पोखरा:   गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले आफ्नो ७९ औं जन्मदिन ज्येष्ठ नागरिकलाई सम्मान गरेर मनाउनुभएको छ ।   पोखरा १७ सीतापाइला स्थित पोखरा वृद्धाश्रममा शनिबार बिहान पुगेर प्रदे...

  पोखरा :      कास्कीको पर्यटकीय स्थल घान्द्रुक जाने सडकखण्डको जोखिमयुक्त घुम्तीमा लामा फाउण्डेशन घान्द्रुकले कन्भेक्स मिरर राखेको छ ।  कास्कीको अन्नपुर्ण गाउँपालिका १० र ११ घान्द्रुकस्थितका विभिन्न १० घुम्तीमा १ लाख बराबरको कन्भेक्स मिरर जडान गरेको हो ।सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्य सहित कन्भेक्स मिरर राखेको फाउण्डेशनका संस्थापक अमृत लामा गुरुङले बताए । उनका अनुसार अन्नपूर्ण ८ को बिरेठाँटी, लामखेत, सार्दीखोला, सिर्दीडाँडा, भिचुकचोकमा २ वटा, छैछरीचोकको स्कुल घुम्ती, सिँवै र हुँदुँ  लगायतका घुम्तीहरुमा कन्भेक्स मिरर (ऐना) जडान गरिएको हो ।   घान्द्रुकमा दिनहुँ पर्यटकको आवागमन वृद्धि भएको बताउदै यात्रालाई सुरक्षित गराउने उद्देश्य सहित ऐना जडान गरिएकोे बताए । ‘अहिले सडक पिच भएको छ गाडीको गति बढी हुने र दुर्घटना हुने सम्भावना बढी भएकाले यसलाई न्यूनीकरण गर्ने उद्देश्यसहित जडान गरेको हो, उनले भने, ‘यो अभियानमा देश तथा विदेशमा रहनुभएका आफन्तजन साथीभाईहरुको आर्थिक सहयोग गर्नुभएको छ ।’   कन्भेक्स मिररले विपरित दिशाको बाटोको अवस्थालाई देख्न सघाउ पुर्याउछ । कन्भेक्स मिरर जडान गरेपछि चालकहरु पनि हर्षिद छन् । स्थानीय चालक विजय घमालले जोखिमयुक्त सडकको घुम्तीहरुमा ऐना जडान गरेपछि दुर्घटना न्यूनीकरण हुने धारणा राखे । उनले ऐना जडान हुनुभन्दा पहिले घुम्तीहरुमा सवारी हर्नको प्रयोग अत्यधिक हुने गरेको बताउदै अब कन्भेक्स मिररले हर्नको प्रयोग गर्न नपर्ने सुनाए । ‘कसैले त हर्न पनि बजाउँदैनन्, उनले भने, ‘ऐना राखेपछि उताबाट के आएको छ प्रष्ट देखिन्छ । त्यसैले दुर्घटना हुने सम्भावना कम छ । र हामीलाई गाडी चलाउन पनि सजिलो भएको छ ।’उनले फाउण्डेशनका संस्थापक लामालाई धन्यवाद समेत व्यक्त गर्दै विगतमा कलाभीरमा समेत रेलिङ निर्माण गरिदिएको स्मरण गरे ।   विभिन्न सामाजिक कार्यमा सक्रिय रहदैं आएको फाउण्डेशनले यस अघि घान्द्रुकस्थित कलाभीरमा सम्भावित दुर्घटना न्यूनीकरण गर्ने उद्धेश्यसहित १ लाख ४५ हजारको लागतमा रेलिङ निर्माण गरेको थियो । उक्त भीरमा गत वर्षको असोज २५ गते जिप दुर्घटना हुँदा चालकसहित ८ जनाले घटनास्थलमै ज्यान गुमाएका थिए ।    

