कैलाली : कैलालीको टीकापुरमा हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा टीकापुर नगरपालिका–१ ब्लक नं १५ की ५० वर्षीया टङ्क सोडारी रहेका इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ । कर्णाली नदी किनार सनकट्टीघाटमा शनिबार साँझ जङ्गलबाट निस्केका दुईवटा हात्तीले सोही नदीमा भइरहेको तटबन्धमा मजदुरी गरेर घर फर्किरहेका सोडारीलाई आक्रमण गरेको प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले बताउनुभयो । नदी किनारमा तटबन्धका लागि अन्य तीन महिला ढुङ्गा सङ्कलन गरिरहेका थिए । एक्कासी दुईवटा हात्ती नजिकै देखेपछि दुई महिला भागे पनि सोडारीलाई हात्तीले लछारपछार गरी, खुट्टा भाँचेर मारेको प्रत्यक्षदर्शीले बताएको प्रहरीले जनाएकोे छ । पछिल्लो समय कैलाली, बर्दिया जिल्लामा जङ्गली जनावरको आक्रमण बढ्दै गएको छ । यसबाट जङ्गल आसपासमा भएका क्षेत्रमा बर्सेनि दर्जनौँ मानिसको ज्यान जाने गरेको छ ।
रुकुमपश्चिम : रुकुमपश्चिम आठबिसकोट नगरपालिका–११ चिसापनी नजिकै राडीबाट रिम्नातर्फ जाँदै गरेको ग१ज १८९७ नंको जिप दुर्घटना हुँदा चालक र सहचालक दुवैको घटनास्थलमै मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय आठबिसकोटका अनुसार शनिबार साँझ भएको सो दुर्घटनामा मृत्यु हुनेमा चालक बाँफिकोट गाउँपालिका–८ दुलिका कविराम विक र सहचालक मुसिकोट नगरपालिका–११ का कमल खड्का छन् । जिपमा चालक र सहचालक मात्र रहेको जनाइएको छ । प्रहरीका अनुसार जिप अनियन्त्रित भई भेरी नदीमा खसेको हो ।
पोखरा : नेपाली भाषा शिक्षक परिषद् कास्कीको आयोजनामा पोखरामा एकदिने प्रबोधीकरण कार्यक्रम सम्पन्न भएको छ । परिवर्तित पाठ्यक्रम तथा पाठ्यपुस्तकसम्बन्धी प्रबोधीकरण कार्यक्रममा पाठ्यक्रम विकास केन्द्रका नेपाली विषय विज्ञ पाठ्यक्रम अधिकृत इन्दु खनालले कक्षा ९ र कक्षा ७ को हालै परिवर्तित नेपाली विषयको पाठ्यक्रमबारे सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा पोखरा महानगरका शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्यले पाठ्यक्रमलाई आधार मानेर अध्यापन गर्न आग्रह गर्दै शिक्षक निर्देशिका, विशिष्टिकरण तालिका र पाठ्य घण्टाको सही प्रयोगले नै सिकाइ उपलब्धि हासिल गर्न सकिने बताउनुभयो । परिषद्का अध्यक्ष डिल्लीराम अर्यालले प्रबोधीकरणले शिक्षण सिकाइलाई प्रभावकारी बनाउने विश्वास व्यक्त गर्नुभयो । परिषद्का सल्लाहकारहरू सहप्राध्यापक पुण्यप्रसाद शर्मा, ग्लोबल कलिजियटका प्राचार्य बाबुराम पन्त, परिषद्का पूर्वअध्यक्ष लोकचन्द्र खनाल, डोलराज अर्याल, सल्लाहकार दिनेश सापकोटा, परिषद्का सचिव सूर्यप्रसाद लम्साल, उपाध्यक्ष विक्रम पौडेल, कार्यक्रम संयोजक शिवहरि सुवेदीलगायतले प्रवोधीकरणको आवश्यकता र महत्वलगायतमा बोल्नुभएको थियो । कार्यक्रममा २०० बढी नेपाली भाषा शिक्षकको सहभागिता थियो ।
