पोखरा:   गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले आफ्नो ७९ औं जन्मदिन ज्येष्ठ नागरिकलाई सम्मान गरेर मनाउनुभएको छ ।   पोखरा १७ सीतापाइला स्थित पोखरा वृद्धाश्रममा शनिबार बिहान पुगेर प्रदे...

लमजुङ :     लमजुङको राइनास नगरपालिका–८ तार्कुघाटका परियार  बेपत्ता भएको २७ वर्षपछि प्रहरीले उद्धार गरेको छ । कामको सिलसिलामा भारत गएका ४४ वर्षीय किसान परियारको  उद्धार गरिएको हो ।   विसं २०७९ जेठ ९ गते जिल्ला प्रहरी कार्यालयमा परियारको खोजी गर्न निवेदन परेको थियो । त्यसका आधारमा खोजतलास गर्दा परियार भारत, उत्तर प्रदेशको वासपत जिल्लामा भेटिएका हुन् । परियारको उद्धार गरी ल्याइएकोे जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जगदीश रेग्मीले जानकारी दिनुभयो ।   प्रहरीले नेपाली राजदूतावास, प्रहरी प्रधान कार्यालय, मानव बेचबिखन तथा अनुसन्धान ब्यूरो, दिल्लीस्थित भारतीय प्रहरी, आफन्त नेपाल केन्द्रीय कार्यालय ललितपुरको सहयोग र समन्वयमा परियारको उद्धार गरी नेपाल ल्याएको हो । परियारलाई प्रहरीले उनका आफन्तको जिम्मा लगाएको छ । 

  म्याग्दी :      म्याग्दीका ४४ बस्ती पहिरो र कटानको जोखिममा छन् । बेनीस्थित भू–तथा जलाधार संरक्षण सम्पर्क कार्यालयले ३१ बस्ती पहिरो र १३ ठाउँमा नदी कटानका कारण करिब एक हजार घरधुरी जोखिममा रहेका जनाएको छ ।    कार्यालयका सहायक भूसंरक्षण अधिकृत शम्भुकुमार मिश्रले म्याग्दीको ३५७।९ हेक्टर जमिन भू–क्षयबाट प्रभावित भएको जानकारी दिनुभयो । “म्याग्दीबाट वार्षिक दुई हजार ५१९ दशमलव ७६ मेट्रिक टन माटो भू–क्षयका कारण बगेर जाने गरेको छ”, उहाँले भन्नुभयो, “माथिल्लो क्षेत्रमा पहिरो र भूक्षय हुँदा नदीमा बाढीको आयातन बढेर कटान हुने गरेको छ ।”   धवलागिरिको लमसुङ, खोरिया, दर, ताकम, मालिकाको देवीस्थान, बिम, जुकेपानी, छाप, रातोढुङ्गा, रुम, घोर्सी, दिच्याम गोगनपानी, दरवाङ, मङ्गलाको खर्सुपानी, हाँडेभिर, बेनी नगरपालिकाको सिङ्गा तातोपानी, भकिम्ली, पुलाचौर, भसभसे, घतान, पात्लेखेत, रघुगङ्गाको पाखापानी, दग्नाम, राहुघाट, कटुवालटोल, भगवती, रानीपौवा, पिप्ले, अन्नपूर्णको दोवा, घोस्केखोर, शिख तल्लोगाउँ र फगाममा पहिराको जोखिम रहेको कार्यालयले जनाएको छ ।   यसैगरी म्याग्दी, राहुघाट र कालीगण्डकी नदीको तटीय क्षेत्रमा रहेको दरवाङ, दुखुबेँसी, सहश्रधारा, शेरफाँट, हाँडेभिर, पिपलचौतारी, पानावगर, काशेगर, ताराखेत, सिङ्गा तातोपानी, भसभसे, गलेश्वर र भुरुङ तातोपानीमा कटानको जोखिम भएको मिश्रले बताउनुभयो । जोखिमयुक्त ठाउँबाट ४५ स्थानमा पहिरो नियन्त्रण, २५ स्थानबाट खोला किनार सरक्षण र ३२ स्थानबाट गल्छी संरक्षण तथा व्यक्तिगत घर, खेतबारी संरक्षणका लागि ७५ जनाको माग निवेदन आएको छ ।    कालीगण्डकी, राहुघाट र म्याग्दी नदीमा सहायक खोलाबाट आउने बाढीले नदीको धार परिवर्तन गराउनु, सडक निर्माण गर्ने क्रममा भिरालो जमिन कटान गर्दा सडकभन्दा माथिको माटो तल फाल्नु र सोको व्यवस्थापन नगरिनु, सडकले गर्दा परापूर्वकालदेखि बग्दै आएको भलबाढी अनियन्त्रित हुनु र नदीमा बाढीको आयातन बढेर तटीय क्षेत्रमा कटान गर्ने समस्या रहेको मिश्रले बताउनुभयो ।    यसैबीच म्याग्दीमा मनसुनजन्य विपद् प्रतिकार्य योजना लागू गरिएको छ । प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाले मनसुनजन्य विपद्को जोखियुक्त स्थान पहिचान, सतर्कता, विपद्को अवस्थामा उद्धार, राहत र व्यवस्थापनका लागि विगतको अभ्यास र सरोकारवालाको सुझावका आधारमा प्रतिकार्य योजना बनाएर कार्यान्वयन थालिएको बताउनुभयो ।    उच्च जोखिममा रहेका बस्तीका बासिन्दालाई सुरक्षित ठाउँमा सार्ने र जिल्लाका ६ वटै स्थानीय तहले कालीगण्डकी, म्याग्दी र रघुगङ्गा नदीको तटीय क्षेत्रमा बाढीको पूर्वसूचनाका लागि सम्पर्क व्यक्ति खटाउने प्रक्रिया थालेका छन् । 

