पोखरा:   गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले आफ्नो ७९ औं जन्मदिन ज्येष्ठ नागरिकलाई सम्मान गरेर मनाउनुभएको छ ।   पोखरा १७ सीतापाइला स्थित पोखरा वृद्धाश्रममा शनिबार बिहान पुगेर प्रदे...

   म्याग्दी  ः    म्याग्दी सदरमुकाम बेनीको कालीपुलका व्यापारी सुरेन्द्र गौतम बिहान ५ बजे नै उठेर बेनी बजारको मंका खलःको भवनमा योग गर्न आउनुहुन्छ । गौतमजस्तै ३० भन्दा बढी सर्वसाधारण सोही समयमा योग गर्नका लागि योग कक्षामा हाजिर हुन्छन् ।      पछिल्लो समय म्याग्दीमा सर्वसाधारणको योगप्रति आकर्षण बढेको छ । स्वस्थ रहन र तनाव व्यवस्थापनका लागि योगाशन अभ्यासमा आकर्षण बढेको हो । नवीन आनन्द योग केन्द्र म्याग्दीले विहीबारदेखि बेनीबजारस्थित मंका खलःको हलमा नियमित योग कक्षा सञ्चालन गरेको छ । योग सिक्न बेनी बजारका साथै ग्रामीण क्षेत्रबाट सर्वसाधारण आउने गरेका नवीन आनन्द योग केन्द्रका संस्थापक तथा योगगुरु नवीन जुग्जालीले बताउनुभयो ।      व्यस्त जीवनमा साधारण व्यायाम गरेर आफूलाई स्वस्थ राख्न, तनावबाट मुक्त हुन र शारीरिक स्फूर्तिका लागि योगाशन सिक्न योग कक्षामा आएको सर्वसाधारण बताउँछन् । नवीन आनन्द योग केन्द्रले विगत १० वर्षदेखि जिल्लाका विभिन्न गाउँमा योग केन्द्र सञ्चालन गर्दै आएको छ । कोरोना सङ्क्रमणको जोखिमकालमा विभिन्न ठाउँमा योगाशन सञ्चालन गरेको केन्द्रले विगत तीन महिनादेखि सदरमुकाम बेनीमा योग गर्ने स्थानको अभावमा योग कक्षा सञ्चालन गर्न सकेको थिएन । तर अहिले मंका खलः म्याग्दीको नयाँ निर्माण गरिएको भवनमा हल भाडामा लिइ योग कक्षा सञ्चालन गरेको योग प्रशिक्षक जुग्गालीले बताउनुभयो ।      दिनभर घर व्यवहार र व्यवसायको कामले व्यस्त हुने व्यापारी, कार्यालयमा व्यस्त हुने कर्मचारी र गृहिणी योगप्रति निकै आकर्षित भएका योगगुरु जुग्जालीले बताउनुभयो । “म दिनभरी व्यापारको काममा व्यस्त हुन्छु तर बिहानको डेढ घण्टा म नियमित योग गर्छु”, बेनीको कालीपुलस्थित संगम हाडवर्यरका सञ्चालक सुरेन्द्र गौतमले बताउनुभयो । “योग गर्न थालेपछि रक्तचाप व्यवस्थापन भएको छ । मलाई स्वस्थ, फुर्तिलो बनाउन र सकारात्मक सोचको विकास गर्न योग उपयोगी बनेको महसुस गरेको छु ।” गौतमले विगत आठ वर्षदेखि नियमित योगाभ्यास गर्दै आउनुभएको छ ।      बजार क्षेत्रका नागरिक, व्यापारी, पेशाकर्मी बिहानको समयमा एकै ठाउँमा भेला भएर सामूहिक योगाभ्यास गर्ने गरेका छन् । बेनी नगरपालिका–७ की रचना पुनले खाना नपच्ने, रुघा लागिरहने र रक्तचाप बढ्ने समस्या नियमित योग गर्न थालेपछि व्यवस्थापन भएको अनुभव सुनाउनुभयो । “योग अभ्याससँगै स्वास्थ्यलाई हानी नगर्ने खानपान अपनाउन थालेपछि स्वास्थ्यमा सुधार आएको छ”, उहाँले भन्नुभयो ।      