पोखरा : जिल्ला प्रहरी कार्यालय कास्कीले चाडपर्वलक्षित विशेष सुरक्षा योजना अघि सारेको छ । कास्की प्रहरीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले तिहार तथा छठ पर्वमा हुन सक्ने आपराधिक क्रियाकलाप रोक्नका लागि विशेष रणनीति तयार पारेको बताए । ‘चाडपर्व तथा निर्वाचनको सरगर्मी बढेकाले कुनै पनि अप्रिय घटना हुन नदिन हामीले विशेष योजना बनाएका छौ, सुनगाभा न्यूजसँग भने, ‘संभावित घटना हुन नदिन सादा पोसाकका प्रहरीदेखि गस्तीलाई बाक्लो बनाएका छौं ।’ डिएसपी तिवारीले पर्वको समयमा आपराधिक क्रियाकलापमा संलग्न हुदै आएका व्यक्तिहरुलाई विशेष निगरानीमा राखेको बताए । ‘नेपालीहरुको चाडपर्वसँगै निर्वाचनको मिति नजिकिएको छ । चाडपर्व तथा निर्वाचनको समयमा कुनै पनि अप्रिय घटना हुन नदिन सादा पोसाकका प्रहरी परिचालन, गस्ती बाक्लो बनाएका छौ, उनले भने, ‘यस्तो समयमा बहुमूल्य पसल तथा वित्तिय सेवा क्षेत्रमा हुने चोरी डकैटी हुन सक्ने कुरालाई मध्यनजर गरेर त्यसतर्फ विशेष टोली परिचालन नै गरेका छौं ।’ चाडपर्वहरुमा ठुला सुनचाँदी पसलमा जनताले बहुमूल्यको गहना किनबेच गर्ने भएकाले त्यहाँ चोरी डकैटी हुन सक्ने भएकाले त्यसलाई रोक्न सादा पोसाकदेखि निरन्तर गस्तीलाई तिव्रता दिइएको हो । कास्कीमा शान्ति सुरक्षाको अवस्थालाई मध्यनजर गर्दै चाडपर्वको अवसरमा पटका, आतिजबाजी झिरझिरे, भुइचम्पा जस्ता विष्फोटकजन्य पदार्थको प्रयोग कानून विपरित रहेकाले प्रयोग गर्न नहुने बताए । ‘पर्वको बहानामा पटका लगायत विष्फोटकजन्य पदार्थको प्रयोग तथाओसारपोसार र विक्रीवितरण कानून विपरित हो, उनले भने, ‘त्यसैले त्यस्तो क्रियाकलापमा संलग्न भए कानून अनुसार कारवाही गर्छौ ।’ देउसी भैलो राति ९ बजेपछि खेल्न नपाइने जिल्ला प्रशासन कार्यालय कास्कीले राति ९ बजेपछि देउसी भैलो खेल्न नपाउने बताएको छ । जिल्ला प्रकाशन कार्यालय कास्कीका सूचना अधिकारी गुरुदत्त ढकालले कास्कीमा राति ९ बजेसम्म मात्र देउसी भैलो खेल्न पाइने जानकारी दिए । ‘जिल्लाको शान्ति सुरक्षाको अवस्थालाई मध्यनजर गर्दै हामीले देउसी, भैलो, नाचगान जस्ता कार्यहरु राति ९ बजेसम्म मात्र सञ्चालन गर्न भनेर सुचना जारी गरेका छौं, उनले भने ‘आगामी चुनाव तथा शान्ति सुरक्षालाई मध्यनजर गरेर राती ९ बजेसम्म मात्रै देउसी भैलो खेल्न पाउने निर्णय गरेको हौ ।’ देउसी भैलोको नाममा आपराधिक क्रियाकलाप हुन सक्ने भन्दै राती ९ बजेसम्म मात्रै देउसी भैलो खेल्न अनुमति दिएको । गतवर्ष भने राती १० बजेसम्म देउसी भैलो खेल्न अनुमति दिइएको थियो ।
