पोखरा:   गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले आफ्नो ७९ औं जन्मदिन ज्येष्ठ नागरिकलाई सम्मान गरेर मनाउनुभएको छ ।   पोखरा १७ सीतापाइला स्थित पोखरा वृद्धाश्रममा शनिबार बिहान पुगेर प्रदे...

  बागलुङ :     बागलुङको धवलागिरि अस्पतालमा गर्मी लागेसँगै बिरामीको चाप ह्वात्तै बढेको छ ।  अहिले टोकन लिने, नाम लेखाउने, बिल काट्ने र चिकित्सकलाई भेट्न पालो कुर्नुपर्ने अवस्था छ ।   चाप बढेसँगै फार्मेसी र प्रयोगशालामा बिरामी लामो लाइन बस्नुपर्ने अवस्था छ । पछिल्लो सयम धवलागिरि अस्पतालमा सुधार भएको । अस्पतालमा टोकन प्रणाली राखिएको छ भने सरसफाइमा  ध्यान दिइएको छ । चिकित्सकको समस्या भने उस्तै छ ।   दरबन्दीका चिकित्सक नआउँदा करार र छात्रवृत्तिका चिकित्सकको भरमा अस्पताल चलेको छ । चिकित्सक अभावमा बिरामीले गुणस्तरीय सेवा पाउन सकेका छैनन् । अस्पतालमा दैनिक ३०० देखि ४०० बिरामी सेवा लिन आउने गरेका मेडिकल सुपरिटेण्डेन्ट डा शैलेन्द्र विक पोखरेलले जानकारी दिनुभयो । मौसममा आएको परिवर्तनका कारण बिरामीको सङ्ख्या बढेको उहाँको भनाइ छ ।    छाला सम्बन्धी, ज्वरो, झाडापखलालगायतका बिरामी बढेका छन् । “गर्मी बढेपछि बिरामीको सङ्ख्यामा वृद्धि भएको छ”, डा पोखरेलले भन्नुभयो, “अस्पतालबाट एकैपटक पाँच मेडिकल अधिकृतले छाडेर जानुभयो, सेवा दिन समस्या भइरहेको छ ।” एक मेडिकल सुपरिटेण्डेन्टसहित १६ विशेषज्ञ र ६ मेडिकल अधिकृतको दरबन्दी रहेको अस्पतालमा मेडिकल सुपरिटेण्डेन्ट बाहेक अन्य दरबन्दी रिक्त छ । करार र छात्रवृत्तिका चिकित्सकले सेवा दिइरहेका छन् ।    पाँच करारका मेडिकल अधिकृत, १० करार र छात्रवृत्तिका विशेषज्ञ चिकित्सक कार्यरत छन् । उनीहरुको सेवाअवधि सकिन लागेको अस्पतालले जनाएको छ । छात्रवृत्तिमा अध्ययन गरेका विशेषज्ञ चिकित्सकले दुई वर्ष दुर्गममा सेवा गर्नुपर्ने नियमानुसार आउने गर्छन् । चिकित्सकको माग गर्दै प्रदेश र सङ्घीय मन्त्रालय धाइरहेको पोखरेलले बताउनुभयो ।  

काठमाण्डौँ  ः      पनौती नगरपालिकाले बनेपा–पनौती सडक भएर आवातजावत गर्ने मालवाहक सवारीसाधनलाई अनिवार्यरूपमा भारमापन गर्न निर्देशन दिएको छ ।    मालवाहक सवारीसाधनका लागि नगरको ५ नं वडास्थित नैकिन्टार सडकमा भारमापन केन्द्र स्थापना गरिएको छ । जिल्लाका अन्य दुई स्थानमा समेत गत वर्ष पुसमा भारमापन केन्द्र स्थापना गरिएको थियो । पनौती नगरले भारमापन सेवाका लागि जिम्मेवारी लिएको ग्लोबल मेसिनरी एण्ड टेक्नोलोजी सर्भिसेज प्रालिलाई हाल भरमापन गर्न÷गराउनसमेत आग्रह गरेको छ ।     भारवहन नियमनसम्बन्धी निर्देशिका, २०७४ (संशोधनसहित)को व्यवस्था, यातायात विभागको पत्र र जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकद्वारा गत वर्ष फागुनमा जारी पत्रानुसार स्थानीय तहले हालैमात्रै भारमापन कार्यलाई कडाइ गरेको हो । सोही निर्देशिकाअनुसार विभागको अनुमतिमा जिल्लामा तौलपुल सञ्चालनमा ल्याइएको थियो ।    “दुर्घटना न्यूनीकरण तथा सडक सुरक्षाका लागि मालवाहक सवारीसाधनमा भारमापनमा कडाइ गर्नुपर्ने देखियो”, पनौती नगरपालिकाका प्रमुख प्रशासकीय प्रदीप पौडेलले भन्नुभयो । गत वर्ष पुसमा काभ्रेपलाञ्चोकको तीन स्थानमा तौलपुल सञ्चालनमा ल्याइएको थियो ।    बनेपा–पनौती सडकको नैकिन्टार, अरनिको राजमार्गअन्तर्गत पाँचखालस्थित केराघारी र बिपी राजमार्गको नमोबुद्ध नगरस्थित भकुण्डेमा तौलपुल स्थापना गरिएको छ । ग्लोबल मेसिनरी एण्ड टेक्नोलोजी सर्भिसेजले पाँचखाल र पनौतीमा तथा कोट कालिका मेसिनरी एण्ड टेक्नोलोजी सर्भिसेजले नमोबुद्धमा तौलपुल सञ्चालन गरेको होे ।   मालवाहक सवारीसाधनले इच्छाअनुसार मात्रै भारमापन गर्ने गरेको ग्लोबल मेसिनरी एण्ड टेक्नोलोजी सर्भिसेजका सरोज कुइँकेलले बताउनुभयो । उहाँका अनुसार सबै मालवाहक सवारीसाधनले भारमापन गर्ने हो भने सडक सुरक्षामा मद्दत पुग्नेछ । निर्देशिकाअनुसार ६ पाङ्ग्राभन्दा माथि क्षमताका मालवाहक सवारीसाधनले अनिवार्य भारमापन गर्नुपर्ने हुन्छ । तौलपुलमा भारमापन गरेवापत प्रतिसवारीसाधनले रु १५० तिर्नुपर्दछ ।   बनेपा–खोपासी सडक तथा अरनिको र बिपी राजमार्गमा दैनिक करिब दुई हजार मालवाहक सवारीसाधन चल्ने गर्छन् । मालवाहक सवारीसाधनले क्षमताभन्दा बढी भार बोक्दा पक्की सडकमा क्षति पुग्ने गरेको छ । 

   काठमाण्डौँ :        हाल प्रदेश नं १, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ । अन्य प्रदेशका भू–भागमा स्थानीय वायु, पश्चिमी वायु तथा भारतको उत्तर प्रदेश र विहारमा रहेकोे पूर्व–पश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको छ ।   उक्त मौसमी प्रणालीको प्रभावले अहिले कर्णाली, गण्डकी, मधेस प्रदेश तथा प्रदेश नं १ मा आङ्शिकदेखि सामान्य बदली तथा बाँकी भेगमा आङ्शिक बदली रहेको छ । गण्डकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।   काठमाडौँमा बिहानैदेखि सामान्य बदली हुनुका साथै केही स्थानमा हल्का वर्षा भइरहेको छ ।  दिउँसो प्रदेश नं १, मधेस, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली तथा बाँकी भू–भागमा आङ्शिक बदली रहनेछ । प्रदेश नं १ र बागमती प्रदेशका केही, मधेस प्रदेश र गण्डकी प्रदेशका थोरै र बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।   रातिको समयमा पनि सोही मौसमी प्रणाली कायम रहने महाशाखाले जनाएको छ । आज काठमाडौँको अधिकतम तापक्रम २८ दशमलव सात र न्यूनतम तापक्रम १८ दशमलव ६ डिग्री सेल्सियस रहेको छ ।