नवीन आनन्द योग केन्द्रका संस्थापक एवं योगगुरु जुग्जालीका अनुसार बेनी, दरवाङ, तिप्ल्याङ, बिम, बाबियाचौर, सिंगा तातोपानी, बेग, लगायतका स्थानमा योगाभ्यास सञ्चालन गरिएको थियो । छोटो अवधिका लागि आयोजना गरिने सामूहिक योगाभ्यासमा सहभागी भएपछि धेरैजसोले घरमै निरन्तरता दिएका छन् । योगाभ्यासमा सहभागीलाई उत्प्रेरणा साथै योग र ध्यानको महत्व बुझाएर आधारभूत ज्ञान र सीप प्रदान गरिने योग प्रशिक्षक जुग्जालीले बताउनुभयो । “गलत खानपान र जीवनशैलीका कारणले शरीर भद्दा, अस्तव्यस्त र अस्वस्थ भएको छ,” उहाँले भन्नुभयो “आसन, प्राणायम र उचित खानपानको माध्यमबाट स्वस्थ रहन योगले सहयोग गर्छ ।”      योगले मानिसको शारीरिक बनावटलगायत मानसिकरूपमा पनि सकारात्मक प्रभाव पार्ने प्रशिक्षक जुग्जालीले बताउनुभयो । जीवनमा स्वस्थ र निरोगी रहन योग विधाको आविष्कार भएको बताइन्छ । व्यस्त जीवनमा हुने तनावबाट मुक्त रहन पछिल्लो समय युवादेखि वृद्धसम्मले यसलाई अपनाएको पाइन्छ । चिकित्सकका अनुसार दैनिक योगले मानिसको प्रतिरक्षा प्रणालीलाई बलियो बनाउँछ ।      योगप्रति आकर्षण बढे पनि बजार क्षेत्रमा अभ्यास गर्ने ठाउँको अभाव छ । मन्दिर, विभिन्न सङ्घ संस्था, सरकारी कार्यालय र होटलका सभाहल परिवर्तन गरेर योग सिकाउने गरिएको छ । नियमितरूपमा एकै ठाउँमा योगाभ्यास सञ्चालन गर्ने ठाउँको अभाव छ । सामाजिक विकास मन्त्रालय र मालिका गाउँपालिकाले दरवाङमा योग केन्द्रको भवन बनाएका छन् । बेनीको कालीपुलस्थित जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको भवनमा गत वर्ष योग सञ्चालनका लागि सभाहल निर्माण गरिएको छ । योग साधकको सङ्ख्या धेरै भएकाले पूर्वाधारको अभाव भएको नवीन आनन्द योग केन्द्रका सचिव हरिप्रसाद पौडेलले बताउनुभयो ।

लमजुङ :       लमजुङमा हालसम्म ३५ प्रतिशतभन्दा बढी रोपाइँ सम्पन्न भएको छ । गत वर्षको तुलनामा पर्याप्त पानी परेसँगै अधिकांश भागमा छिटो रोपाइँ थालिएको कृषि ज्ञान केन्द्र लमजुङले जनाएको छ ।     कृषि ज्ञान केन्द्र लमजुङका प्रमुख सुदीप खतिवडाले गत वर्षको तुलनामा छिटो रोपाइँ भएको बताउनुभयो । गत वर्ष यतिबेला मुस्किलले ३० प्रतिशतको हाराहारी रोपाइँ हुन्थ्यो । यस वर्ष जेठ महिनादेखि नै पानी परेकाले मूल फुटेको, भलपानी छोप्नुपर्ने र खोलाको किनारमा रहेका खेतलगायत अधिकांश ठाउँमा रोपाइँ भइरहेको उहाँको भनाइ छ ।    