पोखरा : अधिकारी समाज कास्की इकाई समिति पस्र्याङले आज खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरेको छ । उक्त कार्यक्रममा ६८ युनिट रगत संकलन भएको थियो । पोखरा–५ पस्र्याङमा आयोजना गरिएको कार्यक्रममा प्रमुख अतिथि अधिकारी समाज कास्कीका जिल्ला अध्यक्ष लिलाधर अधिकारीले रक्तदातालाई ब्लडब्याग हस्तान्तरण गर्दै रक्तदान शुरु गरिएको थियो । कार्यक्रमको सभापतित्व इकाई अध्यक्ष एवं जिल्ला महासचिव हरिश्चन्द्र अधिकारी, स्वागत मन्तव्य कोषाध्यक्ष रुद्रप्रसाद अधिकारी, अधिकारी समाज कास्कीका जिल्ला वरिष्ठ उपाध्यक्ष हेमन्त अधिकारी, उपाध्यक्ष पूर्णभद्र अधिकारी र क्षेत्रीय रक्तसञ्चारका प्रमुख अर्जुन ज्ञवाली लगायतले सामाजिक कार्यमा अधिकारी समाज कास्की इकाई समितिको भूमिकाको प्रशंसा गरेका थिए ।
पोखरा : सहकारी रजिष्ट्रारको कार्यालय गण्डकीका रजिष्ट्रार रमेश घर्तिले सहकारीका सिद्धान्तलाई बाचन गरेर मात्रै हैन आत्मसात गरेर काम गर्नु पर्ने बताएका छन् । पामे बचत तथा ऋण सहकारी संस्थाको १२ औ बार्षिक साधारण सभाको उद्घाटन गर्दै सहकारीलाई सक्षम बनाउन सन्चित कोष रकम बढि जम्मा गर्नु पर्ने बताए । कार्यक्रममा पोखरा महानगरपालिका २४ का वडा अध्यक्ष भरतबहादुर अधिकारीले पामे बचत तथा ऋण सहकारी संस्थाले जनतामा आर्थिक जागरण ल्याउने काम गरेको बताए । त्यसै गरी पोखरा १८ का वडा अध्यक्ष शिवप्रसाद तिमिल्सिना, सहकारी रजिष्ट्रारको कार्यालय गण्डकीका प्रशासन अधिकृत चोलकान्त वाग्ले, कास्की बचत तथा ऋण सहकारीका शेरबहादुर कार्की लगाएतले सहकारीले गाउँ गाउँमा वित्तिय साक्षरता जगाउन सहयोग गरेको बताए । कार्यक्रममा पामे सहकारीका संस्थापक अध्यक्ष प्रेमराज दवाडी, पोखरा २४ का वडा सदस्य रेशम सुबेदी, सृजनसिल आमा अमुह पामेकी अध्यक्ष लक्ष्मी सुबेदी, जनजनगरण महिला विकास सहकारीकी सचिब लक्ष्मी सुबेदी त्रिपाठी, पामे सहकारीका उपाध्यक्ष नवराज पराजुली, सहसचिब गिताकुमारी पौडेल लगाएतले सहकारीले गाउँमा रहेकालाई घर दैलोमा नै पुगेर सहकारीले सेवा प्रदान गर्दै आएको बताए । कार्यक्रममा सहकारीका शेयर सदस्यका एइई दिएका यस वर्ष उत्कृष्ट नतिजा ल्याउने चार जनालाई समान गरेका थिए । त्यसै गरी सबै भन्दा बढि उमेर पुगेका बृद्धबृद्धा, उत्कृष्ट कर्मचारी, उत्कृष्ट ऋणी, उत्कृष्ट बचत कर्ता र सहकारीका सस्थापक अध्यक्ष प्रेमराज दवाडी लगाएतलाई सम्मान गरेका थिए । उनीहरुलाई पामे सहकारीका अध्यक्ष अग्निधर त्रिपाठी, सहकारी रजिष्ट्रारको कार्यालय गण्डकीका रजिष्ट्रार रमेश घर्ति लगाएतले माला र नगद र प्रशंसापदले समान गरेका थिए । साधारण सभाले अध्यक्ष अग्निधर त्रिपाठी, कोषाध्यक्ष लेखनाथ पराजुली प्रतिबेदन पास गरेको छ । सहकरीमा १ हजार १० जना शेयर सदस्य, अधिकृत पुँजी १५ करोड, चुक्ता पुँजी १० करोड १० लाख रहको छ । आर्थिक वर्ष २०७८/७९ मा १७ करोड ५४ हजार निक्षेप संकलन गरी २५ करोड ८७ लाख कर्जा प्रवाह गरेको छ ।
