पोखरा:   गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले आफ्नो ७९ औं जन्मदिन ज्येष्ठ नागरिकलाई सम्मान गरेर मनाउनुभएको छ ।   पोखरा १७ सीतापाइला स्थित पोखरा वृद्धाश्रममा शनिबार बिहान पुगेर प्रदे...

  सुर्खेत :      कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा ‘पहिरो जोखिम प्रारम्भिक चेतावनी प्रणाली’सम्बन्धी प्रदेशस्तरीय छलफल गरिएको छ ।          स्टार्ट नेटवर्कको आर्थिक सहयोगमा प्लान इन्टरनेशनल नेपालद्वारा आज यहाँ आयोजित प्रदेशस्तरीय छलफलमा कर्णाली प्रदेशको पहिराको उच्च जोखिम रहेको कालीकोटको नरहरिनाथ गाउँपालिका केन्द्रबिन्दु बन्यो । छलफलमा स्टार्ट नेटवर्कका परियोजना संयोजक विजयराज पन्तले आफ्नो प्रस्तुति राख्दै नेपालमा मनसुन सुरु भइसकेकाले मनसुनजन्य विपद्बाट कर्णाली तथा सुदूरपश्चिम नेपालका बस्ती बढी खतरामा रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “नेपालमा पहिरो खस्ने सबैभन्दा प्रमुख र बारम्बार दोहोरिने खतरामध्ये एक हो, जसको परिणाम प्रायः विपद्का घटना हुने गर्दछन् । वर्षाले हुने अधिकांश पहिरो मनसुनको समय जुन महिनादेखि सेप्टेम्बरसम्म जाने गर्छ । वर्षाको ढाँचामा परिवर्तन, भारी वर्षाको बढ्दो तीव्रता तथा आवृत्तिले गर्दा समुदाय र घरपरिवारलाई नकारात्मक असर गरिरहेको छ ।”     प्लानले डिजिटल र मोबाइल एप्लिकेसन र वेब आधारित प्लेटफर्मको विकास गर्न थालेको संयोजक पन्तले बताउनुभयो । त्यस्तै अनुसन्धानकर्ता क्षितिज दाहालले पहिराको संवेदनशीलता मापन, पूर्वचेतावनीका लागि मोबाइल एप्सको प्रयोग र त्यसबाट प्राप्त हुने सूचना पाउने गरी एक हजार २०० घरधुरी सङ्ख्या भएको नरहरिनाथ गाउँपालिकामा परीक्षण परियोजना सुरु गर्न थालिएको बताउनुभयो ।          उहाँले परीक्षण परियोजनाअन्तर्गत पहिरो जोखिम प्रारम्भिक चेतावनी प्रणाली तथा वेब एप्लिकेशन समुदायमा आधारित, लैङ्गिक संवेदनशील, घरधुरीस्तरको विपद् पूर्वयारीका तथ्याङ्कलाई आधार मानी तयार गरिने जनाउनुभयो ।      अनुसन्धानकर्ता दाहालका अनुसार हरेक नागरिकलाई प्रविधिका माध्यमबाट पहिरोलगायतका विपद्को पूर्वजानकारी दिने गरी काम भइरहेको छ । हावापानी फिल्ड कार्यालय सुर्खेतका मेट्रोलोजिष्ट हिमाल शिवाकोटीले मनसुनजन्य विपद्बाट कर्णाली प्रदेशका ५५ हजार नागरिक प्रभावित हुनसक्ने तथ्याङ्क रहेको बताउनुभयो ।       उहाँले नागरिकको पूर्वचेतावनी तथा जानकारीका लागि सुर्खेतको रातानाङ्लामा नेपालकै पहिलो राडार निर्माण गरिएको जनाउनुभयो । “राडारले २०० किलोमिटर टाढाको मनसुनको स्क्यानिङ गर्छ”, मेट्रोलोजिष्ट शिवाकोटीले भन्नुभयो, “यसले वर्षा, बाढी, मौसमी आद्रताको पूर्वसूचना दिन्छ ।” कार्यक्रममा सहभागी सरोकारवालाले प्रविधिजन्य उपकरणको सहायताले पहिरोजन्यलगायतका विपद्को पूव जानकारी पाउन सकिने मानवीय तथा भौतिक क्षतिबाट बच्न सकिने तथा यसका लागि तीनै तहको सरकारले प्रतिकार्यको पूर्वतयारी गर्नुपर्नेमा जोड दिएका थिए । 

