगरमाथाले रेन्वो ४४–६ को स्कोरले पराजित गरेको छ । यसै गरी हाभर्डले गुरुकुल विद्याश्रमलाई २२–१२, साइनिङस्टारले सबलाइमलाई ११–९ ले, बालोदयले पोखरा मल्टिमोडललाई २७–११ ले, गोरखाले न्यूलाइटलाई १५–१३ ले, बाल क्ल्याणले गुरुकुल विद्यासदनलाई ४१–२४ ले, भाष्करले त्रिवेणीलाई ३७–३४ ले पराजित गरेको छ । त्यस्तै सोही स्पर्धा अन्तर्गत जेशिएले वेलननलाई ३६–२ ले, ग्लोबले बेथानीलाई ५०–२० ले, मेरी गोल्डले न्यू मोडललाई २४–७ ले, केएमएले सिर्जनालाई ४१–३२ले, मनकामनाले एलएलाई ६५–१९ ले, मासले डायमण्डलाई ५०–९ ले पराजित गर्न सफल भएका छन् । टेबुल टेनिस यसै गरी प्रतियोगिता अन्तर्गत विश्वविद्यालय छात्रा सिंगल्स टेबुल टेनिसमा पोखरा इन्जिनियरिङकी प्रकिती गौतम प्रथम भएकी छन् भने लेकसिटीकी सिमर विक दोश्रो र लाग्राण्डीकी आस्था श्रेष्ठ र सपना बानियाँ तेश्रो भएका छन् । विश्वविद्यालयतर्फ भएको डबल्स् छात्रातर्फ पोखरा कलेज अफ म्यानेजमेन्ट पहिलो हुँदा दोश्रो लेकसिटी कलेज भएको छ । त्यस्तै लाग्राण्डी र पोखरा इन्जिनियरिङ कलेज तेश्रो भएको टेबुल टेनिसका संयोजक आनन्दराज अधिकारीले जनाएका छन् । आजै सम्पन्न विश्वविद्यालय छात्र टेबुल टेनिस सिंगल्सतर्फ सोच कलेजका कविर श्रेष्ठ पहिलो हुँदा लिंकनका अमिष ढकाल दोश्रो भएका छन् । त्यस्तै पिसिएमका शिसिर बास्तोला र इम्फरमेटिक्सका प्रताप खड्का तेश्रो भएका छन् । त्यसै गरी छात्र डबल्सतर्फ लिंकन कलेज पहिलो, सोच कलेजले दोश्रो भए भने पोखरा इन्जिनियरिङ्ग कलेज र पोखरा कलेज अफ म्यानेजमेन्ट तेश्रो भएको हिसान कास्कीले जनाएको छ । भलिबल १५ औं हिसान स्पोर्टस मिट अन्तर्गत प्लस टु छात्र–छात्रा भलिबलतर्फ १६ वटा खेलहरु सम्पन्न भएको संयोजक किरण सापकोटाले जनाएका छन् । प्रतियोगिता अन्तर्गत छात्रतर्फ पोखरा यूनाइटेडले लिटिलस्टेपलाई, बाल प्रभातले केएमएलाई, स्पाइर ग्यालेक्सीले ग्लोबललाई, केफले अक्सफोर्डलाई, हिल पोइन्टले त्रिवेणीलाई, वेष्ट पोइन्टले वेलननलाई, टप्सले बालोदयलाई, मासले पोखर मल्टिमोडललाई, प्रतिभाले भाष्करलाई पराजित गर्न सफल रहे । त्यस्तै प्लस टु छात्रा भलिबलमा केएमएले प्रतिभालाई, पश्चिमाञ्चलले जेसिएलाई, केफले सिर्जनालाई, मदर ल्याण्डले शाइनिङ स्टारलाई, हिल पोइन्टलो मल्टिमोडललाई, केएमएले टप्सलाई, डायमण्डले न्यू ग्यालेक्सीलाई जितेको संयोजक सापकोटाले जानकारी दिए । ब्याडमिन्टन स्पोर्टस मिट अन्तर्गत नै बिहिबारबाट प्लस टु छात्र–छात्रा सिंगल्स र डबल्सका ब्याडमिन्टनका पहिलो चरणका स्पर्धा सुरु भएको ब्याडमिन्टनका संयोजक पुरन कुंवरले जनाए । आज सिंगल्स र डबल्सतर्फ गरी कूल ६९ वटा खेलहरु सम्पन्न भएका छन् । शुक्रबारबाट विश्वविद्यालयतर्फका पहिलो चरणका खेलहरु हुने र प्लस टुतर्फ प्रि क्वाटरका खेलहरु सुरु हुने उनले जनाए । हरेक वर्ष आयोजना हुँदै आएको हिसान कास्की स्पोर्टस मिट अन्तर्गत छात्र–छात्रा बास्केटबल, भलिबल, व्याडमिन्टन र टेबुल टेनिसका प्रतिष्पर्धा हुने स्पोर्टस मिटका संयोजक डा.