पोखरा:   गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले आफ्नो ७९ औं जन्मदिन ज्येष्ठ नागरिकलाई सम्मान गरेर मनाउनुभएको छ ।   पोखरा १७ सीतापाइला स्थित पोखरा वृद्धाश्रममा शनिबार बिहान पुगेर प्रदे...

मोरङ :      विपद् व्यवस्थापनमा जोखिम उठाएर भए पनि प्रतिकार्य गर्न मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले निर्देशन दिनुभएको छ । जिल्लामा आज विपद् व्यवस्थापनसम्बन्धी  छफलमा उहाँले सो निर्देशन दिनुभएको हो ।       विगतको अभ्यासबाट पाठ सिकेर अब सुरु हुने मनसुन र त्यसबाट हुन सक्ने जोखिमलाई नियन्त्रण एवं न्यूनीकरण गर्न सम्बन्धित कार्यालयले समयमै काम गर्नुपर्ने कुरामा जोड दिँदै प्रजिअ दाहालले अहिले सुक्खा मौसममा काम नगर्ने र बाढी आएपछि अनेक बहाना देखाउने काम नगर्न स्पष्ट पार्नुभयो ।      आफ्नो जिम्मेवारीको काम नगरेर जनतालाई दुःख दिने काम राष्ट्रसेवक कर्मचारीबाट सुहाउँदो नहुने धारणा राख्दै प्रजिअ दाहालले जिल्लामा तत्काल देखिएका समस्यामा गम्भीर हुन सम्बन्धित निकायलाई सचते गर्नुभयो ।      सहायक प्रमुख जिल्ला अधिकारी महेशराज तिमिल्सिनाले जिल्ला विपद् कोषबाट चालु आर्थिक वर्षमा रु ३९ लाख ७५ हजार खर्च भए पनि अहिले रु एक करोड २२ लाख ९६ हजार मौज्दात रहेको जानकारी दिनुभयो । गत वर्ष आएको बाढीले रु ५६ करोड ८७ लाख बराबरको किसानको बालीमा क्षति पुगेको उहाँले उल्लेख गर्नुभयो ।      मोरङको पहाडी क्षेत्रमा पहिरो तथा तराईमा डुबान एवं कटानको समस्या रहेको अवस्थामा जनधनको क्षति हुन नदिन तथा त्यस्तो भएमा राहत सङ्कलन र वितरणमा ध्यान दिन स्थानीय तहका प्रमुखलाई बैठकमा आग्रह गरिएको छ । कार्यक्रममा जिल्लाका १७ वटै पालिकाका प्रमुख, उपप्रमुख, प्रहरी प्रमुख, सरोकारवाला कार्यालयका प्रमुखलगायत सहभागी थिए ।

काठमाण्डौँ :      राजस्व अनुसन्धान विभागले पछिल्लो आठ महिनाको अवधिमा राजस्व चुहावट र विदेशी विनिमय अपचलनमा २८१ जनाविरुद्ध ११३ मुद्दा दर्ता गरेको छ ।      उनीहरुमाथि जरिवानासहित रु २१ अर्ब ७१ करोड बिगो कायम गरी मुद्दा चलाइएको विभागले जानकारी दिएको छ । राजस्व चुहावटतर्फ मात्रै जरिवानासहित रु २० अर्ब ६१ करोड ३० लाख ८६ हजार बिगो कायम गरी २०३ जनाविरुद्ध राजस्व चुहावटमा ६९ मुद्दा दर्ता भएको छ । जसमा सात राष्ट्रसेवक कर्मचारीसमेत छन् ।     यस्तै विदेशी विनिमय अपचलनतर्फ रु एक अर्ब १० करोड २१ लाख बराबरको बिगो कायम गरी ७८ जनाविरुद्ध ४६ मुद्दा दर्ता गरिएको छ । विभागले सर्वसाधारणको नागरिकता र आर्थिक अवस्थाको फाइदा उठाइ कारोबार गर्ने र वास्तविक कारोबारी पर्दा पछाडि रहनसक्नेतर्फ सचेत हुँदै त्यस्ता  कारोबारबाट प्रयोग भएका कम्युटर र मोबाइलमा रहेका विवरणलाई डिजिटल फरेन्सिक ल्याबसमेतको सहयोगमा अनुसन्धानमार्फत वास्तविक धनीको पहिचान गर्ने पद्धतिको विकास गर्दै लगिएको सूचनामार्फत जनाएको छ ।      विभागमाथि राजस्व चुहावटका विविध क्षेत्रमा  संलग्न व्यवसाय, फार्म र व्यक्तिका कारोबारस्थलमा अनुगमन बढाउने, कारोबारस्थलबाट कागजात नियन्त्रणमा लिने अनुसन्धान गर्ने र कानुनले तोकेको सीमाभित्र रही अभियोजन गर्ने वा कर निर्धारणका साथै सरोकारवाला निकायमा लेखी पठाउने जिम्मेवारी छ ।       