जिल्लाका केही भाग मकै ढिलो पाक्ने खेतमा भने रोपाइँ हुन बाँकी रहेको केन्द्रले जनाएको छ । जिल्लाका आठ पालिकामध्ये सबैभन्दा बढी मस्र्याङ्दी र क्व्होलासोथर गाउँपालिकामा रोपाइँ भएको उक्त केन्द्रका प्रमुख खतिवडाको भनाइ छ ।    केन्द्रका अनुसार लमजुङको ४५ हजार ५० हेक्टर क्षेत्रफल  खेतीयोग्य जमिनमध्ये १६ हजार ६१२ हेक्टरमा धानखेती हुँदै आएको छ । त्यस्तै, ९१० हेक्टर क्षेत्रफलमा चैते धानखेती हुँदै आएको छ । रोपाइँ हुने खेतमध्ये गत वर्ष ९० प्रतिशतभन्दा बढी खेतमा रोपाइँ भएको केन्द्रले जनाएको छ ।    जिल्लामा ठूला–ठूला फाँटहरु रामचोकबेँसी, राइनासटार, धमिलिकुँवा, चक्रतीर्थ, भलाखर्क, भोर्लेटार, दुईपिप्ले, सोतिपसल, परेवाडाँडा, सत्रसय, सुन्दरबजारलगायत स्थानमा बढी धान उत्पादन हुने गरेको छ ।     जिल्लाका किसानले सावित्री, जेठोबुढो, रामधान, सुनौलो सुगन्ध, लोकतन्त्र, एक्लेजस्ता उन्नत जातका धानलगायत मकवानपुर, गोरखनाथ, लोकनाथ, मनसुली, युएस ३१२, उपज, वर्षे तीन हजार चारलगायत हाइब्रिड जातको धान लगाउँदै आएका छन् । त्यस्तै कम पानी हुने ठाउँमा सुक्खा–१, सुक्खा–२ र सुक्खा–३ जातका धान लगाउने गरेका छन् । गत वर्ष १४ हजार २६० हेक्टर क्षेत्रफलमा लगाइएको धान खेतीबाट ४४ हजार ७७६ मेट्रिक टन धान उत्पादन भएको थियो ।

    चितवन :      शनिवार विहान करिव ८ बजेको समयमा कुमरोज सामुदायिक वनमा घाँस काट्न गएकी एक महिला बाघको आक्रमणबाट  घाईते भएकी छिन् ।   खैरहनी नगरपालिका– १३  बस्ने बर्ष ३८ की बालिका गुरुङ्गलाई बाघले आक्रमण गरेको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक रविन विष्टका अनुसार घाईतेको अवस्था गम्भीर छ । घाईतेको अहिले मेडिकल कलेज भरतपुरमा  उपचार भई रहेकोछ ।    चितवनमा पछिल्लो समय बाघको आक्रमण वढेको छ । पछिल्लो एक वर्षमा चितवन निकुञ्ज वरपरका वनक्षेत्रमा मात्रै बाघको आक्रमणवाट १६ जनाको मृत्यु भैसकेको छ । 

काठमाडौं :       मनसुनी वायुको प्रभाव हाल देशभर रहेका कारण केही दिन अझै पानी पर्नेछ । देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश नं १, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ।    शनिबार देशभर आंशिकदेखि सामान्य बदली रहनेछ ।  देशका पहाडी भूभागका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। देशका तराई क्षेत्रका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । त्यस्तै आइतबार पनि देशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ ।    सोमबार भने देशभर आंशिकदेखि सामान्य बदली रहनेछ ।  देशका केही स्थानहमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका का एक वा दुई स्थानहरूमा भारी वर्षाको  सम्भावना रहेको महाशाखाले शनिबार प्रकाशित विज्ञप्तिमार्फत जानकारी गराएको छ । 

