पोखराः आसन्न मंसिर ४ गते हुने निर्वाचनमा नेकपा (एमाले)को तर्फबाट कास्की २ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार विद्या भट्टराई र २ (१) प्रदेश सभा सदस्य पदका उम्मेदवार भिम बहादुर कार्कीलाई पोखरा ३३ भरतपोखरीका स्थानियहरूले कास्की विकासको नेतृत्व गर्ने गरि विजयी गराउने प्रतिवद्धता जनाएका छन् । निर्वाचन अभियानका क्रममा आफ्नो गृह वडा पोखरा महानगरपालिका वडा नम्वर ३३ पुगेका एमाले उम्मेदवारद्वय भट्टराई र कार्कीलाई यो पटक आफुहरूले महत्वपूर्ण अवसर गुम्न नदिने भन्दै सो क्षेत्रको योजनावद्ध एकीकृत विकासको अवधारणालाई साकार पार्न स्थानियको आग्रह छ । विकासका कुशल अभियन्ता स्वर्गीय नेता रविन्द्र अधिकारीको जन्मथलो समेत रहेको भरत पोखरीका जनताले संघीय र प्रदेशका दुवै प्रत्यक्षका उम्मेदवार आफ्नै वडाले पाउनु ऐतिहासिक र विकासको नेतृत्वका लागि अभुतपूर्व मौका भएको प्रतिक्रिया दिएका छन् । स्थानिय निराजन अधिकारिले २०६६ सालमा पर्यटन क्षेत्र घोषित उक्त क्षेत्रमा पर्यटकिय विकासको थप काम प्रतिबवद्धतापत्रमा समावेश गरेकोमा धन्यवाद दिदै भौतिक पूर्वाधार लगायत विकासका काम एमालेबाट निर्वाचित जनप्रतिनिधिहरूको अगुवाईमा अगाडि बढिरहेको बताए । सो अवसरमा उक्त क्षेत्रको निवर्तमान सांसद समेत रहेकी उम्मेदवार विद्या भट्टराईले आफ्नो पहलमा भएका विकास निर्माणको जानकारी दिईन् । उनले विरौटा हुँदै कोत्रे जोड्ने चार लेनको सडक अब निर्माणको प्रक्रियामा प्रवेश गरेकोमा खुसी व्यक्त गर्दै सहयोग गर्ने सबै स्थानिय तथा सरोकारवालाहरूलाई आभार प्रकट गरिन् । उक्त अवसरमा प्रदेश सभा सदस्य पदका उम्मेदवार भिम बहादुर कार्कीले पोखरा महानगरका वडामा पर्ने वरपरका डाडाहरूलाई महानगरीय विकासको अवधारणा अनुसार विभिन्न मोडलमा विकास गर्ने भन्दै पोखरा ३३ र २१ लाई “ग्रीन हिल सिटी“ को रुपमा विकास गर्ने योजना रहेको बताए । कार्कीले एमाले नेतृत्वको प्रदेश सरकारको पालामा निर्माण प्रक्रिया थालनी भएर अहिलेको सरकारले बेवास्ता गरेको अन्तर्राष्ट्रिय क्रिकेट मैदान र औद्योगिक क्षेत्र स्थानियहरूको माग व्यवस्थापन गरेर मात्रै निर्माण गर्ने प्रतिवद्धता व्यक्त गरे । साथै उनले भरतपोखरीमा सुविधा सम्पन्न एक अस्पताल र प्राविधिक शिक्षा सहितको बहुमुखी क्याम्पस स्थापनाको प्रक्रिया अगाडि बढाउने सहित व्यवसायिक कृषिको विकासको आधुनिक मोडलको अवलम्वन एवं सशक्त रोजगार युवा र पिछडिएका वर्ग तथा महिला शसक्तिकरणका कार्यक्रम आफुले प्रतिबद्धतापत्रमा उल्लेख गरे बमोजिम पूरा गर्ने बताए ।