पोखरा:  ८ बुँदे सहमतिसहित पोखराको पालिखे चोकमा निर्माणधिन फल्चा विवाद टुङ्गिएको छ ।  शुक्रबार महानगरका मेयर धनराज आचार्य, भिन्तुना युवा क्लब र स्थानीयहरुबीच पोखरा ३ पालिखे चोकमा निर्माणाधिन फल्चाको विषयमा ८ बुँदे सहमति गर्दै विवाद समाधान भएको हो ।    यसअघि भिन्तुना युवा क्लबका अध्यक्ष राजन श्रेष्ठ नेतृत्वाको टोलीले पालिखे चोकमा फल्चा निर्माण रोक्न भन्दै विरोध गर्दै आएका थिए । ‘फल्चा भित्र हिटी (धारो) नराख्ने, फल्चाको आकार मिलेसम्म सानो बनाउने, हालको मेयरको कार्यकाल भित्र आवश्यक अधिग्रहण गरि पालिखेचोक चक्लाबन्दी गर्ने तथा सो चोकदेखि नालामुखसम्म ढल तथा सडकको स्तरोन्नती कार्यक्रम अगाडी बढाउने साथै भिन्तुना युवा क्लब र सरस्वती मन्दिर संरक्षण समिति र स्थानीयसँग सहकार्य गर्ने’ पत्रमा उल्लेख गरिएको छ ।    यसैगरि विकास गर्ने क्रममा आवश्यक परेको खण्डमा सो फल्चा हटाउन दुवै संस्थासँग सहकार्य गर्ने, वडामा आयोजना हुने हरेक कार्यक्रममा सहकार्य गर्दै अगाडी बढ्ने सहमति भएको छ ।      सकियो ५० प्रतिशत काम   पोखरा महानगरपालिका ३ पालिखे चोकमा निर्माणाधिन फल्चाको ५० प्रतिशत काम सम्पन्न भएको छ ।  अभियन्ता अशोक पालिखका अनुसार महानगरपालिकाले २० गते सम्मको समय दिएकाले फल्चा निर्माण तिन दिनभित्र सम्पन्न हुनेछ ।    सिता विल्डर्सले ठेक्का सम्झौता गरि १९ लाख २२ हजार ९ सय २५ रुपैयाँमा फल्चा निर्माणको काम गरिरहेको छ । 

कास्की:  पोखरा महानगरपालिका ३३ स्थित भरतपोखरीबासीले आफ्नो वडामा ल्याण्डफिल्ड साइट व्यवस्थापन गर्न नदिने बताएका छन् ।    भरतपोखरीबासी सचेत नागरिकद्वारा आज (शुक्रबार) आयोजित ल्याण्डफिल्ड साइट ठिक कि बेठिक विषयक छलफल कार्यक्रम पश्चात कुनैपनि सर्तमा ल्याण्डफिल्ड साइट पोखरा ३३ मा सार्न नदिने निष्कर्षमा पुगेका हुन् ।   स्थानीय अगुवा तथा छलफल कार्यक्रमका संयोजक किरण थापाले आफ्नो वडामा ल्याण्डफिल्ड साइटका लागि जग्गा नदिने बताउदै सुनगाभा न्यूजसँग भने ‘कुनैपनि हालतमा र कुनैपनि सर्तमा पोखरा ३३ मा ल्याण्डफिल्ड साइट लैजान नदिने निर्णय गरेका छौं ।’   स्थानीयबासीको छलफलपछि ४ वटा विषयमा निर्णय भएको कार्यक्रम संयोजक थापाले बताए । उनका अनुसार भरतपोखरीमा ल्याण्डफिल्ड जान नदिने, भोलि (शनिबार) वडा कार्यालयको आयोजनामा सर्वदलीय भेला आयोजना गर्ने, आइतबार महानगरपालिकामा विरोध पत्र बुझाउने, र सँघर्ष समिति बनाएर चरणबद्ध रुपमा आन्दोलन अघि बढाउने निर्णय गरेको हो ।   यसअघि पोखरा महानगरपालिकाको पहिलो कार्यपालिकाको बैठकले पोखरा ३३ स्थित भरतपोखरीमा ल्याण्डफिल्ड साइट सार्न आवश्यक बजेट व्यवस्थापन गर्दै आवश्यक पूर्वाधार निर्माण गर्ने निर्णय गरेको थियो ।    यता पोखरामा निर्माणाधिन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको लागि ल्याण्डफिल्ड सार्नै पर्ने नागरिक उड्डयन प्राधिकरणले बताउँदै आएको छ । विमानस्थलको निर्माणकार्य अन्तिम चरणमा रहेकोले सञ्चालनको पूर्वसर्त पोखरा १४ मा रहेको ल्याण्डफिल्ड साइट सार्नपर्ने र रिठेपानीको डाँडा कटान गर्नुपर्ने आयोजनाले जनाएको छ ।    