धनगढीः गाडीमा लिफ्ट मागेर चढेका तीन जनाकाे समुहले नै नगद र गाडी लुटेका छन् । कैलाली प्रहरीका अनुसार तीन जनाकाे समुहले कुटपिट गरि लोकेन्द्रसिंह भण्डारीको सवारी साधन र केही नगद लुटेका हुन् । डडेल्धुराको आलिताल गाउँपालिकामा कम्प्युटर अपरेटर पदमा कार्यरत लोकेन्द्रसिंह भण्डारी कैलालीको गोदावरी नगरपालिका–४ गाइमारेमा हातखुट्टा बाँधिएको अवस्थामा फेला परेका थिए । सोमबार उनीमाथि केही व्यक्तिले आक्रमण गरी ज्यान मार्ने उद्देश्यले भिरबाट फालेर गएको बताइएको छ । भण्डारी स्वयंमले स्थानीयलाई बताए अनुसार तीन जनाकाे समुहले समूहले उनलाई आक्रमण गरेका थिए । उनी खुट्टामा बाँधेको डोरी खोलेर घिस्रिदै सडकसम्म पुगेपछि स्थानीयले थाहा पाएका थिए । अहिले प्रहरी घटनास्थल पुगेर अनुसन्धान सुरू गरेको छ । तीन जना मान्छेले घुमाउन लगिदेऊ भनेर गोदावरीको उकालोतिर भण्डारीलाई लगि कुटपिट गरी बाँधेर फालेको र उनको गाडी र पैसा लुटेर भागेको कैलाली प्रहरीले जनाएको छ ।
मन्त्रालयमा मेरो दुई सय ६२ दिन उपलब्धिपूर्ण र सफलतापूर्वक सम्पन्न भएको छ : निवर्तमान मन्त्री श्रेष्ठ
काठमाण्डौँ : निवर्तमान श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले आन्तरिक रोजगारी सिर्जना, वैदेशिक रोजगारको व्यवस्थापन र सेवा प्रवाहलाई चुस्त बनाउन आफ्नो आठ महिने कार्यकाल सफल भएको दाबी गर्नुभएको छ । मन्त्री पदबाट हटेपछि आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उहाँले आफ्नो नेतृत्वमा छोटो समयमा चालिएका कतिपय कदम उल्लेखनीय रहेको बताउनुभयो । “जति दिन म मन्त्रीको रुपमा रहेँ । निष्ठापूर्वक आफ्नो काममा प्रतिबद्ध र दृढ रहेँ । जनताले म प्रति देखाएको विश्वास अक्षुण्ण राख्न निरन्तर प्रयास गरिरहेँ । अब आउने नेतृत्वले मैले गरेका सुधारका प्रयासहरुलाई निरन्तरता दिने विश्वास लिएको छु”, उहाँले भन्नुभयो, “मन्त्रालयमा मेरो २६२ दिन उपलब्धिपूर्ण र सफलतापूर्वक सम्पन्न भएको छ ।” वैदेशिक रोजगारीमा जाने श्रमिक सेवा लिन लाइन बस्नुपर्ने बाध्यता रहेकामा छोटो अवधिमै पूर्ण रुपमा अनलाइन सेवाको प्रभावकारी कार्यन्वयन हुनु ऐतिहासिक उपलब्धिका रुपमा रहेको उहाँले बताउनुभयो । वैदेशिक रोजगारी सम्बन्धी सेवालाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन सूचना प्रविधिमार्फत सेवा प्रवाह गरिएको उहाँले जनाउनुभयो । वैदेशिक रोजगारीमा श्रमिक पठाउने मुलुकमध्ये महामारीपछि पुरानै लयमा फर्केको देशमा नेपाल अग्रस्थानमा रहेको उल्लेख गर्र्दै उहाँले कोरोना भाइरस महामारीले बिथोलेको वैदेशिक रोजगारी र श्रम बजार पुरानै लयमा फर्काउन सफल भएको