काठमाडौं:  पेट्रोलियम पदार्थको मुल्य फेरि वृद्धि भएको छ । नेपाल आयल निगमलाई  भारतीय आयल निगम (आईओसी) ले पठाएको नयाँ मूल्य सूचीअनुसार पेट्रोलको लागत लिटरमै २०९ रुपैयाँ २८ पैसा पुगेको हो । भने डिजेलको लागत मूल्य २०२ रुपैयाँ १६ पैसा पुगेको छ । यसैगरि अनुसार मट्टितेलमा १४७ रुपैयाँ ९९ पैसा पुगेको छ ।   खाना पकाउने ग्याँसको लागत २५ सय ५१ रुपैयाँ १५ पैसा पुगेको छ ।  बढेर आएको मूल्य अनुसार निगमले बजार मूल्य समायोजन गर्न बाँकी रहेको निगमले जनाएको छ ।   

पोखरा :    नाटक ‘केस नम्बर ३११’ मञ्चन तयारी पुरा भएको छ । पोखरा थिएटरको प्रस्तुतिमा तयार भएको यो नाटक असार ३ गते शुक्रबारबाट पोखरा ४ गैह्रापाटनमा रहेको गन्धर्व नाटकघरमा मञ्चन गरिनेछ । असार ११ गतेसम्म मञ्चन हुने नाटकको लेखन तथा निर्देशन पोखरा थिएटरको व्याच ४ र व्याच ५ का प्रशिक्षार्थीले गरेका छन् ।    सहजकर्ताको रुपमा पोखरा थिएटरका अध्यक्ष परिवर्तनले सघाउनुहुनेछ ।  नाटक बुधबार बाहेक हरेक दिन साँझ सवा पाँच बजे मञ्चन गरिनेछ । यसका अलावा शनिबार र आइतबार दिउँसो १ बजे समेत नाटक हेर्न पाइन्छ । यो नाटकको परिकल्पना दिव्य अमृत, दिप्सना विश्वकर्मा, सुशिल बरालले गर्नुभएको हो ।    त्यसो त पोखरा थिएटरले स्थापना कालदेखि विभिन्न प्रशिक्षण कार्यक्रम गर्दे आएको छ । हरेक वर्ष ब्याच कक्षाको नाममा ३ महिने अभिनय प्रशिक्षण कार्यक्रम तहाँ हुन्छ । यो प्रशिक्षण पाँचौ व्याचसम्म आइसकेको छ । यी प्रशिक्षण कार्यक्रममा सहभागी बनेका धेरैजना नेपाली रगंमञ्चमा क्रियाशिल छन् । यस्तैमा चौथो र पाँचौ व्याचको समायोजन गरेर यो नाटक तयार पारिएको हो ।   नाटकमा न्यायाधीशको भुमिकामा झलक थापा, इजलास अधिकृतको भुमिकामा सुशिल बराल र मनिषा के.सी, सरकारी वकिलको भुमिकामा अदित भुजेल र निजि वकिलको भुमिकामा एलिसा भोगले अभिनय गर्नुहुनेछ ।    यसैगरी कार्यालय सहयोगीको भुमिकामा गोपाल भुषाल, शिखाको भुमिकामा अनामिका रिजाल, जीवनको भुमिकामा प्रतीक राउत, रत्नाको भुमिकामा प्रतिभा रिमाल, छिमेकीको भुमिकामा पाल्मती थापा, प्रहरीको भुमिकामा कमल तामाङ, दिप्सना विश्वकर्मा र सुरज तिवारी तथा मनोचिकित्सको भुमिकामा दिव्य अमृतलाई हेर्न पाइनेछ । नाटकलाई ड्रामाटर्जी गर्न अधिवक्ता एवं लेखक दीपक पराजुलीले साथ दिनुभएको छ ।   हिंसाले पिडितमा पार्न सक्ने मानसिक असरलाई चित्रण गर्ने अभिप्रायले समसामयिक विषयमा नाटक तयार पार्न खोजेको निर्देशकत्रयको भनाई छ । नाटक हेरिसकेपछि महिला हिंसा र मनोविज्ञानका सम्बन्धमा नयाँ अवधारणा बन्ने उहाँहरुको आशा छ । पोखरा थिएटरमा पहिलो पटक इम्प्रोभाइजेस्नल विधिबाट नाटक तयार पारिएको उहाँहरुको दावी छ ।    तीन महिना लामो अभिनय प्रशिक्षण पश्चात् नाटक तयार हुन लागेको तथा नाटकले गम्भीर मानसिक स्वास्थ्यको विषयलाई उठान गरेको कारण दर्शकको माया पाउने सहजकर्ता एवं पोखरा थिएटरका अध्यक्ष परिवर्तनको विश्वास छ । ‘नाटकमा महिलामाथि हुने घटना र घटनाले पार्ने मानसिक असरलाई नयाँ तरिकाले प्रस्तुत गर्ने कोशिस गरेका छौं । यो नाटकले मूलतः डिसोसियटिभ आइडेन्टीटी डिसअर्डरको खोजि गर्न प्रेरित गरेको छ’ उहाँले भन्नुभयो ।    नाटकमा १९ वर्षिय शिखाले भोगेको हिंसा र हिंसाको कारण उत्पन्न मानसिक अवस्थालाई गहन ढंगले प्रस्तुत गरिनेछ । जसका कारण दर्शकले नयाँपन पाउने उहाँको भनाई छ । ‘हामीलाई समसामायिक विषयवस्तु माथि कम नाटक बनाइरहको आरोप लागिरहको बेला यस पटक हामीले समसामयिक विषयवस्तु माथि बोल्ने कोसिस गरेका छौं । आशा छ हाम्रो कोसिसमा यहाँहरुको साथ मिल्ने छ’ परिवर्तनले  थप्नुभयो ।   पोखरा थिएटरको प्रस्तुतिमा श्रावण दोस्रो सातादेखि कक्षा नौ को पाठ्यक्रममा समावेश ‘भविष्य निर्माण’ कथामा आधारित नाटक मञ्चन गर्ने समेत तय भएको थिएटरले जनाएको छ ।    