त्यसपछि पोखरा महानगरले पोखरा ३३ भरतपोखरीस्थित दुई स्थानमा ल्याण्डफिल्ड साइट सार्नको लागि स्थलगत अवलोकन गरेको थियो ।   अहिले स्थानीयहरु सो स्थानमा फोहोर व्यवस्थापन गर्न नदिने निष्कर्षमा पुगेको वडाध्यक्ष रामचन्द्र अधिकारीले बताए । ‘आजको व्यापक छलफलपछि चाँह राख्न नदिने नै भन्ने भाछ, वडाध्यक्ष अधिकारीले भने,  ‘९९ प्रतिशत नै वडा नम्बर ३३ मा राख्न दिन हुदैंन भन्ने राय आएको छ ।’   उनले भोलि (शनिबार) पोखरा महानरपालिकाका प्रमुख तथा उपप्रमुख, पोखरा ३३ का दलीय नेताहरु र स्थानीयहरुबीच अन्तरक्रिया कार्यक्रम राख्नको लागि पहल गरिरहेको बताए ।     ‘ल्याण्डफिल्ड साइट’ नसारे विमानस्थलमा जहाज उड्दैनन्   राष्ट्रिय गौरवको आयोजना अन्तर्गत पोखरामा निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालनका लागि महानगरले व्यवस्थापन गर्दै आएको ल्याण्डफिल्ड साईट स्थानान्तरण गर्नुपर्छ ।   विज्ञहरुका अनुसार विमानस्थल सञ्चालनका लागि पोखरा महानगरपालिका वडा नम्बर १४ बाट ल्याण्डफिल्ड साइट अन्यत्र लानुपर्छ ।   यदि सो ठाउँबाट ल्याण्डफिल्ड साईट सारिएन भने पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउँन सक्दैन । किनभने धावनमार्ग र ल्याण्डफिल्ड साईट नजिकै छ । एउटै क्षेत्रमा विमानस्थल र ल्याण्डफिल्ड साइड रहेकाले  गिद्ध र चराहरु विमानस्थलमा नाँच्छन् ।     यस आसपासमा व्यापक गतिविधि बढाउँछन् र उडानमा अवरोध सिर्जना गर्छन् । त्यसैले नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीले भन्छन् , ‘ल्याण्डफिल्ड साइट विमानस्थल सञ्चालनको पूर्वसर्त हो । यो ल्याण्डफिल्ड साइट सरेन भने पोखरा विमानस्थल सञ्चालन हुने विषय अनिश्चित छ ।’

सप्तरी :      सप्तरीमा छ महिनाको अवधिमा ४४ वटा मानवअधिकार उल्लङ्घन तथा ज्यादतिका घटना बढेको छ । इन्सेक सप्तरी शाखाले सन् २०२२ को जनवरीदेखि जुनसम्मको अवधिमा अभिलेख गरिएको घटना सार्वजनिक गर्दै सो जानकारी दिएको हो । यो छ महिनाको अवधिमा महिला र बाल हिंसाका घटना बढी अभिलेख गरिएको छ ।   इन्सेक प्रतिनिधि मनोहरकुमार पोखरेलले सार्वजनिक गर्नुभएको प्रतिवेदनअनुसार बढी चर्चामा रहेको घटनामा बोदे बर्साइन नगरपालिका–१ धनगढीकी २७ वर्षीया राजकुमारी साहलाई २०७८ माघ २१ गते देवरले पेट्रोल छर्केर आगो लगाई हत्या गरेको उल्लेख छ । हत्या आरोपमा पक्राउ परेका २१ वर्षीय परमेश्वर साह असार ७ गतेदेखि पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा छन् । यस्तै सुरुङ्गा नगरपालिका–२ घुमाउने चौरीकी ४३ वर्षीया देवकुमारी सदाको हत्या आरोपमा उहाँका श्रीमान् ४९ वर्षीय अगहनु सदा रु ५० हजार धरौटी रकम राख्न नसक्दा चैत २२ गतेदेखि पुर्पक्षका लागि थुनामा छन् ।   