बताउनुभयो । प्रधानमन्त्री रोजगार कार्यक्रमलाई प्रभावकारी बनाउन ज्यालादर वृद्धि, दुर्घटना बीमाको व्यवस्था, स्वास्थ्य र शिक्षा क्षेत्र समेट्ने गरी कार्यक्षेत्र थप गरिएको उहाँले बताउनुभयो । आफू मन्त्रीका रुपमा आइसकेपछि श्रम कूटनीतिमार्फत रोजगार गन्तव्य मुलुकको विस्तार गरिएको जनाउँदै निवर्तमान मन्त्री श्रेष्ठले नेपाल–बेलायत श्रम समझदारीको मस्यौदा तयार भइसकेको बताउनुभयो । इजरायलमा दीर्घकालीन सहायक श्रमिकका लागि छनोट भएका श्रमिकलाई निजी क्षेत्र तथा बिचौलीयारहित सरकार–सरकार (जिटुजी) प्रक्रियामार्फत पहिलोपटक इजरायल पठाउन सुरु गरिएको उहाँले बताउनुभयो । श्रमिकहरुको हकहितलाई ध्यानमा राखी नयाँ श्रम गन्तव्य मुलुकको खोजी र श्रम सम्झौताको नवीकरण गर्ने कार्यलाई अगाडि वढाउने क्रममा साउदी अरेविया तथा सेसेल्ससँग नयाँ श्रम सम्झौता एवं संयुक्त अरव इमिरेट्स, मलेसिया र कतारसँग भएका श्रम सम्झौतालाई समसामयिक परिमार्जन गर्ने तथा माल्दिभ्स, सिसेल्स र इजरायलको निर्माण क्षेत्रमा श्रमिक लैजाने सम्बन्धी श्रम सम्झौताको पनि तयारी भइरहेको उहाँको भनाइ छ । गन्तव्य मुलुकहरुको सहयोगमा सातवटै प्रदेशमा सीप विकास तालिम सञ्चालन गर्नका लागि प्रस्ताव अघि बढाइएको उहाँले बताउनुभयो । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय श्रम वजारको माग वमोजिमका तालिमहरु सञ्चालन गर्न आवासीय सुविधा सहितको व्यवसायिक तथा सीप विकास तालिम प्रतिष्ठानको स्थापना गर्न बनेको गठन आदेश स्वीकृतिको चरणमा रहेको उहाँको भनाइ छ । “अधिकारसम्पन्न स्वायत्त तालिम प्रतिष्ठानमार्फत ठुलो संख्यामा श्रमशक्तिलाई सीपयुक्त बनाउने, एकीकृत तथ्याङ्क प्रणाली विकास गर्ने र स्वदेशी तथा विदेशी रोजगारदातासँग समन्वय गरी युवाहरुलाई रोजगारीमा आबद्ध गराउने योजना अघि बढाइएको छ”, उहाँले भन्नुभयो ।
चितवन : चितवन राष्ट्रिय निकुञ्जको कसरामा रहेको घडियाल प्रजनन केन्द्रमा गोहीका ४९६ बच्चा कोरलिएका छन् । नारायणी र राप्ती नदी किनारमा सङ्कलन गरिएका ५६३ अण्डाबाट ती बच्चा कोरलिएका हुन् । गत वैशाख १० देखि १३ गतेसम्म ती दुई नदीबाट अण्डा सङ्कलन गरिएको थियो । निकुञ्जभित्र रहेको गोही प्रजनन केन्द्र हेर्दै आएका सरोजमणि पौडेलका अनुसार राप्तीका १० गुड र नारायणीका छ गुडबाट अण्डा सङ्कलन गरिएको हो । असारको पहिलो साताबाट बच्चा कोरलिन थालेका हुन । सङ्कलन भएका अण्डामध्ये २० वटालाई इन्कुभेटरमा राखिएकामा १४ बच्चा निस्किएका थिए । बाँकी बालुवामा राखिएको पौडेलले बताउनुभयो । राप्ती नदीमा छ वटा र नारायणीमा पाँच वटा बच्चा छाडिएका थिए । तीमध्ये राप्तीको