पोखरा : प्राज्ञिक विद्यार्थी परिषद् नेपाल , पृथ्वीनारायण क्याम्पस इकाई समितीले आफ्नो एक दिवसीय अभ्यास वर्ग कार्यक्रम सम्पन् गरेको छ । पृथ्वी नारायण क्याम्पसमा भएको सो कार्यक्रम वर्तमान समयमा राष्ट्रको लागि युवाको भूमिका भन्ने मूल विषयका साथ भएको थियो । कार्यक्रममा युवाहरुको भुमिकालाई समेट्दै राष्ट्र निमार्णमा रहने भुमिकाहरु समेटिएको थियो । कार्यक्रममा प्रमुख अतिथी रहनु भएका पृथ्वीनारायण क्याम्पसका उप प्रध्यापक शोभाकान्त गौतमले आफ्नो भनाई राख्नुहुदै भने , ‘ राष्ट्र निर्माणका लागि युवाको भूमिका एकदमै महत्वपूर्ण रहन्छ , युवानै वर्तमान र भविष्य दुवै हो ।’ गौतमले युवाको परिचय जोड्दै पूरुषार्थ (धर्म, अर्थ, काम, मोक्ष ) हरेक मानिसमा हुनू पर्ने बताए । साथै परिषद् नेपाल गण्डकी प्रदेश उपाध्यक्ष दिपक रेग्मीले कार्यक्रममा उपस्थित सम्पूर्ण कार्यकर्ताहरूलाई शुभकामना दिए । प्राज्ञिक विद्यार्थी परिषद् नेपालको अर्की राष्ट्रिय सह छात्रा प्रमुख सृष्टि जोशीले वर्तमान समयमा विश्वविद्यालयमा भइरहेको दलगत राजनीति यसको प्रभाव र यसको नियन्त्रण सम्बन्धि प्रस्टाउदैँ राष्ट्रिय स्थरमा विद्यार्थी परिषद् को भुमिकालाई दर्शाए । ५० जना कार्यकर्ताहरुको सहभागितामा भएका यस कार्यक्रममा २५ जनाको नयाँ क्याम्पस इकाई समिति गठन भयो । कार्यक्रम सञ्चालन पीएन क्याम्पस इकाई समिति नवगठित सचिव आशा माया मगरले गरेका थिए ।
काठमाडौं : काठमाडौंकी प्रियंका रानी जोशीले यसवर्षको मिस नेपाल वर्ल्डको उपाधि जितेकी छिन् । ललितपुर गोदावरीको नवनिर्मित सनराइज कन्भेन्सन सेन्टरमा शनिबार सम्पन्न ग्रान्ड फिनालेमा उनले उपाधि जितिन् ।उनलाई मिस नेपाल नम्रता श्रेष्ठले ताज पहिर्याइदिइन् । त्यस्तै सरिशा श्रेष्ठ मिस नेपाल अर्थ र न्यान्सी खड्का मिस नेपाल इन्टरनेशनल घोषित भए साथै फिनालीमा २४ जनाले प्रतिस्पर्धा गरेका थिए । विभिन्न ९ वटा सब–टाइटलमा विजेता पनि घोषणा गरिएको थियो । कोभिड (१९ महामारी) ले अघिल्ला दुईवर्ष स्थगित भएको मिस नेपाल यसपटक भौतिकरुपमै सम्पन्न भएको हो । द हिडन ट्रेजरले प्रतियोगिता आयोजना गरेको हो ।
पोखरा : पोखरा राष्ट्रिय साइक्लिङ प्रतियोगितामा पुरुषतर्फ हिमाल टमाटा र महिलातर्फ उषा खनाल विजयी भएका छन् । पोखरा महानगर खेलकुद विकास समितिको आयोजना, साइकल सिटी पोखरा र साइक्लिङ संघ कास्कीको सहआयोजनामा पोखरामा शनिबार भएको ४५ किलोमिटरको प्रतियोगितामा नेपाल आर्मीका टमाटा र गोरखाकी उषा प्रथम भएका हुन् । २ घण्टा ३४ मिनेट १० सेकेण्डमा निर्धारित दुरी पार गर्दै टमाटा पुरुषतर्फ र सोही दुरी ३ घण्टा ८ मिनेट ४० सेकेण्डमा पार गर्दै महिलातर्फ उषा प्रथम भएको आयोजकले जनाएको छ । पुरुषतर्फ एपीएफका लक्ष्मण मल्ल द्वितीय र कास्कीका हिक्मत विक तृतीय भएको आयोजक खेलकुद विकास समितिका सदस्य सचिव सुवास खड्काले जानकारी दिए । मल्ले २ घण्टा ३७ मिनेट ५० सेकेन्डमा र विकले २ घण्टा ४६ मिनेट ३९ सेकेण्डमा निर्धारित ४५ किलोमिटर दुरी पार गरे । महिलातर्फ नुवाकोटकी लक्ष्मी मगर द्वितीय र धरानकी इन्द्रकुमारी तामाङ तृतीय भए । मगरले ३ घण्टा ३३ मिनेट ७ सेकेण्ड र तामाङले ४ घण्टा ५ मिनेट ३ सेकेण्डमा ४५ किलोमिटर पुरा गरेका हुन् । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः ३०, २० र १० हजार रुपैयाँ पुरस्कार, मेडल र प्रमाणपत्र पाएका छन् । सहभागी सबैलाई मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । प्रतियोगितामा पोखरा, काठमाडौँ, गोरखा, बुटवललगायत ठाउँका ८१ खेलाडी सहभागी थिए । पुरुष ७६ जना र महिला ५ जना प्रतियोगितामा सहभागी भएको सहआयोजक साइक्लिङ संघ कास्कीका अध्यक्ष शंकर भण्डारीले जानकारी दिए । पोखरा १६ स्थित कालीखोलाको पुलबाट सुरु भएको प्रतियोगिता ¥यालेचौर, मौजा, आँटीघर, अर्मलाकोट, ढिकीडाँडालगायत ठाउँ हुँदै कालीखोलाको पुलमै पुगेर सकिएको थियो । प्रतियोगिताको उद्घाटन गर्दै पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले आउँदो बजेटमा खेलकुद प्रवद्र्धन गर्न सक्ने गरी रकम विनियोजन गर्ने प्रतिबद्धता जनाए । विभिन्न पेसा व्यवसायमा आवद्ध व्यक्तिलाई एकै ठाउँमा उभ्याउने भएकाले खेलकुद एकताको प्रतिक भएको उनले बताए । ‘देशमा सबै कुरा विभाजित छन् । तर, खेलकुदले विभिन्न ठाउँमा रहेकालाई एकै ठाउँमा ल्याउँछ,’ मेयर आचार्यले भने, ‘खेलकुद प्रवद्र्धन र खेलाडी उत्पादनमा हामी जोड दिन्छौँ ।’ महानगर खेलकुद विकास समिति अध्यक्ष दीपक गोदारले पहिलोपटक साइक्लिङ प्रतियोगिता आयोजना गरेको र निरन्तरता दिने बताए । पोखरामा साइक्लिङको सम्भावना भएको र स्वास्थ्यका लागि पनि राम्रो हुने भएकाले साइक्लिङ प्रवद्र्धनमा जोड दिने उनको भनाइ थियो ।
बैतडी : बैतडीमा पाठ्यपुस्तक अभाव भएको छ । गत जेठ १ गतेदेखि नै नयाँ शैक्षिकसत्र सुरु भइसकेको भए पनि एक महिना बढी भइसक्दासमेत पाठ्यपुस्तक पुग्न सकेको छैन । बैतडीका सामुदायिक विद्यालयका लागि ८३ हजार पाठ्यपुस्तक आवश्यक भए पनि अहिलेसम्म ५० हजार मात्रै जिल्लामा पुगेका छन् । सबै पुस्तक नपुग्दा पठनपाठनमा समस्या भएको छ । विद्यार्थीसित विनापुस्तक पढाई गर्नुपर्ने बाध्यता छ । विद्यालय खुलेको एक महिना भएको भए पनि अझै पनि पाठ्यपुस्तकको अभाव रहेको सनातन धर्म मावि श्रीकोटका प्रधानाध्यापक बलदेव नाथले बताउनुभयो । नयाँ शैक्षिकसत्रको पढाइ सञ्चालनमा रहेको भए पनि सबै पाठ्यपुस्तक नपुग्दा समस्या भएको छ । उहाँले भन्नुभयो, “विद्यार्थी सङ्ख्याका आधारमा पाठ्यपुस्तक पुगेका छैनन्, पाठ्यक्रम हेरेर पठाउनुपर्ने बाध्यता छ ।” स्थानीय निर्वाचनका कारण पाठ्यपुस्तक छपाइमा ढिलाइ भएको जानकारी आएको र केही दिनमै जिल्लामा पाठ्यपुस्तक पुग्ने शिक्षा विकास तथा समन्वय इकाइ बैतडीका प्रमुख नरेन्द्रप्रसाद अवस्थीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “कक्षा ७ र ९ को सबै पुस्तक अभाव छ, बाँकी पनि विद्यार्थी सङ्ख्याका आधारमा आइपुगेको छैन । पाठ्यक्रम हेरेर पठनपाठन सञ्चालन गर्नुस् भनेर विद्यालयलाई भनेका छौँ ।” बैतडीमा ५४० सामुदायिक विद्यालय छन् ।