चालु अर्थिक वर्षमा बहुर्राष्ट्रिय कम्पनीले कारोबार गरेको पुँजीगत लाभकर छली, नक्कली अन्तःशुल्क स्टिकरको प्रयोग, क्रिप्टोकरेन्सीजस्ता जटिल तथा केही नयाँ विषयमा समेत अभियोजन र अनुसन्धान केन्द्रित गरेको विभागले जानकारी दिएको छ । यस्तै महालेखा परीक्षकका विभिन्न वर्षका वार्षिक प्रतिवेदनमा उल्लेख भएका कर छलीका कतिपय गम्भीर विषयमा पनि विभागले अनुसन्धानलाई निरन्तरता दिएको छ ।      पछिल्लो समयमा भएको कडाइका कारण चिनी, लत्ताकपडा, मदिरा र विद्युतीय सामानको चोरी पैठारी बढ्न सक्ने र नियमित भन्सार बिन्दु प्रयोग नगरी एकै पटक गोदाममा स्रोत नखुलेका वस्तुको भण्डारण र कारोबारको सूचनाका आधारमा व्यवसायीलाई थुनामा राखी अनुसन्धान र अभियोजनलाई समेत तीव्रता दिएको विभागले जनाएको छ । कानुन

काठमाण्डौँ :        देशभर पछिल्लो २४ घण्टामा थप १२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।       पछिल्लो २४ घण्टामा दुई हजार ३४१ को नमूना परीक्षण गरिएको थियो । एक हजार ४७३ जनाको पिसिआर र ८६८ जनाको एन्टीजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।        सो अवधिमा १६ जना कोरोना भाइरसबाट मुक्त भएका छन् । यससँगै सङ्क्रमण मुक्त हुनेको सङ्ख्या नौ लाख ६७ हजार २३३ पुगेको छ । सङ्क्रमणमुक्त हुने दर ९८ दशमलव आठ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।       पछिल्लो २४ घण्टामा तीन लाख ८५ हजार ९०६ जनाले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या ९३ जना रहेको छ । अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९५२ पुगेको छ । होम आइसोलेसनमा ९२ र संस्थागत आइसोलेसनमा एक सङ्क्रमित छन् ।       हाल देशभरमा २०० भन्दा बढी सक्रिय सङ्क्रमित भएका जिल्ला कुनै पनि छैनन् । शून्य सङ्क्रमित रहेका जिल्लामा ओखलढुङ्गा, सोलुखुम्बु, सङ्खुवासभा, धनकुटा, भोजपुर, इलाम, तेह्रथुम, ताप्लेजुङ, पर्सा, सप्तरी, बारा, दोलखा,  सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, धादिङ, नुवाकोट, मकवानपुर, चितवान, मनाङ, मुस्ताङ, म्याग्दी, रुकुम पूर्व, कपिलवस्तु, जाजरकोट, जुम्ला, डोल्पा, हुम्ला, रुकुम पश्चिम, कालीकोट, बाजुरा, दार्चुला, बझाङ, डडेल्धुरा र कञ्चनपुर छन् ।       उपत्यकाका तीन जिल्लामध्ये हाल काठमाडौँमा १८ तथा ललितपुरमा र भक्तपुरमा चार/चार सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ । सङ्क्रमण दर १७ दशमलव एक प्रतिशत छ । 

काठमाण्डौँ :    धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक डेढ वर्ष पहिलेको अवस्थामा आइपुगेको छ । मङ्गलबार भएको कारोबारपछि नेप्से परिसूचक न्यून बिन्दुमा ओर्लेको हो ।      नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३६.०८ अङ्कले ओरालो लागेर एक हजार ९९६.२५ मा ओर्लिएको छ । यस्तै, ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ६.४८ अङ्कले ओरालो लागेर ३८३.५१ मा ओर्लिएको छ । कूल २३२ कम्पनीको ४१ लाख ४७ हजार २५५ कित्ता शेयर रु एक अर्ब १८ करोड ५५ लाख ४६ हजार १७९ मूल्यमा खरिद बिक्री भए ।     नेप्सेका अनुसार कारोबार भएका १३ वटा उपसमूहको नै शेयर मूल्यमा गिरावट भएको छ । नेप्सेका अनुसार बैंकिङ १२.