यस वर्ष गैरराज्यबाट तीन हत्याका घटनामध्ये २७ र ३५ वर्षका दुई दलित र २५ वर्षका एक मुस्लिम समुदायका युवकको हत्या भएको अभिलेख छ । आरोपितहरू १६ मध्ये पुर्पक्षका लागि थुनामा दुई, धरौटीमा रिहा तीन, बालसुधार गृहमा एक र पक्राउ पुर्जी जारी भएका १० जना छन् । नवजात शिशुको हत्या घटनामा शव फाल्नेको पहिचान हुनसकेको छैन ।प्रतिवेदनअनुसार बालिका बलात्कारको १० घटनामा १८ वर्षभित्रका १० पीडित छन् । आरोपित १५ वर्षदेखि ६८ वर्षका १५ मध्ये पाँच पुर्पक्षका लागि थुनामा र पाँच जना बालसुधार गृहमा छन् । बाँकी तीन आरोपितविरुद्ध पक्राउ पुर्जी जारी भएको छ भने दुई जना हालै पक्राउ परेका छन् ।   यसैगरी महिला बलात्कारका तीन घटनामा २५ माथि ४० वर्षीयासम्मका तीन महिला पीडित भएका छन् । बलात्कारको घटनामा १८ देखि ३० वर्षीय पाँच आरोपीमध्ये तीन फरार छन्, एक हालै पक्राउ परेका छन् भने एक जनाले सफाइ पाएका छन् । महिला बलात्कार प्रयासका एक घटनामा २८ वर्षीया महिला पीडित भएकी छिन् । उक्त घटनामा आरोपित दुईमध्ये एक धरौटीमा रिहा भएका छन् भने अर्का एक फरार छन् ।   अमानवीय व्यवहारको एक घटनामा २७ वर्षीया एक महिला पीडित भएको प्रतिवेदनमा उल्लेख छ । परिवारकै सदस्यबाट भएको सो हिंसामा चार जना पुर्पक्षका लागि धरौटीमा रिहा भए भने दुई फरार छन् । इन्सेक प्रतिनिधि पोखरेलका अनुसार छ महिनाको अवधिमा बहुविवाहको पाँच, आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारअन्तर्गत चार, घरेलु हिंसाका तीन तथा गर्भपतन, मानव बेचबिखन, अपहरण उद्योग, अभद्र व्यवहार, धम्की र झडपका एक–एक घटना अभिलेख गरिएको छ ।   आठ पसललाई कारवाही    खरिद बिलबिना नै सामान बिक्री गर्ने, मूल्यसूची नराख्ने सप्तरीको राजविराजका आठ पसल कारबाहीमा परेका छन् । खरिद बिल देखाउन नसक्ने राजविराजका आठ पसल कारबाहीमा परेको वीरगन्जस्थित वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयले जनाएको छ । उक्त कार्यालयले बिहीबार गरेको पसल अनुगमनमा खरिद बिल नदेखाउने, मूल्यसूची नराख्ने र अनुगमन कार्यमा असहयोग गर्ने पसललाई जरिवाना गरिएको हो ।कार्यालयका सूचना अधिकारी दिलीप खंगका अनुसार मूल्यसूची नराख्ने दास हार्डवेयरलाई रु ५० हजार जरिवाना गरिएको छ । खरिद बिल नदेखाउने राजविराजकै नुर फ्रुट एण्ड जनरल स्टोर र नदिना फ्रुट एण्ड जनरल स्टोरलाई रु २०–२० हजार जरिवाना गरिएको छ ।    