पोखरा : गठबन्धन दलहरुको तर्फबाट कास्की क्षेत्र नम्बर-२(ख) अन्तर्गत पोखरा महानगरपालिका वडा नं ९ र १६ मा निर्वाचन सम्पर्क कार्यालय स्थापना भएको छ । शनिबार एक कार्यक्रमका बीच पोखरा ९ को महेन्द्रपुल र पोखरा १६ को मैदानमा उम्मेदवारसहित गठबन्धन दलका नेताहरुले संयुक्त रुपमा उद्घाटन गरेका छन् । उद्घाटन कार्यक्रममा बोल्दै कास्की क्षेत्र नम्बर–२ मा गठबन्धनको तर्फबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार नेकपा एकीकृत समाजवादी पार्टीका पोलिट्ब्युरो सदस्य श्रीनाथ बरालले पोखरा ९ र १६ का समस्याका विषयमा आफु जानकार भएको र त्यसको समाधानमा लाग्ने प्रतिबद्धता व्यक्त गरे । उनले युवाहरुलाई स्वदेशमा नै बस्ने व्यवस्था मिलाउने गरी रोजगारीका कार्यक्रमहरु सिर्जना गरिने बताए । देशको विद्यमान परिस्थिति र संविधानको रक्षाका लागि गठबन्धनको आवश्यकता रहेको र गठबन्धनका साझा उम्मेदवारहरुलाई कुनै तित्तता नराखी विजय गराउन आग्रह गरे । ‘म नेपाली काँग्रेसको पनि उम्मेदवार हुँ । नेकपा माओवादीको पनि उम्मेदवार हुँ । त्यसैले यहाँहरुले मत प्रदान गरी नीति निर्माण तहमा मलाई पुर्याउनुभयो भने तपाईको मतको कदर अवश्य गर्नेछु ।’, उनले भने । उनले पोखरा ९ व्यवसायिक रुपमा व्यस्त वडा भएकाले त्यहाँका व्यवसायीहरुको रक्षार्थ व्यवसायिक मैत्री कानून निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने बताए । पोखरा १६ का दुर्गम क्षेत्रमा बाटोघाटो निर्माण गर्ने विषयमा सकरात्मक पहलकदमी रहने भनाई उनकोे छ । कास्की २ का जनताको मनोभावनालाई आफुले बुझेको र त्यसलाई पुरा गर्ने जिम्मेबारीका साथ चुनावी मैदानमा होमिएको बताए । गठबन्धनको तर्फबाट कांग्रेसबाट कास्की २ (ख) मा प्रदेश सभासदस्य पदमा उम्मेदवारी दिएका गण्डकीका कानुन, सञ्चार तथा प्रदेशसभा मामिला मन्त्री विन्दुकुमार थापाले २०७४ सालको निर्वाचनमा पोखरा ९ र १६ का जनताको माया पाएर नै विजयी भएको उल्लेख गर्दै यसपाली पनि साथ रहने अपेक्षा गरेका छन् । उनले पोखरा ९ शहरी क्षेत्र भएकाले आवश्यकता अनुसारको बजेट विनियोजन गर्न सफल भएको अभिव्यक्ति दिए । पोखरा १६ मा शहरी क्षेत्र सँगै ग्रामीण भेग समेत भएकाले नेपाली काँग्रेस नेतृत्वको सरकारले नै त्यहाँका जनताको चाहनाबमोजिमको विकास निर्माणका कार्यलाई अग्रसरता दिएको उल्लेख गरे । उनले आगामी समय पनि पोखरा १६ का दुर्गम क्षेत्रलाई सुगम बनाउने र त्यहाँका पर्यटकीय सम्भावना बोकेको ठाउँलाई प्रचारप्रसार गर्ने गरी आफु लाग्ने प्रतिबद्धता व्यक्त गरे । ‘एकातर्फ पोखरा ९ व्यवसायिक ठाउँ हो । अर्को तर्फ पोखरा १६ व्यवसायिक सँगै पर्यटकीय हिसाबले पनि सम्भावना बोकेको ठाउँ हो । पोखरा ९ को बजार व्यवस्थापन देखि पोखरा १६ को कलासंस्कृतिको संरक्षणका लागि मेरो भूमिका महत्वपूर्ण रहनेछ ।’