४६, व्यापार ५२.९९, होटल तथा पर्यटन ४६.६३, विकास बैंक ७६.८२, जलविद्युत् ६६.३८, वित्त ३१.४६, निर्जीवन बीमा २४२.७३, उत्पादन ६७.६३, अन्य ५१.८१, लघुवित्त ७७.२, जीवन बीमा १८६.८८, सामूहिक लगानी कोष ०.१४ र लगानी १.०८ अङ्कले ओरालो लागेको छ ।      नेप्सेका अनुसार कारोबारका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा छ । सो कम्पनीको रु चार करोड ६७ लाख १८ हजार १९३ बराबरको कारोबार भयो । एनसिसी बैंक रु तीन करोड ७९ लाख ७७ हजार ११४, नेपाल लाइफ इन्स्योरेन्स रु तीन करोड ३३ लाख ५९ हजार ३३८, नबिल बैंक रु तीन करोड २० लाख १३ हजार र उपकार लघुवित्त रु दुई करोड ८७ लाख ६० हजार १९८ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।      नेप्सेका अनुसार, आधिखोला लघुवित्त ८.१८, एनएमबी (५०)४ .१०, माउण्टेन हाइड्रो नेपाल ३.७२, युनिलिभर नेपाल १.९९ र लक्ष्मी उन्नति कोषका लगानीकर्ताले १.९२ प्रतिशतले कमाए ।       त्यस्तै, हिमालयन पावर पार्टनर ९.९९, बलेफी हाइड्रोपावर ८.१५, सगरमाथा इन्स्योरेन्स ६.५१, ग्रीन भेञ्चर्स लिमिटेड ६.२४ र गणपति लघुवित्तका लगानीकर्ताले ६.२४ प्रतिशतले गुमाए । 

काठमाण्डौँ :      सरकारले कृषि क्षेत्र नतोकिकन घर जग्गाका लागि जग्गाको कित्ताकाट गर्न नपाउने व्यवस्था गरेको छ । घर जग्गाको नाममा कृषि क्षेत्र क्रमशः घट्दै गइरहेको बेला सरकारले खेतीयोग्य जग्गा वा गैरकृषि क्षेत्र निर्धारण गर्ने प्रयोजनका लागि स्थानीय भूउपयोग परिषद्ले भूउपयोग ऐन, २०७६ र भूउपयोग नियमावली, २०७९ ले तोकेको मापदण्ड अनुसार कृषि क्षेत्र र गैरकृषि क्षेत्र वर्गीकरण गर्नुपर्ने निर्णय गरेको छ ।    भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले यही जेठ २७ गते मन्त्रिस्तरीय निर्णय गरेर कृषि क्षेत्र निर्धारण नभएका कुनै पनि जग्गाको कित्ताकाट गर्न नपाउने व्यवस्था गरिएको छ । मन्त्रालयले मातहतका मालपोत र नापी कार्यालयलाई त्यस्तो निर्णय कार्यान्वयनका लागि पठाएको छ ।    बैंक, वित्तीय संस्था वा सहकारी संस्थामा धितो बन्धक राख्दा खेतीयोग्य वा गैर खेतीयोग्य क्षेत्रको वर्गीकरण गरेर मात्रै लिखत पारित गर्नुपर्ने व्यवस्था गरिएको छ । त्यस्तो निर्णय भएसँगै अब कृषियोग्य भूमिको धितो राखेर बैंक तथा वित्तीय संस्थाबाट ऋण नपाइने भएको छ ।    कुनै व्यक्ति, फर्म कम्पनी वा संस्थाले जुनसुकै प्रकारका लिखतबाट जग्गाको खण्डीकरण गरी हक हस्तान्तरण गर्ने गरी लिखत पास गर्न आएका स्थानीय भूउपयोग परिषद्ले गरेबमोजिम स्थानीय तहबाट सिफारिश भई आएमा खेतीयोग्य जग्गा भए भूउपयोग नियमावली अनुसार गर्नुपर्नेछ ।    गैर कृषि क्षेत्रको भए नियमावलीको अर्को प्रबन्ध अनुसारको क्षेत्रफल भन्दा कम नहुने गरी कित्ताकाट गर्नुपर्नेछ । मन्त्रालयका अनुसार पुनः नापीको क्रममा कुनै जग्गा ब्लकमा नापजाँच भई हाल साविक दर्ता गर्दा कित्ता छुट्याउनुपर्ने भएमा साविक प्रमाण बमोजिम कित्ताकाट हुनेछ । तर, साविकको एक कित्ता हाल साविक गर्दा हाल कायम रहेको बाटो, कुलोलगायतले सिमाना छुट्याइएको अवस्थामा बाहेक एउटा ब्लकबाट कित्ताकाट हुँदा एकभन्दा बढी कित्ता कायम हुने गरी हाल साविक गर्न पाइने छैन ।    