काठमाण्डौँ : नेपाल गुणस्तर तथा नापतौल विभागले ५० उद्योगलाई नेपाल गुणस्तर इजाजतपत्र प्रदान गरेको छ । विभागले सरकारले नेपाल गुणस्तर लिन अनिवार्य गरेका वस्तुका साथै अन्य वस्तु तथा उद्योगलाई इजाजतपत्र प्रदान गरेको हो । विभागले चालु आर्थिक वर्षमा सिमेन्ट, टीएमटी छड, रङ, एचडीपीई पाइप, सीपीभीसी पाइप, यूपीभीसी पाइप, जस्मिन हाइजिन सेनिटरी पाइप, पेभर्स लकलगायतलाई नेपाल गुणस्तर चिह्न प्रदान गरेको हो । विभागका महानिर्देशक दिनानाथ मिश्रले पछिल्लो समयमा गुणस्तर चिह्नप्रति उद्योगी व्यवसायीको भरोसा बढेको बताउनुभयो । “अघिल्ला वर्षको तुलनामा यसवर्ष नेपाल गुणस्तर इजाजतपत्र लिनेको सङ्ख्या बढेको छ”, उहाँले भन्नुभयो । चालु आवमा रङ, सिमेन्ट, पाइपलगायतका वस्तुमा नेपाल गुणस्तर चिह्न लिने उद्योगी व्यवसायीको सङ्ख्या बढेको महानिर्देशक मिश्रको भनाइ छ । सरकारले सिमेन्ट, छड, एलपीजी सिलिण्डर, रेगुलेटर, ग्यास पाइप, जीआई वायर, पीभीसी केबुललगायत १५ वस्तुमा नेपाल गुणस्तर अनिवार्य गरेको छ । विभागले नेपाल गुणस्तर प्रमाण चिह्न ऐन, २०३७ अनुसार इजाजतपत्र प्रदान गर्दै आएको छ । विभागको कार्यक्षेत्र धेरै भए पनि कर्मचारी कम हुँदा काम गर्न समस्या भएको विभागले जनाएको छ । ८९ कर्मचारीको दरबन्दी रहेको उक्त विभागमा हाल ६५ जना कार्यरत छन् । विभागमा हाल विभिन्न वस्तुको गुणस्तर मापन गर्नका लागि केमिकल, फिजिकल र टेक्साइल प्रयोगशाला छन् । पछिल्लो समय नेपाल गुणस्तर प्रमाण चिह्न लिने उद्योगी व्यवसायीको सङ्ख्या बढे पनि कामदारको सङ्ख्या कम हुँदा काममा समस्या भइरहेको विभागका प्रवक्ता एवं सहसचिव ज्योति जोशी भट्टले बताउनुभयो । यो बाहेक सरकारले नापतौल, मिटर ट्याक्सीको भाडा समायोजनलगायत काम गर्दै आएको छ ।
धनुषा : पत्नीको घाँटी थिचेर हत्या गरेको आरोपमा प्रहरीले पति र ससुरालाई पक्राउ गरेको छ । धनुषाको शहीदनगर नगरपालिका–८ नाथपट्टीकी गौरीदेवी मण्डलको घाँटी थिचेर हत्या गरेको आरोपमा उनका पति रामचन्द्र मण्डल खत्वे र ससुरा सहदेव मण्डल खत्वेलाई प्रहरीले पक्राउ गरेको हो । दुवै जनाले मिलेर घाँटी थिची हत्या गरेको भन्दै मृतक गौरीकी आमा सिरहाको गोलबजार नगरपालिका–५ की तेतरीदेवी मण्डलले २०७८ कात्तिकमा इलाका प्रहरी कार्यालय यदुकाहामा कर्तव्य ज्यान मुद्दाअन्तर्गत जाहेरी दत्रा गराउनुभएको थियो । सोही जाहेरीको आधारमा दुवै जनालाई भारतको लदनियाबाट पक्राउ गरी नेपाल ल्याइ थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिनुभयो ।
काठमाण्डौँ : गृहमन्त्री बालकृष्ण खाणले साउदी अरबको मक्कामदिनामा हजयात्रा गर्न जान लाग्नुभएका हजयात्रीको बिदाइ गर्नुभएको छ । गृहमन्त्री खाणले आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेर हजयात्रा गर्न जान लाग्नुभएका ११३ हजयात्रीलाई बिदाइ गर्नुभएको हो । यसवर्ष हज गर्न नेपालका लागि छुट्याइएको ५५५ जनाको कोटामध्ये आज अन्तिम टोली त्यसतर्फ प्रस्थान गरेको हो । हजयात्रीलाई बिदाइ गर्दै गृहमन्त्री खाणले सरकारले सबै धर्मलाई उत्तिकै सम्मान गर्ने बताउनुभयो । हज गर्न जाने परम्पराले विश्वभर नेपालको पहिचान गराउँदै भाइचाराको सम्बन्ध विस्तार हुने उहाँले बताउनुभयो । हजयात्रीलाई बिदाइ गर्न नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादव, नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँलगायतको उपस्थिति थियो । यही असार ६ गतेदेखि दैनिक एयर अरेबियाको जहाजबाट टोली हज गर्न जाने गरेको थियो ।
