भोजपुर: खेतबारी तथा पाखा पखेरामा पाउने वन लसुन (हाँडे लसुन) भोजपुरका अधिकांश वासिन्दाको राम्रो आम्दानीको स्रोत बनेको छ । व्यावसायिक रुपमा यसको खेती थालनी नभएपनि यहाँका स्थानीयवासीले वन लसुन विक्री गर्दै आएका छन् । डिभिजन वन कार्यालय भोजपुरका अनुसार यसवर्ष मात्र यहाँबाट रु एक करोड बराबरको करिब ५५ टन वन लसुन बाहिएको छ । व्यावसायीहरुले वन कार्यालयबाट पूर्जी काटेर आधिकारिक रुपमा बिक्री गर्ने गर्दछन् भने कतिपयले सिधै बजारमा पुर्याउने गरेका छन् । वन लसुनको विक्रीबाट यस वर्ष जिल्लामा रु एक करोड १० लाख बराबर रकम भित्रिएको वन कार्यालय भोजपुरले जनाएको छ । खेती नगरिएपनि खेतबारी पाखाभित्तामा यो लसुन प्रशस्त मात्रामा पाइने गर्दछ । एक पटक खेतबारीमा लगाएपछि सामान्य हेरचाह गरे मात्र पनि २०/२५ वर्षसम्म आम्दानी लिन सकिन्छ । स्थानीयवासीले यसलाई सङ्कलन गरेर सुकाएपछि प्रतिकेजी २२० देखि २५० रुपैयाँसम्म पाउने गरेका छन् । यसको गानोलाई उसिनेर सुकाएपछि बिक्रीको लागि योग्य हुने गर्दछ । एक रोपनी जग्गामा १२० केजीसम्म उत्पादन लिन सकिने कृषकहरु बताउँछन् । केही वर्षदेखि वन लसुनको व्यावसायिक कारोबार गर्दै आउनु भएका रुद्र लुइँटेलले यसको बजार माग धेरै रहेको बताउनुभयो । वार्षिक रुपमा भोजपुरबाट एक करोड बढी मूल्यको वन लसुन अन्य देशमा जाने गरेको उहाँले बताउनुभयो । लुइँटेलले भन्नुभयो, ‘‘बजारमा वन लसुनको माग धेरै छ । व्यावसायिक रुपमा खेती गर्ने हो भने पनि बजारको समस्या छैन ।’’ आफूले यस वर्ष नै ३५ टन लसुन बजारमा बिक्री गर्न सकेको उहाँको भनाइ छ । एक प्रकारको फूल जस्तो देखिने यो लसुन फागुन÷चैत महिनामा सङ्कलन गर्ने गरिन्छ । यसरी सङ्कलन भएको लसुन स्थानीय ठेकेदारले झापा, काठमाडौँलगायत विभिन्न शहरमा मात्र नभई छिमेकी मुलुक भारतलगायत देशमा समेत निर्यात गर्ने गर्दछन् । स्थानीयमा व्यावसायिक धारणाको विकास भएमा वन लसुन राम्रो आम्दानीको स्रोत बन्ने व्यवसायी लुइँटेलले बताउनुभयो । यहाँका खेर गइरहेका जग्गालाई सदुपयोग गरेर यसको व्यावसायिक खेती गरे स्थानीयको आर्थिकस्तरमा सुधार ल्याउन टेवा पुग्ने देखिन्छ । वन लसुन आमचोक गाउँपालिकाको थिदिङ्खा, भोजपुर नगरपालिकाको दाँवा, बोखिम, आम्तेक, पौवादुङमा गाउँपालिकाको श्यामशिला, तिवारी भञ्याङलगायत जिल्लाका विभिन्न ठाउँमा प्रशस्त मात्रामा पाइन्छ । खेतबारीमा उम्रिएर धान, मकै, कोदोलगायत बालीलाई ढाकेर दुःख दिने भएकाले किसानले उखेलेर नष्ट गर्दै आएका छन् । ‘‘यो बिक्री हुन्छ भन्ने पहिला हामीलाई थाहा थिएन । हाम्रो ध्यान यसलाई कसरी नष्ट गरेर अन्य बालीलाई जोगाउने भन्नेमा जान्थ्यो । बिक्री हुने थाहा भएपछि अहिले सङ्कलन गरेर सुकाएर बेच्न थालेका छौँ’’ टेम्केमैयुङ–१ तिम्माका कृषक डम्बरबहादुर विष्टले भन्नुभयो,‘‘सङ्कलन भएको लसुन किन्न ठेकेदारहरु घरमा नै आउँछन् । यसलाई केलाएर सुकाउन चाहिँ अलि झन्झटिलो छ ।’’ देशभरबाट सङ्कलन भएको यो लसुन डाबर नेपालमार्फत अन्य देशमा निर्यात हुने गरेको काठमाडौँमा व्यवसाय गर्दै आउनु भएका पुष्पराज खड्काले बताउनुभयो । प्रशोधन गरेर राम्रो खालको चेवनप्रासमा र त्यसबाट बाँकी रहेको वस्तु साबुनसँगै अन्य धेरै वस्तुहरुको उत्पादनमा प्रयोग हुने खड्काले जानकारी दिनुभयो । यो लसुन समुन्द्री सतहबाट ८०० मिटरदेखि दुई हजार मिटरसम्मको उचाइमा प्रशस्त मात्रामा पाइने डिभिजन वन कार्यालयले जनाएको छ । स्थानीयवासीको आयस्रोतमा वृद्धि गर्नको लागि आगामी दिनमा यसको खेतीलाई प्रोत्साहन गर्ने योजना रहेको डिभिजन वन कार्यालय भोजपुरका प्रमुख उदिमप्रसाद राईले बताउनुभयो । उहाँले भन्नुभयो,‘‘ यहाँ धेरै वन लसुन उत्पादन हुने सम्भावना रहेकाले कृषकलाई यसतर्फ आकर्षित गर्न सकिएमा राम्रो आम्दानी गर्न सकिने भएकाले योजनावद्ध रुपमा काम गर्ने तयारीमा छौँ ।’’ रामप्रसाद राई गाउँपालिका—१ ओख्रेका एक सय बढी कृषकले यसलाई आमदानीको भरपर्दो स्रोत बनाउन थालेका छन् । एक कृषकले २०० देखि ४०० केजीसम्म विक्री गर्दै आएको स्थानीय कृषक डिबी राईले जानकारी दिनुभयो । राम्रो ढङ्गले सङ्कलन गर्न सके यसबाट मकै, आलुभन्दा राम्रो आम्दानी लिन सकिने कृषक राईको भनाइ छ । किसानले यसलाई फुलेको समयभन्दा पनि फूल झरिसकेपछि सङ्कलन गर्ने गर्दछन् । फूल फुलेको समयमा सङ्कलन गर्दा यसको तौल कम हुने कृषकको भनाइ छ । उचित समय पारेर सङ्कलन गरेमा एउटा गानो २५ ग्रामसम्मको हुने उनीहरुको भनाइ छ । के हो वन लसुन : नेपालको रैथाने विरुवा वन लसुनको वैज्ञानिक नाम लिलियम एसपिपी हो । यसको बोट सामान्यतः एकदेखि दुई फुटसम्म अग्लो हुन्छ । यसलाई एक प्रकारको फूलको रुपमा पनि लिन सकिन्छ । चिल्ला पातको छेउबाट सुन्दर फूलहरू फुलेको हुन्छ । तापक्रम र उचाइको आधारमा यसका फूलहरु सेतो, सुनौलो, हल्का पहेंलो फूलेको देखिन्छ भने यसको फूलमा छ वटा पुङ्केशर हुन्छ । यो बिरुवा वनस्पति जगतको लिली परिवारभित्र समावेश छ । यसको गानोमा लाग्ने पोटीहरू छाती दुख्दा खाने गरिन्छ भने यसलाई शक्तिबद्र्धक जडीबुटीको रुपमा पनि लिने गरिन्छ । शरीरमा तागत कम भएमा यसलाई खान सकिने स्थानीय जानकारहरुको भनाइ छ । वन लसुन घाउ, चोटपटक तथा शल्यक्रियाका बिरामीलाई औषधिको रुपमा प्रयोग हुने बताइएको छ । यसलाई कतिपय स्थानीयवासीले सजावटको लागि फूलबारीमासमेत रोप्ने गरेका छन् भने कतिपय कृषकले यसलाई मिचाहा प्रकृतिको वनस्पति रुपमा लिने गर्दछन् । भोजपुरलाई वन लसुनसँगै अन्य जडीबुटी उत्पादनको हिसाबले उर्बर जिल्ला मानिन्छ । यहाँ सतुवा, सेतक चिनी, शक्ति गुम्बा, पदमचाल, वन मूला, वन लसुन, टिमुर, किम्बु, भुत्केस, बुढो ओखती, लोठसल्ला, चिराइतो विखुम्बालगायत जडीबुटी पाइन्छ ।