भूउपयोग नियमावली, २०७९ लागू हुनु अगावै आवासीय प्रयोजनका लागि आधिकारिक निकायबाट प्लानिङ अनुमति प्राप्त गरेका कम्पनी वा निकायले प्लानिङ अनुमति पाएका कम्पनी वा निकायले प्लानिङ पर्मिट प्राप्त गरी स्वीकृत नक्शा बमोजिम कित्ता नापी नक्शामा बाटो तथा सार्वजनिक क्षेत्र कायम गरी सकेको भए सोही अनुसार नै कित्ताकाट हुनेछ । त्यसमा कुनै पनि बाधा पर्नेछैन । मन्त्रालयका अनुसार भूउपयोग नियमावली, २०७९ लागू हुनु अगावै प्लानिङ अनुमति प्राप्त गरी स्वीकृत नक्शा बमोजिम कित्ता नापी नक्शामा कित्ताबाट गर्न बाँकी रहेको भए नियमावलीको नियम १२ बमोजिमको क्षेत्रफल कायम हुने गरी मात्रै कित्ताकाट गर्नुपर्नेछ ।    कुनै पनि कित्ता जग्गा कित्ताकाट गरी प्लट मिलान गर्दा तोकिएको क्षेत्रफल भन्दा कम क्षेत्रफल बाँकी नहुने मात्र प्लट मिलान गर्न गराउन सकिने प्रबन्ध गरिएको छ ।  पछिल्लो व्यवस्थाले कृषियोग्य भूमिको खण्डीकरण गर्ने काममा निरुत्साहन हुने विश्वास गरिएको छ । मन्त्रीस्तरीय निर्णय कार्यान्यनका लागि मन्त्रालयले भूमि व्यवस्थापन तथा अभिलेख विभाग, नापी विभागलाई कार्यान्वयनका लागि पठाएको छ ।      त्यस्तै, राष्ट्रिय भूमि आयोगलाई पनि सोही अनुसार गर्न भनिएको छ । भूउपयोग ऐन र नियमावलीमा भएको व्यवस्थालाई कार्यान्वयनमा सहजीकरण गर्न नेपाल राजपत्रमा यसअघि नै सूचना प्रकाशित भइसकेको छ । भूउपयोग कार्यक्रम सञ्चालन नहुन्जेलसम्म वा भूउपयोग नियमावली, २०७९ को नियम ५ को उपनियम ७ बमोजिम चार किल्ला खुलाई कृषि क्षेत्र तोक्नैपर्ने व्यवस्था गरिएको छ । सोही व्यवस्था अनुसार कार्यान्वयनका लागि मातहतका कार्यालयलाई परिपत्र गरिएको मन्त्रालयले जनाएको छ ।   नेपाल राष्ट्र बैंकका अनुसार वैशाख मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले घर जग्गा धितो राखेर रु ३१ खर्ब ५८ अर्ब बराबरको ऋण प्रवाह गरेका छन् । अधिकांशले घर जग्गालाई धितो राखेर ऋण प्रवाह गरेको पाइएको छ । यस्तै, कर्मचारी सञ्चयकोष, नागरिक लगानी कोषलगायतले पनि घर जग्गा धितोमा ऋण प्रवाह गरेका छन् । सामाजिक सुरक्षा कोषले समेत त्यसका लागि आवश्यक तयारी गरिरहेको छ ।   

काठमाण्डौँ :      संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले अबका दिनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुले नाक छोपेर हिँड्नु नपर्ने भन्दै विमानस्थललाई सफाइको नमूना बनाउने बताउनु भएको छ ।   काठमाडौँ विमानस्थलमा कार्यरत निजी क्षेत्रका १५२ जना सरसफाइसम्बन्धी कामदार तथा कर्मचारीलाई दिइएको दुइ  हप्ते अन्तर्राष्ट्रिय स्तरको सफाइ प्रशिक्षणका सहभागीलाई प्रमाणपत्र हस्तान्तरण गर्दै मन्त्री आलेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशी पर्यटकहरु आउँदा फोहरका कारण अब नाक छोप्नुपर्ने अवस्था नहुने बताउनु भएको हो ।       उहाँले भन्नुभयो, “हामीले एअरपोर्टमा पर्यटक आउँदा फोहरले नाक छोप्नुपर्ने अवस्थाको अन्त गरेका छौँ, विमानस्थल विमान सरसफाइ राख्ने जिम्मा सरसफाइकर्मीको हातमा छ, आफूले लिएको सरसफाइसम्बन्धी तालिमको भरपुर प्रयोग गर्नुस्, के सहयोग चाहिन्छ, म सहयोग गर्छु ।” विमानस्थलमा सरसफाइसम्बन्धी टेन्डर गर्दा प्रत्येक वर्ष ठेकेदार फेरिने तर सरसफाइ कर्मचारी उही रहने भएकाले विमानस्थल सधैँ सफा राख्ने जिम्मा सफाइकर्मीकै हातमा भएकाले देशको प्रतिष्ठा राख्न विमानस्थल सधैँ सफा राख्नुपर्ने मन्त्री आलेले आग्रह गर्नुभयो ।      