पोखराः कास्की २ का पाँच दलीय गठबन्धनका साझा उम्मेदवारहरुले ंसुकुम्बासीका आवास सहकारी कार्यक्रम सञ्चालन गर्ने प्रतिवद्धता जनाएका छन् । कास्की २ मा पर्ने पोखरा महानगरका ११ वटाका भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोवासीहरुलाई सहयोग पुग्ने किसिमको आवास सहकारी कार्यक्रम सञ्चालन गर्ने, रोजगारी दिलाउने एवं जग्गाधनी प्रमाणपत्रपूर्जा दिलाउने प्रतिवद्धता पत्रमा उल्लेख छ । गठबन्धनले उद्यमशिलता, पर्यटन, रोजगार तथा मानव संसाधन विकास शिर्षक विभिन्न प्रतिवद्धता जनाएको छ । जसमा स्थानीय स्रोत, साधनको अधिकतम परिचालन गरी रोजगारका अवसरहरु सृजना गर्न पहल गर्ने भनिएको छ । रोजगारीका लागि सहजीकरण, समन्वय, सञ्जालीकरण, नवपर्वतन र अनलाईन रोजगार बजारजस्ता सेवा प्रदान गर्न मानव संसाधन विकास केन्द्र स्थापना गर्न पहल गर्ने उनीहरुको प्रतिवद्धता छ । रेमिट्यान्स परिचालन गरी पर्यटन, कृषि र उद्योग विकासका पूर्वाधार निर्माण गरी उद्यमशिलता प्रवद्र्धन गर्न विप्रेषण सदुपयोग कार्यक्रम सञ्चालन गर्न पहल गर्ने जनाएको छ । दक्ष जनशक्तिलाई स्थानीय स्तरमा परिचालन गर्न विशेष स्वरोजगार कार्यक्रम सञ्चालनको पहल गर्ने पनि उनीहरुको प्राथमिकता छ । पोखराको ग्रामिण वडा वा सँगै जोडिएका स्थानमा ग्रेटर पोखराको अवधारणासँग तालमेल गर्न ५ वटा सेटलाइट टाउन निर्माण गर्न पहल गर्ने जनाएको छ । यस्तै फेवाताल संरक्षण सौन्दर्यीकरण परियोजना गर्ने तथा जैविक प्रवद्र्धन परियोजनालाई गठबन्धन उम्मेदवारहरुले प्राथमिकता दिएका छन् । अत्याधुनिक पर्यटक सूचनाकेन्द्र स्थापना र सञ्चालन गर्न पहल गर्ने, पोखरादेखि विभिन्न तालसम्म एअर कनेक्सन गर्न पहल गर्ने बताएको छ । होमस्टे सञ्चालन गरी ग्रामिण पर्यटन हबको कार्यक्रम सञ्चालन गर्ने नीति पनि लिएको छ । युवा स्वरोजगार कार्यक्रमलाई प्रभावकारी बनाउन कृषि, पर्यटन र साना व्यावसाय संचालन गर्न आवश्यक सिप, तालिम तथा लगानीमैत्री वातावरण कायम गर्न विशेष योजना ल्याउने प्रतिवद्धता गरिएको छ । हाईकिङ पोईन्ट, दृष्यावलोकन केन्द्र, हरियाली प्रवद्र्धन कार्यक्रम, जैविक विविधता पार्क, बनस्पती उद्यान स्थापना लगायन कार्यक्रम गठबन्धनका उम्मेदवारहरुको प्राथमिकतामा छन् । कास्कीको निर्वाचन क्षेत्र नं. २ मा आफ्नो चुनावी अभियानका क्रममा उमेदवारहरुले शिक्षा क्षेत्रमा यस्तो काम गर्ने बताएका हुन् । गठबन्धनको तर्फबाट कास्की क्षेत्र नं.२ मा प्रतिनिधि सभा सदस्य तर्फ नेकपा एकीकृत समाजवादीका श्रीनाथ बराल, प्रदेशसभा २ (क) मा नेकपा माओवादी केन्द्रका विश्वप्रकाश लामिछाने र प्रदेशसभा २ (ख) मा नेपाली काँग्रेसका विन्दुकुमार थापा उम्मेदवार छन् ।