काठमाण्डौं: काठमाण्डौंको सार्वजनिक क्षेत्रमा साइकल चलाउने २ जनालाई उपत्यका ट्राफिक प्रहरी कार्यालयले आवश्यक कारवाही गरेको छ । उक्त स्थानमा साइकल चलाउँदा बाधा–अवरोध भएको जनगुनासो आएपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । प्रहरीले आइन्दा पैदलयात्री एवं सार्वजनिकस्थलमा सर्वसाधारणलाई कुनैपनि अवरोध नगर्न र ट्राफिक नियमसम्बन्धी जानकारीसहित आवश्यक कारवाही गरेको बताएको छ । उपत्यका ट्राफिकले दिएको जानकारी अनुसार उनीहरुलाई केही समय नियमित सम्पर्कमा रहनसमेत निर्देशन दिइएको छ । प्रहरीको फेसबुक पेज र ट्विटरमा केही दिनदेखि जनगुनासो आइरहेपछि नियन्त्रणमा लिइएको थियो । पशुपति क्षेत्रमा साइकल चलाउँदा एक पैदलयात्रीलाई सामान्यरुपमा छोइएपछि उनले भिडियोमार्फत प्रहरीलाई जानकारी दिएका थिए । ट्राफिक प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक संजीव शर्मा दासका अनुसार सामाजिक सञ्जालमा ट्राफिक प्रहरीमाथि अनावश्यक निन्दा भएपछि उनीहरुलाई बोलाएर सम्झाई बुझाई गरिएको छ । नेपालमा साइकल, रिक्सा, ठेलागाडासम्बन्धी नीति नियम नभएकाले बेलामौका यस्ता सामान्य घटना हुने गरेको दासले जनाए । ‘साइकल वातावरणमैत्री सवारी साधन हो, यसकाले मानव स्वास्थ्यलाई समेत हित गर्छ, तर सामान्य हेक्का राखिदिन आग्रह गर्दछु’ दासले भने
मन्दाकिनी हाइड्रोपावर लिमिटेडले आयोजनाबाट असर पर्नसक्ने स्थानीय बासिन्दाका लागि साधारण शेयर निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि प्रतिकित्ता रु १०० अङ्कित दरमा रु पाँच करोड ८८ लाख तीन हजार ७०० मूल्य बराबरको पाँच लाख ८८ हजार ३७ कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) को बिक्री खुला गरेको हो । आयोजना प्रभावित कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका–२, ३, ४ र ६ वडाका स्थानीय बासिन्दाले यही असार १५ गतेसम्म र सो अवधिमा मागबमोजिम आवेदन नपरे असार ३० सम्म न्यूनतम १० कित्तादेखि अधिकतम एक लाख कित्ता शेयर खरिदका लागि आवेदन दिन पाउने कम्पनीले सार्वजनिक गरेको आह्वान पत्रमा उल्लेख छ । कम्पनीले कास्कीको माछापुच्छ्रे गाउँपालिका–२ मा पर्ने सार्दीखोलामा चार मेगावाट क्षमताको सार्दीखोला जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट आस्वा प्रणालीमार्फत शेयर खरिदका लागि आवेदन दिन सक्नेछन् । साथै, एनएमबी बैंकको हेम्जा शाखा, प्राइम कमर्सियल बैंकको लामाचौर शाखा र पोखरा फाइनान्सको लाहाचोकस्थित कार्यालयका साथै कम्पनीको रजिष्ट्रार कार्यालय काठमाडौँबाट समेत आवेदन दिन सकिने कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक बिओके क्यापिटल मार्केट लिमिटेडले जनाएको छ । कम्पनीलाई केयर रेटिङ नेपालले ‘केयर एपी बिबी प्लस आइएस’ ग्रेडिङ प्रदान गरेको छ ।