पाँचथर :        अविरल वर्षासँगै पहिरो गएर पाँचथरमा एक घर बगाउँदा तीन जना बेपत्ता भएका छन् ।      पाँचथरको फालेलुङ गाउँपालिका–७ विहीदिनका रुपलाल मगरको घर पहिराले बगाउँदा ४२ वर्षीय रुपलालसहित तीन जना बेपत्ता भएका हुन् । बेपत्ता हुनेमा उनकी श्रीमती ३८ वर्षीया गोमा र १९ वर्षीया भतिजी एलिसा छन् । रुपलालका काका ७१ वर्षीय दलप्रसाद मगर भने पहिरोमा उछिट्टिएर बाँच्न सफल भएका छन् । शुक्रबार राति पहिरो झरेर ढुङ्गा, माटोले बनेको रुपलालको घर तथा गोठ बगाएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।      घटनास्थलबाट करिब ५०० मिटरको दूरीमा रहेको प्रहरीचौकी सिदिनको टोली घटनाको जानकारी पाउनासाथ घटनास्थल पुगेको थियो । उद्धारका नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली घटनास्थलतर्फ गएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिनुभयो । तर, बिहानसम्म बेपत्ता फेला नपरेको प्रनाउ थापाले जानकारी दिनुभयो । 

पोखरा :      पोखरा विश्वविद्यालयको रजत जयन्तीको अवसर पारेर ‘दिगो सहरहरूमा आजीवन शिक्षा’ विषयक एकहप्ते प्रशिक्षण सम्पन्न भएको छ ।    पोखरा विश्वविद्यालय विज्ञान तथा प्रविधि सङ्कायको आयोजनामा सञ्चालित प्रशिक्षणमा पोखरा महानगरपालिका, जिल्ला प्राविधिक कार्यालय कास्की, भिमाद नगरपालिका, शुक्ला गण्डकी नगरपालिका, व्यास नगरपालिका, पोखरा विश्वविद्यालय स्कुल अफ इञ्जिनियरिङ, मध्यनेपाल नगरपालिका एवं विभिन्न अनुसन्धान  एवं प्राविधिक परामर्शदाता इञ्जिनियर एवं आर्किटेक्ट गरी २३ को उपस्थिति थियो ।      प्रशिक्षण अवधिमा प्रशिक्षार्थीलाई सहरी परिभाषा, सहरी योजनाको परिचय, क्षेत्रीय योजना, दिगो विकासको अवधारणा, लक्ष्य तथा उद्देश्यका बारेमा प्रस्तुति दिइएको थियो ।     साथै सहरीकरण, सहरी वृद्धि प्रवृत्ति र चुनौती, सहरीकरणको विश्वव्यापी र क्षेत्रीय सन्दर्भ, दिगो सहर र प्रकार, कम कार्बन सिटी/हरित सहर/स्मार्ट सिटी, दिगो भूमि प्रयोग, पानी, यातायात, फोहोर, हरियो भवन/आवासको सन्दर्भमा समेत प्रशिक्षार्थीलाई प्रस्तुतीकरण गरिएको थियो ।       नेपालमा दिगो सहर योजना, दृष्टिकोण, दिगो भूमि प्रयोग, ल्याण्ड पुलिङ, दिगो पानी आपूर्ति, फोहोर व्यवस्थापन र आवासका आधारभूत तथ्यको विषय समेत प्रशिक्षणमा प्रस्तुति गरिएको थियो ।      