पोखरा : पोखरा महानगरपालिकाले सृजनाचोक स्थित आफ्नो स्वामित्वमा रहेको भवनको भूमिगत पार्किङ खाली गरी पार्किङ प्रयोगका लागि खुला गरेको छ । महानगरमा निर्माण गरिएका भूमिगत पार्किङ सहितका कतिपय भवनहरूले प्रयोजन विपरीत प्रयोग गरिरहेका बेला महानगरले भने आफ्नो भवनमा पार्किङ खुल्ला गरेको हो । यसअघि भदौ १३ गते महानगरले पोखरामा रहेका भूमिगत पार्किङ स्थलहरूलाई पार्किङ प्रयोजन मै प्रयोग गर्न ३५ दिने सूचना जारी गरेको थियो । सूचनाको म्याद अझ केही दिन बाकी छ । तर, महानगरले सो अगावै आफ्नो भूमिगत पार्किङ खाली गरी यस कार्यको शुभारम्भ गरेको प्रमुख धनराज आचार्यले बताउनुभयो । ‘यो एउटा शुभारम्भ हो, र पोखरामा जति पनि भूमिगत पार्किङ सहित निर्माण गरिएका घरहरू छन्, घर धनीहरूले यसलाई खाली गरेर पार्किङ कै लागी प्रयोग गर्नका लागि म अनुरोध गर्न चाहन्छु’ प्रमुख आचार्यले भन्नुभयो । पोखरामा रहेका भूमिगत पार्किङहरूमा पार्किङ साङ्केतिक रूपमा सुरु भयो भन्ने सन्देश महानगरले दिएको प्रमुख आचार्यले बताउनुभयो । बेसमेन्ट पार्किङ सहितको भवन निर्माणका लागि अनुमति लिई निर्माण गरिएका हरेक भवनहरूमा यसको कार्यान्वयन अनिवार्य हुने प्रमुख आचार्यले बताउनुभयो । ‘यसको कार्यान्वयनका लागि ३५ दिने सूचना सहित पत्र समेत पठाइएको छ, उहाँले भन्नुभयो । पोखरामा बढ्दो पार्किङको असुविधालाई मध्यनजर गरी आफूहरूले प्रयोजन विपरीत प्रयोग भइरहेका ती पार्किङ स्थलहरूलाई पार्किङ प्रयोजन कै लागि उपयोग गर्न आग्रह गरिएको उहाँले बताउनुभयो । सूचनाको म्याद गुज्रिए पछि पनि अटेर गर्नेहरूलाई नियमानुसार कारबाही गरिने उहाँले बताउनुभयो । भूमिगत पार्किङलाई खालि गरी सोही प्रयोजनका लागि उपयोग गर्नुको विकल्प नरहेको उहाँको भनाई छ । भूमिगत पार्किङमा सञ्चालन गरिएका व्यवसायहरू तोकिएको समय भित्र नै स्थानान्तरण गर्न उहाँले व्यवसायीहरूलाई आग्रह समेत गर्नुभयो । यस अवधिमा कतिपय व्यवसायीहरूले भूमिगत पार्किङहरू खाली गरिसकेको अनुगमनका क्रममा पाइएको महानगरका वरिष्ठ इन्जिनियर सुरेन्द्र पौडेलले बताउनुभयो । उहाँका अनुसार पोखरा महानगरपालिका भित्र २५० बढी भवनमा भूमिगत पार्किङ स्थलहरू छन् ।
पोखरा : विश्व पर्यटन दिवसको अवसरमा आज पोखरा विमानस्थलमा पहिलो उडानबाट आउने पर्यटकलाई स्वागत गरिएको छ । पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति व्यवस्था मन्त्रालय गण्डकी प्रदेश, पोखरा पर्यटन परिषद् र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा काठमाडौँबाट बुद्ध र यति एयरलाइन्सबाट आएका स्वदेशी एवं विदेशी पर्यटकलाई स्वागत गरिएको हो । पोखरा विमानस्थलमा पर्यटकलाई गण्डकी प्रदेशका शिक्षा, संस्कृति तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले स्वागत गर्नुभयो । उक्त अवसरमा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय प्रमुख काशीराज भण्डारी, पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठ लगायतले पर्यटकको स्वागत गर्नुभएको थियो । क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल अवलोकन पर्यटन दिवसकै अवसरमा पोखराको नवनिर्मित पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको पर्यटनसम्बद्ध क्षेत्रका प्रतिनिधिले अवलोकन गरेका छन् । अवलोकनमा नेपालबाट विभिन्न देशमा अन्तर्राष्ट्रिय उडान गर्दै आएका उडान कम्पनीका अधिकारी, भारतीय तथा नेपाली सञ्चारकर्मी, पर्यटन क्षेत्र सम्बद्ध सङ्घ संस्थाका प्रतिनिधि सहभागी रहनुभएको थियो । सहभागीलाई नागरिक उड्ययन प्राधिकरण पोखराका प्रमुख विक्रम गौतमले विमानस्थलको भौतिक अवस्था लगायतका विषयमा जानकारी गराउनुभयो ।
पोखरा : पोखराको सबैभन्दा पुरानो निजी अस्पताल पद्म नर्सिङ्ग होम प्रा. लि. नदिपुरबाट संचालनमा आएको छ । बिगत २७ बर्ष देखि पोखराको न्युरोडमा संचालनमा रहेको पद्म नर्सिङ्ग होम घटस्थापनाको दिन देखि पोखरा–३ नदिपुरमा जापानीज प्रविधिमा निर्मित आफ्नै सुबिधा सम्पन्न भवन बाट संचालनमा आएको हो । नर्सिङ्ग होमले अहिले तत्काललाई इमर्जेन्सी सेवा, सबै प्रकारका बहिरङ्ग (ओपिडी) सेवा, अप्रेसन, जनरल वार्ड, अत्याधुनिक प्रयोगशाला, एक्सरे, भिडियो एक्सरे, इ.सि.जि., इकोकार्डियोग्राफी, इन्डोस्कोपी, फार्मेसी लगायत यस अगाडि प्रदान गर्दै आईरहेको सेवालाई यथावत राखेको जनाएको छ । नर्सिङ्ग होमले अब छिट्टै नै आईसियु एनआईसियु, पिआईसियु सिटि–स्क्यान, एमआरआई लगायतका सेवा थप गर्ने तयारी गरेको प्रा.लि. का प्रबन्ध निर्देशक नरेन्द्र बास्तोलाले जानकारी दिनुभयो । “हामीले सबै प्रकारका सेवा दिने तयारी गरेका छौ । न्युरोडमा संचालनमा रहदा भएका सबै सेवालाई यथाबत संचालन गरेर आईसियु एनआईसियु, पिआईसियु सिटि–स्क्यान, एमआरआई लगायतका सेवा थपको तयारी गरेका छौ । केही काम बाँकी रहेकाले यी सेवाहरु सुरु भने भएका छैनन् अब छिट्टै यी सेवाहरु पनि सुरु हुने छन् ।“ उहाँका अनुसार कार्तिक वा मंसिर सम्म यी सेवाहरु सुचारू गर्ने तयारी रहेको छ । नदिपुरमा स्थानान्तरण भए संगै ५० बेड क्षमता बाट १ सय बेड क्षमतामा स्तर उन्नतिको तयारी गरेको नर्सिङ्ग होमले भौतिक निर्माणको कामलाई तिब्रता दिएको जनाएको छ । नर्सिङ्ग होम बाट थप अनुभवी र बरिस्ठ डाक्टरहरुको परामर्शमा सेवा दिने गरेर तयारी थालिएको बताउदै प्रा.