गौरव ट्रेडर्स एण्ड सप्लायर्सलाई रु १० हजार, सीता ट्रेडर्स र लेडी  कलेक्सनलाई रु पाँच–पाँच हजारका दरले जरिवाना तोकिएको छ । अनुगमन कार्यमा असहयोग गर्ने बालाजी खाद्यान्न खरिद–बिक्री केन्द्र र न्यू पूजा बस्त्रालयलाई रु २० हजारका दरले जरिवाना गरिएको उहाँले जानकारी दिनुभयो ।उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार पसललाई जरिवाना गरिएको उहाँको भनाइ थियोे । खरिद बिलबिना सामान खरिद गरी उपभोक्तालाई बिक्री गर्ने गरेको गु्नासोका आधारमा अनुगमन गरिएको उक्त कार्यालयले जनाएको छ । भारतबाट लुकाइछिपाइ राजस्व छलेर लत्ताकपडा, खाद्यान्नलगायत उपभोग्य वस्तु भित्र्याइ विभिन्न पसलमा बिक्री वितरण हुँदै आएको व्यापारीहरुकै गुनासो छ ।

    गोरखा :    गोरखा जिल्ला अदालतका कर्मचारी (तहसिलदार) रामचन्द्र केसी १५ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखराबाट खटिएको टोलीले उनलाई बिहीबार राति पक्राउ गरेको हो ।   काम मिलाइदिन्छु भन्दै सेवाग्राहीसँग घुस लिँदै गर्दा गोरखा सदरमुकामको एक होटलबाट उनलाई पक्राउ गरिएको कार्यालयका सूचना अधिकारी देवी प्रसाद थपलियाले बताए ।   घुससहित पक्राउ परेका केसीलाई शुक्रबार राति नै पोखरा लगिएको र आवश्यक छानविन भइरहेको थपलियाले जानकारी दिए ।

काठमाण्डौँ :     नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली चलचित्र जगतका  महानायक राजेश हमालबीच भेटवार्ता भएको छ ।   अध्यक्ष दाहालको निवास खुमलटारमा आज भएको भेटमा नेपालको कला तथा चलचित्र क्षेत्रको विषयमा कुराकानी भएको थियो । भेटमा सहभागी सङ्गीतकार चेतन सापकोटाकाका अनुसार उहाँहरूबीच नेपालको चलचित्र उद्योग, कला क्षेत्र, राज्यको लगानी र उत्प्रेरणालगायत विषयमा छलफल भएको थियो ।    अध्यक्ष दाहालले नेपालको चलचित्र उद्योगलाई अन्तर्राष्ट्रियस्तरमा पुर्याउनका लागि राज्यका तर्फबाट जे–जति भूमिका निर्वाह हुनुपर्ने हो, त्यसो हुन नसकेकाले मिलेर काम गर्नुपर्ने बताउनुभएको थियो । नेपाली चलचित्र क्षेत्रलाई लामो समयसम्म डोर्याएर समृद्ध बनाउन नायक हमालले निर्वाह गर्नुभएको भूमिकाको समेत अध्यक्ष दाहालले प्रशंसा गर्नुभएको थियो ।कलाकारहरू खुलेर राजनीतिमा आउने परिपाटीको विकास अध्यक्ष दाहालको पालामा नै भएको बताउँदै नायक हमालले कलाकारलाई राम्रो व्यवहार गर्ने परिपाटीको सुरुआत भएकामा प्रशन्नता व्यक्त गर्नुभएको थियो ।   उहाँले मुलुकमा सबैभन्दा पहिले राजनीतिक स्थिरता हुनुपर्ने र त्यसपछि मात्रै अन्य कुरा विस्तारै राम्रो हुँदै जाने बताउनुभएको थियो । भेटमा मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा समेत सामान्य चर्र्चा भएको बताइएको थियो ।