काठमाण्डौँ :      डलर भन्दै कागजका टुक्रा दिएर ठगी गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त कालिमाटीको टोलीले जेठ १७ गते काठमाडौँ महानगरपालिका–१४ कलङ्कीमा सिन्धुपाल्चोक सुनकोशीका ६२ वर्षीय एक व्यक्तिलाई ठगी गर्ने सिन्धुपाल्चोक बाह्रबिसेका ३३ वर्षीय कुमार श्रेष्ठलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।   जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीका अनुसार आमा बिरामी भएको बहाना बनाइ डलर भनी कागजको टुक्रा दिएर ठगी गर्ने श्रेष्ठलाई कलङ्कीबाट पक्राउ गरिएको हो । “श्रेष्ठले पीडितसँग डलर भन्दै प्लाष्टिकको थैलीमा डलरको साइजमा काटिएका कागजका टुक्रा राखेर ठगी गरेको अनुसन्धानबाट खुलेको छ,”– उहाँले भन्नुभयो ।   पक्राउ परेका श्रेष्ठलाई मुलुकी अपराध (संहिता) ऐन, २०७४ को परिच्छेद–२१ को २४९ को ठगी गर्न नहुने कसूरमा जिल्ला अदालत काठमाडौँबाट सात दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रवक्ता मैनालीले बताउनुभयो । 

पोखरा :      सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकार प्रेस स्वतन्त्रताको पक्षमा रहेको बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घ कास्कीद्वारा सञ्चालित प्रजातन्त्र सेनानी दयाशङ्कर पालिखे स्मृति पत्रकारिता सम्मान–२०७८ वितरण समारोहमा उहाँले भन्नुभयो, “संविधानले परिकल्पना गरेको अभिव्यक्ति स्वतन्त्रता र व्यक्तिगत स्वतन्त्रतालाई सरकार अक्षुण्ण राख्न चाहन्छ, अझ समृद्ध गर्न चाहन्छ ।”    कुनै पनि पत्रकारले विचार व्यक्त गरेको आधारमा यो सरकारले दण्डित नगरेको र नगर्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । दक्षिण एसियामा नै स्वतन्त्र प्रेसको नमूना देशका रूपमा नेपाललाई विकास गर्नका लागि सरकार कानुनी, संरचनागत व्यवस्था गर्न सधँै तयार रहेको मन्त्री कार्कीले बताउनुभयो ।   महँगी केवल सरकारको हातमा मात्र नरहेको र हाल पेट्रोलको मूल्य वृद्धि भएको बताउँदै उहाँले पेट्रोललाई विस्थापित गर्न भइरहेको ऊर्जाको विकासलाई व्यवस्थित गरिने उल्लेख गर्नुभयो । मन्त्री कार्कीले देशमा उत्पादित ऊर्जा खेर नजाने गरी यसको खपत बढाउनेतर्फ ध्यान दिइने बताउनुभयो ।   शासन पद्धतिमा परिवर्तनसँगै जनताको जीवनस्तरमा पनि परिवर्तन आउनु जरुरी हुने बताउँदै उहाँले आगामी दिनमा नेपालीलाई सम्पन्न बनाउनेतर्फ राज्यको जोड रहने स्पष्ट गर्नुभयो । आगामी पुस्तालाई समृद्धपुस्ता बनाउने गरी लाग्नुपर्ने बताउँदै मन्त्री कार्कीले पूँजी निर्माणका लागि लगानीमैत्री वातावरण बनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो । निजी क्षेत्रलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिँदै उहाँले अपार जलस्रोतको उपयोग गर्न सके मात्रै पनि त्यसले यहाँको समृद्धिमा महत्वपूर्ण योगदान पुग्ने बताउनुभयो ।   अन्य राष्ट्रबीच पनि सुसम्बन्ध कायम गर्दै अघि बढ्नुको विकल्प नभएको बताउँदै साञ्चारमन्त्री कार्कीले नेपाल पञ्चशीलको सिद्धान्तलाई आत्मसात् गर्दै अन्य राष्ट्रसँग सम्बन्ध विस्तार गर्दै अघि बढ्ने धारणा राख्नुभयो ।   