पोखरा :     पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा असार ४ गते शनिबार पोखरामा राष्ट्रिय साइक्लिङ प्रतियोगिता हुँदैछ । साइक्लिङ प्रवद्र्धन गर्ने उद्देश्यसहित साइक्लिङ संघ कास्की र साइकल सिटी पोखराको सहआयोजनामा प्रतियोगिता हुन लागेको हो ।    ४५ किलोमिटर दुरीको उक्त प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको समितिका सदस्य सचिव सुवास खड्काले जानकारी दिए । महिला र पुरुष गरी दुई विधामा प्रतियोगिता हुने उनले बताए ।    पोखरा १६ स्थित कालीखोलाको पुलबाट सुरु हुने प्रतियोगिता ¥यालेचौर, मौजा, आँटीघर, अर्मलाकोट, ढिकीडाँडालगायत ठाउँ हुँदै कालीखोलाको पुलमै आएर टुंगिने छ । प्रतियोगिता बिहान ७ बजेदेखि सुरु हुने समितिले जनाएको छ ।    प्रतियोगितामा सहभागी हुन ड्यामसाइडस्थित खेलकुद विकास समितिको कार्यालय, न्यूरोडस्थित साइकल ल्याण्ड, सिर्जना चोकस्थित चालिसे साइकल र पोखरा माउण्टेन बाइक एडभेन्चर हलनचोक आदिमा सम्पर्क गरी फारम भर्नुपर्ने छ । काठमाडौँमा साइक्लिष्ट उषा खनाललाई सम्पर्क गरेर पनि फारम भर्न सकिने आयोजकले जनाएको छ । तोकिएका स्थानबाट शुक्रबार दिउँसो २ बजेसम्म फारम भर्न सकिने सहआयोजक साइक्लिङ संघ कास्की अध्यक्ष शंकर भण्डारीले जानकारी दिए ।    प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः ३०, २० र १० हजार रुपैयाँ पुरस्कार, मेडल र प्रमाणपत्र पाउने छन् । साथै सहभागी सबैलाई मेडल र प्रमाणपत्र दिइने छ ।    खेलकुद विकास समिति अध्यक्ष दीपक गोदारले पछिल्लो समय साइक्लिङमा धेरैको रुचि बढेकाले यस प्रतियोगताले साइक्लिङलाई खेलकै रुपमा विकास गर्न थप सहयोग पुग्ने विश्वास व्यक्त गरे । यो पहिलो प्रयास भएको र आगामी वर्षमा विदेशी साइकलयात्रीलाई पनि सहभागी गराउने गरी तयारी गर्ने उनले बताए ।   