लि. का अध्यक्ष इन्दिरा शर्मा सुबेदीले निर्माणको काम अझै केही बाँकी रहेकोले थप सेवा संचालनमा आउन भने केही दिन लाग्ने सक्ने जानकारी दिनुभयो । प्रा. लि. का संचालक एवं वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर नारायण गौतमले पद्म नर्सिङ्ग होमलाई यस क्षेत्रकै उत्कृष्ट अस्पताल बनाउने गरेर काम गर्ने बताउदै सर्वसुलभ स्वास्थ्य सेवालाई सबैको पहुँचमा पुर्याउने आफुहरुको उदेश्य रहेको बताउनुभयो ।झण्डै तीन दशक देखि पोखराको न्युरोडबाट स्वास्थ्य सेवा प्रदान गर्दै आएको नर्सिङ होमले पोखरा– ३ नदिपुरबाट सेवा सुरु गर्दै बिगतमा सेवाग्राही बाट पाएको अपार माया र सद्भावका लागि आभार व्यक्त गरेको छ भने आगामी दिनमा पनि उस्तै माया र साथको अपेक्षा गरेको जनाएको छ ।
पोखराः पोखरा उद्योग वाणिज्य संघले चाडपर्वमा उद्योगी÷व्यवसायीहरुलाई सुरक्षा र सहजता प्रदान गर्न सरोकारवालासँग आग्रह गरेको छ । संघका अध्यक्ष पवनकुमार प्रजापति नेतृत्वको प्रतिनिधिमण्डलले कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसी तथा कास्की प्रहरी प्रमुख अजय केसीलाई भेटेर सो आग्रह गरेको हो । भेटका अवसरमा संघका अध्यक्ष प्रजापतिले चाडबाडको बेला हुने किनमेललाई सहजता प्रदान गर्न आग्रह गर्दै भने,‘चाडबाडमा किनमेल गरिएका सामान बोक्ने गाडीहरुलाई मुख्य सडक क्षेत्रमा सहजतासाथ प्रवेश गर्ने वातावरण निर्माण होस्,अत्यावश्यक सामान वितरण गर्ने गाडीलाई अवरोध नगरियोस् ।’ उनले न्यूरोड क्षेत्रमा भएका फर्निचर तथा इलेक्ट्रोनिक्स सामग्री पसलहरुले बिक्री गरिएका सामान ग्राहककहाँ पु¥याउन समस्या भोगेको गुनासो सम्वोधनको आग्रह पनि गरे । चाडबाडमा व्यवसायीहरुले सहजता महशुस गरे राजश्व बृद्धिमा पनि सहयोग पुग्ने उनको भनाइ थियो । अध्यक्ष प्रजापतिले बजार अनुगमनको नाममा व्यवसायीहरुको मानमर्दन नगर्न तथा एकद्धार प्रणालीबाट अनुगमन गर्न आग्रह पनि गरे । जवाफमा कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले आफू निजी क्षेत्रको मागप्रति सकारात्मक भएको प्रतिक्रिया दिए । उता, कास्की प्रहरी प्रमु्ख अजय केसीले दशैं तिहार लक्षित सुरक्षा योजना निर्माण भएको र त्यसले व्यवसायीहरुका माग संवोधन गर्ने बताए । प्रतिनिनिमण्डलमा संघका वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्की,महासचिव बलराम आचार्य, कोषाध्यक्ष दिनेश बास्तोला, उपमहासचिव शोभा पौडेल र कार्यसमिति सदस्य जीवनकाजी श्रेष्थ सहभागी थिए ।
पोखरा : रंग तथा सञ्चारकर्मी गोविन्द थापा सिञ्जालीले निर्देशन गरेको भिडियो तथा डकुमेन्ट्रीहरु पोखरामा प्रर्दशन हुने भएको छ । हरीनास सिर्जनशील समूह पोखराको आयोजना र वारागुङ मुक्तिक्षेत्र गाउँपालिका मुस्ताङको मुख्य प्रायोजनमा कार्यक्रम हुन लागेको हो । असोज १५ गते पोखरा थियटरमा सिञ्जालीले निर्देशन गरेका १५ वटा भिडियोहरु प्रर्दशन हुने कार्यक्रम संयोजक तथा हरीनास