कार्यक्रमका प्रमुख प्रशिक्षकमा योजनाकार एवं त्रिभुवन विश्वविद्यालय पुल्चोक क्याम्पसका सह–प्रा डा सञ्जय उप्रेती, पोखरा विश्वविद्यालय स्कुल अफ इञ्जिनियरिङका उप–प्रा एवं विज्ञान तथा प्रविधि सङ्काय पोखरा विश्वविद्यालयका पूर्व डीन बुद्धिराज जोशी र योजनाकार वर्षा श्रेष्ठ हुनुहुन्थ्यो । प्रशिक्षण दुईदिन भौतिक उपस्थिति र पाँच दिन अनलाइन विधिबाट सञ्चालन भएको थियो ।      कार्यक्रमको समापन समारोहमा विश्वविद्यालयका रजिष्ट्रार सह–प्रा डा दीपकबहादुर भण्डारी, विज्ञान तथा प्रविधि सङ्कायका डीन सह–प्रा राजेशकुमार ठगुराठी, स्कुल अफ इञ्जिनियरिङका स्कुल निर्देशक उप–प्रा ओम प्रकाश गिरी, योजनाकार एवं त्रिभुवन विश्वविद्यालय पुल्चोक क्याम्पसका सह–प्रा डा सञ्जय उप्रेती, नेपाल इञ्जिनियरिङ एशोसिएशनका गण्डकी प्रदेश सदस्य इञ्जिनीयर रवीन्द्रलाल मुल र प्रशिक्षार्थी कृष्ण घिमिरेले कार्यक्रमको महत्वका बारेमा प्रकाश पार्नुभएको थियो । 

काठमाण्डौँ :    नेपाल प्रहरीले बैंकिङ कसुर मुद्दामा फरार दुई जनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले उच्च अदालत पाटनको फैसलाअनुसार जरिवना र कैद सजाय तोकिएका महोत्तरी घर भई ललितपुर बस्ने २८ वर्षीय गौरभ शर्मा र धादिङ घर भई काठमाडौँको मनमैजु बस्ने ३१ वर्षीय प्रेमबहादुर गुरुङलाई आज पक्राउ गरेको हो ।   ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक श्यामकुमार महतोले उच्च अदालत पाटनबाट बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ बमोजिम कैद तथा जरिवाना ठहर भएका शर्मा र गुरुङलाई आज बालुवाटारबाट पक्राउ गरिएको जानकारी दिनुभयो ।   पक्राउ शर्मालाई अदालतले ११ दिन कैद सजाय तथा रु ५५ लाख जरिवना तथा गुरुङलाई रु नौ लाख ९० हजार जरिवाना तथा दुई दिन कैद सजाया हुने फैसला गरेको थियो । पक्राउ परेका दुवैलाई फैसला कार्यान्वयनका लागि आज जिल्ला अदालत ललितपुर पेश गरिएको प्रवक्ता महतोले बताउनुभयो । 

काठमाडौँ :     नेपाल कसरी परनिर्भर बन्दै गएका छन् भन्ने एउटा सामान्य उदाहरणका रूपमा लिन सकिन्छ नेपालमा भइरहेको कटुसको आयात । नेपालका वनजङ्गलमा सहजरूपमा पाइने कटुससमेत आयात गरेर नेपालीले खाइरहेको पाइएको छ ।    नेपालीले विशेषगरी भाइटीकाका दिनमात्रै प्रयोग गर्ने गरेको कटुसका बारेमा जानकारी पाएर पनि त्यसलाई व्यावसायिक उत्पादनमा ध्यान दिन सकेका छैनन् । तर त्यही कटुसको आयातका लागि अमेरिकन डलर खर्च भइरहेको छ ।   व्यावसायिकरूपमा खेती गर्नु नपर्ने, वनजङ्गलमा सजिलै पाइने तथा गाउँघरमा खेर गइरहेको कटुससमेत आयात गरेर नेपालीले परनिर्भरताको उदाहरण पेस गरिरहेका छौँ । एघार महिनाको अवधिमा ७६ किलो कटुस आयात भएको छ । त्यसको मूल्यमात्रै रु ४९ हजार बराबर छ । सानो परिमाण भए पनि यसबाट विदेशी मुद्रा थप विदेशिएको छ ।    