बाँके : बाँकेको कोहलपुर नगरपालिका–१३ खड्कवार निवासी यज्ञबहादुर रानाको परिवारलाई हिजोआज पाहुना रेखदेख गर्न भ्याइनभ्याइ हुन थालेकोे छ । घरमा सञ्चालित खड्कवार नमूना सामुदायिक घरबास ‘होमस्टे’मा आउने पाहुनालाई स्वागत सत्कारदेखि खुवाउने बसाउने कार्यमा उहाँका परिवारको दिन बित्ने गरेको छ । “होमस्टे सञ्चालन भएपछि घरको सबै परिवार यसैमा व्यस्त हुने गरेका छौँ”, घरबास सञ्चालक रानाले भन्नुभयो, “घरका सबै परिवारलाई काम पुग्ने गरेको छ, अलिअलि कमाइ पनि हुन थालेको छ ।”रानाको परिवार जस्तै अहिले जिल्लाका ग्रामीण क्षेत्रमा खुलेका घरबास स्वरोजगारीसँगै आयआर्जनका माध्यम बनेको छ । बाँकेका पाँच सामुदायिक होमस्टेमा ५० घरपरिवार आबद्ध छन् । आफ्नो ठाउँ, परिवेश र माटो सुहाउँदो र आफ्नै मौलिक, भूगोलअनुसार पूर्वाधार तयार गरेर होमस्टे सञ्चालन हुँदै आएको होमस्टे महासङ्घका केन्द्रीय महासचिव एवं बाँकेको गाभर भ्याली सामुदायिक होमस्टेका अध्यक्ष कृष्ण चौधरीले जानकारी दिनुभयो ।उहाँका अनुसार पहिलो होमस्टे सञ्चालन गर्दै आएका परिवार स्वरोजगार हुनाका साथै गाउँमा रोजगार पनि सिर्र्जना भएको छ । गाउँमा उत्पादन हुने स्थानीय जातका मासु र दुधसँग सम्बन्धित पदार्थको खपत पनि गाउँमै हुन थालेकाले गाउँका युवाले पनि गाउँमै काम पाउने वातावरण सिर्जना भएको छ । काम गर्न चाहने युवा गाउँमै रोजगारमा सम्लग्न हुने वातावरण बन्दै गएको छ । जिल्लाभरिका होमस्टेमा वार्षिक रु एक करोडभन्दा बढी आम्दानी हुने गरेको महसचिव चौधरीको भनाइ थियो । “हामीले केबल जीविकोपार्जनमा मात्रै नभई आयआर्जन, संस्कृति प्रवद्र्धन, प्रकृति संरक्षण र पर्यटनको अवधारणा अघि सारेका छौँ”, खड्कवार नमूना सामुदायिक होमस्टेका अध्यक्ष लालबहादुर रानाले भन्नुभयो, “गाउँमा होमस्टे स्थापनापछि गाउँलेको बोलीचालीमा परिवर्तन हुनाका साथै रहनसहनदेखि आर्थिक स्रोतमा पनि उल्लेख्य वृद्धि भएको छ ।” बाँके राष्ट्रिय निकुञ्जसँगै जोडिएको खड्कवारमा ‘संस्कृति र प्रकृति’ को संरक्षण, सम्वद्र्धन र विकासका लागि घरबासले अभियान सञ्चालन गरेको उहाँको भनाइ थियो । तीन वटा घरबाट करिब पाँच वर्षअघि सुरु गरिएको होमस्टे अहिले सात घरमा सञ्चालन भएको छ । थारु, जनजाति, बाहुन र क्षेत्रीको मिश्रित बस्ती रहेको खड्कवारमा आउने पाहुनालाई थारु संस्कृति र परम्परागत राप्ती भेगमा गाइने टप्पा गीत तथा नाँच देखाइने गरिएको अध्यक्ष रानाले बताउनुभयो । स्थानीय उत्पादन भएको तरकारी, खाद्यान्न र लोकल कुखुरा तथा खसीको मासु मात्रै प्रयोग गरिनु खड्कवार होमस्टेको विशेषता हो । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका जिल्लाबाट सहजै पुग्न सकिने भएकाले बाँकेका सामुदायिक होमस्टेमा आन्तरिक पाहुनाको चहलपहल बढ्दो छ । यहाँ लगानीसँगै होमस्टे र ठूलो लगानीका आरामदायी होटलसमेत थपिएको महासचिव चौधरीले बताउनुभयो ।