खोरसोर नजिक दूधौरामा ११० बच्चा देखिएका छन् । नारायणीमा पनि बच्चा देखिएको उहाँले जानकारी दिनुभयो । पौडेलले भन्नुभयो “एकीन तथ्याङ्क त आएको छैन, हाम्रो अनुमानमा २०० भन्दा बढी गोहीका बच्चा प्रकृतिमा रहेका छन् ।” प्रकृतिमा सङ्कलन गरेको गोहीका अण्डाबाट यति धेरै बच्चा कोरलिएको सम्भवतः यो पहिलो भएको पौडेल बताउनुहुन्छ । गतवर्ष प्रकृतिमा सङ्कलन गरिएका ४३६ अण्डाबाट २५८ बच्चा कोरलिएका थिए । प्रजनन केन्द्रमा रहेका गोहीबाट यस वर्ष हालसम्म बच्चा कोरलिएका छैनन् । गएका दुईवर्ष प्रजनन केन्द्रमा माउले अण्डा पारेको भए पनि बच्चा कोरलिएको थिएन । पौडेलको भनाइमा यसवर्ष पनि ७/८ वटा गुड देखिए पनि बच्चा कोरलिएको छैन । यस वर्षसमेत सम्भावना घटेर गएको छ । प्रजनन केन्द्रमा एउटा भाले र ठूला १२ पोथी रहेका छन् । भाले ४३ वर्षको हो भने पोथी ४० वर्ष हाराहारीको हो । प्रजनन हुननसकेका कारण बच्चा नकोरलिएको अनुमान छ । प्रजनन केन्द्रमा तीसहित ५३१ साना गोही रहेका छन् । राप्ती र नारायणी नदीमा पाँच भाले गोही देखिएका छन् । नदीमा भाले गोही नदेखिएपछि केही वर्षअघि बबईबाट एउटा भाले ल्याइएको थियो । राप्ती र नारायणी नदीमा अण्डा सङ्कलन गरी बच्चा कोरलेर हुर्काएर नदीमा छोड्ने गरिएको छ । हालसम्म राप्ती, नारायणी, कोसी र बबई नदीमा एक हजार ६९२ गोही छाडिसकिएको छ । निकुञ्जले विसं २०३५ मा गोही प्रजनन केन्द्र स्थापना गरी प्रजनन केन्द्रमा हुर्काइएका गोहीका बच्चा नदीमा छाड्दै आएको छ । हरेक वर्ष बाढीले बगाएर गोही भारत पु¥याउने गर्दछ । यध्यपि संरक्षण कार्यलाई निकुञ्जले निरन्तरता दिएको छ । राप्ती नदी गोहीका लागि राम्रो मानिएको छ । नदी किनारमा बसोबास गर्नेहरुले माछा मार्ने क्रममा ठूला जाल हान्दा अड्किएर गोही मर्ने गरेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले बताउनुभयो । अनुमतिपत्र लिएकालाई हाते जाल प्रयोग गर्न दिइएको भए पनि ठूला तिहारी जाल प्रयोग गर्दा गोही अड्कीएर मर्ने गरेको उहाँ बताउनुहुन्छ । विगतमा नारायणी नदीको देवघाटसम्म गोही पाइने गर्दथ्यो । नदी प्रदूषित बन्दै गएपछि गोहीको सङ्ख्या घट्दै गएको आचार्यको भनाइ छ । उहाँले भन्नुभयो, “हामी सबैले संरक्षणमा ध्यान दिन सकेमा गोहीको सङ्ख्या बढाउन सकिन्छ ।” नदी प्रदूषण रोक्न, जथाभावी नदीजन्य पदार्थ उत्खनन नगर्न र ठूला जाल प्रयोग नगर्न आचार्यको सुझाव छ । अहिले प्रजनन भएका गोहीका बच्चा केन्द्रमा राखेर पाँच वर्ष कटेपछि नदीमा छाडिने छ । चालू आर्थिक वर्षमा १०७ गोही नारायणी, कोशी र राप्ती नदीमा छाडिएको छ । नारायणी र कोशीमा २०/२० गोही छाडिएको हो भने अरु गोही राप्तीमा छाडिएको हो ।