काठमाण्डौँ : आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि प्रतिकित्ता रु एक सय अङ्कित मूल्यमा रु ६७ लाख मूल्य बराबरको ६७ हजार कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ)को बिक्री खुला गरेको हो । कम्पनीले निष्कासन गरेको साधारण शेयरमा कूल जारी पूँजी (दुई लाख सात हजार कित्ता)को । ०.५ प्रतिशत अर्थात् एक हजार ३५ कित्ता शेयर कर्मचारीलाई र निष्कासित शेयरको पाँच प्रतिशत अर्थात् तीन हजार ३५० कित्ता सामूहिक लगानी कोषलाई सुरक्षित गरी बाँकी ६२ हजार ६५१ कित्ता शेयर खरिदका लागि सर्वसाधारणले आवेदन दिन पाउने कम्पनीले जारी गरेको आह्वान पत्रमा उल्लेख छ । सर्वसाधारणले असार ६ गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम एक हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् भने सो अवधिसम्म मागबमोजिम आवेदन नआए असार १५ गतेसम्म निष्कासन खुला रहने कम्पनीले जनाएको छ । नेपाल धितोपत्र बोर्डबाट सिआस्वा सुविधा प्रदान गर्न अनुमति पाएका बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयका साथै अनलाइनमार्फत ‘मेरोशेयर’ प्रयोग गरेर पनि सर्वसाधारणले शेयर खरिदका लागि आवेदन दिन सकिने कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक बिओके क्यापिटल मार्केट लिमिटेडले जनाएको छ । धितोपत्रको सार्वजनिक निष्कासन गर्दा क्रेडिट रेटिङ गर्नुपर्ने व्यवस्थाअनुसार रेटिङ गर्दा केयर रेटिङ नेपालले कम्पनीलाई ‘केयरएनपी बी प्लस आइएस’ ग्रेडिङ प्रदान गरेको छ ।
काठमाण्डौँ : सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ६०० ले घटेर रु ९६ हजार ५०० मा आएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९७ हजार १०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९६ हजार छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९६ हजार ६०० थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला रु एक हजार २४५ कायम रहेको महासङ्घले जनाएको छ ।
वागलुङ् : माछा मार्ने क्रममा करेन्ट लागेर बडिगाड गाउँपालिका–२ का छबिलाल बलामीको मृत्यु भएको छ । स्थानीय बडिगाड खोलामा गए राति करेन्ट लगाएर माछा मार्न खोज्दा ३२ वर्षीय बलामीको मृत्यु भएको बडिगाड–२ का वडाध्यक्ष ढालप्रसाद शेरचनले जानकारी दिनुभयो । बलामीको शवलाई अहिले परीक्षणका लागि बुर्तिबाङस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा पुर्याइएको वडाध्यक्ष शेरचनले बताउनुभयो । विद्युतीय शक्ति (करेन्ट) लगाएर माछा मार्न नपाइने भए पनि बेलाबेलामा यस्ता गतिविधि हुने गरेका छन् । यसरी माछा मार्ने क्रममा करेन्ट लागेर धेरैले ज्यान गुमाएका छन् ।
रुकुमपूर्व : रुकुमपूर्वमा भूम्या पर्वको रौनक छाएको छ । प्राकृतिक विपत्तिबाट बच्ने विश्वासका साथ प्रकृतिको पूजा गरी मनाइने यो पर्व मगर समुदायको ठूलो पर्व हो । भूमेपर्व (बल पूजा)को उपलक्ष्यमा भुमे गाउँपालिकाले जेठ ३१ र आज सार्वजनिक बिदा दिएको छ । यो बिदा स्थानीय तह स्थापना भएदेखि नै गाउँपालिकाले दिँदै आएको छ । असार १ गते भने लुम्बिनी प्रदेश सरकारले नै रुकुमपूर्व र रोल्पामा सार्वजनिक बिदा दिएको छ । आज रुकुमपूर्व र रोल्पामा भूम्या पर्वकै अवसरमा सार्वजनिक बिदा छ । रुकुमपूर्वमा मङ्गलबार