काठमाण्डौँ : मलामी बोकेर मैदीतर्फ जाँदै गरेको स्वराज गाडी आज मैदीभन्ज्याङमा दुर्घटना हुँदा २६ जना घाइते भएका छन् । स्वराज ट्रकको पछाडि बसेका मलामी घरतर्फ जाँदै थिए । सोही अवस्थामा दुर्घटना भएको हो । बा४ख १२२९ नंको गाडि नीलकण्ठ नगरपालिका–८ मैदीभज्याङमा दुर्घटना भएपछि प्रहरी र स्थानीयवासीले उद्धार गरी अस्पताल पठाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीले बताउनुभयो । दुर्घटनामा घाइते भएका पाँच जनाको काठमाडौँस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ । छ जनाको धादिङ अस्पतालमा उपचार भइरहेको छ भने १५ जनाको सामान्य उपचारपछि घर फर्किएका छन् । दुर्घटनापछि सवारी चालकलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
कालीकोट : कालीकोट जिल्लाको नरहरिनाथ गाउँपालिका– ८ र ९ मा गत जेठ २५ र २६ गते परेको अविरल वर्षाले चल अचल सम्पति, अन्नबाली र पशु चौपयामा पुर्याएको क्षतिको विवरण सङ्कलन गरिएको छ । खुलालु प्रहरी चौकीका वरिष्ठ हवल्दारलगायत सुरक्षाकर्मीको टोली र जनप्रतिनिधिले स्थानीय पीडितको समन्वयमा प्रत्यक्ष अवलोकन गरी विवरण सङ्कलन गरेको वडा नं ९ का वडाध्यक्ष प्रदीप बोहोराले जानकारी दिनुभयो । “मानवीय क्षति केही नभए पनि भौतिकरुपमा र पशु चौपायाको ठूलो क्षति भएको छ”, उहाँले भन्नुभयो, “२५ र २६ गते परेको अविरल वर्षासँगै आएको बाढीले हालसम्म १५ वटा घर उच्च जोखिममा पुर्याउनाका साथै दुई पक्की पुल, छ वटा बाख्रा र एक भैँसी बगाएको छ ।” प्रत्येक बस्तीमा खोला फर्किएर आइ बस्तीलाई जोखिममा पुर्याएको, गाउँको पुरै मकैबाली बालुवामा परिणत भएको र खेतको धानको बीउ पनि पुरेको उहाँले जानकारी दिनुभयो । क्षतिको सम्पूर्ण विवरण सङ्कलन गरी विपद् न्यूनीकरणका लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको वडा नं ८का वडाध्यक्ष प्रदीप बोहोराले जानकारी दिनुभयो ।
काठमाण्डौँ : दुबईका राजकुमार शेख मोहम्मद माक्तुम जुमा ला माक्तुम तीनदिने नेपाल भ्रमणका लागि आज नेपाल आउनुभएको छ । उहाँ पूर्वाञ्चल क्यान्सर अस्पतालमा राखिएको पेटको सिटिस्क्यान उपकरण शुभारम्भ गर्न आजै झापा पुग्नुभएको छ ।
काठमाण्डौँ : सङ्घीय सरकारले जिल्लाका पाँच सडकलाई प्राथमिकता दिएको छ । आगामी आर्थिक वर्षमा काम सक्नेगरीे सरकारले वैकल्पिक सहायक राजमार्ग विकास कार्यक्रमअन्तर्गत पाँच सडकका लागि बजेट विनियोजन गरेको हो । जिल्लाको पाटन–कैलपाल–देवल सडकका लागि रु ५० लाख, धामीगाउँ–बाइम–मनकुडा–पुर्चौंडी सडकका लागि रु ५० लाख, देउझाडी–नगराउँ–धामीगाउँ–डिलाशैनी सडकका लागि रु ५० लाख, सकार–बयलचौर–पाटन सडकका लागि रु ५० लाख र सतबाँझ–श्रीभावर सडकका लागि रु एक करोड बजेट विनियोजन गरिएको हो । सङ्घीय सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमार्फत यी सडक निर्माण गरिने बताइएको छ । यसअघि सङ्घीय सरकारको अन्तरसरकारी वित्तीय हस्तान्तरणअन्तर्गत बैतडीका लागि पनि बजेट विनियोजन भएको थियो । पाटन नगरपालिकाका लागि रु ४९ करोड ३६ लाख, दशरथचन्द नगरपालिकाका लागि रु ४७ करोड २९ लाख, पुर्चौंडी नगरपालिकाका लागि रु ४८ करोड ४९ लाख र मेलौली नगरपालिकाका लागि रु ३८ करोड १५ लाख बजेट विनियोजन गरिएको छ । यस्तै गाउँपालिकामा सबैभन्दा बढी दोगडाकेदारका लागि रु ३८ करोड ९० लाख, डिलाशैनीका लागि रु ३६ करोड ४४ लाख, पञ्चेश्वरका लागि रु ३० करोड ८४ लाख, सिगासका लागि रु ३२ करोड ३७ लाख, सुर्नयाका लागि रु ३२ करोड ४० लाख र शिवनाथका लागि रु २५ करोड ९९ लाख विनियोजन गरिएको छ । जिल्लामा छ गाउँपालिका र चार नगरपालिका गरी १० स्थानीय तह छन् ।