विमानस्थलमा सरसफाइसम्बन्धी काम गर्ने कर्मचारीहरुलाई वार्षिक रुपमा पुरस्कृत गर्ने व्यवस्था मिलाउनसमेत मन्त्री आलेले विमानस्थल प्रमुखलाई निर्देशन दिनुभयो । मन्त्री आलेले सरसफाइको काममा कामदार मात्रै दोषी नहुने भन्दै यहाँका कर्मचारी, सुपरभाइजरहरुले पनि कामको गुणस्तार हेर्नुपर्ने र त्यस्तै सेवा दिनुपर्ने बताउनुभयो ।        यसैगरी मन्त्री आलेले आफुले दिएको निर्देशनबमोजिम त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विभिन्न विकासका कामहरु भएका र थुप्रै राम्रा कामहरु भएको दाबीसमेत गर्नुभयो । विमानस्थलमा ब्यागेज बेल्टदेखि टर्मिनल भवनको शिलान्यास गरिनाका साथै पानीका फोहरा निर्माणका कामहरु पनि आफ्नै निर्देशनमा भएको मन्त्री आलेको भनाइ थियो ।    उक्त सरसफाइ प्रशिक्षणको पहिलो चरणमा आज ७० जनालाई प्रमाणपत्र दिइएको थियो । यस अभियानका १५२ जनामध्ये अर्को चरणको तालिम आगामी बिहीबारदेखि सुरु हुनेछ । सरसफाईसम्बन्धी अन्तर्राष्ट्रिय प्रशिक्षक खेम शर्माले सरसफाईसम्बन्धी प्रशिक्षण दिइरहनुभएको छ । यसअघि पनि पाँच वर्षअघि उहाँले आफ्नो नेतृत्वको खेम्स क्लिनिङ नामक सरसफाई सम्बन्धी कम्पनीमार्फत् स्वयंसेवी रुपमा यस विमानस्थलको सफाई गरी एक नमूना प्रस्तुत गर्नुभएको थियो ।         यस प्रशिक्षण एवं तालिमबाट विमानस्थल थप सफा हुने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले जानकारी दिनुभयो ।   

महोत्तरी :     विगतमा माओवादीको सशस्त्र द्वन्द्वका बेला  सुधीर नामले चिनिने महोत्तरीको भङ्गाहा–४ का ४० वर्षीय नारायण दाहालको परिचय अब पौरखी किसानमा फेरिएको छ । सशस्त्र द्वन्द्व प्रारम्भमै  कमान्डरको भूमिका निर्वाह गर्नुभएका उहाँ अहिले आफ्नो गाउँबस्तीका समवयस्क साथी र पछिल्लो पुस्ताका लागि पौरखी किसानको उदाहरण बन्नुभएको हो ।        घर वरपर नै रहेको आठ कट्ठा जग्गाभित्र लटरम्म फलेका बोडी, परबल र  लौकासहित तरकारी बालीमा दाहालको मेहनत फष्टाएको  छ । बिहान ४ बजे ओछ्यान छोडेदेखि नै गाईबाख्राको  हेरचाह सकेर बारी पसेपछि आवश्यक स्याहार सुसार  गर्ने, तरकारी टिप्ने र घरमै आइपुगेका तरकारी व्यापारीलाई  आफ्नो उत्पादन तौलेर दिन भ्याइनभ्याइ हुने  गरेको उहाँ बताउनुहुन्छ  ।      विसं २०६५ को अन्त्यतिर माओवादी लडाकुको काम छाडेर गृहस्थीमा फर्कनुभएका दाहालले २०६८ यता भने खेतीमै आफ्नो भविष्य देख्न थाल्नुभएको छ  । माओवादी लडाकुको जीवन त्यागेर फर्कंदा राज्यबाट जम्मा रु छ लाख २० हजार पाउनुभएका उहाँले त्यतिखेर त्यो रकमले छ कट्ठा जग्गा, एउटा साइकल र घरमा एउटा टिभी जोडेर सानो गाईगोठ बनाएको सुनाउनहुन्छ । “के के न गरौँला भनेर सशस्त्र द्वन्द्वमा होमिए,” दाहाल घरमै पुगेका सञ्चारकर्र्मीसँग भन्नुहुन्छ, “फर्केर आउने ठाउँ त गाउँ घर नै रहेछ ।” अहिले सशस्त्र द्वन्द्वमा होमिएको आफ्नो विगतप्रति दाहाललाई गुनासो छैन । “मैले नजिकबाट मृत्युलाई चिन्न सकेजस्तो लाग्छ, युद्धमा छँदा कैयौँ पटक संयोगले मात्र बाँचेको हुँ,” उहाँ भन्नुहुन्छ, “फेरि त्यो युद्धको प्रतिफल मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना त भयो नि, अब जनताको जीवनस्तर उकास्ने बाटोमा नेता लागिदिए हुन्थ्यो ।” जनताको अवस्थामा परिवर्तन नआउँदा भने  भने मन कटक्क खाने गरेको दाहालको भनाइ छ ।     