   काठमाण्डौँ  :      मेलम्चीमा बाढी आएको एक वर्ष पुगेको छ । गत वर्ष असार १ गतेको बाढीले २६ जनाको ज्यान गएको थियो धेरै भौतिक सम्पत्ति क्षति भयो ।    सिन्धुपाल्चोकलाई सरकारले गत वर्ष सङ्कटग्रस्त जिल्लासमेत घोषणा गरेको थियो । बस्ती संरक्षण, स्थानान्तरण र पुनःनिर्माणका कुरा उठे पनि अहिलेसम्म काम भने हुन सकेको छैन ।    गत वर्ष असार १ र साउन १६ गते सिन्धुपाल्चोकको मेलम्ची र इन्द्रावती नदीमा आएको बाढीका कारण ठूलो जनधनको क्षति भएको थियो । नदी तटीय क्षेत्रको खेतीयोग्य जमिन बगरमा परिणत भएको थियो । सयौँ स्थानीयवासी विस्थापित भए । उनीहरु हालसम्म अस्थायी टहरामै बस्दैआएका छन् । उनीहरु सुरक्षित वासस्थानको पर्खाइमा छन् ।    तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले घरबारबिहीनलाई  रु पाँच लाखका दरले रकम उपलब्ध गराउने घोषणा गरेको थियो । उक्त निर्णय हालसम्म पनि कार्यान्वयन नहुँदा बाढी प्रभावितको बिचल्ली भएको छ । बाढीले घरखेत बगाएपछि बेसहारा बन्नुभएका हेलम्बु–२ गणेशेबगरका गोरी तामाङका आँखा अझै ओभाएका छैनन् । बाढीले उहाँको घर बगायो भने खेत बगरमा परिणत भयो । उहाँ हाल सुुकुम्बासी बन्नुभएको छ । “सरकारले घर बनाइदिने आश्वासन दिएको थियो, अझै त्यो हुन सकेको छैन”, उहाँले पीडा सुनाउनुभयो ।    हेलम्बु, मेलम्ची र पाँचपोखरीमा गरी बाढीले ५५१ घर बगाएको थियोे । पाँच हजार ४०० रोपनी खेतीयोग्य जमिन बगर बन्यो । राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनासँगै सात झोलुङ्गे पुल, नौ पक्की पुल र ३३ सार्वजनिक संरचना ध्वस्त भए । हालसम्म अस्थायी टहरामुनि बस्दै आएका बाढी पीडित सरकारको बाटो हेरेर बसिरहेका छन् ।    हेलम्बु गाउँपालिकाका लीलाबहादुर ज्योति बासको उचित व्यवस्था नहुँदा रोजगारीका लागि कतै निक्सिन सक्नुभएको छैन । बाढी घर बगाएपछि मेलम्चीका हरिशरण श्रेष्ठ सुरक्षित बासस्थानकै खोजीमा भौँतारीरहनुभएको छ । “सुरक्षित ठाउँमा घर कहिले बन्ला भन्ने चिन्ताले सधँै सताउँछ”, उहाँले भन्नुभयो ।    प्राकृतिक विपद्का हिसाबले सिन्धुपाल्चोक देशकै उच्च जोखिममा रहेको जिल्ला हो । गत वर्ष केही तयारी गरे पनि पर्याप्त नभएको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पा बताउनुहुन्छ । “निजी आवास निर्माणको प्रक्रिया अगाडि बढेको छ, केही समस्याका कारण यसमा ढिलाइ भएको छ”, उहाँले भन्नुुभयो । यस्तै मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङ बाढी प्रभावितका लागि छिट्टै काम गर्ने बताउनुहुन्छ ।   खोलाको अतिक्रमण गरी घरलगायत संरचना निर्माण गर्दा पनि अत्यधिक क्षति भएको हो । मेलम्ची, इन्द्रावती र पाँचपोखरी जानका लागि ह्युमपाइप हालेर बनाइएको अस्थायी पुल पनि केही दिन अघि आएको बाढीले बगाएपछि झन समस्या भएको छ । हेलम्बु–७ चनौटेमा नेपाली सेनाको सहयोगमा बेलीब्रिज निर्माणबाट आवतजावतमा सहज भएको स्थानीयवासी बताउँछन् । 