बैतडी : सातौँ राष्ट्रिय कृषि गणना कार्यक्रमअन्तर्गत बैतडीका २५ हजार बढी परिवारको लगत सङ्कलन गरिएको छ । जिल्ला कृषि गणना कार्यालयका प्रमुख सुरेन्द्रप्रसाद पन्तका अनुसार १४४ क्षेत्रका २५ हजार ५७१ परिवारको लगत सङ्कलन गरिएको हो । गत वैशाख ६ गतेदेखि ४५ दिनसम्म गणक र सुपरिवेक्षक घरघरमा पुगेर लगत सङ्कलन गरेका थिए । उनीहरुले सङ्कलन गरेको तथ्याङ्क स्थलगत र जाँचबुझको कार्य सकिएको पन्तले बताउनुभयो । उहाँले भन्नुभयो, “गणक र सुपरिवेक्षकले गरेको तथ्याङ्क सङ्कलन र त्यसपश्चात् स्थलगत कार्य सकेर छुटफुट केही भए त्यसको जाँचबुझ गरेर केन्द्रीय तथ्याङ्क विभागमा पठाइसकेको छौँ ।” गणनाका क्रममा कृषकले भोगचलन गरेको जग्गाको आकार, जग्गाको उपभोग र उपयोग बाली लागेको जग्गाको क्षेत्रफल, मुख्य बालीको उत्पादन र सिँचाइको विवरण लिइएको छ । यस्तै कृषि सामग्री र औजारको उपयोग, पशुपन्छीको सङ्ख्या, आहारसम्बन्धी विवरण, कृषि कार्यमा संलग्न जनशक्ति, लिङ्गका आधारमा कृषि जग्गाको स्वामित्वको अवस्थाबारे गणकले तथ्याङ्क सङ्कलन गरिएको छ । कृषि वन, कृषि ऋण, बिमा अनुदान, कृषि कार्यमा जलवायु परिवर्तनका प्रभाव, हरितगृह पद्धतिको प्रयोग माटो परीक्षण कृषि बजारसम्मको पहुँच, कृषि अवशेष र फोहोरको व्यवस्थापनजस्ता विषयमा तथ्याङ्क सङ्कलन गरिएको कार्यालयले जनाएको छ । कार्यालय प्रमुख पन्तका अनुसार सबैभन्दा बढी डिलाशैनी गाउँपालिकाका १७ स्थानमा कृषि गणना भएको छ । दोगडाकेदार गाउँपालिका, पुचौडी, दशरथचन्द, पाटन नगरपालिकाका १६, मेलौली नगरपालिका र सिगास गाउँपालिकाका १५, सुर्नया, पञ्चेश्वर गाउँपालिकाका १२ र शिवनाथ गाउँपालिकाका नौ स्थानमा गणना कार्य भएको हो । गणनाअन्तर्गत जिल्लामा १४४ क्षेत्रमा कृषि गणना गरिने भएको छ । जिल्लामा दश स्थानीय तहमा रहेका ८४ वटै वडाका १४४ क्षेत्रमा गणना गरिएको जिल्ला कृषिगणना कार्यालयले जनाएको छ । गणनाका लागि बैतडीमा १४ सुपरीवेक्षक र ५४ गणक गरेर ६८ जनाको जनशक्ति परिचालन गरिएका थिए । बैतडीमा चैत १ गतेबाट जिल्ला सदरमुकाममा जिल्ला कृषि गणना कार्यालयको स्थापना गरेर काम सुरु भएको थियो । नेपालमा २०१८ सालदेखि प्रत्येक दश वर्षमा कृषि गणना हुँदै आएको छ ।
बुटवल: पौडी खेल्ने क्रममा स्विमिङ पुलमा डुबेर भैरहवामा एक युवकको मृत्यु भएको छ । होटल पौवाको स्विमिङ पुलमा डुबेर सिद्धार्थनगर नगरपालिका ६ का २७ वर्षीय सुमित तुलाधरको मृत्यु भएको हो । शुक्रबार सांझ साथीहरूसँगै पौडी खेल्न होटल पौवा पुगेका तुलाधर स्विमिङ्ग पुलमै बेहोस भएपछि उद्धार गरी अस्पताल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको रुपन्देही प्रहरीले बताएको हो । यसअघि जेठ ३१ गते रुपन्देहीकै तिलोत्तमा नगरपालिका-३ स्थित बीग चियर रिसोर्टको स्विमिङ्ग पुलमा पौडी खेल्ने क्रममा डुबेर बेहोस भएका तिलोत्तमा-१ शंकरनगरका ३० वर्षीय सन्दीप पौड्याल मृत्यु भएको थियो ।