बिहानै भूम्या पर्व मनाउने युवायुवती सबै फूल टिप्न लेक उक्लिएका थिए भने साँझको समयमा उनीहरु फूल टिपेर लेकबाट ओर्लिएका छन् । पुजारी र दमाहाका साथ फूल लिन जाने चलनलाई ‘मुरुला’ लिन जाने भनिन्छ । भूमे पूजाअगावै मारिङ, फूलबारीलगायतका लेकमा फूल टिप्न गएको भूमे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रसिंह श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार मङ्गलबार बिहानै लेकमा भूमि देवतालाई धारधुप गरेर फूल टिप्न आरम्भ गरेसँगै भूम्या सुरु भएको बुभिन्छ । भूमे–२ काँक्रीका मदन रोकाका अनुसार अर्नीपानी सगुन बोकेर लेक जानेले ल्याएको रङ्गीविरङ्गी फूल सबैलाई शिरमा लगाइदिएर अग्रजको आशीर्वाद थाप्ने गरिन्छ । फूल लेकाली देवताको सगुनको रूपमा टिप्ने र ग्रहण गर्ने गरिन्छ । पुजारी गाउँलेले खटाएको हुन्छ । पुजारीले लेकमा धजा, धारधुप तथा अक्षतासहित भूमि देवतासँग गाउँमा राम्रो होस् भनी बाचा कबुल गरेर लेकबाट नै शिरमा रङ्गीविरङ्गी फूल तथा मगर पोशाकमा लहरै लागेर नाच्दै गाउँ झर्छन् । पुजारीले पशुको बलि दिँदा गाउँमा महिलाले ध्वाँसो, खरानी, दशैँमा ढोकामा राखिएको टीका–जमराजस्ता घर लिपपोत गरेर निस्किएको फोहरलाई घर बाहिर फाल्दछन् । त्यसैलाई नै बल हाल्नेसमेत भन्ने गरिन्छ । बल हाल्दा वर्षभरिको ग्रहदशा र विपत्ति भूम्याले लैजाने जनविश्वास छ । पर्वमा पूजासँगै २२ चालमा नाच नाच्ने गरिन्छ । स्थानीय भाषामा यस पर्वलाई ‘नोगोबाङ्गे’ पनि भनिन्छ । आफू बसेको ठाउँको भूमि र भूमि देवताको पूजा गरेर मातृभूमिप्रति श्रद्धा र आदर प्रकट गर्नका लागि यो पर्व मनाइने गरेको स्थानीयवासी शिखर विश्वकर्माले बताउनुभयो । यो पर्व मनाएपछि दैवी विपत्तिबाट जोगिने जनविश्वास छ । विगतमा मगरले मात्रै मनाउने यो पर्व अहिले अन्य जातिले समेत मनाउन थालेका छन् । मगर राज्य रहेको समयमा वर्षभरिको नियम, कानुन बनाउने तथा त्यसका लागि प्रतिनिधि चयन गर्ने दिनका रूपमा समेत यो पर्वलाई लिने गरिन्छ । सोही पर्वमा जनताको सङ्ख्याको लगत राख्नेजस्ता कामसमेत गरिन्थ्यो । मगर बहुल क्षेत्रमा विशेष पर्वका रूपमा मनाइने यस पर्व रुकुमपूर्वको भूमे गाउँपालिकामा मनाइन्छ । पुथाउत्तरगङ्गा र सिस्ने गाउँपालिकाको विभिन्न क्षेत्रमा पनि यो पर्व मनाइने गरेको पाइन्छ । भूम्या अवसरमा सांस्कृतिक महोत्सव रुकुमपूर्वको भूमे गाउँपालिकामा भूम्या पर्वको अवसरमा सांस्कृतिक महोत्सव हुने भएको छ । पर्वको अवसर पारी ‘हाम्रो भूमे हाम्रो पहिचान, स्थानीय भाषा, कला संस्कृतिलाई जगेर्ना गर्ने हाम्रो अभियान’ मूल नाराका साथ पर्वको अवसरमा सांस्कृतिक महोत्सव हुने भएको हो । महोत्सवमा सांस्कृतिक प्रतियोगिता पनि हुने गाउँपालिकाले जनाएको छ । महोत्सवमा भूम्या नाच, ढोङ्गे अर्थात् नचारु नाच, मयुर नाच, पैसेरु नाच, फाँक र झोरेली नाच प्रतियोगिता सञ्चालन गरिने भएको छ । भूम्या नाचमा प्रथम स्थान हासिल गर्नेलाई रु एक