उहाँका अनुसार गाभर भ्याली सामुदायिक होमस्टेकै च्यामा क्षेत्रका रुपमा अहिले च्यामामा पनि घरबास विस्तार भएका छन् । च्यामामा करिब रु एक करोडको लगानीमा गणेश चौधरीले सुविधा सम्पन्न रिसोर्ट प्रकारको घरबास सञ्चालनमा ल्याउनुभएको छ । घरबासभन्दा अलि फरक तरिकाले अझ सुविधा सम्पन्न होटलका रुपमा विकास गर्ने योजना रहेको उहाँले बताउनुभयो । विसं २०७० मा सुरु भएको बाँकेको गाभर भ्याली सामुदायिक घरबास अहिले नेपालकै नमूना घरबासका रुपमा चिनिन्छ । बाँकेमा सञ्चालित होमस्टे जीविकोपार्जनका लागि मात्रै नभई आयआर्जनका माध्यम बनेको गाभर भ्याली सामुदायिक घरबासका अध्यक्ष चौधरीले बताउनुभयो ।
ताप्लेजुङ : ताप्लेजुङमा आठवटा घर पहिराले बगाएको छ भने गाउँ–गाउँमा जोखिम बढेको छ । निरन्तर वर्षा भएसँगै गएको पहिराले आठवटा घर बगाएको हो । गत बिहीबारयता जिल्लामा वर्षाका कारण बाढी–पहिराले क्षति गर्न थालेको हो । जिल्ला विपद् व्यवस्थपन समितिका अनुसार सिरिजङ्गा गाउँपालिका–६ मामाङ्खे गाउँमा दुई र वडा नं ७ खेवाङ गाउँमा एक गरी तीन घर पहिराले बगाएको छ । ३५ घरपरिवार विस्थापित हुन पुगेको समितिले जनाएको छ । विस्थापित परिवार अहिले सुरक्षित स्थानमा रहेको विद्यालयमा बस्दै आएको सिरिजङ्गा गाउँपालिकाका उपाध्यक्ष चित्र माबोले जानकारी दिनुभयो । गत शुक्रबार सिरिजङ्गामा पहिरामा परी दुई जनाको मृत्यु भएको थियो । त्यस्तै मिक्वाखोला गाउँपालिकामा तीन घर पहिराले बगाएको विपद् व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले बताउनुभयो । फक्ताङलुङ गाउँपालिका–२ खेजिनेम गाउँमा दुई घर पहिराले बगाएको छ । तीस घरपरिवार विस्थापित हुन पुगेको फक्ताङलुङ गाउँपालिका अध्यक्ष राजन लिम्बूले जानकारी दिनुभयो । उहाँका अुनसार जोखिमयुक्त बस्तीका घरपरिवालाई सुरक्षित स्थानमा बस्नका लागि आवश्यक सामग्रीसमेत गाउँपालिकाले उपलब्ध गराइसकेको छ । केही घरपरिवार विद्यालयको भवनमा समेत बस्दै आएको गाउँपालिकाले जनाएको छ । निरन्तर वर्षाका कारण गाउँ–गाउँका बस्ती उच्च जोखिम छन् । सदरमुकामबाट गाउँपालिका केन्द्रसम्म पुग्ने सडक अवरुद्ध हुँदा यातायात सञ्चालनमासमेत समस्या हुँदै आएको विपद् व्यवस्थापन समितिले जनाएको छ । विपद्बाट बच्नका लागि सुरक्षित स्थानमा बस्नसमेत प्रशासनले जिल्लावासीलाई अनुरोध गरेको छ ।
पाल्पा : रामपुर नगरपालिका–९ लाम्दीखोला बस्ने मालती भुषालले परिवारको आर्थिक अवस्था उकास्न बाख्रापालनलाई जोड दिँदै हुनुहुन्छ । सधैँ दुई–चार पैसाका लागि अरूको निर्भर रहँदै आउनुभएकी उहाँलाई आफ्नो खर्च आफैँ धान्न हेफर प्रोजेक्ट नेपालले बाख्रा उपहार दिएपछि उत्साह थपिएको छ । ग्रामीण भेगका महिलाको जीविकोपार्जन गर्न हेफरले बाख्रापालनलाई प्रोत्साहन गर्दै उपहारस्वरुप दिएको बाख्रालाई राम्रोसँग पालनपोषण गरी आम्दानी बढाउने भुषालले लक्ष्य लिनुभएको छ । उहाँ भन्नुहुन्छ, “अरूको भरमा रहँदा