खेतीमा लागेयता आफ्नो मिहिनेत खेर गएको कहिल्यै महसुस गर्न नपरेको  उहाँ सुनाउनुहुन्छ । “यसपालि वैशाखे तरकारी खेतीबाटै अहिलेसम्म रु एक लाख बराबरको तरकारी बेचिएछ,” आफ्नो पुगनपुग तीन  महिना (चैत, वैशाख र जेठ) को कमाईबारे बताउँदै दाहाल अगाडि भन्नुहुन्छ, “यसपालि नयाँ वर्ष प्रारम्भसँगै कैयौँ पटक आएको चोटिलो वर्षासँगैको हावाहुरीले लहरे तरकारी र लहलहाउँदा रायोको बिरुवा लतार्यो, त्यसको उत्पादन लिन सकेको भए आम्दानी अझै बढ्थ्यो ।”      दैनिक घरखर्चमा लगाइएको रकमको हिसाबमा राख्न नसकेको उहाँको भनाइ छ । त्यस्तै  प्रत्येक वर्ष दसैँ, तिहार र अन्य चाडपर्वमा गरिने खर्चको पनि हिसाब राख्ने गरिएको छैन । “किसानी पेसाको घरगृहस्थीमा सबै हिसावकिताव राख्न नसकिने रहेछ,” दाहाल भन्नुहुन्छ,  “तर चाडबाडको रमझम खेतीपातीले नै चलाएको छ भन्न त पाइयो नि ।”आफ्नो खेती प्राङ्गारिक  भएकाले उपभोक्ताको पहिलो रोजाइमा पर्ने गरेको उहाँ बताउनुहुन्छ । तरकारीमा लाग्ने किरा नियन्त्रणका लागि दाहाल आफैँ कीटनाशक औषधि बनाउनुहुन्छ । “यो नारायणास्त्र, यो ब्रह्मास्त्र र यो आग्नेयास्त्र” तरकारी बालीमा लाग्ने किरा नियन्त्रणका लागि आफैँले घरमा बनाएका कीटनाशक औषधि देखाउँदै उहाँ भन्नुहुन्छ, “गाईको गहुँत सङ्कलन गरेर नीमका पात र अन्य कीटनाशक वनस्पति मिलाएर बनाइएको औषधि हो, तरकारी बालीमा लाग्ने किराको सङ्ख्या र क्षतिको प्रकृति आङ्कलन गरेर मात्रा बनाएर छरिन्छ ।”       रामायण, महाभारतलगायत पौराणिक ग्रन्थमा प्रयोग गरेपछि खेर नजाने गरी वर्णन गरिएका शस्त्रअस्त्रको महत्व थाहा पाएर किरा नियन्त्रणका लागि बनाइएका औषधिको नाउँ त्यस्तै मिलाएर राखिएको दाहालको भनाइ छ । “इ यो हेर्नुहोस् , यो आग्नेयास्त्र हो” एउटा सिसीमा राखिएको झोल औषधि देखाउँदै उहाँ भन्नुहुन्छ, “भगवान् रामको वाण खेर जाँदैनथ्यो रे  हो, यो त्यही ‘रामबाण’ हो, जस्को छिर्का पर्यो कि किरा खत्तम ।”      अहिले जताततै खेतीपातीमा कडा विषादीको प्रयोग बढेसँगै कडा प्रकृतिका रोग बढेकाले सबैलाई प्राङ्गारिक खेतीमा आकर्षित गराउनुपर्ने दाहालको सुझाव छ । “अमृत हुने वस्तु हाम्रै कारण विष बनाइएका छन्,” उहाँ भन्नुहुन्छ, “अब विषादी नियन्त्रणका लागि सरकारले अभियान नै चलाउनुपर्छ ।” साझा प्रयत्नबाट यो सम्भव हुने दाहालको विश्वास छ । बीउबिजन, मल र खेती प्रणाली पनि पुरानै रैथानेलाई नै  फर्काउन पर्ने दाहालको सुझाव छ ।      उहाँको सङ्गतले गाउँका युवा पनि तरकारी खेतीबाट राम्रो उत्पादन लिन थालेका छन् । “विषादी नछरी किरा नियन्त्रण गर्न सकिने दाहालले अपनाउनुभएको तरिकाले हामीलाई लोभ्याएको छ,” दाहालको मिहेनत र खेती प्रणालीलाई अनुुसरण गर्न थालेका छिमेकी छेदीलाल महतो भन्नुहुन्छ, “आफ्नै वरपर पाइने विभिन्न वनस्पति र गहुँतबाट बनाइने औषधिबाट किरा नियन्त्रण गरिँदा स्वास्थ्य सुरक्षा र कीटनाशक विषादीमा हुने खर्चबाट बचिएको छ ।”     