भन्सार विभागले सार्वजनिक गरेको चालु आवको जेठ मसान्तसम्मको आयात निर्यातसम्बन्धी विवरणानुसार १३ लाख ७४ हजार ७८६ किलो काजु आयात भएको छ । उक्त परिमाणमा काजु आयात गर्नका लागि रु एक अर्ब ११ करोड ९२ लाख ७६ हजार खर्च भएको छ । त्यसबाट सरकारले रु ३४ करोड ४७ लाख ३९ हजार राजस्व सङ्कलन गरेको छ ।   भारत, भियतनाम, मोजाम्बिक, नाइजेरिया, चिली, अमेरिकालगायत देशबाट नेपालमा काजु आयात हुने गरेको छ । भारतबाट मात्रै रु ४९ करोड १७ लाख ५९ लाख मूल्यमा ५७ लाख ३५ हजार ७८ हजार किलो काजु भित्रिएको छ ।    त्यस्तै चालु आवको ११ महिना अवधिमा रु ७९ करोड ७१ लाख ७० हजार मूल्य बराबरमा कूल १२ लाख ४५ हजार ६८१ किलो बदाम (आल्मण्ड) आयात भएको छ । अमेरिकाबाट मात्रै १२ लाख पाँच हजार ३०२ किलो बदाम रु ७६ करोड ६८ लाख ८० हजार मूल्य बराबरको भित्रिएको छ । अमेरिकामा आलमण्डको ठूलो मात्रामा व्यावसायिक खेती हुने गरेको छ । नेपालको हावापानीमा पनि आमल्ड उत्पादन हुनसक्छ । नेपालीले त्यसतर्फ ध्यान दिन सकेका छैनन् ।   ६९ करोड ६० लाखको ओखर आयात   विभागका अनुसार यस अवधिमा रु ६९ करोड ६० लाख ४९ हजार मूल्यमा २२ लाख ७७ हजार ५३७ किलो ओखर आयात भएको छ । नेपालको भिरपाखामा सहजै रोप्न सकिने ओखरसमेत आयात गरेर खानुपर्ने अवस्थाका कारण नेपालको परनिर्भरता झनै बढेर गएको हो ।    ओखर आयात गर्दा मात्रै मुलुुकले रु २१ करोड ५२ लाख ८३ हजार रकम राजस्व सङ्कलन गरेको छ । छिमेकी मुलुक चीनबाट ओखर सबैभन्दा धेरै भित्रिने गरेको तथ्याङ्क छ । चालु आवको ११ महिनामा चीनबाट २० लाख ५६ हजार ६७९ किलो ओखर रु ६३ करोड १० लाख ७८ हजार मूल्य बराबरको आयात भएको छ । बाँकी परिमाण भने भारतलगायतका अन्य देशबाट आयात भएको छ ।    त्यस्तै रु छ करोड ३७ लाख ६१ हजार मूल्यमा कूल छ लाख ९४ हजार २२३ किलो छोकडा आयात भएको छ । जसमा सुकेका छोकडा रु चार करोड १३ लाख ७३ हजार बराबरका छन् भने ताजा छोकडा रु दुई करोड २३ लाख ८८ हजारका बराबरका छन् ।    एक अर्बको सुपारी आयात    त्यस्तै चालु आवको गएको ११ महिनामा रु एक अर्ब ७० करोड ८५ लाख ८५ हजार मूल्य बराबरको कूल ८४ लाख ५१ हजार ४१५ किलो सुपारी आयात भएको छ । उक्त परिमाणको सुपारी नेपालले इन्डोनेशियाबाट आयात गरेको हो । नेपालले सुपारीको निर्यातसमेत गर्दछ । तेस्रो मुलुकबाट सुपारी आयात गरी मुख्य गरी भारतमा यसको निर्यात हुँदै गरेको देखिन्छ । नेपालले यस अवधिमा रु ५६ करोड ८७ लाख ७० हजार मूल्य बराबरको १४ लाख १० हजार ६४० किलो सुपारी निर्यात गरेको छ ।    