म्याग्दी : मनसुन चाँडै सुरु भएर वर्षा हुन थालेपछि हिमाली जिल्ला म्याग्दीको लेकाली क्षेत्रमा धान रोपाइँ सुरु भएको छ । जिल्लाका मालिका, मङ्गला, रघुगङ्गा, अन्नपूर्ण, धौलागिरि गाउँपालिकाका सबै ठाउँमा र बेनी नगरपालिकाका ज्यामरुककोट, गौश्वारा, बिमिराबोट, तमाने, भकिम्ली, पुलाचौर, घतानलगायत ठाउँमा यतिखेर धान रोपाइँ सुरु भएको हो । रासायनिक मल नपाएपछि मकै बालीमा पनि मल नहालेका यहाँका किसान धानखेतीका लागि नभई नहुने रासायनिक मल नपाइँदा विनामल खेत रोप्न बाध्य भएका हुन् ।“पानी परेर खेतका गरा भरिएका छन्, ब्याडमा बीउ बढेर घाँस बन्न थालेको छ, मल पाइन्छ कि भनेर केही दिन कुरेका हौँ”, अहिलेसम्म पनि मल नपाइएपछि विनामल नै रोपाइँ सुरु गरेका छौँ”, बेनी नगरपालिका–२ सानालेखका नारायण सापकोटाले भन्नुभयो । विगतका वर्षमा असारको पहिलो सातापछि मात्रै रोपाइँ सुरु हुने र असारको १५ ताका किसानलाई चटारो पर्ने भए पनि यस वर्ष छिटो पानी परेकाले रोपाइँ सुरु गरिएको स्थानीय किसानको भनाइ छ ।पानीको समस्या नभएपछि विनामल नै किसानले रोपाइँ गरेका हुन् । कतिपय किसानले त धानको बीउ छोटो भए पनि रोपाइँ सुरु गरेका छन् । उनीहरुका अनुसार खेतमा हाल्ने मल छैन, काम गर्ने जनशक्ति पनि छैन, यस्तो अवस्थामा पनि धान रोप्नै प¥यो, मल नपाए यस वर्ष उत्पादन घट्ने चिन्तामा किसान छन् । “समयमै पानी परेकाले रासायनिक मल पाइए यस वर्ष धानको उत्पादन बढ्ने थियो तर मलविना नै खेती गरेका छौँ, धानबाली पनि मकै बालीजस्तै हुने हो कि भन्ने चिन्ता छ”, पाखुका कृषक भविलाल घिमिरेले बताउनुभयो । उहाँका अनुसार मकैबाली लगाएपछि एकपटक पनि रासायनिक मल नहाल्दा घोगा लाग्नै सकेको छैन, लागेको घोगामा पनि दाना पसेको छैन । त्यसैगरी रोपाइँका लागि कृषि मजदुरको पनि समस्या देखिएको किसानले बताएका छन् । खेतमा काम गर्ने रोपार र लाठे नपाउँदा कतिपय किसान घरमा भएकै जनशक्तिले धान रोपाइँमा जुटेका छन् । रोपाइँमा लाग्ने जनशक्ति नहुँदा खेतमा भरिएको पानी सुक्ला भन्ने डर र चिन्ताले किसानलाई सताएको छ । कृषि प्राविधिक जगत बानियाँले पछिल्लो समय खेतमा काम गर्ने जनशक्ति नहुँदा किसानलाई समस्या परेको बताउनुभयो । किसानले यस वर्ष धान रोपाइँ छिटो भएकामा खुसी भए पनि मल नपाउँदा भने दुःख लागेको भन्दै सरकारलाई जतिसक्दो छिटो मल उपलब्ध गराइदिन माग गरेका छन् ।
पर्सा : बिलबिजकभन्दा बढी मूल्यको सामग्री लोड गरिएको अवस्थामा पर्सा प्रहरीको टोलीले एउटा ट्रक नियन्त्रणमा लिइ आवश्यक कारवाहीका लागि पथलैयास्थित राजस्व अनुसन्धान कार्यालयमा बुझाएको छ । ट्रकमा रहेका सामानको रु ६६ लाख ८८ हजार २४२ मूल्याङ्कन गरी कारवाहीका लागि राजस्व अनुसन्धान कार्यालय पठाइएको पर्सा जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रमेश बस्नेतले जानकारी दिनुभयो । विशेष सूचनाका आधारमा बिलभन्दा बढी मूल्य बराबरको विभिन्न किसिमका मेडिकल तथा खुद्रा सामान लोड गरिएको ना ५ख ९६७५ नंको ट्रक प्रहरीले वीरगञ्जबाट नियन्त्रणमा लिएको थियो ।