काठमाण्डौँ : यातायात व्यवस्था कार्यालयबाटै सवारी ट्रायल सेन्टरको अनुगमन गर्ने व्यवस्था गरिएको छ । यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र बागमती ललितपुरले एकान्तकुनामा हुने सवारी चालक अनुमतिपत्रको ट्रायल परीक्षा कार्यालयबाटै सिसीटिभीमार्फत अनुगमन गर्ने व्यवस्था गरेको हो । कार्यालयका प्रमुख अच्युतराज रेग्मीले सवारी चालक अनुमतिपत्रको ट्रायल परीक्षालाई थप मर्यादित र पारदर्शी बनाउनका लागि कार्यालयबाटै ट्रायल सेन्टरको अनुगमनको व्यवस्था गरिएको जानकारी दिनुभयो । “यसअघि ट्रायल सेन्टरबाट मात्र अनुगमन गर्ने व्यवस्था थियो, अहिले कार्यालयबाटै अनुगमन गर्ने व्यवस्था गरेका छौँ, यसले सेवा प्रवाहमा सहज भएको छ”, उहाँले भन्नुभयो । उक्त कार्यालयले अहिले दैनिक एक हजार ५०० देखि दुई हजारसम्म सेवाग्राहीलाई सेवा प्रदान गर्दै आएको छ । सवारी अनुमति पत्रको दर्ता, नवीकरण र राजस्व सङ्कलन गर्दै आएको उक्त कार्यालयमा दैनिक भीडभाड हुँदै आएको छ । सवारी अनुमति पत्र वितरण गर्दा उक्त कार्यालयले नागरिकता, फोटो र प्रवेशपत्र भिडाएर दिने गरेको छ । सिसीटिभी जडान, नागरिकता, फोटो र प्रवेशपत्र भिडाएर सवारी अनुमति पत्र वितरण गरेसँगै रिजल्ट तोडमोड गर्ने परम्पराको अन्त्य भएको सो कार्यालयले जनाएको छ । यस्तै, सवारी साधन अनुमतिपत्रको ट्रायल परीक्षा दिने बित्तिकै पास फेल भएको नतिजालाई कार्यालयले तुरुन्तै वेबसाइटमा राख्दै आएको छ । जसका कारण आफू पास वा फेल भएको तत्कालै थाहा पाउन सकिन्छ । कार्यालय प्रमुख रेग्मीले भीडभाड हुने यातायात कार्यालयमा सेवाग्राहीको अनुपातमा कर्मचारी दरबन्दी कम भएको बताउनुभयो । उक्त कार्यालयमा हाल स्थायी ३४ र करारमा ११ कर्मचारी कार्यरत छन् । यस्तै कार्यालय सहयोगी १८ रहेका छन् । स्थायीमध्ये पनि १० कर्मचारी कार्यालयमा नभएको कारण काममा समेत समस्या हुने गरेको कार्यालय प्रमुख रेग्मीले बताउनुभयो । विगतमा बिग्रेका अभिलेखका कारण काममा समस्या भएको सो कार्यालयले जनाएको छ ।
काठमाण्डौँ : हाल देशका प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ । अन्य प्रदेशका भू–भागमा स्थानीय वायुको तथा भारतको उत्तर प्रदेश र विहारमा रहेकोे पूर्व–पश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको छ । उक्त मौसमी प्रणालीको प्रभावले प्रदेश १, मधेस र बागमती प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी भू–भागमा आंशिक बदली रहेको छ । प्रदेश १, मधेश र बागमती प्रदेशका थोरै स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । रातिको समयमा पनि सोही मौसमी प्रणाली कायम रहने जल तथा मौसम विज्ञान विभाग महाशाखाले जनाएको छ । राजधानी काठमाडौँमा बिहानैदेखि पारिलो घाम लागेको छ ।