रोल्पा : रोल्पामा सम्बन्ध विच्छेद गर्नेको सङ्ख्या बढ्दै गएको छ । रोल्पा जिल्ला अदालतमा यस वर्षको असार ७ गतेसम्म ३२२ सम्बन्ध विच्छेदका मुद्दा दायर भएका छन् । यसरी दायर भएका २२७ मुद्दा फछ्र्यौट हुँदा ९५ फछ्र्यौट हुन बाँकी छन् । दर्ता भएका ३७ मुद्दा पुरुषले सम्बन्ध विच्छेदका लागि दर्ता गरेका हुन् । धेरै जसो १६ देखि २० वर्षको उमेर समूहका किशोरकिशोरी सम्बन्ध विच्छेदका लागि आउने गरेको पाइएको छ । विवाहपछि सोचाइमा भिन्नता आउने, विहे गरेर वैदेशिक रोजगारीमा जाँदा पछि सम्बन्ध विच्छेदका लागि मुद्दा दायर गर्ने गरेको पाइएको छ । गत वर्ष २२६ सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएकामा १५६ वटा फछ्र्यौट भएका छन् । सो अवधिका ७० मुद्दा फछ्र्यौट हुन बाँकी छ । आर्थिक वर्ष २०७६÷७७ मा १६५ सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएकामा १२३ वटा फछ्र्यौट भएका थिए । सम्बन्ध विच्छेद गर्नेमध्ये अधिकांश २७ वर्ष मुनिका छन् । चौध वर्ष उमेरका बालबालिका पनि सम्बन्ध विच्छेदका लागि आउने गरेको रोल्पा जिल्ला अदालतका केशव श्रेष्ठले जानकारी दिनुभयो । “विवाह भएको चार महिनामै सम्बन्ध विच्छेद गर्न आउने गरेको तथ्याङ्क छ”, उहाँले भन्नुभयो । अंश दाबीबिना सम्बन्ध विच्छेद गरी पाउ भनेर समेत मुद्दा दर्ता गर्ने गरेको पाइएको । अंशदाबीसहित सम्बन्ध विच्छेदको मुद्दा दर्ता गर्दा फैसला हुन एक वर्ष कुर्नुपर्ने र अंशदाबी गर्दा तीन महिनाभित्रै मुद्दा फैसला हुने भएकाले अधिकांशले अंशदाबीविना नै सम्बन्ध विच्छेदको मुद्दा दर्ता गरेको श्रेष्ठले बताउनुभयो । सम्बन्ध विच्छेदको मुख्य कारण बालबिवाह भएको रोल्पा जिल्ला अदालतका श्रेस्तेदार प्रेम खड्काको भनाइ छ । “सानै उमेरमा विवाह गर्छन्, परिपक्व भएपछि पछुताएर सम्बन्ध विच्छेद गराउन आउँछन्”, उहाँले भन्नुभयो । सम्बन्ध विच्छेदका अन्य कारणमा वैदेशिक रोजगारी, सामाजिक सञ्जालको दुरुपोग, मादक पदार्थको सेवन, कुटपिटलगायत हिंसालगायत रहेको छ । महिला अघिकारकर्मी तीर्था आचार्य भन्नुहुन्छ, “वैदेशिक रोजगारीले पनि सम्बन्ध विच्छेदलाई बढावा दिएको छ ।” सम्पत्ति नलिएरै सम्बन्ध विच्छेद गर्नेको सङ्ख्या धेरै छ । सम्पत्ति माग दाबीसहित गरिने सम्बन्ध विच्छेदको प्रक्रिया लामो हुन्छ । यसरी सयौँ परिवार विखण्डन हुँदा सामाजिक विग्रह पनि बढ्दै गएको आचार्यले बताउनुभयो । सम्बन्ध विच्छेद गरेकाहरुका छोराछोरीको शिक्षा, स्वास्थ्य तथा पालनपोषण प्रभावित हुने गरेको पाइएको छ ।
पोखरा : डा तुलसी आचार्यद्वारा लिखित उपन्यास ‘मोचन’ माथि हिमालयन रिडर्स कर्नर पोखरामा छलफल भएको छ । उक्त छलफलमा मोचन उपन्यासलाई विभिन्न कोण र दृष्टिकोणबाट हेर्न सकिने कुरा उपस्थित वक्ता तथा समालोचकहरूले राख्नुभएको थियो । साहित्यकार सरुभक्तले २१औँ शताब्दीलाई सम्बोधन गर्ने शक्तिशाली साहित्यिक विधा आख्यान भएको उल्लेख गर्दै मोचनलाई विभिन्न दृष्टिकोणबाट हेरेर व्याख्या गर्नसकिने बताउनुभयो । “साहित्य रचनापश्चात् पाठकको हातमा पुग्दा