रामजी शर्माले जनाएका छन् । बास्केटबल छात्रतर्फ ४२ टिम र छात्रातर्फ २५ टिमको सहभागिता रहने छ भने भलिबल छात्रतर्फ ३४ टिम र छात्रातर्फ २२ टिमको सहभागिता रहने संयोजक शर्माले जानकारी दिए । विश्वविद्यालयतर्फ बास्केटबल छात्रतर्फ ८ टिमको सहभागिता रहेको छ । यसै गरी व्याडमिन्टन छात्र–छात्रातर्फ ३४ विद्यालयहरुको सहभागिता रहेको छ भने सिंगल्स र डब्ल्स गरी कुल १ सय ४१ प्रतिष्पर्धाहरु हुने हिसान कास्कीले जनाएको छ । यस्तै टेबुल टेनिसतर्फ ३४ विद्यालयहरुको सहभागिता रहेको छ । टेबुल टेनिसतर्फ सिंगल्स र डब्ल्समा गरी १ सय ५० वटा प्रतिष्पर्धा हुने आयोजकले जनाएको छ । पौष १० गते सम्म सञ्चालन हुने हिसान कास्की स्पोर्टस मिट सम्पन्न गर्न करिव १५ लाख खर्च हुने अनुमान गरिएको संयोजक शर्माले पोखरा स्पोर्टसलाई जानकारी दिए । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीमा विद्यालय, कलेज र विश्वविद्यालय गरी आवद्धता रहेका ७२ मध्ये ६० शिक्षण संस्थाले स्पोर्टस मिटमा सहभागिता जनाएका छन् । जस मध्ये ९ बटा विश्वविद्यालय रहेका छन् । स्पोर्टस मिटमा ८ हजार विद्यार्थीहरुको प्रत्यक्ष सहभागिता रहने हिसान स्पोर्टस मिट प्रचार प्रसार संयोजक डिल्लीराम अर्यालले जानकारी दिए ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आज पौने ३ बजे यति एयरको विमान अवतरण भएको छ । नवनिर्मित विमानस्थलमा १ जनवरी २०२३ बाट आन्तरिक उडान सुरु गरिनुपूर्व आज परीक्षणकारुपमा ‘डेमो उडान’ गरिएको हो । यतिपछि बुद्ध एयरको विमान ३: ०५ मा अवतरण भएको छ । दुबै जहाज पोखराकै अर्काे विमानस्थलबाट उडेर नयाँ विमानस्थलमा अवतरण गरेको छ । डेमो उडानमा व्यवसायी, पत्रकार एवं विमानस्थलका प्राविधिक एवं कर्मचारी रहेका थिए । उडानपछि दुबै विमान पुनः पहिलेकै विमानस्थल फर्किएका छन् ।
पोखराः राष्ट्रिय सोन्दर्यकर्मी संघकी केन्द्रीय अध्यक्ष पवी गुरुङको निधन भएको छ । क्यान्सर रोगबाट ग्रसित गुरुङको चितवनको भरतपुर क्यान्सर अस्पतालमा उपचारको क्रममा निधन भएको हो । उनको निधनपश्चात सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली अर्पण भइरहेको छ । सौन्दर्यकर्मी तथा गण्डकी प्रदेशका निवर्तमान सांसद तथा मीना गुरुङले शालिन तथा कुशल नेतृको निधनले मर्माहत भएको सुनाइन् । ‘पोखराले जन्माएको एक सोन्दर्यकर्मी पवी गुरुङ हामी माझ रहनुभएन, गुरुङले भनिन्, ‘मृगौलामा पट्ठरी परेको छ भन्ने जानकारी पाएका थियौं, उपचार गर्न सुझाव दिएको पनि हो, फिस्टेलमा चेकजाँच गरेपछि भरतपुर जान सल्लाह दिएको पायौं, यहाँ आएर मैले केही दिन अगाडी भेटेपनि, निकै असल र कुशल हुनुहन्थ्यो । अहिले उहाँ हामीमाझ नरहेपनि सधै सम्झिरहनेछौं ।’ पोखरा स्थायी घर भएका स्वर्गीय गुरुङ राष्ट्रिय सोन्दर्यकर्मीको नवनिर्वाचित केन्द्रीय अध्यक्ष हुन् ।