काठमाण्डौँ :      हाल प्रदेश नं १, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ । अन्य प्रदेशका भू–भागमा स्थानीय वायुको तथा भारतको उत्तर प्रदेश र विहारमा रहेकोे पूर्व–पश्चिमी न्यून चापीय रेखाको प्रभाव छ ।    उक्त मौसमी प्रणालीको प्रभावले प्रदेश नं १, मधेस र बागमतीमा सामान्यदेखि पूर्ण बदली रही बाँकी भू–भागमा आङ्शिक बदली रहेको छ । प्रदेश नं १, मधेस र बागमती प्रदेशमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । रातिको समयमा पनि सोही मौसमी प्रणाली कायम रहने महाशाखाले जनाएको छ ।   राजधानी काठमाडौँमा बिहानैदेखि बदली रहनुका साथै केही स्थानमा हल्का वर्षा भइरहेको छ । आज काठमाडौँको अधिकतम तापक्रम २९ दशमलव सात र न्यूनतम तापक्रम १९ दशमलव पाँच डिग्रि सेल्सियस रहेको छ ।

   बागलुङ :    नाबालिकालाई बलात्कार गरेको आरोपमा बागलुङमा प्रहरीले एक युवालाई पक्राउ गरेको छ ।   प्रहरीले बरेङ गाउँपालिका–३ का २४ वर्षीय अनिल श्रीषलाई पक्राउ गरेको हो ।    प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाका अनुसार यही जेठ २७ गते बालिका दिदीको घर जाँदै गर्दा उनलाई डरधम्की देखाएर बाटोमै बलात्कार गरेका थिए ।    पीडित पक्षले जेठ ३० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि श्रीषलाई पक्राउ गरेको हो । आरोपितलाई पक्राउ गरी आवश्यक अनुसन्धान सुरु गरिएको जिल्ला  प्रहरी कार्यालयले जनाएको छ ।    