काठमाण्डौँ :    धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १२.५७ अङ्कले वृद्धि भई एक हजार ९७८.९४ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.९३ अङ्कले उकालो लागेर ३८१.८३ मा पुगेको छ । कूल २२१ कम्पनीको ३५ लाख ९४ हजार ५९४ कित्ता शेयर रु एक अर्ब १८ करोड ७१ लाख ४५ हजार ५१९ मूल्यमा खरिद बिक्री भए ।    कारोबार भएका कूल १३ उपसमूहमध्ये आज १२ उपसमूहको शेयर उकालो लाग्यो भने लगानी उपसमूहको शेयर मूल्य भने ओरालो लाग्यो । बैंकिङ ६.३८, व्यापार २३.५७, होटल तथा पर्यटन १२.२५, विकास बैंक २२.८, जलविद्युत् ८.५२, वित्त १४.०४, निर्जीवन बीमा ३४, उत्पादन २५.४१, अन्य ३६.६९, लघुवित्त ३९.१५, जीवन बीमा ५.०९ र सामूहिक लगानी कोष ०.१ अङ्कले उकालो लागेको छ । यस्तै, लगानी उपसमूह ०.०६ अङ्कले ओरालो लागेको छ ।           कारोबारका आधारमा आज नेपाल दूरसञ्चार कम्पनी शीर्ष स्थानमा छ । सो कम्पनीले रु १३ करोड ८८ लाख ९७ हजार १५१ बराबरको कारोबार गर्यो । त्यस्तै, एनसिसी बैंक रु १० करोड ३५ लाख चार हजार ७१५, सिभिल बैंक रु चार करोड ७१ लाख १९ हजार ७८५, एनआइसी एशिया बैंक रु तीन करोड ५७ लाख २३ हजार ३८३ र नबिल बैंक रु दुई करोड ५० लाख ४६ हजार ३५२ बराबरको कारोबार भई शीर्ष पाँच स्थानमा रहे ।       नेप्सेका अनुसार आँधीखोला लघुवित्तको शेयर मूल्य १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो । रिभर फल्स पावर ९.९७, सामुदायिक लघुवित्त ९.९६, कालिका लघुवित्त ७.६९ र एनसिसी बैंकका लगानीकर्ताले ६.६५ प्रतिशतले कमाए । त्यस्तै, लुम्बिनी जनरल इन्स्योरेन्स ३.८०, राष्ट्र उत्थान लघुवित्त ३.४१, माउण्टेन इनर्जी नेपाल २.७२, कुमारी इक्विटी फण्ड २.१९ र हिमालयन पावर पार्टनर कम्पनीका लगानीकर्ता २.०६ प्रतिशतले ओरालो लागे ।

      काठमाण्डौँ :       काठेपुलबाट सेती नदीमा खसेर आज एक किशारीको मृत्यु भएको छ । मृत्यु हुनेमा डोटीको आर्दश गाउँपालिका–६ गिरीचौकाकी १७ वर्षीया ढुल्लु अधिकारी रहेकी छन् । उनको  सिगास गाउँपालिका–७ साङडा आउने क्रममा सेती नदीको पुलबाट खसेर मृत्यु भएको हो ।   अधिकारी रोपाइँका लागि सिगास–७ सङडा आउँदै गर्दा सेती नदीमा बनाइएको अस्थायी काठेपुलबाट लडेकी स्थानीय पदम खडायतले जानकारी दिनुभयो । सो स्थानमा रहेको झोलुङगे पुल गत कात्तिकमा भएको अविरल वर्षासँगै आएको बाढीले पुल बगाएपछि अस्थायी काठेपुल बनाइएको थियो ।   बाढीले बगाएको झोलुङ्गे पुल पुनःनिर्माण नहुँदा डोटी र बैतडीका सीमा क्षेत्रका नागरिक हाल अस्थायी  पुलबाटै आवतजावत गर्न बाध्य छन् ।