विभागका अनुसार यस्ता अन्य ड्राइफ्रुट्स रु एक अर्ब ४३ करोड ७१ लाख ८४ हजार बराबरको आयात भएको छ । त्यसबाट सरकारले रु ७३ करोड ६७ लाख १५ हजार राजस्वसमेत सङ्कलन गरेको छ । नेपालीले नेपालको भौगोलिक अवस्था तथा हावापानीमा राम्रो उत्पादन हुने जुनेलोसमेत आयात गरिरहेको विवरण छ । नेपालले चालु आवको जेठ मसान्तसम्मको अवधिमा ७७७ किलो जुनेलो रु ४० हजार मूल्यमा आयात गरेको छ ।   बारीका डिलमा रोप्दा हुने जुनेलो खरिद गर्न विप्रेषणबाट भित्रिएको पैसा खर्च गर्न थालेपछि त्यसले अर्थतन्त्रमा नकारात्मक प्रभाव पार्ने कुरा स्वभाविक नै भएको बताइएको छ ।

काठमाडौँ :      विविधता झल्काउने खालका तस्बिरहरुको मेला ‘फोटो मेला–२०७९’ काठमाडौँको प्रदर्शनीमार्गस्थित पर्यटन बोर्डमा सुरु भएको छ । प्रदर्शनीमा दोलखाको धार्मिक, सांस्कृतिक र पर्यटकीय स्थल, जनजीवन, पुराना तथा नयाँ बस्ती, त्यहाँबाट देखिने हिमाल र ताल समेटिएका १०० तस्बिर राखिएका छन् ।      “प्रदर्शनीमा राखिएका फोटाहरुले दोलखाको समग्र पक्षहरु धार्मिक, सांस्कृतिक र पर्यटकीय स्थलहरुलाई समेटेको छ,” तस्बिर अवलोकन पछि बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री दीपेन्द्र श्रेष्ठले भन्नुभयो, “पर्यटकीय क्षेत्रका खिचिएका  तस्बिरले दोलखाको समग्र विकासमा थप सहयोग पुग्नेछ ।” “दोलखा धार्मिक, सामाजिक, सांस्कृतिक र पर्यटकीय दृष्टिकोणले निकै सुन्दर र उत्कृष्ट गन्तव्य हो ।” उहाँले थप्नुभयो, “आफूले बजेट निर्माणका क्रममा दोलखाको धेरै स्थान घुमेको र बागमती प्रदेशको उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउन पनि लागिपरेको छु ।”      दोलखाको विकासका लागि बाग्मती प्रदेशले अध्ययन गरेर नै बजेट विनियोजन गरेको छ भन्दै मन्त्री श्रेष्ठले “जिरीमा मानव निर्मित पर्यटकीय ताल निर्माणका लागि रु १५ करोड, भीमसेन मन्दिर परिसरमा रहेको मुद्रा सङ्ग्रहालय निर्माणका लागि रु एक करोड ६२ लाख, सैलुङमा पर्यटकीय पूर्वाधार निर्माण आदिमा पनि बजेट छुट्याइएको छ ।” दोलखा मिडियाद्वारा आयोजना गरिएको तीनदिने फोटो प्रदर्शनीको  मुख्य उद्देश्य नै राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरबाट पर्यटक भित्र्याउनु रहेको छ ।“फोटो प्रदर्शनीले दोलखालाई देशभर चिनाउनाका साथै अन्तर्राष्ट्रियस्तरमा समेत चिनाउन सहयोग पुग्छ भन्ने मलाई लाग्छ,” तस्बिर अवलोकन गर्दै पर्यटन बोर्डका कार्यकारी अधिकृत डा धनञ्जय रेग्मीले भन्नुभयोे ।        