भरतपुर  ः     जिल्लामा रहेका एचआइभी सङ्क्रमितममा यौनरोगको समस्या देखिएको छ । नौ दशमलव २५ प्रतिशत एचआइभी सङ्क्रमितमा यौनरोगको समस्या देखिएको छ ।      भरतपुर अस्पतालमा रहेको एन्टिरेक्ट्रो भाइरल थेरापी सेन्टरका अनुसार विगत ६ महिनामा १०८ सङ्क्रमितको  परीक्षणका क्रममा उनीहरुमा यौनरोगको समस्या देखिएको हो । सेन्टरका कार्यक्रम संयोजक कृष्णहरि सापकोटाका अनुसार परीक्षण गरिएकामध्ये १० जनामा यो समस्या देखिएको छ । उनीहरुमा भिरिङ्गी, गोनोरीया, सेतोपानी बग्ने, छालामा खटिरा आउनेलगायत समस्या देखिएको उहाँले जानकारी दिनुभयो ।    पछिल्लो समय यौनरोगको समस्या असुरक्षित यौन सम्पर्क र यौनाङ्गको हेरचाहमा ध्यान नदिँदा भएको पाइएको सापकोटाले बताउनुभयो । एचआइभी सङ्क्रमितमा यसअघि यो समस्या नदेखिएको उहाँको भनाइ छ । भरतपुर अस्पतालका फिजिसियन डा प्रमोद पौडेलले एचआइभी सङ्क्रमित भएर पनि नियमित औषधि सेवन गर्नेमा यौनरोग देखिए पनि खासै समस्या नहुने बताउनुभयो । उहाँले भन्नुभयो, “औषधि नखाएकामा देखा परेमा फैलन सक्ने समस्या हुन्छ ।” अहिले यौन रोगको समस्या औषधि सेवन गरिरहेकामा देखिएको उहाँले जानकारी दिनुभयो ।   जिल्लामा पछिल्लो ६ महिनामा ५७ जनामा एचआइभी सङ्क्रमण पुष्टि भएको छ । भरतपुर अस्पतालमा मात्रै ३७ जनामा पुष्टि भएको हो । अहिले जिल्लामा एक हजार ७३ जनाले एचआइभी एड्स प्रतिरोधात्मक औषधि एआरबी सेवन गर्दै आएका छन् । सोही अवधिमा यहाँबाट औषधि सेवन गरिरहेका २२ जनाले अन्य जिल्लाबाट औषधि खानका लागि सिफारिस लगेका छन् ।    यस्तै ६ एचआइभी सङ्क्रमित आमाले स्वस्थ बच्चा जन्माएको सापकोटाले जानकारी दिनुभयो । सङ्क्रमितमध्ये नौ जनाको मृत्यु भएको छ भने ६ जनामा हेप्पटाइटिस सि देखा परेको छ ।

रौतहट :      राष्ट्रिय सूचना आयोगले सूचना नदिने एक नगरपालिकाका कार्यालय प्रमुखलाई जरिवाना गरेको छ । आयोगले रौतहटको राजपुर नगरपालिकाको कार्यालय प्रमुख बैंजु ठाकुरलाई रु १० हजार जरिवाना  गरेको हो ।     राजपुर नगरपालिका–१ का एकामुल हकले गरेको पुनरावेदनमा सूचना आयोगले उक्त फैसला गरेको हो । हकले राजपुर नगरपालिकासँग कोरोना महामारीको समयमा नगरपालिकाको क्वारेन्टिनमा रहेका नागरिकको सङ्ख्या, प्रतिव्यक्ति कति खर्च भयो ? क्वारेन्टिनमा बस्ने व्यक्तिले ओढ्नका लागि खरिद गरेको कम्बलको मूल्यबारे प्रमाणित प्रतिलिपी माग गर्नुभएको थियो ।     सूचनाको हकसम्बन्धी ऐन २०६४, अनुसार उक्त नगरपालिकासँग माग गरेको सूचना नपाएपछि सूचना मागकर्ता हकले कानुनअनुसार राष्ट्रिय सूचना आयोगमा सूचना नदिने प्रमुख र सूचना अधिकारीलाई विपक्षी बनाई पुनरावेदन दर्ता गर्नुभएको थियो । पुनरावेदन दर्ता पछि नगरपालिका प्रमुखलाई सूचना उपलब्ध गराउनु भन्दै आयोगबाट पटक–पटक आदेश भएको, कारबाहीको बारेमा सजग गराएको साथै चेतावनी दिँदासमेत प्रमुखले सूचना नदिएको आयोगद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।     