अमेरिकन स्टेट पार्टनरशिप प्रोग्रामलाई अघि नबढाउने सरकारले निर्णय गरिसकेको उहाँले जानकारी दिनुभयो । एक्लै हिँडेर कहीँ पुग्न नसकिने र सबैको सहयोगमा अघि बढेमा यो मुलुकको भविष्य सुन्दर रहेको उल्लेख गर्दै मन्त्री कार्कीले भाषणमा मात्र नभई व्यवहारमा आउने निर्वाचनबाट लोकतान्त्रिक स्थिरता दिन सकेको अवस्थामा १० वर्षमा नेपाल दक्षिण एसियाको धनी मुलुक बन्ने दाबी गर्नुभयो ।    सो अवसरमा दयाशङ्कर पालिखे स्मृति पत्रकारिता सम्मान–२०७८ बाट मन्त्री कार्कीले पत्रकार बबिता बस्नेतलाई सम्मानपत्रसहित रु एक लाख एक हजार १११ ले सम्मान प्रदान गर्नुभयो । नेपाल पत्रकार महासङ्घ कास्कीका अध्यक्ष विमला भण्डारीले पत्रकारिताका माध्यमबाट सचेतना, महिला जागरण आदिमा महत्वपूर्ण योगदान गरेका कारण बबिता बस्नेतलाई सम्मान गरिएको बताउनुभयो ।   प्रतिभा छनोट समितिका संयोजक एवम् नेपाल पत्रकार महासङ्घ कास्कीका पूर्वअध्यक्ष रवीन्द्र बास्तोलाले समाजको रुपान्तरणका साथै प्रजातन्त्रको स्थापनामा महत्वपूर्ण योगदान गरेका दयाशङ्कर पालिखेको स्मृतिमा स्थापित पुरस्कार तथा सम्मान आफैँमा महत्वपूर्ण रहेको बताउनुभयो । पत्रकारितामा निर्भिक रुपमा कलम चलाउने बबिता बस्नेतको सक्रियता, योगदान आदिका आधारमा उहाँलाई सम्मान गर्ने निर्णय गरिएको उहाँले बताउनुभयो ।   कार्यक्रममा सम्मानित व्यक्तित्व बबिता बस्नेत, पुरस्कार संस्थापक परिवारका तर्फबाट विश्वशङ्कर पालिखे, नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बराल, नेकपा (माओवादी केन्द्र)का जिल्ला अध्यक्ष राजकाजी गुरुङ, नेकपा (एमाले) का जिल्ला अध्यक्ष मनबहादुर गुरुङ, नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य त्रिभुवन पौडेल लगायतले  पत्रकारिताबारे आ–आफ्ना विचार प्रस्तुत गर्नुभएको थियो । 

बागलुङ :       स्कुल बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । मृत्यु हुनेमा बाग्लुङको हरिया गाउँपालिका बस्ने ३४ वर्षीय विनोद थापा रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।   कार्यालयका अनुसार भरतपुर महानगरपालिका–४ अनुपम चोकस्थित डेरिचोकबाट यज्ञपुरी चोकतर्फ आउँदै गरेको ना१क ३५९६ नंको होलिभिजन पब्लिक स्कुलको बसले आनन्दपुरतर्फ आउँदै गरेको ना३३प ३६६६ नंको मोटरसाइकललाई आज बिहान  ठक्कर दिएको थियो ।   ठक्करबाट मोटरसाइकल पछाडि सवार घाइते थापाको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो । मोटरसाइकल चालक बाग्लुङको हरिया गाउँपालिका निवासी ३४ वर्षीय आयुस बोहोरा गम्भीर घाइते हुनुभएको छ । उहाँको सोही अस्पतालमा उपचार भइरहेको छ ।