लाख, दोस्रोलाई रु ७५ हजार, तृतीयलाई रु ५० हजार र सान्तवना स्थान हासिल गर्नेलाई रु २० हजार पुरस्कार प्रदान गरिने छ । यसैगरी ढोङ्गे अर्थात नचारु नाचमा प्रथम हुनेलाई रु ७५ हजार, दोस्रोलाई रु ५० हजार, तेस्रोलाई रु ३० हजार र सान्तवना स्थान हासिल गर्नेलाई रु १५ हजार पुरस्कार प्रदान गरिने छ । यसैगरी मयुर नाच, पैसेरु नाच, फाँक नाच र झोरेली नाचमा प्रथम, दोस्रो, तेस्रो र सान्तवना स्थान हासिल गर्नेलाई समेत पुरस्कार प्रदान गरिने गाउँपालिकाले जनाएको छ ।
तनहुँ : मङ्गलबार राति परेको वर्षाका कारण चुँदीखोलामा बाढी आउँदा तनहुँको भानु नगरपालिका–२ र ५ जोड्ने बाङ्गेरहको पुलमा क्षति पुगेको छ । चुँदीखोलामा आएको बाढीले पुलको दुवैतर्फको भाग बगाएको हो । बाढीले पुलमा क्षति पुर्याएपछि चारपाङ्ग्रे सवारीसाधन यातायात सेवा अवरुद्ध भएको स्थानीयवासी राजेश कार्कीले जानकारी दिनुभयो । बाढीबाट पुलमा क्षति पुगेपछि भानु नगरपालिका–५, ६, ७, १०, १२ र १३ का सर्वसाधारणलाई आवतजावतमा समस्या भएको छ । उक्त पुलको पर्खाल मर्मतका लागि नगरप्रमुख आनन्दराज त्रिपाठीको ध्यानाकर्षण गराइएको छ । गत जेठ २२ गते पनि बाढीले पुलको केही भागमा क्षति र्पुयाएको थियो । नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयवासीको सहयोगमा पुल मर्मत गरिएको थियो ।
काठमाडौँ: भूकम्पले भत्किएपछि चीन सरकारको सहयोगमा भव्य भवन बनेको दरबार हाइस्कुल अर्थात् भानु माध्यमिक विद्यालयको शैक्षिक गुणस्तर भने नसुध्रिएको अभिभावकको गुनासो छ । गत शैक्षिकसत्रमा ५० प्रतिशत विद्यार्थी पनि उत्तीर्ण नभएको अभिभावकले बताए । नेपालको आधुनिक शैक्षिक इतिहासमा महत्वपूर्ण स्थान बनाएकाले संस्थागत विद्यालयबाट भानुमा छोरा भर्ना गर्नुभएकी दुर्गा गिरी दुई वर्षसम्म एउटै कक्षामा पढाउनुपर्दा दुःखी हुनुहुन्छ । “गत वर्ष दुवै छोरालाई दरबार हाइस्कुलमा भर्ना गरेँ, कान्छो छोरो कक्षा ७ बाट ८ मा गयो, ९ मा भर्ना गरेको छोरो उत्तीर्ण भएन, विद्यालयको नाम दरबार, पढाइ राम्रो भएन”, उहाँले भन्नुभयो । दोलखाबाट राजधानी आएर दरबार हाइस्कुलमा दुवै छोरा पढाइरहनुभएकी सुजना न्यौपानेको अनुभव पनि गिरीको भन्दा फरक छैन । उहाँका छोराहरू कक्षा सात र एकमा अध्ययनरत छन् । विद्यालयका निमित्त प्रधानाध्यापक शारदाकुमारी पौडेल कोरोनाका कारण अनलाइन कक्षा हुँदा धेरै विद्यार्थी जुम प्रविधिमा जोडिन नसकेका कारण गत शैक्षिकसत्रमा राम्रो परिणाम आउन नसकेको स्वीकार गर्नुहुन्छ । “परिणाम राम्रो नहुनुमा विद्यालय मात्र जिम्मेवार छैन, कोरोनाको समयमा विद्यालय खोल्न नसक्नु, विद्यार्थी प्रविधिमा जोडिएर शिक्षण सिकाइ क्रियाकलापमा सहभागी हुन नसक्नुलगायत कारणले सोचेजस्तो परिणाम आउन सकेन”, उहाँले भन्नुभयो । सङ्घीय कानुनमा विद्यालय व्यवस्थापन समितिको अध्यक्ष हुन अभिभावक नै हुनुपर्ने व्यवस्था छ । तर स्थानीय सरकारले बनाएको कानुनमा भने अभिभावकसँगै