, उनले भने । उनले पहिलो कार्यकालमा पुरा गर्न नसकेका योजनाहरुलाई पुरा गर्ने ध्येयका साथ निर्वाचनमा होमिएको उल्लेख गरे । ‘शिक्षा,स्वास्थ्य, रोजगारीका क्षेत्रमा पोखरा ९ र १६ मा अझै धेरै काम गर्न सकिन्छ । बाटोघाटोको स्थरउन्नति देखि पार्किङ व्यवस्थापनमा समेत नीतिगत आधार तयार गर्ने गरी फेरि उम्मेदवारका रुपमा यहाँहरु समक्ष आएको छु । आशा छ यसपाली पनि माया गर्नुहुनेछ ।’, उनले भने । पोखरा ९ मा नेपाली काँग्रेसका इकाई सभापति शिवराज बास्तोलाको सभापतित्व र पोखरा १६ मा इकाई उपसभापति गणेश बहादुर थापाको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा नेपाली काँग्रेसका नेता सोभियत बहादुर अधिकारी, नेपाली काँगे्रसबाट प्र्रतिनिधि सभा सदस्यकी समानुपातिक उम्मेदवार विन्दा देवी राना, प्रदेश सभा समानुपातिक उम्मेदवार लक्ष्मी पाण्डे, नेकपा एकीकृत माओवादीबाट प्रदेश सभा सदस्य समानुपातिक उम्मेदवार जुवेदा खातुन लगायत गठबन्धन दलका नेता तथा कार्यकर्ताको उपस्थिति थियो ।
पोखरा : कस्केली अधिकृत समाजले एक समारोहका बीच आज रचना वाचन कार्यक्रम सम्पन्न गरेको छ । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिस्ठानका पूर्व कुलपति सरुभक्तको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा समसामयिक विभिन्न विषयमा स्रष्टाहरूले रचना वाचन गर्नुभएको थियो । कार्यक्रममा सरुभक्तले कविताको वास्तविक मूल्य नै शाश्वत मूल्य भएको बताउनुभयो । नेपालमा साहित्यकारहरू समाज र राष्ट्रका लागि सिर्जना गर्नुपर्छ भन्ने भावनाका साथ कृयाशिल बनिरहेको बताउँदै उहाँले साहित्य तथा वाङ्मयको सेवामा अधिकृतहरूले आआफ्ना तर्फबाट महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने उल्लेख गर्नुभयो । कस्केली अधिकृत समाजका अध्यक्ष चन्द्रबहादुर सुवेदीले साहित्य आँफैंमा महत्वपूर्ण पक्ष भएको बताउँदै यसले सेवा निबृत्त जीवनलाई पनि सिर्जनात्मक बनाउने बताउनुभयो । कार्यक्रम संयोजक बसन्त चालिसेले समाजले अन्य विभिन्न गतिविधिसँगै रचना वाचनका माध्यमबाट साहित्यिक गतिविधि अघि बढाएको बताउनुभयो । कार्यक्रममा पोखरा महानगरपालिका गडा नं ३ का वडा अध्यक्ष प्रकाशमान उदास, सल्लाहकार शिवप्रसाद पराजुली लगायतले बोल्नुभएको थियो । समाजका अध्यक्ष सुवेदीको सभापतित्व एवम् सचिव महेश पौडेलको सञ्चालन र कार्यक्रम संयोजक वसन्त चालिसेले स्वागत गर्नुभएको कार्यक्रममा समाजका सल्लाहकार एवम् अन्तराष्ट्रिय नेपाली साहित्य समाज नेपाल गण्डकी प्रदेश समितिका अध्यक्ष दुर्गाबहादुर शाह ʿबाबाʾ, सल्लाहकारहरू शिवप्रसाद पराजुली, शिवहरि शर्मा, देबेन्द्र केसी(देबु), उपाध्यक्ष लोकनाथ दवाडी, गण्डकी साहित्य संगमका सचिव भीमबहादुर रानाभाट(ज्यालादारी), गण्डकी बाङ्मय समाजका अध्यक्ष डा.कृष्णराज अधिकारी, जिल्ला समन्वय अधिकारी नवराज बराल, रासस गण्डकी प्रदेश प्रमुख वासुदेव पौडेल, रामचन्द्र आचार्य, चन्द्रावती वाग्ले, भगवती बञ्जारा, शिवप्रसाद गौतम, रुजिन्द्र तुलाचन लगायतले कविता, कथा, मुक्तक लगायतका रचना वाचन गर्नुभएको थियो । रचना वाचनका सहभागीलाई सरुभक्त, समाजका अध्यक्ष सुवेदी लगायतले प्रशंसापत्र प्रदान गर्नुभएको थियो ।