काठमाण्डौँ :      युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराजले योगलाई खेलकुदसँग जोडेर हेर्नुपर्ने बताउनुभएको छ । अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा मन्त्री गहतराजले योगलाई खेलकुदकै प्रमुख अङ्गका रुपमा विकास गर्नुपर्ने बताउनुभयो ।    पछिल्लो समय विश्वभर योग संस्कृतिले व्यापकता पाइरहेको उल्लेख गर्दै मन्त्रीले खेलकुद, शिक्षा र स्वास्थ्यलाई समेत योग संस्कृतिसँग जोड्नुपर्नेमा जोड दिनुभयो । हरेक वर्ष जुन २१ तारिकमा अन्तर्राष्ट्रिय योग दिवस मनाउने गरिन्छ । संयुक्त राष्ट्र सङ्घको महासभाले सन् २०१४ मा गरेको निर्णयानुसार सन् २०१५ जुन २१ देखि अन्तर्राष्ट्रिय योग दिवस मनाउन थालिएको हो ।

कास्की:  पोखरामा महिला विरुद्धका भेदभाव उन्मूलन गर्न प्रदेश स्तरीय संवाद तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।   आदिवासी जनताति महिला मञ्च र नेपाल आदिवासी जनजाति महासंघको संयुक्त आयोजनामा महिला विरुद्धका सबै प्रकारका भेदभाव उन्मूलन गर्ने सम्बन्धि महासन्धि (सिड) को निष्कर्ष सुझाव कार्यान्वयनको लागि प्रदेश स्तरीय संवाद कार्यक्रम आज (मंगलबार) सम्पन्न भएको हो ।   उक्त कार्यक्रमको उद्घाटन गण्डकी प्रदेशका शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकासमन्त्री मेखलाल श्रेष्ठले गरे ।    सो अवसरमा बोल्दै मन्त्री श्रेष्ठले महिला सशक्तिकरण आजको आवश्यकता रहेको धारणा व्यक्त गरे । मन्त्री श्रेष्ठले महिला विरुद्धको भेदभाव उन्मूलन गर्न संविधानले व्यवस्था गरेको अधिकारहरु अक्षरश कार्यान्वयन हुनुपर्ने बताए ।    पुरुषप्रधान देशको राष्ट्रपति महिलानै भएको बताउदै उनले महिलाले पनि नेतृत्वदायी भुमिका निर्वाह गर्न सक्ने उल्लेख गरे । महिला सशक्तिकरणको लागि आफ्नो मन्त्रालयले विभिन्न कार्यक्रमहरु गर्दै आएको बताउदै आगामी दिनमा समेत सधै सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।    एक दिने उक्त संवाद कार्यक्रममा सहजकर्ताका रुपमा अधिवक्ता सुरेन्द्र थापामगर र महिला अधिकारकर्मी सोनी लामाले सहजीकरण गरेका थिए ।   पोखरा महानगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुको उल्लेख्य सहभागिता रहेको सो कार्यक्रमलाई IWGIA ले सहयोग गरेको आयोजक संस्थाका पूर्व अर्थसचिव श्याममाया राना पुनले जानकारी दिएकी थिइन् ।  ‘विदेशी संस्थाले सहयोग गरेको हाम्रो कार्यक्रममा पोखरा महानगरपालिकाको विभिन्न वडामा नवनिर्वाचित जनप्रतिनिधिहरुलाई लक्षित गरेर कार्यक्रम आयोजना गरेका हौं,  उनले भनिनन्, ‘यसको उद्देश्य भनेकै महिलाहरुलाई धेरै क्षेत्रमा भेदभाव गरिन्छ । अब समान अवसर दिइनुपर्छ र भेदभाव हटाइनुपर्छ भन्ने हो ।’   उक्त कार्यक्रमले महिलाहरुको क्षमता अभिवृद्धि गर्न सघाउ पुग्ने बताउदै विगत लामो समयदेखि अभिमुखिकरण तथा सचेतनामुलक कार्यक्रमहरु आयोजना गर्दै आएको जानकारी दिएकी थिइन् ।  