सिर्जनशील समुह पोखराका अध्यक्ष रुद्र सन्देशले जानकारी दिए । प्रर्दशनीमा मुस्ताङ ,कास्की, स्याङजा लगायतका स्थानका मौलिक लोक संस्कृति बोकेका भिडियो र डकुमेन्ट्रीहरु देखाईनेछ । भिडियोका निर्देशक सिञ्जालीका अनुसार मुस्ताङ जिल्लाका धाज्याङ, झोम्लु,याङजी,घ्या ला सिङसो,क्याङ ल्याचे क्याङ ,तलुु ,याङजी लगायतका गीत र नृत्य भिडियो स्याङजा र कास्कीमा प्रचलित ठाडोभाका ,बाजेबजै पुजा साथै भैरमथानको यात्रा भाग १ ,रेडियो नेपाल पोखराको परिचय लगायतका डकुमेन्ट्रीको प्रर्दशन हुनेछन । भिडियोहरुले संस्कृति संरक्षण गदै पुस्ता हस्तान्तरणमा लागि सहयोग पुग्ने आसा राखेको निर्देशक थापाले बताए । मुस्ताङको वारागुङ गाउँपालिकाले स्थानीय कला ,संस्कृति,भाषा संस्कृति संरक्षण गर्ने क्रममा यस्तो कार्यक्रममा जोडिन पाउदा खुशी लागेको प्रमुख प्रशासकीय अधिकृत जीत वहादुर रानाको भनाइ छ ।
पोखरा : सांस्कृतिक युवा मञ्च नेपालद्वारा रामघाटमा प्रत्येक महिनाको शनिबार माता सेतीगण्डकी दिव्य महाआरती सञ्चालन गर्दै आएको छ । बालुवा बोकेर दैनिकी चलाउने मजदुर र शव दाहसंस्कार गर्नेहरूले व्यस्त देखिने पोखराको मध्यभागमा अवस्थित उक्त घाटमा प्रत्येक शनिबार पितृ उद्धार एवं सुख, शान्तिको कामनासहित सन्ध्या महाआरती सञ्चालन गरिँदै आएको छ । तीन जना पण्डितद्वारा गरिने गरिने सन्ध्याआरतीमा विशेषगरी धुप, घ्यू, ल्वाङदानी, कपुर, फूलपाती, मयुर पङ्ख, सेतो चमर, अलैँचीदाना, लाछीघागोलगायतका विभिन्न सुगन्धित वस्तुको प्रयोग गरिने सांस्कृतिक युवा मञ्च नेपालका अध्यक्ष रामकृष्ण अर्यालले जानकारी दिनुभयो । सङ्गीतमयरूपमा शङ्ख उद्घोषबाट सुरु र अन्त्य गरिने आरतीमा ५४ वटा बत्ती रहने बताउँदै उहाँले भन्नुभयो, साँझमा सञ्चालन गरिने आरतीमा दिनप्रतिदिन भक्तजनहरूको सहभागिता बढ्दै गएको छ । समाजसेवी रामप्रसाद बतास र श्रीमती सेतीमाया बतासद्वारा पितृ उद्धारका लागि दुई लाख ५० हजारको आर्थिक सहयोगबाट आरती सञ्चालन हुँदै आएको उहाँको भनाइ छ । प्रतिदिन आरती सञ्चालनमा रु आठ हजार खर्च हुने गरेको छ । जेष्ठ नागरिक सरोकार समाज नेपालका अध्यक्ष तथा मञ्चका सल्लाहकार भक्तराज श्रेष्ठका अनुसार दिनभरिको तनाव मुक्तिका लागि आरती महत्वपूर्ण आधार बन्ने गरेको बताउँदै यस्ता गतिविधिले धार्मिक पर्यटन प्रवद्र्धनमा समेत सहयोग पुग्दछ । पशुपतिनाथको महाआरतीको झझल्को दिने गरी सुगन्ध र सङ्गीतमयरूपमा सञ्चालन हुने आरती विसं २०७५ असोज २४ घटस्थापनका दिनदेखि पोखरामा भित्रिएको हो । पहिलोपटक फेवातालको किनारास्थित तालबाराहीघाटबाट सुरु भएको आरती पछिल्लो समय रामघाटसहित प्रसिद्ध धार्मिकस्थल विन्ध्यवासी मन्दिर, गुप्तेश्वर गुफा, सदाशिव हरिहर मन्दिर, नर्वदेश्वर मन्दिर, बेगनासताललगायत विभिन्न धार्मिक क्षेत्रमा सञ्चालन गरिसकिएको छ ।