मुलुककै समृद्धि र जनताको मुक्तिका लागि भन्दै विगतमा बन्दुक बोकेकोमा पश्चाताप नभए पनि समृद्धिको बाटो चैं अहिलेको बाटो नै उपयुक्त रहेको दाहालको निष्कर्ष छ । “कतिले बाटो फेरेछ भन्लान्, तर मुलुक समृद्ध र जनता सुखी बन्ने÷बनाउने चैं उद्यमले नै हो ।” आफ्नो अहिलेको काम ‘उद्यम’ रहेको बताउनुहुने दाहाल गाउँ छिमेक वरपर  ‘रोलमोडल’  किसान बन्नुभएको छ ।      “घरमा भेट्न आउने आफन्त होउन् कि अन्य छिमेकी यिनी (दाहाल) खेतीकै कुरा गर्छन्,” दाहालकै छिमेकी ८० वर्षीय रामनन्दन महतो भन्नुहुन्छ, “यिनले त बरालिएर हिँड्ने कति केटालाई आफ्नो सङ्गतमा ल्याएर मेहनती किसान बनाएका छन् ।” त्यही बस्तीमा तरकारी बाली फस्टाउन रसायनिक मल र किरा नियन्त्रण गर्न विषादी प्रयोग गर्दै आएका दाहालका समवयस्क किसानले अब आफैँले तयार पारेको कम्पोष्ट मल र घरायसी कीटनाशक औषधि प्रयोग गर्न थालेका छन् ।    आफुले  मेहनत र लगन लगाए पनि सरकारी निकायबाट कुनै सहयोग र भरथेग नपाइएको दाहाल लगायतका सो बस्तीका युवा किसानको गुनासो छ । “खेतीपातीमा किसानलाई सहयोग गरिन्छ भन्न रेडियो र छापाहरुमा भन्ने, लेख्ने गर्छन रे ” दाहालकै समवयस्क सो बस्तीका किसान चन्देश्वर राय दनुवार भन्नुहुन्छ, “तर, हामीसम्म त्यो कहिल्यै आइपुग्ने भएन ।” किसानका लागि छुट्याइएका रकम पनि भनसुन र ठूलाबडाकै प्रयोगमा जाने गरेका बस्तीका सोझा किसानको आम गुनासो छ । “न भरपर्दो सिँचाइ छ, न समयमा बीउबिजन पाइन्छ, मेहनत त हामी गर्छौं, बाँकी सबै ईश्वरकै भर छ,” बस्तीका सबैजसो किसानको समान गुनासो छ ।     खेतीपातीसँगै दाहालले अहिले बाख्रापालन सुरु गर्नुभएको छ । खोरमा पाँच÷सातवटा बाख्रा जम्मा पार्नुभएका दाहाल त्यसको तयारीका लागि दुई वर्षपहिले नै डालेघाँसका बिरुवा रोपेर हुर्काएको बताउनुहुन्छ  । बारीमा इपिलिपिल, बकाइनो र पट्मिरोसहितका पौष्टिक मानिने डाले घाँसका ५० रूख हुर्किसकेका र यसपालि फेरि १०० वटा जति रोपिएको छ । यो वर्षको अन्त्यसम्म २५ वटा बाख्रा पु¥याउने दाहालको लक्ष्य छ । “गर्दा नहुने भन्ने केही रहेनछ” दाहाल भन्नुहुन्छ, “सय पचासको गर्जो टार्न गाउँ पस्नुपर्ने म अहिले आफ्नो मेहनतले नै गाउँघरको सानोतिनो अड्कोपड्को टार्न सक्ने भएको छु ।”कृषिसँग सम्बन्धित सरकारी निकायहरु किसानसम्म नपुगेका दाहालको गुनासो छ । अहिले सुने जतिकै सरकारले बनाएको कृषि कार्यक्रम किसानसम्म पुग्ने हो भने पनि कृषि क्रान्ति नै हुने दाहाल बताउनुहुन्छ  तर ती सरकारी कार्यक्रम किसानसम्म नपुगेको कुरा अनुगमन हुनुपर्ने दाहाल सहितका किसानको माग छ ।

काठमाण्डौँ :     लामो समय राजनीति गर्नुभएका पूर्वमन्त्री लोकेन्द्र विष्ट अहिले कृषि खेतीमा रमाइरहनुभएको छ । उहाँले लगाउनुभएको ‘ड्रागन फ्रुट’ अहिले राम्रोसँग फस्टाउँदै गएको छ ।   ‘सूर्यमुखी’ झै सूर्यतिर फर्किएका ड्रागन फूल हेरेर अहिले उहाँ खुशी हुनुहुन्छ । “राति फूलको कोपिला लाग्दा बिहान फूल आउँछ भन्ने थाहा पाएँ”,उहाँले भन्नुभयो“यही भएर बिहान खुसीका साथ सबेरै  उठ्दा फूलेका ड्रागनका फूल देखेर निकै खुसी भएँ ।” ड्रागन फ्रुटलाई रातको रानी भनेर पनि चिनिन्छ । किनकी राति नै ड्रागन फ्रुट फुल्ने गर्छ । त्यो फूल लामो समय रहदैन । सोमबार बिहान फुलेको त्यो फूल मङ्गलबार बिहानसम्म ओइलिसक्छ ।    