झापा :      दक्षिण झापाको कचनकवल गाउँपालिकाले गत वर्षदेखि सञ्चालन गरेको सर्पदंश उपचार केन्द्र स्थानीयवासीका लागि अकाल मृत्युबाट बचाउन वरदान साबित भएको छ । गोमन, करेत लगायतका अति विषालु सर्पले डसेमा तत्काल उपचार नपाए बिरामीको ज्यानै गुम्ने गर्दछ । तर, भौगोलिक विकटताका कारण विषालु सर्पले डसेका बिरामीलाई उपचारका लागि ३० किलोमिटर टाढा चारआली सर्पदंश उपचार केन्द्र धाउनुपर्दा बर्सेनि औसत आठजना कचनकवलवासीको बाटैमा मृत्यु हुने गरेको थियो ।    गाउँमै उपचार केन्द्र सञ्चालनमा आएपछि कसैले पनि अकाल मृत्युवरण गर्नु नपरेको गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख जागेश्वरप्रसाद यादवले बताउनुभयो । बर्खासँगै झापामा विषालु सर्पको त्रास बढ्ने गरेको हुँदा छिमेकी पालिकाहरु भद्रपुर र बाह्रदशीसहित भारतको किसनगञ्ज जिल्लाका बिरामीहरु समेत उपचारका लागि कचनकवल आउने गरेको उहाँले जानकारी दिनुभयो ।   कचनकवल गाउँपालिकाको वडा नं ६ स्थित बनियानी प्राथमिक स्वास्थ्य केन्द्रको भवनमा ६ शय्याको सर्पदंश उपचार केन्द्र सञ्चालन गरिएको छ । सो केन्द्रबाट एक वर्षको अवधिमा सर्पले डसेका २४४ जनाले उपचार सेवा लिएका छन् ।    पालिकाले आन्तरिक स्रोत परिचालन गरेर गत वर्ष असारदेखि रु ३० लाखको लागतमा सर्पदंश उपचार केन्द्र सञ्चालनमा ल्याएको गाउँपालिकाका उपाध्यक्ष नवराज भट्टराईले बताउनुभयो । कचनकवलवासीको वर्षांैदेखिको पीडामा मलम लगाउन सफल भएको सर्पदंश उपचार केन्द्रलाई साधन, स्रोत र सुविधा सम्पन्न बनाउन पालिकाले योजना बनाइरहेको उहाँको भनाइ छ ।    “गाउँबस्तीमा साना भुइँघरहरु हुन्छन्, जहाँ लुकेर बसेको सर्पले मानिसलाई जुनसुकै बेला डस्न सक्छ,” उहाँले भन्नुभयो, “हरेक वर्ष सात आठ जनाले ज्यानै गुमाउनु परेको थियो । अब सर्पदंश उपचार केन्द्र सञ्चालनमा आएसँगै कसैले उपचार नपाएर अकालमै मृत्युवरण गर्नुपरेको छै्रन ।”   उपचार  केन्द्रमा अक्सिजन सिलिन्डर र पेसेन्ट मोनिटरिङ मेसिन जडान गरिएका छन् । स्वास्थ्य केन्द्रका एकजना मेडिकल अधिकृतसहित ६ जना स्वास्थ्यकर्मीले सर्पदंश उपचार केन्द्रमा सेवा प्रदान गरिरहेका छन् । आइसियु र भेन्टिलेटर सुविधा नभएको हुँदा सर्पदंशका सिकिस्त बिरामीलाई रेफर गरेर विर्तामोडका सुविधासम्पन्न अस्पतालमा पठाउनु परेको स्वास्थ्य शाखाका प्रमुख यादव बताउनुहुन्छ ।    उपचार केन्द्रलाई गत वर्ष नै दाताबाट एउटा भेन्टिलेटर मेसिन प्राप्त भएको छ । तर स्रोत अभावमा त्यसलाई जडान गरेर सञ्चालनमा ल्याउन सकिएको छैन । स्थानीयवासीले स्रोत जुटाएर छिटोभन्दा छिटो भेन्टिलेटर मेसिन जडान गर्नुपर्ने बताउँदै आएका छन् । स्वास्थ्य शाखाका प्रमुख यादवले भेन्टिलेटर सञ्चालनमा आएपछि उपचारमा कुनै समस्या नहुने बताउनुभयो । झापामा कचनकवलको समेत चारवटा सर्पदंश उपचार केन्द्र सञ्चालनमा छन् । चारआलीमा नेपाली सेनाले, कनकाई नगरपालिकामा सहारा नेपालले र दमकमा रेडक्रस सोसाइटीले सर्पदंश उपचार केन्द्र सञ्चालन गर्दै आएका छन् ।