महिलालाई दुःख छ, घरको काममा मात्रै सीमित बस्दा सधैँ अरूसँगै दुई–चार पैसाका लागि हात थाप्नुपर्ने अवस्था रह्यो, बाख्रा खरिद पनि गर्नु परेन, बाख्रापालन गरियो भने त आफ्नो खर्च हामी आफैँ धान्न सक्छौँ ।” उहाँले पालनपोषण गरेर ठूलो बनाएर उत्पादन बढाउने र त्यसलाई बिक्री गरी आत्मनिर्भर बन्ने बताउनुहुन्छ । बाख्रापालन गरेर आयआर्जन बढाएर अन्य महिलालाई पनि प्रोत्साहित गर्दै व्यावसायिकरूपमा पहिचान दिनसक्ने गरी काम गर्ने उहाँको अठोट छ । कोपिला खाँण ठकुरीले हेफरले उपहार दिएको एकसहित घरमा हाल सातवटा बाख्रापालन गरिरहनुभएको छ । महिलालाई आर्थिक क्षेत्रमा अब्बल बनाउन उपहारका रूपमा दिएको बाख्राबाट धेरै बाख्रा उत्पादन गरेर आफू र परिवारको घरायसी खर्च धान्ने सोच राख्नुभएको छ । अरुको भरमा रहँदा घरपरिवार र समाजमा महिला अपहेलित हुनुपरेको छ । अर्थावस्था बलियो नहँुदा भने कतिपय परिवारमा झै–झगडा हुने गरेको छ । कमाइ नहुँदा महिला हेपिनुपर्ने अवस्था छ । मेहेनत गरेर पालनपोषण गरियो भने बाख्रापालनबाट मनग्य आम्दानी गर्न सकिने कविता गाहा बताउनुहुन्छ । उहाँको घरमा यसभन्दा अघि छवटा बाख्रा पाल्दै आएकामा हेफरले व्यावसाय वृद्धि गर्न एक बाख्रा दिएको छ । विस्तारै बाख्रा उत्पादन वृद्धि गरी ठूलो सङ्ख्यामा व्यावसाय गरेर यसैबाट मनग्य कमाइ गर्ने गाहा बताउनुहुन्छ । “गाउँघरमा प्रशस्त घाँसपात र चरनको सुविधा छ, व्यावसाय गर्छु भन्नेका लागि घर–घरमा बाख्रा उपहारस्वरुप पाइएकै छ, बाख्रा खरिदमा लगानी गर्न नपर्ने, सित्तैमा पाएपछि गाउँका महिलामा बाख्रापालनमा उत्साह र आकर्षण बढेको छ”, उहाँले भन्नुभयो । विभिन्न आधारशीलाका बारेमा महिलालाई आयआर्जनमा वृद्धि गर्न रामपुर नगरपालिकाभित्र मूल समूह र उपहार समूह गरी ३६ वटा समूहको लक्ष्य रहे पनि हाल १० मूल समूह र २१ उपहार समूह गरी जम्मा ३१ वटा समूहमा आवद्ध महिलामाझ कार्यक्रम सञ्चालन गरिरहेको रामपुर कृषि तथा पशु उद्यमशीलता परियोजनाका संयोजक सञ्जु परियारले बताउनुभयो । नगरभित्र आवद्ध रहेका समूहमा महिलालाई वडाको सिफारिस आधारमा बाख्रा उपहारस्वरुप दिइएको छ । पाल्पाका १० पालिकामध्ये हाल आठ पालिकामा साझेदारीमा कार्यक्रम अगाडि बढेको छ । रामपुर नगरपालिकामा गत असारदेखि नै चलिरहेको छ । गएको असारमा मात्रै यहाँ १२८ वटा बाख्रा र छवटा बीउ बोका वितरण गरियो भने हालसालै ३६१ वटा बाख्रा र १० वटा बीउ बोका वितरण गरिएको छ । साझेदारी कार्यक्रमअन्तर्गत ५० प्रतिशत रामपुर नगरपालिकाको र २५ प्रतिशत प्रशासनिक र कर्मचारीको खर्चसहित केही बचेको रकम कार्यक्रममा लगाउने प्रावधानअनुसार कार्यक्रम चलिरहेको छ । समूहमा आवद्ध महिलाको मागका आधारमा बाख्रा वितरण गर्ने, उमेर पुगिसकेपछि र त्यसबाट उत्पादन भएपछि उपहारको रूपमा आफूजस्तै आवद्ध रहेको अर्को समूहका सदस्यलाई उपहारका रूपमा दिने गरी बाख्रा प्रदान गरिएको हेफर प्रोजेक्ट