उनीहरुले आफ्नै दृष्टिले पढ्छन् र लेखकको दृष्टिको कुनै अर्थ हुँदैन”, उहाँले भन्नुभयो । आजभोलि कृति लेखिसकेपछि लेखकको मृत्यु हुन्छ भन्ने उत्तर आधुनिक चिन्तन छ भन्दै उहाँले त्यही भएर पाठकका लागि कुनै पनि लेख व्याख्या गर्न खुल्ला रहन्छ उल्लेख गर्नुभयो । धैर्यता र साधनाले लेखनलाई परिष्कृत गर्छ भन्ने कुरामा सरुभक्तले जोड दिनुभयो । नेपाली लेखक सङ्घका अध्यक्ष तीर्थ श्रेष्ठले कथा आदिम परम्परा भएको बताउनुभयो । उहाँले कथाको महत्वलाई प्रस्ट्याउनुभयो । जन्मदेखि मृत्युसम्म कथा भएको भन्दै विज्ञानका कुरा भन्नलाई पनि कथा चाहिने श्रेष्ठको राय थियो । उहाँले नेपाली भाषा र त्यसमा राज्यको जिम्मेवारी हुनुपर्ने कुरामा जोड दिनुभयो । राज्य उत्तरदायी हुन नसकेकोमा पनि उहाँले दुःखेसो पोख्नुभयो । त्यसैगरी गजलकार प्रकट पगेनी ’शिव’ले कविता, गीत र गजलभन्दा उपन्यास लेखन कठिन भएको र त्यसमा धैर्यताको साधना चाहिने बताउनुभयो । कार्यक्रममा अन्नपूर्ण पोस्टका पत्रकार गोपीकृष्ण ढुङ्गानाले नेपालमा हुँदा सामाजिक संरचना र संस्कारका कारण बाँधिने र पश्चिमा देशमा पुग्दा त्यहाँको संस्कार र सभ्यताले स्वतन्त्र बनाई प्रेम पनि बदलिने दृश्यले आचार्यको उपन्यास मोचन फिल्म हेरेजस्तै लाग्ने बताउनुभयो । मोचनमाथिको परिचर्चामा समीक्षात्मक टिप्पणी राख्दै उहाँले भन्नुभयो “यो एउटा पढ्न लायक उपन्यास हो ।” उपन्यासका बलिया र कमजोर पक्षको बारेमा उल्लेख गर्दै ढुङ्गानाले भन्नुभयो, “मोचन एउटा गतिलो उपन्यास हो र यसलाई अझ लयात्मक बनाउन सकिन्थ्यो ।” उहाँले मोचनलाई ‘सेतो धर्ती” सँग तुलना गर्नुभयो । यस्तै लेखक आचार्यले पुरुष मनोविज्ञानमाथि पुरुष लेखकबाटै लेखिएका कमै कृतिमध्ये आफ्नो उपन्यास आएको बताउनुभयो । उहाँले भन्नुभयो “लेखकलाई जिम्मेवार बनाउने जिम्मेवारी समीक्षकहरूको हो ।” श्रीमान् श्रीमतीको सम्बन्धमा दरार आयो भने यसको असर कति भयानक हुनसक्छ भन्ने कुराको उदाहरण मोचनले दिन खोजेको कुरा डा आचार्यको भनाइ थियो । प्रेम, सम्बन्ध, परिवेश र अमेरिकी समाज तथा संस्कृति बुझ्न पनि मोचन पढ्नुपर्नेमा उहाँले जोड दिनुभयो । अभियानका संयोजक सञ्जीव पौडेलको अध्यक्षतामा भएको उक्त कार्यक्रम सचिव मोहन भण्डारीले सञ्चालन गर्नुभएको थियो ।
महोत्तरी : महोत्तरी सदरमुकाम जलेश्वरस्थित कारागारमा आज बिहान एक कैदीको मृत्यु भएको छ । मृत्यु हुनेमा महोत्तरीकै लोहारपट्टी नगरपालिका–१ का ८० वर्षीय राजकरण यादव रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिनुभयो । कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय भोग्दै गरेका यादव बिहान २ बजे एक्कासी बेहोस भएका थिए । उपचारका लागि तत्काल प्रादेशिक अस्पताल जलेश्वर लगिएकामा चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ । यादवको शव परीक्षणका लागि सोही अस्पतालमा राखिएको बताइएको छ ।
झापा : नेकपा (एमाले) झापाका अध्यक्ष दीपक कार्कीको गौरादह नगरपालिका–३ स्थित घरको प्रवेशद्वारमा शङ्कास्पद वस्तु फेला परेको छ । आज बिहान ५ः३० बजेतिर प्रवेशद्वारको अगाडि तारले जडित प्रेसर कुकर देखेपछि प्रहरीलाई खबर गरेको अध्यक्ष कार्कीले बताउनुभयो । शङ्कास्पद वस्तु डिस्पोज गर्नका लागि चारआलीस्थित नेपाली सेनाको टोलीलाई बोलाइएको दमक इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दिलीप गिरीले जानकारी दिनुभयो । शङ्कास्पद वस्तु कसले राखेको हो भन्ने बारेमा अनुसन्धान भइरहेको गिरीले बताउनुभयो ।