  पोखरा:      सरकारले ल्याएको भूमिको खण्डिकरण सम्बन्धी नयाँ व्यवस्थाले बैंकहरु तत्काल कर्जा लगानी गर्न नसक्ने अवस्थामा पुग्दा पर्यटन लगायत अन्य क्षेत्र समेत मारमा परेको भन्दै यसलाई तत्काल सच्याउन वा नयाँ विकल्प दिन होटल सम्बद्ध दुई संस्थाले माग गरेका छन् ।   होटल संघ नेपाल (हान) गण्डकी र होटल संघ पोखरा, नेपालले मंगलबार संयुक्त विज्ञप्ति जारी गरी त्यस्तो माग गरेका हुन् । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयले भुउपयोग नियमावली २०७९ कार्यान्वयनमा ल्याउँदै कृषि र गैर कृषि क्षेत्रका रुपमा वर्गिकरण नगरिएको जग्गा रोक्का नगर्न मालपोत कार्यालयलाई परिपत्र गरे बमोजिम बैंकहरुबाट हुने कर्जा लगानी अहिले ठप्प जस्तो हुन पुगेको छ । यस्तो व्यवस्थाले जग्गा धितो राखी होटल निर्माण गर्न, त्यसका लागि कर्जा लिन र बैंकको ब्याज तिर्न समेत असंभव जस्तै हुने संघका गण्डकी अध्यक्ष हरि शर्मा गैह्रे र पोखरा अध्यक्ष लक्ष्मण सुवेदीले उल्लेख गरेका छन् ।   जग्गाको वर्गिकरण नभएको र चार किल्ला नखुलेको जग्गा धितोरबन्धक नराख्न मन्त्रालयले राष्ट्रिय भूमि आयोग, भूमि व्यवस्थापन तथा अभिलेख विभाग र नापी विभागलाई जेठ २७ मा निर्देशन दिएका कारण बैंकसँग कर्जा लिने प्रक्रिया नै रोकिन पुगेको विज्ञप्तिमा जनाइएको छ । कुन स्थानीय तहमा कहिलेदेखि भू–उपयोग नीति लागू गर्ने भन्ने सरकारले राजपत्रमा सूचना प्रकाशित गरेर तोकेपछि मात्रै टुंगो लाग्ने व्यवस्थाले सिंगो पर्यटन क्षेत्र नै मारमा पर्ने संघको ठहर रहेको छ । स्थानीय तहले ऐन र नियमावलीले तोकेको मापदण्ड अनुसार जग्गा वर्गिकरण गरुञ्जेल लामो समय प्रतिक्षा गर्नुपर्ने अवस्थाले पर्यटनमा लगानी र निर्माणको वातावरण नै खल्बलिन गई पर्यटन क्षेत्र मात्र मारमा नपरी अर्थतन्त्रमा नै नकारात्मक असर पर्ने संघले जनाएको छ । बैंकले धितोको रुपमा स्वीकारेको जग्गा रोक्का र कित्ताकाट नहुने भएपछि अन्य क्षेत्रमा समेत लगानी, निर्माण र विकासको वातावरणमा धक्का पुग्ने जनाइएको छ ।   भूउपयोग ऐन २०७६ कार्यान्वयनका लागि जग्गाको खण्डिकरण र कृषियोग्य जमीनमा बस्ती विकास रोक्ने गरी यो नियमावली जेठ २३ को मिति राखी राजपत्रमा प्रकाशित भएको छ । नियमावली अनुसार एउटा उद्धेश्यमा वर्गिकरण गरिएको जग्गा अर्को उद्धेश्यका लागि प्रयोग गर्न पाइने छैन । भूबनोट, भूमिको क्षमता र उपयुक्तता, उपयोग र आबश्यकताका आधारमा जग्गालाई विभिन्न १० बर्गमा विभाजन गर्नुपर्ने व्यवस्था ऐनमा छ ।  

पाल्पा :     बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा पाल्पामा एक पुरुष पक्राउ परेका छन् ।   चौध वर्षीया बालिकालाई करणी गरेको आरोपमा रिब्दीकोट गाउँपालिका– १ ख्याहाका ३९ वर्षीय विष्णुबहादुर विकलाई प्रहरीले पक्राउ गरेको हो ।         जिल्ला प्रहरी कार्यालयको टोलीले करणी पश्चात फरार रहेका विकलाई पक्राउ गरेको हो । विकले बालिकालाई यही जेठ २३ गते रिब्दीकोट–२ जङ्गलमा करणी गरेका थिए ।   पीडित बालिकाकी  आमाले प्रहरीमा जाहेरी दिएपछि विकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिनुभयो । 

धादिङ :      धादिङको ईजारा र सिस्नेखोलामा आज भएको छुट्टाछुट्टै दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । धादिङको निलकण्ठ नगरपालिका–३ ईजारामा बा१८च २८२० नम्बरको बोलेरो जिप दुर्घटना भएको हो ।    धादिङवेसीबाट जुरेथुमतर्फ जाँदै गरेको जिप दुर्घटना हुँदा निलकण्ठ नगरपालिका–१ जुरेथुमका ३२ वर्षीय प्रेमबहादुर गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीले जानकारी दिनुभयो । दुर्घटनामा १७ जना घाइते भएका छन् । उनीहरुको धादिङ अस्पतालमा उपचार भइरहेको डा मधुकर दाहालले जानकारी दिनुभयो । उकालो बाटोमा क्षमताभन्दा धेरै यात्रु र सामान बोकेका कारण जिप दुर्घटना भएको बताइएको छ ।    यस्तै त्रिभुवन राजपथअन्तर्गत धादिङको धुनीवेशी नगरपालिका– ९ सिस्नेखोला सुरुङ मार्गमा ट्रक दुर्घटनामा एकजनाको मृत्यु भएको छ । नौबिसेबाट काठमाडौँतर्फ जाँदै गरेको ना५ख ७३८६ नम्बरको मालबाहक ट्रक सोही दिशातर्फ जाँदै गरेको बा३क ३४०४ नम्बरको मिनि ट्रक र बा८२प ५६४५ नम्बरको मोटर साइकलसँग ठोक्किँदा  एक युवाको ज्यान गएको प्रहरीले जनाएको छ ।   धादिङको निलकण्ठ नगरपालिका–१२ का ४४ वर्षीय यमबहादुर मगरको मृत्यु भएको हो । दुर्घटनामा घाइते निलकण्ठ नगरपालिका–८ का गणेश श्रेष्ठको काठमाडौँमा उपचार भइरहेको छ ।