काठमाडौं: पाँच वर्षदेखि १२ वर्ष मुनिका बालबालिकालाई लगाइने कोरोना भाइरस विरुद्धको खोपको प्रभावकारिता नेपालमा ९१ प्रतिशत रहेको छ । स्वास्थ्य सेवा विभाग र नेपाल स्वास्थ्य पत्रकार मञ्चले आज यहाँ आयोजना गरेको ‘कोभिड–१९ विरुद्धको भ्याक्सिन प्रवद्र्धन तथा रोकथाम नियन्त्रण’ सम्बन्धि अन्तरक्रियामा परिवार कल्याण महाशाखाका जनस्वास्थ्य अधिकृत सञ्जय महासेठले खोपको प्रभावकारिता ९१ प्रतिशत र सुरक्षित रहेको बताउनुभयो । सरकारले यही असार ९ गतेदेखि पाँचदेखि १२ वर्ष मुनिका ३९ लाख बालबालिकालाई कोरोना भाइरस विरुद्धको ‘फाइजर बायोएनटेक’ खोप लगाउन थालेको हो । विभागले खोप विद्यालयमा नै गएर लगाउने भएको छ । उहाँले खोप लगाउनका लागि खोप केन्द्रमा एक तालिम प्राप्त स्वास्थ्यकर्मी राख्ने जानकारीदिनुभयो । उहाँले खोप लगाएमा बालबालिका केही असर देखिने भएकाले खोप केन्द्रमा नै उपचारको व्यवस्था गरिएको बताउनुभयो । “खोप लगाएपछि बालबालिकामा केही असर देखिए हामी त्यही अनुसन्धान गर्दछाैँ” उहाँले भन्नुभयो, “असरलाई स्वास्थ्यकर्मीले उपचार गर्दछन् ।” खोप लगाएपछि टाउको दुख्ने, वाकवाकी लाग्ने, वान्ता हुने, सुइ लगाएको ठाउँ रातो हुने, शरीर चिलाउने, बिमिरा तथा डाबर आउनेजस्ता समस्या हुने गर्दछन् । सत्ताइस जिल्लामा असार ९ गतेदेखि १५ गतेसम्म पहिलो मात्रा र सोही समूहलाई साउन २ देखि ८ गतेसम्म दोस्रो मात्राको खोप दिइनेछ । यस्तै दोस्रो चरण ५० जिल्लामा भदौ ५ देखि ११ गतेसम्म पहिलो मात्रा र सोही समूहलाई दोस्रो मात्रा भदौ २७ देखि असोज १ गतेसम्म सञ्चालन गरिने छ । पाँच वर्षदेखि १२ वर्षमूनिका उमेरका विद्यालयले तयार गरेको कक्षागत सूची, नामावली, विद्यालयले उपलब्ध गराएको परिचयपत्रका आधारमा खोप लगाइने छ । यस्तै विद्यालयमा सूचीकृत नभएका बालबालिकाको हकमा उमेर खुल्ने परिचयपत्र वा निजको अभिभावकले स्वःघोषणा गरेको उमेर पुगेका बालबालिकालाई खोप लगाइनेछ । विभागका महानिर्देशक दीपेन्द्ररमण सिंहले खोप सुरक्षित र प्रभावकारिता रहेकाले सबै अभिभावकलाई आफ्ना बालबालिकालाई खोप लगाउन आग्रह गर्नुभयो । खोप एक स्थानीय तहलाई एकै चरणमा सम्पन्न गर्ने गरिने छ । खोप केन्द्र तोकिएका विद्यालय र अभियानको अन्तिम दिन सबै स्वास्थ्य संस्थामा खोप लगाइनेछ । परिवार कल्याण महाशाखाका निर्देशक डा विवेककुमार लाल विद्यालय बाहिर रहेका बालबालिकालाई पनि खोजी खोजी खोप लगाइने बताउनुभयो । खोप सरकारलाई कोभ्याक्सले निःशुल्क उपलब्ध गराएको हो । राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रका वरिष्ठ स्वास्थ्य शिक्षा प्रशासक डा भक्त केसीले खोपले बालबालिकाको रोग प्रतिरोधात्मक क्षमताको विकास गर्ने बताउनुभयो । खोप केन्द्रमा कम्तिमा एक जना खोप दिने स्वास्थ्यकर्मी र थप लक्षित सङ्ख्याको आधारमा स्वास्थ्यकर्मी तथा दुई जना स्वयंसेवक र प्रति २०० थप लक्षित सङ्ख्याको लागि थप एक जना स्वयंसेवक परिचालन गरिने छ । पहिलो चरणमा २७ जिल्लाका बालबालिकालाई खोप लगाइनेछ । प्रदेश–१ को झापा, इलाम, सुनसरी, मोरङ, मधेश प्रदेशको सप्तरी, सिराहा, धनुषा, महोत्तरी र पर्सा, बागमती प्रदेशको मकवानपुर, सिन्धुली, चितवन, काभ्रेपलानचोक, काठमाडौँ, भक्तपुर, र ललितपुरका विद्यालयका बालबालिकालाई खोप लगाइनेछ । गण्डकी प्रदेशको कास्की र नवलपरासी पूर्व, लुम्बिनी प्रदेशको नवलपरासी पश्चिम, रूपन्देही, दाङ, बाँके र बर्दिया, कर्णाली प्रदेशको सुर्खेत र सुदुरपश्चिम प्रदेशको कैलाली, कन्चनपुर र डडेलधुरामा खोप लगाइनेछ ।