नेपाल पाल्पाका कार्यक्रम अधिकृत शोभाखर न्यौपाने बताउनुहुन्छ । “लिनेमात्रै होइन कि हामीले उत्पादन गरेका बाख्रा अरूलाई पनि दिन सक्षम छौँ भन्ने संस्कार सिकाउन र बाख्रापालनमा प्रोत्साहन दिनका लागि यो कार्यक्रम सञ्चालन गरिरहेका हौँ, बाख्रापालनबाट महिलाको आयस्तर उकास्न ठूलो टेवा पुग्नेछ”, उहाँले भन्नुभयो । हेफरले २३ वर्ष काम गरेको इतिहासमा बाख्रा उपहार कार्यक्रम प्रभावकारी बनेको र यस कार्यक्रममा महिलाको उत्साजनक सहभागिता रहेको न्यौपाने बताउनुहुन्छ । महिलालाई सशक्तीकरण गर्न र महिला परनिर्भरता हटाउनका लागि हेफरले नेपालमा बाख्रापालनबाट कार्यक्रम सुरुआत गरेको हो । बाहिरी देशबाट बाख्राको आयात बढी हुने भएकाले अहिले बाख्राको बजार राम्रो रहेको हुँदा नेपालमै बाख्रा उत्पादन बढाएर आर्थिक समृद्धि वृद्धि गर्न यो कार्यक्रम ल्याइएको हो । विदेशबाट करिब वार्षिक रु छ अर्बभन्दा बढीको खसीबोका आयात हुने गरेको छ । यसलाई प्रतिस्थापन मात्रै गर्न सकियो भने पनि राष्ट्रिय आयमा सहयोग पु¥याउन सक्ने भएकाले यसको बजार मूल्य बढ्दै जाँदा बाख्रापालनबाट राम्रो आयस्रोत लिन सकिन्छ भन्ने उद्देश्यले यस कार्यक्रमलाई जोड दिइएको छ । हेफरले बाख्रापालनका अलवा बङ्गुर, कुखुरा, तरकारी खेतीलाई पनि सँगसँगै जोडेको छ । अब दूध उत्पादनलाई जोड दिँदै कार्यक्रम अगाडि बढाउने योजना छ । स्थानीयवासीको इच्छा र मागअनुसार नै कार्यक्रम गर्ने हेफरले जनाएको छ । कृषि र पशुपालन व्यवसायलाई प्रोत्साहित गरेर आर्थिक क्रान्ति गर्ने गरी यो कार्यक्रम गरिएको साझेदारी संस्था पछौटेपन उन्मूलन समाज (बेस) नेपालका कार्यकारी निर्देशक शालिराम पाण्डेयले बताउनुभयो । यस कार्यक्रमअन्तर्गत बाख्रापालनका लागि आवश्यक पर्ने खोर व्यवस्थापन, दाना व्यवस्थापन, तालिम, गोष्ठीजस्ता कुरामा महिला समूहलाई सचेतनामूलक कार्यक्रम गरिँदै आएको पाण्डेय बताउनुहुन्छ । हेफरले यसभन्दा अगाडि सञ्चालन गरेको जिल्लाका विभिन्न स्थानमा बाख्रापालन कार्यक्रमबाट महिलाले राम्रो आयआर्जन गर्न सफल भएका छन् । निस्दीको गल्धा बहपुर, रम्भाको फोक्सिङकोटलगायतका गाउँका महिला व्यावसायिकरूपमा बाख्रापालन गरेर आर्थिक क्षेत्रमा अब्बल बन्दै गएका छन् ।
बैतडी : बैतडीका आठवटा स्थानीय तह पूर्णखोप सुनिश्चित पालिका घोषणा गरिएका छन् । सोह्र महिनादेखि २३ महिनासम्मका बालबालिकाले राष्ट्रिय खोप तालिकाअनुसार पाउनुपर्ने खोप पाएपछि ती पालिकालाई पूर्णखोप सुनिश्चित पालिका घोषणा गरिएका हुन् । जिल्लाको मेलौली, पुर्चौंडी, पाटन नगरपालिका, शिवनाथ, सिगास, डिलाशैनी, सुर्नया र पञ्चेश्वर गाउँपालिकालाई पूर्णखोप सुनिश्चित पालिका घोषणा गरिएको हो । बाँकी रहेका दनपा र दोगडा दुई पालिकालाई पनि एक–दुई दिनभित्रै पूर्णखोप सुनिश्चित पालिका घोषणा गर्ने तयारी भएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारीदिनुभयो । पालिकाभित्र रहेका बालबालिकाले राष्ट्रिय खोप तालिकाअनुसार खोप पाएपछि पालिकालाई पूर्णखोप सुनिश्चिता पालिका घोषणा गर्ने गरिन्छ । स्वास्थ्यचौकीबाट खोप लाएको प्रमाणीकरण वडास्तरीय खोप समन्वय समितिले प्रमाणीकरणसहित पालिकालाई सिफारिस गर्ने गर्दछ । नगरप्रमुख तथा गाउँपालिका अध्यक्षको नेतृत्वमा रहेको पालिकास्तरीय खोप समन्वय समितिले पनि प्रमाणीकरण गरेपछि पूर्णखोप सुनिश्चितता पालिका घोषणा गरिने प्रावधान रहेको छ । पालिकाले जिल्ला खोप समन्वय समितिलाई प्रमाणीकरणसहितको सिफारिस गर्दछ । यसपछि पालिकाले गरेको पूर्णखोप सुनिश्चिततालाई प्रमाणीकरण गर्न स्वास्थ्य कार्यालयले घरधुरी सर्वेक्षण गर्दछ । त्यसपछि मात्रै जिल्लालाई नै पूर्णखोप सुनिश्चितता घोषणा गरिन्छ । सबै पालिका पूर्णखोप सुनिश्चितता भए पनि यही असार ६ गते बैतडीलाई पूर्णखोपयुक्त जिल्ला घोषणा गर्ने तयारी छ । बैतडी जिल्ला विसं २०७२ असार ६ मै पूर्णखोपयुक्त जिल्ला घोषणा भइसकेको र त्यसपछि हरेक वर्ष पूर्णखोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ ।
झापा : झापाको बिर्तामोड नगरपालिकाले नगरपालिका भित्र लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान सुरुआत गरेको छ । लामखुट्टेलगायत कीटजन्य रोग नियन्त्रणका लागि नगरपालिकाले अभियान अन्तर्गत तालिमप्राप्त २५ जनाको टोली परिचालन गरेको हो । जनस्वास्थ्य निरीक्षक ओमबहादुर खड्काले बिर्तामोड डेङ्गुको जोखिम क्षेत्रभित्र रहेको जानकारी दिनुभयो । नगरवासीको स्वास्थ्य संवेदनशीलतालाई ध्यानमा राखेर अभियान सुरु गरिएको नगरप्रमुख पवित्रा महतारा प्रसाईँले बताउनुभयो । विषादी छर्किने प्राविधिकहरूलाई सही र प्रभावकारीरूपमा विषादी छर्कन निर्देशन दिइएको उहाँको भनाइ छ । यही असार ४ गतेदेखि सुरु भएको अभियान १७ गतेसम्म सञ्चालन हुनेछ । एकपटक छर्किएको विषादीले तीन महिनासम्म काम गर्ने नगरपालिकाले जनाएको छ ।
काठमाण्डौँ : मोटरसाइकलले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक रञ्जन मिश्रका अनुसार गौशाला नगरपालिका–४ मगरटोल बस्ने ५० वर्षीय गणेशबहादुर थापामगरको गौशाला बजारबाट साइकलमा घर जाने क्रममा सोही दिशाबाट बर्दिबासतिर जाँदै गरेको ज१०प २०६६ नंको मोटरसाइकलले ठक्कर दिँदा मृत्यु भएको हो । ठक्करबाट गम्भीर घाइते भएका थापालाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर लगिएकामा उपचारका क्रममा सोही अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । फरार मोटरसाइकल चालकको खोजतलास भइरहेको जनाइएको छ ।