कास्की : नेपाल छन्त्याल युवा संघ कास्कीको अध्यक्षमा मोहन छन्त्याल सर्वसम्मत निर्वाचित भएका छन् । जिल्लाको १२ औ साधारणसभा तथा छैटौं जिल्ला अधिवेशनबाट मोहन छन्त्यालको नेतृत्वमा तीन वर्षे कार्यकालका लागि नयाँ समिति चयन भएका हुन् । सो समितिको उपाध्यक्षमा सुजन छन्त्याल चुनिए भने कुशलतापूर्वक कार्यसम्पादन गरेको भन्दै सचिवमा नवीन छन्त्याल निर्वाचित भए । यसैगरि सो समितिको कोषाध्यक्षमा मविना छन्त्याल चयन भइन् । भने सदस्यहरुमा राम छन्त्याल, ठम बहादुर छन्त्याल, चन्द्र बहादुर छन्त्याल, श्रीप्रसाद छन्त्याल, नितु छन्त्याल र रञ्जिता छन्त्याल चुनिएका छन् । सुबेदार धन बहादुर भलञ्जा छन्त्यालको नेतृत्वमा रहेको नेपाल छन्त्याल संघ कास्की र माया तथप्जा छन्त्यालको नेतृत्वमा रहेको महिला समिति भने सर्वसम्मत यथावत राखिएको युवा समितिका सचिव नवीन छन्त्यालले जानकारी दिए । उनका अनुसार छन्त्याल समाजले हरेक वर्ष माघे संक्रान्तिको अवसरमा पोखरा ३ नदीपुरको आफ्नै खेलमैदानमा पुरुष तथा महिला भलिबल प्रतियोगितासँगै विभिन्न मनोरञ्जनात्मक साँस्कृतिक कार्यक्रम आयोजना गर्दै आएको छ । सोही अनुरुप यस वर्ष पनि तयारीमा जुटेको नवनिर्वाचित सचिव छन्त्यालले बताए । ‘हामीले हरेक वर्ष माघे संक्रान्तिको अवसरमा मेला आयोजना गर्दै आएका छौं, उनले भने, ‘यो वर्षपनि हामीले मेला गर्ने भनेर तयारी छौं । के कसरी अझ ऐतिहासिक मेला गर्न सक्छौं भनेर कसरतमै लागिराछौं ।’ मौलिक संस्कृति जोगाउन देउसी– भैलोको तयारी तिहारको अवसरमा गाउँघरमा खेलिने देउसी भैलोको संरक्षण गर्ने उद्देश्यले नवनिर्वाचित समितिले पोखरामै देउसी भैलो खेल्ने निर्णय गरेको सचिव छन्त्यालले बताए । पछिल्लो समय कला संस्कृतिको संरक्षणको नाममा विकृती बढेको बताउदै उनले मौलिकता झल्कने गरि देउसी भैलो कार्यक्रम आयोजना गरिने उनले जानकारी दिए । ‘हामीले आफ्नो समुदायको संस्कार र संस्कृति जगेर्ना गर्ने उद्देश्यले यो वर्षपनि देउसीभैलो खेल्ने निर्णय गरेका छौं, छन्त्यालले भने, ‘त्यसैले हामी सोही अनुरुप नै तयारी पनि थालेका छौं । यसले हाम्रो अस्तित्व र मौलिकताको संरक्षण गर्न महत्वपूर्ण भुमिका खेल्नेछ ।’ छन्त्याल युवा संघद्वारा आयोजित विभिन्न कार्यक्रममार्फत संकलित रकमको केही हिस्सा असहाय तथा बिरामीहरुलाई सहयोग गर्दै आएको छ ।