काठमाण्डौँ : देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघ गर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल प्रदेश नं एक, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव तथा पश्चिमी भू–भागमा स्थानीय वायु र पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । यसका साथै भारतको उत्तर प्रदेश र आसपासमा रहेको न्यून चापीय प्रणालीको समेत नेपालमा प्रभाव रहेको छ । उक्त प्रणालीको प्रभावले प्रदेश नं १, मधेस, बागमती र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । प्रदेश १, मधेस, बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा तथा बाँकी प्रदेशका केही स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश १ को केही स्थानमा भारी वर्षाको सम्भावना छ । रातको समयमा सामान्यदेखि पूर्ण बदली रही प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा साथै बाँकी प्रदेशका केही स्थानमा मेघ गर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १९ दशमलव आठ डिग्री र अधिकतम तापक्रम २९ दशमलव दुई डिग्री सेल्सियस छ ।
विराटनगर : विराटनगर महानगरपालिका–११ निवासी विद्यार्थी पङ्कज राउत दैनिक १० घण्टा सिटी सफारी चलाउँनुहुन्छ । उहाँले सिटी सफारी चलाएर आफ्नो अध्ययनलाई निरन्तरता दिनुभएको छ । यस वर्ष कक्षा १० को एसइई परीक्षा दिनुभएका राउतले कक्षा ८ देखि नै विद्यालय समयबाहेक सिटी सफारी चलाएर आफूसहित दुई भाइलाई पढाउँदै आउनुभएको छ । परिवारको आर्थिक अवस्था कमजोर रहेकाले राउतले यही कामबाट परिवारको भरणपोषणमा सहयोग गर्नुभएको छ । राउतको यो मेहेनती कार्यको छिमेकीहरु पनि प्रशंसा गर्दछन् । बुवाको काम गर्ने उद्योगमा लडेर हात भाँच्चिएपछि राउत सानै उमेरदेखि परिवारको पालनपोषणका लागि सिटी सफारी चलाउन लाग्नुभएको हो । यो कायमको थालनीमा निकै कठिनाइ भएको उहाँको अनुभव छ । स्कुलमा हुँदा सिटी सफारी चलाएर दैनिक रु ५०० देखि ८०० सम्म आम्दानी गर्नुभएका राउतले अहिले दैनिक रु एक हजार २०० सम्म कमाउने बताउँनुहुन्छ । विराटनगरस्थित जनपथ माविमा अध्ययन गर्नुभएका राउत कक्षामा प्रथम हुँदै आउनुभएकोमा अहिले सामाजिक काममा रुचि देखाउन थाल्नुभएको छ । विभिन्न परोपकारी अभियानमा उहाँ लाग्नुभएको छ । “मेरो मात्र कुरा छैन, घरमा आमाबुवा पाल्नुपर्छ, मसँगैका दुई भाइलाई पढाउनु पर्दा खर्च बढ्ने भएकाले व्यवस्थापन पढ्ने निर्णयमा पुगेको छु”, उहाँले भन्नुभयो । एउटा भाइ कक्षा १० र अर्को कक्षा ६ मा अध्ययनरत रहेकोले उनीहरुलाई शिक्षा दिन आफूले दिनरात मेहेनत गरेको उहाँको भनाइ छ । घर खर्चको लागि साहुसँग लिएको ऋण चुक्ता गर्नुपर्ने भएकाले बुबा र आमालाईसमेत ठेला किनिदिएर व्यवसायमा लगाउनुभएको छ । अहिले आँपको मौसम भएकाले आमा र बुवा यही व्यवसायमा आबद्ध भएको उहाँले बताउनुभयो । उहाँ विराटनगरका युवानेता एवं समाजसेवी वासिम आलमको नेतृत्वमा सञ्चालित विपन्नलाई निःशुल्क खाना, लुगा वितरणलगायतका समाजसेवाका अभियानमा समेत सक्रिय भएर लाग्नुभएको छ ।