पोखराः कास्की क्षेत्र नं. २(२) बाट प्रदेश सभा सदस्यका रुपमा उम्मेदवारी दिएका विन्दु कुमार थापाले अर्मलाकोटसम्म पुग्ने सडक स्तरोन्नति गरी बाह्रै मासे सवारी चल्ने बनाउने बताएका छन् । बिहिबार घरदैलो गर्दै पोखरा १६ अर्मलाकोटका मतदाहरुमाझ पुगेका थापाले आफु निवार्चित भएपछि अर्मलाकोटको सडक निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने बताए । ‘अर्मलाकोटको समस्या भनेकै सडक हो । यहाँ बाह्रै मासे सवारी चल्न सक्ने सडकको आवश्यकता छ । सडकका कारण स्थानीयले भोग्नुपरेको समस्याका विषयमा म जानकार छु । कति काम हिजो सरकारमा हुँदा पनि गरियो । अब निर्वाचित भएपछि पनि अर्मलाकोट सम्म पुग्ने सडकलाई स्तरोन्नति गर्ने काममा लाग्नेछु ।’, उनले भने । थापाले नारायण स्थान, भलाम हरिहर गुफा, डाँडागाउ हुँदै अर्मला कोटसम्म पुग्ने गौरवको सडक सम्पन्न हुने अवस्थामा रहेको जानकारी गराए । उनले भलामबाट आँटिघर मौज हुँदै बाटुलेचौर जोडिने रिङरोडको काम समेत अगाडि बढेको र त्यसलाई सम्पन्न गर्ने गरी आफु लाग्ने प्रतिबद्धता व्यक्त गरे । थापाले पोखरा १६ लाई सम्वृद्ध वडा बनाउन कुनै कसर बाँकी नराख्ने बताए । ‘हिजो पनि हामीले गर्न सक्ने सम्मका काम गरेका छौं । थुप्रै योजनाहरु वडामा परेका छन् । आगामी समय पनि यहाँको आवश्यकता अनुसारको योजनालाई अगाडि बढाउनेछु ।’,उनले भने । उनले घार्मीदेखि अर्मला कोटसम्म पुग्ने सडकलाई दुई लेनको बनाउने प्रतिबद्धता जनाए । समाज घरका निर्माण, गोरेटो बाटो र फोहोर व्यवस्थापनमा समेत पहलकदमी गर्ने भनाई उनको छ । होमस्टेको स्थापना गरी उद्यमशीलताको विकासमा समेत महत्वपूर्ण भूमिका खेल्ने अभिव्यक्ति उनको छ ।
पोखराः कास्की क्षेत्र नं. २(२) का प्रदेशभा सदस्य उम्मेदवार विन्दुकुमार थापाले पोखरा १६ स्थित जैमुरेमा पक्की पुलको आवश्यकता महसुस गरेको बताएका छन् । गठबन्धनको तर्फबाट प्रत्यक्ष उम्मेदवार बनेका थापाले बुधबार पोखरा महानगरपालिका १६ स्थित जैमुरेमा भएको कोणसभामा सम्बोधन गर्दै उक्त कुरा बताएका हुन् । उनले महानगरको ठूलो र शिक्षित वडामा पर्ने १६ नं. वडा विकास र संवृद्धिको हिसाबले निकै पछि परेको सुनाउँदै उक्त क्षेत्रको विकासमा कांग्रेस नेतृत्वको गठबन्धनको सरकारले ठूलो रकमको आयोजना पारेको बताए । थापाले आफु घरदैलो कार्यक्रममा आउँदै गर्दा जैमुरेमा पक्की पुलको आवश्यकता देखेको बताउँदै यो समस्याको समाधान छिटो नै गर्ने बताए । ‘यहाँको पुल जीर्ण अवस्थामा भएको मैले महसुस गरे । जीर्णपुलले अब चल्दैन । त्यो भत्काएर २ लेनको पक्की पुल निमार्ण गर्नपर्ने देखियो ।’, उनले भने, ‘यो काम पनि चाडै नै हुन्छ यसका लागि बैकल्पिक सडक बनाएर बनाउनुपर्ने अवस्था छ । त्यसको लागि तपाईँहरुको साथ र सहयोग चाहिन्छ ।’ थापाले गत आर्थिक वर्षमा वडा १६ मा २२ करोड रुपैयाँको योजना परेको र चालु आर्थिक वर्षमा भने १ अर्ब १८ करोडको आयोजना परेको सुनाए । वडा १६ कतिपय स्थानमा अझै पनि पक्की बाटो नपुगेको र भएका पनि स्तरोन्नति गर्न आवश्यक रहेको सुनाउँदै थापाले विकासको पहिलो खुड्किलो नै सडक रहेको भनाई राखे । उनले वडाबासीबाट आउँदा दिनमा पनि काम गर्ने अवसर दिनेमा आफु आशावादी रहेको बताए । उनले पाँच वर्षमा प्रदेशमा जग राखी विकासका आधारशिला तयार गर्ने काम गरेको र अबको पाँच वर्ष विकास र सम्वृद्धिको रहेको सुनाए । ‘विकासका लागि चाहिने संरचना बनायौं । अब विकासको लहर लाग्छ । हाम्रो क्षेत्र उर्जाको अथाहा सम्भावना बोकेको क्षेत्रपनि हो । अहिले सम्म ६५० मेगावट मात्रै १२ हजार उत्पादन गर्न सक्छौ’, उनले भने, ‘यदि हामीले १२ हजार मेगावटको जलविद्युत निकाल्न सकेमा युवाहरु विदेशीन बाध्य हुने छैनन् । स्वदेशमै रोजगारको अवसर सृर्जना हुन्छ । त्यतिमात्रै होइन् वडा १६ लाई पर्यटनको हवको रुपमा समेत विकास गर्न आवश्यक छ । अर्को कुरा यो कृषि पकेट क्षेत्रपनि हो यहाँ कृषिका अथाह सम्भावना हामीले देखेका छौँ ।’
पोखराः पर्यटकीय क्षेत्रको रुपमा रहेको अन्नपूर्ण गाउँपालिकामा वर्षेनी पर्यटनमैत्री कार्यक्रमहरु ल्याउने एमाले उम्मेदवारद्धय दामोदर पौडेल बैरागी र राजीव पहारीले अन्नपूर्णवासीलाई वचन दिएका छन् । उनीहरुले पर्यटनको लागि मात्र वर्षेनी लाखौं रुपैयाँ वजेट विनियोजन गर्ने प्रतिवद्धता जनाए । कास्की ३ का प्रतिनिधि सभा सदस्य उम्मेदवार दामोदर पौडेल बैरागी र ३ ख का प्रदेश सभा सदस्य उम्मेदवार राजीव पहारीले बुधवार अन्नपूर्ण गाउँपालिकाका स्थानीयहरुसँगको भेटघाटमा यस्तो प्रतिवद्धता जनाएका हुन् । यसअघि स्थानीयले अन्नपूर्ण गाउँपालिका पर्यटकिय स्थल भएकाले सो क्षेत्रमा पर्यटनमैत्री कार्यक्रमहरु ल्याउन एमाले उम्मेदवारद्वयसँग माग राखेका थिए । मंसिर ४ को निर्वाचन मिति नजिकिंदै गर्दा नेकपा एमाले कास्की क्षेत्र नम्वर ३ का उम्मेदवारद्वय पौडेल र पहारी घान्द्रुक, छोम्रोङ, दाङसिङ, सावेत, उल्लेरी लगायतका स्थानहरुमा पुगेर त्यहाँका जनताहरुको आर्शिवाद लिएका थिए । सो क्रममा त्यस क्षेत्रका जनताहरुले एमाले पार्टी जनताको सुखदुःखको साथी भएको बताउँदै विकासको लहर ल्याउन एमाले उम्मेदवारहरुलाई विजयी गराउने उद्घोष गरे । निवर्तमान सांसद पहारीको कार्यकालमा नयाँपुल–घान्द्रुक पिच, विभिन्न ठाउँमा मोटरेबल बाटाघाटा खुलेका र ति बाटोहरुको स्तरोन्नतीका लागि फेरी एमालेलाई जिताउने स्थानीयको प्रतिवद्धता छ । प्रदेश सभा उम्मेदवार पहारीले विभिन्न समुह, संघसंस्था लगातयसँग सहकार्य गर्दै सामुदायिक भवन, मठमन्दिर निर्माण कार्य लगायतमा सहयोग गरेको भन्दै योजना अन्तर्गत बाँकी रहेका अन्य थुप्रै काम सम्पन्न गर्न पनि एमाले उम्मेदवार विजयी हुनुपर्नेमा उनीहरुको जोड छ । प्रतिनिधि सभा सदस्यका उम्मेदवार दामोदर पौडेलले अन्नपूर्ण गाउँपालिकामा प्राकृतिक सम्पदा तथा वातावरणको संरक्षण गर्दै कृषि र पर्यटनको समानान्तर विकासबाट नै सो क्षेत्रको मुहार फेर्ने प्रतिवद्धता जनाए ।