लेखनाथ : कास्कीको लेखनाथस्थित अघौँ चोकमा भैँसीपालन, तरकारी खेती र बाख्रापालनबाट मासिक डेढ लाख मुनाफा गर्नुहुन्छ म्याग्दीकी ४५ वर्षीया शिवमाया शेरपूर्जा । छोराछोरी बोर्डिङ पढाउनकै लागि म्याग्दीबाट विसं २०६३ मा पोखरा झर्नुभएकी उहाँलाई कृषि पेशाले छोटो समयमै करोडपति बनाइदिएको हो । विसं २०७१ मा लेखनाथको अर्घौ चोकमा १७ रोपनी जग्गा भाडामा लिएर केही हजार रकमबाट सुरु भएको शेरपूर्जाको कृषि फार्मको पूँजी अहिले करिब रु तीन करोड पुगेको छ । उहाँले सुरुमा दिदीबहिनी कृषि फार्म सञ्चालनमा ल्याएर तरकारी खेतीबाट आफ्नो पेशा अगाडि बढाउनुभएको थियो । नौ वर्षकै अवधिमा अहिले शेरपूर्जाको फार्ममा १८ लैना भैँसी, एउटा राँगो, चार लैना गाई, १५ पाडा–पाडी, चार बाच्छा–बाच्छी छन् । पन्ध्र रोपनी जमिनमा शेरपूर्जाले भैँसीका लागि थप ११ रोपनी जमिनमा घाँसखेतीसमेत गर्नुभएको छ । उहाँले भन्नुभयो, “दूध तथा तरकारी बिक्रीबाट मासिक रु तीन लाखभन्दा बढी आम्दानी हुने गरेको छ, खर्च कटाएर मासिक रु डेढ लाख बचत हुन्छ । उत्पादित तरकारीले विस्तारै बजार लिन थालेपछि गोबरका लागि भैँसीपालन गर्ने सोच बनाउँदा यसमा समेत मेरो आकर्षण बढ्यो ।” तरकारी खेती गर्ने क्रममा एक ट्र्याक्टर मलका लागि रु सात हजार बुझाउँदा शेरपूर्जाको मन खिन्न भयो र सोच्न थाल्नुभयो, गोबरका लागि भए पनि अब एउटा भैँसी पाल्नुपर्छ । तरकारी खेती सुरु गरेको तीन वर्षपछि विसं २०७३ मा उहाँले भैँसीपालन गर्ने सोच बनाउनुभयो । शेरपूर्जासँग भैँसी किन्ने पैसा थिएन । भैँसी किनेपछि दूध पनि बिक्री गर्न पाइने तरकारी उत्पादनका लागि गोबर पनि हुने भएकाले ऋण गरेरै भएपनि तराईबाट एउटा लैनो जर्सी भैँसी किनेर ल्याउनुभयो । मेहेनत गर्दै अगाडि बढ्नुभएकी शेरपूर्जा अहिले गाउँकै नमूना महिला कृषि उद्यमी बन्नुभएको छ । दुई वर्ष अगाडिदेखि उहाँले बाख्रापालनसमेत सुरु गर्दै आउनुभएको छ । त्यतिबेला शेरपूर्जाको श्रीमान् रोजगारीका लागि खाडी मुलुकमा हुनुहुन्थ्यो । श्रीमान्को कमाइले कोठामा बसेर खान र छोराछोरी बोर्डिङ पढाउन कठिन भइरहेकाले छोराछोरीको पढाइ खर्च जुटाउन र बिहान–बेलुका हातमुख जोड्नका लागि मैले पनि केही गर्नुपर्छ भन्ने हुटहुटी जाग्न थाल्यो । पोखरा–२७ को लेखनाथस्थित खराने फाँटमा बस्ने क्रममा उहाँले विसं २०७१ मा पोखरा–२७ कै लेखनाथस्थित अघौँमा १७ रोपनी जग्गा भाडामा लिएर दिदी–बहिनी कृषि फार्म सञ्चालनमा ल्याउनुभयो । फार्ममा गोलभेँडा, काक्रा, घिरौला, करेला, साग, काउली, बन्दालगायत तरकारी उत्पादन हुन थाल्यो । दुई–तीन महिला उहाँका तरकारी फार्ममा काम गर्छन् । बिहान ४ बजेदेखि बेलुका ६ बजेसम्म शेरपूर्जा बारीमै खटिनुहुन्छ । किनेको एउटा भैैँसीको दूध पनि फार्मबाटै बिक्री हुन थाल्यो, मूल्य राम्रै पाएपछि त्यो भैँसी खरिद गरेको दुई वर्षपछि उहाँले २०७५ मा भैँसी थप्ने योजना बनाउनुभयो । तरकारी खेती विस्तारै अगाडि बढ्दै थियो भैँसी पनि थपेर आम्दानी वृद्धि गर्ने योजना थियो, शेरपूर्जाको तर पैसा थिएन । भैँसी खरिदका लागि ऋण लिन