  भरतपुर :     निगुरो टिप्न गएकी युवतीको शव फेला परेको छ । भरतपुर महानगरपालिका–२७ की २३ वर्षीया रेखा बस्नेतको शव बाघले खाइरहेको अवस्था फेला परेको हो ।   बस्नेतको शरीरको भाग खाइरहेको अवस्थामा फेला परेपछि सो बाघलाई धपाउनका लागि नेपाली सेनाको टोलीले पाँच राउण्ड हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।    कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीका अनुसार बिहान ७ बजे निगुरो टिप्न गएकी बस्नेतलाई स्थानीय राधाकृष्ण सामुदायिक वनमा बाघले आक्रमण गरेको थियो । आक्रमण भएको स्थानभन्दा ३०० मिटर पश्चिममा टाउको र छातीको भाग खाइसकेको अवस्थामा बस्नेतको शव भेटिएको कार्यालयले जनाएको छ ।   चालु आर्थिक वर्षमा निकुञ्ज र राष्ट्रिय वन क्षेत्रमा बाघको आक्रमणमा परी १६ जनाले ज्यान गुमाएका छन् ।

  जुम्ला :     जुम्लाको सिँजा क्षेत्रमा पर्ने तीन स्थानीय तहका नागरिकको सहजताका लागि सिँजा गाउँपालिकाको नराकोटमा मालपोत र नापी कार्यालय स्थापना हुने भएको छ । हिमा, कनकासुन्दरी र सिँजा गाउँपालिकालाई समेट्न सो कार्यालय स्थापना गर्नका लागि पहल भइरहेको थियो ।    ती तीन गाउँपालिकाका सेवाग्राहीलाई सेवा लिन जिल्ला सदरमुकाममा जानुपर्ने अवस्था रहेको थियो ।  नराकोटमा मालपोत कार्यालय स्थापना गर्न निर्णय गरिएको सिँजा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले जानकारी दिनुभयो  ।    प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईँले सिँजाको नराकोट सुरक्षाको दृष्टिकोणले समेत ठिक भएको र नागरिकको लामो समयदेखि माग भएको बताउनुभयो । कनकासुन्दरी गाउँपालिका अध्यक्ष दामोदर आचार्यले नराकोटमा ठिक भए पनि हरेक पालिकामा मालपोत र नापी सेवा आवश्यक छ भन्नुभयो ।    जिल्ला समन्वय समितिका संयोजक गौरीनन्द आचार्यले पदवहाली भएकै दिन जिल्लाका लागि सिँजामा मालमोत कार्यालयका लागि निर्णय गर्न पाउँदा खुसी लागेको बताउनुभयो ।

बैतडी :      जिल्लाका चार स्थानीय तहका घरपालुवा पशुमा खोरेत रोगको समस्या देखा परेको छ । भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाटनका प्रमुख गुमानीदत्त पन्तका अनुसार पाटन नगरपालिका वडा नं ५, दशरथचन्द नगरपालिका वडा नं ७, मेलौली नगरपालिका वडा नं २ र पञ्चेश्वर गाउँपालिका वडा नं ५ र ६ मा घरपालुवा पशुमा खोरेत रोगको समस्या देखिएको हो । उहाँले भन्नुभयो, “गाई, भैँसी, गोरु, बाख्रालगायतका घरपालुवा जनावरमा खोरेत रोगको समस्या देखिएको छ, रोगका कारण घरपालुवा पशु मर्नेसमेत गरेका छन् ।”   रोग देखापरेका ठाउँमा खोरेतविरुद्धको खोप अभियानसमेत सञ्चालन गरिएको छ ।  अहिले गाउँगाउँमा पुगेर प्राविधिकले खोप लगाउन थालिएको केन्द्रले जनाएको छ । रोगको समस्या देखिएको ठाउँमा अन्य पशुलाई रोग नलागोस् भनेर खोप दिइने गरिन्छ । केन्द्रले खोरेत रोगविरुद्ध खोप निःशुल्क उपलब्ध गराएको छ भने सम्बन्धित पालिकाका प्राविधिकले खोप लगाउने काम गरिरहेका छन् ।    पशुहरूमा खोरेत रोग देखिएमा मुखमा घाउ हुने, खुट्टाको काप र खुरमा घाउ हुने , हिँड्न नसक्ने, जिब्रोमा समेत असर हुनेलगायतका लक्षण देखा पर्दछन् । रोग लागिसकेपछि निको हुने सम्भावना कम हुने गरेकाले गोठ सफा राख्ने, सरसफाइमा विशेष ध्यान दिन किसानलाई सुझाव दिइएको छ ।