कास्कीः कास्कीको पोखरा महानगरपालिका–१३ गौडामुखमा गएराती मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा लम्जुङ घर भई हाल कास्कीको पोखरा महानगरपालिका–१३ भद्रकाली बस्ने अन्दाजी ५३ बर्षीया जुना कुमारी गुरुङ रहेकी छिन् । पैदलयात्री गुरुङलाई गएराती पौने १० बजे ग११प ७३८५ नम्बरको मोटरसाइकलले ठक्कर दिएको प्रहरीले जनाएको छ । गम्भीर घाइते भएकी गुरुङको पश्चिम क्षेत्रीय अस्पतालमा उपचारको क्रममा राती साढे १२ बजे मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
वीरगञ्ज : चालु आवको ११ महिनामा वीरगञ्जको नारायणी अस्पतालले एक हजार ५०० गरिब, असहाय तथा विपन्न नागरिकको निःशुल्क उपचार गरेको छ । अस्पतालको सामाजिक सेवा एकाइमार्फत लक्षित १२ समूहका नागरिकको निःशुल्क उपचार गरिएको हो । गरिब, असहाय, अपाङ्गता भएका, ज्येष्ठ नागरिक, लैङ्गीक हिंसा र पीडित बालबालिका, लोपोन्मुख आदिवासी जनजाति, कुपोषित बालबालिका तथा सहिद परिवारलाई सबैखाले उपचार सुविधा उपलब्ध गराउँदै आएको अस्पतालका सूचना अधिकारी डा उदयनारायण सिंहले जानकारी दिनुभयो । उहाँका अनुसार चालु आवको पहिलो चौमासिकमा ३१६ महिला, २२४ पुरुष गरी ५८० जनालाई सेवा प्रदान गरिएको छ । दोस्रो चौमासिकमा ३०३ महिला र २०४ पुरुष गरी ५०७ लाई सेवा दिइएकोे छ । चालु आवको असार १० गतेसम्म ५०० भन्दाबढी बिरामीलाई उपचार प्रदान गरिसकेको डा सिंहले जानकारी दिनुभयो । उहाँले गरिब तथा विपन्न नागरिकको उपचारमा रु १९ लाख भन्दाबढी रकम हालसम्ममा खर्च भइसकेको बताउनुभयो । निःशुल्क उपचार योजनाले धेरै ननगरिकलाई अकालमा मृत्युबाट जोगाएको डा सिंहको भनाइ छ ।
काठमाण्डौँ : राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले १० वर्षे (२०२१–२०३०) एकीकृत व्यावसायिक योजना परिमार्जन गर्ने भएको छ । निगमको संस्थागत संरचनालाई सुदृढ तुल्याई सेवालाई चुस्त र दुरुस्त पार्ने नीतिगत योजना अघि बढाएको निगमले रणनीतिक महत्वको व्यावसायिक योजनाको परिमार्जन गर्ने निर्णय गरेको हो । निगमका नवनियुक्त महाप्रबन्धक दीपुराज जुहार्चनले तत्कालको आन्तरिक हवाई बजारलाई मध्यनजर गर्दै निगमले व्यावसायिक योजना समीक्षा गरी आवश्यक परिमार्जन गरिने बताउनुभयो । उहाँका अनुसार निगमले ६४औँ वार्षिकोत्सवका अवसरमा यही असार १७ गते लामो समयदेखि सञ्चालनमा आउन नसकेको निगमको नयाँ वेबसाइट सार्वजनिक गर्ने निर्णय गरेको छ । त्यसैगरी हाल सञ्चालनमा नरहेका चिनियाँ विमानको हकमा तत्काल ठोस् व्यवस्थापनको पहल लिँदै सञ्चालक समितिमा प्रस्ताव लैजाने निर्णय गरिएको छ । निगमले