पोखरा : नेपाल तरुण दल पर्वत पैयुँ गाउँपालिकाको सभापतिमा अभि गुरुङ चयन भएका छन् । पैयुँको प्रथम अधिवेशनबाट उनी चयन भएका हुन् । उनी सँगै उपाध्यक्षमा लक्ष्मण न्यौपाने, भिम सेन, सचिवमा कमल पौडेल, सचिवमा मिन प्रसाद भुसाल, सह—सचिवमा भिम बहादुर थापा, खिमानन्द न्यौपाने, कोषाध्यक्षमा सुर्य प्रसाद न्यौपाने चयन भएका छन् । गुरुङले पैयुँका तरुणलाई एकीकृत गरी आगामी निर्वाचनमा काँग्रेसलाई जिताउने गरी लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन् । अग्रजको सल्लाहलाई अनुसरण गर्दै युवाहरुलाई समेट्ने गरी आफु लाग्ने भनाई उनको छ । तरुण दलको सभापति भएसँगै अभि गुरुङको राजनीतिक गतिविधिले समेत सक्रियता लिएको छ । २४ वर्षको कलिलो उमेरमा नै उनले नेपाली काँग्रेसको भातृसंस्था तरुण दलको पैयुँ गाउँपालिकाको जिम्मेबारी सम्हाल्ने अवसर पाएका छन् । भन्छन्,‘यो मेरा लागि ठूलो अवसर हो । पैयुँका तरुणहरुलाई संगठीत गर्दै आगामी यात्रा तय गर्नेछु । अहिले हाम्रो मिसन भनेकै मंसिर ४ गतेको निर्वाचनमा गठबन्धनका उम्मेदवारहरुलाई विजयी बनाउनु नै हो ।’ पर्वत पैयुँका काँग्रेसीहरुको मन जित्ने गरी आफुले काम गर्ने भनाई उनको छ । गुरुङलाई पर्वतबाट प्रतिनिधि सभाका उम्मेदवार नेपाली काँग्रेसका नेता अर्जुन जोशी र पैयुँ गाउँपालिकाका अध्यक्ष राज मल्लले खादा माला र अबिर सहित जिम्मेबारी सुम्पिएका थिए ।
पोखरा : कास्की क्षेत्र नं ३ (क) बाट उठ्दै छन् खेम तिमिल्सना । ‘राजनीतिमा अब युवा’ नारा बोकेर आउँदो प्रदेश सभा निर्वाचनको लागि उम्मेदवारी छ खेमको । जसको लागि घरदैलो कार्यक्रममा व्यस्त छन् उनी आजभोलि । उनको घरदैलो कार्यक्रम गर्ने शैली फरक छ । जति फरक उनको शैली छ त्यति नै फरक र उत्कृष्ट उनको घोषणापत्र र प्रतिबद्धतापनि । जसलाई लिएर उनी घर–घर पुगिरहेका छन् आजभोलि । निर्वाचनमा लौरो चुनाव चिन्ह छ उनको । उनको शैली र सरल व्यवहारले सबैलाई लोभ्याउँछ । न कुनै तामझाम । हातमा लौरो र पत्र बोकेर हिँड्छन् उनी । पत्रमा उल्लेख छन् उनले पूरा गर्ने वाचा । शुक्रबार पनि उनी आफ्नै शैलीमा घरदैलो कार्यक्रममा निस्किए । जता पुग्छन् उनलाई सबैले सुन्छन् । उनको कुरामा आशा देख्छन् । पसलदेखि चौतारा र सार्वजनिकस्थल अनि घर–घर । पत्र लिएर शुक्रबार एउटा किनारा पसलमा पुगे खेम । उनको पत्र देखेर किराना पसलका व्यक्तिले बुढी औंला देखाएर शुभकामना दिए । प्रशंसा गरे उनको । अक्सर जहाँ पुग्छन् यस्तै प्रतिक्रिया पाउँछन् उनी । जता पुग्यो सबैको प्रतिक्रिया हुन्छन्,‘हामीलाई विश्वास छ । अब युवाले नै गर्छन् । ठुला नेताले केही गरेनन् बाबु । तिमीहरुले गर्नुपर्यो ।’ त्यसैले पनि उनी विश्वस्त सुनिन्छिन् । खेम भन्छन् :‘हामी परिवर्तन चाहान्छौँ । अब राजनीतिमा हामी युवाको आवश्यकता छ । नयाँ भिजनको साथमा । परिवर्तनको लागि मैले चालेको कदममा अरुले साथ दिन खोज्दै हुनुहुन्छ । मेरो लौरो वृद्धको लागि आड र भ्रष्टचारीको लागि खबरदारी बन्छ ।’ पछिल्लो समयको राजनीतिक उतारचढाव र दलको गठबन्धनले पनि आजित छन् कार्यकर्ता र नागरिक । गठबन्धन नै गर्ने भए एकै दल किन नबनाएको प्रश्न उठ्न थालेको छ । यसैमा आक्रोशित र खबरदारी गर्न थालेका छन् युवाले । राजनीतिमा युवाको हस्तक्षेप स्थानिय तह निर्वाचनमा देखिन थालेको छ । जसका उदाहरण प्रशस्त छन् । राजनीतिमा युवाको हस्तक्षेपले नै अहिले ठाउँमा ठाउँमा युवाको उम्मेदवारी बढेको छ । जसले खबरदारी गर्दै अराजनीतिक शैलीप्रति । यहीँ क्रममा अगाडि बढेको हुन् खेम पनि । ‘राजनीति अराजनीति तर्फ धकेलिदै गयो । जसको कारणपनि हजारौँ युवा दैनिक विदेशीनु पर्छ । सम्मानिय नेताहरुले हाम्रो लागि लडेर स्वतन्त्रता ल्याउनु भयो । गणतन्त्र देखाउनु भयो,’खेम भन्छन्,‘अब उहाँहरुको पालो विश्रामको हो । नयाँ ढंगमा बढ्नुपर्छ विकास । यसको सही व्यवस्थापनको जिम्मा अब युवाको काँधमा छ । नयाँ पुस्तालाई उज्जवल भविष्य देखाउने जिम्मा यो हाम्रो पुस्तामा छ ।’ मुख्य बजारदेखि ग्रामीण भेग पर्छन् खेमको क्षेत्रमा । सबैलाई बराबरी सम्बोधन गर्छन् उनी । मुख्यबजारमा व्यवस्थित शहरीकरण । ग्रामीणभेगको समस्या सम्बोधन । आफनो क्षेत्रमा पर्ने पर्यटकीय स्थलको प्रचारप्रसार । स्वास्थ्य र शिक्षामा विकास । यी सबैका लागि उनको योजना छन् । उनका योजना त राम्रा छन् जसले समाजको दिगो विकासमा उत्कृष्ट टेवा पुर्याउँछ । तर, उनलाई सहायता र समर्थन चाहिएको छ उनै जनताको । एमाले र कांग्रेसको पकड रहेको क्षेत्र मानिन्छ कास्की । विशेषगरी एमाले । परम्परागत मतदाताको बीचबाट कसरी उनले आफनो जीत निकाल्छन् त्यो त आउँदो निर्वाचनको मतपरिणामले नै देखाउँला । तर यसबीच अर्को ध्यान दिनुपर्ने विषय पनि छ । नागरिक परिवर्तन चाहान्छन् वा चाहादैन्न् । उनीहरुको रोजाइले नै देखाउने हो उनीहरुको इच्छा । परिवर्तनको लागि लौरो रोज्छन् वा उहीँ पूरानो र ठुला कहलिएका दल यो हेर्न रोचक हुनेछ ।
पोखरा : नेकपा एमालेको तर्फबाट कास्की क्षेत्र नम्बर १ प्रदेश सभा १ का उम्मेदवार खगराज अधिकारीले व्यवस्था परिवर्तनदेखि विकासको काममा सदैव जनताको साथमा रहेर काम गर्दै आएको बताएका छन् । पोखरा ३० मा उम्मेदवार भेटघाट कार्यक्रममा बोल्दै उनले उक्त वडाको शिशुवा अस्पताललाई स्तरोन्नति गर्दै कोभिडको समयमा पनि आवश्यक स्वास्थ्य सामाग्री लिएर हरेक पटक आउने गरेको स्मरण गराउँदै समयक्रमसँगै जनताको अपेक्षा पूरा गर्न प्रतिवद्व रहेको स्पष्ट पारे । शिशुवा चोकबाट फेदिसम्मको बाटो चक्लाउन ८ करोड रुपैयाँ बजेट अन्तरगत काम सुरुवात गरेकोमा पछिल्लो पटकको २ करोड रुपैयाँ शहरी विकास मन्त्रालयले काटेको भन्दै उनले त्यसलाई पूरा गर्ने दायित्व आफुहरुको भएको उल्लेख गरे । उनले गण्डकी प्रदेशलाई एमाले नेतृत्वको सरकारले जग बसालेको स्मरण गर्दै उनले त्यसलाई समृद्वको बाटोमा लैजाने गरि अगाडी बढ्ने बताए । उम्मेदवार अधिकारीले केन्द्रबाट प्रदेशमा आइसकेपछि अझै जनताको गुनासोलाई सुनेर सम्बोधन गर्ने अवसर आएको बताउँदै त्यसको जिम्मेवारी सुम्पिन मङ्सिर ४ मा सुर्य चिन्हमा मतदान गर्न स्थानियसँग आग्रह गरे । स्थानीय विश्वनाथ लामिछानेले बर्खामा पानीले समस्या परेको भन्दै सडकको नाला व्यवस्थापन र सडकलाई फराकिलो बनाउने काममा पहल गरिदिन अनुरोध गरेका थिए । लामिछानेले खगराज अधिकारी स्वास्थ्यमन्त्री हुँदा शिशुवा अस्पतालको स्तरोन्नति गराएको भन्दै स्वास्थ्य विमाका सेवाग्राहीलाई सहज सेवा प्रवाह गर्ने प्रवन्ध गरिनुपर्ने भनाई राखे । ‘एमालेमै भोट हाल्न प्रतिवद्व छौ, २०५१ देखि निरन्तर एमालेको पक्षमा हामी छौ तपाईंलाई हामी जिताउँछौ’, उनले भने । स्थानीय विकल बास्तोलाले गुनासो सुनेर सम्बोधन गर्न आवश्यक रहेको बताए । निवर्तमान वडाध्यक्ष श्रीराम पोखरेलले वडा भित्र साना ठुला गरि ६० वटा बाटो स्तरोन्नति बनाउन सफल भएको सुनाए । वडामा वार्षिक ९० लाख रुपैयाँ मात्रै आउने हुँदा बजेट अभावका कारण सबै योजनाहरु सोचे अनुरुप काम हुन नसकेको उनको भनाई छ ।
पोखरा : कास्की क्षेत्र नम्वर ३ ‘ख’ बाट नेकपा एमालेका उम्मेदवार राजिव पहारीले नेपाललाई अन्तर्राष्ट्रिय जगतमा चिनाउन सक्ने क्षेत्र खेलकुद भएको बताएका छन् । सुर्यचन्द्र विकास समाज, पोखरा–५ को आयोजनामा शनिवारबाट मालेपाटनमा शुरु भएको वडास्तरीय व्याडमिण्टन प्रतियोगिताको उद्घाटन गर्दै निवर्तमान सांसद पहरीले यस्तो बताएका हुन् । अन्र्तराष्ट्रिय स्तरमा नेपालले प्रतिस्पर्धा गर्न सक्ने खेल क्षेत्र नै भएकोले खेल र खेलाडीको प्रवद्र्धन गर्नुपर्नेमा उनले जोड दिए । आगामी निर्वाचनको प्रसङ्ग जोड्दै उनले जनताको सेवामा अझै धेरै काम गर्न बाँकी रहेकाले फेरि उम्मेदवारी दिएको बताए । आफुले अघिल्लो कार्यकालमा थालनी गरेका महत्वपूर्ण योजनाहरुलाई पूर्णता दिलाउन फेरि आफुलाई विजयी गराउन उनको आग्रह छ । कार्यक्रममा बोल्दै पोखरा स्वास्थ विज्ञान प्रतिष्ठानका निर्देशक डाक्टर भरत खत्रीले स्वास्थ्य नागरिक बन्न खेलकुद महत्वपूर्ण हुने बताए । वडा ५ का अध्यक्ष विष्णुप्रसाद बरालले मालेपाटन खेल क्षेत्रको उर्भरभुमि भएको बताउँदै यहाँबाट थुप्रै राष्ट्रिय खेलाडी उत्पादन भईसकेको उल्लेख गरे । कार्यक्रम आयोजक संस्था सुर्यचन्द्र विकास समाज अध्यक्ष कृष्णप्रसाद बरालको अध्यक्षतामा भएको थियो । तीन दिन सम्म चल्ने प्रतियोगितामा डबल्सतर्फ २६ टिमको सहभागिता रहेको छ ।