गण्डकी प्रदेशमा ९९ दशमलव पाँच प्रतिशत घरधुरीमा बिजुली बत्ती पुगेको छ । प्रदेशमा अब दुई हजार ८८४ घरधुरीमा मात्र विद्युत् पुर्याउन बाँकी रहेको बताइएको छ । गण्डकी प्रदेशको अर्थ मन्त्रालयले पहिलोपटक सार्वजनिक गरेको आर्थिक सर्वेक्षण विसं २०७८ र ०७९ का अनुसार अव प्रदेशमा शून्य दशमलव पाँच प्रतिशत घरमा मात्र विद्युत्को पहुँच पुर्याउन बाँकी छ ।     प्रदेशका पाँच लाख ७७ हजार ६८२ घरधुरीमध्येमा राष्ट्रिय प्रसारण लाइन तथा नवीकरणीय ऊर्जामार्फत पाँच लाख ७४ हजार ७९८ घरपरिवारमा विद्युतको  पहुँच पुगेको उल्लेख छ । विसं २०७४ मा प्रदेश सरकार गठन हुँदा राष्ट्रिय प्रसारण लाइनमार्फत विद्युत्मा पहुँच प्राप्त परिवार ८२ दशमलव दुई प्रतिशत रहेकामा हाल वृद्धि भई ९५ दशमलव ६८ प्रतिशत पुगेको जनाइएको छ । अझै पनि नवलपरासीको बुलिङटार गाउँपालिका र बौदीकाली गाउँपालिकाका केही वडा, बागलुङको तमानखोला र निसीखोला गाउँपालिकाका केही वडा, मुस्ताङको साङ्ता गाउँ, देवघाट गाउँपालिकाका अधिकांश ठाउँ, गोरखाको आरुघाट, धार्चे, चुमनुब्री गाउँपालिकाका अधिकांश स्थान र मनाङका नार्पाभूमि, चामे, नासों र मनाङ निस्याङ गाउँपालिकामा विद्युत् पहुँच पुग्न सकेको छैन ।      गण्डकीमा विभिन्न १३ वटा वितरण केन्द्रमार्फत ११ जिल्लामा विद्युत् वितरण भइरहेको उल्लेख छ । गण्डकी प्रदेशमा आधारभूत खानेपानीमा पहुँच पुगेको जनसङख्या ९३ दशमलव ७५ प्रतिशत रहेको छ  । प्रदेश सरकारले घोषणा गरेको एक घर एक धारा कार्यक्रमअन्तर्गत हालसम्म ४२२ खानेपानी योजना सम्पन्न भएर ९३ हजार ८१८ घरधुरीमा निजी धारा जडान भई चार लाख ७१ हजार ६८२ जनसङ्ख्या लाभान्वित भएको तथ्याङ्कमा उल्लेख छ ।      यसैगरी प्रदेशमा कूल तीन लाख ७० हजार हेक्टर खेतीयोग्य जमिन रहेकामा दुई लाख ७२ हजार हेक्टरमात्र सिँचाइयोग्य रहेको छ । सिँचाइयोग्य जमिनमध्येमा हालसम्म एक लाख ३७ हजार ८५० हेक्टर जमिनमा सिँचाइ सुविधा पुगेको जनाइएको छ ।     प्रदेशमा हाल १४ दशमलव ९१ प्रतिशत जनसङ्ख्या निरपेक्ष गरिबीको रेखामुनि, २६ दशमलव एक प्रतिशत मानवीय गरिबीको रेखामुनि र १४ दशमलव एक प्रतिशत जनता बहुआयामिक गरिबीमा रहेको सर्वेक्षणमा उल्लेख छ ।