पोखरा : पाँच दलीय गठबन्धनको तर्फबाट कास्की निर्वाचन क्षेत्र नं.२ का उमेदवारहरुले सिङ्गो गण्डकी प्रदेशको शिक्षा, स्वास्थ्य र पर्यटन हबका रूपमा पोखराको विकास गरिने बताएका छन् । आगामी मङ्सिर चार गते हुने प्रदेश तथा प्रतिनिधि सभा सदस्य निर्वाचन २०७९ को प्रचारप्रसारका क्रममा मतदाताको घरदैलोमा रहेका उनीहरूले यस्तो बताएका हुन् । कास्की २ मा गठबन्धनको तर्फबाट प्रतिनिधि सभाको साझा उम्मेदवार रहेका नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका श्रीनाथ बरालले पोखरालाई सिङ्गो गण्डकी प्रदेश कै शिक्षा, स्वास्थ्य र पर्यटन हबका रूपमा विकास गरिने बताए । ‘लोकतन्त्रका पक्षधर दलहरूको बिचमा गठबन्धन निर्माण गरी संविधान र व्यवस्थालाई जोगाएका छौं ।अव हामी विकास र समृद्धिको लागि यो गठबन्धनलाई समर्पित गछौँ, उनले भने, जनताको जीवनमा परिवर्तन ल्याउन र जनताको जीवनस्तरलाई माथि उठाउन हामीले बाँकी समय खर्च गछौँ, अधिकारका लागि हामी लडिसक्यौ, अव पछाडि परेका समुदायका वर्गहरूको अधिकारलाई संस्थागत गर्न राम्रा ऐन कानुनहरू निर्माण गर्नेछौँ ।’ विगतमा लाहुरे उमेदवारहरुलाई प्राथमिकता दिँदा यस क्षेत्र विकासमा पछि परेको हुँदा अव फेरी पनि त्यही गल्ती दोर्होयाउने छुट कसैलाई पनि नरहेको उनले बताए । ‘म लाहुरे उम्मेदवार होइन, म हजुरहरू कै वारेस हुँ, सेवक हुँ, त्यस कारण पनि म हजुरहरू नै घरदैलोमा बसेर सेवामा समर्पित हुनेछु, उम्मेदवार बरालले भने, विकास र समृद्धिको अर्को पाटो हो, नागरिकको आर्थिक अवस्थालाई सुधार गर्ने, महिला तथा बालबालिकाका लागि छुट्टै सुविधा सम्पन्न अस्पताल निर्माण गर्ने योजना सहित हामी आएका छौँ ।’ स्वस्थ बालबालिकाले मात्र भोलिको भविष्य निर्माण गर्न सक्ने भन्दै बालबालिकाको स्वास्थ्यलाई ध्यानमा राखेर सुविधा सम्पन्न बाल अस्पताल समेत निर्माण गर्ने उनले बताए । ग्रामीण पर्यटन विकासका लागि होमस्टेहरूको विकास गर्दै डाँडाकाडाँहरुको सौन्दर्यीकरणमा जोड दिने प्रतिबद्धता समेत उनले जाहेर गरे । उनले सम्भावित स्थानहरूको पहिचान गरी ट्रेकिङ रुटहरू निर्माण गर्ने बताए । यस्तै कास्की २(ख) का प्रदेशसभा सदस्य पदका उम्मेदवार विन्दुकुमार थापाले आफूहरूले बितेको पाँच वर्षमा गण्डकी प्रदेशको आधारशिला खडा गरेको बताए । ‘हामीले पाँच वर्षमा गण्डकी प्रदेशको आधार शिला खडा गर्यौँ । अबको समय समृद्धिको समय हो । सुशासनको लागि हो, उनले भने, संविधानको रक्षा र व्यवस्थालाई अझै बलियो बनाउनका लागि गठबन्धन गरिएको हो ।’ उम्मेदवार थापाले वडा नं.