दोलखा चलचित्र नगरीको विकासको अगुवाइ गरिरहनुभएका वरिष्ठ कलाकार मदनदास श्रेष्ठले  दोलखा प्राकृतिक र सांस्कृतिक सुन्दरताले भरिपूर्ण जिल्ला भएको बताउनुभयो । उहाँले भन्नुभयो, “प्रदर्शनीमा राखिएका तस्बिरले दोलखाको हरेक पक्षको बयान गरेको छ, त्उहाँको विकासका लागि सबै राजनीतिक दलहरुले समानरुपमा ध्यान दिनुपर्छ ।” आफूले त्यहाँको पर्यटन विकासका लागि सहयोग पु¥याउने उद्देश्यले २०२६ सालमा ‘एक शीला तीन अवतार’ भन्ने शीर्षकमा भीमसेन मन्दिरको बारेका लेखेकोे र २०२७ सालमा आँखा पत्रिकामार्फत साहित्यिक पत्रिकाले पनि दोलखाको साहित्य, कला, पर्यटन विकासका लागि कलम चलाएको सुनाउनुभयो । आयोजक मिडियाका अध्यक्ष राजेन्द्र मानन्धरले मेलामा दोलखाको विविधता झल्काउने खालका तस्बिरहरु भएको र त्यहाँको विकास र जनजीवनको भित्री पाटोलाई चित्रमार्फत उठान गरिएको जानकारी दिनुभयो । मेला स्वदेशी र विदेशी पाहुनाहरुले पनि  अवलोकन गर्ने कार्यक्रम रहेको छ ।      के देख्न पाइन्छ तस्बिरमा ?      आजदेखि प्रारम्भ भएको असार १९ गतेसम्म चल्ने फोटो प्रदर्शनीमा त्यहाँको पर्यटकीय, धार्मिक, सांस्कृतिक र ऐतिहासिक मनोरम प्राकृतिक दृश्य देख्न पाइन्छ । जातजातिका अनेकन संस्कार, संस्कृति, भाषा, वेशभूषा पनि देख्न पाइनाका साथै पहिलाको दोलखाको बस्ती र अहिलेको दोलखाको ताजा बस्तीका बारेमा पनि अवलोकन गर्न सकिन्छ  ।     प्रदर्शनीमा वरिष्ठ फोटो पत्रकार चन्द्रशेखर कार्की, फोटो पत्रकारहरु फ्रिज बर्गर (ग्रिस फोटो पत्रकार), केशव थोकर, ज्ञानेन्द्र कार्की, लक्ष्मीप्रसाद ङाखुसी, रेखा शाक्य, जीवन लामा, केदार शिवाकोटी, निकेश श्रेष्ठ, प्रह्लाद आचार्य, सुशील श्रेष्ठ, मन्जिमलाल कायस्थ, निमेष कायस्थ, किरण श्रेष्ठ, हिमाल थामी, सविन बुढाथोकी, सकिला कार्की र चिलोचन प्रधानले खिचेका १०० तस्बिरहरु राखिएका छन् ।       मिडियाका अध्यक्ष मानन्धरका अनुसार दोलखालाई पर्यटकीय दृष्टिकोणले निकै उत्कृृष्ट गन्तव्य मानिएको र प्रदर्शनीबाट त्यहाँको बारेमा विश्वव्यापीरुपमा प्रचार गरी पर्यटक वृद्धि गर्ने प्रमुख उद्देश्य रहेको छ ।नेपालको राजधानी काठमाडौँबाट दोलखा १३३ किमी दूरीमा रहेको छ । उक्त मिडियाले दोलखाको विकासका लागि प्रदर्शनी, प्रकाशन, प्रसारण, वृत्तचित्र निर्माण, अनुसन्धान, विज्ञापन र मिडिया क्षेत्रको विकासमा हातेमाले गर्दै आएको छ । सोही क्रममा अहिले राजधानीमा फोटो मेला आयोजना गरिएको हो । प्रदर्शनीमा दोलखा विकास मञ्चका अध्यक्ष तथा इन्जिनियर महेन्द्रबहादुर कार्की, समाजसेवी सोभित उप्रेती, कलाकार, अधिवक्ता तथा पत्रकारहरुको उपस्थिति थियो ।