काभ्रेपलाञ्चोक : रोशी गाउँपालिकाले गम्भीर प्रकृतिका बिरामीलाई मासिक रु पाँच हजार दिने निर्णय गरेको छ । बिरामीलाई औषधोपचारमा सहयोग होस् भन्ने उद्देश्यले यस्तो निर्णय गरेको गाउँपालिकाले जनाएको छ । गम्भीर प्रकृतिका प्रत्येक बिरामीलाई मासिक रु पाँच हजार उपलब्ध गराइने निर्णय गरिएको गाउँपालिका अध्यक्ष दिनेश लामाले बताउनुभयो । उहाँका अनुसार तत्काल गम्भीर प्रकृतिका बिरामीको विवरण सङ्कलन सुरु गरिनेछ । गाउँपालिकाभित्रका मिर्गौला प्रत्यारोपण गराएका, डायलायसिस गराइरहेका मिर्गौला रोगी, विभिन्न क्यान्सर तथा मेरुदण्ड पक्षघातका बिरामीलाई औषधोपचारमा सहयोगवापत उक्त रकम दिइने भएको हो । “यसका लागि गाउँपालिकाले सार्वजनिक अपिल गर्दै औषधोपचार खर्च प्राप्त गर्ने बिरामीको आवश्यक विवरण लिने कार्य सुरु गर्दैछौँ”, लामाले भन्नुभयो । गाउँपालिकाबाट औषधोपचार खर्च प्राप्त गर्न व्यक्तिको अस्पतालले प्रमाणित गरेको गम्भीर प्रकृतिका रोग खुल्ने कागजात (अनुसूची १ अनुसार), औषधोपचार खर्च पाऊ भन्ने व्यहोरोका निवेदन (अनुसूची २ अनुसार), बिरामीको नागरिकताको प्रतिलिपि (नाबालकको हकमा जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि) र पासपोर्ट साइजको दुईप्रति फोटोसहित सम्र्पक गर्न आह्वान गरिएको छ । “औषधोपचार नपाई कोही पनि पीडामा बस्नु नपरोस् भन्ने उद्देश्यले तत्काल आफ्नो क्षेत्रका गम्भीर प्रकृतिका बिरामीलाई सङ्घीय सरकारको निर्णयबमोजिम नै उक्त खर्च दिने तयारी गरेका हौँ”, अध्यक्ष लामाले भन्नुभयो ।
काठमाण्डौँ : नारायणगढ–मुग्लिन सडकखण्डको खहरे खोलामा बसका सहचालक चिप्लिएर बेपत्ता भएका छन् । इच्छाकामना गाउँपालिका–५ स्थित खहरेखोलामा काठमाडौँबाट धनगढीतर्फ जान आउँदै गरेको ना६ख ७४६३ नंको बसका सहचालक आज बिहान चिप्लिएर बेपत्ता भएका हुन् । कैलालीको गोदावरी नगरपालिका बस्ने ३५ वर्षीय तेजबहादुर बोहोरा खहरेखोलामा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बसबाट झरेर चाउचाउ किन्न गएका बोहोराको एउटा चप्पल फेला परेको प्रहरीले जनाएको छ । अहिले बोहोराको खोजीका लागि सशस्त्र प्रहरीको विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारको टोली परिचालन गरिएको छ ।
काठमाण्डौँ : नेपाल प्रहरीले भारतको पटनाबाट एक नाबालकको उद्धार गरेको छ । प्रहरी वृत्त बानेश्वरको टोलीले विसं २०७९ असार १ गते काठमाडौँ महानगरपालिका–३१ स्थित नगेन्द्रकान्छा चोकबाट हराएका १४ वर्षीय नवीन रुवालीलाई शनिबार भारतको पटनाबाट उद्धार गरेको हो । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्ष दिनेशराज मैनालीले क्रिकेट खेल्न जाने बाहनामा बुधबार काठमाडौँबाट हराएका रुवालीलाई शनिबार भारतको पटनाबाट उद्धार गरिएको जानकारी दिनुभयो । नाबालकका दाजु भरत रुवाली सार्कीले भाइ हराएको निवेदन दिएका आधारमा प्रहरीले भारतमा आइपिएस तालिम गरेका नेपाली प्रहरी र भारतीय प्रहरीको निरन्तर समन्वय र सहकार्यमा नाबालक नवीनलाई सकुसल उद्धार गरिएको प्रवक्ता मैनालीले बताउनुभयो । भारतको गन्यापधुरा गाउँपालिका–१ घर भएका रुवालीलाई भारतको पटनास्थित रेल्वे स्टेशनबाट सकुशल उद्धार गरी काठमाडौँ ल्याएर आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।