१६ को विकासका लागि १ अरब १८ करोड बढीको बजेट चालु आर्थिक वर्षमा छुट्ट्याएको बताए । विकास र समृद्धिमा पछि परेको वडाको रूपमा यसको विकास द्रुत गतिमा गर्ने गरी यो आकारको बजेट पारिएको उनले बताए । यो गठबन्धनको सरकार भएकै कारण सम्भव भएको उनले बताए । उम्मेदवार थापाले यस क्षेत्रको विकास निर्माण, समृद्धि र सुशासन लगायत तमाम विषयहरूमा सुधार ल्याइने प्रतिबद्धता जाहेर गरे । ‘विकास निर्माण, समृद्धि, सुशासन र भ्रष्टाचारलाई न्यूनीकरण गर्ने सन्दर्भमा अव नयाँ ढंगले अगाडी बढ्ने योजना सहित आएका छौँ, मैले व्यक्तिगत रूपमा आफू सार्वजनिक पदमा रहँदाको आफ्नो पारिश्रमिक सामाजिक काममा खर्च गर्ने गरेको छु, आगामी दिनमा पनि मैले कुनै पनि सुविधा व्यक्तिगत रूपमा खर्च गर्ने छैन, थापाले भने, जोगीमणिको पुल निर्माणका लागि विशेष पहल गरिने छ । सहायक सडकहरूको अवस्था सुधारका लागि पनि हामीले काम गर्नेछौँ ।’ नागरिकका आधारभूत आवश्यकताहरूको परिपूर्तिका सन्दर्भमा राज्यको नीति र नियमको परिधिमा रहेर आवश्यक पहल र प्रयत्न गरिने उनले बताए । विकास र समृद्धि हासिल गर्ने सवालमा एकाकार भएर अगाडी बढ्ने उनले प्रतिबद्धता समेत जाहेर गरे । यस्तै कास्की २ (क) का उम्मेदवार विश्वप्रकाश लामिछानेले दोविल्ला क्षेत्रको नदी कटानमा ध्यान दिने बताए । पोखरा १७ र २१ मा पर्ने दोविल्ला क्षेत्रमा भएको घरदैलो अभियानका क्रममा त्यस क्षेत्र नदिले कटान गरेको उनले बताए । आफू लामो समयदेखि सेती नदी र वरपरका बस्ती संरक्षण अभियानमा रहेकाले विजयी गराएमा निरन्तरता दिने उनको भनाई छ । जितेपछिको पहिलो काम नै दोविल्लामा तटबन्धन गर्ने उनले सुनाए । साथै, दोबिल्ला हुँदै बिरौटासम्म चक्रपथ बनाउने योजना बनाएको उनले बताए । दोविल्लाको पुल खतरामा रहेकाले पुल पुनः निर्माण गर्न पहल गर्ने उनको योजना छ । त्यस क्षेत्रमा काँग्रेसको उम्मेदवार नभएको कारण भ्रम छर्ने काम गरीकाले गठबन्धनबाट उठेपछि काँग्रेसको पनि उम्मेदवार भएको हुँदा भ्रममा नपर्न मतदातालाई उनको आग्रह थियो । साझा घोषणापत्रको साथ मतदातासामु पुगेकाले ५ वर्षसम्म सो क्षेत्रबाट सबै पार्टी प्रतिनिधि भएर काम गर्ने उनको प्रतिबद्धता थियो ।
पोखरा : कास्की क्षेत्र नम्बर १ (ख) का प्रदेश सभा सदस्य उम्मेदवार वेद बहादुर गुरुङ ’श्याम’ले निर्वाचित भएपछि शिक्षा र स्वास्थ्यमा जोड दिने कुरा बताएका छन् । नेकपा एमालेको तर्फबाट उम्मेद्धार बनेका गुरुङले देशलाई समृद्धिको बाटोमा हिडाउन शिक्षा र स्वास्थ्यको बिछट्टै महत्व रहेको कुरा समेत बताए । बुधबार पोखरा महानगरपालिका वडा नम्बर १२ का मतदातासंग गुरुङले भेटघाट गरेका थिए। भेटघाटको क्रममा गुरुङले शिक्षा र स्वास्थ्य जस्तो आधारभूत कुरा दिने दायित्वबाट सरकार भागेको आरोप समेत लगाए। गुरुङले आफू निर्वाचित भएपछि निशुल्क र गुणस्तरीय शिक्षा अनि स्वास्थ्यको लागि नीति बनाउन लाग्ने बताए । ‘शिक्षा र स्वास्थ्यमा समान पहुँच नभएसम्म विकास र समृद्धि सम्भव छैन । त्यसैले विपन्न वर्गका बालबालिकाहरुको निशुल्क शिक्षा प्रदान हुनेछ । सर्वसुलभ रुपमा स्वास्थ्य सेवा प्रदान गरिनेछ ।’ गुरुङले भने, ’ नेताहरु समाजवादको चर्को नारा बोकेर हिडेका छन् । जनतालाई पुरा नहुने सपना बाँड्दै हिडेका छन् । तर समाजवादको प्रस्थानविन्दु नै बिर्सेका छन् । शिक्षा र स्वास्थ्यमा गुणस्तर नआएसम्म देशले वास्तविक विकास असम्भव छ ।’ शिक्षा एवं स्वास्थ्य क्षेत्रमा सरकारले बर्सेनि २ देखि ३ खर्ब बजेट विनियोजन गर्छ । तर समस्या ज्युँको त्युँ छ । अझै गरिब जनताले पढ्न पाएको छैन । जीवनजल नपाएर ज्यान गुमाउनु परेको छ । ’ गुरुङले भने,’ गलत नेता चुन्नु र गलत व्यक्ति सरकारमा जानुको कारणले यस्तो भएको हो। मलाई जिताउनुस्। समस्या समाधान गर्न लाग्नेछु ।’ गुरुङले प्रदेशमा भरि माध्यमिक तहको शिक्षालाई क्रमशः निःशुल्क र अनिवार्य गराइने, विद्यालयलाई अपांगता र बालमैत्री बनाइने, भौगोलिक रूपमा टाढा रहेका प्राविधिक तथा व्यावसायिक विषयका विद्यार्थीका लागि आवासीय शिक्षाको व्यवस्था गरिने कुरा स्थानिय मतदातालाई सुनाए । गुरुङले आफू मादी गाउँपालिकाको अध्यक्ष हुँदा स्वास्थ्य र शिक्षामा उलेखनीय काम गरेको दाबी गरेका थिए । कार्यभार ग्रहण गर्नु अघि ७ वटा मात्र स्वास्थ्य चौकी रहेको मादीमा अरु ६ वटा थपेको र थुम्सीकोटमा १५ शैयाको अस्पताल निर्माण गरेको बताए। त्यस्तै शैक्षिक क्षेत्रमा नीतिगत र व्यवहारिक प्रयासपछि स्तर उन्नति भएको दाबी गरे । मंसिर ४ गते हुने निर्वाचनमा एमालेले राम्रो नतिजा ल्याउने दावी गरे । गठबन्धन सरकारको पछिल्लो गतिविधि देखेर जनताले निरास भएको कुरा सुनाए। नेकपा एमालेले कास्की क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा तर्फ जिल्ला अध्यक्ष मन बहादुर गुरुङ, प्रदेश क तर्फ खगराज अधिकारी र ख तर्फ वेद बहादुर गुरुङ श्यामलाई उठाएका छन्। नेकपा एमाले कास्की १ ले निर्वाचन केन्द्रित रहेर उम्मेदवार भेटघाट कार्यक्रमलाई तीव्रता दिइरहेको छ ।
पोखरा : कास्की क्षेत्र न २ (ख) मा सत्ता गठबन्धनका उम्मेदवार विश्वप्रकाश लामिछानेले गण्डकी प्रदेशलाई समृद्ध बनाउँदै रोजगारी प्रदान गर्ने बताएका छन । चुनावी घरदैलोको क्रममा पोखरा १५ मा पुगेका लामिछानेले जनतालाई सम्बृद्धिको बाचा गरेका छन । घरदैलो कार्यक्रमका क्रममा स्थानीय मतदातासँग भोट माग्दै लामिछानेले लोकतन्त्रको विकास गरी संविधानको रक्षा गर्ने प्रतिबद्धता पनि ब्यक्त गरेका छन । आफु गणतन्त्रका लागि लडेको सिपाही भएको उल्लेख गर्दै उनले कुनै स्वार्थमा नबिक्ने र जनताको सेवामा निरन्तर लाग्ने पनि बताएका छन । यस क्षेत्रलाई उत्कृष्ठ बनाउदै गण्डकी प्रदेशलाई नेपालकै