तिर्नुपर्ने कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषको ऋणको किस्ताको पुनःतालिकीरण गर्न पहल गर्नेसमेत निगम व्यवस्थापनले निर्णय गरेको छ । यसका लागि अर्थ मन्त्रालय, पर्यटन मन्त्रालय र दुई कोषबीच समन्वय गरिने निगमले उल्लेख गरेको छ । निगममा नयाँ नेतृत्व आएसँगै तदारुकताका साथ प्रशासनिक कार्यमा देखिने गरी गतिशीलता तथा नीतिगत कार्यमा ठोस सक्रियतासहित कार्यारम्भ गरिएको पनि निगमले जनाएको छ ।
दाङ : दाङस्थित नेपाल–भारत सीमावर्ती क्षेत्रमा दुई नेपाली युवतीमाथि सामूहिक बलात्कार भएको छ । आइतबार बिहान करिब ११ बजे भारतको मनीपुर बजार गएका राजपुर गाउँपालिकाका दुई युवती भारतीय युवकहरूबाट बलात्कृत भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । युवतीहरू नेपालबाट भारतको मनिपुर बजारमा जाने क्रममा सीमावर्ती क्षेत्रको दक्षिणतर्फको जंगलमा भारतीय युवाको समूहले बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक मुकुन्दप्रसाद रिजालले जानकारी दिए । ६ जना युवती भारतीय बजार जाँदै थिए । तीमध्ये दुई जना बलात्कृत भएको र अन्य चार जनालाई भने भारतीय युवकले धम्काउदै सरसामान लुटपाट गरेको प्रहरीको भनाइ छ । पीडित युवतीहरू प्रहरीको सम्पर्कमा आएपछि घटना बाहिर आएको हो । घटनास्थल भारतीय भूमि भएकाले उक्त घटना भारतीय प्रहरीले हेरिरहेको डिएसपी रिजालले बताए । डिएसपी रिजालका अनुसार पीडितले भारतीय प्रहरीमा जोहेरी दिइसकेका छन् । भारतीय प्रहरीले अनुसन्धानका लागि चारजना पक्राउ गरेको जानकारी दिएको डिएसपी रिजालले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
काठमाडौं : मनसुन देशभर फैलिएकाले आगामी तीन दिन ठूलो पानी पर्ने मौसमविदहरुले बताएका छन् । आज दिनभर झरी पर्ने छ । भोलि राति र पर्सि आजको दिनभन्दा पनि धेरै पानी पर्ने मौसमविद हिरा भट्टराईले जानकारी दिए । ‘आज केहीबेर पानी पर्न रोकिए पनि दिनभर घाम लाग्ने चान्स छैन,’ मौसमविद हिरा भट्टराईले भने, ‘भोलि रातिदेखि पर्सिसम्म आजको भन्दा पनि धेरै पानी पर्ने सम्भावना छ ।’ उनले प्रदेश १, मधेश प्रदेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना रहेको बताए । आज अन्य प्रदेशको तुलनामा कर्णाली प्रदेशमा भने कम पानी पर्ने अनुमान गरिएको बताए । पर्सि पनि अन्य प्रदेशको तुलनामा कर्णाली र सुदूरपश्चिम प्रदेशमा कम पानी पर्ने सम्भावना रहेको बताए । मनसुन सक्रिय भएकाले कर्णाली र सुदूरपश्चिममा पनि मध्यम वर्षा भने हुने मौसमविद भट्टराईको भनाइ छ । वर्षाका कारण नदी तथा खोलाहरुमा बाढी आउने, पहाडी क्षेत्रमा पहिरो जाने सम्भावना हुने भएकाले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ । गत जेठ १२ गते प्रदेश १ मा प्रवेश गरेको यस वर्षको मनसुन असार १२ गतेमात्र सुदूरपश्चिम प्रदेशमा प्रवेश गरेको छ । मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा जेठ २६ गते तथा लुम्बिनी र कर्णाली प्रदेशमा असार १० गते मनसुनी प्रणाली प्रवेश गरेको थियो ।