पोखराः पोखरा–९ नयाँ बजार प्रर्दशनी केन्द्रमा सञ्चालन भएको २२ औं समृद्ध स्टील्स राष्ट्रिय औद्योगिक व्यापार मेलामा रोटेपिङबाट खसेर गम्भीर घाइते भएकी २२ वर्षीय अस्मिता लिम्बुको मृत्यु भएको छ । गण्डकी मेडिकल कलेजमा उपचाररत लिम्बुको आज (बुधबार) १२ः१० मा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरिक्षक ज्ञानबहादुर खड्काले जानकारी दिए । समृद्ध स्टील्स राष्ट्रिय औधोगिक मेलामा अवलोकनका लागि गएका लिम्बुसहित तीन युवती रोटेपिङको डम्बा अनियन्त्रित हुँदा खसेको थिए ।
पोखराः पोखरा महानगरपालिका –१३ स्थायी घर भएका ५९ वर्षीय मोतीराम गौतमको स्पेनमा मृत्यु भएको छ। क्याटालोनियाको लिदिया प्रान्तमा बस्दै आएका गौतम शुक्रबार साँझ आफू बसेकै अपार्टमेन्टमा मृत अवस्थामा भेटिएका हुन् । गौतम झन्डै डेढ दशकदेखि स्पेनमा बस्दै आएका थिए। दिवङ्गत गौतमका श्रीमती, एक छोरा र दुई छोरीहरु रहेका छन्। लिदिया प्रान्तमा बस्दै आएका अर्का एक नेपाली तर्कबहादुर बानियाँका अनुसार गौतम केही दिनअघि कोरोनाबाट संक्रमित भएका थिए। ‘उहाँ एक हप्ताअघि कोरोनाबाट संक्रमित भएर अस्पतालमा भर्ना हुनुभएको थियो। अस्पतालबाट घर फर्केपछि एकदिन हामीसँगै काममा पनि जानुभयो,’ बानियाँले भने, ‘तर शुक्रबार बिहानदेखि सम्पर्क गर्दा फोन समेत उठेन। खोजी गर्दा घरभित्र सोफा तल लडिरहेको अवस्थामा मृत भेटिनुभयो।’ बुधबार दिउँसो गौतमको शव अन्तिम श्रद्धाञ्जलीका लागि राखिने एनआरएनए स्पेनले जनाएको छ। पारिवारिक स्रोतका अनुसार गौतमको अन्तिम संस्कार बुधबार साँझ लिदियामा नै गरिने भएको छ ।
पोखराः सन्देश अधिकारी कास्की पोखरा समाज जापानको ५ औं अधिवेशनबाट अध्यक्षमा सर्वसम्मत चयन भएका छन् । आइतबार सम्पन्न भएको कास्की पोखरा समाज जापान टोकियोले ५ औं अधिवेशनबाट अधिकारीको अध्यक्षतामा २५ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो । समितिको वरिष्ठ उपाध्यक्षमा अन्जु भण्डारी, उपाध्यक्षमा सुरेश लामिछाने, कमल वास्तोला, विशु भण्डारी, राजु पौडेल, दीपक सुनार, मनोज तिवारी र भुपेन्द्र पराजुली चयन भएका छन् । समितिको महासचिवमा सरोज कार्की सचिवमा जिवन पोखरेल, कोषाध्यक्षमा तोयानाथ ढकाल, सहकोषाध्यक्षमा सुर्य कँडेल चयन भएका हुन् । समितिको सदस्यमा प्रेम दाहाल, कुमार सापकोटा, तारानाथ बराल, कुल प्रसाद बास्तोला, कुमार सापकोटा, बिजय गुरुङ, रमेश दाहाल, प्रताप सुवेदी र प्रदिप सापकोटा चयन भएको निवर्तमान अध्यक्ष विश्व सुवेदीले जानकारी दिए । सन् २०१४ मा स्थापना भएको कास्की पोखरा समाज जापानको कार्यसमिति सदस्यहरुको संयुक्त बैठकबाट सर्वसम्मत २३ सदस्य कार्यसमिति र २ जना पछि मनोनित गर्ने गरी कार्यसमिति गठन गरेको थियो ।