विभिन्न बैंक चाहर्ने क्रममा बङ्गलादेश बैंकले ऋण दिने भयो उहाँलाई । भैँसी खरिद र तरकारी खेती विस्तार गर्नका लागि शेरपूर्जालाई उक्त बैंकले रु ५० लाख रुपैयाँ दिने निर्णय ग¥यो । बैंकबाट लिएको पैसामध्ये रु ३० लाख भैँसी खरिद र रु २० लाख तरकारीको टनेल बनाउन प्रयोग गर्नुभयो उहाँले । शेरपूर्जाले ऋण लिएको चार वर्षमै ऋण घटाएर रु १० लाखमा पु¥याउनुभएको थियो। छोराछोरी पढाउन र खान पुगेको छ, श्रीमान् पनि बिदेशबाट आएर पोखरा-२७ मा नै किराना पसल गर्नुभएको छ । अब विस्तारै बाख्राबाट पनि आम्दानी हुन्छ । भैँसीको दूध फार्मबाट प्रतिलिटर रु एक सय २० मा बिक्री हुने गरेको र केही दूध डेरीले बिक्रीका लागि लाने गरेको जानकारी उहाँ दिनुहुन्छ । “अहिले मेरो फार्मको पूँजीको मूल्याङ्कन रु तीन करोड गरिएको छ । सत्र रोपनी जमिनबाट बढाएर उहाँले अहिले २९ रोपनी जग्गा भाडामा लिनुभएको छ । १७ रोपनीमा भैँसी, तरकारी र बाख्रा फार्म छ भने ११ रोपनीमा भैँसीका लागि घाँस उत्पादन गरेकी छु । कृषि पेशाबाटै छोरोले इञ्जीनियर र छोरीले नर्स विषय पढे”, शेरपूर्जा भन्नुहुन्छ, “लेखनाथमा आफ्नै एउटा घर पनि छ ।” कृषि कार्यालयले केही मात्रामा आर्थिक अनुदान दिएको छ । भैँसीपालन र तरकारी खेतीको तालिम पनि लिनुभएको छ।
पोखरा : पोखरा महानगरपालिका वडा नं. २७ निवासी स्वर्गिय बलराम लामिछानेका परिवारलाई एलआईसी नेपाल लिमिटेडले मृत्यु दावी वापतको चेक हस्तान्तरण गरेको छ । स्वर्गिय लामिछानेकी पत्नी गोमा कुमारी लामिछानेलाई पोखरा महानगरपालिका वडा नं. २६ का वडाध्यक्ष नरेन्द्र थापा र एलआईसी नेपाल लेखनाथ शाखाका प्रमुख सुरज भट्टले विमा वापत दुई लाख ७२ हजार ८ सय रुपैयाको चेक हस्तान्तरण गरेका हुन । मृत्यूदावी चेक हस्तान्तरण गर्दै, वडाध्यक्ष थापाले लामिछानेले परिवारले असल अभिभावक गुमाएकोमा दुःख व्यक्त गर्दै, मृत्यू दावी वापतको रकमले परिवारलाई थोरै भएपनि आर्थिक सुरक्षा प्रदान गरेको बताए । अध्यक्ष थापाले न्यून र मध्यम बर्गिय परिवारमा विमाको पहुच पुग्नु पर्ने उल्लेख गर्दै, विमा सचेतना कार्यक्रम संचालन गर्न जोड दिए । एलआईसी नेपाल लेखनाथ शाखाका प्रमुख सुरज भट्टले स्वर्गिय लामिछानेको परिवारमा अभिभावक नहुँदाको पिडामा आर्थिक सुरक्षणका रुपमा विमाको रकमले सानो भएपनि योगदान दिएको बताए । उनले विमाको विषयमा गलत वुझाई हुँदा अझै पनि ठुलो संख्या विमाको पहुँच भन्दा बाहिर रहेको बताए । लामिछानेको पोखरा महानगरपालिकामा नायव सुब्बाका रुपमा कार्यरत रहँदा गत माघमा निधन भएको थियो । साविक लेखनाथ नगरपालिकाले लामिछानेको दुई लाख रुपैया विमाङ्कको दश बर्षे सावधिक जीवन बिमा गरिदिएको थियो । लामिछानेलेको सात किस्ता रकम तिरेपछि निधन भएको थियो ।