शिक्षाविद् र स्थानीय समाजसेवी पनि विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बन्न सक्ने प्रावधान राखिएको छ । यही व्यवस्थाका कारण छोराछोरी संस्थागत विद्यालयमा पढाउने अभिभावक पनि विद्यालय व्यवस्थापन समितिको पदाधिकारी बन्ने गरेका छन् । अहिले भानु माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्ष रहनुभएका गोपाल महर्जनका बालबालिका पनि यहाँ अध्ययन गर्दैनन् । महर्जन स्थानीय समाजसेवीका रूपमा विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बन्नुभएको हो । सङ्घीय कानुनमा अभिभावक नै व्यवस्थापन समितिको अध्यक्ष हुने व्यवस्था भएका बेला पनि यहाँ भने बाहिरबाटै अध्यक्ष बनाउने गरिएको विद्यालयका शिक्षक र अभिभावकको आरोप छ । यसअघि व्यवस्थापन समिति गठन हुँदा शिक्षकहरूले अभिभावकलाई नै अध्यक्ष बनाउने प्रस्ताव गरेका थिए । काठमाडौँ महानगरपालिका शिक्षा शाखाका कर्मचारी र जिल्ला शिक्षा समन्वय एकाइबाट खटिइआएका कर्मचारीले भने स्थानीय सरकारले बनाएको कानुन देखाएर शिक्षाविद् वा समाजसेवीमध्येबाट पनि बनाउन सकिने सुझाव दिएपछि महर्जन अध्यक्ष हुनुभएको हो । विद्यालयका शिक्षक पदमबहादुर बटाला वरिष्ठ शिक्षक अखिलेशप्रसाद आजादले प्रधानाध्यापक पदबाट राजीनामा दिएपछि शैक्षिक, प्रशासनिक र आर्थिक काम गर्ने गरी तेस्रो नम्बर वरियताकी शिक्षिका पौडेललाई निमित्त दिएको बताउनुहुन्छ । निमित्त दिएको लामो सयमसम्म पनि उहाँलाई प्रधानाध्यापक बनाउने वा अर्कोलाई दिने भन्ने निर्णय नहुँदा केही समस्या आएको उहाँले स्वीकार गर्नुभयो । बटाला शिक्षक नियुक्त भएर आउँदा २०७० सालमा करिब ७० मात्र विद्यार्थी थिए । त्यसबेला औँलामा गन्न सकिने विद्यार्थीमात्र उत्तीर्ण हुने गरेको उहाँको स्मरणमा अझै ताजा छ । त्यसबेलाको भन्दा अहिले ५० प्रतिशत विद्यार्थी उत्तीर्ण हुँदा पनि गुणस्तर सुध्रिएको मान्नुपर्ने उहाँको तर्क छ । करिब ५०० विद्यार्थी रहेको विद्यालयमा अहिले भर्ना गर्न आउने क्रम जारी छ । तर कक्षामा स्थान अभावका कारण विद्यालयले भर्ना लिन सकेको छैन । एउटा कक्षामा करिब ४० विद्यार्थीमात्र अटाउँछन् । अर्को सेक्सन बनाउनसमेत स्थान अभाव भएपछि भर्ना हुन आउने विद्यार्थीलाई फर्काउनुपरेको अध्यक्ष महर्जनले बताउनुभयो । काठमाडौँ महानगरपालिका वडा नं २७ का अध्यक्ष योगेशकुमार खड्गी आफू निर्वाचित भएलगत्तै विद्यालयको कमजोर गुणस्तरका बारेमा धेरै गुनासा आएको बताउनुहुन्छ । विद्यालय व्यवस्थापन समितिमा पदेन सदस्य भए पनि आफू निर्वाचित भएपछि बैठकका लागि कुनै जानकारी नआएको उहाँले सुनाउनुभयो । “विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि वडा कार्यालयले आफैँ केही गर्न सक्छ कि सक्दैन भन्ने विषयमा मैले कानुनी पक्षको अध्ययन गरिरहेको छु, वडाले केही गर्न नसक्ने अवस्था भएमा महानगरपालिकाको शिक्षा शाखालाई अनुरोध गरेर सुधारका कामको थालनी गछौँ”, उहाँले भन्नुभयो ।