निज कार्यालय प्रमुखले सूचना उपलब्ध नगराई संविधान प्रदत्त नागरिक अधिकार र कानुनले व्यवस्था गरेको सूचनाको हकको ठाडो उल्लङ्घन गरेको भन्दै आयोगले जरिवानाको फैसला गरेको हो । सूचना आयोगले कार्यालय प्रमुखलाई सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ३२ को उपदफा (१) बमोजिम रु १० हजार जरिवाना हुने र सूचना उपलब्ध गराउनुपर्ने फैसला गरेको राष्ट्रिय सूचना आयोगका आयुक्त रत्नप्रसाद मैनालीले जानकारी दिनुभयो ।

पोखरा :      गण्डकी बहुप्राविधिक शिक्षालयको आयोजनामा स्थानीय उत्पादनलाई बढवा दिँदै स्वरोजगारीका अवसर सिर्जना गर्ने उद्देश्यले सञ्चालन भएको कपडाको चप्पल बनाउने तालिम सम्पन्न भएको छ । पोखरा महानगरपालिकाको समन्वयमा शिक्षालयको स्वीकृत पाठ्यक्रममा आधारित रहेर ६० घण्टाको उक्त तालिममा स्थानीय २० महिलाको सहभागिता  थियो ।   शिक्षालयका निर्देशक लक्ष्मण तिमिल्सिनाले  आर्थिक सशक्तीकरणका लागि सीपमूलक तालिमको आवश्यता औँल्याउँदै शिक्षालयले बजारमा माग भएबमोजिमको दक्ष जनशक्ति र उत्पादनमा जोड दिन तालिम प्रदान गर्दै आइरहेको बताउनुभयो ।    उहाँका अनुसार प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को स्वीकृत बजेट तथा कार्यक्रम र पोखरा महानगरपालिकाको संयुक्त साझेदारीमा तीनमहिने मोटरसाइकल रिपेयरिङ तालिम, इसिडी सहजकर्ता तालिम, सिलाइकटाइ तालिम, स्थानीय बाजा बजाउने तालिम, प्लमबिङ तह एकका तालिम सञ्चालन भइरहेका छन् ।   तालिममा छनोट भएका सहभागीलाई कुनै शुल्क लाग्ने छैन भने तालिममा प्रयोग हुने सामग्री पूर्ण व्यवस्थापन गरिने छ । तीन सय ९० घण्टे तालिमका लागि भने सीप परीक्षण परीक्षा अनिवार्य गरिएको छ ।   पोखरा महानगरपालिकाले महिलालाई आत्मनिर्भर बनाउन उपप्रमुखसँग महिला कार्यक्रम, पोखरा उद्योग वाणिज्य सङ्घ, पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एशोसिएशन, बुटिक एशोसिएशनलगायतका सङ्घ सस्थासँग समझदारी गरिएको कार्यक्रम व्यवस्थापक सन्तोष शर्माले जानकारी दिनुभयो । उहाँले टोलसँग समन्वय गरेर तालिम प्रदान गरिएको हो ।   कार्यक्रममा पोखरा महानगरपालिका नगरसभा सदस्य तनुजा थापाले स्थानीयस्तरमा बनेका चप्पल उचित बजार व्यवस्थापनका लागि  पोखरा –१४ ले सहजीकरण गर्ने बताउनुभयो । तालिममा भवानी टोल महिला समूहका अध्यक्ष कल्पना कार्की, पोखरा महानगरपालिका नगरसभा सदस्य दिलकुमारी गुरुङ, गण्डकी बहुप्राविधिक शिक्षालयका शैक्षिक प्रमुख सरोज अधिकारी, शिक्षालय कर्मचारी अस्मिता खनाल र  सहभागीहरू जानुका केसी, लक्ष्मी रानाभाटलगायतले तालिमका बारेमा आफ्नो धारणा एवं अनुभव राख्नुभएको थियो ।