यो वर्ष विगतका वर्ष भन्दा बढी नै फूलेको छ । जहाँ फल लागेको हुन्छ्, त्यहाँ फूल फुल्ने गर्छ । विष्टले दुई प्रकारका ड्रागन फ्रुट रोप्नु भएको छ । उहाँले सबै भन्दा धेरै ‘रातोमा सेतो’ वाला रोप्नु भएको छ भने त्यही फार्ममा ‘रातोमा रातो’ ड्रागन फ्रुट पनि रोप्नु भएको छ । रातोमा सेतो जातले फल दिन थालेको यो तेस्रो वर्ष हो । तेस्रो वर्षको यो दोस्रो लट हो ।    साथै ‘रातोमा रातो’ जातले फल दिन थालेको यो दोस्रो वर्ष हो । प्रत्येक वर्ष जेठदेखि कात्तिकसम्म फल दिने गर्छ । यो बीचमा ६ लटसम्म वर्षमा फल प्राप्त हुने विष्टको भनाइ छ ।    विष्टले वर्सेनि फल दिनेक्रम बढिरहेको बताउनुभयो । विगतमा ३० क्वीन्टलसम्म फल भित्र्याउन सफल भएकोमा यसवर्ष ४० क्वीन्टलभन्दा बढी ड्रागन फ्रुट भित्र्याउने    अपेक्षा लिनुभएको छ । “यस वर्ष प्रत्येक बोटमा १० देखि २० वटासम्म फल फलेका छन्”,उहाँले भन्नुभयो“त्यसले गर्दा यसवर्ष विगतभन्दा उत्पादन बढ्ने अपेक्षा छ ।” प्रत्येक लटमा फूल फुलेका २० दिनसम्ममा फल पाकिसक्छ ।  एउटा सेतो फल ५०० ग्रामसम्म हुने गर्छ भने रातो फल ३०० ग्रामम्म हुने गरेको उहाँ बताउनुहुन्छ । विष्टले तुलसीपुर उपमहानगरपालिका–१८ विजौरीस्थित खाली जग्गालाई भाडामा लिएर ड्रागन फ्रुट खेती गरिरहनुभएको छ ।   त्यही खेतीबाट उहाँले वार्षिक २० लाखसम्म आम्दानी गर्दै आउनुभएको छ । फल मात्रै नभए बिरुवाबाट पनि वार्षिक ५ लाखसम्म आम्दानी हुने गरेको उहाँ बताउनुहुन्छ । अहिले उहाँले उत्पादन गरेका बिरुवा दाङ मात्रै होइन्, बाहिरी जिल्लामा पनि उत्तिकै बिक्री हुन्छ । करिब एक करोड लगानी गरेर विष्टसहित तीन जनाले व्यावसायिक ड्रागन खेती गर्नुभएको छ । यसअघि पनि उहाँ कालो धानको  खेती गरेर चर्चामा हुनुहुन्थ्यो । उहाँले तीन बिघा ६ कठ्ठा जग्गामा उक्त खेती गर्नुभएको छ ।

पाल्पा:  पाल्पाको तानसेनमा फोहर व्यवस्थापन चुनौती बनेको छ ।   फोहर व्यवस्थापनका लागि निर्माण गरेको स्यानेटरी ल्याण्डफिल साइट एक दशकदेखि प्रयोगमा आउन सकेको छैन ।   तानसेन शिवपोखरीको सम्मोबारीमा निर्माण भएको ल्याण्डफिल साइटले नजिकैको बस्तीमा दुर्गन्ध फैलाएको भन्दै स्थानीयवासीले अवरोध गरेपछि प्रयोगमा आउन सकेन । फोहर व्यवस्थापनमा स्थानीय तहले रु तीन करोड भन्दा बढी लागतमा ल्याण्डफिल साइट निर्माण गरेको थियो ।   फोहरमैला बस्ती नजिकै फालिने गर्दा मानव स्वास्थ्यमा नराम्रो असर पार्ने भन्दै स्थानीयवासीले विरोध गरेका हुन् । सामुदायिक वनमा फालिएको फोहरले बाटोमा ओहोरदोहोर गर्ने यात्रुलाई दुर्गन्धले वारपार गर्न अप्ठ्यारो महसुस हुने गरेको छ । तानसेन क्षेत्रबाट मात्र दैनिक साढे दुई टन फोहर उत्पादन हुन्छ ।   लामो समयदेखि चुनौतीको विषय बनेको फोहर व्यवस्थापनको समस्यालाई कुन माध्यमबाट समाधान गर्न सकिन्छ, त्यसको अध्ययन गरेर प्रक्रिया अगाडि बढाउने बताउनुहुन्छ, तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठ । उहाँ भन्नुहुन्छ, “सरोकारवाला सबैको समन्वयमा पहिला ल्याण्डफिल साइटको अध्ययन गर्नेछौँ, तयार गरिसकेको संरचनाबाट फोहरको समस्या समाधान प्रक्रिया नहुने भएमा वैकल्पिक स्थान खोज्नेछौँ” ।