पर्यटकीय राजधानी बनाउने लामिछानेले बताएका छन । जनताको समस्या समाधान गर्न गठबन्धनका उम्मेद्वारहरुलाई जिताउनुपर्ने उनको जिकिर रहेको छ । आफ्नो जीवनको ४० वर्ष समाजसेवामै बिताएको स्मरण गर्दै आगामी मंसिर ४ गते हुने निर्वाचनमा पनि जनताको राम्रो साथ पाउने विश्वास व्यक्त गरेका छन । लमिछानेले आफ्नो क्षेत्रको विकास र यस क्षेत्रका जनताको सेवा गर्ने जिम्मेवारी आफ्नो काँधमा आएको समेत बताएका छन । लामिछाने पोखरा उपत्यका नगर विकास समितिको अध्यक्षमा रहेर काम गरिसकेका ब्यक्ति हुन भने उनले फेवातालको मापदण्ड निर्धारण समितिको संयोजक भएर पनि काम गरीसकेका छन । एमाओवादी भित्र रहेर लामो समय काम गरिसकेका लामिछाने स्वस्छ छविका नेताका रुपमा चिनिन्छन ।
पोखरा : पाँच दलीय गठबन्धनका साझा उम्मेदवार कास्की निर्वाचन क्षेत्र १ (ख) का दिपक गुरुङ माइलाले स्थानीय सरकारसँग सहकार्य गरेर नमुना पोखरा बनाउने बताएका छन् । पोखरा–१० मा बुधबार भएको घरदैलोमा उहाँले मतदातामाझ पोखरालाई अझ स्तरीय बनाउने भिजन रहेको सुनाए । ‘यहाँको विकास गर्न भनेर नै मेरो उम्मेदवारी हो । एक पटक जिताएर पठाउनुहोस् । पोखरा साँच्चिकै पोखरा जस्तो बनाउनेछु,’ उनले भने, ‘योजना बनाउन सजिलो हुन्छ तपाईको साथ पाए भने कार्यान्वयन पनि तत्काल हुनेछ ।’ उनले समुन्नत नेपाल र सम्मानित नेपाली भन्ने मुल अवधारण सहित चुनावी मैदानमा उत्रेको सुनाए । ‘म उम्मेदवार बन्दै गर्दा प्रदेशले लिएका समृद्धिका आधार, पर्यटन, कृषि, उर्जा, उद्यमशीलता र पूर्वाधारलाई आत्मसाथ गर्ने प्रतिबद्धता गर्दछ,’ उनले भने, ‘समुन्नत प्रदेशको लागि सरकराले लिने नीति, योजना, रणनीतिक योजनलाई समर्थन गर्दै आफ्नो भूमिकामा खरो उत्रिने प्रण गर्दछु ।’ उनले निर्वाचनले प्रदेश संरचनाप्रति नागरिकको आकर्षण बढाउने र जनतलाई व्यवस्थाप्रति उत्साहपूर्ण आशाको सन्देश दिने विश्वास लिएको बताए । देशलाई काँध थाप्न सक्ने नेपालको मुल पार्टी नेपाली काँग्रेस र काँगे्रस सहितको गठबन्धनका उम्मेदवारलाई विजयी गराउन उनले पोखरा –१० का मतदातासँग आग्रह गरे । उनले स्वास्थ्यको क्षेत्रमा बिमा कार्यक्रम अन्र्तगत सबै नागरिकको पहुँचसम्म पु¥याउन सरोकारवालासँग आवश्यक समन्वय र सहकार्य गरेर काम गर्ने पनि प्रतिबद्धता व्यक्त गरे । ‘स्वास्थ्य क्षेत्रको स्तरबृद्धि गर्नेछु ,’ उनले भने, ‘अस्पतालहरुमा दक्ष चिकित्सकको व्यवस्था गरिनेछ । उपकरण सहितको स्वास्थ्य सेवा वडाबाटै उपलब्ध गराउन पहल गर्नेछु ।’ गुरुङले सिँचाई कार्यक्रम योजनालाई पनि अघि सारेको सुनाए । ‘घरमा प्रयोग गरि खेरजाने पानीबाट करेसाबारी सिँचाई गर्न सकिने खालका कार्यक्रम सञ्चालन गरिनेछ,’ उनले भने, ‘वर्षातको पानी संकलन गरि सदुपयोग गर्ने कार्यक्रम सञ्चालन गरिनेछ ।’