चितवन : चितवनमा पछिल्लो तीन महिनाको अवधिमा सवारी साधन दुर्घटनाबाट ३४ जनाको मृत्यु भएको छ । बढ्दो सवारी चाप र सवारी चालकको लापर्बाहीका कारण दुर्घटनासमेत बढ्दो क्रममा रहेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार गत चैत, वैशाख र जेठ महिनामा १४१ दुर्घटना हुँदा ३४ जनाको मृत्यु भएको हो । सबैभन्दा धेरै चैत महिनामा १६ जनाको मृत्यु भएको छ । सो महिनामा ३७ दुर्घटना भएका थिए । ती दुर्घटनामा परेर ११५ जना घाइतेसमेत भएका जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक धर्मबहादुर अधिकारीले बताउनुभयो । गत जेठ महिनामा ४१ वटा दुर्घटना हुँदा १० जनाको मृत्यु भएको उहाँको भनाइ छ । ती दुर्घटनामा परेर ९१ घाइते भएका छन् । गत वैशाख महिनामा सबैभन्दा धेरै ५३ दुर्घटना भएका छन् तर यस दुर्घटनामा मृतकको सङ्ख्या घटेर आठ मात्रै रहेको छ । उक्त महिनामा ११५ जना घाइते भएका थिए । दुर्घटनाको सङ्ख्या हरेक महिना घटबढ हुँदै आइरहेको भन्दै सवारी चालकले सचेत भएर सवारी साधन चलाए आफँै दुर्घटना न्यूनीकरण हुने उहाँले बताउनुभयो । उहाँले क्षमता भन्दा बढी यात्रु चढाउने सवारी साधनलाई कारबाही गर्दै आइरहेको भन्दै स्वयं चालक सचेत नभएसम्म समस्या बल्झिरहने बताउनुभयो । “तीव्र गति र सिट क्षमताभन्दा धेरै यात्रुका कारण पनि दुर्घटना बढेको देखिन्छ”, प्रहरी निरीक्षक अधिकारीले भन्नुभयो, “न्यूनीकरणका लागि हामीले जनचेतना जगाउने काम पनि गर्दै आइरहेका छौँ ।” यसैबीच, जिल्ला ट्राफिक प्रहरी कार्यालयले सवारी कारबाहीलाई तीव्रता दिएको छ । कार्यालयका अनुसार पछिल्लो तीन महिनामै आठ हजार २६४ सवारी साधनलाई कारबाही गरिएको प्रहरी निरीक्षक अधिकारीको भनाइ छ । यसअनुसार गत चैतमा दुई हजार ५२६, वैशाखमा दुई हजार ५२८ र जेठ महिनामा तीन हजार २१० सवारी साधनलाई कारबाही गरिएको छ । कारबाहीबापत ट्राफिक प्रहरीले राजस्वसमेत उठाउँदै आइरहेको छ । तीन महिनामै कार्यालयले कारबाहीबापत रु ७६ लाख ४९ हजार ५०० राजस्व सङ्कलन गर्न सफल भएको जनाइएको छ । सबैभन्दा धेरै गत जेठमा रु ३० लाख पाँच हजार, वैशाखमा रु २३ लाख ३९ हजार ५०० र चैतमा रु २३ लाख नौ हजार ५०० राजस्व सङ्कलन गरेको प्रहरी निरीक्षक अधिकारीले जानकारी दिनुभयो ।